Thursday, August 6, 2015

संयुक्त दलित आन्दोलनका लागि ७ सदश्य कार्यदल गठ्न

राजेन्द्र ताम्राकार ,काठमाडौं÷२१ साउन,विभेद विरुद्ध अभियान । संयुक्त दलित आन्दोलनले दोस्रो चरणको आन्दोलनका कार्यक्रम छिट्टै तय गर्ने घोषणा गरेको छ । आन्दोलनका कार्यक्रम तय गर्न परशुराम रम्तेलको संयोजकत्वमा रणेन्द्र बराली, गणेश वि.के, विनोद पहाडी, शोभा दुलाल, पदम सुन्दास लगायतको सात सदस्यीय कार्यदल बनाइएको छ । 
आजै बसेको कार्यदलको बैठकले आन्दोलनका लागि साझा ऐजेण्डा बनाएको र यसलाई राजनीतिक दल र दलित नागरिक समाजको शीर्ष नेतृत्वबाट आजभोलि नै अनुमोदन गराएर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने कार्यदलका सदस्य रणेन्द्र बरालीले जानकारी दिनुभएको छ । 
दलित महिला संघ (फेडो) को सभाहलमा भएको समीक्षामा दलित अधिकारकर्मीले आजसम्मका कार्यक्रमको समीक्षा गर्दै आन्दोलनलाई थप सशक्त बनाउन संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित सभासद् समन्वय मञ्च र दलित नागरिक समाजलाई अबदेखि ‘संयुक्त दलित आन्दोलन’ को नाम दिने साझा सहमति पनि गरेका छन् । 
छुट्टाछुट्टै नामबाट आन्दोलन गर्दा शक्ति कमजोर हुने र आन्दोलन विभाजित हुनसक्ने भन्दै एकीकृत आन्दोलनबाट अधिकार प्राप्त गर्न सकिने निश्कर्ष निकाल्दै सबै आन्दोलनका घटक ‘संयुक्त दलित आन्दोलन’ को ब्यानरमा जान सहमत भएको संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक परशुराम रम्तेलले बताउनुभयो । 
समीक्षा बैठकमा सभासद् जीतु गौतमले पहिलो चरणको आन्दोलन सफल भएको भन्दै अबको आन्दोलन सशक्त बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 
दलित अधिकारकर्मी दुर्गा सोबले पहिलो चरणको आन्दोलनमा सबैतिरबाट सकारात्मक सहयोग जुटेको र आन्दोलनले एउटा उचाइ हासिल गरिसकेकाले यसलाई निश्कर्षमा पु¥याउन निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा आन्दोलनलाई अझ आक्रामक बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । घाइतेको उपचार र आन्दोलन परिचालनका लागि एउटा छुट्टै कोष बनाएर व्यवस्थित गरिने सोबले बताउनुभयो । 
दलित नेता रणेन्द्र बरालीले दलित अधिकार प्राप्तिका लागि टाउकोमा कफन बाँधेर लड्न सबै अधिकारकर्मीलाई आब्हान गर्दै भन्नुभयो ‘अब जारी आन्दोलन अधिकार प्राप्त नभएसम्म रोकिदैन ।’ उहाँले दोस्रो चरणका आन्दोलनका कार्यक्रम देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो । 
सभासद् अनिता परियारले राजनीतिक दलका शीर्ष नेताले दलितका मुद्दालाई नबुझेर भन्दा पनि नचाहेर आफूहरुका मुद्दा संविधानको मस्यौदा आउँदा कटौती भएको बताउनुभयो । उहाँले अधिकार प्राप्तिको लडाँईमा संविधानसभा र सडकको मोर्चामा एक भएर लड्नुपर्नेमा जोड दिनुभयो । 
समीक्षा बैठकमा नागरिक समाजका अगुवा गजाधर सुनारले अबको आन्दोलन निर्णाक बनाउन शीर्ष चारदलका शीर्षस्थ नेतालाई एकठाउँमा बोलाएर आफूहरुका मुद्दामा विशेष अन्तरक्रिया गराउनुपर्ने बताउनुभयो । आन्दोलनका लागि भित्रबाहिर सबैबाट आवश्यक सहयोग भइरहेकाले यसलाई देशव्यापी बनाउन उहाँले जोड दिनुभयो । 
दलित नागरिक समाजका अगुवा पदम सुन्दासले पहिलो चरणको आन्दोलन सफल भएकाले त्यसैलाई टेकेर दोस्रो चरणको आन्दोलन सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले आन्दोलनमा घाइतेको उपचार भइरहेको र यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट आर्थिक सहयोग गरिरहेको जानकारी गराउनुभयो । 
समीक्षा बैठकमा पूर्व सभासद् विनोद पहाडी, एमाले नेता गोविन्द नेपाली, गणेश वि.के, भक्त विश्वकर्मा, सभासद् टेकु नेपाली, मोती नेपाली, शुशील वि.के, पदम विश्वकर्मा, अञ्जान परियार, चन्द्रबहादुर विश्वकर्मा, शम्भुहजारा पासवान, चक्रमान विश्वकर्मा लगायतले जस्तोसुकै परिस्थितिमा पनि आन्दोलनलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले कसैसंग पनि दलितका मुद्दामा सम्झौता नहुने बताउँदै सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 
अधिकारकर्मीले संयुक्त दलित आन्दोलनको पहिलो चरणको कार्यक्रममा भएका कमी कमजोरीलाई सच्याएर अगाडी बढ्न सामूहिक सङ्कल्प र प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

No comments:

Post a Comment