Saturday, February 20, 2016

कृष्ण विश्वकर्माको हर्ष - अभय श्रेष्ठ

काठमाडौँ, फागुन ९ ,विभेद बिरुद्ध अभियान - .कृष्ण विश्वकर्माको हर्षका तीन कारण थिए । एक, छोरा अजयको बिहेभोजमा टोलका बाहुन, क्षत्री र नेवार खलकका सबैजसो सहभागी भए । दुई, बुहारी मगर समुदायकी परे पनि तिनका आफन्तले नाइनास्ती गरेनन् । तीन, छोराले नेपालमै बिहे गर्ने निधो गर्‍यो ।  छोरोको मनसुवा बिहे सामान्य हिसाबले मन्दिरमा गर्ने र भोज खर्च कुनै गरिब समुदायको हितमा लगाउने थियो । कृष्णले माने पो  ! ऊ कसैगरी गाउँका सारालाई निम्त्याएर भव्य भोज गर्ने र सम्पन्न भएपछि छुवाछूत बाँकी रहँदैन भन्ने देखाउन चाहन्थ्यो । छोराले सुरुमा विरोध गरेको थियो । किनभने बाहुन, क्षत्री र नेवारले उनीहरूलाई यस्तो कार्यमा कहिल्यै निम्त्याएका थिएनन् ।  दलित समुदायमै जन्मे पनि उच्च शिक्षा पाएको र अमेरिका बसेको हुनाले जात व्यवस्था उसका लागि केही थिएन ।  ‘यसले त हाम्रो अछूत मानसिकतालाई झनै छताछुल्ल पारिदिन्छ बुबा,’ अजयले तर्क गरेको थियो । तर, बाबुको असीम इच्छालाई अन्तत: उसले मार्न चाहेन । कृष्णले टोलमा घरैपिच्छे र गाउँभरिका गन्यमान्य सबैलाई चुल्हे निम्तो दिएको थियो । निम्तोकार्डमात्र दिएर पुगेन । भोजको दिन बिहान र फेरि जाने बेला सम्झायो । बाहुन, क्षत्री र नेवार खलकलाई सहभागी हुन अप्ठेरो नपरोस् भनेरै घरमा नगरी पार्टी प्यालेसमा भोज राखिएको बताउन पनि बिर्सेन । ——- कृष्ण अझै आरन चलाउँछ । सुँगुर पाल्छ । हँसिया, कुटो, चुच्चेकुटो, बन्चरो, कोदालो बनाउँछ । पाइन हाल्छ । त्यही काम गरेर उसले छोराछोरीलाई बोर्डिङ पढायो । दुवैले राम्ररी पढे र प्रगति गरे । गाउँका नेवार, क्षत्री–बाहुनका छोराछोरीलाई पढाइमा तिनले सजिलै पछारे । एसएलसीमा दुवैले डिस्टिंक्सन ल्याए । छोराले त स्कुल टप गर्‍यो । त्यो देखेर बुढाखालका बाहुन, क्षत्री र कतिपय नेवारहरूसमेत भन्थे, ‘पढेर के गर्नू, कामी त कामी नै हो नि  ! क्षत्री–बाहुन हुने होइन क्यारे  !’  छोरो लेखा परीक्षण गरेर राम्रो कमाइ गरिरहेको थियो । डीभी परेर अमेरिका गयो । टेक्सासमा ग्यास स्टेसनमा काम गर्‍यो । साह्रै दु:ख पायो । झन्डै फर्कन खोजेको थियो । पछि एउटा साथीको सल्लाह र सहयोगमा आफैँले ग्रोसरी खोल्यो । अहिले त्यसैबाट भव्य कमाइ गरिरहेको छ । ऊकहाँ काम गर्ने दुई भारतीय र तीन नेपाली छन् । यसै क्रममा ओहायोको युनिभर्सिटी अफ फिन्लेबाट डलासको सामुदायिक कलेजमा सरेकी अस्मिता मगरसित उसको मायाप्रीति बस्यो ।  छोराले अमेरिकाबाट पैसा पठाएपछि कृष्णले चारतले भव्य घर बनायो । गाउँमै क्षत्री, बाहुन र व्यापारी नेवारहरूको समेत यति भव्य घर थिएन । त्यतिखेर पनि उनीहरू भन्थे, ‘घर बनाएर के भो ? कामी त आखिर कामी नै हो नि  !’ एक दुई ठालूहरू यो कुरा उसकै अगाडि भनिदिन्थे । ऊ नसुनेझैँ गरेर अर्कातिर लाग्थ्यो । यसरी कृष्ण विश्वकर्माको आर्थिक र सामाजिक स्थिति एकाएक उँचो भयो । पहिले ऊ किस्ने कामी थियो । अब कृष्ण विश्वकर्मा भयो ।
 ‘बाबु !’ उसले टाढैबाट छोरालाई बोलायो । यो कोलाहलमा उसले बोलाएको छोराले सुनेन । हिँड्दाहिँड्दै उसको छाती बेलुनझैँ भरिएर आयो ।
२.  गाउँमा कविका रूपमा चिनिने अरुण श्रेष्ठ प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य थियो । ‘थोत्रा रीत फाल्छौँ फाल्छौँ’ भन्दै गजल सुनाउन दिनभरि भोकै बसेर पनि सहरतिर गोष्ठी धाउँथ्यो । उसैले ‘किस्ने कामी’लाई ढाडस दिएको थियो । त्यसैले हौसेर कृष्णले क्षत्री–बाहुन, नेवार सबैलाई निम्ता दिएको थियो । नत्र पन्ध्र वर्षअघि बहिनीको बिहेमा कोही नआएको सम्झेर निम्ता नगर्ने पक्षमा पुगिसकेको थियो ।  अरुण जातपात मान्नु हुन्न भन्दै हिँड्थ्यो । तथापि बिहेभोजमा जान आफँै दोमन गरिरहेको थियो । आफ्नै काका भरतलाई सोध्यो । भरतले भन्यो, ‘ठेगान छैन बाबु  ! मान्छेले के भन्ने हुन्  !’ पण्डित शम्भु घिमिरेलाई सोध्यो । शम्भु पनि व्यंग्यपूर्वक मुसुक्क हाँस्यो । अर्थात्, कामीकहाँ पनि बाहुन भोज खान जान्छन्  ! पूर्व गाविस अध्यक्ष रविन थापालाई सोध्यो । रविनले भन्यो, ‘त्यो बज्जिया अजयसँग मेरो ठ्याक मिल्दैन । अमेरिका पुगेँ भनेर त्यसका खुट्टा भैँमा छैनन् । आफू त राजनीतिक मान्छे, त्यसैले जानैपर्‍यो । बरु केही नखाई फर्कन्छु ।’ पसले रामप्रसाद श्रेष्ठ र कान्छालाल महर्जनले पनि मुन्टो बटारे । कसैलाई मनाउन नसकेपछि साँझ पाँच बजेतिर अरुण एक्लै हिँड्यो सूर्यविनायक पार्टी प्यालेसतिर । बाटोमा एक चिनारुले मोटरसाइकलमा लिफ्ट दियो । मोटरसाइकलवालालाई पनि निम्तो थियो । उसले नजाने भन्यो । पार्टी प्यालेस पुग्नै लाग्दा अरुणलाई अप्ठेरो लाग्यो । फर्केर जाऊँ कि जस्तो मन भयो ।  पूर्ववडाअध्यक्ष रविनलाई फोन गर्‍यो । उठेन । गेटैनिर कृष्णकी छोरी सुनन्दा भेटिएपछि फर्कन मिलेन । सुनन्दाले स्वागत गरी र बेहुला–बेहुलीकहाँ लगिदिई । छोराको बिहेभोजमा उपहार बोक्ने कुरा भएन । तैपनि उसलाई अप्ठेरो लाग्यो । अप्ठेरो मान्दै बधाई दिएर हिँड्यो । सुनन्दाले स्न्याक्स लिन आग्रह गरी । भोजमा झन्डै १५ सय निम्तालु थिए । तीमध्ये अधिकांश अजय र सुनन्दाका सहरिया साथी थिए । स्न्याक्सको व्यवस्था भव्य थियो । तारेको साना लोकल असला माछा । आलु चिप्स । हाँसको छोयला । चिकेन चिल्ली । मटन चिल्ली । चिकेन ससेज । बँदेलको उसिनेको मासु । बंगुरको फ्राई मासु । के के नाम हो, भएभरका हार्ड ड्रिंक्स, सफ्ट ड्रिंक्स र कोल्ड ड्रिंक्स । मेरी आम्मै  ! यति भव्य स्न्याक्स त आजसम्म उसले खाएकै थिएन । अलिअलि लिँदैमा प्लेट भरिइहाल्यो । अरुण सिटमा बसेको मात्र के थियो, पूर्वअध्यक्ष रविन पकापक माछा खाँदै गरेको भेटियो । अरुण मुसुक्क हाँस्यो । ‘अघि त मोबाइल उठाउनु भएन  !’ ‘एउटा हातमा प्लेट, अर्कोमा चम्चा थियो । कसरी उठाउनु ?’ हाँस्दै रविनले भन्यो । दिउँसो ठेगान छैन भन्नेहरू सबैजसो टेबुलमा बसेर स्न्याक्स खाइरहेका थिए । छुवाछूत होला भनेर तिनीहरूलाई लाइन नलागी क्याटरिङवालाले नै सर्भिस गर्ने सुविधा थियो । कोक, फेन्टा, मिरिन्डा, स्प्राइट, रोयल स्टाग, एन्टिक्विटी, रातो वाइन, सेतो वाइन, माछा र अरू सितन टेबुलमै तुरुन्त हाजिर हुन्थ्यो । आतिथेयतर्फका केही युवक हात जोडेर क्षत्री, बाहुन र नेवारहरूलाई कुशलमंगल सोधिरहेका थिए । फर्माइस हुुनासाथ युवकहरू क्याटरिङवालाकहाँ खबर पुर्‍याउँथे । चाहिएको सामग्री तुरुन्तै आउँथ्यो । थापा, घिमिरे र श्रेष्ठहरूसँग आँखा जुधेपछि अरुण मुसुक्क हाँस्यो । तिनीहरू पनि हाँसे ।
३. ‘केही खान्नँ, मुख देखाउनमात्र आ’को’ भनी अघि नै फर्कन खोजेको शम्भु पण्डित पकापक खसीको सेकुवा खान थाल्यो । उत्साहित हुँदै कृष्णे रविन र शम्भु बसेका ठाउँमा हात जोड्दै आइपुग्यो । छोइएला कि भनेर अलिपर फाइबरको मेचमा बस्यो । ‘लौ बधाई छ, कृष्णदाइ । हजुरबाउ बन्ने बाटो खुलाइयो क्यारे  ! अब चाँडै शुभ समाचार सुन्न पाऊँ,’ रविनले भन्यो । ‘अहिलेका ठिटाठिटीलाई बिहे गर्दिनुमात्र पर्छ, दसै महिनामा फुत्तै झार्दिहाल्छन् नि  !’ शम्भु पण्डितले अन्तरमा कालो लागेको सबै दाँत देखाएर हाँस्दै भन्यो । खाँदाखाँदै रविन उठेर कृष्णेसँग हात मिलाउन आयो । पण्डित शम्भुले पनि हात दियो । तर, छोइएला भनेझैँ गरी अप्ठेरो मान्दै उसले हात मात्र जोड्यो । अरू बेला चियापसलमा ‘छोइएला उटा जाऊ’ भनेर एउटै बेन्चमा बस्न नदिने रामप्रसाद श्रेष्ठले समेत बसिरहेको ठाउँबाट उठेर ऊसँग हात मिलाउन खोज्यो । कृष्णेले उसलाई पनि हात दिन सकेन । बरु, बातैपिच्छे हात जोडेर कृतज्ञता व्यक्त गरिरह्यो । ‘ए दाजु, किन हच्केको तपैँ ? अब जातपात केही छैन बुझ्नुभो ?’ रविनले भन्यो । पण्डित शम्भु र रामप्रसादले सही थापे । ‘होइन हजुर, हजुरहरूलाई अप्ठेरो पर्छ भनेरै यहाँ भोज गर्नुपर्‍या, मैले छोएको हुने भए त यो भोज घरमै गरिहाल्थेँ नि  ! बरु के टक्य्राउँm हजुर ?’ कृष्णेले सोध्यो । ‘दाइले सोधिहाल्नुभो । लौ अलिकति खसीको सेकुवा, मलाई एक प्याक र बाजेलाई अम्बाको जुस मागौँ । अँ क्याटरिङवालाले होइन, तपैँहर्ले नै ल्याउनुपर्छ । हामी छुवाछुत मान्दैनौँ, कसो शम्भु बाजे ?’ शम्भुले अप्ठेरो मान्दै टाउको हल्लायो ।  सेकुवा र जुस क्याटरिङवालाले नै ल्यायो । रविनले आपत्ति जनायो । ‘त्यो कृष्ण दाइलाई नै देऊ  ! हामी जातपात मान्ने मान्छे हौँ र ?’ रविनले क्याटरिङवालालाई आदेश दियो । कृष्णेले मानेन ।  ‘किन अप्ठेरो मान्नुहुन्छ कृष्ण दाइ ? राखिदिनुस् बाजेको प्लेटमा सेकुवा । जुस पनि राखिदिनुस् । मलाई त्यो एक प्याक दिनुस् । बरु तपाईँ पनि एक प्याक लिएर ह्यैँ आउनुस् । अब कोही सानाठूला छैनन् । सप्पै समान । आउनुस्, सँगै बसेर खाऊँ ।’ कृष्णे डेग चलेन । क्याटरिङवालाले नै राखेर गयो । ‘मलाई पनि यो जाटभाटको कुरा गर्नुहुन्न जस्टो पो लाग्यो भन्या’, छोयलाको तिख्खर पीरोले सिउसिउ गर्दै अष्टनाराँ महर्जनले उताबाट भन्यो, ‘कामी भएर के गर्नु, कृष्णेले हाम्ले भन्दा छोराको डामी बिहे गड्र्यो । आ थ्व: जाटपाट खत्तम जुल का  !’ ‘तपाईँ पनि एक प्याक लिएर आउनुस् कृष्ण दाइ । जरुरी बात मार्नु छ’, रविनले भन्यो । ‘हजुरहर्ले किन आज हत्ते गर्नुभ’को ? पहिला त यस्तो भन्नुहुन्नथ्यो । माफ पाऊँ है हजुर, मैले बुझ्न नसकेर मात्र सोधेको  !’ अति भएझैँ लागेपछि कृष्णेले सोध्यो । रविन अकमकियो । शम्भु बाजे र रामप्रसाद पनि अकमकिए । ‘तपाईँले अप्ठेरो मान्या ? लौ आउनुस्  !’ रविनले जुरुक्क उठेर प्लेट हातमै लिएर कृष्णेलाई अँगालो हाल्यो । शम्भुले पनि त्यसै गर्‍यो । त्यसपछि त अरूअरूले पनि त्यसै गरे । ‘पहिला लाटी (बहिनी) को बिहेमा कोही आउनुभको थेन । घरमै भोज गर्‍यो भनेर हो कि जस्तो ला थ्यो  !’ कृष्णेले रविनतिर हेर्‍यो । ‘पहिलेको कुरा छाड्देऊ कृष्ण । हाम्रै पनि गल्ती भो होला । अब त देशै छुवाछूतमुक्त घोषित भइसक्यो । त्याँमाथि यो हाम्रो हिन्दु धर्मले कसैलाई होचोअर्घेली गर्दैन, सब नक्कलेहरूले बिगारेका हुन् । तिमेरु खुम्चेर बस्ने कुरै छैन । कसैले छुवाछूत गरेछ भने हामीलाई भन्न आऊ । रविन छ, म छु, केही नलागे पुलिसकैँ गए हुन्छ । लौ आऊ सँगै बसेर खाऊँ  !’ शम्भु पण्डितले भन्यो । ‘धन्यवाद हजुर, आज म असाध्यै खुसी छु । सप्पैतिर हेर्नु छ । हजुरहरू आरामले ज्युनार गर्नुस् । म पछि आउँछु ।’ रविनले हात समाउँदै कामेको स्वरमा भन्यो, ‘यो भोज घरमै गर्नुपथ्र्यो  ! यत्रो खर्चै गर्नै पर्दैनथ्यो । हामी सबै आएर सघाइहाल्थ्यौँ । अब जातपातको कुरा छैन क्या कृष्णदाइ  !’ ‘हो नि, यसको आधा खर्चले यतिकै भव्य भोज घरमा गर्न सकिन्थ्यो । जे भए नि छोरोले राम्रो प्रगति गर्‍यो । तर, अब जातभातको कुरा छैन बुझ्यौ ? पण्डितहरू पनि दलितकाँ आउनुपर्छ । पर्दा सघाउन हामी तयार छौँ कृष्ण  !’ शम्भु बाजेले भन्यो । ‘छोरीको बिहेभोजचाहिँ घरैमा गर्नुहोला है  ! हामी सघाउँछौँ । त्यसपछि नातिनातिनाका पास्नी त अमेरिकामै गरिहाल्लान्  ! तर, छोरो अमेरिका फर्कँदा गाउँका गन्यमान्य सप्पैलाई बोलाएर एउटा भोज फेरि गर्नुपर्छ । हामी सप्पै घरमै आउँछौँ । त्यो एउटा एक्जेम्पल हुनेछ । दलित र क्षत्री, बाहुन सप्पै मिलेर भोज बनाउने र सँगै खाने’, रविनले पत्याइनसक्नुको प्रस्ताव राख्यो, ‘तपाईँहर्ले सराद्धे, बिहेमा भान्जा वा ज्वाइँलाई पुरोहित बनाउनुपरेको बाहुन नआइदेर होइन ? द्याटस अल । अब तपाईँहर्ले शम्भु बाजेलाई बोलाए हुन्छ, कसो गुरु ?’ शम्भु एकछिन अकमक्क पर्‍यो । ‘हो कि होइन गुरु ?’ रविनले फेरि सोध्यो । यसपालि पण्डितले स्वीकृतिमा मुन्टो हल्लायो र अलि सानो स्वरमा भन्यो, ‘एकैचोटि यस्तो कुरा गरेर हुन्नँ । सुलोली (स्लोली) गर्न‘पर्छ । तर, तिमेर्ले साथ दिने भए म आउँछु के रे  !’ ‘हस हजुर, हजुरहर्ले भनेको मैले सम्झिराख्या छु । म छोरोलाई भन्छु, के भन्ला कुन्नि’, खुसीले फुरुंग भएर हात जोड्दै कृष्णेले भन्यो, ‘अहिले म यताउति हेर्छु । के गर्नु हजूर, घरमूली भएसि सप्पै हेर्नै परो  !’ रविनले स्वीकृतिमा हात उठायो । चर्को म्युजिकको तालमा कृष्णेले पनि एकछिन ठिटाठिटीसित कम्मर मर्काउँदै, टाई हल्लाउँदै, डँडालो भाँची भाँची नाच्यो । त्यसपछि टाउकोमाथि हात पुर्‍याएर सबैलाई नमस्ते गर्दै हिँड्यो ।  ‘ए कृष्ण दाइ, ह्याँ आऊ  ! बुझ्यौ, कामी भनेर तिम्लाई सप्पैले हेप्थे । हेप्थे कि हेप्थेनन् भन त ?’ रक्सी लागेर असिनपसिन भएको हरेराम गिरीले सोध्यो । ‘आज यस्तो शुभ दिनमा छाड्दिऊँ हजुर दु:खका कुरा । आज त रमाइलो गर्ने, मनमा यस्ता कुरा ल्याउँदै नल्याउने ।’ ‘करेक्ट’, छाती ठोक्दै रुन्चे स्वरमा हरेरामले भन्यो, ‘तर, छोराको बिहे कसरी गर्नुपर्छ भनेर आज कृष्णे कामीले देखाइदियो यार  ! क्या बात  !’  ‘हजुरहरू आइदिनुभो, त्यै मलाई लाख भो । धन्यवाद हजुर  !’ ‘तिमी त मेरो ह्याँ छौ ह्याँ’, छातीमा देब्रे हातले ठोक्दै, फेरि हात जोड्दै हरेराम रुन थाल्यो, ‘जानी नजानी तिम्रो चित्त दुखाएको भए माफ पाऊँ है कृष्णे दाइ  ! मैले त कैल्यै हेपिनँ, तिम्लाई लाजभाँड भनिनँ नि ?’ ‘छैन हजुर छैन ।’ ‘बरु तिमीसँग बसेर जातभात नमानी जाँड खाइदिएँ, हो कि होइन भन त  !’ ‘हो नि हजुर  !’ ‘ए, जनके, ह्याँ मुन्टी, लु कृष्णे दाइसँग माफी माग्  !’ ‘होइन के भन्छ यो जाँडको पुङ  ! मैले किन माफी माग्ने ? कृष्ण दाइ त मेरो कलेजीमा छन्, कलेजीमा, के भन्न खोज्या तँ फुस्रा जोगीले ?’ ‘आजबाट कृष्णे दाइलाई कसैले हेप्न पाउँदैन, बुझिस् लुच्चा ? लु भाग्  !’ ‘नकरा मूला  !’ ‘छुवाछूत यस्तै सहभोज मार्फत हटाउनुपर्छ बुझ्नु भएन के  !’ अलि परतिर गाउँकै चैते माओवादी हरि मगरले अरुणलाई भनिरहेको कृष्णेले सुन्यो । ‘यो आइडिया मैले नै दे को हुँ बुझ्नुभो त कँड  !’ अरुणले घिरौँलाजत्रो नाक पार्दै भन्यो, ‘ऊ लौ कृष्ण दाइ नि आउनुभो । लौ हो कि होइन कृष्ण दाइ भन्दिनुस् त  !’ ‘हो नि हजुर  !’ ‘ट्वेन्टी फस्ट सेन्चुरीमा पनि यस्तो छ है  ! यो त मानव समाजकै कलंक हो, बुझ्नुभो नि  !’ ‘यी झ्यासहरूका कुरा के सुन्नु  ! हिँड् उता डानस हान्दिऊँ  ! त्यो पुन्टे दमाईकी छोरीलाई च्याप्पै समाइदिन्छु, हेरिराख् है त ?’ ‘नगर् यार, लफडा हुन्छ । बरु लभलेटर लेख् म पुर्‍याइदिन्छु ।’ ‘धत्, दमिनीलाई लभलेटर  ! बुद्धि हेर् यसको ?’  अलिपर हरेराम र जनक दगावाद गरिरहेका थिए । हरेरामले मातेको सुरमा जबर्जस्ती जनकको गालामा म्वाइ खाँदै भन्यो, ‘गाउँमा आजसम्म यस्तो भव्य भोज कसैले गर्न सक्या थेन, बुझिस् ?’ त्यसैले कृष्णे कामी जिन्दावाद  !’  ‘साला जाँडको घ्याम्पो, जाँड खान पाए तँलाई के चाहिन्छ र  ! आज कामीको छोराले मगर्नी उडायो । भोलि तेरी छोरी र पर्सि कुनचाहिँ बाहुनकी छोरी ताक्छ, अनि चाल पाउँछस् । लौ भन् दमाई, कामीलाई तँ आफ्नी छोरी दिन सक्छस् ?’  ‘मान्छे लफंगै भए नि जनकेले कुराचाहिँ मुटुमै छुने गर्‍या हो है ?’ शंकर थापाले भन्यो ।  ‘सही कुरो जनक ब्रो  ! कली लाग्या छ, विनाश हुने बेला, यस्तै हुन्छ भन्छन् ।’ ‘पहिले त त्यो ठुटे कविको ढाड भाँच्नुपर्छ, समाजभाँडा त्यही हो ।’ ‘जनकेको कुरा मनासिब हो । हाम्ले केई बोल्नु भएन के रे, बाहुनवादी भनेर ठाडै टिप्छन्, कसो नेताज्यू ?’ शम्भु पण्डितले रविनको मुख ताक्यो । रविनले स्वीकृतिमा मुन्टो हल्लायो । कृष्णे आउँदै गरेको देखेर जनक हाँस्दै हिँड्यो ।  ‘कृष्णे कामी जिन्दावाद  ! जनके चोर  मुर्दावाद  !’ लर्बरिएको स्वरमा हरेरामले भन्यो । सबैजना मुख च्याती च्याती हाँस्न थाले । ‘कृष्ण दाइ, सरी ल’, मातेको स्वरमा जुठो लतपतिएको जुँगा तह लाउँदै हरेरामले भन्यो, ‘त्यो साला जनकेले भनेर हुन्छ र, तिमी त मेरो मुटुमै छौ क्या  !’ हरेरामको कुरा ठिकै लागै पनि त्यसले बारम्बार ‘किस्ने कामी’ भनेको चाहिँ उसलाई बिझिरहेको थियो । तैपनि हाँस्दै सोध्यो, ‘के भो र हजुर ?’  ‘केही होइन, केटाहर्ले रमाइलो गरेका नि, लौ उता जाऊ हरेराम  !’ रविनले भन्यो ।
४. कृष्णे हाँस्दै बेहुला–बेहुलीको कक्षतिर हिँड्यो । यतिन्जेल ऊ पूर्णरूपले अछुत र हेय प्राणी थियो । एकाएक आज उसको हैसियत र आत्सम्मान उँचो भयो । थामिनसक्नु आन्तरिक खुसीले ऊ बेचैन हुन थाल्यो । एक्कासि उसलाई के भयो ? शरीरलाई केही कुराले नराम्ररी थिचिरहेको थियो । त्यो कहाँ लगेर बिसाऊँझैँ भयो ।  त्यसै पनि कति दिनदेखि बिहेको धपेडीले ऊ थाकेको थियो । त्यसमाथि यो कोलाहलमा क–कसले हात मिलाए, क–कसले बधाई दिँदै अँगालो मारे उसलाई होसै भएन । एउटा मातेको युवक उसको हात समातेर नाच्न थाल्यो र उसलाई पनि नचाउन खोज्यो । उसले पनि एकछिन नाचेझैँ गर्‍यो । तर, त्यसले अझ जोडले उसको हात झट्कार्न थाल्यो । जसोतसो हात छुटाएर हिँड्यो । अर्कोले दुख्नेगरी हात मिलाएर छोराबुहारीको सुन्दर जोडीको बखान गर्‍यो । फोटो खिचाइरहेका ठिटाठिटीबाट छुट्टिएर ऊ छोराबुहारी बसेको मण्डपतिर लाग्यो । एक्कासि उसलाई हगूँ हगूँ, मुतूँ मुतूँ भयो । तर, शौचालय छिरेपछि जति कने पनि न दिसा आयो न पिसाब । भाउन्न भइरह्यो । त्यतिकै साबुन–पानीले हात धोएर बाहिर निस्कियो । बेहुलीको शृंगारकक्षमा छिर्दा त्यहाँ भर्खरका ठिटीहरू अनेक नखरा पारेर छिल्लिरहेका थिए । ऊ पूरै शुद्धि हराएझैँ भयो ।  ‘बाबु  !’ उसले टाढैबाट छोरालाई बोलायो । यो कोलाहलमा उसले बोलाएको छोराले सुनेन । हिँड्दाहिँड्दै उसको छाती बेलुनझैँ भरिएर आयो । मुटु, कलेजो एकैचोटि मुखबाट बाहिर निस्केलाझैँ भयो । ‘हे भगवान्, मलाई बचाऊ, यो के भएको ?’ टाउको फनफनती घुम्न थाल्यो । भर्खर आएका दुइटी किशोरीले नमस्कार गरेजस्तो लाग्यो । तर, उसलाई नमस्कार फर्काउने होस भएन । घरी रविन, पण्डित शम्भु र रामप्रसादले खाँदाखाँदै हात मिलाउन आएको, घरी अरुणले गजल सुनाएको, घरी हरेराम गिरीले रुँदै माफी मागेको, घरी जनक र हरेरामले दगावाद गरेको दृश्य उसको वरिवरि रोटेपिङझैँ घुम्न थाले । छिनमै छोराबुहारी, रातो पाल टाँगिएको विवाहमण्डप र यो सिंगै भोजस्थल फनफनी घुमिरहेका थिए । बायाँ छातीतिर हज्जारौँ सियोले घोचेझैँ असह्य पीडा भयो । उसलाई कसैले आँखा छोपेझैँ लाग्यो, अनि अन्धकार फैलियो । स्न्याक्स खाइरहेका दुइटी तरुनीलाई धक्का दिएर ऊ केराको थामजस्तै गन्द्रम्म ढल्यो ।  मानिसहरू झुम्मिए । एकैछिनमा एम्बुलेन्स आइपुग्यो ।
कान्तिपुर कोसलीबाट  

No comments:

Post a Comment