Tuesday, August 4, 2015

के अब दलितले हक अधिकार माग्नै नपाउने ?


काठमाडौ ,साउन १९, विभेद विरुद्ध अभियान ।अधिकार माग्दै दलित संघर्ष समितिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै व्यवस्थापिका संसदमा प्रहरी हस्तक्षेपको चर्को विराेध, गृहमन्त्री जवाफ माग भएको छ । व्यवस्थापिका संसद बैठकमा एमाओवादी सांसद अग्नि सापकोटाले अधिकार माग्दै शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए ।
'के अब दलितले हक अधिकार माग्नै नपाउने?,' उनले भने,' शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेप गर्नेलाई कारवाही गर्नुपर्छ ।' दलित संघर्ष समितिले मंगलबार दश बजेदेखि ११ बजेसम्म अनामनगरमा प्रदर्शन गरेकाे थियाे । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सभासद सापकोटाले प्रहरी हस्तक्षेपबाट केही सांसदसमेत घाइते भएको बताए ।
कांग्रेस सांसद दीपक गिरीले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै घटनाको छानविन गर्न माग गरे । एमाले एमाले सांसद भानुभक्त ढकालले शान्तिपुर्ण आन्दोलनमा भएको प्रहरी दमनको एमाले संसदीय दलको तर्फबाट आपत्ति जनाए । उनले शान्तिपुर्ण आन्दोलनमा प्रहरी दमनको भत्र्सना गर्दै गृहमन्त्रीको जवाफ माग गरे । नेकपा मालेका सांसद अइन्द्र सुन्दर नेम्वाङ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, कांग्रेस मीन विश्वकर्मा, एमालेका जीतु गौतम विकले घटनाको भत्र्सना गर्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् । उनीहरूले गृहमन्त्रीले माफी माग्नु पर्ने माग गरेका छन् ।
मंगलबार विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा संविधानसभामा प्रतिनिधित्व गर्ने १० पार्टीका दलित भ्रातृ संगठनले अब बन्ने संविधान दलित मैत्री हुनुपर्ने माग गर्दै  राजधानीको विजुलीबजारमा  प्रदर्शन गरेका छन् । उनीहरुले १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरेका थिए । जाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते भएका  छन् ।
सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरुप सङ्मा तीन, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न ८ बुँदे साझा माग गर्दै निरन्तर आन्दोलित छ ।पुर्व घोशित कार्यक्रम अनुसार आज दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो ।
शान्तिपूर्ण धर्नामा सहभागी सयौँ दलित अधिकारकर्मीमाथि प्रहरीले अन्दाधुन्दा लाठी प्रहार गर्दा दुइदर्जन बढी आन्दोलनकारी घाइते भएका छन् । दलित अधिकारकर्मी, दुर्गा सोब, कमला हेमचुरी, सभासदहरु दलजित श्रीपाइली, जीतु गौतम, मानबहादुर विश्वकर्मा घाइते हुनुभएको छ । त्यस्तै अधिकारकर्मी गणेश वि.के, गजाधर सुनार, भद्रमान मोते, रणबहादुर रम्तेल, विनोद पहाडी, रणेन्द्र बराली, दिनेश हरिजन, सहेक विश्वकर्मा, धर्मराज विश्वकर्मा शोभा दुलाल लगायत दुइदर्जन बढी अधिकारकर्मी घाइते हुनुभएको छ । घाइतेमध्ये कमला हेमचुरीको दाँया खुट्टा भाँचिएको छ । सभासद् जीतु गौतम, दलजित श्रीपाइली, मानबहादुर विश्वकर्मा, पूर्व सभासद् विनोद पहाडी, भद्रमान मोते, गणेश वि.केको टाउको र मुखमा चोट लागेको छ । हाल उहाँहरुको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ । 

घाइते अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गरेका छन् ।
त्यस्तै गरि  विभिन्न संघसंस्था, राजनीतिक दलका भ्रातृ सङ्गठन लगायत आम दलित समुदायले प्रहरीको यसप्रकारको क्रुर र निर्मम दमको संयुक्तरुपमा भत्र्सना गरेका छन् । आफूहरुका उचित मागको सम्बोधन नभएसम्म आन्दोलनलाई जारी राख्ने बताउँदै आएका दलित अधिकारकर्मीले भोलि साउन २० गते विशाल जनप्रर्दशन गर्ने कार्यक्रम तय गरेका छन् । 
संचारकर्मी राजेन्द्र ताम्राकारको सहयोगमा 

No comments:

Post a Comment