दलन विरुद्धको प्रतिरोधः नेपाली दलितको सङघर्षगाथा
सम्पादकः राजेन्द्र महर्जन र डा. याम बहादुर किसान
प्रकाशकः समता फाउण्डेसन
पृष्ठः ३३४
|
काठमाडौं ,१२ असोज, विभेद बिरुद्ध अभियान । सवालटर्नकि भारतीय अध्येता गायत्री स्पिभाकले आफ्नो चर्चित लेख “क्यान सवालटर्न स्पिक ?”मा सवालटर्न अथवा “सानो दर्जाका जनता”को स्थितिलाई आर्थिक, राजनीतिक तथा पहिचानको दृष्टिकोणबाट औंल्याइन । यद्यपि उनको लेख उपनिवेशबादको परिप्रेक्ष्यमा लेखिएको भएतापनि जातीय विभेद तथा छुवाछुतले आक्रान्त दक्षिण एसियाको सन्दर्भमा यो प्रश्नको छुट्टै भौगोलिक तथा सांस्कृतिक अर्थ र पाटो छ र छुट्टै उत्तर पनि । असीको दशकमा सोधेको यो प्रश्नको जवाफ अहिले एक्काइसौं शताब्दीमा भने बिस्तारै देखापर्न थालेका छन्, त्यो पनि दक्षिण एसियाबाट नै । यसको उदाहरण नेपालमा पनि बिगतका केहि ऐतिहासिक राजनीतिक परिवर्तनसंगै देखापर्न थालेका छन् । यस्तै तात्विक परिवर्तनका उदाहरण र विमर्शलाई समेटिएर लेखिएको पछिल्लो पुस्तक हो, दलन विरुद्धको प्रतिरोधः नेपाली दलितको सङघर्षगाथा । पुस्तकले नेपालको सन्दर्भमा स्पिभाकको प्रश्नको गतिलो सकारात्मक जवाफ दिने प्रयास गर्दछ, हो अब सवालटर्न बोल्न सक्छन । पुस्तकले नेपाली दलितको सङघर्ष सम्बन्धि एउटा बौद्धिक छलफलको थालनि गरेको छ ।
राजेन्द्र महर्जन र डा. याम बहादुर किसानद्वारा सम्पादिक यो पुस्तक अनुसन्धानमुलुक लेख तथा केहि वस्तुगत अध्ययनको संगालो हो । पुस्तकले समाज र समयले ल्याएको दलित चेतना र अमानवीय प्रथा तथा व्यबहारको प्रतिरोधको संघर्षलाई प्रष्ट्याउने प्रयास गरेको छ । दलनबिरुद्धको प्रतिरोधको इतिहास नयाँ होइन । छुवाछुत तथा जातीबादको प्रतिरोध राणाशासनकालको पूर्वाद्र्ध र उत्तराद्र्ध पनि भएको पाइन्छ । पुस्तकको परिचयमा सम्पादकद्वय उल्लेख गर्छन, शक्ति संचालनको पक्षबाट नै हिन्दुधर्मको सुधारबादी धारणा र सार्वजनिक स्थलमा छेकथुनको बिरुद्ध चन्द्र शमसेर तथा शुक्रराज शास्त्रीले नै कदम चलाए पनि देख्न लायक उल्लेखनीय नतिजा प्रजातन्त्रको स्थापना पछि मात्र भएको हो । स्पष्टतः २००८ पछिमात्र राजनीतिक मोर्चाबन्दी र सांगठनिक एकता सुरु भएको पाईन्छ । पुस्तक–परिचयमा दलन बिरुद्धको प्रतिरोधको संघर्ष ईतिहासलाई श्रृङखलाबद्ध रुपमा प्रस्तुत गरिएकोछ ।
दलित केन्द्रको संघर्षको इतिहास हेर्दा संघर्षको केन्द्रबिन्दु मन्दिर तथा अन्य (हिन्दु) धार्मिकसंस्था नै रहेको पाइन्छ । र, पुस्तकमा मन्दिर प्रवेशका वस्तुगत मुद्दालाई प्रमुख जोड दिए पनि यो मात्र दलित आन्दोलनको साध्य हुनुहुँदैन भन्ने आवाज छ । हिन्दुबादी शक्ति संचालन प्रतिरोधस्वरूप धर्म परिवर्तन “ट्रेन्ड” मौलाउंदै गएको छ । दलितको वास्तविक पहिचान गर्न नसकेको पूस्तकमा समाबेश धेरै लेखको निक्र्याैल छ । तर, के धर्म परिवर्तन नै दलित उत्पीडनको निकास हो ? यो प्रश्नको चोटिलो विश्लेषण भने पुस्तकमा भेटिदैन ।
ग्रामिण र विकट क्षेत्रमात्र होइन, आधुनिकताको केन्द्र मानिने राजधानी, काठमाण्डौ पनि जातीय विभेद र छुवाछुतको इतिहास छताछुल्ल छ । काठमाण्डौ उपत्यकामा १९६१ साल पछि माधवराज जोशी र शुक्रराज शास्त्री प्रयास हिन्दु धर्मतन्त्रको जग हल्लाउन र दलित आन्दोलनको आधारशिला हाल्न मद्दत गरेको पाईन्छ । २०१० को पशुपति मन्दिर प्रवेशको यसको महत्वपूर्ण कडि हो । जेबी विश्वकर्मा “पशुपति मन्दिर प्रवेश संघर्षः जब राज्य झुक्नु पर्याे”मा पशुपति मन्दिर प्रवेश संघर्षलाई दलित आन्दोलनलाई राष्ट्रियतहको संघर्षको रुपमा बोध गराउने र राज्यलाई झुकाउने सशक्त प्रयासको द्योतक मान्छन् । त्यो बेलासम्म छुवाछुत गैह्रकानुनी र असंबैधानिक भएपनि, दण्डनीय थिएन, उक्त प्रयासले यस्ता प्रथाको निरन्तरतालाई दण्डनीय बनाउन मजबुर गर्याे ।
पुस्तकको अर्काे महत्वपूर्ण पक्ष हो, दलित आन्दोलन छुवाछुत र विभेदमा मात्र समर्पित थिएन, यसका अन्य पक्षहरु पनि थिए । पुस्तकका अन्य लेख, “सिपापोखरे पानी उघाउ संघर्ष”, “उदयपुरमा सहभोज”, “बादी समुदायको संघर्ष”, “गैंडाकोट दूध भराउ संघर्ष” आदिले सामाजिक तथा राजनीतिक महत्वका अन्य पक्ष जस्तै भूमि सुधार, समावेशी, जातीय समानता, सामाजिक न्यायका सवालहरुलाई उठान र बिमर्श गर्नुका साथै, दलित आन्दोलनका सबल र दुर्बल पक्षको लेखाजोखा गरेकाछन् । सर्वजित विश्वकर्मा र विश्व सर्वजन संघ चलाएको अभियानको इतिहास, उपलब्धि र क्षतिको चर्चा रणेन्द्र बरालि “भगत सर्वजित विश्वकर्मा र दलित आन्दोलन”मा गछनर्् । बाग्लुङ्ग जिल्लाको मूलपानीबाट सुरु भएको दलित आन्दोलनले कठोर जहाँनिया राणाशासनकाल विरुद्ध औंला ठड्याउनु आफैमा महत्वपूर्ण थियो । तापनि, “हिन्दुधर्म नै वर्ण व्यवस्था, छुवाछुत र जातपातको आधार हो” भन्ने तथ्यलाई नबुझ्नु नै यो सांगठनिक संघर्षको सैद्धान्तिक कमजोरी थियो, बरालिको ठम्याई छ ।
आन्दोलनले राजनीतिक पहिचान नपाएसम्म यसको सार्थकता हुँदैन । धेरै हदसम्म त प्रत्येक आन्दोलनको साध्य राजनीतिक तथा संबैधानिक पहिचान नै हो । पुस्तकका केहि लेखले आन्दोलनको राजनीतिक तथा संबैधानिक पाटोको चर्चा गर्छन । पद्मलाल विश्वकर्माको लेख “सिंहदरबार घेराउ तथा भद्रकाली अनसन”ले २०५७ साल असारमा भएकोे दलित आन्दोलन फलस्वरूप धर्म निरपेक्षताको बहाली र प्रतिनीधि सभामा दलित आरक्षण तय गर्ने जस्ता संबैधानिक अधिकारबारे टिप्पणी गर्छ । अर्काे समय सान्दर्भिक उठान हो, दशबर्षे जनयुद्धमा दलित बलिदानको भूमिका । जनयुद्धको दौरान राज्यबाट मारिने मध्ये १२.६ प्रतिशत दलित छन् । दलित बलिदानको यथेष्ट पहिचान र प्रतिनीधित्व नहुनु ब्राह्मणवादी र दक्षिणपन्थी अवसरबादको अभिव्यक्ति हो, तिलक परियार तर्क गर्छन आफ्नो लेख “दशबर्षे जनयुद्धमा दलितको बलिदान गाथा”मा । त्यसैगरी आहुति भन्छन्, २०६३ को अन्तरिम संविधानले दलित आन्दोलनलाई मुर्तरुप दिने काम गर्याे । सामजिक समावेशिको सिद्धान्तलाई अंगीकार गरि दलित र अन्य पिछडिएका जातीलाई सामजिक न्यायको मोडेलमा समावेश गर्याे ।
यद्यपि, पुस्तकमा केहि सवालहरु अनुत्तरित छन् । प्राय सबै लेखमा हिन्दु धर्म र शास्त्र दलित उत्पीडन र विभेदको उद्गमबिन्दुको रुपमा चरितार्थ छन् । यो उत्पीडन शास्त्रको अबुझ, अल्पज्ञान वा अवैज्ञानिक व्याख्याले ल्याएको हो वा दलित आन्दोलनको दृष्टिकोणबाट शास्त्र नै गलत छ ? प्रश्नको एथेष्ट चर्चा नभेटीन सक्छ । पुस्तकको निष्कर्ष छः दलित आन्दोलन समयबोध र राजनीतिक चेतनाले उत्पन्न भएको अभिव्यक्ति हो । धर्मको नाममा भएको अन्धविश्वास र धर्मान्धतालाई दक्षिण एसियाको सन्दर्भमा विज्ञानले पनि पखाल्न सकेन । विश्व एक्काईसौं शताब्दीको डिजिटल युगमा पुग्दा, हाम्रो समाज जातीय छुवाछुत र दलन जस्ता साँघुरा घरायसी पर्खालबीच पिल्सिएको छ, यो हाम्रो समाजको लागि बिडम्बना हो ।
नागरिक दैनिक बाट
No comments:
Post a Comment