चैत १३ , विभेद बिरुद्ध अभियान-
म एक दिन तिम्रो देउतालाई छोइदिनेछु,
तिम्रो पूजाकोठामै छिरेर-
गंगाजल छोइदिनेछु
तिम्रा पुराण जो तिमीले कहिले मेरो हुन दिएनौ
तिम्रो घरभित्रको वेद जो कहिलै मेरो हुन सकेन
सब छोइदिनेछु
सब छोइदिनेछु।
यो मेरो प्रतिसोध होइन
न कुनै आक्रोश नै,
त्यो कोठा जहाँ बसेका छन तिम्रा देउता
त्यही कोठामा काम गर्दा गर्दै थिचिएर एक दिन
मरेका थिए मेरा बा,
त्यो अम्खोरा जहाँ राखेको छौ तिमिले गंगाजल
अम्खोरा मात्र होइन
मेरो रगत र पसिना लामो ईतिहास हो,
अक्षर बनेर जहाँ बाँचेका छन तिम्रा देउता
हो त्यही वेदको कागजमा चुहेको मेरो आँसु
तिम्रो भान्साकोठा लिप्दा लिप्दा-
गुमेको छ मेरो सम्मान,
सब छोइदिनेछु
सब छोइदिनेछु,
अनि छर्नु सुनपानी
र चोख्याउनु तिम्रो देउता।
तर,
मलाई थाहा छ
त्यो दिन पनि यसरी नै
हाँसिरहनेछन तिम्रा देउता
मुस्कुराइरहनेछन तिम्रा वेद र पुराण
बदलिनेछैन गंगाजलको रंग
किनकी,
मेरो घरको देउता र तिम्रो घरको देउता
मेरो वेद र तिम्रो वेद
मेरो घरको गंगाजल र तिम्रो घरको गंगाजलमा
केही फरक छैन।
यी छोएर कहिलै छोइन्नन
यी छोएर कहिलै छोइन्नन,
छोइन्छ त केवल तिम्रो ‘सोच’
छोइन्छ त केवल तिम्रो ‘अहम्’
छोइन्छ त केवल तिम्रो ‘घमण्ड’
हो म एक दिन तिम्रो
घमण्ड भने पक्कै छोइदिनेछु
हो म एक दिन तिम्रो
घमण्ड भने पक्कै छोइदिनेछु।
साभार : नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा दलित नेता आहुतीले लेख्नुभएको ‘यो वर्ष पनि त्यसै बित्यो – कुनै चेपाङ युवाले कविता लेख्न सकेन, कुनै मुसहर युवाले कविता वाचन गर्न सकेन !’ फेसवुक स्टाटसको कमेण्ट वक्समा नरेश रेग्मीले राख्नुभएको कविता
(जागरण मिडिया सेन्टर)
No comments:
Post a Comment