रुकुम, २०७२ असार १६, विभेद बिरुद अभियान – रुकुम जिल्लालाई जातीय भेदभाव तथा छुवाछूतमुक्त जिल्ला बनाउन र दलित नमुना बस्ती निर्माण गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलनका लागि रुकुमको मुसिकोटमा एक दिने अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय दलित आयोग, जावलाखेलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जातीय छुवाछूतमुक्त तथा दलित बस्ती विकास योजनाको आवश्यकता र महत्व, आगामी कार्ययोजना, रणनीतिक योजना र रुकुमेली दलित समुदायको वर्तमान अवस्थालगायत विषयमा गोष्ठीमा छलफल भएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले एउटा वर्गले मात्र जातीय भेदभाव तथा छुवाछूत अन्त्य नहुने भएकाले समुदायका सबै वर्गको सहयोगको आवश्यकता रहेको बताउनुभयो । जब समुदायमा बसोबास गर्ने मानिसको बानी व्यवहारमा परिवर्तन हुन्छ, त्यतिबेला नै भेदभावमुक्त समाजको निर्माण हुने भएकाले समाजका मानिसको बानी, व्यवहार परिवर्तन गर्न लाग्नुपर्ने अध्यक्ष नेपालीको भनाइ रहेको छ ।
राष्ट्रिय दलित आयोगको वार्षिक कार्यक्रमअनुसार रुकुम जिल्लामा अन्तर्जातीय विवाह गरी नमुना बनेका पाँच जोडीलाई दोसल्ला र नगद रु २० हजारसहित सम्मान गरिएको छ । सम्मान हुने जोडीहरूमा मुसिकोट नगरपालिकाका गणेश विक र प्रेमा गौतम, गरायला गाविसका धनवीर ओली र तारा विक, घेत्मा गाविसका शशिराम नेपाली र कमला शाह, सिम्ली गाविसका चंखबहादुर विक र कौशिला ओली, आठबिसकोट गाविसका कलश परियार र सीता शाह रहेका छन् ।
साभार :- रातो पाटी
No comments:
Post a Comment