Saturday, August 5, 2017

रामझुपडीका धनी बलदेव -माधव ढुङ्गेल

विभेद बिरुद्ध अभियान - साउन २१, करिब २०४१/४२ सालतिरको कुरा हो । बलदेव रामलाई जनकपुर गएको बेला कुवा छोएको आरोप लागेछ । उनले कुवा नछोएको जिकिर गरे तर स्थानीय ‘उच्च' हरूले के मान्थे । पञ्चायती डाके । चर्काचर्की भयो । बलदेवले आफूले कुवा छुँदै नछोएको तर्क गर्दै भने, ‘मैले कुवा छोएकै छैन । छोएको भए पानीको रङ किन उस्तै रह्यो ? खोइ रङ फेरिएको ? ठूलो भीडको बीचमा एक्लै भए पनि कड्केँ । मेरो तर्कसँग उनीहरू हारे र छाडिदिए ।'२०६० सालको मंसिरमा पहिलोपल्ट भेट हुँदा बलदेव रामले आफ्नो दुई दशक पुरानो उक्त घाउ कोट्याएका थिए । फाटेको गञ्जी र धोतीको पहिरनमा देहातमा भेटिएका एकजना दुब्ला चमार आन्दोलनका नेता बलदेवजीको प्रस्तुति यति प्रभावशाली थियो, जुन अद्यपि स्मृतिमा ताजै छ । अरू ‘अधिकारकर्मी' हरू आफ्नो लाभहानि हेरेर मुखले मात्र बोल्थे- बनावटी । तर, विभेद, अन्याय र अत्याचारले पुस्तौंसम्म पेलिएको दह्रो जगमा उभिएका बलदेवजीका प्रत्येक भनाइ जीवनका भोगाइ हुन्थे । अनि उनी प्रत्येक वाक्य मन र आत्मादेखि व्यक्त गर्थे । त्यहाँ न कुनै छलकपट न कुनै बनावटी आडम्बर ।
कक्षा सातमात्र पढेका थिए उनले । उनी कुनै कवि, कथाकार वा साहित्यानुरागी पनि थिएनन् । तर, उनका बिम्ब कोही आख्यानकारको भन्दा कम हुँदैनथे । ‘कौवा जहाँको पनि कालै हुन्छ । त्यस्तै, सामन्त जहाँको भए पनि सामन्तै हो- चाहे हिमाल-पहाड होस् वा तराई-मधेस । त्यसले दलित, गरिबमाथि शोषण नै गर्छ', उनले भनेका थिए । जातीय क्षेत्रीय विभेदको अन्त्य हुनुपर्ने र वर्गीय हिसाबले असमानता घटाउनुपर्नेमा उनी प्रष्ट थिए । मधेसका गिरहत (जग्गाधनी)बाट पुस्तौंदेखि दमित मधेसी दलित समुदायका यी अभियन्ता भन्थे, ‘हिमाल, पहाड र तराई सबै ठाउँका शोषक शोषक नै हुन्, दलित शोषित शोषित नै हुन् ।'
एउटा रोचक संयोग । २०६० सालको मंसिर अन्तिम साता । देश माओवादी सशस्त्र द्वन्द्वमा फसेको थियो । ओखलढुंगा, खोटाङ, उदयपुर हुँदै पूर्वी पहाडको भ्रमण सकेर म सिराहा-सप्तरी पुगेको थिएँ । सिराहाका अधिकारकर्मी मित्र अर्जुन थपलियाको साथ जुट्यो । हामी सप्तरीको कनकपुरस्थित बलदेव रामको घर पुगेका थियौं- बिहानै । बलदेवजीलाई सिनो बहिष्कार आन्दोलनको अगुवाका रूपमा भेट्न पुगेको थिए, त्यसबेला । घरमा पुगेर अर्जुनजीले शायद उनको छोरीलाई खबर पठाए, ‘काठमाडौंबाट एकजना पत्रकारजी आउनुभएको छ । बुवालाई बोलाएर आऊ !'
ती छोरी (बालिका) खबर लिएर गइन् तर उल्टै पिताले पठाएको खबर लिएर आइन्, ‘यत्ति खनिसकेर मात्र आउँछु, घरमा बस्दै गर्न भन ।' करिब डेढ-दुई घन्टापछि पसिनाले असिनपसिन भएका पातलो शरीरका बलदेवजी आए, काँधमा कोदार हालेर । पसिनाले निथ्रुक्क भिजेको उनले लगाएको गञ्जी फाटेर प्वालैप्वाल भएको थियो । तल सेतो धोती लगाएका थिए । नाकको टुप्पोबाट तप्तप पसिना चुहिएको थियो । काठमाडौंबाट पत्रकार आएको खबरले पनि काम छाडेर नआएकोमा मभित्र चाहिँ उनीप्रति बेग्लै सम्मान जागेको थियो ।
कालो, दुब्लो तर खारिएको संघर्षशील चेहरामा चमक थियो । चाउरीले शायद सयभन्दा बढी मुजा परेका थिए मुहारमा । कालोपाटीमा सेतो चकले लेखेजस्तै देखियो- उनी हाँसेर मेरो नमस्कारमा नमस्कार फर्काए । चाउरीबीच सेता दाँत देखिए । ‘भर्खर खेतमा गएको थिएँ, अलिकति खनिसकेर आऊँ भनेर', मैले सोचेभन्दा प्रष्टसँग नेपाली भाषामा भने । उनले आफूले पर्खाउनुपरेको कारण बताए । मैले भनेँ, ‘हामी आयौं भन्दैमा काम छाडेर आउनु जरुरी थिएन, ठीक गर्नु भो । हामी फुर्सदिलो थियौं, कुरिहालेँ नि !' हार्दिकता साटासाट भयो ।
मैले उमेर सोधेँ । भने, ‘२००७ सालको जन्म ।' म छक्क परेँ, ५३ वर्षमै यत्ति धेरै चाउरी । यसो हेरेँ, कपाल चाहिँ कालै थियो । शायद भोगाइले चाउरी परेको रहेछ उनको अनुहार । अनुहारका प्रत्येक रेखाभित्र लेखिएको संघर्षको कथा पढ्न सक्ने सामथ्र्य मसँग हुने कुरै थिएन । किनभने, उनको अनुहारका रेखाबाट लेखिएको उपन्यास त केवल उनको मुखबाट मात्रै सुन्न सकिन्थ्यो । जोकोहीले पनि त्यो उपन्यासभित्रको ‘प्लट' सुनेपछि सहानुभूतिमा आँसुसम्म त खसाउन सक्ला । त्यसको मर्म त भोग्नेले मात्र महसुस गर्न सक्छ !भावमा रत्तिभर छलकपट थिएन न त अनुहारमा व्यक्तिगत स्वार्थ नै झल्कन्थ्यो । च्यातिएर धुजाधुजा भएको गञ्जी र धोती लगाएर रामझुपडीमा बस्ने बलदेव राममा त्यस्तो आत्मविश्वास थियो जुन मयलपोस पहिरिएर महलमा बस्नेमा पाइँदैनथ्यो ।
प्रजातन्त्रसँगै उनको जन्म भएको थियो, २००७ सालमा । सप्तरीको मधुपट्टी गाविस कनकपुरको एक गरिब चमारको रामझुपडीमा । त्यसबेला चमारहरूमाथि ‘उच्च जात' का का ‘गिरहत' (बाली कमाएको मालिक) को अत्याचार थियो । चमारले ‘गिरहत' हरू कहाँ पशु मर्दा त्यसको मासुसमेत खानुपथ्र्यो । चमारलाई वार्षिक १० किलो धान दिएपछि सिनो फ्याक्ने काम पुरुष र सुत्केरीलाई तेल लगाउने काम महिलाले गर्नुपथ्र्यो । यो चमार परिवारको ‘कर्तव्य' हुन्थ्यो ।
पुरुषहरूले माल (सिनो) फ्याक्नुपर्ने चलन २०५६ सालको सिनो आन्दोलनले अन्त्य गर्‍यो तर चमार महिलाले सुढिनीको काम गर्ने चलन अद्यपि छ ।
प्रजातन्त्रसँगै जन्मेका बलदेवले चमारहरूको प्रजातन्त्रका लागि जीवनभर संघर्ष गरे तर अझै त्यो पूरा गर्न भ्याएनन् । झन्डै दुई तिहाइ दलित बसोबास रहेको उनकै गाउँ कनकपुरमा उनले ‘उच्च जात' का शोषकहरूबाट जीवनमा बेहिसाब सास्ती भोगे । २०५६ सालको सिनो बहिष्कार आन्दोलनका एकजना नेता बलदेवजीले पहिलो भेटमै आफ्नो भोगाइ सुनाएका थिए, ‘घरमा पाहुना आएको भए पनि यादव, चौधरी वा क्षत्रीहरूको पशु मर्‍यो एकछिनपछि भन्न पनि पाइन्नथ्यो । फ्याँक्न तत्काल जानैपथ्र्यो । हामीले नयाँ लुगा लगाएको देख्दासमेत उनीहरूले गिज्याउँथे ।'
सात कक्षा पढेका थिए- बलदेवजीले । पाँच-छ कक्षा पढ्दा सुनेको एउटा गीत-कविताले समानताको निम्ति लड्न प्रेरित गरेको थियो, उनलाई । ‘हामी बढे देश बढ्छ, ... युग फेर्नुपर्छ ... ।' उनी यो कविता मुखाग्र सुनाउँथे । यो नै उनको जीवनआदर्श बन्न थियो ।
निमुखा चमारहरूले खाएको मार सुनाए, ‘मरेका पशुको छाला चमारले काड्नुपथ्र्यो । काढेको छाला सुकाउँदा कुकुरले खाएमा वा अरू कारण तलमाथि भएमा चमारले मार खान्थे ।' जीवनमा आफूले पनि पटकपटक कुटाइ खाएको प्रसंग उनले पटकपटकका भेटमा सुनाएका थिए । बलदेवजीले गोबध मुद्दा पनि व्यहोरे । उनले एउटा भोगाइ सुनाएका थिए, ‘फागु चौधरी भन्ने एकजना गिरहतको घरमा बाच्छी मरेछ । फागुले खबर गरे । मैले गएर फ्याकिदिएँ । उनीहरूको दाजुभाइबीच झगडा रहेछ । भाइले दाजुलाई मुद्दा हालेछ । बाच्छी फाल्न गएकाले मैलेसमेत गोबधको मुद्दा खेप्नुपर्‍यो ।'
पितापुर्खादेखि बलदेव रामले सपरिवार जीवनभर ‘गिरहत' को सेवा गरे । मरेका पशु फाले, बाँझो खेत उर्बर बनाए, लहलह बाली फलाए । छोराछोरीले मालिककै बस्तुबाख्रा चराए । हलिया बने, हरुवाचरुवा बसे । चमार नारीहरूले सुत्केरीलाई तेल लगाए । सिंगो परिवारको जीवन नै ‘उच्च'हरूको सेवामा समर्पित गरे । न जीवनमा कहिल्यै पेटभरि र मीठोमसिनो खाए; न आफू त के, आफ्ना स-साना नानीलाई मीठो खान राम्रो लाउन दिन खोजे । तर, आफैंले सेवा गरेको त्यो समाज कहिल्यै बलदेव रामहरूका लागि आफ्नो हुन सकेन । बलदेवजीले जीवनमा २४ वटा मुद्दा खेपे । मुद्दा तिनैले हाले, जसको लागि उनको सिंगो परिवारले २४ घन्टा योगदान गथ्र्यो । ज्यान मुद्दा व्यहोरे, गोबध मुद्दा खेपे । यतिसम्म कि उनीमाथि गर्भपतनको समेत अभियोग लगाइयो ।
आफूले सेवा गरेको समाज कहिल्यै आफ्नो नभएकोमा बलदेव दुःखी हुन्थे । ‘हामीले जत्ति सेवा गरे पनि उनीहरूमा कहिल्यै भाइचाराको भावना विकास भएन', बलदेव विद्रोह गर्नुको कारण बताएका थिए, ‘पुरानो प्रथाले जमाएको ठूलो पीडा थियो हामीमा । त्यसैले हेपिएर दास बन्ने हैन, अरू नै काम खोज्नुपर्छ भन्ने भावनाको विकास भयो । हामी संगठित भएर लाग्यौं । केही हदसम्म पुरानो प्रथा तोड्न सफल पनि भयौं ।'
साधारण पहिरनमा हिँड्ने बलदेवजीसँग अनेक भोगाइ थिए । एकपटक राजविराजको एक जना भूमिसुधार अधिकारीले उनीसँग घूस मागेछन् । बलदेवजीले कोदाको रोटी र भन्टाको चटनी बनाएर कपडामा पोको पारेर दिँदै भनेछन्, ‘यो पनि दैनिक मजदुरी गरेर कमाएको, यसबाहेक दिन सक्ने मसँग हैसियत छैन ।' दलितले मन्दिर प्रवेश गरेको विषयमा विवाद भएपछि एक प्रमुख जिल्ला अधिकारीसँगको सवालजवाफ उनले सुनाएका थिए, ‘सीडीओले दलितलाई छुट्टै मन्दिर बनाइदिए हुँदैन भन्नुभो । मैले भने- त्यसो गर्दा हुने भए दलितका लागि सीडीओ पनि अर्कै राखिदिए भइगो नि !'
बलदेव चमार मुक्ति आन्दोलनका अगुवामध्ये थिए । दिनभरि अधियाँ कमाएको खेतमा खट्थे । तथापि उनमा राजनीतिक आकांक्षा कहिल्यै जागेन । त्यसै आन्दोलनबाट नेता बन्न केहीले पार्टी खोले तर उनले त्यसप्रति रुचि देखाएनन् । बलदेवका छोरा इन्द्रप्रसादले २०५१ सालमा एसएलसी उत्तीर्ण गरे तापनि तत्काल पढाउन पठाउन नसकेकोमा उनी दुःखी थिए । भलै पछि उनले स्नातकोत्तर गरे । स्कुल पढ्ने छोराछोरीले वनबाट दाउरा ल्याएर बेच्थे । तीन छोरी र दुई छोराका पिता बलदेवलाई करिब ६ महिनाअघि नाति र बुहारीको दुर्घटनामा मृत्यु भएको घटनाले ठूलो चोट परेको थियो । कान्छा छोरा गणेशको व्यवहारप्रति उनी बढी चिन्तित थिए ।
बलदेवजी खेतमा काम गर्थे । उनलाई तारे होटेलमा बस्दा पीडा हुन्थ्यो । कयौंपटक आयोजकलाई मञ्चबाटै प्रश्न गर्थे, ‘गरिब-दलितको नामको पैसाबाट तारे होटेलमा बस्ने ? उनीहरूको जीवनस्तर पनि यस्तै छ ? ' कुनै कार्यक्रममा आएको निम्ताबाहेक गफ गरेर उनी हिँड्दैनथे । मेहनत र प्रतिबद्धता नै सबै थोक हो भन्ने उनको जीवनमा झल्कन्थ्यो । शिक्षाले नै समाजमा परिवर्तन ल्याउँछ भन्ने उनको ठहर थियो ।

दुई पुस्ताअघिसम्म सिनो खानेसम्म चलन रहेको त्यस दलित बस्तीमा चेतनाको विकास गर्न लागि परे । बलदेवहरूको आन्दोलनले समाजका उच्च जातिमा पनि केही हदसम्म परिवर्तन ल्यायो । बलदेव बारम्बार भन्थे, ‘हाम्रा बाआमा मर्दा चाहिँ चमारलाई नलगाएर आफैं सत्गत गर्छौं, आफूले पालेको पशु मरेपछि त्यसलाई फ्याँक्दा जात जान्छ ? के बाउआमाको सत्गत गर्न पनि चमार बोलाउने ?
बलदेव रामले भन्थे, ‘मरेका बस्तु खान हुन्न भनेर बाजेहरूले बन्द गरेकाले हामीलाई केही सजिलो भयो । तर, अन्याय अझै बाँकी छ । त्यसैले हाम्रा भावी पुस्ताले हामीजस्तै समानताको लागि लड्नु नपरोस् भन्ने चाहना हो ।' कोदार, छैटी र गराँसीसँगै दिन बित्थ्यो उनको । पचासौं हालो र फाली खियाइसकेका थिए उनले । कुनै कलमजीवीभन्दा कमजोर थिएनन् । भेट्नेबित्तिकै महसुस भयो- उनी खारिएका एकजना सामाजिक अभियन्ता हुन् । उनको क्षितिज निकै टाढा थियो । सामाजिक विभेद, उत्पीडन र असमानता अन्त्य गर्ने यात्रामा तीव्र गतिमा क्षितिजसम्म पुग्न प्रयत्नशील थिए । तर, आफशोच ! जीवनभर उनको ‘स्प्रिन्ट' गतिको म्याराथन यात्रा पनि गन्तव्यमा पुग्नसकेन । २०७४ साउन १६ गते बिहानै उनले सदासदाका लागि आफ्नो पाइला बिसाए- यो धर्तीमा । बलदेवजीप्रति हार्दिक श्रद्धाञ्जलि !- अन्नपूर्ण पोस्ट बाट 

No comments:

Post a Comment