Wednesday, July 1, 2015

बुटवलमा दलितलाई कोठा पाउनै मुस्किल - विनोद परियार

२०७२ असार १६, रूपन्देही- विभेद बिरुद अभियान । पछिल्लो समय बुटवल शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक रूपमा पश्चिम नेपालको केन्द्र बनिरहेको छ । देशकै नमुना नगरको रूपमा बुटवलले परिचय बनाए पनि यहाँ दलितहरूले डेरा नै नपाउने गरेको गुनासो गरेका छन् । यसको पछिल्लो भुक्तभोगी हुन्, बुटवल–१३ की २८ वर्षीया गीता सुनार ।स्याङ्जा पक्वादी गाविस स्थायी घर भई हाल बुटवलमा बस्दै आएकी सुनारले दलित भएकै कारण सामान सारिसकेको कोठा पनि छाड्नुपरेको बताइन् । ‘घर बन्दै गर्दादेखि एउटा कोठा बुक गरेको थिएँ, कार्पेट पनि बिछ्याएँ, सामान पनि पोको पारेर ल्याउन ठिक्क पारेको थिएँ,’ उनले यही शुक्रबारको घटना सम्झँदै भनिन्, ‘घरबेटीले जात सोध्दा सुनार हो भनेपछि कार्पेट बिछ्याइसकेको कोठा पनि छोड्नुप¥यो ।’
बुटवल–१३ देवीनगर न्यु भिजन मार्गस्थित शान्ता अर्यालले गीतालाई ‘तल्लो जात’ भन्दै सामान सारिसकेको कोठा छाड्न बाध्य पारेकी हुन् । घर निर्माण हुँदादेखि नै एउटा कोठा भाडामा दिनुहोला भन्दा हुन्छ भन्दै बस्न आउनोस् भन्ने शान्ताले सामान सार्न थालेपछि के जात हो भनेर सोधेको गीताले बताइन् । शान्ताले सुनारलाई घरमा राख्दा कुलले नसहने, श्रीमान् काम्ने, अनिष्ट हुने भन्दै कोठामा नबस्न भनेकी थिइन् ।
‘पहिला क्षत्रीजस्तो लागेको थियो, सुनार रहेछौ, धन्न बेलैमा थाहा पाएँ, जाती भयो भनेर सिधै भन्नुभयो,’ गीताकी अमाजू रनमाया विश्वकर्माले भनिन् । उनले छुवाछूतमुक्त देश भएर पनि आफूहरूले अझै पनि अपमान भोग्नुपरेको दुःखेसो पोखिन् ।
श्रीमान् विदेशमा भएकाले अमाजू दिदीको नजिकै बस्न गीता न्यु भिजन मार्गमा कोठा सर्न लागेकी थिइन् । पुरानो घरबेटीसँग बिदा मागेर कोठा सर्ने अन्तिम समयमा दलित भएकै कारण कोठा सर्न नपाएकोमा गीता दुःखी भएकी छन् । गीता अहिले रनमायाको घरमा आश्रय लिएकी छन् । उता, शान्ता अर्यालले आफूले दलितलाई कोठा दिन मिल्दैन, दिन्न भनेको स्वीकार गरेकी छन् । तर, गीतालाई कुनै पनि हालतमा आफ्नो घरमा राख्न नसक्ने प्रतिक्रिया दिइन् । गीता त एक उदाहरणीय पात्र मात्र हुन् । बुटवलमा पछिल्लो समयमा झन् दलितका लागि कोठा पाउन निकै मुस्किल हुने गरेको छ ।
बुटवल–१३ पवित्रानगरमा केही दिनअघि मात्रै डेरा खोज्न गएका मुकेश खड्का विश्वकर्माले दलित भएकै कारण धेरै ठाउँमा भएको कोठा पनि जात सोधेर नदिएको गुनासो गरे । ‘राम्रो घरमा पैसा तिर्छु भन्दा पनि विभिन्न बहाना बनाएर भाडामा दिँदैनन्,’ उनले भने ।
शान्ताले आफ्नो घर दिने÷नदिने आफ्नो निर्णय भन्दै छलफलमा गएका अधिकारकर्मीसँग समेत प्रतिवाद गरेको जागरण मिडिया सेन्टर क्षेत्रीय कार्यालय बुटवलका संयोजक इन्द्र विश्वकर्माले बताए । उनले अन्तरिम संविधान, २०६३ ले मात्रै होइन, जातीय भेदभाव, छुवाछूत, कसुर र सजाय ऐन, २०६८ समेत लागू भइसकेको अवस्थामा दलितले डेरा नपाउने अवस्था सामान्य नभएको विश्वकर्माले बताए । उनले कोठा भाडामा दिनु भनेको व्यवसाय गर्नु भएको र जातको आधारमा भाडा नदिने घरधनीलाई कडा कारबाही हुनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकाकारी विष्णुप्रसाद ढकालल यदि कसैले छुवाछूत गरेको भए कारबाही हुने बताए । उनले कसैले पनि जातको आधारमा विभेद गर्न नहुने बताउँदै दलित भएकै कारण कोठा नदिने कुरा कानुनविपरीत भएको जनाए ।
साभार :- राजधानी दैनिक 

No comments:

Post a Comment