Monday, July 6, 2015

‘पढेर के हुन्छ ? माछा बेचेर पैसा आ’म्छ

जाजरकोट, २० असार , विभेद विरुद्ध अभियान ।खगेनकोट–१ दल्लीमा नलसिंहगाडको तिरमा बादीबस्ती छ । बस्तीमा पाँच दर्जन बालबालिका छन् । तर, कोही पनि विद्यालय जाँदैनन् । केहीले विद्यालयमा नाम लेखाए पनि अधिकांशले नामसमेत लेखाएका छैनन् । विद्यालय नगएर बादी बालबालिका माछा मार्न नलसिंहघाट र भेरी नदी जाने गर्छन् । माछा मार्नु बादी बालबालिकाको दैनिकी बनेको छ । यो उनीहरूको रहर नभई बाध्यता हो । अभिभावकसँग बालबालिकाले पनि माछा मार्ने काम नगरे परिवारमा गर्जो टर्दैन । ‘परिवारका सबैले माछा नमारे त पेट भर्ने र जिउ ढाक्ने समस्या हन्छ,’ स्थानीय प्रेम बादीले भने, ‘यो हाम्रो बाध्यता हो, माछा मारेर नै जीवन गुजारा हुन्छ, अरू काम गर्नलाई उपाय पनि छैन, छोराछोरी पनि यसैमा लाग्छन् ।’
परिवारका ठूलाले जाल र महाजालको प्रयोग गरेर माछा मार्ने गर्छन् । बालबालिका भने खोला र नदीमा पासो थापेर माछा मार्ने गर्छन् । यसरी माछा मारेर नै बादी समुदायको जीविकोपार्जन हुन्छ । विद्यालयमा नाम लेखाएका बादी बालबालिकासमेत दिनभर नदी र खोलामा रमाउने गर्छन् । तर, विद्यालय नगए पनि उदार कक्षोन्नति नीतिका कारण ती बालबालिका कक्षा उक्लने क्रम भने रोकिएको छैन । नाम लेखाएकाले दलित छात्रवृत्ति पनि नियमित पाइरहेका छन् । बादी समुदायको बस्तीनजिकै कालिमाटी बजार छ । उनीहरू माछा मार्नेबित्तिकै बजारमा लगेर साढे तीन सय रुपैयाँ किलोमा बिक्री गर्छन् । ‘पढेर के हुन्छ ? माछा बेचेर पैसा आ’म्छ, मन लागेको कुरा किनेर खान पाइन्छ,’ १२ वर्षीय बालक हिरा बादीले भने । उनले आफूले कमाएको पैसा खर्च गरेर बचेपछि आमाबुबालाई दिने गरेको बताए । अहिलेसम्म यो समुदायमा कोही पनि एसएलसी उत्तीर्ण भएका छैनन् ।
विद्यालय गएका बालबालिकाले पनि ५ कक्षापछि पढाइ छाड्ने गरेको अभिभावक बताउँछन् । ‘विद्यालय पठाएर के गर्नु ? पढ्नै मान्दैनन्,’ स्थानीय बुद्धिमान बादीले भने, ‘पढ्नुभन्दा माछा मारेर पैसा कमाउन रहर गर्छन् ।’ आफ्ना छोराछोरी पढाउने ठूलो रहर भए पनि पढाउनै नसक्ने अवस्था भएको स्थानीय विष्णु बादीले बताइन् । ‘न बाबाले पढे न बाजेले पढे, यी केटाकेटीले त पढ्लान् भनेको पढ्नै मान्दैनन्,’ स्थानीय विद्यालयका शिक्षक डिल्ली गिरीले भने । आफूहरूले जति प्रयास गर्दा पनि बादी समुदायका बालबालिकालाई विद्यालयमा टिकाइराख्न नसकेको उनको भनाइ छ । गरिबीका कारण अति विपन्न अल्पसंख्यक बादी समुदायका बालबालिकालाई विद्यालयको पहुँचसम्म पुर्‍याउन सरकारले विशेष कार्यक्रम अघि सारे पनि ती बालबालिकालाई कार्यक्रमले समेट्न सकेको छैन । जिल्लामा विद्यालय जाने उमेरका करिब आठ हजार बालबालिका विद्यालयबाहिर छन् ।
साभार - नया पत्रीका

No comments:

Post a Comment