Wednesday, July 8, 2015

संविधानमा दलित जातिको सट्टा प्रतिभाशाली जाति लेख्न माग

२४ असार, काठमाडौ , विभेद बिरुद अभियान । प्रतिभा नागरिक समाज नेपालले आउने संविधानमा दलित जातिको सट्टा प्रतिभाशाली जाति लेख्न माग गरेको छ । समाजका तर्फबाट शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालाई बुझाइएको ज्ञापनपत्रमा सो कुरा उल्लेख छ । प्रतिभा जाति नागरिक मञ्चका अध्यक्ष दलवीर विश्वकर्मा रसाइलीसहितको प्रतिनिधि मण्डल सो ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । समाजका तर्फबाट प्रस्तुत गरिएको ज्ञापनपत्रमा आम नागरिकले दैनिक जीवनमा उपयोग गर्ने सरसामान बनाउने, आवासीय भवन, मठमन्दिर र मन्दिरका देवी देउताका मूर्र्तिसमेत बनाउने वर्ग दलित नभएर प्रतिभा सम्पन्न भएको जिकिर गरिएको छ ।
दलित शब्दले नै मानसिक रुपमा अपहेलित र फरक वर्गको नागरिक भएको सन्देश दिने भएकाले निर्माणाधीन संविधानमा दलितको स्थानमा प्रतिभा सम्पन्न जाति भनेर सम्मानजनक शब्द राख्ने तर उनीहरुको आर्थिक र सामाजिक उत्थानका लागि सकारात्मक विभेद्को नीति अख्तियार गर्नुपर्ने माग समाजले राखेको छ ।
समाजले हस्तान्तरण गरेको मागपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले आउँदो संविधानमा कुनै पनि नेपाली नागरिकलाई जात, जाति, वर्ग, लिङ्ग, वेषभूषा, जन्मस्थानका आधारमा भेद्भाव नगरिने उल्लेख गरे । समाजले शिक्षा, रोजगारी र व्यक्तित्व विकासका अवसरमा प्रतिभा सम्पन्न जातिलाई विशेष प्राथमिकता दिन पनि माग गरेको छ ।

No comments:

Post a Comment