Tuesday, July 28, 2015

तथाकथित दलित होइन, “शिल्पी” पहिचान उचित -दानबहादुर विश्वकर्मा

२०७२ साउन १२,विभेद बिरुद अभियान  । नेपालमा तथाकथित दलित भनिने शिल्पी समुदायको पहिचानबारे व्यापक छलफल भइरहेको छ । एनजीओवादीहरु यो समुदायको पहिचान दलितै राखेर डलरखेतीमा अग्रसर छन् भने अन्य सचेत जनसमुदायचाहिँ मानवताको कलंक दलित होइन वास्तविक पहिचान खोज्नुपर्दछ भन्ने पक्षमा छन् ।
यसै सेरोफेरोमा संघीय समाजवादी दलित मुक्ति महासंघले व्यापक अध्ययन गरेर यो समुदाय नेपाली समाजको आदिमकालदेखि शिल्पकारितासित सम्बन्धित भएकाले यसको ऐतिहासिक र वास्तविक पहिचान ‘शिल्पी’ स्थापित गराउनुपर्दछ भन्ने मान्यतामा पुगेको छ । त्यसैले सर्वप्रथम यही महासंघले योे समुदायको वास्तविक ऐतिहासिक शिल्पी पहिचानलाई स्थापित गराउन अभियान अगाडि बढाएको छ । यसै क्रममा यो समुदायका लागि संघीय राज्यमा सिंगो नेपाल क्षेत्राधिकार हुनेगरी “शिल्पी विशेष प्रदेश”को परिकल्पना गरेर नयाँ संविधानमा अंकित गराउन संविधानसभामा समेत प्रस्तावित गरिएको छ । यस अवस्थामा शिल्पी समुदायको पहिचानको रुपमा रहेको दलित शब्द हटाएर शिल्पी पहिचान स्थापित गरिनुपर्दछ भन्ने कुरामा जनसमुदाय सकारात्मक छन् ।
यसैबीच ५ जुन २०१५ मा समीक्षा समाजद्वारा हङकङमा आयोजित ‘आहुति संवाद”मा यो समुदायको पहिचान दलित नराखेर शिल्पी राख्दा कसो होला भनेर एभरेष्ट साप्ताहिकका विसुसमले प्रश्न उठाएका थिए । एमाओवादीका पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल (आहुति)ले राजनीतिक पूर्वाग्रहका कारण तथ्यलाई बंग्याएर दिएको अभिव्यक्ति इसमता डटकममार्फत थाहा भयो । यस्तो गलत अभिव्यक्तिप्रति हामी कदापि पनि सहमत हुन सक्दैनौं । त्यसबारे स्पष्ट पार्न आवश्यक भएकाले यहाँ केही तथ्य राखिएका छन् ।
पहिलो सवाल
आहुतिले भनेका छन् “दलित शब्द सामान्तवादले हेपेर, अपमानित गरेर दिएको होइन, यो त भारतीय दलित आन्दोलनले बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त गरेको गौरवमय परिचय हो । त्यो नेपालमा २०२४ सालपछि प्रयोग गरिएको हो । त्योभन्दा पहिले दलितलाई अछूत, पउनी, छुन नहुने जात, कुजात आदि भनिन्थ्यो । जसरी जनजातिले आफूलाई जनजातिको रुपमा परिचय निर्माण गर्नु भन्दा पहिले उनीहरुलाई लिँडे, भोटे, कीरा, चितुवा, न्यार आदिआदि भनिन्थ्यो ।”
“दलित” कदापि गौरवशाली शब्द होइन । यो गौरवमय परिचय भएको भए भारत तथा नेपालका दलित भनिनेहरुले दलित मुक्तिका लागि ठूलठूला आन्दोलन किन गर्नुपर्थ्यो ? सदीयौदेखि ब्राह्मणवाद एवं सामन्तवादले ‘शिल्पी’ समुदायलाई अपमानित गरेर असुर, चण्डाल, दैत्य, दानव, शुद्र, अछूत घोषित गर्दै आएकाले त्यसका विरुद्ध ठूलाठूला आन्दोलन भएका छन् । त्यसै क्रममा १९ औं शताब्दीतिर शिल्पी समुदायलाई अछूतको सट्टा दलित नामाकरण गरेर डा. भीमराव अम्बेडकरले भारतमा सशक्त अछूत मुक्ति आन्दोलन चलाएको स्पष्टै छ । भारतको संविधान मस्यौदा समितिका अध्यक्ष बनाइएपछि डा. अम्बेडकरले शिल्पकारी जाति समुदायको पहिचानबाट दलित हटाएर भारतको संविधानमा अनुसूचित जातिको नाममा उल्लेख गरिएका थिए । शिल्पकारी जाति समुदायको पहिचान दलित नै गौरवशाली हुन्थ्यो भने दलित शब्दका जन्मदाता अम्बेडकरले किन भारतको संविधानमा दलित शब्द उल्लेख गरेनन् ?
दोस्रो सवाल
आहुतिले भनेका छन्, “नेपालमा दलित शब्द राखेर संगठन दर्ता गर्न खोज्दा पञ्चायती शासकहरुले अस्वीकार गरेका थिए । त्यसैगरी २०४८ सालसम्म नेपालका कुनै पनि पार्टीले दलित शब्दलाई स्वीकार गरेका थिएनन् । तर दलित आन्दोलन भने यहि परिचयमा अगाडि बढी रहयो र अनन्तः आज पार्टीहरु र राज्य अन्तरिम संविधानमा समेत दलितलाई एउटा राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने सामाजिक समूहको रुपमा स्वीकार गर्न बाध्य भएको छ । दलित शब्दले खस, आर्य, मधेशी र नेवार जातिभित्रका फरक फरक संस्कृति भएका विभिन्न नाम गरेका जातका समुदायलाई साझा परिचय दिन्छ । साझा संघर्षको निम्ति मञ्च दिन्छ, जसरी जनजाति शब्दले जनजातिभित्रका सबै जातिलाई साझा नाम र लड्ने मोर्चा दिएको छ । यदि दलित शब्द छोड्ने हो भने यो समुदायका प्रत्येक जातको नाम राखेर संगठन बनाउनुपर्ने हुन्छ र आन्दोलन स्वतः कमजोर हुन पुग्दछ । जुन कुरा शासकहरु चाहन्थे र अझै चाहनेहरु बाँकी छन् ।
दलित शब्द नेपाली माटोमा उब्जेको शब्द होइन, भारतबाट आएको तथाकथित शब्द हो र नेपालका शिल्पी समुदायमाथि लादिएको हो । त्यतिबेलाका शिल्पी समुदायका अगुवाहरु हिरालाल विश्वकर्मा, प्रतापराम लोहार, नारायणप्रसाद कपाली, सिद्धिबहादुर खड्गीलगायत त्यतिबेलाका शासकले एकातिर नेपालका शिल्पी समुदायको पहिचान दलित (अछूत) राखेर शिल्पी समुदायको वास्तविक पहिचान पनि नझल्किने, उत्थान पनि हुन नसक्ने र सधैभरि यो समुदायमाथि मानवताको कलंक रहिरहनेगरी, अर्कोतिर दलित शब्द संयुक्त राष्ट्र संघद्वारा जारी गरिएका सबै प्रकारका जातीय भेदभाव उन्मूलन अन्तर्राष्ट्रिय महासन्धि एवं नेपालको संविधानको समानताको हक विपरीत हुने भएकाले “दलित” शब्दलाई अस्वीकार गरेर नेपाल राष्ट्रिय समाज कल्याण संघ नामक संगठन दर्ता गर्न पुगेको यथार्थ स्पष्टै छ ।
बहुदलीय व्यवस्थाको पुनःआगमनपश्चात २०४८ सालतिर एनजीओहरुको दबदबाले गर्दा सर्वप्रथम नेपाल राष्ट्रिय समाजकल्याण संघमा “दलित” शब्द थपेर नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दर्ता हुन पुगेको हो । तत्पश्चात “दलित” शब्द टाठाबाठाका लागि डलरखेती गर्ने साधनको रुपमा प्रयोग हुँदै आएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका सबै प्रकारका जातीय भेदभाव उन्मूलन अन्तर्राष्ट्रिय महासन्धि लागू गर्ने सवालमा २०६२÷६३ सालको जन आन्दोलनको दबाबले २०६३ जेष्ठ २१ गते राज्यद्वारा जातीय भेदभाव छुवाछूत मुक्त राष्ट्र घोषित भयो । तर त्यसलाई कार्यान्वयन गर्नुभन्दा पनि डलरवादी तत्वहरुले तथाकथित दलित शब्दलाई आफ्नो निहित स्वार्थसिद्धिको माध्यम बनाएर नेपालका शिल्पी समुदायमाथि लादिएको दलित पहिचानलाई वैधानिक बनाउन अन्तरिम संविधान २०६३ मा उल्लेख गराएकाले शिल्पी समुदायका लागि अन्तरीम संविधान २०६३ कलंकित दस्तावेज बन्न पुगेको छ ।
यस अवस्थामा दलितको नाम भजेर डलरखेती गर्ने बाहेक अन्य सचेत समुदायले “दलित” शब्दलाई तिरस्कार गरिसकेका छन् । नेवारभित्र कुसले, कपाली, धोवी, कसाई, खड्गी, देउला, च्यामे, पोडेलगायतका जात दलित पहिचानलाई हटाउन अग्रसर भइसकेका छन् । यस्तो अवस्थामा यो समुदायका प्रत्येक जातले आ–आफ्नो जातीय संगठन बनाउनु सान्दर्भिक हुन्छ र त्यसलाई बलियो बनाउन छाता संगठनको रुपमा महासंघ बनाउनुपर्ने आजको प्रमुख आवश्यकता हो, जो संघीय समाजवादी दलित मुक्ति महासंघले सुरुवात गरिसकेको छ ।
तेस्रो सवाल
आहुतिले भनेका छन्, “दलित र अछूत भनेको पर्यायवाची हुँदै होइन । अछूत त्यो मानिस हो जसले छुवाछूत र उत्पीडनलाई स्वीकार गर्दछ, तर जबदेखि त्यसको विरुद्धमा उभिन्छ, त्यसपछि ऊ दलित हो । त्यसैले दतिल भनेको विद्रोही पर्यावरण हो । योसँग हीनताबोध होइन गौरवको अवधारणा छ । दलित एउटा अवस्था हो, स्थायी पहिचान होइन । जब दलितमाथिका सबै उत्पीडनको अन्त्य हुन्छ, त्यसपछि दलित एउटा इतिहासको स्मरणको विषय बन्नेछ । जसरी हिजोका कमारा कमारीका सन्तान आज सम्मानित जीवन बाँच्दछन् त्यो बेला कमारा प्रथा थियो भनेर आज उनीहरुलाई फरक परेको छैन, पर्ने पनि होइन । जनजाति पनि एउटा अवस्था हो त्यो सधैं रहँदैन । दलित भनेरै उत्पीडन हुन्थ्यो भने नेपालको कुनै सार्की चीन गएर आफू दलित हुँ भन्दा किन चिनियाँ समाजले अपमान गर्दैन ? किनभने चिनियाँ समाजमा जातप्रथा नै छैन । मुख्य कुरा वर्णव्यवस्थाद्वारा निर्धारित राजनीति, अर्थतन्त्र र संस्कृतिका कारणले उत्पीडन भएको हो । त्यसैले त्यसलाई भत्काएर समतामूलक बनाउनु मुख्य जिम्मेवारी हो । नामका पछाडि दौडिनु सही होइन ।”
दलित र अछूत पर्यायवाची नै हो । दलित शब्दका जन्मदाता डा. भीमराव अम्बेडकरले अछूतलाई नै दलित बनाएका हुन् । त्यति बेला दलित भनेको अन्य कुनै अमुक समुदाय थिएन । नेपालमा पनि अछूत भनिनेहरुले २०१८ असार १३ गते नेपाल राष्ट्रिय अछूत मुक्ति परिषदको तर्पmबाट राजा महेन्द्रलाई स्मृतिपत्र बुझाउँदा प्रतिउत्तरमा राजा महेन्द्रले अछूत शब्द नेपाल अधिराज्यको संविधान २०१५ को समानताको हकसँग बाझिएकाले अबदेखि अछूत नभन्नू भनेका थिए । त्यसपछि, आफूलाई अछूत भनेर स्वार्थ लिनेहरुले त्यस शब्दको विकल्पमा भारतको सिको गरेर २०२४ सालदेखि अछूतको सट्टा दलित शब्द प्रयोगमा ल्याएको प्रस्टै छ । त्यसैले दलित अछूत होइन भन्ने कुरा कहीँ पनि छैन । अर्कोतिर शोषक सामन्तहरुद्वारा शिल्पी समुदायमाथि लादिँदै आएको दलित (अछूत)जस्तो हीन शब्दलाई गौरव मान्नु नै अपमानित हुनु हो । यो जस्तो अबुझपन के हुनसक्छ ?
“दलित” शब्दको अर्थ कुल्चेको, नष्ट गरिएको, निच पारिएको थिचिएको, इञ्जत प्रतिष्ठा समान रुपमा पाउन नसकेको, समाजमा असमानताले सोसिएको हो भन्ने परिभाषा हिन्दी भाषाको ‘नालन्दा विशाल शब्दसागर’मा उल्लेख छ ।
त्यस्तै, दलितको अर्थ फग्ल्याटै फग्ल्याटा पारिएको, दलिएको, दमन गरिएको, थिचिएको, कुल्चिएको, विध्वशं गरिएको, नष्ट गरिएको र दलित वर्ग भन्नाले समाजमा हक इज्जत र प्रतिष्ठा समान रुपले पाउन नसकेको जाति वा समूह सामाजिक व्यवस्थाको असमानताले सोसिएको हो वा पछि परेको जनसमुदाय हो भन्ने कुरा ‘नेपाली बृहत् शब्दकोष’मा उल्लेखित पाइन्छ ।
त्यस्तै, दलितको अर्थ अर्काको थिचोमिचोमा परेको, अरुबाट सताइएको, समाजमा इज्जत र प्रतिष्ठा नपाएको, थिचिएको, मिचिएको भनी ‘प्रयोगात्मक नेपाली शब्दकोष’ले व्याख्या गरेको छ । यी सबै तथ्यबाट दलित शब्द सम्मानजनक होइन भन्ने पुष्टि हुन्छ । तसर्थ शिल्पी समुदायमाथि लादिएको दलित शब्द राखी राख्नु समाजमा अपमान र असमानता पालेर बस्नु हो । दलित शब्दको अन्त्येष्टि गरेरै छाड्नु बेस हुन्छ ।
‘दलित एउटा अवस्था हो स्थायी पहिचान होइन, उत्पीडनको अन्त्य भएपछि दलित एउटा इतिहासको स्मरणको विषय बन्ने छ’ भन्ने निष्कर्ष अत्यन्तै खतरनाक लाग्दछ । एकातिर दलित पहिचानलाई संघर्षको गौरवशाली उपलब्धि मान्ने र सबैलाई एकै ठाउँमा राख्न सक्ने साझा पहिचान भन्नु, अर्कोतिर इतिहासमा हराएर जाने अस्थायी पहिचान भन्नु आफैमा बाझिएको छैन र ? त्यसो भए दलितको स्थायी पहिचान के हो भन्ने प्रश्न उठ्छ कि उठ्दैन ? यसले उत्पीडन सकिएपछि मिल्ने थर र जातमा विलय हुनेतर्फ संकेत गर्छ कि गर्दैन ? यसले तथाकथित दलित भनिने शिल्पी समुदायमाथि भइरहेको अमानवीय दमन उत्पीडनविरुद्ध अधिकार प्राप्तिको संघर्षलाई कमजोर पार्छ कि पार्दैन ? समतामूलक समाज भएपछि पनि यो समुदायलाई सम्मानजनक वास्तविक पहिचान चाहिन्छ कि चाहिँदैन ? यस्तो गोलमटोल कथनलाई आजको समाज कदापि मान्नेवाला छैन । आजको समाजलाई स्पष्ट दिशानिर्देश र सम्मानजनक वास्तविक पहिचान चाहिन्छ ।
चौथो सवाल
दलित भनिने शिल्पी समुदायको पहिचान दलितको सट्टा शिल्पी राख्दा कसो होला भन्ने प्रश्नमा आहुतिले भनेका छन्, “यसबारेमा के छ भने भारतमा महात्मा गान्धीले दलितको सट्टा हरिजन अर्थात ईश्वरका सन्तान भन्ने शब्द चलाउन खोजे, तर दलितहरु आफ्नो बलिदानद्वारा निर्मित दलित शब्द छाड्न तयार भएनन् । नेपालमा पनि २०२४ सालभन्दा अघि परिगणित, हरिजन, पिछडा वर्ग आदि शब्द प्रयोग गरियो, पछि एउटा पार्टीले उत्पीडित शब्द पनि प्रयोग गर्‍यो । तर ती सबैले दलित अस्तित्वलाई प्रभावकारी ढंगले सम्बोधन गर्न सकेनन् र हराए । अब शिल्पी पनि त्यस्तै एउटा पार्टीले प्रयोग गर्न खोजेको बुझिन्छ । तथापि त्यस पार्टीले आफ्नो भ्रातृ संगठनको नाममा “दलित” शब्द नै प्रयोग गरेको छ । कुनै समुदायलाई चिनाउन र एकताबद्ध गर्न अर्को समुदायसँग आधारभूत रुपमा नजुध्ने शब्द चयन गर्नु जरुरी हुन्छ, अनि त्यस परिचयमा त्यो समुदायको गौरव लुकेको भए झनै बेस हुन्छ । शिल्पीको अर्थ शिल्पकारिता गर्ने भन्ने हुन्छ, तर दलित समुदायभित्र शिल्पकारिता नगर्ने दुसाघ, मुसहर, डोम, हलखोर, च्यामे, पोडे आदि पनि छन् । त्यसैगरी शिल्पकारिताभन्दा माथिल्लो स्तरको प्राविधिक काम गर्ने समुदाय कामी पनि छ । त्यसैले ती हरेकलाई शिल्पी शब्दले कसरी सम्बोधन गर्छ र ? अर्कोतिर नेपालमा शिल्पकारिता गर्ने दलितमात्र छैनन् । जनजातिभित्र प्रसस्त समुदाय छन् । नेवारभित्र त शिल्पकार नामको जात भन्न मिल्ने समुदाय नै छ । तर उनीहरु दलित होइनन् । तब तिनीहरुलाई कसरी न्याय हुन्छ ? हुनै सक्दैन । त्यसकारण दलितलाई शिल्पी सम्बोधन समाजशास्त्रको कम अध्ययनबाट उब्जिएको लहडबाजीजस्तो लाग्दछ ।”
आहुतिको उक्त निष्कर्ष राजनीतिक पूर्वाग्रह र इष्र्या सिवाय अरु केही होइन भन्ने बुझिन्छ । आफू र आफ्नो पार्टीले गरेका काम सबै ठीक, अरुले गरेका असल कामकुरा पनि बेठिक भन्ने प्रवृतिले उहाँमा घर गरेको महसुस हुन्छ । शिल्पी समुदायको छाता संगठनको रुपमा स्थापित संघीय समाजवादी दलित मुक्ति महासंघले शिल्पी समुदायको पहिचान दलित होइन शिल्पी स्थापित गराउनु समाजशास्त्रको कम अध्ययनबाट उब्जिएको लहडबाजी नभएर समाजशास्त्रमात्रै होइन समाजका हरेक पक्षमा अध्ययन अनुसन्धानपछिको निष्कर्ष हो । ‘शिल्पी’ शब्द यो समुदायको सत्यतथ्य, वास्तविकता, ऐतिहासिकता र परम्परागत पेसा व्यवसायसँग गाँसिएको शब्दावली हो भन्ने निश्कर्षमा पुगेर शिल्पी शब्दलाई स्थापित गराउन अग्रसर भएको स्पष्टै छ ।
शिल्पी शब्द महात्मा गान्धीले प्रयोग गरेको हरिजन शब्द, यसअघि नेपालमा प्रयोग भएका शुद्र, पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने जाति, अतिपिछडा, निम्न समाज, परिगणित, हरिजन, अछूत, दलित तथा एमालेले प्रयोग गरेको उत्पीडितजस्तो होइन । यो शिल्पी शब्द त यो समुदायको परम्परागत पेसा व्यवसायसँग सम्बन्धित छ । यसले शिल्पकारिता गर्ने व्यक्ति, जाति, समुदायलाई जनाउँछ । शिल्पकारिता यो समुदायले नेपाली समाजको आदिमकालदेखि परम्परागत पेसाको रुपमा अँगाल्दै आएको छ । परापूर्वकालमा शिल्पी समुदायलाई नै शुद्र, अछूत (दलित) घोषित गरिएको हो । यसैको पछिल्लो प्रमाण १८३१ सालतिर किरात प्रदेश नेपाल राज्यमा गाभिएपछि पृथ्वीनारायण शाहले छूत जातमै रहेर कपडा सिलाउने, छालासम्बन्धी काम गर्ने, फलामका हतियार, कृषि औजार बनाउने, सुनचाँदीका गरगहना बनाउने लगायतका शिल्पकारितासम्बन्धी पेसा व्यवसाय गर्दै आएका किरातीलाई बोलाएर ती सबै काम अछूत (दलित) जातिको भएकाले ‘तिमीहरु कि त अछूत भएर बस, कि यो काम छोड’ भनेर शिल्पकारितासम्बन्धी पेसा व्यवसाय छाड्न लगाएको पाइन्छ । यामबहादुर किसान, नेपालमा दलित जातीय मुक्ति आन्दोलन, पृ. ५४) । यसबाट पनि शिल्पकारिता गर्ने जाति समुदायलाई नै शुद्र, अछूत (दलित) बनाएको स्पष्ट हुन्छ ।
त्यसैले यो समुदायका जातहरुको परम्परागत पेसा नै शिल्पकारिता हो भन्ने कुरा कसैले पनि नकार्न सक्दैन । शिल्पी परिचयले नै यो समुदायको गौरव र स्पष्ट पहिचान झल्काउँछ । तथाकथित दलित भनिएका दुसाध, मुसहर, डोम, हलखोर, च्यामे, पोडे आदि शिल्पकारिता गर्ने जाति होइनन् भन्नु सरासर अबुझपना हो । के दुसाघ, पासी र पासवानको परम्परागत पेसा शिल्पकारिता होइन ? उनीहरुको परम्परागत पेसा ताडीको रस निकाल्नु, खेती कृषि गर्नु हो भने त्यो कार्य गर्नका निम्ति आफूलाई चाहिने हतियार बनाउनु शिल्पकारिता होइन र ? त्यस्तै, डोम, मुसहर र हलखोरको परम्परागत पेसा बाँसका डोका, डाला, ढकिया बनाउने रहेको छ । डोम, मुसहर, धन्कार, ढाँगरलगायतले बनाएका डाला, टोकरी र नाङ्लो आदि छठ पूजामा नभई नहुने परम्परा छ । के त्यो शिल्पकारिता होइन ?
त्यस्तै च्यामे र पोडेले सरसफाइका लागि कुची बनाउनु शिल्पकारिता होइन र ? त्यस्तै कोली, कोरी, खत्वे, तत्मा कपडा बुन्ने, राम र चमार चर्मको काम गर्ने, पत्थ्थरकट्टा ढुङ्गाका सामग्री निर्माण गर्ने, बातर घर, महल र दरबार निर्माण गर्ने, खटिक, चिडिमार, कलहरु, ककैया पनि विभिन्न शिल्प र पेसासित सम्बन्धित भएको स्पष्ट हुन्छ (राष्ट्रिय दलित आयोग, मधेसी दलित समुदायको परिचयात्मक पुस्तिका) ।
त्यसको अर्थ दलित भनिने समुदायका सबै जातको परम्परागत पेसा शिल्पकारिता नै हो र उनीहरु शिल्पी नै हुन् भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैन । त्यस उसले यो समुदायको वास्तविक पहिचान शिल्पी नै हो । अर्कोतिर यो समुदायको परम्परागत शिल्पकारितासम्बन्धी पेसा व्यवसायमा आधारित शिल्पी पहिचान कसैसँग जुझ्ने बाझिने शब्दावली होइन । वर्तमानमा शिल्पी समुदायका जातिबाहेक अन्य कुनै कसैले व्यक्तिगत रुपमा शिल्पसम्बन्धी व्यवसाय गर्छ भने त्यो उसको परम्परागत पेसा मानिँदैन । उसलाई शिल्पी समुदायको जातिको भन्न मिल्दैन । कुनै बाहुन, क्षेत्री वा जनजातिका महिला वा पुरुषले कपडा सिलाउने व्यवसाय गर्‍यो भन्दैमा त्यसलाई दमाईं परियार त भनिँदैन । ऊ जुन जाति समुदायको हो, उसलाई त्यसै आधारमा सम्बोधन गरिन्छ ।अर्को कुरा, कसैले आफ्नो जात, थर शिल्पकार लेखेको छ भन्दैमा ऊ शिल्पी समुदाय वा जातिमा पर्छ भन्ने छैन । सिंह, विष्ट, थापा, बुढा आदि जात र थर क्षेत्रीमा पनि हुन्छन् जनजाति मगरमा पनि हुन्छन् । के त्यसलाई जुझेको मानिएको छ र ? त्यस्तै जोशी, भण्डारी, आचार्य आदि बाहुनमा पनि हुन्छन्, नेवारमा पनि । के त्यसलाई जुझेको मानिएको छ र ? त्यस्तै दुलाल, बस्याल, लम्साल आदि बाहुनमा पनि हुन्छन्, सार्कीमा पनि । त्यसलाई जुझेको मान्ने ? ती सबैको आ–आफ्नै समुदायमा सम्बोधन भएको हुन्छ ।
अर्को कुरा, संघीय समाजवादी दलित मुक्ति महासंघले शोषक सामन्तद्वारा दलित बनाइएका शिल्पी समुदायको पहिचान दलित होइन शिल्पी स्थापित गर्न खोजेको छ भने अर्कोतिर आफ्नो नाममा दलित किन जोडेको भन्ने विचारणीय छ । शिल्पी समुदायमाथि लादिएको दलित शब्द पूर्ण रुपमा नहट्दासम्म दलित मुक्ति गर्ने संगठनको नाममा दलित मुक्ति नै जोडेर लानु सान्दर्भिक हुन्छ । त्यसो भएन भने केको मुक्ति गर्ने संगठन हो भन्ने हुन्छ । त्यसो हुँदा संगठनको उद्देश्य दलित मुक्ति गर्ने भएकाले उद्देश्य अनुकूल “संघीय समाजवादी दलित मुक्ति महासंघ” निर्माण गरिएको हो, जसको अर्थ दलितलाई मुक्त गर्ने संगठन हो भन्ने बुझ्नुपर्दछ ।
निचोडमा, एकाइसौं शताब्दीको वैज्ञानिक युगमा कुनै पनि मानिस दलित भएर बाँच्न सक्दैन र चाहँदैन पनि । दलितजस्तो हीन शब्दलाई राखिराख्नु पनि मानवोचित हुँदैन । मानिसको जात कामबमोजिमको नाम हो र कामअनुसार नै मानिसको पहिचान बनेको हुन्छ । त्यसैले यो समुदायको आधारभूत पहिचान भनेको शिल्पी सिवाय अरु हुन सक्दैन । यो समुदायको पहिचानको अन्तिम विकल्प भनेको शिल्पी नै हो । तसर्थ शिल्पी पहिचानको पक्षमा उर्लंदो जनलहरलाई रोक्नु सारसले आकाश थामेझै हो ! बरु हामी सबै जुटेर निकटमै निर्माण हुन लागेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा यो समुदायको पहिचान मानवताको कलंक तथाकथित दलित होइन वास्तविक ऐतिहासिक सम्मानजनक शिल्पी पहिचान उल्लेख गराउन अग्रसर होऔं । तथाकथित दलित शब्दमै अल्झिरहन आजको अवस्थामा उचित होइन ।

लेखक दानबहादुर बिश्वकर्मा संघीय समाजवादी फोरम नेपालका महासचिव हुनु हुन्छ 
साभार :- इसमाता 

No comments:

Post a Comment