Wednesday, August 5, 2015

प्रशासनको रोहबरमा मलिक परिवारलाई पानी भराइ मिलापत्र गराइयो

सिराहा , २० साउन , विभेद विरुद्ध अभियान ।सिरहा जिल्ला धनगढी गाविस वडा नं. ३ नैनपुरस्थित दीपक मलिक र उनको परिवारलाई इनारबाट पानी भर्दा दिइने गरेको ‘छूवाछूत सास्ती' बुधबार साम्य पारिएको छ। इलाका प्रहरी कार्यालय लहान, इलाका प्रशासन कार्यालय, धनगढी गाविस, दलित अगुवा तथा स्थानीयसमेतको रोहवरमा मलिक परिवारलाई आइन्दा इनारबाट पानी आफैंले झिक्दा ‘बाधा नपुर्‍याउने' सहमति भएको हो। 
‘मौखिक सहमति'पछि दीपक मलिककी आमा पर्मिलादेवी र दाजु अजयले इनारबाट बाल्टीमा पानी झिकेका थिए। छिमेकी रामअवतार महतोको इनारमा पानी भरेपछि धनगढी घटना तत्कालका लागि साम्य भएको हो। दीपक भने काममा बाहिर निस्केका थिए। कानुनविपरीत गतिविधिमा गए जोसुकैलाई कारबाहीको दायरामा ल्याउने सहमति पनि भएको छ।
घरमा इनार भए पनि पानी सुकेका कारण छिमेकीको घरबाट मलिक परिवारले ‘विभेदपूर्वक' पानी थाप्ने गरेका थिए। ‘अबउप्रान्त पानी थाप्न कुनै पनि समस्या नपार्नेगरी मौखिक सहमति भयो,' इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सेतोपाटीसँग भने, ‘पछि आएर सिडिओ सा'ब आफैंले घटनाबारे बुझ्ने कुरा भएकाले अरू कानुनी कुरा सोहीअनुरुप गरिने छ।' 
यद्यपि, मलिक परिवारमाथि हुने गरेको जातीय विभेदविरूद्व उजुरी नपरेपछि थप कारबाही भने हुन नसकेको प्रशासनले जनाएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले जाहेरी निवेदन नआएका कारण तत्कालका लागि पानी भराउने व्यवस्था मिलाइएको बताए। ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,' विकले भने, ‘जाहेरी परेको खण्डमा कारबाहीमा जानेछौं।'
खानेपानी निहुँमा पटक–पटक हुने गरेको छूवाछूत विभेद घटनाउपर दोषी भने पीडितलाई नै देखाइएको छ। मलिक परिवारबाट रातिसम्म मदिरा सेवन गरेर हो–हल्ला हुने गरेको, सुँगुर पालेर छाडा छोड्ने तर फोहोर राम्ररी व्यवस्थापन नगरेको, आफैं पनि फोहोरमैला गर्ने गरेको आरोप स्थानीयले लगाएका छन्। 
प्रहरीका अनुसार तीन वटा कुरामा बुधबार छलफल केन्द्रित भएको थियो। पहिलो, व्यक्तिगत सरसफाइमा ध्यान दिने, दोस्रो, सुँगुर पाले पनि छाडा नछोड्ने, बरु गाईपालनतिर आकर्षित गराउने र तेस्रो मदिरा सेवन गरी हो–हल्ला बन्द गर्ने एजेन्डा छलफलमा प्रस्तुत भएका थिए। 
रामअवतार यादवको इनारमा करिब डेढ सय परिवारले पानी थाप्ने गरेका छन्। डिएसपी चतुर्वेदीका अनुसार उक्त इनारमा पनि पानी सुक्दै गएको छ। छरछिमेकमा रहेका इनार सुकिसकेका छन्। ‘पचास साठी फिट मुनी अलिअलि पानी आउने गरेको रहेछ,' उनले भने। उनका अनुसार पानी पनि धमिलो आउने गरेको छ। त्यै पानीमा स्थानीयको भीड लाग्ने गरेको उनले बताए। 
प्रमुख जिल्ला अधिकारी विकका अनुसार नैनपुर बस्तीमा खानेपानीको चरम अभाव रहेकाले पानीको नयाँ स्रोत पहिचान गरी आपूर्ति सहज गराउने प्रयत्न पनि थालिने छ। ‘खानेपानी अभावलाई न्यूनीकरण गर्न त्यहाँ पानीको आपूर्तिका निम्ति पहिलो कदम चाल्ने तयारी हाम्रो छ,' विकले भने। 
छलफलमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी चतुर्वेदी, इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत रञ्जित अधिकारी, धनगढी गाविस सचिव अशेष लम्साल, दलित अगुवा रामचन्द्र राम (मलिक)लगायत झन्डै ४० जना स्थानीय थिए। 
यसैबीच, दलित अगुवाले भने यो सहमतिमा चित्त नबुझेको प्रतिक्रिया दिएका छन्। दलित अगुवा रामचन्द्र रामले ‘क्षणिक मिलापत्र'ले समस्या समाधान नहुने भन्दै आफूहरू कानुनी प्रक्रियामा जाने बताएका छन्। ‘प्रशासनको रोहबरमा पानी भराइयो तर यो क्षणिकको लागि हो। समाधान भइहाल्दैन। अलि पछि घटना दोहोरिन सक्छ,' रामले भने, ‘हामी कानुनी प्रक्रियामा जान्छौं।' इनारमा हुने झगडा निगरानी गर्न इलाका प्रहरी कार्यालय लहानले पाँच जना प्रहरी खटाएको छ।

सेतोपाटी बाट

No comments:

Post a Comment