Tuesday, August 4, 2015

आजको प्रहरी दमनप्रति दलित महिला संघ (फेडो)द्वारा प्रेस विज्ञप्ति जारी

काठमाडौ ,साउन १९ ,विभेद विरुद्ध अभियान ।


प्रेस विज्ञप्ति 

नयाँ संविधानमा दलित समुदायको हक अधिकार सुनिश्चित गराउन विभिन्न ८ बुँदे साझा माग राख्दै निरन्तर आन्दोलित दलित अधिकारकर्मीको शान्तिपूर्ण धर्नामा प्रहरीले गरेको निर्मम दमनप्रति दलित महिला संघ (फेडो) गम्भीर ध्यानाकर्षण भएको छ । 
पहिलो संविधानसभाको पूर्ण सदनले सर्वसम्मतीबाट पारित गरेको र दोस्रो संविधानसभाले सर्वसम्मतीले स्वामित्व ग्रहण गरेका दलित समुदाय सम्बन्धी सबै हकअधिकार जस्ताको तस्तै कायम रहने गरी संवैधानिक व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा होमिएको संयुक्त दलित अधिकार सङ्घर्ष समितिले आज बानेश्वरमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनविरुद्ध संघ घोर भत्र्सना गर्दछ ।  
प्रहरीको क्रुर र निरङ्कुश दमनबाट दलित अधिकारकर्मी, दुर्गा सोब, कमला हेमचुरी, सभासदहरु दलजित श्रीपाइली, जीतु गौतम, मानबहादुर विश्वकर्मा घाइते हुनुभएको छ । त्यस्तै अधिकारकर्मी गणेश वि.के, गजाधर सुनार, भद्रमान मोते, रणबहादुर रम्तेल, विनोद पहाडी, रणेन्द्र बराली, दिनेश हरिजन, सहेक विश्वकर्मा, धर्मराज विश्वकर्मा शोभा दुलाल लगायत दुइदर्जन बढी अधिकारकर्मी घाइते हुनुभएको छ ।  
यस घटनाले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्ना हकहित र अधिकारलाई नयाँ संविधानमा सुनिश्चित गराउन आन्दोलनरत आम दलित समुदायलाई थप आन्दोलनका निम्ति बाध्य बनाएको छ । घटनामा पूर्वमन्त्री, सत्तारुढ घटकका सभासद् र आम अधिकारकर्मी नागरिक समाजका अगुवा कुटिनु अत्यन्त दुख्द घटना हो । यसले अधिकार प्राप्तिको आन्दोलनमा होमिएका दलित समुदायमाथि मल्हम लगाउनुको साटो दुखेको घाउमाथि नुन छर्केको अनुभूति आम दलित समुदायलाई भएको छ । घटनाबाट सकारात्मक सोँच राख्ने र परिवर्तनको पक्षमा उभिने सबैलाई मर्माहत बनाएको छ । 
यस दुखद् घडीमा सम्पूर्ण दलित समुदायको हकहित र अधिकार प्राप्तिको सवालमा लड्नेक्रममा घाइते हुनुभएका अधिकारकर्मीको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै चरम दमन गर्ने प्रहरी प्रशासनमाथि छानविन गरी दोषीउपर कडा कारबाही गर्न सरकार, संसद् र आम सरोकारवाला निकायमा दलित महिला संघ (फेडो) हार्दिक अनुरोध गर्दछ । साथै आफूहरुका हक नयाँ संविधानमा सुनिश्चित नहुँदासम्म आन्दोलनलाई जारी राख्दै यसमा सबैको ऐक्यवद्धताका लागि संघ सबैमा अनुरोध गर्दछ । 

दुर्गा सोब
अध्यक्ष  

No comments:

Post a Comment