विभेद बिरुद्ध अभियान - मोरङ, मंसिर १३ । ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ, लौरोको साहारामा भित्र–बाहिर गर्छ अथवा छोरा वा नातिको साहारामा बाँचीरहेको हुन्छ ।तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखाएका छन् । आफ्नो जीवनको उत्तरार्द्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेर फत्ते गर्छन् ।
उनी साइकल चढेर हाट–बजार गर्छन् । उनले २५ वर्षको उमेरमा साइकल चढेका हुन् । घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उनलाई घर परिवारले आग्रह गर्छन् । तर उनी मान्दैनन् । गाउँ वरपर हुने सभा सम्मेलनमा पुगिहाल्छन् उनी । यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आचश्र्यचकित हुने गरेका छन् । ‘घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जीउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु,’ उनले भने ।
सुनामका अनुसार साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ । शरीर तन्दुरुस्त पनि हुन्छ । साइकल सरर कुदाएको हेर्दा जो कोही छक्क पर्ने गरेको सुनामको अनुभव छ । अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘सडक विस्तार भएको छैन । तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ ।’
भोजपुर खावा–३ मा जन्मिएका सुनाम २०३५ सालमा उर्लाबारी झरेका हुन् । सकुञ्जेल साइकल कुदाइरहने उनको भनाइ छ । ‘साइकल मेरो साथी हो, नकुदाइ बस्न सक्दिन । आँट भएसम्मको ठाउँ पु¥याउन मद्दत गर्छ,’ उनले भने । हालसम्म उनले एक दर्जन साइकल फेरिसकेका छन् ।
No comments:
Post a Comment