Saturday, December 31, 2016

जातीय छुवाछूत र उपचार विधि - त्रिभुवनचन्द्र वाग्ले


बिभेद बिरुद्ध अभियान - पुस १७ गते । ओखलढुङ्गाको सिद्धचरण नगरपालिकामा विश्वकर्मा समाज गुठीले लगाएको सप्ताहव्यापी महापुराणले जातीय मेलमिलापको सन्देश दिएको छ ।  यसरी जातीय मेलमिलापको सन्देश दिने यो कार्य पहिलो होइन ।  त्यहाँ दलितले लगाएको महापुराण वाचन गर्ने ब्राह्मण ओमप्रकाश सुवेदी र रञ्जन सुवेदी हुनुहुन्थ्यो ।  यस्तो काम विगतमा भोजपुर, झापालगायतका ठाउँमा पनि भएका थिए ।  आयोजक मानबहादुर विश्वकर्माका अनुसार महापुराणमा अन्य जातका व्यक्तिहरूको उपस्थित, सक्रिय सहभागिता र प्रसाद दिने खाने गरिएको छ ।  झापामा दलित पण्डितले महापुराण लगाउँदा पनि यस्तै भएको थियो । 
२००७ को जनक्रान्तिको छेउछाउबाट नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले ‘जातपात मान्दैनौँ, हलो जोत्न बार्दैनौँ’ भनेर एक प्रकारको सन्देश दिए ।  यस्ता कार्यक्रममा उनीहरू आफैँं सहभागी हुन्थे ।  कसैलाई जबरजस्ती गरिएको हुन्नथ्यो ।  माओवादी सशस्त्र द्वन्द्वका बेला उनीहरूको प्रभाव क्षेत्रमा जातीय छुवाछूत  गर्न नपाइने गरिएको थियो ।  त्यसले पनि जातीय विभेद अन्त्यका लागि केही सकारात्मक काम गरेको थियो तर माओवादीले यस्तो काम करकापमा गराएका थिए ।  कुरो एउटै ठाउँमा पुगेर रोकिन्छ ।  काँग्रेसले चलाएको ‘जातपात मान्दैनौँ, हलो जोत्न बार्दैनौँ’ भन्ने अभियान ऊ सत्तामा पुगेपछि समाप्त भयो ।  काँग्रेसले यसलाई बृहत् अभियान बनाउन सकेन वा चाहेन ।  यसले राजनीतिक उद्देश्यका लागि मात्र यसो गरिएको भन्ने स्पष्ट हुन्छ ।  यस्तै माओवादीको करकापमा जातपात नमान्ने भनिए पनि माओवादी गाउँ छोडेर शहर आएपछि त्यस्ता जवर्जस्तीका नियमको अर्थ रहेन ।  त्यस्ता ठाउँमा जातीय छुवाछूतको प्रथा कायमै छ ।  माओवादीले पनि जातीय विभेदको अन्त्यलाई राजनीतिक उद्देश्य मात्र बनायो ।  
पञ्चायतकालमै नयाँ मुलुकी ऐन बनाइयो, छुवाछूत गर्न नहुने भनेर ।  मुलुकी ऐन पञ्चायतलाई लोकप्रिय बनाउन ल्याइएको थियो ।  यसका कतिपय प्रावधान जनताले थाहै पाएनन् ।  यो ऐनले छुवाछूत गर्न हुँदैन त भन्यो तर गरेमा के गर्ने नभनेकाले यो अर्को प्रकारको राजनीतिक चालवाजी मात्र थियो ।  २०४७ को परिवर्तनपछि आजसम्म आइपुग्दा संविधान, कानुन, सरकार, नागरिक समाज, दलित सङ्घसंस्था, अन्तर्राष्ट्रिय निकायका पहलमा जातीय विभेदविरुद्ध संवैधानिक कानुनी, वैचारिक पहल तथा साधनस्रोत परिचालन भएका छन् तर परिणाममा अपेक्षाकृत सुधार आएको छैन ।  यही मङ्सिर २४ गते काभ्रे, सानो बाङथलीकी–७ की लक्ष्मी परियारको हत्या जातीय कारणले भएको केहीले बताएका छन् ।  केहीले यसलाई बोक्सीको कुप्रथासँग जोडेका छन् ।  जातीय वा बोक्सी जे भने पनि आखिर दुवै अमानवीय, अवैज्ञानिक र गैरकानुनी हर्कत हुन् ।  यस्ता मनोसामाजिक समस्याको उपचारमा हामी चुकेका छौँ ।  
यसैगरी गतहप्ता गुल्मी अर्बेनीका अन्तरजातीय जोडी लालबहादुर सुनार र सावित्रा न्यौपाने गाउँलेको प्रताडन सहन नसकेर जङ्गलमा बस्न पुगेका समाचार प्रकाशित भए ।  यस्ता अति असभ्य समाचार पढ्दै गर्दा यस क्षेत्रमा गरिएका सारा प्रयास असफल भएका हुन् कि भन्ने लाग्न सक्छ तर हतास हुनुपर्ने छैन ।  दलितका अधिकार संरक्षण गर्ने सन्दर्भमा राजनीतिकरूपमा नेपालले भारतको तुलनामा धेरै उपलब्धि गरेको छ ।  विधायकी निकाय, प्रशासनिक अङ्गदेखि राज्यका तमाम संरचनामा दलितको उपस्थितिलाई संविधानले प्रत्याभूत गरेको छ ।  त्यसअनुसारको व्यवहारमा पनि नेपाली नै उदार देखिनुपर्छ ।  नेपालमा सबै प्रकारका विविधता अटाउन सक्छन् भन्ने सन्देश नेपालीले नै दिनुपर्छ ।  
विगतमा यस्ता धेरै घटना हुन्थे कम मात्र समाचारमा आउँथे ।  यसो हुनुको कारण त्यतिखेर जातीय छुवाछूतका घटनालाई स्वाभाविक रूपमा लिइन्थो ।  साधारणतयाः स्वभाविक घटनाहरू समाचार बन्दैनन् ।  त्यसै भएर सञ्चारविद फेन्बाइले ‘सयौं रेल गन्तव्यमा पुगेको घटना समाचार हुँदैन तर एउटा रेल दुर्घटनामा परेको घटना समाचार बन्छ’ भन्नुभएको हो ।  यसो भन्नुको अर्थ अपवादका घटना समाचार बन्छन् भनिएको हो ।  हामीले अझँै पनि दलितले लगाएको पुराणमा बाहुन वाचक, सहभोज, सहपूजाजस्ता समाचार छाप्नुको अर्थ यस्ता घटनालाई अपवाद मानिएको छ र यी अपवादका घटना समाचार बन्छन् वा बनाइन्छ ।  बाहुनले लगाएको पुराणमा बाहुन वाचक भन्ने घटना किन समाचार बन्न सक्दैन भने समाजले यसलाई स्वाभाविक घटनाका रूपमा लिएको छ ।  अहिले पनि दलितले लगाएको पूजामा बाहुनले कर्मकाण्ड गराएका घटना समाचार हुनु भनेको हामी अझैँ यस्ता घटनालाई अस्वाभाविक वा अपवाद मानिरहेका छौँ ।  जबकि यस्ता घटना समाजमा स्वभाविक बन्दै जानुपर्छ ।  समाचार बन्नु हुँदैन । 
यसो हुन नसक्नुका केही सामाजिक, मनोवैज्ञानिक धार्मिक तथा व्यक्तिगत कारण छन् ।  समस्याको सही उपचार हुन सकेको छैन ।  गाउँमा जातीय छुवाछूत हुन्छ, शहरमा त्यसका बारेमा मौसमी बेमौसमी व्यक्तव्यवाजीको खेती गरिन्छ ।  जातीय छुवाछूत मनोविज्ञानमा घुसेको छ ।  कानुन देखाएर उपचार गरिन्छ मानौँ यो ज्वरो हो जसलाई सिटोमोलले काम गर्छ तर असली डाक्टरले ज्वरोलाई सिटामोल दिँदैनन् बरु विभिन्नमध्ये के कारणले ज्वरो आएको हो निदानपट्टि लाग्छन् र ‘यकिन समस्या सही उपचार’ गर्छन् ।  हाम्रोमा रहेका जातीय छुवाछूत वा छाउपडीजस्ता कुंसस्कार शहरी कोलाहलबाट निमिट्टान्न पार्न सकिन्न ।  यसका कारण खोज्नुपर्छ ।  छाउगोठमा बस्नुको कारण के होला ? के विशुद्ध सांस्कृतिक कारण मात्र होला त ? जसकहाँ पर्याप्त लुगा छैन, सफाइका लागि पानी र संरचना छैन, ‘डिग्निटी किट’ छैन, उनीहरू अभिभावकसँगको लाज वा अपशोचले पनि छाउगोठमा लुक्नुपर्ने अवस्था हुनसक्छ ।  त्यता ध्यान नदिई छाउगोठे प्रचलनको विरोध मात्र गरेर समस्या समाधान हुँदैन ।  समस्याको कारण र परिणाम नखेजेसम्म वैज्ञानिक उपचार पनि सम्भव छैन ।  
जातीय छुवाछूत योभन्दा केही भिन्न भए पनि यसका लागि हामीले गरेका उपचार सीमित, एकाङ्की र प्रचारात्मक मात्र देखिएका छन् ।  अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँ निकाला गर्नेलाई पढाएर, सम्झाएर, चित्त बुझाएर मात्र यो समस्यामा कमी ल्याउन सकिन्छ यसका लागि वाध्यात्मक र स्वेच्छिक उपचार गर्न सकिन्छ, न कि शहरमा बसेर विज्ञप्तिको खेती गरेर ।  समस्या र उपचार विधि नमिले पनि पछिल्ला वर्षमा नेपालले सबै प्रकारका विभेदमाथि विजय प्राप्त गर्दैछ ।  वर्षौंको समस्या एकैदिन हल हुँदैन तर मुलुकले संविधानतः यस्ता विभेदको अन्त्य गरेको छ ।  व्यवहारतः अन्त्य गर्ने जिम्मेवारी नागरिकले लिनुपर्छ ।  आज कुनै पनि नागरिकले जातीय छुवाछूत र विभेदलाई जायज भन्न सक्दैन ।  यो राम्रो उपलब्धि हो ।  यसका पछाडि कानुनको डर होला तर वर्तमान ठूलो जमात जातपात नमान्ने गरी उभिएको छ ।  यही हाम्रो सफलता हो ।  यद्यपि सफलता अपेक्षाकृत छैन तर यो पनि बिर्सन हुँदैन, अपेक्षाकृत सफलता पाउन अपेक्षाकृत उपचार अपनाउनुपर्छ ।  अल्सरलाई ग्यास्ट्रिकको औषधिले छँुदैन ।  हुँदैन। - गोरखापत्र बाट

के तपाईहरु ‘गुहु’ खान सक्नु हुन्छ ? - गणेश श्रेष्ठ

पौष १६ - बिभेद बिरुद अभियान- म अहिले साउदी अरबको रियादमा एउटा पेट्रोल पम्पमा काम गरीरहेको छु । म भोजपुर स्थायी घर भई हाल सुनसरी ईटहरीमा बस्दै आएको छु । म करीब ९ वर्ष मलेशिया बसेर अहिले फेरी साउदी पुगेको छु रोजीरोटीको लागि । देश गरीब छ , मानिसहरु गरीबीमा बाचीरहेका छन् , १० वर्षदेखि विदेशी भूमिमा अरुको काम गर्न हामी जस्ताको रहर हो कि राज्यले सिर्जना गरेको बाध्यता हो ?

हामी जस्ता युवाले कसरी दुखः गरीरहेका होलान सिंहदरबारमा चिल्लो गाडीमा कुद्नेहरुले थाहा पाएका छैनन् शायद । ल यो त हामी दुखः गरेर खान्छौ ठिकैछ एक दिन देश बन्ला आशा पनि गर्न सकिन्छ ।तर दिन दिनै जसो देश भित्र आमा दिदी बहिनीहरुलाई बोक्सी भनेर दिशा पिशाब खुवाईएको , हत्या गरिएको, बलात्कार गरिएको खबरले मेरो मन असाध्यै पोल्ने गरेको छ ।यसरी बोक्सी भनेर आगो लगाईएकी ढेगनी देविको पीडा सेलाउन नपाउदै फेरी काभ्रेमा एक दलित महिलालाई दिशा पिशाब खुवाएर रुखमा बाधेर हत्या गरिएको खबरले मन भत भत पोलेको छ । नेपालको विभिन्न अनलाईनहरुमा फेसबुकहरुबाट यो खबर अझ भन्दा साथीहरुबाट मैले सुने ।

काभ्रेकी लक्ष्मी परियारलाई गाउलेहरुले अझ शिक्षक जस्तो मान्छे समेत लागेर दिशा पिशाव खुवाएर रुखमा बाधेर कुटेर मार्नु यो कहा सम्मको न्याय हो ?  म सोध्न चाहन्छु , तपाईहरुलाई लक्ष्मीलाई जस्तै दिशा पिशाब कोच्याउदा के हुन्छ ? तपाई खान तयार हुनुहुन्छ ? यदी तपाई तयार हुनुहुन्न भने अरुलाई , असहायलाई किन यसो गर्नु हुन्छ ? यो अन्याय कहिले सम्म ? त्यो शिक्षकले साना बच्चाहरुको अगाडी रुखमा बाधेर कुटेर मार्दा रमित हेर्ने ती कस्ता समाजका नागरिक थिए ?

सरकार कँहा छ ? कानुन कँहा छ ? यो गंभीर अपराध र हत्याको अभियोगमा राज्यले संलग्नलाई जन्मकैद गर्ने कि नगर्ने ? म आग्रह गर्न चाहन्छु , ती अपराधी हुन् जो जो यो घटनामा संलग्न छन् उनीहरुलाई जन्मकैद होस् । केही दिन पहिला समाचार पढेको थिए ईन्डोनेशियामा महिलालाई बलात्कार गर्नेको लिंग नै काट्ने भनेर , अब नेपालमा पनि यस्तै कानुन चाहिन्छ , मलमुत्र खुवाउनेलाई पनि उल्टै खुवाएर दुबै हात काटदिने खालको कानुन चाहिन्छ कि त आजिवन काराबास कै कानुन । नत्र यो देशमा मानिसले मानिस भई बाच्न नपाउने ? गरीब भएकै कारण बोक्सी , बोक्सा बनेर दिशा पिशाब खानु पर्ने , आगो लगाएर मारिनु पर्ने ?यो जति अपराध भएको सबै गरीब, असहाय र दलित तथा भेदभावमा परेका मान्छेहरुमाथि भएको छ ।  यो कुराले किन सिंहदरबारमा बसेर शासन गर्ने चिल्ला मान्छेहरुको मन छुदैन ? यदी यो जघन्य अपराध ती ठूला बडालाई भएको भए के हुन्थ्यो ? सत्ताको सबै शक्ति प्रयोग गरेर कार्बाही गरीसकेका हुन्थे । हो यसै कारणले देशमा अन्याय छ , द्धन्द छ , पीडा छ ।

अस्ती अख्तियारका प्रमुखलाई कालोमोसो दल्नेलाई कैद र जरीवानाको लागि सर्बोच्चले आदेश दियो भन्ने सुनियो । सामान्य कालोमोसो दल्नेलाई तत्कालै कार्बाही गर्न आदेश दिने सवोच्च छ भने महिलालाई आगो लगाउने, मलमुत्र खुवाउने हत्या गर्नेलाई आदेश दिएको कतै सुन्दिन म किन हो ? म विदेशी भूमिमा श्रम गरेर देशलाई सम्झन बाध्य छु । यो अन्याय र अत्याचार रोक्न के गर्नु पर्छ सबैको ध्यान जाओस् ।
गणेश श्रेष्ठ, भोजपुर , हाल साउदी-मिर्मिरे अनलाइन बाट

मुसहरको पीडा जाडो देखि छाक टार्न सम्म

रबिन्द्र यादव / विभेद बिरुद्ध अभियान- परासी, १६ पुष । जाडोले कठन्ग्रिदै गएका मुसहरहरुको जिवन कष्टकर बनेको छ । तराईमा बढदो जाडोले मुसहर बस्तीनै समस्यामा परेको छ । ज्याला मजदुरीको पेशा अंगाली छाउनीको घरमा बस्दै आएका मुसहरहरु जाडो कपडाको अभावले जाडो खेप्दैआएका छन् । दिनचर्या चलाउन गाउँगाउँमा ज्याला मजदुरी गर्ने एवं नजिकको खोलानालाबाट माछा मारि विक्रीवितरण गर्ने गरेका छन् । नवलपरासीको गुठीपर्साैनी वडा नम्बर ३ कठहवा स्थित मुसहबस्तीका अधिकांश महिला पुरुषहरु ज्याला मजदुरी नै गरि पेट पाल्ने गरेका छन् । ४५ घरधुरी रहेको कठहवा मुसहर बस्ती जिल्लाको सदरमुकाम परासीदेखि करिब ४० किलोमिटर सिमाक्षेत्रमा अवस्थित छ । शिक्षा एवं जनचेतनाले निकै पछाडी परेका ति मुसहर समुदायलाई सरकारका विभिन्न सेवा सुविधाबाट बन्चित छन् ।
अनुपातमा एक घरमा लोग्ने स्वास्नी र बच्चा गरि ५ जनाको परिवार हुँदो रहेछ । बस्तीका महिलाहरु गाउँगाउँमा उखु काटने, जमिन्दारको खेतीपाती गर्ने र ज्याला मजदुरीमा व्यस्त रहने गरेछन् भनेपुष मान्छे दिल्ली, बम्बई, लोधियाना र अर्काे गाउँमा गई ज्याला मजदुरी कमाउने गरेका छन् । कसरी चलेछ मुसहरको दिनचर्या सयांै वर्षदेखि अटेरपटेर, खरफुस र बाँसको छाउनी (झोँपडी) को घर बनाई बस्दै आएका मुसहर बस्तीमा एक पनि पक्की घर छैन । शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी जस्ता अत्यावश्यक सेवासुविधाबाट बन्चित रहेका मुसहरबस्तीमा सरकार तथा यसको सम्बन्धित निकायको पहुँच पनि न्युन छ । बस्तीका अधिकांश बालबालिकाहरु बा, आमा संगै ज्याला मजदुरीतथा खोलानाला, बाख्रा चराउनकाममा व्यस्त रहने गरेका छन् । बालबालिकाहरु जाडोको कपडा नभएकै कारण अहिले विद्यालय जान सकेछैनन । बालबालिका कपडा लत्ता, किताब, कपीकलम, झोला र बा,आमाको काममा हात बटाउने कारणले नै विद्यालयको मुख हेर्न पाउदैनन् ।
आर्थिक अभावमा गाउँभन्दा बाहिर विदेश समेत जान नपाएका मुसहर युवाहरु पनि गाउँकै जमिन्दारहरुको खेतीपातीमा अल्झेका छन् । मुसहबस्तीमा एक जना मात्र विदेशछन् । बस्तीमा भरिमा कुनै व्यक्ति एस एल सी पास छैनन् । खासगरि विद्यार्थीहरु कक्षा, ७, ८ सम्म पठनपाठन पुरा गरेपछि बा,आमाको काममा हात बटाउन बाध्य भई शिक्षाबाट पछाडी पर्दै गएका छन् । विहान काममा गएर मात्र साँझाविहानपरिवारको छाँक टार्ने मुसहरहरु परिवारका घरको अवस्थापनि दयनिय रहेको स्थानिय छेदी मुसहरले बताए । जाडोमा शिरकडसनार न्यानो कपडाको अभावले परालको ओछ्यान र शिरक समेत बनाई दिन काटने गरेछन् । बस्तीमा १० वर्षमुनिका बालबालिकाहरु बढि छन् जुन बा,आमाको व्यवस्तताले विद्यालयको मुख समेत हेर्नै पाउदैनन् । मुसहर बस्तीमा विशुद्ध खानेपानी छैन, विद्यालय छैन, विजुली पनि छैन ।
विहान सुतेर उठेपछि हतारहतारमा खाने पकाउने खाने कामले सम्पन्न भएपछि मुसहरहरु काममा दौडी हाल्न पर्ने बाध्यता छ । करिब १० वर्षअगाडी सो बस्तीमा बढि प्रदुषण एकपटक आएको हैजा महामारीले १५ भन्दा बढि मुसहरले ज्यान गुमाएका थिए । चेतनाकै अभावले सरसफाई, जन्मदर्ता, नागरिकता, योजना निर्माण, र सामाजिक भत्ता जस्ता आवश्यक सेवासुविधाबाट बन्चित छन् । मरिमेटी काम गर्ने मुसहरहरु साँझ जाँड रक्सीखाएर हो हल्ला पनि गर्ने गरेको पाईएछ । दिनभरि कमाएको तलब साँझ विहानको छाँकको व्यवस्था मिलाएपछि जाँडरक्सीमा भ्याउने गरेको स्थानियले बताए । बचतको बानी नबसेकै कारणलेआर्थिक रुपले निकै पछी परेका मुसहरहरु विभिन्न अत्यावश्यक सामाग्रीहरु किनमेल गर्न सकेका छैनन् ।
मुसहर बस्ती बर्तमान सांसद कलवार र तमलोपा बरिष्ठ उपाध्यक्ष त्रिपाठीकै गाउँ हो । गुठीपर्साैनी वडा नं. ३ कठहवाँ कै अर्काे टोल तमलोपाका बरिष्ठ उपाध्यक्ष एवं पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री ह्देश त्रिपाठीको गाउँ हो । लागातार ४ पटकदेखि सांसद एवं मन्त्री खादै आएका बरिष्ठ उपाध्यक्ष त्रिपाठी अरु क्षेत्रको विकास गरेपनि आफ्नै गाउँको विकासमा कुनै पहल नगरेको देखिन्छ । १ सय २५ घरधुरी रहेको त्रिपाठीको गाउँमा त्रिपाठी सहित करिब ४० घरमात्र पक्की घर छन् जसमा मुसहर टोल पुरै छाउनी हो । पटक पटक मन्त्री खादै आएको त्रिपाठीले आफ्नो व्यक्तिगत विकास बाहेक निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधारहरुको विकास नगरेपछि स्थानियहरु बाध्य भई गत दोश्रो संविधासभाको निर्वाचनबाट अर्काे नेता वर्तमान सांसद देवकरण कलवार (सन्तु) लाई जिताएका हुन् । सांसद कलवार (सन्तु) को पनि घर गुठीपर्साैनी नै हो । सांसद कलवारको पनि ३ वर्ष कटिसक्दा मुसहर बस्तीका लागि कुनै किसिमको पहल नभएको स्थानिय रामजति मसुहरले दुखेसो पोखे । सांसद कलवारले पनि आफनो कार्यकर्तालाई मात्र खुशी पार्ने कामले निर्वाचन क्षेत्रनं. ६ को विकास ओझेलमा परेको स्थानियले गुनासो गरे ।

विभेदका विम्बहरूसँग दुई थोपा आँसु -दिल निशानी मगर

यहाँ जो आउँछन्,
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छ,
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्
यहाँबाट जो जान्छ,
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छ
यस्तो छ यो चार भन्ज्याङ खाल्टो
एउटा चिसो एस्ट्रे जस्तो छ
यो चार भन्ज्याङ खाल्डो ।
भूपि शेरचनले 'चिसो एस्ट्रे' शीर्षकमा लेखको यो कविता र सागर परियारको आँखा उस्तैउस्तै लाग्छ मलाई ।
विगत केही दिनदेखि सागर परियार र उनका दुई कलिला भाइहरु मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर हिँडिरहेका छन् आमाको हत्याबारे 'बकपत्र' बाँड्न । थाहा छैन, यो लाजमाण्डौ सहरका प्रख्यात महिला अधिकारवादीहरु कुन पाँचतारे होटलमा आधी अंग्रेजी र आधी नेपाली भाषामा भाषण गर्दैछन् । कार्यपत्र पेस गर्दैछन् । सोधपत्र बुझाउँदैछन् । हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेका 'परियार' यो सुकिलो समाजको परिवार होइन क्यारे ।
म तिनका नितम्बहरुलाई चरम घृणा गर्छु ।
मुक्ति, न्याय, समानताको भजन गाएर नथाक्नेहरु मुसा बनेर लुकेका छन् । यही कामना गर्छु, ती मुसहर बस्तीमै पसून् । कम्तीमा कसैको पेट भरिनेछ । बाँकी जो छन्, तिनलाई हेलिकप्टरबाटै खसाल्नुपर्छ । संसार रोएको बेला दलित अधिकारकर्मीहरुको हातमा एक थान जाले रुमालसम्म देखिन्न । पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू बोकेर लक्ष्मी परियारका कलिला सन्तानहरु यही चार भन्ज्याङ खाल्डोमा ओहोरदोहोर गरिरहेका छन् ।
एउटा चिसो एस्ट्रेजस्तो, चार भन्ज्याङ !
मैले परेवाहरु देखेको छु । परेवाका बचेराहरु देखेको छु । मैले ढिकुर चराहरु देखेको छु । ढिकुर चराका बचेराहरु देखेको छु । मैले लक्ष्मी परियार देखेको छु । लक्ष्मी परियारका बचेराहरु देखेको छु । आँखा नखुलेका ती कलिका परेवाका बचेराहरु कति निर्दोष देखिन्छन् । एक दाना चारो टिप्न हम्मेहम्मे हुने ढिकुरका बचेराहरुको प्वाँख कस्तो मायालाग्दा देखिन्छन् ।
त्यस्तै देखें मैले सागर परियारको आँखा, सुमन परियारको अनुहार र सुशील परियारको आँसु ।
सागर परियारका कलिला आँखा आफ्नी आमाको प्रतीक्षामा हजारौं वर्ष अनिँदो बिताएको जस्तो अतृप्त सम्झना बोकिरहेको देखिन्थ्यो । सुमनको मुख सुकिरहेको थियो । सुशील काखको दुधे नानी, रातभरि रोएर हजुरआमालाई सुत्न नदिने । आमा...आमा...भन्दै निरन्तर बोलाइरहने उनको घाँटीमा पीडाको ध्वनि गुन्जिरहेको थियो ।
गुलेली लागेर मुर्छित परेवाजस्तै, पासोमा परेको ढिकुर चराजस्तै लक्ष्मी परियार यो जगतबाट धेरै टाढा पुगेपछिको हृदयविदारक चित्र हो यो ।
सुशीलले लगाएको भोटोबाट आमाको दूधको गन्ध आइरहेको थियो । पिसाब फेरेर जाङ्गे पूरै भिजेको थियो, शायद केही घण्टादेखि जाङ्गे नफेरिएको हुन सक्छ । टिलपिलटिल आँखाहरु शायद उनी रुँदारुँदै थाकिसकेका थिए । रुँदारुँदै थाकेको मानिसको मुहार कस्तो हुन्छ, त्यो मैले जीवनमा धेरै पटक देखेको छु- ऐनामा ।
सुशीलको मुहारमा दुई थोपा आँसु भिज्ने गरी म्वाइ खाएँ र करुणाको मधुरो आवाजलाई छातीभित्रै पूरपार गरेँ । मेरो दिलमा मानवीयता यसरी जाग्यो कि म मरिसकेको रहेनछु ।
दुई भाइलाई त कम्तीमा आमा बितेको थाहा थियो । उनीहरुले आफूलाई टुहुरो जीवनसँग अभ्यस्त बनाउन कोसिस गर्दैथिए । आमाले हामीलाई टुहुरो बनाएर गए भन्ने तिनलाई हेक्का थियो । कक्षाकोठामा सामाजिक विषय पढाउने आफ्नै शिक्षकले आमालाई बोक्सीको आरोपमा मारेको कुरा कम्तीमा ती जान्दथे । र, आमाबिनाको जिन्दगी बाँच्ने संकल्प गरिसकेका थिए मनमनै ।
तर, बिचरा कान्छा सुशील, केवल आमाको काखको खोजीमा रोइरहेको, उनी कराइरहेका थिए । उनलाई आफू टुहुरो भइसकेको अनुमान थिएन ।
आमालाई दिसा खुवाएर छातीमा लात्ती हानिएको, टाउकोमा चिर्पट दाउरा प्रहार गरिएको पीडाको घाउ उनी जान्ने/बुझ्ने भएपछि बल्झिएला । अहिले बल्झिएको छ, उत्पीडनको घाउ, विभेदको घाउ, अन्याय/अत्याचार र हेलाहोचोको घाउ । मनको घाउ, मुटुको घाउ, हृदयको घाउले भन्दा निकै चर्को दुखाएको छ यो विभेदको घाउले । वर्षौंदेखि यो घाउ सहँदै, रुँदै 'दमिनी भीरबाट' हजारौँ दमिनीहरु हामफालेका छन् ।
कुवाको पानी र आकाशको सूर्यले पनि विभेद गरेको छ ।
काभ्रे सानो वाङथली–७ की लक्ष्मी परियारलाई बोक्सीको आरोपमा कुटपिट गरेर मारेको खबर पढेपछि म बाँचेको युगसँग चरम 'घृणा' जागेको थियो मलाई । लक्ष्मीको पाशविक हत्यामा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आशयको एउटा लेखेको थिएँ, सम्बन्धित निकायको ध्यानाकर्षण होला कि भनेर । जागरुकताको दृष्टिले मैले राम्रै भूमिका खेलेको कुरा विभिन्न माध्यममार्फत जानकारी हासिल गरेँ ।
लक्ष्मीका सन्तानप्रति स्वाभाविक रूपमा करूणा जाग्यो ।
तर, दयामाया र करूणा आफ्नो ठाउँमा थियो । स्व. लक्ष्मी परियारलाई न्याय दिलाउने, बालबच्चाहरुको पालनपोषण र उनीहरूलाई शिक्षादीक्षा दिने कुरा अर्को ठाउँमा थियो । आरोपित हत्याराप्रति आक्रोशको भावना जाग्यो तर मैले एउटा नाथे लेख प्रकाशित गराउनबाहेक अरु केही गर्न सक्दिनथेँ । आमाको हत्या प्रकरणबारे मानवअधिकारवादी र पत्रकारहरुसँग प्रत्यक्षदर्शी छोरा सागरले दिएको बकपत्र भिडियोमा हेरेपछि धेरै दिनसम्म मन रोइरह्यो ।
दालभात पनि राम्रोसँग खाइनँ । कतिपय अवस्थामा अनिदोजस्तै रात बिताएँ ।
मानिसहरु मलाई अराजक केटा भन्ठान्छन् । तर, म यति धेरै भावुक किन छु, त्यो मलाईबाहेक कसैलाई पनि थाहा छैन । त्यसैले शंका लाग्छ आफ्नो भावुकतामाथि । मेरो दिमागमा आक्रोश छ, छातीभरि मायाको पोका पनि छ । मेरो मुखमा रुखो वचन छ, आँखामा बलिन्द्र धारा आँसु पनि छ । शायद यिनै मूल्यवान चिजलाई फ्युजन गर्न नसक्दा यो जिन्दगानी बारपाकजस्तै भताभुंग भएजस्तो लाग्छ ।
अन्याय, अत्याचारविरुद्ध संघर्ष गर्नकै लागि मेरो दिमागमा कसैले इन्द्रजाल मन्त्र घुसाइदिएको छ कि जस्तो पनि लाग्छ ।
लक्ष्मी परियारको सत्ता निर्माण गर्नको लागि रगत बगाएको हो, पानी होइन । यो युगले सागर, सुमन र सुशीललाई मानिस बनाउने संकल्प बोकेको थियो । मुक्तिका लागि नयाँ समाज र नयाँ समाजका लागि नयाँ नेपाल । के हाम्रो महान सपना होइन ? के समताको बाटोमा मान्छेको मूल्य भेटिँदैन ? यस्तै धेरै कुराहरु सोचिरहेँ ।
कल्पना गरिरहेँ- उनीहरुलाई अलिकति भए पनि आफ्नो तर्फबाट केही गर्न पाए राम्रो हुन्थ्यो होला । के गर्न सक्छु त म ? म को हुँ ? मैले आफूले गर्न सक्ने सहयोगको सम्भाव्यता पहिल्याउन थालेँ ।
फेसबुकमा रहेका मित्रहरुलाई आह्वान गरेर २ लाख संकलन गर्छु भन्ने अठोट गरेँ । कम्तीमा २ लाखले उनीहरुको सामान्य आवश्यकता पूरा गर्न सहयोग हुन्छ, तत्कालका लागि भन्ने लाग्यो । किनभने, उनीहरुको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर छ भन्ने थाहा थियो । लक्ष्मी घाइते हुँदा उपचार गर्ने काठमाडौं आउने पैसा थिएन भन्ने समाचारहरु प्रकाशित भएका थिए । मिलापत्रको बाध्यता थियो ।
भैँसी मारिदिएको र त्यसको जरिवाना तिर्न नसकेको झुटा आरोपले निकै पीडा दिन्छ ।
मैले फेसबुकमार्फत सहयोग संकलन गर्दा उनीहरु (बालबच्चा) सानो वाङथली–७ स्थित आफ्नै सानो घरमा थिए । बाबा पनि अनुसन्धानको लागि हिरासतमा रहेकाले उनीहरुलाई हजुरआमा र काकाको सहारा थियो । सामाजबाट अरु कसैले सहयोग गर्ने कुरा कल्पना पनि गर्न नसकिने स्थानीय एक युवासँगको संवादबाट थाहा पाएको थिएँ ।
मैले उनीहरुलाई दरबारमार्गको केएफसीमा लगेर गएँ । खाना त जहाँ खाए पनि हुन्थ्यो । सस्तो दालभात जहाँ पनि पाइन्थ्यो तर मैले बच्चाहरुलाई नयाँ अनुभव दिन चाहन्थेँ । उनले आफ्नो तनावलाई कम गर्न सकून् र हाम्रो पनि कोही आफन्त रहेछन् भन्ने महसुस गरून् । उनीहरु निराश र हतासमा थिए, जुन स्वाभाविक थियो ।
केएफसीबाट निस्कने बेला उनीहरुको मुहारमा उज्यालो छायो । ओठमा मुस्कान देखियो । केही तस्बिरहरु खिच्यौं । एकछिन वरिपरि घुम्यौं र गयौं सपिङको लागि- सिटी सेन्टर ।
सिटी सेन्टरमा क्रिसमसको रमझम थियो । मानिसहरुको भीडभाड पनि उत्तिकै । उनीहरु क्रिसमस ट्रिनजिक उभिएर रमाइलो गरे । झिलिमिली देखेर खुसी भए । लिफ्ट चढेर उपल्लो सबै तलामा गए । आफूलाई मन परेका कपडाहरु हेरे, किने ।
२ लाख संकलन गर्ने लक्ष्य भए पनि ऋण नदिएकाले घोषणा गरेका मित्रहरुलाई पटक-पटक मागिरहने नैतिक आधार थिएन मसँग । त्यसैले जति उठ्यो, त्यति (१ लाख) दलित युवा सञ्जाल नेपालका अध्यक्ष पुष्कर विकको हातबाट हस्तान्तरण गरेँ ।
आजको मितिसम्म कसैले गर्न नसकेको 'अनौठो काम' गरेको चाहिँ होइन ।-१२ खरी बाट साभार 

Friday, December 30, 2016

दृष्टिीबिहीन गायिका भावना परियार सडकमै सिमित हुन बाध्य

रश्मी थापा- बिभेद बिरुद्ध अभियान - पौष १४- व्यस्त सडक किनारमा मन हर्ने कर्णप्रिय र मर्मस्पर्शी गीत गुञ्जिरहँदा अनायसै व्यस्त बटुवाका पाइला रोकिन्छन्। सवारी साधनका ब्रेक लाग्छन्। दृष्टिविहिनको गुञ्जिएका मिठा स्वरले बटुवाका मन त्यसैत्यसै छोइदिन्छ। कतिपय रोकिएर एक टकले सुनिरहन्छन्। कतिपय भन्ने गर्छन् “आहा! कति मिठो स्वर ?हेर्ने दृृष्टि नभएर के भयो त? आकर्षक प्रतिभाका धनी रहेछन।” केही रुपिया दिएर गन्तव्यतिर लाग्छन्। कोहि सुनेरै अघाउँदैनन् कोही वास्तै गर्दैनन्। र पनि परवाह हुदैन सडक किनारमा बसेर आफ्ना कोकिल कण्ठले गीत गाउदै जीवनयापन गर्ने प्रतिभाशाली दृष्टिविहीन गायकगायीकालाई।
कतिपय दृष्टिविहिन काठमाडौको व्यस्त सडक छेउमा गीत गाएर बटुवालाई मनोरञ्ज प्रदान गर्छन्। तर उीहरुको आफ्नै जीवन भने कष्टकर छ। यो ती कलाकारको कथा हो। जो दृष्टिविहनि भएकै कारण प्रतिभा भएर पनि सडक पेटीमै गीत गाएर जिविकोपार्जन गर्न बाध्य छन्। संसार हेर्ने आँखा नहुदा कतिपय अवस्थामा घरपरिवारबाट पनि अपहेलित यी दृष्टिविहीन केवल बाटोमा बसेर गीत गाउने मात्र हैन, मौका पाए गीतसंगीतकै क्षेत्रमा आफ्नो पहिचान बनाउन चाहन्छन् र देशको लागी केही गर्न चाहन्छन्।

काठमाडौको न्युरोड गेटपेटीमा गीत गाउंदै गर्दा भेटीइएकी पाल्पाकी दृष्टिीबिहीन गायिका भावना परियार १३ वर्ष अघि संगित सिक्नको लागी राजधानी आइन सानैदेखी गाउंघरमा हुने मेला महोत्सबहरुमा गीत गाउने उनलाई दृष्टिबिहीन व्यक्तिहरुका लागी काम गर्ने एक संस्ताले संगित सिकाउने चाँजोपाँजो मिलाइदिने भएपछि २०६० सालमा राजधानी हानिएकी उनीले जम्मा ६ महिनासम्म संगित सिकिन त्यतिबेला समय थप गरेर अझै सक्निे मन थियो ।

तर मिलेन त्यसपछी सँस्थामै आबद्ध भएर विभिन्न कार्यक्रमहरुमा गीत गाउने गर्न थालियो उनी भन्छिन । लोक गीतको पारखी उनीले २०६४ सालमा आफ्नै शब्द सँगित र आवाजमा रहेको एकल लोक गीत रेकर्ड गर्नका लागी एक व्यक्तिलाई पैसा पनि दिइन तर केही समयपछी उनको पैसा लिएर बेपत्ता भएपछी भने भावनाको आफ्नै गीत रेकर्ड गराउने धोको अधुरो नै रहन पुग्यो।

गीत रेकर्ड गर्नको लागी जम्मा पारी राखेको पैसा पनि फसेपछी मन मरेर आयो गीत रेकर्ड गरेर एल्बम बजारमा ल्याउनेबारे त्यसपछि सोच्न सकिन उनले दुःखी हुँदै भनिन “गरीब र असाहायलाई जताबाट पनि धोका हुँदो रहेछ अहिले सम्म कसैले पनि गीत रेकर्ड गर्न हामी सहयोग गर्छौ भन्ने पनि कोही पनि भेटिएको छैन कसैको सहयोग पाए गीत रेकर्ड गर्न मन छ कसैको साथ र सहयोग बिना त रहर भएर पनि केही गर्न नसक्ने रहेछ” अरुले आफ्नो स्वरको प्रसंशा गरेको सुन्दा निकै गौरव लाग्छ। तर बाटेमा बसेर गीत गाएर गौरव पनि कसरी गर्ने?

कमजोर आर्थिक अवस्थाका कारण एल्बम तयार पार्न नसक्दा अवसरको अभावमा काठमाडौको सुन्धारा र रत्नपार्क तथा ललितपुरको विभिन्न ठाउँहरुमा बुेर गीत गाउन बाध्य छिन्। त्यसो त उनी आफुलाई सम्झने विभिन्न संघसंस्था तथा स्कुलका कार्यक्रममा गएर पनि गीत गाउछिन।

११ वर्षको उमेरमा आँखा पाक्ने रोेग उपचार गर्न नसक्दा दृष्टि गुमाउन पुगेकी उनले अब आफुले फेरी संसार हेर्ने ज्योति पाउने आशा मारिसकेकी छिन्। उनका आमाको सानै उमेरमा मृत्यू भयो भने वुवाले पनि अर्की आमा ल्याएर आफुहरुको वास्तै गनै छोडेपछि आफ्नो दुखको दीन सुरु भएको बताउने उनी आफ्नो स्थितीप्रति भने कहिले पनि बिचलित भइनन जति दुख परे पनि सहनैपर्ने हो उनी भन्छिन । सहीरहेकै छु यसरी गीत गाउन थालेको १०र १२ वर्ष भयो सडक पेटीमा बसेर ग्ीत गाएको पैसा त खान र कोठा भाडा तिर्नै ठिक्क हुन्छ ।

बाचा त गरेँ मैले रुन्न भनेर उस्को यादमा अब पागल हुन्न भनेर ,,,रत्नपाक्र्रमा यस्तो गीत गाएर बटुवारुलाई आकर्षित पार्ने झापाकी ३४ बर्षिया लिला दाहालको पनि, सपना छ आफ्नै गित रेर्कड गर्ने अनि रेडियोमा बजाउने। मिठो स्वरकी धनी उनको ,अञ्जु पन्त मन पर्ने गायीका हुन्। “अञ्जु पन्तको जस्तो स्वर नभए पनि गीत गाएर रेडीयोमा बजाउने रहर छ । कतैबाट स्पोन्सर पाइयो भने गीत रेकर्ड गरेर रेडियोमा बजाउने मन छ” उनले सुनाइन। गीत गाउनेक्रममा उनले एक बर्ष गायन प्रशिक्षण पनि लिएकी छन। जन्मदै दृष्टिविहिन उनको आखाँको उपचारै नहुनेभए पछि निराश छिन्।

उनी जिल्लामा हुने दृष्टिविहिनको कार्यक्रमहरुमा सहभागी हुने गर्थिन। गीत गाउन हिँडने क्रममा नेपालका चितवन , मोरङ,गोरखा ,कास्की रुपन्देहीलगायत विभिन्न जिल्ला र भारतको दाजिर्लिङसम्म पुगेकी उनी २०७० सालमा पोखरा जानेक्रमममा भेट भयो लमजुङका अर्का दृष्टिविहिन कलाकार विष्णु परियारसँग। भेट भएको एक महिना भित्रै विवाह पनि भयो। अहिले छोरा विकल्प २ वर्षको भयो।

अन्र्तजातिय विवाह गरेका कारण माइतिमा आवतजावत नै छैन। तर पनि जिन्दगी त चलेकै छ उनी सन्तुष्टि व्यक्त गर्छिन।“ अर्का दृष्टिविहीनको साथ छ खुशी नै छु” अब छोरा पनि छ मन बुझाउनलाई उनी भावुक हँदै भन्छिन । बिहानै उठ्नु अनि खाना खाएर झोलामा साउन्ड सिस्टम बोकेर छोरालाई हातमा डोराएर कहिले रत्नपार्क त कहिले जमललगाएतका ठाउँमा गीत गाउन निस्कनू ।

उनीहरुको दिनचर्या बनेको छ । “छोरा सानो भएकाले गारो छ सगै लिएर हिड्नुपर्छ,। बाहिरको कार्यक्रममा पनि हिँड्न पाएका छैनौँ” लिला भन्छिन। उनको श्रीमान विष्णु पनि सँगै गीत गाउछन । उनी १३ वर्षको हुदाँ टाइफाइट बिग्रिएर आँखासमेत गुमाउन पुगेकका उनको उपचार गर्ने खर्च अभावका कारण आँखा गुमाउन बाध्य भए। त्यसपछिको दिनमा दाजुभाइको व्यवहार बाट दिक्क भई काठमाडौ आएको उनी बताउँछन ।

सरकारले पनि हामीजस्तो व्यक्तिहरुको लागी भनेर कुनै रोजगारको व्यवस्था गरेन र जिवीकोपार्जनका लागी अरु विकल्प नभएका कारण मन नभए पनि हामी सडकमा बसेर गीत नाउन बाध्य छौ कहिले काँही लगातार गीत गाइरहँदा घाँटीमा समस्या हुन्छ अनि गीत गाउन नसके भोकै भइन्छ । उनले पिडा र सपना एकै चोटी सुनाए “गीत गाएर उठेको रकम खान बस्नै नपुग्ने जस्तो हुन्छ, साथमा भएको छोरालाई कसरी पढाउने भन्ने चिन्ताले खान्छ, स्पोन्सर पाए त पढाउन हुन्थो , ठुलो मान्छे बनाउन हुन्थ्यो”।

वौद्धको सडक छेउमा गीत गाउँन व्यस्त दुई कलाकारको पनि लगभग उस्तै छन कथा अनि सपान। कपनस्थित दृष्टिविहिन संगित कला केन्द्रबाट दृष्टिविाहिन तथा शारीरिक रुपमा अशक्त बालबालिकाहरुको सहयोगार्थ बाटोमा गीत गाउन थालेको बताउँछन सिन्धुपाल्चोकका दृष्टिविहीन कलाकार स्पन्दन नेपाल।

५ बर्ष अघि ब्रेन ट्युमरकको कारण आँखाको ज्योती गुमाएका उनले आफन्तको सहयोगमा स्नातक तहसम्म पढ्ने मौका पाए र त्यसपश्चात उक्त संस्थामा आबद्ध भई विभिन्न सांगितिक mप्रश्तुती दिएका छन् । एक दृष्टिबीहिन भएपछी एक वर्षे गायन प्रशिक्षण लिएर गीत गाउन थालेको बताउने उनको मन पर्ने गाएक स्व. अरुण थापा तथा स्वरुपराज आचार्य हुन आर्थिक समस्या र मौका तथा उचित प्रशिक्षण लिन नपाएकको कारण आफुहरु संधै ओझेलमा परेको उनको गुनासो छ ।

आँखामा समस्या आएपछि बाट गीत गाउन थालेको हँु ।मौका पाए गीत रेकर्ड गर्ने चाहना त छ तर चुनौति धेरै भएकाले गारो छ । उनी सँगै गीत गाउने अर्का झापाली दृष्टिविहिन कलाकार हेम नेपालले भने २ वर्ष अघि आफ्नै संगितमा ४ वटा आध्निक गीत समावेश गरेर एल्बम निकललेका रहेछन,गाएक तथा संगितकार शिलाबहादुर मोत्तलानले एरेन्ज गरेको उक्त एल्बम २००० प्रति बिक्री भयो र अब भिडियो बनाउने चाहना छ । “यदी कहींकतबाट सहयोग मिल्यो भन”े, उनले आफ्नो इच्छा सुनाए।

जन्मदै दृष्टिविहिन उनी गीत गाउनुभन्दा अघि दृष्टिविहिनहरुले बनाएको अगरबत्ति बेच्ने काम गर्थे भने हाल सँस्थाको बालकालिकालरुका निम्ती सहयोग जुटाउन विभिन्न ठाउँमा गीत गाउछन। यो भन्दा अघि १४ वटा जिल्लाहरुमा गीत गाएको छु। अहिले पनि विभिन्न स्कुलहरुमा आउनप्र¥यो भनेर बोलाउँछ। कहिलेककाही रेष्टुरेण्टहरुमा नि बोलाउछन । उनले सुनाए ।

पाल्पाकी ‘सुन्तली दमिनी’ अठार वर्षदेखी पितृ बोलाउँदै

बिभेद बिरुद्ध अभियान - पौष १५-  पाल्पा–तपाइँको परिवारमा मरेको व्यक्ति उसकै लय तथा आवाजमा बोल्छन् भन्दा तपाइँलाई पत्यार नलाग्ला । नलाग्नु पनि स्वभाविकै हो ! तर एक पटक ‘सुन्तली दमिनी’ को मा पुगेपछि भने तपाइँको भ्रम, भ्रममा सीमित हुन्छ । किनकी यहाँ पितृ बोल्छन्। सुन्तलीसँग पितृ बोलाउने कला छ। हुँगी–७ पाल्पाकी ‘सुन्तली दमिनी’ को वास्तविक नाम शान्ता परियार हो। तर उनलाई सुन्तली भनेर सम्बोधन गर्ने गरिन्छ। उनी अठार वर्षदेखि पितृ बोलाएरै जीविका चालएकी छिन्।

शनिबार बिहान झिसमिसे उज्यालोमा ‘सुन्तली दमिनी’ को मा पितृ बोलाउनेको भीड थियो । भीडमा धेरै युवा पनि थिए। युवा अवस्थामा ग्रह दशा, भाग्यरेखा र पीतृ बोलाउने भन्ने धेरैलाई विश्वास लाग्दैन । त्यही भीडमा थिए रामपुर–१० पाल्पाका बिष्णु आचार्य । उनले आफू अरुको लहलहैमा लागेर पितृ बोलाउने भन्दै बिहान पाँच बजे हुँगी आएको बताए । उनी भन्छन्, ‘विश्वास नलागे पनि धेरैले मरेको व्यक्तिको अभिनयमै भूत, वर्तमान र भविष्य जानकारी हुन्छ भन्ने सुनेको थिएँ। हजुरबुबाले गरेका कार्यहरु र मृत्युपछिको उहाँको जीवनी पनि सुन्न पाएँ ।’ आचार्यसँगै आएका सोही स्थानका कक्षा १२ मा अध्ययनरत गोविन्द गौतम जीवनमा के गर्ने ? कसरी अगाडि बढ्ने भन्ने जानकारी प्राप्त गर्दा खुसी भएको बताए । उनले यहाँ आएर सुन्तलीले भनेका सम्पूर्ण कुराहरु मिल्दोजुल्दो भएको बताउँछन् ।

मदनपोखरा–६ पाल्पाका विष्णु भुसालले अकालमा मरेका पितृसँग उसकै अभिनयमा बोल्ने मौका पाएपछि पाँच पटक सुन्तलीकोमा हेराउनको लागि आएको बताए। ‘पहिलो पटक आउँदा सामान्य लागेको थियो। जति आउँदै गएँ आफ्ना मरिसकेका आफन्तजनको सम्झना बल्झिन लाग्यो । यहाँ आएर असेट मेटेको अनुभूति हुन्छ,’ भुसालले भने। उनले परिश्रम गर्दा पनि मेहनतको फल नपाएपछि निराश बनेकाहरुलाई पितृसँग बोलेर आफ्नो भविष्य जानकारी पाउँदा आशा भरिने गरेको अनुभव नागरिकलाई सुनाए । ‘अपत्यारिलो तर वास्तविक आवाजमा वास्तविकता जानकारी पाइन्छ,’ उनले भने। स्थानीय बिर्खकुमारी पछाइले धेरैले विश्वास गरेर हेराउनको लागी यहाँ भीड लागेको देख्ने गरेपछि आफूपनि पितृसँग बोल्न पालो पर्खेर बसेको बताइन्।

यतिबेला सुन्तली दमिनीसँग पितृ बोलाउने मानिसको कुनै कमी छैन्। धेरैले उनको मोबाइलमै फोन गरेर आफ्नो पालो (समय) लिने गछन् । यहाँ विभिन्न जिल्लाहरुसँगै भारतको दिल्ली, लखनउ, मद्रास, मुम्बई  र विहारबाट समेत मानिसहरु आउने गरेको बताइन्। उनले आफूलाई तल्लो जातकै दर्जामा सुन्तली दमिनी भनेर सम्बोधन गरे पनि कुनै संकोच नहुने बताउँछिन् । मेरो पेशाकै कारण धेरै जात, धर्म, लिंग, पेशा तथा समूदायका व्यक्तिहरुसँग सम्पर्क स्थापित भएको छ ।

पितृमोक्ष कार्यकालागि पितृसँग बोल्न धेरै ठाउँबाट मानिसहरु आउने गर्दछन् । ‘अठार वर्ष भयो, यही पेशाबाटै मेरो जीविका चलेको छ । दुई छोरा र चार छोरीहरु सहितको परिवार धानिएको छ,’ उनले भनिन्। उनीले दैनिक ३० देखि ३५ जना व्यक्तिहरुको भूत, वर्तमान र भविष्य बताउने अनुभव सुनाइन् । अकालमा ज्यान गुमाउँनेहरुको मृतआत्मा आफ्नो शरीरमा अनुभव बताउन प्रकट हुने र सोही अनुसार आफुले बोल्ने गरेको शान्ता परियारले बताइन् । उनले बिहानै नुवाई धुवाई गरेर भगवानको आराधना गरी पितृ बोलाउने कार्यमा राती अबेरसम्म सक्रिय हुने गर्छिन् ।
पितृ बोलाउनको लागि कुनै विज्ञापन पनि गरेकी छैनन्, सुन्तलीले । उनीकहाँ एकपटक पुग्ने मानिसहरुले व्यक्तिगत सञ्चार गरेकै कारण उनलाई खोजीखोजी हेराउने मानिसहरु हुन्छन् । स्याङजा घर भएका युवाले नाम नबताउने सर्तमा आधुनिक समयमा पितृ बोलाउने र आफ्नो भविष्य खोज्ने व्यक्तिहरु यस्तो अन्धविश्वासलाई समेत चिर्न नसकिने अनुभव गरेको बताए ।

अन्तरजातीय बिहेको दुखद् बकपत्र - विन्दु परियार थापा

विभेद बिरुद्ध अभियान, पौष १५ – मलाई लाग्छ धेरै अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई घरपरिवारले स्वीकार नगर्दा त्यहींबाट नै खटपट सुरु हुन्छ। कति जोडीको यस्तै खटपटबाट सुरु भएको झगडा सम्बन्ध विच्छेदमा टुंगिएको धेरै घटना देखेकी छु मैले। मेरो बाल्यकालमा दलित हुनुको विभेद अनुभव भएन। दौंतरीहरुले मलाई दलित भनेर कहिल्यै विभेद गरेनन्। डुल्दा, खेल्दा, खाँदा जुनैबेला पनि समान रुपमा आत्मीयता थियो दौंतरीमाझ। तर यो बाल्यकालको आत्मीयता वयस्क हुँदै गएपछि तोडिंदै गयो। जब मैले अन्तरजातीय विवाह गरें, तब मैले अनेकन विभेद भोग्न थालें।
एउटा घटना। मेरी छोरी सात वर्षकी थिइन्। एकदिन साह्रै नमीठो प्रश्न गरिन्, ‘ममी मलाई मेरो बाबाको घरमा किन भित्र पस्न दिनुहुन्न? मेरो अंकलको छोरी पस्न हुने म चाहिं नहुने?’ उनको प्रश्नको खास जवाफ मसँग थिएन। तैपनि उनको चित्त बुझाउने प्रयास गरें र भनिदिएँ ‘तिम्रो बाबा नेपालमा हुनुहुन्न, बाबाको घरमा बाबा नआई हामी पस्यौं भने देवता रिसाउँछन्।’ मैले यस्तो जवाफ दिनुपर्दा मेरो मन साह्रै भक्कानिएको थियो। तथापि, छोरीले चित्त बुझाइछन् सायद, त्यसपछि उनी कहिल्यै पनि बुबाको मूलघर जाँदा भित्र पसिनन्। बाहिरै बस्थिन्, बाहिरै बसेर खान्थिन्।
छोरीको स्कूल त्यति चित्त बुझिरहेको थिएन। अर्को स्कूल भर्ना गरिदिने सोच भयो। पहिलाको ओलिभर स्कुल छाडेर गुह्येश्वरी स्कुलमा ५ कक्षामा भर्ना गरिदिएँ। एकदिन स्कूल जाने बेला छोरीको स्कुल डायरीमा मेरो आँखा पुग्यो। मन झसँग भयो, उनले त डायरीमा मेरो नाम नाम बिन्दु थापा लेखिकी रहिछिन्। म छक्क पर्दै सोधेँ, ‘किन तिमीले मेरो नाम बिन्दु थापा लेखेको म त परियार हो नि!’ उनले भूमिका नबाँकी उत्तर दिइन्, त्यो पनि सुझाव शैलीमा। उनले भनिन्, ‘ममी, अबदेखि स्कुलको मिटिंग, कार्यक्रमहरुमा जाँदा तपाईले परियार नलेख्नू है थापा लेख्नू।’
छोरीको यो कुराले आश्चर्यमा परें। स्कुलमै जातीय भेदभाव हुने रहेछ भन्ने महसुस भयो। मैले स्कुलको प्रिन्सिपलसितै भेट्ने विचार गरें। प्रिन्सिपलले छोरीको कुरामा सहमतिसहित बेलीविस्तार लगाए। उनले शिक्षकहरुमा जातीय विभेदको कुरा नभएको तर केटाकेटीहरुमा नै विभेदको कुरा हुने भएकोले केटाकेटीलाई मानसिक असर परेको हुनसक्ने उत्तर दिए। म प्रिन्सिपलसित गम्भीर गफ गरिरहेको थिएँ। यता, छोरीमा भने परियार थरप्रति वितृष्णा जागेको महसुस भइरहेको थियो।
यता, छोरी मेरो परिवारपट्टि कसैलाई मन नपराउने भइसकेकी थिइन्। उनी प्रायः मेरो परिवारलाई झिँजो मान्ने अवस्थामा पुगेको महसुस हुन्थ्यो। एकदिन मेरो दिदीसँग यही जातकै विषयमा भनाभन भएछ। उनले त दिदीलाई दमिनी भनिछन्। दिदीको छोरीले पनि भनिछन्, ‘तेरो ममी पनि दमिनी त हो नि, तेरो ममी पनि दमिनी भएपछी तँ पनि दमिनी भैहालिस् नि।’ त्यसपछि छोरीले भनिछन्, 'मेरो शरीरमा ९५% रगत मगरको र ५% मात्रै दमाई हो म नसा काटेर ५% रगत पनि बगाईदिन्छु र १००% मगर हुन्छु!’ जब म बेलुका घर फर्किएँ, मलाई सबैले यो दिउँसोको विवाद सुनाए। म आत्तिएँ। अब चाहिं साँच्चै छोरीलाई परामर्शको आवश्यकता देखें। तर परामर्श कसरी दिने भने सोचिरहें।
एकदिन संयोगले उनको डायरी पढें, त्यहाँ उनले संसारको ३ जना मान्छेलाई मात्रै माया गर्छु र तिनीहरु पहिलो उनको बाबा दोस्रो शाहरुख खान र तेस्रो उनको प्रिन्सिपल भनेर लेखेकी थिइन्। छोरीलाई काउन्सेलिङ उनकै प्रिन्सिपलले गर्दा ठीक हुन्छ होला जस्तो लागेर फेरि छोरीको स्कुल गएँ र यो सब कुराहरु भने। प्रिन्सिपलले काउन्सेलिङ गर्ने वाचा गर्नुभयो। यसरी नै समय बित्दै थियो। छोरी घरमा झगडा अलि कम् गर्न थालिन्। मसँग पनि पहिलाभन्दा अलि बढी बोल्न थालिन्। यस्तैमा महाभुकम्प गयो, त्यसकै ६ दिनपछि हामी सबै गोरखा गयौँ। गोरखा गएपछि म घर बस्न पाउन्नथें किनभने म मेरो क्षेत्रमा दिनरात केही नभनी राहत वितरणमा लागें। छोरीसँग खासै कुरा हुन्थेन। म प्रायः घरबाट निस्कँदा छोरी सुतिरहेकी हुन्थिन् भने फर्कँदा कहिले टिभी हेर्दै। थाकेर आएको हुन्थेँ अनि आफू पनि निदाइहाल्थेँ।
यसरी दिन बित्दैथ्यो। एकदिन घैरुंग भन्ने ठाउँमा राहत दिएर फर्कँदै थिए बाटोमा गाडीको तेल सकियो। रात परिसकेको थियो, हामीसँग हिडेर जाने आँट पनि थिएन। गाउँको ट्रक थियो। गाउँबाट तेल मगाएर त्यही ट्रकमै जाने भनेर तेल कुर्न थाल्यौं। तेल कुरेर घर पुग्दा रातिको ११.३० भइसकेको थियो। घर पुगेपछि आमाले ‘क्रस्टिना (छोरी) ममी आएपछि ममीसँगै सुत्छु भन्दै गनगन गरिरहेको’ बताउनुभयो। भोलिपल्ट अलि ढिलो उठेछु। उठ्दा छोरी उठेर म उठ्ने प्रतीक्षा गरेर बसेकी रहिछिन्। म उठ्नेबित्तिकै मलाई अंगालो हालिन् र भनिन्, ‘ममी आई एम रियल्ली प्राउड अफ यु! लभ यू सो मच।’ छोरीको यो कुराले म सपनामा पो छु कि भन्ने महसुस भयो। आफैंलाई चिमोटेँ हैन म विपनामै रहेछु। खुसीले मेरो आँखाबाट तप्प आँसु खस्यो। उनले अझै भनिन्, ‘अचेल म स्कुलमा पनि आफ्नो थर परियार थापा भन्छु ।’ बल्ल थाहा पाएँ छोरीको मानसिक परिवर्तन। उनलाई प्रिन्सिपलले काउन्सेलिङ गर्नुभएको रहेछ। यी दुईवटा घटना त मेरो छोरीसँगको मात्रै हुन्। बिहेपछि मैले आफैँले पनि त्यस्ता कति भेदभावको शिकार हुनु परेको छ। एउटा सुनाऊँ, म भर्खरै बिहे भएको बेलाको। म त्यतिबेला १६ वर्षकी मात्र थिएँ। अन्तरजातीय बिहे गरिएको हुँदा कैयौं वर्ष घर गइनँ। चाडपर्वमा अरुको खुसी हेर्दै रोएर बिताउँथे। धेरै वर्षसम्म मेरो परिवार र उहाँको परिवारबीच बोलचाल, अर्मपर्म सबै बन्द भयो।
बिहे गरेको १५ वर्षपछि सामान्य बोलचाल हुन थाल्यो दुई परिवारबीच। तर विभेद खासै कम थिएन। म दशैंमा घर जान्थेँ तर मेरो भागको दशैं टीका दुनामा राखेर दिइन्थ्यो र भनिन्थ्यो तिमी एक्लैलाई टीका लगाउन हुँदैन छोरो आएपछि सँगै लगाउने।’ डेढ दशक बितेपछि बल्ल मैले ससुराको हातबाट दशैंको टिका लाउन पाएँ, त्यो पनि गत वर्ष मेरा पति नेपाल आउँदा मात्र। एउटा अनुसन्धानले ७५% जातीय भेदभाव अन्तरजातीय विवाहले हटाउँछ भनेर प्रतिवेदन सार्वजनिक गरेको रहेछ। तर मलाई लाग्दैन अन्तरजातीय विवाहका कारण विभेद घटेको छ भनेर। सँगै खादैँमा छोइँदैमा, मन्दिर पस्न दिँदैमा, धारा, इनार प्रयोग गर्दैमा विभेद घटेको सोच्नु मुर्खताबाहेक अरु केही हैन। जबसम्म यो घटनाहरु समाचार बनिरहन्छन् तबसम्म विभेद अझै बाँकी हुन्छन्। मलाई लाग्छ धेरै अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई घरपरिवारले स्वीकार नगर्दा त्यहींबाट नै खटपट सुरु हुन्छ। कति जोडीको यस्तै खटपटबाट सुरु भएको झगडा सम्बन्ध विच्छेदमा टुंगिएको धेरै घटना देखेकी छु मैले। अझै बालबच्चा जन्मिएपछि केटाले छोडेर जाँदा धेरै बालबच्चाहरु बुवाविहीन र आमाहरुलाई बालबच्चाहरु हुर्काउन निकै गाह्रो भएको घटनाहरु धेरै छन्। अझै भनौं, धेरै त्यस्ता बालबालिका छन्, जसलाई यो समाजले बाबुविहीनको संज्ञा दिन्छ अझै पनि।
तपाई‍ंलाई लाग्ला, म आफैँ अन्तरजातीय विवाह गरेर म नै यसको विरुद्द लेख्दैछु भनेर। यसको एउटैमात्र कारण मैले अन्तरजातीय विवाह गरेर नजिकबाट यस्ता समस्याहरु नियालेको छु, धेरै भोगेकी पनि छु। त्यसकारण म भन्छु यदि कोही अन्तरजातीय विवाह गर्न चाहनुहुन्छ या जोड़ी रोजिसकिएको छ भने पहिला परिवारलाई पूर्ण रुपले राजी बनाएरमात्रै बिहे गर्नु आवश्यक छ। यदि अन्तरजातीय विवाह गर्दा मारिनुपर्छ, कुटिनुपर्छ या विस्थापित हुनुपर्छ भने विशेषत दलित युवायुवतीलाई मेरो आग्रह छ, भुलेर पनि अन्तरजातीय विवाह नगर्नुहोला। जिन्दगी रोएर बिताउने मन कसैको हुँदैन।
(विन्दु परियार थापा सामाजिक विभेदविरुद्ध अभियन्ता हुन)-नेपाल खबर बाट

Thursday, December 29, 2016

दलित समुदायलाई समानुपातिक प्रतिनिधित्व गराउन सरकार प्रतिबद्धः मन्त्री पाण्डे

विभेद बिरुद्ध अभियान  - १४ पौष, काठमाडौंः सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले दलित समुदायलाई समानुपातिक र समावेशी प्रतिनिधित्व गराउनका लागि सरकार प्रतिबद्ध रहेको बताए । 
राष्ट्रिय दलित आयोगले आयोजना गरेको छलफलमा उनले राष्ट्र निर्माणमा ठूलो योगदान पुरियाएका दलित समुदायको हकअधिकार संरक्षण एव्म सम्वद्र्धनका लागि दलित आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । 
सांसद जीतु गौतमले दलित आयोग स्वायत्त र स्वतन्त्र भएमा त्यसले दलितको अधिकारका लागि कार्य गर्नसक्ने बताए । दलित नागरिक समाजका अगुवा पद्म सुन्दास तथा दलित अधिकारकर्मी शिवकुमारी गोतामे, दुलरी हरिजन, रामअवतार पासवान, नरमान कामी लगायतले दलित आयोगलाई संविधानमा संवैधानिक भनिए पनि स्वायत्तताको अधिकार नदिएकोमा चिन्ता व्यक्त गरे । 
यसैगरी दलित सेवा सङ्घले गाउँपालिका र नगरपालिकाको कुल बजेटमा २५ प्रतिशत रकम दलित समुदायका लागि छुट्याउनुपर्ने माग गरेका छन् ।सङ्घले आयोजना गरेको ‘संविधान, कानुन निर्माण प्रक्रिया र दलित सवाल’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको समापन अवसरमा सहभागीले दलित समुदायको सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, आर्थिक विकास र सशक्तीकरणका लागि सो रकम छुट्याउनुपर्ने माग गरेको हो । 
उनीहरुले लोकसेवा आयोगमा दलितका लागि उमेरको हद ३५ वर्षबाट बढाई ४० वर्ष बनाउनुपर्ने तथा छाउपडी, बोक्सी, बालीघरे, हलिया, डोली, सिनो फाल्ने, हरुवाचरुवाजस्ता कुप्रथाको अन्त्यका प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिएको सङ्घले जनाएको छ । अवसरमा सङ्घका अध्यक्ष चक्रमान विकले राज्यका हरेक निकायमा दलितको समानुपातिक सहभागिता सुनिश्चित हुनुपर्ने बताए । 

ज्ञापनपत्र बुझ्दै छुवाछूतका घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीले गरे प्रतिबद्धता

बिभेद बिरुद्ध अभियान - काठमाडौँ, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा भइरहेको जातीय भेदभाव तथा छुवाछूत घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने बताएका छन् । पछिल्लो पटक काभ्रेकी लक्ष्मी परियारको हत्यालगायत मुलुकभरि भएका छुवाछूतका घटनालाई लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले दलित समदायले प्राप्त गरेका उपलब्धि कमजोर हुँदै गएका कारण पनि दिन प्रतिदिन छुवाछूतका घटना बढ्दै गएको बताउँदै विभेदका विरूद्ध दलित समुदायबीचको एकता अहिलेको अपरिहार्य आवश्यकता हो भने ।
लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कानुनी कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मलमूत्र खुवाएको घटनामा मिलापत्र गराउने प्रहरीलाई कारबाही गर्नुपर्ने, झुठा मुद्दामा फसाउने नियतका साथ हिरासतमा राखिएका लक्ष्मी परियारका श्रीमान्को तत्काल रिहाइ गर्नुपर्ने र काभ्रे सानोबाङ्थलीका दलित परिवारको सुरक्षा गर्नुपर्ने लगायतका माग गर्दै समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक डम्बर विश्वकर्माले आजको २१औँ शताब्दीमा समेत मान्छेले मान्छेलाई छुवाछूतको आडमा विभेद गर्दै हत्या गर्दासमेत सरकारले दोषीमाथि कारबाही गर्न नसकेको गुनासो गरे ।
सांसद तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जीतु गौतम, नेपाल दलित सङ्घकी महासचिव लक्ष्मी परियार, नेपाल दलित मुक्तिमोर्चाका अध्यक्ष तिलक परियार र दलित नागरिक समाजका अगुवा पदम सुन्दास लगायतले छुवाछूतको घटनामा संलग्न दोषीमाथि कारबाही नगरेको खण्डमा आफूहरू तत्काल देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

Wednesday, December 28, 2016

स्थानीय विकास अधिकारी सीता परियारलाई सम्मान

विभेद बिरुद्ध अभियान- भोेजपुर,१३ पौष -नेपाल कै पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियारलाई सम्मान गरिएको छ । नेपाल उत्पिडित जातिय मुक्ति समाज भोजपुरले आफ्नो २९ औ स्थापना दिवसको अवसरमा परियारलाई सम्मान गरेको हो ।दलित समुदायको एक मात्र महिला स्थानीय विकास अधिकारी भएर दलितहरुको लागि उदाहरणिय पात्र भएकोले सम्मान गरिएको समाजले जनाएको छ । रुपकोट २ कास्कीमा जन्मिएकी परियार भोजपुरको ३२ औ स्थानीय विकास अधिकारी हुन्, भने जिल्ला कै पहिलो महिला स्थानीय विकास अधिकारी समेत हुन् ।
उनले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीको रुपमा काम गरि सकेकी छन् । उनि नेपालकै ६ औ महिला स्थानीय विकास अधिकारी पनि हुन् । सम्मान पश्चात वोल्दै परियारले सम्मानले आफुलाई अझ कार्य वोध भएको वताएकी छिन् ।उनले आफ्नो कार्यकालमा जिल्लाको विकासका लागि मन वचन र कर्मले लाग्ने समेत वताएकी छन् । उनले भनिन् ‘यो सम्मानले मलाई काम गर्ने थप हौसला मिलेको छ, यो मेरो लागि पहिलो सम्मान पनि हो ।’यसै कार्यक्रममा वोल्दै सांसद एंव पूर्व सूचना तथा मन्त्री शेरधन राईले संविधानमा दलित समुदायको लागि स्पष्ट व्यवस्था गरिएको वताएका थिए । सामाजमा दलित प्रति गरिने व्यवहारमा परिवर्तन आई सकेको समेत उनको भनाई थियो ।
नेपाल जातीय मुक्ति समाज भोजपुरका अध्यक्ष रविन शिवाले दलित समुदाय आफैमा कमजोर नभएको तर यस अघिको राज्य व्यवस्थाको कारण दलितहरुलाई कमजोर वनाएको वताएका थिए ।उनले भने ‘ राज्यले नै हामीलाई कमजोर वनाएको थियो । तर अहिले संविधानले हाम्रो हक अधिकारको विषयमा केही व्यवस्था गरेको छ, त्यसको प्राप्तिको लागि सम्पुर्ण दलित समुदाय एक हुनु पर्छ ।’

Tuesday, December 27, 2016

दलितभित्रको विभेदले दलित नै अन्यायमा

विभेद बिरुद्ध अभियान-१२ पुस, जुम्ला – हाकु गाविसका एक परियार थरका दलित दलितभित्रकै विभेदले अन्यायमा परेका छन्।विभेदका कारण यसरी अन्यायमा पर्ने हाकु– ८ हाकु गाउँकै ४१ वर्षीय रामलाल परियार हुन्। उनी सार्की थरका दलितबाट अन्यायमा परेको बताउँछन्। परियारको परिवारमा पाँच जना छन्।दलितभित्र हुने बिहेबारी, भोजभतेर र सार्वजनिक कामकाजमा सहभागी हुन आफूलाई सामाजिक रुपमा बहिष्कार गरिएको पीडित परियारले बताए। उनले हाकु गाविसमै भएको एक सार्वजनिक कार्यक्रममा सार्की थरका दलित अगुवाद्वारा आफूलाई सामाजिक काममा सहभागी हुन, खान, बस्न र अन्य कार्य गर्न वञ्चित गरिएको बताए।
उनले भने, “जातीय विभेद गर्नुहुन्न, छुवाछुतको भावनाको अन्त्य गर्नुपर्छ भन्ने कार्यक्रम ल्याउने दलित अगुवाले नै आफ्ना छोराको बिहेमा भतेर छोएको भन्दै दुव्र्यवहार गर्नुभयो ।” उनीविरुद्ध आफूले दलित सेवा सङ्घ र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरी चौकीमा मिलाउन जिम्मा दिइयो तर समस्या नसुल्झेर आफू पीडामा परेको उनको भनाइ छ।
चौँतिस घरधुरी सार्कीका अघि आफ्नो एक घरधुरी भएको बताउने परियार अहिले पनि न्यायको खोजीमा भौँतारिरहेको बताउँछन्।अब आफ्नो मानवाधिकारको रक्षा र न्याय प्राप्तिका निम्ति राष्ट्रिय मानवअधिकार आयोग, अदालत र प्रशासन धाउने उनले जानकारी दिए। 

Monday, December 26, 2016

पतिको कुटाइबाट गम्भीर सरिता मोतेको उपचारमा समस्या

बिभेद बिरूद अभियान , पौष १०-भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई कुटपिट गरी २५ वर्षीय पति जीवन मोते फरार भएपछि उपचारमा समस्या भएको छ ।पीडित महिलालाई आरोपितले गाँजा सेवन गरेर पुस १ गते दाउराले कुटपिट गरी आरोपित फरार भएपछि उपचारमा समस्या भएको हो ।
टाउकोमा गम्भीर चोट लागेकी सरिताको उपचारमा आर्थिक अभाव भएको सरिताकी सासू हस्तमाया मोतेले बताइन् । उनको पुस १ गतेदेखि विराटनगरको लाइफगार्ड हस्पिटलको आइसियू कक्षमा राखेर उपचार गरिएको छ । आर्थिक अवस्था दयनीय भएकाले उपचारमा समस्या भएको उनको भनाइ छ ।
पीडित महिलाको उपचारका लागि एक कठ्ठा जग्गामा भएको घर ३ लाख रुपियाँमा बेचेर उपचार गरिरहेको बताउँदै ससुरा होमबहादुरले भने-‘भएभरको सबै सक्दा पनि बुहारीको होस आएको छैन । डाक्टरले अझै धेरै पैसा लाग्छ भनेका छन् ।’
दैनिक गाँजा खाने छोराले बुहारीलाई कुटपिट गरेर घाइते बनाउँदा बास बस्ने घरसमेत गुमेको होमबहादुको गुनासो छ ।
सरिताका तीन जना सन्तान छन् । चार महिनाको दुधे बालकलाई छोडेर बुहारीको हेरचाहा गर्नु परेको पीडित महिलाकी सासू हस्तमायले बताइन् । उनले भनिन्-‘बाध्यताबस आफैले छोरालाई कारबाही गर्न उजुरी दिनु परेको छ ।’ तर, हालसम्म पनि आरोपित गिरफ्तारीमा नपरेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले बताए ।

सात वर्षीया अरनिमा नेपाली मुटुको व्यथा लुकाएर स्कुल जान्छिन्

बिभेद बिरूद अभियान , पौष १०- म्याग्दी– बेनी नगरपालिका–२ अर्जमकी सात वर्षीया अरनिमा नेपालीको मुटुमा समस्या छ । शरीरका विभिन्न भाग दुख्ने र बिरामी हुने गरेकी अरनिमा ज्ञानपुञ्ज प्राविमा कक्षा ३ मा अध्ययरत छन् । एक वर्षयता बेलाबेला बिरामी हुने गरेकी उनको मुटुमा समस्या रहेको चिकित्सकले बताएका छ । आफ्नो बिमारी बिर्सेर उनी भने नियमित विद्यालय जाने गरेकी छन् ।

उनलाई पढ्ने रहर छ, मुटुको अपरेसनका लागि सहयोग रकम संकलन भइरहेको छ । गाउँबाट साथीहरूसँगै विद्यालयमा पुग्ने अरनिमा कक्षा ३ को साँधुरो कोठाको पछिल्लो बेन्चमा साथीहरूसँगै रोगलाई बिर्सिएर पढ्ने गरेको विद्यालयका प्रधानाध्यापक तिलाराम थापाले बताए । ‘पढाइप्रति उनको रुचि छ, अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय छिन्,’ थापाले भने ।विद्यालयस्थित पुस्तकालयमा नियमित घन्टी तालिकाअन्तर्गत साथीहरूसँगै जाने, समूहमा रमाउने र सरसफाइजस्ता अभियानमा समेत सक्रिय रहेकी अरुनिमाको मुटुमा समस्या भएको भन्ने खबरले आफूहरुलाई समेत दुःखी बनाएको थापाले बताए ।बिरामी अवस्थामै विद्यालयमा आउने अरनिमा कक्षामा अध्ययन गर्दागर्दै सुत्ने, दुख्न थालेपछि शिक्षकलाई जानकारी गराउने गरेको बताए । ‘बिरामी भएकै कारण पछिल्लो समय पढाइ खस्किएको छ । टोलाउने समस्या देखियो । यसपछि उपचारका लागि हामीले पनि सकेको सहयोग गरेका छौँ तर पूर्ण रकम उठिसकेको छैन,’ थापाले भने । विद्यालयका शिक्षक र कर्मचारीले आफ्नो तलबबाट उनको उपचारका लागि सहयोग गरेका छन् ।छोरी बिरामी भएकाले घरमै बस्न भने पनि विद्यालय जाने इच्छा व्यक्त गरेपछि आफूले रोक्न नसकेको अरनिमाकी आमा निशाले बताइन् ।

‘उपचार गर्न पैसा छैन । सबैको सहयोगमा अहिले पैसा जम्मा भइरहेको छ,’ नेपालीले भनिन् ।गत कात्तिकमा अरनिमालाई उपचारका लागि पोखरा लगिएको थियो । मुटुमा समस्या देखिएको र अपरेसनका लागि रकम अभाव भएपछि उपचार नगरी घर फर्किएको आमा निशाले बताइन् । ‘लगातार बिरामी पर्न थालेपछि घरमा रहेको पैसा पनि सकियो । श्रीमानको कमाइले घरखर्च र ऋण तिर्दै सकिन्छ,’ उनले भनिन् । गाउँकै विपन्न अरनिमाको परिवारले छिमेकीको जग्गामा लगाएको अन्नपातले गुजारा चलाउने गर्छ ।ओमकुमारी शान्ति कोष म्याग्दीले अरनिमा बचाउ अभियान सञ्चालन गरेको छ । स्वदेश तथा विदेशबाट अहिले रकम संकलन भइरहेको छ ।मुटुको भल्ब फेर्नुपर्ने अवस्था रहेकाले करिब चार लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको कोषका अध्यक्ष राजेश शाक्यले बताए । उनले गरिब भएकै कारण उपचारबाट वञ्चित रहेका म्याग्देलीलाई आर्थिक सहयोग जुटाउनुका साथै अस्पतालमा समेत सहज हुने गरी व्यवस्थापन गर्ने गरेको बताए । कोषमार्फत १७ बिरामीको उपचार  गरिएको छ भने एक करोड ५० लाख रुपैयाँको अक्षयकोष स्थापना अभियान समेत सञ्चालन भइरहेको छ ।

Sunday, December 25, 2016

प्रहरीको घेरामा सम्पन्न भयो अन्तरजातीय विवाह

विभेद बिरुद्ध अभियान , पुष १० - विराटनगर : विराटनगर ५ का २४ वर्षीय सुमन मग्रातीले सोही ठाउँकी २० वर्षीया उर्मिला खतिवडाबीचको सम्वन्धलाई लिएर तनाव उत्पन्न भएपछि प्रहरी सुरक्षामा आइतबार उनीहरूको सामाजिक रुपमा अन्तरजातीय विवाह सम्पन्न गरिएको छ। प्रहरीको सुरक्षा घेरा भित्र उनीहरूको अन्तरजातिय सामाजिक विवाह सम्पन्न गरिएको हो। प्रहरी सुरक्षामा विभिन्न अधिकारसंग सम्वद्ध संघ संस्था, संचारकर्मी, राजनैतिकर्मी र सामाजिक अगुवाहरुको रहोवरमा उनीहरुको विवाह सम्पन्न गरिएको हो। विवाह कार्यक्रममा सुमनका आफन्त सवै थिए भने उर्मिलाका माइती पक्षका कोहीपनि सहभागि थिएनन्। विवाहमा कुनैपनि अप्रिय घटना नहोस भनेर शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेको नेत्रृत्वमा प्रहरी परिचालन गरेको थियो।
आइतबार सुमनको घरमा आयोजना गरिएको विवाह समारोहमा सुमन र उर्मिला एक अर्काले माला लगाएर संगै जीउने बाचा गरेका छन्। विवाह समारोहमा सभासद् अमनलाल मोदी, दलित अधिकारकर्मी उमेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पूर्वाञ्चल सहइन्चार्ज गणेश लम्साल, राजनैतिकर्मी, विभिन्न क्षेत्रका अगुवाहरु र संचारकर्मीको सहभागिता रहेको थियो। विवाहमा उपस्थित सवैले अन्तरजातिय जोडीलाई टिका र माला लगाएर बैबाहिक जीवन सफलताको शुभकामना दिए।आफूहरुको ६ बर्षदेखिको प्रेम सम्वन्ध रहेको उनीहरुले बताए। प्रेम सम्वन्धलाई विवाहमा परिणत गर्नका लागि उनीहरुले २०७१ जेठ ५ गते जिल्ला अदालत सुनसरीबाट पति पत्नीको नाता कायम गराएका थिए। उर्मिलाका माइती पक्षले जातको कुरा झिकेर समस्या ल्याउन सक्ने भएका कारण कानुनी रुपमा बलियो हुनका लागि आफूहरूले सुरुमै अदालतमा गएर पति पत्नीको नाता कायम गरेको सुमनले बताए। तर खतिवडा परिवारले साउन २१ गते सुमनबाट उर्मिलालाई अलग बनाएर आफ्नो नियन्त्रणमा राखेका थिए। उर्मिलाका माइती पक्षले दलित भएर ब्राह्मणकी छोरीसंग विवाह गरेको भन्दै यो जोडीलाई छुटाउनका लागि मग्राती परिवारलाई पटक पटक दु:ख दिंदै आएका थिए भने उर्मिलालाई सुमनबाट अलग बनाएर आफ्नो नियन्त्रणमा राखेका हुन्। माइतीको नियन्त्रणमा रहेकी उर्मिला भदौ १ गते पून भागेर सुमनसंगै गएपछि उनका माइती पक्षले सुमनका बुवा केशव मग्राती माथिपनि त्यही राती कुटपिट गरेका थिए।
खतिवडा परिवारले मग्राती परिवारलाई दु:ख दिन उर्मिलालाई दबाब दिएर मोरङ जिल्ला अदालतमा साउन २७ गते पति सुमनसँग सम्वन्ध बिच्छेद र अंश मुद्दा पनि दर्ता गराउन लगाएका थिए। नियन्त्रणमा लिएर आफूलाई दबाव र धम्की दिएपछि आफूले सुमनका विरुद्ध मुद्धा दर्ता गर्न बाध्य भएको उर्मिलाले बताइन। उनले अव अदालतमा गएर त्यो मुद्धा फिर्ता लिने पनि बताइन। छुवाछुत तथा दलित र गैरदलितका विषयलाई लिएर नफेरिएको सामाजिक संरचनाप्रति दु:ख लागेको उर्मिलाको भनाइ छ। ‘हामीले मन मिलेर विवाह गरेका हौं’, उनले भनिन्, ‘दलित र गैरदलितको विषय झिकेर छुटाउन खोज्दा त्यतिबेर अन्यायमा परेको अनुभूति भयो।’

विवाह गरेपछि दलित भनेर उर्मिलासंग अलग गराइदा आफूलाई दु:ख लागेको सुमनले बताए। ‘पछि अप्ठेरो पर्छ भनेर पहिलेनै अदालतबाट नाता कायमपनि गराएका थियौं त्यसपछि बुढा शुव्वा मन्दिरमा गएर संगै जिउने कसमपनि खाएका थियौं’, सुमनले भने, ‘तर पछि छुटाउने प्रयास धेरै हुँदा हामी ठूलो मारमा प:यौं।’ यस अघि हाम्रो विवाहले कानुनी र धार्मिक मान्यता प्राप्त गरेको थियो तर आजदेखि सामाजिक मान्यतापनि प्राप्त गर्दा निक्कै खुसी लाग्यो उनले भने।

दलित अधिकारकर्मी विश्वकर्माले अन्तरजातिय विवाह गर्दा गाउँबाटै विस्थापित हुनु पर्ने अवस्था आएका कारण पूनस्थापना गराएर यो जोडीको सामाजिक विवाह गरिएको बताए। ‘केटीका माइती पक्षको दबाब र धम्की आदी कारणले यो जोडी केही दिनदेखि गाउँमा बस्न नसकेर विस्थापित बनेको थियो’, उनले भने, ‘गाउँमा बस्न सक्ने बाताबरण बनाउनपनि सामाजिक विवाह गर्नु परेको हो।’ स्थानीय प्रहरी प्रशासनको सहयोग र सरोकारवालाहरुको राहोवरमा विवाह सम्पन्न भएको विश्वकर्माले जानकारी दिए। उनले सुमन र उर्मिलाको जोडीले कानुनी मान्यता प्राप्त गरिसकेपनि डर धम्कीका भरमा छुटाउने प्रयास भएकाले सामाजिक रुपमा स्थापित गर्न तथा सामाजिक मान्यता प्रदान गर्न सवै पक्षको सहयोग र प्रहरी सुरक्षामा विवाह गरिएको बताए।

सभासद् मोदीले सामाज रुपान्तरण र परिवर्तनका लागि सुमन र उर्मिलाले साहस गरेको बताए। मोदीले विवाह गरेकै विषयमा अन्तरजातिय जोडीले अझैपनि तनाव भोग्नु पर्ने अवस्था उत्पन्न हुनु दु:खको कुरा भएको बताए। उनले अझैसम्म रहिरहेको जातिय छुवाछुतको अन्त्य गरेर छुवाछुत मुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वायन र छुवाछुतका विषयमा बनेको कानुन कार्यान्वायन प्रभावकारी बनाउने विषयमा सदनमा कुरा उठाउने समेत बताए।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले विवाहको विषयलाई लिएर दुई परिवारविच केही समय अघि खटपटी रहेका कारण सामाजिक रुपमा विवाह सम्पन्न भइरहँदा शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताए। मग्राती परिवारलाई कुनैपनि समस्या तथा आक्रमण नहोस भनेर सुरक्षाका लागि प्रहरी पठाइएको उनले बताए। अन्तरजातिय विवाहको विषयमा जातिय विभेद हुने खालका काम कोही कसैले गरेमा तथा अन्तरजातिय विवाह गरेको जोडीलाई अनआवश्यक तनाव र दु:ख दिने काम गरेमा तत्काल पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइने डिएसपी ढकालले बताए। उनले अन्तरजातिय विवाहलाई कानुनले मान्यता दिइसकेका कारण कसैले कानुन हातमा लिने काम गर्न नमिल्ने बताए। सुमन र उर्मिलाका परिवारविच गत बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा यो जोडीलाई पूनस्थापना गराएर ससम्मान साथ गाउँमै बस्न पाउने बाताबरण तयार गर्ने सहमति पनि भएको थियो। 

दलितमुक्ति नहुनुका कारण :मेघेन्द्र विश्वकर्मा

विभेद बिरुद्ध अभियान, पुस १०  गते  । नेपालमा विकसित वर्णव्यवस्था र तहगत जाति व्यवस्थाको इतिहास प्रत्यक्ष–अप्रत्यक्ष रूपमा भारतीय आर्यमूलका मानिसहरूको नेपाल प्रवेशसँगै प्रारम्भ हुन पुगेको ऐतिहासिक अध्ययनहरूले देखाउँछन् ।  इसाको प्रथम शताब्दीको सुरुवातमै वर्ण व्यवस्थाविहीन किराँतकालीन सभ्यतामाथि आर्यवंशको आक्रमण र लिच्छविकालीन शासन (सन् २००–८७९) व्यवस्थाको सुरुवातपश्चात् नेपाल खाल्डोमा छुत–अछूत प्रथाको विकास हुन पुगेको पाइन्छ ।  तत्पश्चात् समाजमा राजनीतिक, आर्थिक, सामाजिक हैसियत र पहुँचका हिसाबले तल्लो तहमा रहेका शुद्रहरू समयक्रमसँगै अछूत बनाइए तर आधुनिक युगमा समेत प्राचीनकालमा जस्तै दलितका नाममा नेपालमा साठी लाखभन्दा बढी जनसङ्ख्या सामाजिक बहिष्करण, आर्थिक विपन्नता र अपमानपूर्ण जीवन व्यतित गर्न बाध्य छ ।  अत्यासलाग्दो जातीय छुवाछूत र चौतर्फी उत्पीडनबाट मुक्तिका निम्ति सात दशक लामो अविछिन्न सङ्गठित दलित सङ्घर्ष, छुवाछूत विरुद्धका राजनीतिक अभियान र सरकारी÷ गैरसरकारी प्रयासहरूले किन अपेक्षाकृत सफलता दिलाउन सकेन ? 

अन्तर्दलित विभेद– समाजमा दलित गैरदलितका बीचमा भयावह जातीय भेदभाव रहेजस्तै दलित समुदायभित्र पनि छुवाछूत प्रथा उस्तै व्याप्त देखिन्छ ।  दलित आन्दोलनले दलित गैरदलितका बीचमा रहेको चर्को जातीय भेदभावलाई प्रमुख मुद्दा बनाउँदा अन्तर्दलित विभेदलाई उन्मूलन गर्नेतर्फ कुनै अभियान र कार्यक्रमहरू सञ्चालन गर्न नसकेको कटु यथार्थ हो ।  दलितभित्र रहेको यहीँ जातीय भेदभावको विषयलाई लिएर समाजले सिङ्गो दलित आन्दोलन र छुवाछूत विरुद्धका अभियानहरूमाथि औँला उठाइरहेको छ ।  दलित आन्दोलनले आफैँभित्र रहेको जातीय भेदभावप्रति आँखा चिम्लिनु छुवाछूतलाई थप प्रश्रय दिनु हो ।  यस सन्दर्भमा आम उत्पीडित दलितहरूले आन्तरिक एकता कायम गर्दै विद्यमान अन्तर दलित छुवाछूत समूल रूपमा नष्ट गर्न उच्च महìवका साथ पहलकदमी लिन जरुरी छ ।  
कमाउमुखी प्रवृत्ति– आम दलितको नाम जोडेर केही ठूला दलित गैससले सञ्चालन गरेका ठूला परियोजनाहरूको अपारदर्शिता, र औचित्यतामाथि जनस्तरमा थुप्रै प्रश्न उठेका छन् ।  यसै सन्दर्भमा दलित गैरसरकारी संस्थाहरूको छाता संस्था डिएनएफ नेपाल र मातहतका अन्य पाँचवटा गैससको अगुवाई र बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग 
(डिएफआइडी÷इएसपी) को रु. ११ करोडको आर्थिक सहयोगमा सन् २००२–२००४ मा देशका छ वटा जिल्लामा दलित सशक्तीकरण तथा समाहितीकरण परियोजना (डिइआइपी) सञ्चालन गरियो ।  उक्त त्रिवर्षीय योजनाको उद्देश्य ती जिल्लामा रहेका आर्थिक रूपले अति विपन्न, सामािजक रूपमा बहिष्कृत र राजनीतिक रूपमा पहुँचविहीन दलितहरूको सशक्तीकरण गर्दै उनीहरूलाई राज्यको मूलप्रवाहमा समाहित गराउन सक्षम बनाउनु थियो । 
त्यस्तै सन् २०१३–२०१५ सम्म नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घसहित तीनवटा गैससहरूको संयुक्त अगुवाई र युरोपियन युनियनको रु. तीन करोड आर्थिक सहयोगमा देशका तीनवटा जिल्लामा साझा पहल नामक परियोजना सञ्चालन गरियो ।  उक्त परियोजनाको उद्देश्य दलितहरूमा कानुनी सचेतना वृद्धि गर्ने र न्यायमा उनीहरूको सहज पहुँच अभिवृद्धि गर्नु थियो तर माथि उल्लिखित दुईवटा परियोजनाहरू सञ्चालन गर्ने संस्थाका प्रतिनिधिहरूले उपलब्धिपूर्ण र सफल भनेर दावा गरे पनि ती परियोजनाले मूलभूत उद्देश्य प्राप्त गर्न सकेको देखिँदैन ।  उक्त परियोजनामार्फत त्यस क्षेत्रका विपन्न र उत्पीडित दलितहरूले परियोजनाका जागिरेहरूका मिठा कुराबाहेक खास केही पाएनन्, उल्टो उनीहरू परियोजना सञ्चालकहरूको आर्थिक उपार्जनका निरीह साक्षी बन्न पुगे तर परियोजना सञ्चालन गर्ने संस्थाका मालिकहरूको जीवनमा भने ती परियोजनाहरूले अनअपेक्षित परिवर्तन ल्याइदिए ।  
यी त केही दलित गैससहरूले दलितका नाममा साना लगानीमा सञ्चालन भए गरेका उपलब्धिविहीन परियोजनाका केही दृष्टान्त मात्रै हुन् ।  हालसम्म दलित अधिकार र उत्थानका नाममा अदृश्य रूपमा विभिन्न अन्तर्राष्ट्रिय गैससहरूले अर्बाैं लगानी गरे पनि विपन्न दलितहरूको अवस्थामा खास परिवर्तन भएको छैन ।  आम दलितहरूको उत्थान र मुक्तिको नाममा गैससहरूको आवरणमा अकुत कमाउने, विदेश सयर गर्ने र स–परिवार विकसित देशहरूमा पलायन हुने प्रवृत्तिले गैसस सञ्चालकहरूको चरित्र उदाङ्गिएको छ ।  
अपूर्ण कानुनी व्यवस्थाहरू– नेपालमा राज्यकै अगुवाई र संरक्षणमा लिच्छविकालदेखि प्रारम्भ भएको छुवाछूत प्रथालाई राणाकालीन र पञ्चायतकालीन राज्य व्यवस्थाले कानुनी रूपमै वैधता दिँदै दलितहरूमाथि अझै कठोरतापूर्वक भेदभाव थोपरिदियो ।  संविधानसभाबाट निर्मित नेपालको संविधान– २०७२ ले संविधानको प्रस्तावनामै दलित समुदायका सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिने छ भनिएको छ ।  त्यस्तै संविधानको भाग–३ को मौलिक हकअन्तर्गत धारा २९ मा छुवाछूत तथा भेदभावविरुद्धको हकको व्यवस्था गरिएको छ तर मौलिक हकअन्तर्गत नै धारा ४५ मा दलित हकको व्यवस्था गरिएको भए पनि सरकारी सेवामा प्रवेश, उच्च शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, जमिनको उपलब्धता र आवासको व्यवस्थाको सवालमा उपधारा १, २, ३, ४, ५ र ६ मा कानुन बनाई व्यवस्था गरिने भन्ने उल्लेख छ ।  
संविधानमै उल्लेख भएअनुसार ती विषयउपर दलित पक्षीय कानुन निर्माण गरी कार्यान्वयन हुने कुरामा फेरि आशङ्काहरू उब्जिएका छन् ।  यस संविधानले क्षतिपूर्तिसहितको दलित आरक्षण, विश्वविद्यालय तहसम्म छात्रवृत्तिसहित निःशुल्क शिक्षाको ग्यारेण्टी र उत्पादनमूलक स्रोतसाधनको न्यायिक पुनर्वितरणको मुद्दालाई सुनिश्चित गर्न सकेको छैन ।  यो संविधान विगतको संविधानका तुलनामा दलित मुद्दामा प्रगतिशील देखिए पनि कानुन बनाई व्यवस्था गरिने छ भन्ने अधिकांश उधारो प्रतिबद्धता छ ।  
ऐन कानुनहरूको फितलो कार्यान्वयन– जातीय भेदभाव तथा छुवाछूतसँग सम्बन्धित विभिन्न घटनाका पीडितहरूले पीडकहरू विरुद्ध प्रहरीकहाँ उजुरी दिँदा दर्ता गर्न अस्वीकार गरेका, पीडक पक्षको दबाब र पीडितहरूको इच्छा विपरीत स्थानीयस्तरमै मेलमिलाप गर्न बाध्य बनाइएको र पीडितहरूले न्यायको अनुभूति गर्न नसकेका दर्जनौँ उदाहरणहरू छन् ।  जातीय भेदभाव तथा छुवाछूत अन्त्यसम्बन्धी (कसुर र सजाय) ऐन २०६८ मा जातीय भेदभाव तथा छुवाछूतसँग सम्बन्धित घटनाका दोषी र अभियुक्तहरूलाई घटनाको प्रकृति र कसुरअनुसार अधिकतम् तीन वर्षसम्म कैद र रु. एक लाख दण्ड जरिवानाको व्यवस्था छ तर छुवाछूत र जातीय भेदभावसँग सम्बन्धित विभिन्न घटनाका दोषी र अभियुक्तहरूलाई राज्य पक्षकै असंवेदनशीलता र गैरजिम्मेवारीपनका कारण ऐनअनुसार हालसम्म कुनै कारबाही भए गरेको छैन ।  त्यसकारण सरकार कानुनी शासनको प्रत्याभूत गर्न, उग्र रुढिवाद र उद्दण्ड प्रवृत्तिलाई रोक्न, मानव अधिकारको रक्षा गर्न र सभ्य समाजको निर्माण गर्न ऐन कानुनहरूको कार्यान्वयनमा प्रतिबद्ध हुन आवश्यक छ ।  
गरिबी र भूमिहिनता– समाजमा तुलनात्मक रूपमा निकृष्ट कर्म गर्न बाध्य दलितहरूको निजामती प्रशासन, प्रहरी, सेना, शिक्षा सेवा र औद्योगिक क्षेत्रहरूमा रोजगारीमा पहुँच छैन ।  युनडिपीको एक तथ्याङ्कअनुसार नेपालको कुल गरिबीको २३ प्रतिशत जनसङ्ख्यामध्ये ४६ प्रतिशत हिस्सा दलितको रहेको पाइएको छ ।  नेपालका २५ प्रतिशत भूमिहीन घरधुरीहरूमध्ये २० प्रतिशत दलित रहेको पाइन्छ ।  देशको कुल जनसङ्ख्याको १३.०४ प्रतिशत (राष्ट्रिय जनगणना २०६८) सङ्ख्या दलितहरूको रहे पनि कुल खेतीयोग्य जमिनको दुई प्रतिशत मात्रै हिस्सा दलितहरूको रहेको छ ।  त्यसकारण दलितहरू उच्च गरिबीले आक्रान्त भई जीवन गुजार्न अरूको खेतवारीमा न्यून ज्यालादारीमा मजदुरी गर्न र अत्यन्त कष्टकर जीवन व्यतित गर्न बाध्य हुनुपरेको देखिन्छ ।  यसरी दलितहरूको कहालीलाग्दो गरिबी, भूमिहीनता, पछौटेपन र अभावका विरुद्ध सरकारले प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरी उनीहरूको जीवनस्तर द्रुत गतिमा सुधार गर्न आवश्यक छ ।  सरकारले हाल केही जिल्लामा सञ्चालिन गरेको विपन्न आवास र रोजगारमुखी कार्यक्रमलाई बृहत् रूपमा सञ्चालन गरी थप परिणाममुखी बनाउन आवश्यक देखिन्छ ।  
कठोर परम्परागत समाज– २१ औँ शताब्दीका बौद्धिक–शिक्षित नागरिकहरूले दुई हजार वर्षपूर्व प्रारम्भ भएको अवैज्ञानिक, कुरूप वर्णवादी र जातिवादी सामाजिक संरचना र परम्परालाई धर्म संस्कारको रूपमा निरन्तर अँंगाल्नु आफैँमा हास्यास्पद छ । देख्दा सामान्य लाग्ने तर भोग्दै जाँदा अत्यासलाग्दो छुवाछूतप्रथा आधुनिकता, वैज्ञानिक चेतना र सिङ्गै प्रगतिशील युगका विरुद्ध उभिएको छ ।  कथित् वर्णाश्रम–जातिगत व्यवस्था र दलितमाथिको निरन्तर शोषणलाई अन्त्य गर्ने प्रतिबद्धताका साथ दलित अधिकारको पक्षमा सम्पूर्ण शक्तिहरू उभिए आमदलितको मुक्ति अवश्य सम्भव छ ।  -गोरखापत्र बाट