Friday, June 12, 2015

कलाले शरीर हेर्दैन - भक्त वि.क.

काठमाडौं, जेठ २९ गते-विभेद बिरुद्ध अभियान  । उनी घिस्रिँदै घिस्रिँदै स्टेजमा पुग्दासबैको ध्यान उनी तर्फ केन्द्रीत हुन पुग्छ । उनको खुबीलाई नचिनेका प्रायः जसो सबैले उपेक्षाको दृष्टिले हेर्छन् । तर जब उनी स्टेण्टमा पुगेर आफ्नो प्रस्तुति दिन थाल्छन्, कार्यक्रमको मुख्य आकर्षण नै उनी बन्छन्् । शारीरिक रुपमा अपाङ्ग भएपनि विशिष्ट, श्रुतिसुमधुर गायन खुबीले सपाङ्ग भन्दा कत्ति पनि कम छैनन् उनी ।
झापा कनकाई नगरपालिका–२ सुकेडाँगीका भक्त वि.क. शारीरिक अशक्तताका अलावा पनि जुर्मुराएका प्रगल्भ बाल प्रतिभा हुन् । वि.सं. २०५३ साल पुस ६ गते जन्मिएका वि.क. हाल सांगीतक क्षेत्रमा एउटा दरिलो सम्भावना बोकेर प्रगतिपथमा लम्किरहेका छन् । सानैदेखि गीत संगीतका क्षेत्रमा प्रगाढ रुचि राख्ने गरेका उनी बुबाआमाको न्यायो स्नेहमा रमाउनु पर्ने बाल्यकालको समयमा पितृ स्नेहबाट बञ्चित भएका थिए । उनी कक्षा ६ मा पढ्दा बुबा गोपाल वि.क.को प्राणपखेरु एड्यो । मध्यम वर्गीय वि.क. परिवारले मृर्गौला खराब भएर मृत्युको मुखमा पुगेका बुबा गोपाललाई बचाउन सकेन । अन्ततः वि.क. परिवार पितृ स्नेहबाट बञ्चित हुन पुग्यो र घर धान्ने जिम्मवारी माता अनिता वि.क.को काँधमा आइप¥यो ।
भक्तकी माता अनिताले कृषि कर्म गरेरै दुई छोरा (भक्त र तीर्थ) लाई हुर्काउँदै आइन् । भक्त शारीरिक रुपमा अपाङ्ग भएता पनि दुवै छोरालाई उत्तिकै माया गर्दै माता अनिताले विद्यालयमा भर्ना गरिदिइन् । आफूले केहि छाक टारेर पनि छोरालाई विद्यालयमा पढाइन् । आफ्नो सन्तानले दुःख पाएको हेर्ने रहर त कुन अभिभावकलाई हुन्छ र ? अनिताले पनि दिन रात कडा परिश्रम, मेहनत र संघर्ष गरेर छोराहरुलाई पढाइरहिन् ।
भक्तको स्व. बुबा गोपाल पनि गीत संगीतको क्षेत्रमा निकै रुचि राख्नु हुन्थ्यो । त्यसैले पनि होला भक्त प्रति संगीत साधनाको रस बसेको थियो । उनको यस्तो प्रतिभा आखिर कसरी प्रस्फुटित भयो त ? उनकै शब्दमा, “मैले पहिलो पटक कक्षा ६ मा पढ्दा विद्यालयमा हुने गायन प्रतियोगितामा भाग लिएको थिएँ । यो प्रतियोगितामा भाग लिनु अघि त म ‘बाथरुम सिङ्गर’ जस्तै थिएँ । तर यो ऐतिहासिक प्रतियोगिताले मेरो जीवनमा ठूलो परिवर्तन ल्यायो । पहिलो पटक भाग लिएको प्रतियोगितामा नै म प्रथम हुन सफल भएँ । यसरी मेरो गायन यात्रा आरम्भ भएको हो ।”
भक्तको सुमधुर स्वर उनको बुबाले सुन्नु अघि नै स्र्वगारोहरण भइसकेको थियो । “मेरो गीत बुबाले सुन्न पाउनु भएन ।”, भक्त गहभरी आँसो पार्दै भन्छन्, “अहिले मलाई मेरो बुबालाई गीत सुनाउन मन लाग्छ । मेरो गीत सुनेर उहाँ कति सुखी हुनुहुन्थ्यो होला ।” भक्तले कनकाई तारा–२०७० को उपाधी हात पारिसकेका छन् । यसदेखि पछाडि पनि उनले दर्जनौं उपाधिहरु जितिसकेका छन् ।
भक्तसँग ‘ख’ वर्गको नीलो रङ्गको अपाङ्गता परिचय पत्र छ । तर उनको प्रतिभालाई शारीरिक अवस्थाले कुनै छोएको छैन । उनी एउटा विपुल ढुंगाको काप्चाबाट जुर्मुराउँदै गरेका यस्ता प्रतिभा हुन् जसले भविष्यको सांगीतिक गगनमा विशिष्ट स्थाल हाँसिल गर्न सक्छ ।
“मलाई अघि बढ्न मेरो आमाले पुरै सपोर्ट गर्नु भएको छ ।”, भक्तले सुनाए, “छिमेकीहरुले पनि तिमी राम्रो गीत गाउछौं भनेर हौसला दिने गरेका छन् ।” परिवार, छरछिमेक र शिक्षकहरुबाट हौसला पाउँदा उनी आज सांगीतिक क्षेत्रमा अब्बल बन्दै गएका छन् । हाल पूर्वाञ्चल सिङ्गिङ कम्पिटिसन् “तिम्रो धुन मेरो स्वर” को समेत उत्कृष्ट १० मा उनी पर्न सफल भइसकेका छन् । कक्षा ७ मा पढ्दादेखि भक्तले उनको सांगीतिक यात्रालाई अघि बढाउन संगीत शिक्षक धु्रव पाठकको सहारा पाए । उनी पाठकलाई कर्म दिने बुबा भन्न समेत पछि पर्दैनन् ।
सानैदेखि बुबाको सांगीतिक क्षेत्रप्रतिको मोहले गर्दा यस क्षेत्रमा लागेका उनी हाल कनकाई उच्च माध्यमिक विद्यालय सुरुङ्गाको कक्षा ९ मा अध्ययनरत छन् । विशेषतः राष्ट्रभक्तिपूर्ण भावले ओतप्रोत भएका गीत गाउन रुचि राख्ने भक्तले भविष्यमा एउटा कुशल गायक बन्ने सपना सजाएकाछन् । “बुबा हुँदा र नहुँदा धेरै ठूलो भिन्नता हुँदो रहेछ ।”, भक्त भन्छन्, “अहिले बुबा मेरो अगाडि हुनु भएको भए मेरो गीत सुनेर कति खुसी हुनुहुन्थ्यो होला ।”
कतिपय मानिस शारीरिक रुपमा अशक्त भयो भन्दैमा समाजले हेयको दृष्टिले हेर्ने गरेको छ । तर यस्तो समाजका संकुचित सोच र मानसिकता भएका व्यक्तिहरुका लागि भक्त दह्रो ‘झापड’ बनेका छन् । उनले प्रमाणित गरिदिएका छन् यदी अपाङ्गहरुले पनि सपाङ्ग सरह अवसर र प्रोत्साहन पाउने हो भने उनीहरु सपाङ्ग भन्दा कत्ति पनि कम हुने छैनन् ।
साभार: एभरेस्ट दैनिक 

No comments:

Post a Comment