Saturday, June 27, 2015

रुकुमेली पूर्वसभासद् अन्तरजातीय विवाह गर्नेको छुट्टै बस्ती बसाल्ने ध्याउन्नमा

दीपेन्द्र राई , रुकुम १२ , असार- विभेद बिरुद अभियान । अन्तरजातीय विवाहले नेपाली समाजलाई धेर–थोर बिथोलेको छ । त्यसमा पनि कथित् माथिल्लो र तल्लो जातिबीच विवाह भएको छ भने झन् ठूलो समस्या आइपर्छ । आफ्नी छोरीले दलितसँग बिहे गरी भनेर धनकुटाका एक अभिभावकले जिउँदै छोरीको किरिया गरेका थिए । सुर्खेतमा दलितले अन्तरजातीय विवाह गरे भनेर केटीपक्षकाले केटाका आमालाई पिटेको घटना घटेको धेरै भएको छैन । यसो भएपछि अन्तरजातीय विवाह गर्नेले सबै–सबै त्यागी सम्बन्धित समाजभन्दा पर बस्नुको विकल्प छैन । नेपालभरि यस्ता समस्या कतै बढी त कतै कम होलान् । 
दलित युवकसँग बिहे गर्ने छोरी माइती जान पाएकी छैनन् । ब्राह्मण, क्षेत्रीलगायतले दलितका छोरीसँग बिहे गरेका छन् भने घर फर्कन सधैंका लागि ढोका ढप्किएका छन् । नेपाललाई जातीय छुवाछूत राष्ट्र घोषणा गरिएको वर्षाैं भइसकेको छ । त्यतिमात्रै होइन, जातीय भेदभाव तथा दुवाछूत (कसुर र सजाय) ऐन २०६८ मा प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै जात–जाति, वंश, समुदाय वा पेसाका आधारमा भेदभाव गर्नुहुँदैन भनिएको छ । यस्ता कानुनले अन्यायमा परेकालाई न्याय दिन सकेको छैन । तसर्थ, अन्तरजातीय विवाहले रुकुमेली समाजलाई पनि समस्यामा पारेको छ । समस्या निप्टारा लगाउन कहीँ–कतैबाट पहल भएको लजिम पुनलाई थाहा छैन । सामाजिक पर्यटन प्रवद्र्धक पुन अन्तरजातीय विवाह गरी समस्यामा परेकालाई सम्मानित ढंगले बसोबास गराउन अन्तरजातीय विवाह गर्नेको छुट्टै बस्ती बसाल्ने ध्याउन्नमा लागेका छन् । मैकोट, रुकुमका पुनले अन्तरजातीय विवाह गर्नेको छुट्टै बस्ती बसाल्न उपयुक्त ठाउँ खोजिरहेका छन् । 
‘बस्ती बसाउन रुकुमको उत्तरी क्षेत्र उपयुक्त ठानेको छु । एक÷दुईजनाको साथ पाएँ भने काम थालिहाल्नेछु,’ पुनले सुनाए, ‘रुकुमेली पूर्वसभासद्लाई आफूले बुनेको योजना उहिल्यै सुनाएको थिएँ । उहाँहरू सकारात्मक हुनुहुन्थ्यो । पछिल्लो समय कुरा गर्न पाएको छैन ।’ रुकुकमको उत्तरी क्षेत्रमा पर्ने तकसेरा, हुकाम र रन्मामैकोटमा अन्तरजातीय विवाह गर्नेको बस्ती बसाल्न उपयुक्त हुने पुनको ठम्याइ छ । उल्लिखित ठाउँमा सार्वजनिक जग्गा प्रशस्त छन् । त्यतिमात्रै होइन, जग्गा किन्नैपरे पनि सस्तोमस्तोमा पाइन्छ । उनका अनुसार, पहिलो चरणमा रुकुममा बस्ती बसालिनेछ । उनले जानकारी दिए, ‘बिस्तारै पचहत्तरै जिल्लामा अन्तरजातीय विवाह गर्नेको छुट्टै बस्ती बसालिनेछ ।’ बस्ती बसाल्नुमात्रै ठूलो कुरो होइन, त्यसलाई नमुनायोग्य बनाउनुचाहिँ चुनौती छ । नमुना बस्ती बनाउन उनीसँग थुप्रै उपाय छन् । बस्तीलाई पर्यटनसँग जोडेर हेर्न सकिने उदाहरण पेस गर्दै उनको दाबी छ, ‘यहाँ बसोबास गर्नेले नयाँ प्रणालीअनुसार खेतीपाती गर्नेछन् । विशेषतः जडीबुटी र फलफूल खेती लगाइनेछ । रुकुममा आजसम्म जडीबुटी र फलफूल खेती गर्ने छँदै छैनन् । यहाँका घर एकैखालका बनाइनेछन् । यहाँ बस्नेले एकैखालका लुगा लगाउनेछन् ।’ त्यसो भएपछि जोकोही पनि एकपटक अन्तरजातीय विवाह गर्नेको छुट्टै बस्ती हेर्न पुग्नेछन् । त्यहाँ पुगेकाले रहर गरेमा आफ्नै हातले जडीबुटी तथा फलफूल टिपेर मनोरञ्जन लिन सक्नेछन् । यति भएपछि पर्यटनको दृष्टिले रुकुमलाई मात्र नभएर देशलाई नै फाइदा पुग्नेछ । पुन सोध्छन्, ‘त्यस्तो उदाहरणीय बस्ती हेर्न कहाँ पाइएला र ?अन्तरजातीय विवाह गर्नेको बस्तीमाथि स्याउ र तल जडीबुटी खेती गर्न सकिन्छ,’ उनले थपे, ‘रुकुममा आजसम्म स्याउ खेती नै गरिएको छैन । जिल्लामा नगरिएको खेती गर्दा नमुना नबन्ने कुरै छैन ।’ बस्तीलाई नमुना बनाउन उनीसँग यस्ता थुप्रै उपाय छन् । बस्ती बसालिएको ठाउँसुहाउँदो नयाँ तरिकाले खेती गरेर उनीहरूलाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिनेछ । बस्तीमा अन्तरजातीय विवाह गरेकाले मात्र बस्न पाउनेछन् । 
बस्नेले खेतीपाती गर्न सक्नेचाहिँ हुनुप¥यो । यो पहिलो सर्त हो । अन्तरजातीय विवाह गर्नेको छुट्टै बस्ती बसालिएको विश्वमै कतै सुनिएको छैन । यस अर्थमा पनि पुनको काम विश्वमै नौलो मानिनेछ । यसको सकारात्मक पक्ष झन् धेरै छन् । बस्तीमा आश्रय लिनेलाई समान रूपमा हेरिन्छ । हेलाँहोचो गर्ने कोही हुने छैनन् । त्यहाँ जातीय छुवाछूतको गन्धसमेत आउने छैन । बरु छुवाछूतप्रथा कम गर्न सहयोग पुग्नेछ । त्यसमा दुईमत छैन । समय कन्सेप्ट (अवधारणा) बेचेर खानेको हो । पुनको अवधारणा उदाहरणीय र सराहनीय छ । तर, कार्यान्वयनमा आउनेचाहिँ कहिले हो ? उनले भने, ‘कन्सेप्ट व्यक्तिगत भए पनि कार्यान्वयनमा लैजाँदा संस्थागत गर्न पाए सजिलो हुन्थ्यो । साथ दिने संस्था र मनकारी भेटिएलान् नि ।’ तात्कालिक नेकपा माओवादीले वर्गविहीन समाज निर्माण गर्नुपर्छ भन्दै सशस्त्र युद्ध थालेपछि अन्तरजातीय विवाह गर्ने झन् धेरै बढेको लजिम पुनको बुझाइ छ । युद्धले जातभात र छुवाछूत भनेको केही पनि होइन भन्ने जागरण ल्यायो । ‘जागरणले अन्तरजातीय विवाह गर्ने ढोका खोले पनि त्यसलाई व्यवस्थापन गर्ने उपाय सुझाउन सकेन,’ पुन भन्छन्, ‘मलाई जानकारी भएसम्म अन्य जिल्लाभन्दा रुकुममा अन्तरजातीय विवाह गर्ने बढी छन् । त्यही भएर समस्या पनि बढी छ ।’

No comments:

Post a Comment