Monday, June 22, 2015

कोहि भन्दा कम छैनन ललित दमाई


महेन्द्रनगर, ७ असार ।बेल्डाँडी–७ सिहपाल टोलका ललित दमाई ह्विल चेयरबाट हिँडडुल गर्छन् । बाँया खुट्टा छोटो हुँदा उनी हिँड्न सक्दैनन् । जन्मजात छोटो खुट्टाका दमाईका हात पनि कमजोर छन् । 
शारीरिक अशक्ततालाई थाती राखेर उनले ह्विलचेयरमा बसेर गाउँका निरक्षर महिलालाई अक्षर चिन्न सक्ने बनाएका छन् । निरक्षर महिलाका लागि नाति उमेरका उनी गुरु कहलिएका छन् । ‘मैले धेरै त सिकाउन सकेन, नामसम्म लेख्न सक्ने भएका छन्’ उनले भने, ‘आफ्नो नाम र ठेगाना भन्न सक्छन् ।’  
गाउँका अगुवा महिलाहरूको सहयोगमा प्रौढ कक्षाका लागि छानिएका उनले तीन महिनासम्म पढाएका हुन् । कमजोर शारीरिक  पारिवारिक अवस्थाका कारण उनी बेल्डाँडीका प्रौढ पढाउन एक्ला पुरुष छानिएका थिए । 
‘आमा, दिदी बहिनीहरूले मलाई पढाउन छान्नु भयो, मलाई अवसर दिनु भयो’ उनले भने, ‘त्यहीं अवसरले उहाँहरूलाई अक्षर सिकाउने मौका पाए ।’ स्थानीय जुना मिनारले आफूलाई पढाउने अवसर दिने वातावरण बनाएको उनले बताए । ‘मलाई तीन महिना पढाउने मौका दिने आमा जुना मिजार हुनु हुन्छ, उहाँको यो सहयोग म कहिल्यै बिर्सन सक्ने छैन’ उनले भने । तीन महिनासम्म गाउँका ३३ जनाले नियतिम रुपमा कक्षा लिएको उनी बताउँछन् ।
स्नात्तक तहमा अध्ययरत दमाईले गत वर्ष दैनिक दुई पटक गरी प्रौढ कक्षा सञ्चालन गरेका थिए । महिलाहरूको घरधन्दा बाहेकको समय विहान र दिउँसो कक्षा सञ्चालन गरिएका थिए । विहान ११ः०० बजेदेखि १ः०० बजेसम्म र दिउँसो ३ः०० बजेदेखि ४ ः०० बजेसम्म सञ्चालित कक्षाका महिलाहरू नाम लेख्न सक्ने भएका छन् । 
महिलाहरूले कक्षा चलेको समयमा कानेखुसी र कुराकानी गर्दा नियन्त्रण गर्न समस्या परेको उनी बताउँछन् । ‘उहाँहरूलाई नबोल भन्दा मलाई 
डर लाग्ने पढाउँदा खेरि उहाँहरू कुरा गर्न नछाड्ने ’ उनले भने, ‘तैपनि सकेसम्म पढाईमा ध्यान लगाउने उपाय निकालेर पढाए ।’ महिलाहरूको सहयोगमा आफू शिक्षक भएकाले कक्षामा आउँदा आफूले पहिला नमस्ते गर्ने गरेको दमाईले बताए । ‘म उहाँहरूले नै बनाएको सर भएकाले मैले नै पहिले नमस्ते गर्थे, उनले भने, ‘फेरि म पढाउने भए पनि उहाँहरू सबै मभन्दा सिनियर नै हुनु हुन्थ्यो ।’

भारतको राजधानी नयाँ दिल्लीको इन्दिरा गान्धी विश्वविद्यालयमा बि.ए. अध्ययनरत दमाईले गाउँ घरका महिलालाई पढाउँदा सन्तुष्टि मिलेको बताए । ‘मलाई पढाउँदा निकै सन्तुष्टि मिल्यो’ उनले भने, ‘खासमा मलाई टिचिङ्ग राम्रो पनि लाग्छ ।’
२४ वर्षका ललित छोरा जन्मिएपछि तनावमा छन् । उनले अढाई वर्षअघि डडेल्धुराकी मिनासित विवाह गरेका थिए । मिना पनि शारीरिक रुपमा अशक्त छिन् । ‘हामी लोग्ने स्वास्नीमा त समस्या छ, छोराको पनि खुट्टामा समस्या देखियो’ उनले भने, ‘त्यस कारण छोरा जन्मिएपछि अपसेट छु् ।’ डडेल्धुराबाट आमा बुवासंगै तराई झरेका दमाई दुई कट्टा जमिनमा टहरा बनाएर बसेका छन् । उनले तीन महिनासम्म पढाएर ६ हजार आम्दानी गरेका छन् । प्रौढ कक्षा सकिएपछि जागिरको आशमा कामाडौंसम्म पुगे पनि निराश भएर फर्किएका थिए । 
‘तीन महिना पढाए, त्यसपछि त्यो पैसा लिएर काठमाडौ. गए, मसित भएको सीमा अनुसार जागिर दिनु भनेर सिहदरबासम्म पुगे’ उनले भने, ‘केही सुनुवाई भएन । जागिरका लागि आन्दोलन गर्दा प्रहरी हिरासतमा बसेको उनी बताउँछन् । ‘प्रहरीले लाठी हान्यो, त्यसपछि पक्राउ गरी ६÷७ घण्टासम्म राख्यो’ उनले भने । 
जन्मजात खुट्टा छोटो भएका उनलाई १६ वर्षको उमेरमा दुबै खुट्टा बराबर हुने आशा थियो । महाकाली अञ्चल अस्पतालले बराबर भएको भन्दै दुई इन्च बाँकी राखि दिएपछि उनको आशा निराशमा बदलिएको हो । बाँया खुट्टाको तुलनामा दाँया खुट्टा २३ इन्च छोटो थियो । 
शारीरिक अशक्त दमाई ९ वर्ष अघि शुक्लाफाँटा आरक्षका हात्तीको आक्रमणमा परे । घर भत्काउन आएका हात्तीले उनलाई घरभित्र कुल्चेका थिए । त्यसपछि उनको हात खुट्टामा थप समस्या आएको थियो । ‘घाइते भनेर समान्य क्षतिपूर्ति दियो, अरु केही पाएनौ’ उनले भने,‘खुट्टामा झन समस्या भयो, अहिले त ठिक भएको छ ।’ क्षतिपूर्तिका लागि काठमाडौंसम्म जाँदा समेत पाउन नसकेको उनले बताए । भारतको दिल्लीमा सहयोगमा पाएको ह्विलचेरबाट गाउँ घरमा हिडडुल गर्न सहज भएको उनी बताउँछन् । भविष्यमा शिक्षक हुने लक्ष्य बोकेका उनी कम्युटर, प्राथमिक उपचार, मोमबत्ती र अगरबत्ती बनाउन सक्ने बताउँछन् । ‘लगानी छैन, तालिम त लिएको छु, तर यहाँ के गर्ने केही छैन’ उनले भने,‘कसैले सहयोग गरे सीप काममा लगाउन सक्छु् ।’
स्रोत्#पुलेसो

No comments:

Post a Comment