काठमाडौ ,१८ साउन, विभेद विरुद्ध अभियान ।
म चितवन क्षेत्र नम्बर–४ की समानुपातिकतर्फकी संविधानसभा सदस्य हुँ । २०६१ सालमा राष्ट्रिय दलित आयोगको सदस्य भएर काठमाडौँ आएँ । दुई–तीन ठाउँ कोठा खोज्न गएँ । त्यहाँ मलाई थर सोधियो । ‘मेरो थर परियार हो’ मैले इमानदार पूर्वक थर बताएँ ।
एक जना घरबेटी आमैले मेरो थर परियार भनेपछि डेरा दिन आनाकानी गरिन् । ‘ए नानी ! म त तपाईँ अधिकारी अथवा घिमिरे होला भन्ने ठान्या थिएँ, परियार हुनुहुँदो रहेछ, बुढाले मान्दैनन् ।संविधानसभा भवन परिसर भन्दा करिब एक किलोमिटर दूरीमा रहेको शान्तिनगरकी ती आमैका कुराले देश वदल्न हिँडेकी मलाई कताकता नरमाइलो महशुस भयो । संविधानसभा भवन आसपासमै मैले भोग्नु परेको यो पीडा आम दलितको प्रतिनिधी पीडा हो ।
त्यसपछि पनि मैले धेरै ठाउँमा डेराका लागि भौतारिनु पर्यो । अघिल्लो दिन कोठा निश्चित भयो । भोलिपल्ट कतै ‘मेरो बुढाले मान्नु भएन,’ कतै ‘मेरी बुढीले मानिनन्’ भन्ने मात्र जवाफ पाएँ तर धेरै ठाउँ चाहार्दा पनि डेरा कतै पाइँन । तर मैले कतै पनि थर ढाँटिन । हो अहिले पनि बहुसंख्यक दलितहरुले थर ढाँटेर डेरामा बस्नु पर्ने बाध्यता बनेको छ । जसले गर्दा दलितको जनसंख्या घटेको जस्तो पनि देखिन्छ । धेरै पढेका छन् । सबै कुरा बुझेका छन् । राजधानीमा बस्नुपर्ने बाध्यता छ तर बिचरा दलित भएकै कारण कोठा नपाउनुको पीडा उनीहरुसँग जीवित छ ।
थर ढाटेर बस्नेलाई म प्रश्न गर्ने गर्छु ? किन थर ढाँट्ने ? धेरैको जवाफ एउटै आउँछ । दलित भने पछि कोठा पाउनै मुस्किल भएकाले थर ढाटेको हो ।’
मलाई पनि कतिपय ठाउँमा थर भन्नासाथ कोठा दिएनन् । एउटा घरमा कोठा खोज्न गए । छिमेकमा बुझे । छिमेकीले परियार भन्दा कोठा दिदैन थर ढाट्नुहोस् भने, मैले थर ढाँट्दिन भने । भरे त्यो घरको कोठा पनि मन परेन । यहाँ डेराको मात्र समस्या होइन थरका कारण काठमाडौँमा घरमा काम गर्न पनि नदिने धेरै छन् । घरायसी काम गर्नुपर्ने बाध्यता धेरैको हुन्छ त्यसका लागि थर ढाट्ने दलित पनि थुप्रै भेटेकी छु ।
दोस्रो संविधानसभाको निर्वाचनपछि म सभासद् भएर काठमाडौँ आएँ । नयाँ बानेश्वरको शान्तिनगरभित्र रहेको मिलीजुली चोकमा मिठाइदेवी श्रेष्ठको घरमा बसेँ । त्यो घरमा डेढ वर्षको भाडा तिरे । तर, त्यहाँ बस्न चाहिँ पूरापुरी दुई वा तीन महिना बसेँ । घरबेटीले मलाई मन नै पराउनु भएन । म बिहान उठेर नुहाइ–धुवाई गरेर पूजापाठ गर्छु । त्यहाँ पनि त्यो सबै कर्म गर्थेँ । तर उहाँहरुले मलाई मनै पराउनु भएन । मैले उहाँहरुको कुरै बुझिन । पहिला बस्ने बेलामा थर भनेको हो । त्यतिबेला केही भन्नुभएन । सुरुमा बत्तीको बिल, भाडा लिनुपर्दा कागजको टुक्रामा विष्णुमती नाममा दिनुहुन्थ्यो । पछि उहाँले विष्णु परियार भनेर दिनुभयो । घरबेटी लेखा पदबाट अवकासप्राप्त व्यक्ति हुन । मैले उनको नाम बिर्सिए । सुरुमा वास्ता नगरे पनि पछि–पछि थरका कारण उनीहरुले मलाई दुव्र्यवहार गर्न थाले । पछि घर छोडिदिए हुन्थ्यो भने । उनीहरुले जातको आधारमा केही भनेनन् तर व्यवहार गर्दा थाहा भयो ।
उनीहरुले म दलित भएकै कारण कोठा छोड्न पटक–पटक दबाब दिए । त्यो बाहेक कोठा छोड्नु पर्ने अरु केही कारण थिएन । भाडा समयमा दिन्थेँ । सरसफाइ पनि गर्थे । मबाट केही गल्ती भएको थिएन । कोठामा म एक्लै बस्थेँ । कहिलेकाँही छोरा आउथ्यो । भेट्नु पर्ने मान्छेलाई म बाहिरै भेट्थेँ । उनीहरुलाई म सभासद् भन्ने पनि थाहा थियो । उनीहरुले सभासद भन्ने थाहा पाएर पनि दुव्र्यवहार गर्न छाडेनन् । काठमाडौँका स्थनीय बासीको यस्तो नराम्रो सोचाइको म जहाँ पनि विरोध गर्छु ।
भेदभाव गर्नेलाई जेल हाल्नुपर्छ
मलाई थाहा छ छूवाछुतविरुद्ध देशमा कानुन छ । तर यसलाई राज्यले कडाइका साथ लागू नगर्दा राज्यको कानुन बनाउने तहमा पुगेका व्यक्तिले समेत दुव्र्यवहार सहनु पर्ने बाध्यता हुन्छ । सामान्य नागरिकको हालतको के कुरा गर्नु ? मलाई त अझै पनि जे कानुन छन् ती सबै अपुग छन् जस्तो लाग्छ । जसले जातको आधारमा भेदभाव गर्छ त्यसलाई कैद सजाय हुनुपर्छ । संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनमा जनताले कुनै व्यक्तिले बलात्कार गर्छ भने त्यसलाई मृत्युदण्ड हुनुपर्छ । फाँसी दिनुपर्छ भनेका छन् । त्यसैगरी दलितमाथि हुने भेदभावविरुद्ध मृत्युदण्ड जस्तै कडाभन्दा कडा सजाय हुनुपर्छ । मृत्युदण्ड नै त भन्न म पनि सक्दिन तर कडा सजाय हुनुपर्छ । जसले त्यस्तो गर्छ त्यसलाई कानुनले दण्ड दिन्छ भन्ने कुराको चेतनाहोस् ।
विभेद अन्त्यका लागि आन्दोलन जरुरी
जातिय विभेद अन्त्यका लागि यो देशमा ठूलो आन्दोलनको जरुरी अझै छ । विभेदविरुद्ध ठूलो आन्दोलन नभएसम्म यो समस्याको समाधान हुँदैन । ग्रामिण क्षेत्रमा पनि सबै क्षेत्रमा छुवाछुत छैन तर राजधानीमा चाहिँ छुवाछुत देख्दा अति दुःख लाग्छ । हिजोको दिनमा विवाह पार्टी हुँदा दलितलाई छुट्टै दिने, लाइन नै छुट्टै राख्ने, कुर्सी नदिने, गुन्द्री दिने चलन ग्रामिण भेगमा थियो । यो अझै पनि कतिपय ठाउँमा देखिन्छ । यो दोष म बाहुनलाई मात्र दिन्न । कतिपय बाहुनले पनि बुझेका छन् तर जनजाती र मतुवालीले अझै बुझेका छैनन् । यो कुरा समाजका गन्यमान्य व्यक्तिले बुझेका छैनन् ।
अहिले सबैले पढेका छन् । दलित पनि शिक्षित छन् । तर बिडम्बना टिठलाग्दो छ । विभिन्न संघ–संस्थामा जागिरका अवसर हुन्छन् । तर धेरै ठाउँमा कार्यालय सहयोगीको रुपमा अर्थात कुनै राम्रो पदमा कतै पनि दलितलाई लिदैनन् । दलित भएकै कारण जागिर नपाउनु कहाँसम्मको अन्याय हो ? कार्यालयमा पछि सँगै बसेर खनुपर्ला भनेर दलित कर्मचारी नै नराख्ने संघ–संस्था पनि धेरै छन् । यसको विरोधमा मैले धेरै ठाउँमा बोल्ने गरेकी छु । भन्न पनि नमिल्ने कुरा हो तर यथार्थ यस्तै छ, जस्तो कार्यालय सहयोगी दलित बनाउदा उसले दिएको पानी, चिया, खाजा खानुपर्छ भनेर त्यो काम गर्न नै दिदैनन् । नजानेर जागिर दिए होलन् तर दलित भन्ने थाहा पाएपछि कसैले पनि जागिर दिदैनन् ।
संविधानसभा भवनमै थर ढाँटेर काम गर्न बाध्य
अहिले संविधानसभा भवनमा काम गर्ने थुप्रै दलित छन् । मैले भेट्टाए तर उहाँहरुले थर ढाटेर काम गरिरहनु भएको छ । उहाँहरुले मलाई नभनिदिनुहोस् भन्नुभयो । बल्लबल्ल पाएको जागिर जान्छ भने मैले केही भनिदिनु पनि भएन । तर मलाई एकदम गाह्रो भयो । नेपाली नागरिकले संसद भवन जस्तो ठाउँमा आफ्नो जात ढाटेर बस्नु पर्ने ? यो भन्दा पीडा के होला ? तपाईंहरु थर किन लुकाउनु हुन्छ भनेर पटक पटक सोधेँ । सबैले जागिर जाने डरले थर लुकाएको बताए । संविधानभाको भवनको क्यान्टिन (चमेना गृह) मा चिया, खाजा बनाउने देखि भाडा उठाउनेसम्मको काम गर्ने दलित, थर ढाट्न बाध्य छन् । काठमाडौँ भित्र त्यो पनि संविधानसभा भवनमा यस्तो हालत छ । अरु के कुरा गर्नुहुन्छ ?
सभासद साथीहरु नै भन्नुहुन्छ, ‘संसद भवनमा सबैसँगै बसेर खाए पनि हामी हुम्ला जुम्लामा जाँदा ‘छिटो’ हालेर दिन्छन् ।’ यो भन्दा ठूलो पीडादायी कुरा के हुन्छ ?
सुझाव संकलनका क्रममा धेरै दलितले प्रश्न गर्नुभयो, ‘दलितले दिएको खाएर दलितको घरमा बसेको कुकुर बाहुन र आदिवासीको घरमा छिर्दा त्यो चोखो भयो । हामी कसरी जुठो भयौँ ? यो कुरालाई संविधानले खोइ कहाँ सम्बोधन गरेको छ ?’
डेराको कुरा गर्दा म अहिले दलितकै घरमा बसेकी छु । संयोगले दलितको घरमा आइपुगे । कोठा खोज्ने क्रममा घरबेटीलाई भेटेर नाम सोधे, ‘राजु अछामी’ भन्नुभयो । मैले मेरो थर परियार भने । मैले, ‘धन्न जात छुनेमा चाहिँ परिएनछ,’ भनेर हाँसो पनि गरेँ । म संयोगले दलितको घरमा बसेकी छु । तर धेरै दलितहरु कि थर ढाँटेर डेरामा बसेका छन् । कि त डेरा बस्नका लागि दलितकै घर खोज्नु परेको छ ।
सभासद भएर हामी गाउँमा जाँदा मान–सम्मान गर्नुहुन्छ तर अरु दलितलाई दुव्र्यवहार गरेको देख्दा दुःख लाग्छ । दलित सबै खराब छैनन् । १० प्रतिशत खराब छन् भनेर सबैलाई त्यही १० प्रतिशतमा पिस्न मिल्छ र ?
दलितको सीप अरुले लुटे
अहिले दलितको सीप श्रम माथिल्लो निकायका भन्नेहरुले लुटेका छन् । भगवानले दुई कुरा दिनुहुन्छ, एउटा छोरा अर्को छोरी । तर जन्मिनासाथ दलित, जनजाती, बाहुन के–के, के–के छुट्याइन्छ । बच्चाले जातको परिणाम पाउछ । स्कूलमा पुग्दा साथीहरुले हेप्छन् । यो कस्तो संस्कार हो ?
अहिले सबैले दलितको सीप लुटिसके । हिजोका दिनमा एउटा दमाइले भोटो काट्थ्यो । त्यो भोटो राजा, मन्त्री वा राष्ट्रपति देखि एउटा किसान बाहुनको छोराले लगाउथ्यो । दमाइले नै सिलाएको भोटो र कट्टु लगाएर सबैले लाज छोप्थेँ । तर सधै उसैलाई दुव्र्यवहार किन गरे ? अझै किन गर्छन् ?
बच्चा जन्मिएको एक महिना नपुग्दै दमाइले सिलाइदिएको भोटो र कट्टु लगाइदिन्छन् । छ महिना पुग्दा कामीले बनाएको मुन्द्रा आवश्यक हुन्छ । एक वर्ष पुगेर खुट्टा टेक्नाथाल्दा सार्कीले सिलाएको जुत्ता चाहिन्छ । त्यही बच्चा हुर्किएर विवाह गर्दा पञ्चेबाजा नभई हुँदैन । दमाई बाजा बजाउदै छतमा हुन्छन् । दुलाहा दुलही मुनी कोठामा हुन्छन् । अन्तिममा दुलाहा दुलही भित्रिएको हेर्नसम्म पाउदैनन् बाजा बजाउने दमाईले । दलितको श्रम चल्ने, सीप चल्ने तर पानी किन नचल्ने ? यो कस्तो परम्परा हो ?
अति अनुसाशित भनेको दलित हो । जहा बस भन्यो त्यही बस्छ । आफ्नो अधिकार नपाएर मनमा पिरोलो लिएर बाँचेको भए पनि अति शान्त छन् । तर तिनै सोझा मानिसमाथि अझै किन थिचोमिचो ? यो विषय असाध्यै पीडादायी छ । आज गाउँमा एउटा दलीतको छोरी बाहुनले लगे गाउँ निकाला हुनुपर्छ । दलितले बाहुनको छोरी लगे पनि गाउँ निकाला हुनुपर्छ ?
ठिकै छ, संस्कार एउटा होला तर दलितले बाच्न त पाउनु पर्यो नि ! अहिले जमाना यत्ति विकसित भइसक्यो । तर बाबुआमाले विवाह गर्ने बेलामा छोरालाई, ‘पानी नचल्ने जात नले पानी चल्ने मात्र ले है भन्छन् ।’
परियारसँग संविधानको मस्यौदामा जनताले दिएका सुझावका विषयमा भएको कुराकानी :
सुझाव सङ्कलनमा ‘समानता खोइ ?’ भन्ने आवाज आयो
संविधानको मस्यौदामा सुझाव लिन कहाँ जानुभयो ?
मेरो निर्वाचन क्षेत्र चितवन चार हो । साउन चार गते चितवनको रामपुर कृषि क्याम्पसमा सुझाव संकलन गयौँ । सुझाव संकलनमा वृहत रुपमा जनसहभागिता रहयो । दोस्रो पाँच गते गीतानगरको एक विद्यालयमा कार्यक्रम भयो । रामपुरमा एक हजार जति र गीतानगरको कार्यक्रममा दुई हजार जति जनता सहभागि थिए ।
सुझाव संकलन कार्यक्रममा ग्रामिण क्षेत्रका जनता पनि थिएकी सहरका मात्र ?
सहरी क्षेत्रका थोरै थिए । म गएको ठाउँलाई सहर भनिदैन गाउँ नै हो । सहरी क्षेत्रका भनेका भरतपुर उपनगरपालिकाका केही मानिस मात्र थिए ।
जनताका सुझाव चाहि के लिएर आउनु भयो ?
हिन्दू राष्ट्र हुनुपर्यो, धर्म निरपेक्ष हुनुपर्यो भन्नेको संख्या एकदमै बढी भेटियो । एक–दुई जनताले बहुलवाद पनि ठिकै छ भन्नुभयो । धर्म स्वतन्त्र हुनुपर्छ भन्ने पनि धेरै थिए । क्रिस्चियनले चाहिँ हिन्दू राष्ट्र हुनुहुदैन धर्म निरपेक्ष हुनुपर्छ भने । त्यहाँ यो विषयमा केही विवाद पनि भयो । अपांगले असुविधा र शिक्षाका कुरा पूर्ण निशुल्क हुनुपर्छ भन्ने माग राख्नुभयो ।
नागरिकतको विषयमा पनि सुझाव आएका छन् । महिला पुरुष दुवैले नागरिकताको विषयमा सुझाव दिए । बुवा वा आमा दुवैको नाममा नागरिकता पाउनु पर्ने आवाज आयो । बुबा होइन आमाकै नामबाट नागरिकता पाउनुपर्छ भन्ने सुझाव पनि आयो । प्रदेशको संख्या कम हुनुपर्छ, धेरै प्रदेश राज्यले थेग्न सक्दैन भन्ने आवाज पनि धेरै आए । केहीले पाँच प्रदेश भने त कसैले तीन प्रदेशको पनि माग गरे । केहीले चाहिँ ११ प्रदेशको सुझाव दिए ।
नागरिकतको विषयमा पनि सुझाव आएका छन् । महिला पुरुष दुवैले नागरिकताको विषयमा सुझाव दिए । बुवा वा आमा दुवैको नाममा नागरिकता पाउनु पर्ने आवाज आयो । बुबा होइन आमाकै नामबाट नागरिकता पाउनुपर्छ भन्ने सुझाव पनि आयो । प्रदेशको संख्या कम हुनुपर्छ, धेरै प्रदेश राज्यले थेग्न सक्दैन भन्ने आवाज पनि धेरै आए । केहीले पाँच प्रदेश भने त कसैले तीन प्रदेशको पनि माग गरे । केहीले चाहिँ ११ प्रदेशको सुझाव दिए ।
कृषकहरुले मस्यौदाले किसानका अधिकार नराखेको गुनासो गरे । सुकुम्बासीले जुनै सरकार र नेता आए पनि सुकुसम्बासीको गाँस, बास, कपास नभएको पीडा पोखे । महिलाको हकमा आमाले मात्र पनि नागरिकता दिनुपर्यो । जस्तो विदेशी बुहारी ल्याउदा खेरी तुरुन्तै नागरिकता पाउने तर छोरी विदेशीसँग जाँदाखेरी त्यसले नागरिकताका लागि १५ वर्ष कुर्नु पर्ने त्यो हुनु भएन ।
यदि बुहारीले नागरिकता तत्काल पाउछे भने ज्वाइले पनि तत्काल नागरिकता पाउनु पर्यो । यदि कुनै घरमा छोरा छैन । छोरीमात्र छ । छोरीले विदेशीसँग विवाह गरिन । त्यो घरज्वाई बस्न पनि आउला त्यो बेला के गर्ने ? के नागरिकतै नदिने भन्ने आवाज पनि उठयो ।
सुझाव संकलनका क्रममा उच्च, मध्ययम र निम्न वर्गका जनताले दिएका सुझावमा के फरक पाउनुभयो ?
उच्च र मध्ययम वर्गका शिक्षित मानिस भएकाले उनीहरुबाट सुझाव राष्ट्रपति, प्रधानमन्त्री र सभासदको शैक्षिक तहको कुरा आयो । ल्याप्चे लाउने सभासद भएर के हुन्छ ? भन्ने प्रश्न पनि आयो । महिलाले स्थानीय निकायमा ५० प्रतिशत । माथिल्लो तहमा ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य गर्नुपर्छ भन्ने सुझाव आए ।
जातिय हिसाबमा कस्ता सुझाव आए ?
दलितको आवाजमा भने जस्तो जनजाती श्रीमान् भयो दलित श्रीमती भइन त्यसबाट भएको सन्तान बुबाको नामबाट नागरिकता पाउदा बाहुन भयो । रामप्रसाद बाहुनले पाएको जनजाती श्रीमतीका छोरा–छोरी रामप्रसाद पौडेल अर्थात रामप्रसाद घिमिरे भयो भने त्यो सन्तानले पौडेल अर्थात घिमिरेको नागरिकता पाउने भयो तर एउटा दलितले बाहुनकी छोरी विवाह गरेपछि त्यसबाट जन्मिएको बच्चा फेरी किन दलित नै हुने ? समानता खोइ भन्ने आवाज आयो ।
यी सुझाव कसरी समेट्नु हुन्छ ?
जनताले छोटो सुझाव दिनुपथ्र्याे । तर जनताले दुई चार पाना ल्याउनु भयो त्यो कसले पढ्ने भन्ने समस्या छ । तर सुझाव समेट्ने प्रयास हाम्रो हुन्छ ।
सुझाव संकलन नौटंकी भन्छन् तपाईंलाई के लाग्छ ?
अब सबै सुझाव समेट्न सम्भव छैन । विरोधीले नौटंकी नै भनेपनि भयो । यो नौटंकी होइन जनताको भावना नजिकबाट बुझ्न पाइयो । जुन क्षेत्रबाट सभासद र नेता आएका छन् । मलाई त त्यो ठाउँको विकास र प्रगति हुनुपर्सयो । जनता खुशी हुनुपर्यो । जताले चाहेको त्यही हो जस्तो लाग्छ ।
प्रस्तुति :लुइटेल दिनेश/नया पेज
No comments:
Post a Comment