लेखक युक्तलाल बिश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटिमा सदस्य हुनुहुन्छ |
आज भन्दा ४००० बर्ष देखि ऋग्बेदको पछिल्लो अवस्थाबाट भारतीय बैदिक समाजबाट प्रारम्भ भएको जातीय छुवाछुत हिन्दु बर्णश्रम साशन व्यवस्थामै आधारित थियो । मानब मानब बिच द्वेष,घृणा र अपमानको बिजारोपण गर्ने काम तत्कालिन बर्ण व्यवस्थाबाट अनुग्रहित साशनलेनै गर्यो। अझ मनुस्मृति नामक ग्रन्थलेत नारी र कथित शुद्र भनिएको जाति माथि यति घोर अपमान गर्यो जसको जति बर्णन गरे पनि सकिदैन । बेद पुराण लगायतका धार्मिक ग्रन्थ पढ़नत परै जाओस सुन्न पनि नहुने सुने भने कानमा रांग पगालेर हाल दिने क्रुर ब्यबहारको सिकार हुनु पर्यो । यसबाट के प्रस्ट हुन्छ भने विभेदको प्रादुर्भावको मुख्य जड हिन्दु बैदिक समाज नै हो । देशको शासन व्यवस्था बिधि बिधान र नियममा आधारित हुनुपर्दछ जुन मानब कल्याण र हितमा निहित होस् तर यसो भएन । तत्कालिन अबस्थामा देशको शासन व्यवस्था धर्मको आडमा मनोपोली ढंगवाट भयो । जुन नियमले एउटा बर्ग र समुदायप्रति घोर अपमान र पीडा थोपर्यो जुन बिगत देखिकै अनन्त पीडाको उपज हो ।
बिगत देखिको यो बिकृति र विसंगतिलाई धर्मका अनुयागीहरुले कहिल्यै पनि सुधार्ने समयानुकुल परिबर्तन गर्ने काममा ध्यान पुर्याएनन । जसले गर्दा दलित समुदाय आज सम्म अपमानको सिकार हुनुपर्यो । जातीय अपमान बिशेषगरि छुवाछुतको कारणले गर्दा सामाजिक जीवनका हरेक पक्षमा प्रताडितपूर्ण जीबनयापन गर्नु पर्यो । छुवाछुत र विभेदका कारणले दास मनोबृतिको विकास भयो । दैनिक जीवनको आबस्यकीय बस्तुहरुमा प्रतिबन्ध कायम भयो । दलित समुदायहरु आत्मनिर्भर हुन् नसक्ने परिस्थिति सिर्जना भई परनिर्भरतामा जीबन जिउन बाध्य हुनुपर्यो । दासताको चंगुलमा फसेका उत्पीडित दलित समुदायहरु पशु भन्दापनि तल्लो स्तरको जीबन जिउन नीर्य भए । त्यसर्थ उत्पीडित दलित समुदायको यस परिस्थितिको जिम्बेबारी बर्णव्यवस्था अर्थात बर्णबादी व्यवस्थानै हो । उत्पीडित दलित समुदायहरु हिन्दु धर्मकै अनुयागी हुन् । उनीहरुको सामजिक रहन सहनका हरेक पक्षहरु हिन्दु धर्मका संस्कार र परम्परामा निहित छन् । जन्म देखि मृत्यु सम्मका हरेक रीतिथितिहरु,बिधिबिधानहरु आर्यसंस्कृति संग सम्बद्ध छन् ।थर गोत्र एक अर्का संग मिल्छन तर पनि भाषा संस्कृति समान भएका उत्पीडित समुदायमाथि छुवाछुत जस्तो अमानबीय क्रियाकलाप गरिन्छ, विभेदपूर्ण व्यवहार गरिन्छ यसो गर्नु न्याय संगत हो ?यस बिषयमा गम्भीर भएर सोच्ने काम भएन र हिन्दु धर्म भित्रको विकृत पक्ष छुवाछुतलाई कायममै राखियो । यी सबै कुराहरुको विश्लेषण गरिरहदा मलाई बाल्यावस्थाको सम्झना आयो । मलाई मेरो देश, मेरो धर्म,मेरो संस्कृति ,मेरो भेषभुषा प्रति गर्व छ | मैले यसो भनिरहदा मलाइ मेरो धर्मको बारेमा केहि भन्न मन लाग्छ । म सानो छदा मेरो गाउँमा गोपाल दाईको घरमा सत्यनारायणको पूजा लगाउदा मलाई पन्चामृत र अपुंगो अलगग्याएर माथिबाट दिईयो। मेरो हातमा राखिदिएनन् ,संगै हारमा राखेर प्रसाद खुवाएनन् । मेरो मन असाध्यै दुख्यो । मेरो बालसुलभ मनोविज्ञानले किन यसो गरेको होला ? बुझ्न सकेन । म आमासंग मन्दिर जान्थे गएका सबै जना फूल अक्षता अबिर धुप लिएर मन्दिरमा रहेका भगवानलाई पूजा गर्थे तर मेरी आमा पूजारीलाई अलग्गै सबै समान दिनु हुन्थ्यो र बाहिरबाट भगवानलाई नमस्कार गरि फर्कनु हुन्थ्यो । उहालाई भगवानप्रति अगाध आस्था थियो तर के गर्नु ? पूजारीले भित्र जान दिदैनथे | यो पीडा सहदै मेरी आमा आज पनि पूजा गरिरहनु भएको छ । उहाको भगवान प्रतिको आस्थामा कुनै किसिमको बिचलन आएको छैन | मेरो गाउँदेखि निकै पर एउटा इनार थियो जुन आज पनि छ । म आमा संग पानी लिन सानो गाग्री बोकी इनार जान्थे। इनार पुगे पछि आमा सबै संग एकै साथ पानी निकाल्न पाउनु हुन्न थियो। एकै पटक पानी तान्दा पानी छोइन्छ रे भन्ने बिश्वास थियो | मेरी आमालाई पल्लो घरकी काकीले पानी भरिदिनु हुन्थ्यो । सधै त कहाँ भरिदिनु सबै जनाले भरिसके पछी पालो आउथ्यो | किन यसो भएको होला ? सोच्न मात्र सक्थे तर आवाज उठाउन सक्दिनथे । मेरी आमाले पनि मलाइ केहि भन्नु भएन तर केहि समय पछि चलन त बेठिक रहेछ भन्ने थाहा पाए। यसरी मेलापात ,बिबाह ब्रतबन्ध ,भोजभतेर जस्ता सामाजिक रीतिरिवाजहरुमा हामी प्रति गरेका ब्यबहारले मेरो मन असाध्यै दुख्थ्यो । मलाइ लाग्थ्यो हामी पनि मान्छे ,हाम्रो पनि धर्म ,संस्कृति ,परम्परा एकै तर अपमान किन ?
हाम्रो घरमा आरन थियो । गाउँका सबै मानिसहरु आआफ्नो हातहतियार हसिया ,कोदाली ,कोदालो ,कुटो ,बन्चरो, फाली लगायतका सामानहरु बनाउन आउथे । मेरो बुबा बिहानै देखि आरनमा बस्नु हुन्थ्यो । बिहानभर काम गरिरहनु हुन्थ्यो । आरनमा आउने मानिसहरु हाम्रो घरमा केहि पनि खादैन थिए । तिर्खा लागेपनि पानी पीउदैन थिए ।तर एक जना गाउँकै काका हुनुहुन्थ्यो । उहा जातले हामी भन्दा ठूलो रे हाकाहाकी होइन लुकी लुकी हाम्रो घरमा खानु हुन्थ्यो ।उहाले हाम्रो घरमा खादा केहि पनि हुदैनथ्यो म अचम्मित हुन्थे । हाम्रो घरमा खाना खादा त केहि पनि हुदोरहेनछ । अरुले किन नखाएका होलान ? म आफैलाइ प्रश्न गर्थे ?
बि.सं.२०४६ मा जनआन्दोलन भयो जन आन्दोलनले प्रजातन्त्र ल्याएपछि मानिसहरु आउने जाने हाकाहाकी खाने गर्न थाले केहि स्वतन्त्रताको अनुभूति भयो । मैले भोगेका सामाजिक विभेदका सृंखलाहरु मैले मात्र भोगेको होइन मुलुकका झन्डै ६० लाख उत्पीडित दलित समुदायले सदियौ देखि भोग्दै आइरहेका छन् । बि.सं.२०४६ को जनआन्दोलन ले प्राप्त प्रजातन्त्रमा दलितका अधिकार सुनिस्चित हुन्छ भन्ने कुरामा आशाबादी थिए तर कुनै पनि अधिकारहरु सुनिस्चित हुन् सकेनन् । बि.सं.२०६२/०६३ मा राजतन्त्रको अन्त्य ,राज्यको अंगमा प्रतिनिधित्व कायम हुन् नसकेका जाति भाषा ,धर्म ,संस्कृतिको समानुपातिक प्रतिनिधित्व ,प्रेश स्वतन्त्रता ,दलित ,महिला ,आदिबासी ,पिछडाबर्गको हक अधिकारको ग्यारेन्टीको लागि ७ राजनीतिक दल र नेकपा माओबादीद्वारा जनक्रान्ति भयो र मुलुकमा परिबर्तन आयो । २०६२/०६३ को जनक्रान्तिबाट राजतन्त्रको अन्त्य भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ,धर्म निरपेक्षता , छुवाछुत मुक्त राष्ट्र लगायतका उपलब्धिहरु प्राप्त भयो । २०६४ मा संबिधान सभाको निर्बाचन भयो तर संबिधान बन्न सकेन । २०७१ मा दोस्रो संबिधान सभाको निर्बाचन पश्चात बन्ने प्रक्रिया अगाडी बढेको छ । नेपालको संबिधान २०७२ को प्रारम्भिक मस्यौदामा सुझाब संकलन गर्न सभासदहरु आआफ्नो निर्बाचन क्षेत्रमा पुगी सुझाब संकलन गर्ने काम समेत सम्पन भएको छ । दलित समुदायको हकमा पनि २०६३ को अन्तरिम संबिधानको भाबनालाइ लत्याई दलित अधिकारको सुनिस्चितता नभएकोमा व्यापक जनगुनासो आएको छ र संबिधानमा दलितको अधिकारको पूर्ण सुनिश्चित गर्न जनसंख्याको आधारमा र समानुपातिक सिद्दान्तका आधारमा १३% र छुवाछुतको मुआब्जा स्वरूप थप क्षतिपूर्ति बापत ७% गरि कुल २०% संबैधानिक व्यवस्था कायम गर्न सुझाब दिईएको छ । दलितका अधिकार सुनिश्चत गर्नका लागि बोलेर मात्र पुग्दैन । राज्यलाई छुवाछुत मुक्त बनाउन बास्तबिक रुपले दलितका सामाजिक ,आर्थिक ,शैक्षिक ,राजनीतिक क्षेत्रका समस्याको पहिचान गरिनु पर्दछ।साथै संम्पूर्ण अंगहरुमा दलितको प्रतिनिधित्वको संबैधानिक व्यवस्था गरिनु पर्दछ ।हिन्दु बर्णबादी ब्यबस्थालेनै दलितका अधिकारहरु प्राप्त हुन् सकेनन् । त्यसैले राज्यलाई कुनै एक धर्मको हो भनि किटान गर्नु उपयुक्त हुदैन । राज्यमा सबै जातजाति , भाषा , संस्कृति ,भेषभुषा ,रहन सहन आदिको प्रतिनिधित्व सुनिस्चितताको लागि सबैले अंगाल्दै आएको धर्मको समान सहभागिता कायम हुने गरि सबै बीच मित्रता ,सद्भाव र सहिष्णुता कायम गर्न दलितहरु देशलाई धर्म निरपेक्ष बनाउन चाहन्छन ।धर्म निरपेक्ष राष्ट्र हुदैमा कसैको पनि धार्मिक पहिचान गुम्दैन बरु धार्मिक स्वतन्त्रता प्राप्त हुन्छ ।त्यसैले दलितको समानुपातिक समाबेशी प्रतिनिधित्वको सुनिश्चितता संगसंगै दलितको पूर्णअधिकारको लागि दलितहरु देशलाई धर्म निरपेक्ष बनाउन चाहन्छन । देशमा कुनै किसिमको विभेद नहोस सबैले सबैलाई सम्मान गर्ने बाताबरण सिर्जना होस् र समतामुलक राष्ट्रको निर्माणको लागि पनि दलितहरु देश धर्म निरपेक्ष होस् भन्ने चाहन्छन ।
No comments:
Post a Comment