विभेद बिरुद्ध अभियान - साउन २२, २०७४ बैतडी : परम्परागत रुपमा दलित समुदायले गर्दै आएको कृषि औजार तथा भाँडाकुडा बनाउने आरन पेशा पछिल्लो समयमा लोप हुदै गएको छ। तर व्यवसायिक रूपमै सञ्चालन गर्ने हो भने अारनबाट मनग्गे आम्दानी लिन सकिने उदाहरण दिएका छन्, पुर्चौडी नगरपालिका– ५ कुवाकोटका दिले लुहारले। बाबुबाजेको पालादेखि घरमै आरन व्यवसाय गर्दै आएका लुहारलाई कृषि औजार र मूर्ति बनाउन कुनै तालिम लिनु परेन। घरमै आरन उद्योग सञ्चालन गरेका लुहारले कुटो, कोदालो, फरुवा, बञ्चरो, हँसिया, खुकुरी, दावा, खुर्पा लगायतका घरायसी कृषि औजारहरु र देवीदेवताका मूर्ति बनाउने गरेका छन्। फलाम, तामा र सिल्भरका भाँडाकुडा गाग्री, लोटा, डाडु, पन्यु डेक्ची, अम्खोरा, करुवा लगायत भाँडाकुँडा बनाउने काम पनि उनको दैनन्दिनभित्र पर्छ।
मासिक तीस हजार आम्दानी
सिप र जाँगर भए गाउँमै स्वरोजगार बन्न सकिने उनी बताउँछन्। 'अारनबाट महिनाको तीस हजार सम्म कमाइ हुन्छ,’ उनले भने, ‘मेहनत गर्न सके स्वरोजगार बन्न सकिँदो रहेछ।’ पछिल्लो समय जिल्लामा कृषि व्यवसाय विस्तार हुदै गएकाले कृषि औजारहरुको माग पनि बढेकोले अहिले राम्रो आम्दानी भइरहेको लुहारले बताए। आरन पेशा व्यवसायीक बनेपछि अहिले घरखर्च चलाउन सहज भएको उनी बताउँछन्।
खलो प्रथा छाडेर व्यवसायी बन्दै
बैतडीका ग्रामिण क्षेत्रमा प्रायः दलित समुदायले मात्रै आरन पेशा अँगालेका छन्। लामो समयदेखि व्यवसायी बन्न नसकेका उनीहरु अहिले चेतनाको विकाससँगै परम्परागत पेशाबाटै राम्रो आम्दानी गर्छन्। ‘पहिले पहिले मालिकको घरबाट भाँडाकुडा बनाइदिएको सट्टा थोरै अन्न लिने गरिन्थ्यो अहिले नगदमै कारोबार हुन्छ।’ कटौजपानीका प्रकाश पार्कीले भने। औजार बनाएको तथा पुराना औजारमा धार लगाएबापत पहिले घरघरम पुगेर अन्न लिने प्रचलनलाई खलो प्रथा भनिन्छ। पछिल्लो समय चेतनास्तर विकास हुँदै गएपछि दलित समुदाय खलो प्रथा छोडेर व्यावसायिक बन्दै गएकाे छ।
No comments:
Post a Comment