फागुन २९- विभेद विरुद्ध अभियान । बूढो सालको रूखको बोक्राजस्तो जरखरिएको, सुक्खा र कुरूप थियो रमेश दमाई, ११, को शरीरको पूरै छाला । जन्मेको केही दिनपछि नै रमेशको छाला कालो हुँदै गयो । नयाँ छाला त पलाउँथ्यो तर त्यो पनि उस्तै कालो थियो, केही दिनमा सुक्थ्यो र उस्तै गनाउँथ्यो पनि ।
छालामा देखिएको अनौठो रोगका कारण सिंगो शरीर नै कक्रकिएको थियो । छालामा देखा परेको रोगका कारण उनले पर्याप्त भिटामिन ‘डी’ पाएनन् । अभावका कारण पोषणको कमी छँदै थियो । सुरुका केही वर्ष सुस्तरी हिँडडुल गर्ने रमेश बिस्तारै थला परे । भिटामिन ‘डी’को कमीले हड्डीको विकास राम्ररी हुन पाएन र खुट्टाका हड्डीहरू बिस्तारै बांगा हुन थाले । पर्याप्त स्याहार, पोषणको अभाव र रोगको पहिचान र निदानको अभावमा रमेशले आँखाको ज्योति पनि गुमाए ।
वर्षका अधिकांश समय भारतमा मजदुरी गर्ने बाबु नन्दबहादुरको अनुपस्थितिमा चार सन्तानको जिम्मेवारी नन्दमायाको काँधमा थियो । नरकुमारीको मायाले वर्षौंसम्म रमेशको रोगको उपचार हुन सकेन ।
‘सानो आशा’ नामक फेसबुक समूहले रमेशको अवस्थाबारे फेसबुकमा भिडियो राखेपछि बेलायत बस्ने तनहुँकी सरला थापाको सहयोगमा टीभी पत्रकार सरल गुरुङले रमेशलाई काठमाडौँ ल्याए र मेडिकल कलेज सिनामंगलमा उपचार सुरु गरे । डाक्टरत्रय सविना भट्टराई, आयुशमान घिमिरे र श्रेया बस्ताकोटीले रमेशको उपचार सुरु गरेपछि उनी बिस्तारै तंग्रिन थालेका छन् ।
उनको अनुहारमा वर्षौंदेखि हराएका मुस्कानका रेखा दौडिन थालेका छन् । रमेशका बुबा नन्दबहादुरले अनुहारभरि खुसी ल्याएर भने, “छोरो यति राम्रो होला र मुसुक्क मुस्कुराउला भन्ने सपनामा पनि सोचेको थिइनँ ।”
नेपाल बाट
No comments:
Post a Comment