Sunday, July 26, 2015

अन्धविश्वासको पराकाष्ठा

हत्याका अभियुक्तहरू बायाँबाट कोदाई, रुदल, सूर्यभान र पुजारी गंगा (माथि) र हत्या गरिएका १० वर्षीय बालक सोनु भनिने जीवन कोहार (दायाँ) । तस्बिर : दीपेन्द्र/कान्तिपुर

कुडिया (नवलपरासी), श्रावण १०,विभेद बिरुद्ध अभियान -  सुन्दै अपत्यारिलो, तर पत्याउनैपर्ने। कहिलेकाहीँ अन्धविश्वास र क्रूरताले सीमा नाघ्दो रहेछ। आफ्नो बिरामी छोरालाई बचाउन ‘देउतालाई चढाउने’ नाममा एक झाँक्रीले छिमेकी बालकको निर्मम हत्या गरेका छन्। परिवारका सदस्य र गाउँका केही व्यक्तिको सहयोगमा कुडिया–४ मर्चहवाका कोदाई चमारले ती बालकको घाँटी रेटेका थिए। अगाडिबाट रेटिएको घाँटी पछाडिपट्टि छाला मात्र छिन्न बाँकी छ। 
गत मंगलबार हत्या गरिएका १० वर्षीय सोनु भनिने जीवन कोहारको शव शुक्रबार गाउँनजिकै घारीमा उनकै हजुरबुवा साधु कोहारले फेला पारेका थिए। 

कुडिया गाविसका पूर्वउपाध्यक्ष तथा स्थानीय बासिन्दा लोरिक यादवका अनुसार घरभित्र भित्तामा टाँसिएका देवी–देवताका फोटोमुनि बालकको हत्या गरिएको थियो। त्यसपछि बाकस र शौचालयमा सार्दै कोदाई परिवारले करिब ४ सय मिटर पर झाडीमा फालेको पाइएको हो। 

जिल्ला प्रहरीको हिरासतमा रहेका कोदाईले आफ्नो छोरालाई बचाउन सोनुको हत्या गरेको बताए। ‘मान्छेको मासु खान नदिए मेरै छोरालाई खान्छु भनेर देउता आएपछि,’ उनले भने, ‘मैले उसलाई मारेको हो।’


कस्तो अन्धविश्वास?

‘गत मंगलबार बिहान म खाना खाँदै थिएँ। छोरो काम्न थाल्यो। उसको शरीरमा देउता आएर भन्यो,’ कोदाईले थोरै पनि नधकाई 

भने, ‘मान्छेको मासु खान दिन्छस् भने दे, नत्र तेरै मासु खान्छु भन्यो।’ उनका १८ वर्षीय छोरा विजयलाई केही महिनाअघि सर्पले डसेको थियो। उनी उपचारपछि ठीक भए। तर, बेला–बेला बर्बराउने, काम्ने र बेहोस हुने गर्थे। त्यस दिन पनि त्यस्तै भयो। 


‘म खाना खाएर बाहिर निस्किएँ। बजारमा धूप र अबिर किनें। गंगा (नजिकैको खोल्सा) बाट जल ल्याएँ,’ उनले घटना सुनाएँ, ‘घरमा आउँदा आमगाछी (आँपको बोट) मुनि सोनु बसिरहेको थियो। साइकलबाट उत्रिएँ। उसकै बाउको पसलमा बिस्कुट किनेर उसलाई दिएँ र ५० रुपैयाँ पनि दिन्छु भनेर फकाएर लगें।’


उनले बिहान खाना खाइनसक्दै ती बालकको हत्या गर्ने योजना बुनिसकेका थिए। त्यो भाइ सूर्यभानलाई सुनाए। उनी राजी भए। दुवै मिलेर शोखा झाँक्री गुरु गंगा चमार र उनका ज्वाइँ रुदललाई बोलाए। उनीहरू आए। ५० हजार रुपैयाँ अघि सारिदिएपछि उनीहरू पनि साथ दिन तयार भए। 

गाउँलेका अनुसार दिउँसैदेखि सोनु घरमा देखिएनन्। त्यही घरमा थुनेर राखेको र साँझमा हत्या गरेको उनीहरूको आरोप छ। ‘मैले एक हातले उसको मुख थुनें,’ कोदाईले भने, ‘अरूले हात–खुट्टा समाए। अर्को हातले घाँटीमा रेटें।’ त्यसका लागि उनले गडाँसी (उखु काट्ने हतियार) दिउँसै उद्याएर धारिलो बनाएको बताए। 

उनले घरि उखु बारीमा, घरि घरछेउमा, घरि झाडीमा हत्या गरेको फरक–फरक ठाउँ बताए। प्रहरीले पनि प्रस्ट ठाउँ खुलाउन सकेको छैन। स्थानीयवासीका अनुसार हत्या घरभित्रै भएको प्रशस्त प्रमाण भेटिएका छन्। ‘फोटोमुनि रगत पोतिएको छ,’ स्थानीय रामवरण कोहारले भने, ‘रगत लतपतिएका कपडा यताउति छन्। शौचालयमा गुदरा (ओछ्याउने) भेटिएको छ। त्यसमा पनि रगत लागेको छ। कीरा परेका छन्।’

हत्यापछि लास त्यही कोठाको कुनामा रहेको बाकसमा राखिएको, अर्को दिन शौचालयमा सारिएको र खोजतलास तीव्र भएपछि झाडीमा फालिएको गाउँलेको अनुमान छ। प्रहरीले बाहिरै हत्या गरिएको दाबी गरे पनि लास भए ठाउँमा एक थोपो पनि रगत नचुहेको पाइएको बताएको छ। 

सोनुका बुवा शिवशरण कोहार बोल्न सक्ने अवस्थामा थिएनन्। उनले हत्यारालाई कडाभन्दा कडा सजाय गर्न माग गरे। अति घनिष्ठ मात्र होइन, आफूले सरसहयोग गरेको व्यक्तिबाटै आफ्नो छोराको हत्या होला भन्ने आफूले कल्पनासम्म नगरेको आमा निर्मलाले बताइन्।
‘काम गरेर बेलुका घरमा आउँदा नदेखेपछि कतै आफन्तकहाँ गयो होला भन्ने ठान्यौं,’ भावविहवल अवस्थामा रहेकी उनले भनिन्, ‘नआएपछि भोलिपल्ट प्रहरीलाई खबर गर्‍यौं। देवरले त तिनीहरूले मारे कि भन्ने शंका गर्नुभएको थियो, ससुराले त्यसो गर्दैनन् भन्नुभयो।’ 

बिहान कोदाईको छोराले बक्दै ‘देउताले मान्छेको मासु मागेको’ भनेको चर्चा गाउँभरि फैलिएको थियो। सबै गाउँले उनीहरूप्रति सशंकित भएका थिए। ‘तर हाम्रै नातिलाई बलि चढाउँछ भनेर लागेको थिएन,’ हजुरबुवा परमान्द कोहारले भने, ‘त्यो पनि आँगन जोडिएको छिमेकीबाट।’ 

बिहान ‘भूत चढ्दा उनीहरूले मान्छेको मासु चाहिन्छ’ भनेको सुनेको जानकारी दिँदै सोनुका काका लालबहादुरले भने, ‘मलाई त ऊ हराउनासाथ शंका लागेको थियो। तिमीहरूले बेपत्ता बनाएको हो कि भनेर सोध्दा हामी छिमेकी भएर किन यस्तो गर्छाैं भन्दै विश्वास दिलाए।’ 
शुक्रबार बालकको शव फेला पर्दा कोदाई भने ‘खोज्न सघाउँछु’ भन्दै भारत पुगेका थिए। उनकी श्रीमती कान्तिलाई गाउँलेले कुटपिट गरेपछि आफ्नो लोग्नेले ‘देउतालाई चढाएको’ बताएकी थिइन्। 



सर्पलाई दूध
कोदाईको छोरा विजयलाई केही महिनाअघि सर्पले डस्यो। सोनुका बुवा शिवशरणले मोटरसाइकलमा राखेर त्रिवेणीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याए। ‘बेलैमा नपुर्‍याएको भए ऊ नबाँच्न पनि सक्थ्यो,’ स्थानीय रामबली कोहारले भने, ‘उनले पैसा नै पनि हालिदिए। अहिले त्यसैका लागि उनकै छोराको हत्या गरे। सर्पलाई दूध खुवाएर पालेजत्तिकै भयो।’ 

कोदाईले पनि उक्त परिवारसँग आफ्नो कुनै दुश्मनी नभएको बताए। ‘उल्टै उनीहरूले हामीलाई सहयोग गर्दै आएका थिए,’ उनले भने। अत्यन्त मिलनसार परिवारका बालकको हत्यापछि मर्चहवा गाउँ शोकाकुल बनेको छ। आफन्त नै आफन्त रहेका वरिपरिका घरहरूमा रुवाबासी छ। सोनुकी आमा निर्मला शोकसन्तप्त अवस्थामा थिइन्। नाबालक ३ सन्तान उनको सारीको फेर समातेर भीड नियालिरहेका थिए। त्रसित मुद्रामा रहेका उनीहरू केही बोल्न सकिरहेका थिएनन्। आक्रोशित गाउँलेले कोदाईको घर भत्काइदिएका छन्। पूजा गर्ने स्थल खनेका छन्। 
अभियुक्तहरू पक्राउ
घटना भएको तीन दिनसम्म सबै अभियुक्त घरमै थिए। शुक्रबार बिहान स्थानीयवासीले कोदाईसँग सोधी–खोजी गरे। ‘म पत्ता लाइदिन्छु भनेर भारततिर गएँ,’ उनले भने, ‘दिउँसो फर्किएँ। लास भेट्टिएको र अरू पक्राउ परेको थाहा थिएन। घरमा आउँदा गाउँलेले अरूलाई कुटपिट गर्दै थिए।’ 
उनलाई भने ‘मार्छन् भन्ने डरले’ एक स्थानीयवासीले मोटरसाइकलमा सुरक्षित रूपमा प्रहरी चौकी पुर्‍याइदिए। प्रहरीले ९ अभियुक्तलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयमा शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा भने तीमध्ये ४ जना कोदाई, सूर्यभान, गंगा र रुदललाई मात्र सार्वजनिक गरियो। 
‘अरूमाथि अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले भने, ‘महिलाजति निर्दोष देखिएका छन्।’ 
केही विरोधाभाष
एसपी उपाध्यायले कोदाईका छोरा विजय १४ वर्षका भएकाले विवरण सार्वजनिक नगरिदिन कान्तिपुरसँग आग्रह गरे। जब कि उनैले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा १८ वर्ष लेखेका छन्। गाउँलेले पनि १८ वर्ष नै बताएका छन्।
पुजारी गंगा पनि हत्यामा संलग्न नरहेको प्रहरी प्रमुखले पत्रकारहरूसँग पटक–पटक बताए। गंगा आफैंले भने हत्याअघि आफूले देउताका नाममा पूजा गरिदिएको जानकारी दिए। पचास हजार रुपैयाँ पनि उनैले बुझेका थिए। एसपी उपाध्यायका अनुसार त्यो पैसाले त्यो साँझ उनीहरूले बियर पार्टी गरेका थिए। 
थुनामा राखिएकी मुख्य अभियुक्तकी श्रीमती कान्तिलाई उनले ‘निर्दोष’ भने। जब कि शव फेला पर्नासाथ हत्याको पहिलो बयान दिने उनी नै थिइन्। ‘हत्या गरेपछि मलाई श्रीमान्ले सुनाए,’ उनले कान्तिपुरसँग भनिन्, ‘मैले गाली गरें।’ गाउँभरि बालकको ३ दिन खोजी हुँदा भने उनले त्यसबारे खुलासा गरिनन्। 
पत्रकारले अभियुक्तहरूसँग अलि गम्भीर प्रश्न सोध्दा एसपीले मातहतका प्रहरीलाई आदेश दिइहाल्थे ‘यिनीहरूलाई लगिहाल्नुहोस्। ल भयो। पुग्यो अब।’ घरमै हत्या भएको गाउँलेको भनाइमाथि प्रहरीको जवाफ थियो, ‘होइन, बाहिर भएको हो।’ बाहिर कहाँ? भन्ने प्रश्नमा भनियो, ‘त्यो त अनुसन्धान भइसकेकै छैन।’
source:-कान्तिपुर


No comments:

Post a Comment