Friday, October 30, 2015

१२ बर्ष अघि श्रीमान् मारिए देखि रिउली दमाईका आँखा ओभाएका छैनन


कार्तिक  १३, विभेद विरुद्ध अभियान -श्रीमान् मारिएपछि बाजुरा पाण्डुसेनकी रिउली दमाईका आँखा ओभाएका छैनन् । १२ वर्ष अघिदेखि उनी जहिल्यै रोएरै बिताउँछिन् । रिउलीको जीवनमा ०५९ कात्तिक ७ को रातले अकल्पनीय बज्रपात पार्‍यो । छिमेकीको घरमा साथीभाइसँग बसिरहेका उनका श्रीमान् रामलाललाई तत्कालीन सुरक्षा फौजले माओवादी शंकामा गोली हानी हत्या गरेको थियो । 
श्रीमानको हत्यापछि रिउलीको मनले ठाउँ छाड्यो । वेदनाले विक्षिप्त उनी दिनरात भौंतारिन थालिन् । छिमेकीले चहर्‍याइरहेको घाउमा नुनचुक छरेसरह व्यवहार गरे । श्रीमानको वियोगमा भक्कानिरहेकी रिउलीलाई गाउँका केहीले मानसिक सन्तुलन गुमाउन थालेको टिप्पणी गरे । उनमा पीडामाथि पीडा थपिँदै गयो । ‘मलाई गाउँलेले पागल हुने भई भन्दा मन साह्रै दुख्थ्यो,’ उनले भनिन् । द्वन्द्वका क्रममा मारिएका बाजुराका १ सय ५२ का परिवारको आ–आफ्नै कथाव्यथाहरू जीवन्त छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका घरमूली नै गुमेपछि बाँचेकाले खेप्नुपरेका पीडा पनि फरकफरक छन् । यस्तै कथा बोक्नेमध्येकी हुन् रिउली दमाई । दिनभर कामधाम गरेर पाण्डुसेन ५ अगाउपानीका ७ जना रातको समयमा तास खेल्न बसेका थिए । त्यही बेला सदरमकुाम मार्तडीबाट गएको सुरक्षा फौजले घर घेरा हालेर गोली चलायो । उक्त घटनामा रिउलीका श्रीमान् रामलाललाई पनि गोली लाग्यो । उपचारकै क्रममा दोस्रो दिन उनको मृत्यु भयो । लुगाफाटो सिलाउने पेसा गर्ने ५० वर्षीय रामलालले घरपरिवारको गुजारा चलाएका थिए । श्रीमतीसहित दुई छोरा र तीन छोरी टुहुरा बने । कमाउने गुमेपछि छोराछोरी हुर्काउने अभिभारा रिउलीको काँधमा थोपरियो । जेठो छोरा भक्त हुर्केको भए पनि बाबु गुमाउँदा कान्छो छोरा विक्रम दूधे बालक थियो । बाबुको मृत्युबारे केही समयपछि जेठी र माइली छोरीले थाहा पाए । आपतविपत्मा आफ्नो पनि पराई हुन्छ भन्ने उक्ति रिउलीको जीवनमा पनि पर्‍यो । 
जेठो भक्त बिहेवारी गरी आमासँग छुट्टिएर बस्न थाले । भक्त परिवारले आफ्नै आमालाई पराई व्यवहार गर्न थालेपछि रिउलीको अन्तिम आससमेत पराईसरह भएपछि उनका दु:खका दिन अरू झाँगिँदै गए । ‘जेठोको परिवारले मलाई हेला गर्न थाले, घरमा बस्ने अवस्थै भएन,’ रिउलीले भनिन् । श्रीमान् मारिएको केही वर्षपछि राज्यले दिने क्षतिपूर्तिअन्तर्गत सुरुमा ३ लाख र अघिल्लो महिना २ लाख उनले हात पारिन् । तर, श्रीमानको मृत्युको क्षतिपूर्तिबापत पाएको रकम उनका लागि भने उपयोगै भएको छैन । अघिपछि बासै नदिने जेठो छोरा र गाउँलेले समेत आँखा गाड्न थाले । ‘खातामा रकम आएको दिन भने आफ्नै छोराले धम्काएर पैसा लिन्छ,’ रिउलीले दु:खेसो सुनाइन् । कान्छोलाई अहिले छोरीको घरमा पठाएकी छन् । बाँधुस्थित भारती कोसेडी निमाविमा उनी पढ्छन् । ५९ वर्षको उमेरमा आफू भने सदरमुकामस्थित एक होटलमा भाँडा माझेर हातमुख जोडछन् । ‘म जसोतसो गुजारा गरौंला, तर कान्छोकै झर्को छ,’ रिउलीले भनिन्, ‘उसले पढ्न पाए हुन्थ्यो ।’ बालकल्याण अधिकृत सर्पलाल गिरीले भने विक्रमको पढाइका लागि सरसहयोग गरिरहेको बताए ।

कान्तिपुर बाट


No comments:

Post a Comment