Saturday, May 23, 2015

समूहले बढायो तातापानीका महिलाको क्षमता - प्रतिमा परियार

जेष्ठ ८ २०७२ , विभेद बिरुद्ध अभियान  । तातापानी–२ की रूपा तिरुवाको दैनिकी सधैं घरकै काममा बित्ने गर्दथ्र्यो । बिहानै उठ्न बित्तिकै दैलोकुचो र चुलोचौकोबाट सुरु हुने उनको दैनिकी घाँसदाउरा मेलापात गर्दैमा बित्ने गर्दथ्र्यो । गाउँमा हुने विभिन्न सभा सम्मेलनमा सहभागी हुने न उनलाई फुर्सद थियो न चासो नै । विभिन्न सरकारी एवम् गैह्रसरकारी संघ–संस्थाहरूले गर्ने कार्यक्रमहरूमा गएर समय बर्बाद गर्नु भन्दा घरको काम नै छिटो सके आफूलाई फाइदा हुने उनको सोच थियो । रूपाले यस्तै गरी दैनिक गुजार्दै जाँदा सङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रालय अति सीमान्तकृत समूहमा लक्षित तथा दिगो विकास कार्यक्रम लिएर रूपमा गाउँघरमा पुग्यो । उनको घरपरिवार पनि अति विपन्न घरधुरीको रूपमा छनौट भएका कारण उनी सो कार्यक्रम अन्तर्गत गठन भएको ढुङ्गीबजार छलफल केन्द्रकी सदस्य बनिन् । श्रीमान् भारमा मजदुरी गर्नका गएका कारण परिवारबाट रूपामा समूहमा आउने निधो भयो । सुरु–सुरुमा त उनी समूहमा आउन अनकनाइन् । सामाजिक परिचालक घरमै गएर सम्झाउनु प¥यो । 
उनले भन्ने गर्थिन्, ‘आजसम्म म घरबाट बाहिर निस्किएको छैन, लेखपढ गर्न पनि जान्दैन मेरो ठाउँमा अरुलाई नै राख्नुहोस् ।’ सहजकर्ताले सुरुमा मान्छे कोही पनि सिकेर आएको हुँदैन्, प्रयास गरेपछि जे पनि सकिन्छ तपाईं समूहमा गएर छलफलमा बस्नुहोस् छलफलमा सहभागिता जनाउनुहोस् भनी बुझाउँदा उनी समूहमा जान सहमत भइन् र दैनिक समूहमा जान थालिन् । निरन्तर समूहमा गइ छलफल र अभियानहरूमा सहभागिता जनाउन थालेपछि समूह गठन भएको आठ महिनामा रूपाको जीवनमा धेरै परिवर्तन आयो । उनले भनिन्, ‘पहिला नाम लेख्न सक्दैनथें अहिले लेख्छु, पहिला दुई÷चार जना मान्छेको अगाडि गएर बोल्न सक्दैनथें अहिले सक्छु, कुनै मासमा गएर आफ्नो कुरा राख्न सक्छु यसैलाई नै मैले जीवनको ठूलो उपलब्धीका रूपमा लिएको छु ।’
सामाजिक विश्लेषणका औजारहरू मध्येको एक औजार सामाजिक स्रोत नक्साको प्रयोग गरेर स्थानीयस्तरमा कुन–कुन समिति र संरचनाहरू छन् ती संरचनामा लक्षित समुदायको पहुँच र प्रतिनिधित्वको अवस्था के छ भनि छलफल गरियो । जसमा वडा नागरिक मञ्चमा समूहका सदस्यहरूको सहभागिता कसरी बढाउने भनि वडा नागरिक मञ्चका संयोजक वडास्तरका राजनीतिक दल लगायतका सरोकारवालासँग छलफल गरियो । छलफलले एउटा निष्कर्ष निकाल्यो समूहको निर्णयसहित सदस्यहरूलाई वडा नागरिक मञ्चमा पठाउने । अर्को दिनको बैठकमा वडा नागरिक मञ्चमा को–को जाने भनि चाहना सङ्कलन गर्न थालियो जसमा सबैभन्दा पहिला रूपाले जुरुक्क उठेर म पनि जान्छु भनिन् । उनी लगायतका समूहका पाँच जना सदस्यहरूले वडा नागरिक मञ्चमा प्रतिनिधित्व जनाए । रूपा वडा नागरिक मञ्चमा मात्रै होइन् अहिले गाविसस्तरीय दलित समन्वय समिति, महिला समन्वय समिति, कृषि समन्वय समितिको सदस्य रहेकी छिन् । विद्यालय व्यवस्थापन समिति र वन उपभोक्ता समितिमा पनि रूपाको प्रतिनिधित्व छ । पहिला चुलो चौकोमै सीमित हुने रूपा अहिले गाउँका पीडित दिदीबहिनीहरूको आवाज बुलन्द गर्नसक्ने भएकी छिन् ।
विगतमा रूपाको जस्तै दैनिकी गुजारेकी तातापानी–५ मा सञ्चालित कालिका दलित छलफल केन्द्रकी अध्यक्ष कल्पना चौधरी ‘विक’ पनि अहिले वडा नागरिक मञ्चको संयोजक बन्न सफल भएकी छिन् । उनी भन्छिन्, ‘पहिला घरमा आफ्नो श्रीमान्सँग बोल्न पनि डर–डर लाग्थ्यो । अहिले आफ्नै नेतृत्वमा २५ जना सदस्यहरूलाई चलाइरहेको छु ।’ तातापानी–४ मा गठित कोपिला छलफल केन्द्रकी उपाध्यक्ष नामसरा सुनार वडा नागरिक मञ्चसँगै गाविसस्तरीय कृषि समन्वय समितिको अध्यक्ष बन्न सफल भएकी छिन् । पहिला आफ्नो घरको डिलैबाट एक दुई जना मान्छेहरू हिँड्दा त अब के भन्छन् भनी मुटु कमाउने नामसरा गाविसस्तरको सञ्जालमा अध्यक्ष पद सम्हाल्न सफल भएकी छिन् । तातापानी–१ मा गठित मालझुल छलफल केन्द्रकी सचिव बेला नेपाली वडा नागरिक मञ्च हुँदै एकीकृत योजना तर्जुमा समिति पुगी परिषद् सदस्य बन्न सफल भइन्, ‘पहिला गाउँमा धारा बनाउने कुवा बनाउने भन्थे, कसरी आउँछ यस्तो योजना भनेर कल्पना गर्थे अहिले योजना छनौट र पास गर्ने ठाउँमा पुग्न सफल भए जीवनकै खुशीको क्षण मानेको छु ।’ रूपा, कल्पना, नामसरा र बेला त प्रतिनिधिपात्र मात्रै हुन् । कार्यक्रम अन्तर्गत सुर्खेतको तातापानी र घाटगाउँमा गठन गरिएको २० समूहमा एक सय ५० भन्दा बढी समूह सदस्यहरूले वडा नागरिक मञ्चमा प्रतिनिधित्व जनाएका छन् जसमा १० भन्दा बढी समूहमा समूहकै सदस्य संयोजक बन्न सफल भए ।साभार : साझा बिसौनि 

No comments:

Post a Comment