Wednesday, March 8, 2017

‘खै के हो ? नारी दिवस मलाई त थाहा छैन : लालमाया परियार

टोपलाल अर्याल-विभेद बिरुद्ध अभियान - २५ फागुन ,गुल्मी-आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । दिवसका अवसरमा आज विश्वभर महिलाहरू ठाउँठाउँमा जम्मा हुने र खुसीयाली साटासाट गर्ने गर्दछन् । आज १ सय ७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । विश्वमा मनाइने हरेक खुसीयालीमा नेपाल पनि जोडतोडका साथ सहभागी हुने गर्दछ । यसैको कारण नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । तर, यस्ता महत्वपूर्ण दिवसहरू औपचारिकतामा र सदरमुकाम केन्द्रित भएका छन् । जसले गर्दा प्रचण्ड गर्मी र अत्यन्तै चिसोमा ढुङ्गा बोक्ने र फोर्ने महिला मजदुरहरूलाई दिवसको अर्थ नै थाहा नभएको पाइयो ।
रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गाखानीमा काम गर्दै आएकी लालमाया परियारले दुई जना छोरा ढुङ्गाखानी मै हुर्काइन् । ‘खै के हो ? नारी दिवस मलाई त थाहा छैन ।’-लालमायाले भनिन्-‘बिहान ६ बजेबाट साँझ ६/७ बजेसम्म खानी मै बित्छ ।’ ६ महिनाको छोरासहित ढुङ्गाखानीमा आएकी उनका पति हुकुम परियार पनि खानीमै काम गर्छन् । रेसुङ्गा नपा-१४ की ३३ वर्षीया तारा बिकले जुन सुकै दिवस आएपपनि दिउँसोको प्रचण्ड गर्मीमा वा पुस माघको कठ्याङ्ग्रिदो चिसोमा खुल्ला आकाशमुनि दिनको १० घण्टा गिट्टी कुट्ने गरेको बताइन् । छोरा कोखमा राखेर गिट्टी कुट्दै गरेकी सोही ठाउँकी ३० वर्षीया सावित्रा रानाले सुत्केरी भएको डेढ महिना देखिनै बिहानदेखि साँझसम्म काम गर्ने गरेको बताइन् । उनले १० दिनमा एक ट्रिप गिट्टी कुट्न सके ३ हजार रुपियाँ आउने भएकाले बिहानै ढुङ्गाखानी आउने गरेको सुनाइन् ।
स्कूले बालबालिको विदा पनि खानीमै !
रानीपोखरी निमाविको कक्षा ६ मा पढ्दै गरेका १३ वर्षीय प्रकाश बिकले पनि विदाको समय बिहानदेखि साँझसम्म नै ढुङ्गा फोर्ने र गिट्टी कुट्ने गरेको बताए । उनले बिदाको समयमा खानीमा नआए परिवारको गुजरा नचल्ने भएपछि जुन दिवस भएपनि खानीमा आउने गरेको बताए । घोर्ले माविको कक्षा ६ मा पढ्ने सुमन बुढाथोकी पनि फुर्सद हुने बित्तिकै आमासँगै खानीमा आउँछन् । आमा रेसुङ्गा नपा-१४ की माया बुढाथोकीले आफूलाई सहयोग होस् भन्नका लागि छोरालाई खानीमा ल्याउने गरेको बताइन् । ‘विदा भएर त्यतिकै घरमा खेल्छन ।’-उनले भनिन्-‘बरू खानीमा आए दुई/चार सय रुपियाँ कमाई हुन्छ ।’
मानव अधिकारकर्मी पदम पाण्डेले जुनसुकै दिवसहरू पनि दुखले पेट पाल्नेहरूसम्म नपुग्ने गरेको बताए । ‘ढुङ्गाखानीमा थुप्रै महिलाहरूले कष्टपूर्ण काम गरेका छन् ।’-पाण्डेले भने-‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने नै उनीहरूलाई थाहा छैन । अरु दिवसका कुरा त के थाहा ?’ दिवसहरूको सार्थकता भएपनि १० दिन बिहानदेखि साँझसम्म ढुङ्गा फोरेर ३ हजार रुपियाँको आश गर्नुपर्ने अवस्थाले उनीहरूलाई दिवसले नछुने पाण्डेको भनाइ छ । उनले दिवस सदरमुकाम र शहरका होटलमा मात्रै सीमित भएका कारण खानीमा काम गर्ने महिला मजदुरहरू दिवसको बारेमा अनभिज्ञ बन्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिए । “शहरको सिद्धान्त र गाउँको बिडम्बना फरक छ ।’-मानव अधिकारकर्मी गणेश श्रेष्ठले भने-‘ज्यान पाल्नकै लागि आमाले बच्चा कोखमा र काखमा बोकेर १० घण्टा गिट्टी फोर्नुपर्ने बाध्यता छ ।’
रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गा खानीमा १ सय ५० भन्दा बढी मजदुरले काम गर्छन् । त्यसमा ८० प्रतिशत महिला रहेको अनुमान गरिएको छ । ‘धेरै महिलाहरूले गिट्टीको काम गर्ने भएकाले उनीहरू नै बढी छन् ।’-खानीका ठेकेदार हरि बस्नेतले भने-‘ढुङ्गा फोर्ने काममा केही पुरूष रहेका छन् ।’ यहाँको खानी क्षेत्र सदरमुकाम तम्घासबाट दुई किलोमिटरको दूरीमा छ । खानीमा गुल्मीलगायत बाग्लुङ र प्युठानका विभिन्न ठाउँबाट आएका मजदुरहरूले काम गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई कुना कन्दराका श्रमिक महिलासम्म पुर्‍याउनु आवश्यक छ ।

No comments:

Post a Comment