Monday, April 30, 2018

बारपाक गैरीगाउँ र डाँडागाउँका २७ दलित परिवार अझै छाप्रामुनि

विभेद बिरुद्ध अभियान - बैसाख १८- बारपाक । एकसाथ गल्र्यामगुल्र्युम ढलेका वरपरका घर विस्तारै ठडिदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्न बाध्य छन् । 

भूकम्पको केन्द्रबिन्दुमा असह्य पीडा व्यहोरेका साविकको बारपाक गाविस–५, गैरीगाउँ र डाँडागाउँका ३२ दलित परिवारमध्ये २७ परिवार अहिलेसम्म हिउँदमा तपतप शीत र वर्षामा पानी चुहिने छाप्रामा दैनिक जीवन गुजार्न विवश छन् । 

भूकम्पले चिराचिरा परेको यस बस्तीमा सरकारले खुला जीवित भूकम्प संग्रहालय बनाउन भन्दै बस्ती सारेपछि दलित समुदाय बिचल्लीमा परेका हुन् । “आजसम्म हामीलाई जग्गा दिने प्रक्रिया सरकारले शुरु गरेको छैन । छाप्रामा बस्न बाध्य छौँ । पानी पर्दा तपतप चुहिन्छ । कहिले जग्गा आउने हो थाहा छैन”, गैरीगाउँकी ठूलीमाया विकले गुनासो पोख्नुभयो । 

सरकारले ती सारिएका परिवारका नाममा जग्गाधनी प्रमाणपत्र हालसम्म दिएको छैन । प्रमाणपत्र नहुँदा उनीहरुले पुनःनिर्माणका लागि हालसम्म पहिलो किस्तापछिको अनुदान पाएका छैनन् । 

“पुनःनिर्माण शुरु नहुँदा छाप्राभित्र दुःख र पीडामा दैनिकी चलाउनु परेको छ । कहिले जग्गाधनीको प्रमाणपत्र पाउने हो टुंगो छैन”, अविनाश विकले भन्नुभयो । 

बारपाकका एक हजार ४५७ घरमध्ये अधिकांश घर पक्कीरुपमा ठडिसकेका छन् । भूकम्प गएकै वर्ष दलीय सहमतिमा गैरीगाउँमा खुला जीवित भूकम्प संग्रहालय बनाउने भन्दै दलित बस्ती हटाइ वारपारको तल्लो गाउँमा सारिएको थियो । 

संग्रहालय बनाउँदा विस्थापित हुनेलाई बारपाकको तल्लो भेगको कृषि, पशु सेवा र जलाधार कार्यालयको नाममा रहेको १४ रोपनी जग्गा दिने सम्झौता गरिएको थियो । त्यही सम्झौताका आधारमा २७ दलित परिवारलाई सारिएको हो । 

स्थानीयवासीले छोडेको स्थानको जग्गा धनी प्रमाण पूर्जा भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयमा बुझाइसकेका छन् । 

दुःखमाथि दुःख 

विसं २०५६ को पहिरोमा पनि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय विस्थापित भएका थिए । “त्यसबेला पनि अहिलेकै स्थानमा ओत लाग्यौँ, पहिरोले बस्ती लगेको थियो, जीवन भने जोगाएर यहाँ आउन सफल भएका थियौँ”, त्यसबेलाको घटना सम्झँदै स्थानीय लक्ष्मी सुनारले भन्नुभयो । 

पहिरोको जोखिम भएको बस्ती भएकाले संग्रहालय निर्माणका लागि छोडिएको हो । भूकम्पपछि यो ठाउँ भासिएको थियो । चिरा परेका स्थान पुरिन पनि महिनौँ लागेको स्थानीयवासीको स्मृतिमा अझै ताजा छ । 

छिमेकको धार्चे गाउँपालिकाको केराउँला बस्ती स्थानान्तरण भइसकेको छ । बारपाकको यो बस्ती सार्न स्थानीय तहले चासो नदेखाएको लीलाबहादुर सुनारले बताउनुभयो । गाउँपालिका र वडा कार्यालयले रिस ईबीका आधारमा शुरु भइसकेको प्रक्रिया रोकेको बस्तीवासीको गुनासो छ । 

वडा अध्यक्ष दलित समुदायबाटै निर्वाचित भए पनि स्थानीयवासीको समस्या समाधान गर्न सहयोगी नबनेको उहाँको गुनासो छ । विपन्न वर्गका यहाँका बासिन्दा घले र गुरुङका घरमा बाली घरे प्रथाका आधारमा हँसिया, कोदालोलगायत सामग्री निर्माण गरेर जीवनयापन गर्छन् । 

स्थानीय शुकबहादुर विक सरकारी जग्गामा सित्तैमा बस्न नखोजी साट्न लाग्दा पनि निर्वाचित स्थानीय तहले जिम्मेवारीका साथ काम नगरेको दुःखेसो पोख्नुहुन्छ । विपन्न वर्गका पीडितलाई लामो समस्यामा राखेको अधिकांश पीडितको भनाइ छ । 

“वडा अध्यक्ष रोशन विक चार परिवारका पक्षमा लागेर २७ घरलाई बिचल्ली बनाउँदै हुनुहुन्छ, वडा कार्यालय र गाउँपालिकाले प्राधिकरणमा हाम्राविरुद्ध भ्रामक सूचना दिएको छ, प्राधिकरण कार्यकारी समितिका एक सदस्य पनि हाम्रोविरुद्धमा लागेर निर्णय हुन सकेको छैन”, उहाँले भन्नुभयो । 

तेस्रो भूकम्प स्मृति दिवसको कार्यक्रमका लागि बारपाक आउनुभएका प्राधिकरण कार्यकारी समिति सदस्य हरिराम पराजुलीले पनि यस बस्तीको अवलोकन गर्नुभयो । अवलोकनपछि रासससँग कुरा गर्नुहुँदै उहाँले दलित समुदायबीचको आन्तरिक द्वन्द्वले दलित बस्ती पुनःनिर्माण हुन नसकेको सुनाउनुभयो । 

“यहाँको समस्या समाधानका लागि वैकल्पिक सोच ल्याउने तयारीमा प्राधिकरण छ, माथि बस्न चाहनेलाई माथि नै र तल बस्नेलाई तलै पुनःनिर्माण शुरु गर्ने गरी निर्णय गर्ने तयारी भएको छ, यो निर्णय छिटो हुन्छ”, उहाँले भन्नुभयो । 

वडा अध्यक्ष विक भने बस्तीका आठ परिवारले डाँडागाउँ फर्किएर पुनःनिर्माण शुरु गरिसकेकाले अरुले पनि फर्किएर घर बनाउन शुरु गर्नुपर्ने बताउनुहुन्छ । 

“भूकम्पलगत्तै गैरीगाउँ र डाँडागाउँवासी तल झरे पनि अहिले माथि आएर पुनःनिर्माण शुरु गरेका छन्, २२ घर मात्र तल बसेका छन्, भू–गर्भविद्ले यो स्थानमा जोखिम छ भन्ने प्रतिवेदन दिएका छैनन्, गैरीगाउँ र डाँडागाउँमा बस्न कुनै समस्या छैन”, उहाँले भन्नुभयो । 

भूकम्पपछि स्थानीय तहमा क्रियाशील दलीय संयन्त्रले गैरीगाउँमा जीवित संग्रहालय बनाउन प्रस्ताव गरेको थियो । प्रस्तावमा सहमत हुने स्थानीयवासीले प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा पूर्जा बुझाएको वडा कार्यालयले जनाएको छ । 

घर बनाउने स्थान निश्चित नभएकैले पहिलो किस्ता लिएका २७ परिवारले पुनःनिर्माण शुरु गर्न सकेका छैनन् । पहिलो किस्ता लिनेले असार मसान्तसम्म पुनःनिर्माण पूरा गरी सबै किस्ता लिइसक्नुपर्ने खबरले बस्तीका बासिन्दाको निद्रा हराएको छ । पुनःनिर्माण नै नगरी लिएको पहिलो किस्ता पनि फिर्ता गर्नुपरे गाउँबाटै विस्थापित हुनुपर्ने दलित परिवारको गुनासो छ । 

सरकारले जग्गाको सट्टाभर्ना दिए अक्सफामले घर बनाइदिने प्रतिबद्धता जनाएको स्थानीय अविनाश विकले सुनाउनुभयो । जग्गाकै निश्चित नहुँदा पुनःनिर्माण भने अनिश्चित बनेको छ । 

हरायो बारपाकको मौलिकता 

भूकम्पले बारपाकका ७२ मानिस घरले किचेर मरे । ढुंगाले छाएको लाम्चो आकारको यो बस्ती आकर्षक देखिन्थ्यो । भूकम्पपछि भने यो ठाउँको मौलिकता हराएको छ । ढुंगाले छाएको घर भत्किएर मानिस मरेपछि यहाँका मानिसमा यस्तो घर असुरक्षित हुने छाप प¥यो । 

पिलर उठाएर बनाइएका केही घर नभत्किएकाले त्यस्तो घरमात्र भूकम्प प्रतिरोधी हुने विश्वास पीडितमा बन्यो । यसैले बारपाकको ढुंगाले छाएको घरको मौलिकता इतिहासमै सीमित बनेको छ । यो इतिहास बारपाकका घर घरमा टासिएका तस्वीरमा मात्र देख्न सकिन्छ । 

बारपाक बेलायत, भारतलगायत देशको सेनामा भर्ती हुनेको मानिसको संख्या अधिक हुने स्थानका रुपमा समेत परिचित छ । प्रत्येक घरका कोही न कोही मानिस गोर्खाली सेनाका रुपमा विभिन्न देशका सेनामा भर्ती भएका छन् । तिनले पठाउने विप्रेषणले यहाँका अधिकांश मानिसको जीवनशैली गुणस्तरीय छ । 

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने गजे घलेको जन्मभूमि पनि बारपाक नै हो । बारपाक गजे घलेको गाउँका रुपमा विश्वमा परिचित छ । यहाँका मानिस जहाँ पुगे पनि चाडबाड मनाउन र कूल पूजा गर्न भने बारपाक नै आउँछन् । यसैले काठमाडौँ, बेलायतलगायत स्थानमा घर हुनेले पनि बारपाक नछोडेको स्थानीयवासी एवं साना जलविद्युत् व्यवसायी वीरबहादुर घले बताउनुहुन्छ । 

बारपाकमा एक हजार ३०१ लाभग्राही रहेकामा एक हजार २८५ ले पहिलो किस्ता लिएका छन् । ९५२ ले दोस्रो र ५५८ ले तेस्रो किस्ता बुझिसकेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो । ६० जनाको गुनासो स्थानीय सरकारसमक्ष दर्ता भएको छ । 
–पूर्णप्रसाद मिश्र / रातोपाटी 

छोरीको विहेमा सिंगो गाउँनै दाईजो !

विभेद बिरुद्ध अभियान - बैसाख १८- गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो। गाउँ खाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ। गाउँखाने कथामा जस्तै पर्साको एउटा गाउँका बासिन्दाले वास्तविक जीवनमै एउटा गाउँ दिएका छन्।

तर, यहाँ गाउँखाने कथा सोध्नेलाई गाउँ दिइएको होइन, विवाहमा छोरी–ज्वाइँलाई गाउँ नै दाइजो दिइएको हो। पर्साको बहुदरमाई नगरपालिका–७ मा बहिनी नैना डोमको बिहे हुँदा उनलाई दाइजोमा गाउँ दिइएको उनका दाजु लक्ष्मी बताउँछन्।

उनी भन्छन्, ‘बिहे गर्दा दाइजो दिन बुबासँग पैसा नभएकाले दाइजोमा गाउँ दिएर बहिनीको बिहे गरिएको हो।’ करिब २० वर्षअघि भारतको इनर्वा बजारमा नैना डोमको बिहे भएको हो।

उनलाई विश्रामपुरको दक्षिण टोला दाइजोमा दिइएको हो। उनका अनुसार बहिनीबाहेक डोम समुदायका अरु कोही पनि त्यो गाउँमा माग्न वा कमाउन जान पाउँदैनन्।

दाइजोमा पाएको गाउँबाट मागेर आफ्नो गुजारा चलिरहेको नैना सुनाउँछिन्। ‘त्यो पनि मुस्किलले दुई छाक खान पाइन्छ,’ उनले भनिन्, ‘आफूसँग न पैसा छ, न त बस्ने घर नै।’ नहरछेउको अलिकति खाली जग्गामा टाँगिएको त्रिपाल नै आफ्नो घरसंसार भएको उनी बताउँछिन्।

यतिमात्र नभई रकम अभाव भएका बेला दाइजो पाएको गाउँ बन्धकी राखी ऋण लिएर उनी आफ्नो गर्जो टार्छिन्। नगद लेनदेनमा जस्तै यस्तो ऋणको पनि म्याद हुन्छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

खै दर्जीदाई ?

विभेद बिरुद्ध अभियान (लक्ष्मी पौडेल)- बैसाख १८- चितवन शिवनगरका चित्रबहादुर परियार अहिले करिव ६० बर्ष पुग्न थाल्नुभो । उहाँ जान्ने भएदेखी हो गाउँमा कपडा सिलाएर अन्न, पैसा जे आउँछ त्यसैबाट परिवारको गुजारा टार्न थाल्नुभएको । अहिले पनी उहाँले घरमै कपडा सिलाउदै आउनुभएको छ । ५ छोराछोरीका बाउ चित्रबहादुरले कपडा सिलाएरै सबैलाई पाल्नुभयो पढाउनुभयो अनी हात खुट्टा लाग्ने बनाउनुभयो । तर अहिले वहाँका छोराछोरी कसैले पनी यो पेशै गर्दैनन् ।

वहाँलाई आफ्नो पुर्ख्यौली पेशा भएकाले छोड्न मन लाग्दैन तर छोराछोरीले गर्दैनन भनेपनी टेर्दैनन् । चित्रबहादुरका कान्छा छोरा कपडा सिलाउने भिसा मै कतार जानुभएको थियो । चित्र बहादुर भन्नुहुन्छ, "५ बर्ष सम्म छोराले कतारमा गएर यही काम गर्‍यो अहिले फर्केपछी म कपडा सिलाउदिन अर्कै काम गर्छु भनेर दुवई गएको छ ।" परियार थप्नुहुन्छ, " छोराले किन गर्न खोजेन मलाई थाहा भएन तर मेरो छोरो मात्र हैन हिजो आजका केटाकेटीहरुले बाउबाजेले गरेको काम कहाँ गर्छन र ? "

उहाँले छोरालाई यही आफ्नै पेशा गर्नुपर्छ भनेर नसम्झाउनुभएको हैन । उहाँ भन्नुहुन्छ, "बुढाबुढी दुवै सम्झाको हो नानी, हाम्रा कुरा कहाँ चपाउछन र यिनिहरुले अब हात खुट्टा लाग्ने भए आफ्नै बाटो गर्छन् । "

परियारले भनेझै साँच्चै अहिले कपडा सिलाउने काममा पुर्ख्यौली पेशा भएका दर्जीदाईहरु यो पेशाबाटै पलायन भैरहेका छन् । कुनै जमाना थियो गाउँ भरीका कपडाहरु दर्जी दाईकहाँ सिलाउन थुप्रो लाग्थ्यो । गाउमा अली हुने खानेका कपडा सिलाउने दर्जी दाईहरु उनीहरुकै परिवारका मात्र कपडा सिलाउने कर्मचारी जस्तै भएर समेत काम गर्थे । तर अहिले जमाना फेरीएको छ ।

साहुजनकै कपडा सिलाएर जिवन गुजार्ने दर्जी दाईहरु खोजेर पनी पाउन सकिन्न । हिजो आज पुर्ख्यौली पेशा भएका परियार समुदायका मानीसले कपडै सिलाउनु भन्दा अन्य पेशा व्यवसाय गर्ने अथवा विदेश पलायनको बाटो रोज्न थालेका छन् । आखीर किन यस्तो भयो त के परियार समुदायले आफ्नो पुर्ख्यौली पेशा बचाउन पर्ने हैन र सिलाई कटाई व्यवसायी संघ चितवनका अध्यक्ष लालबहादुर परियार भन्नुहुन्छ, " पहिले सुरुमा यो पेशा नेपाली समुदायमा पिडित र हेलित थियो । त्यो कारणले गर्दा त्यो मानसिकता नै हामी परियार समुदायमा परेका कारण अहिले आकर्षण घटेको हो । "

लालबहादुर आफ्नो समुदायले यो पेशा गर्न छाडेको भने स्विकार्नुहुन्न । वहाँ भन्नुहुन्छ, "पछिल्लो समयमा यो पेशा आधुनिकता संगै सम्मानजनक रुपमा पनी विकसित भएको छ । अब यो यथार्थमा बुझेका साथीहरु, नयाँ पिढिहरु यो पेशामा तानीदै पनी छन् । फेरी अरु समुदायका मान्छेले पनी यसमा जुन किसिमको चासो देखाएर पेशा अङ्गालिरहेका छन् । त्यसले गर्दा झन उनीहरुले त गर्छन हाम्रो त पेशै हो भनेर पनी चासो बढेको छ । तर विगतको सामाजीक संरचनाले केही असर त पारेकै हो । यसलाई विस्थापित नै भन्न मिल्दैन ।"

बुढापुरानाले भन्छन् हाम्रो पेशा अरुले नै गर्न थाले त्यसैले पनी होला हाम्रा युवा पुस्ताले आफ्नो पेशा गर्नै खोजेनन ।

"धेरैले यही पेशा गर्न थाले, श्रेष्ठले कपडै सिला'छ, क्षत्रीले कपडै सिला'छ, सिक्ने ठाउँमा पनी अन्य समुदायकै मान्छे गा'छन, काम लगाउनेले पनी अन्य लाई नै ला'छन अनी त्यही भएर पनी हो कि जस्तो लाउँ'छ नानी मलाई त ।" चित्रबहादुरले दुखेसो पोख्नुभयो ।

हुन पनी परियारले भनेझै हिजो आज दर्जी दाईहरु मात्र हैन अन्य जातीका महिला पुरुष सबैले व्यवसायीक रुपमा नै र आधुनीक मेसिनको प्रयोग गरेरै कपडा व्यवसाय सञ्चालन गर्न थालेका छन् । चोक चोक मा छ्याप्प छ्याप्ती भेटीने कपडा सिलाई कटाई पसलमा दर्जि दाई नै कपडा सिलाएको देख्न पाईदैन ।

के साँच्चै अन्य जाती समुदायका मानीसले यो पेशा गर्दा समस्या श्रृजना भएको हो त ? कपडा सिलाई कटाई व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष रामप्रसाद पुडासैनी भन्नुहुन्छ, " यो हुँदै होईन, म तपाईको प्रश्नमा कत्ती पनी सहमत छैन । मेरो विचारमा वास्तविकता यो हो कि । परियार समुदायका दाजुभाईले जती बेला देखी यो पेशा गर्नुहुन्थ्यो त्यतीबेला नेपाली समाज अली रुढीबादीबाट गुज्रीएको थियो । दर्जी भनेपछी जुन हेलाको दृष्टिकोण थियो समाजको त्यो गलत धारणालाई चिर्दै बदलिदो परिवेश अनुसार वहाँहरु अगाडि बढेर आफ्नो पुर्ख्यौली सम्पतीको रक्षा गर्न सक्नुभएन, वहाँहरु परम्परागत व्यवसायलाई आधुनिकतामा ढाल्न सक्नुभएन वहाँहरुमा हिनताबोध भयो र उहाँहरु पेशाबाटै दिग्ग्रमीत हुनुभयो ।"

वहाँ आफु पनी गैरदलित भएर पनी लुगा सिलाउने काम गरेको कुरा यसरी प्रष्ट पार्नुहुन्छ ।, " म पनी ब्राम्हण समुदायको मान्छे हुँ तर म सिलाई कटाई व्यवसायमा मैले राम्रो भविष्य देखे र लागे अहिले म त स्थापित पनी भैसकेको छु ।"

पुडासैनी आफुहरुले यो पेशा गरेर परियार समुदायलाई विस्थापित होईन बरु स्थापित गर्न खोजेको दावि गर्नुहुन्छ ।  "हामी यो चाहन्छौ की वहाँहरु यो पेशालाई जोगाउन र साँच्चै पुर्ख्यौली पेशा हो भनेर दावि गर्न सक्ने अवस्था बनोस हामी वहाँ हरु यो पेशामा स्थापित हुनुहोस भन्ने चाहन्छौ र उहाँहरुलाई साथ पनि दिन तयार छौँ ।" पुडासैनीले भन्नुभयो ।

जसले जे भनेपनी कुनै पनी समुदायको पुर्ख्यौली पेशाले परम्परा र संस्कृतीको समेत जगेर्ना गरेको हुन्छ । अनी परिचय पनी दर्शाएको हुन्छ । आफ्नो अधिकारका निम्ती लड्ने हरेक समुदाय आफ्नो पहिचानका लागी संयमित पनि हुन पनी आवश्यक छ । अनी राम्रो भविष्य देखेर सिलाई कटाईमा आबद्ध अन्य समुदायले पनी यि समुदायसंग सहकार्य गरेर अघि बढे आलोचित हुनु नपर्ला कि ?

Friday, April 27, 2018

 अरबको भुङ्ग्रोमा सेकिएको मन -गोपाल शिवा

विभेद बिरुद्ध अभियान - बैशाख १४ गते -केहि समय अघि हामी बस्ने कम्पनीको बिल्डिंगमा किल्नरको काम गर्न भनेर एक जना सप्तरी तिरका रामेश्वर लेखि भाइलाई कन्ट्रयाक्ट मार्फत लिएर आइएको रहेछ।दश तलाको घरको फोहोर फाल्ने, सफा गर्ने र धुने पखाल्ने भाइको नियमितता थियो । उनले दिनभरिमा हामी बस्ने जस्तै कम्पनीको अन्य ५ ओटा बिल्डिंगमा सोहीअनुसार काम गर्नु पर्थियो । झन्डै ४/५ महिना जति भाइले काम गरे होला ... पसिनाले छ्याप्पै भिजे पनि काम गरिरहेका हुन्थे भाई । जब नेपाली हो भनेर थाहा भयो त्यस पछी धेरै पटक आफ्नो भाग काटेर हामीले भाइ लाइ हाम्रो फ्ल्याट सफा गर्न आएको बेला खाना खुवाइयौ ।खाना खान आएको बेला भाइले परदेशको आफ्नो अनुभव सुनाए ।दिनहु १२ घण्टा सफाईको काम गर्दा कोलोरेक्स र किलिन्गका केमिकलले छालाको पत्रहरु गएको हातहरु देखाए । भोगाइ सहेर भए पनि बस्नु पर्ने आफु अघिको बाध्यताको ठुलो पहाड हामीलाई पनि देखाए ।

नेपालको जनसङ्ख्याको धेरै हिस्सा ओगट्ने निम्न तथा निम्न मध्यमवर्गीय नागरिकहरु जो जीवनमा केही सम्पत्ति आर्जन गरि सुखसँग जीवन गुजारा गर्ने र आफ्ना बालबच्चा, परिवारलाई शिक्षित बनाउने सुन्दर सपना बोकेर खाडी अरबको यात्रामा लम्किन बाध्य भएका छन् । ति मध्ये अपबाद छोडेर जस्तो सुकै भए पनि अरबको भुङ्ग्रोमा सेकिदै काम गर्नु पर्ने बाध्यताको कथाको पात्र बनेका नि यी भाइ जस्तै धेरै पात्रहरु छन ।

कुवेत आउनु अघि सम्म रामेश्वर लेखिको दिनचर्या परिवारसँगै सप्तरीको कल्याणपुरमा चल्दै रहेछ। बिहान बेलुका गाउँकै ट्याक्टरमा लोड अनलोड गरेर छाक मात्रै टर्दै थियो । पैसा बचाउन नसकेका रामेश्वर लेखि भाइ त्यति बेला गाउकै एजेन्टले राम्रो कमाइ हुने आशा देखाएपछि विदेश जाने मानसिकतामा अडिग भएछन । कमाउने सपनाले उनलाई झन्डै एक कठा ऐलानीमा भएको घर समेत उही एजेन्टलाई डेढ लाखमा मन्जुरीनामा लिखितम गराई दिएछन । एजेन्टले काठमाडौं ल्याउने बेलामा जे सुनाएका थिए म्यानपावरका सञ्चालकले पनि तिनै कुरा दोहोर्याए ‘काम सजिलो छ अनि कमाई पनि राम्रो हुन्छ । जीवनमा ठुलो हवाईजहाज चडेर सपनाहरु खोज्न हिडेका सयौ क्याराभानहरुको हुलमा मिसिएर धेरै कमाउने सपना लिएर रामेश्वर लेखि पनि कुवेत आई पुगेका रहेछन ।यता आए पछि पो थाहा पाए... ९० केडी भनेको ठाउमा ७५ केडी , ८ घण्टा भनेको ठाउमा १२ घण्टा काम गर्नु पर्ने पो उनले ।आफ्नै सपनाहरुको खोजि गर्न भनेर घरबारी बन्धक राख्न ल्याप्चे ठोकेका उनका तिनै हातहरुको छालाको पत्र पत्र भएर उप्किन थालेको छ तर आफु भित्रको विश्वासलाई जीवन्त राखेर भन्छन यता आउदा लिएको ऋण सम्झिएर काम गर्छु दाई ।

त्यसो त् आफुलाई नेपालमा भनेको अनुसार तलब र काम गर्नु पर्ने समय नदिएको बारेमा एजेन्टलाइ आएको २ महिना पछी भए नि एक पटक भनेका रहेछन ....पछि राम्रो हुन्छ दु:ख गर भने जवाफ पाएका उनि त्यहि पछिको समयको पर्खाइमा अनुतरित भएछन । हुन् पनि हो खर्च गरेर र अनेक योजना र सपना बनाएर देश छाडेपछि यहा हण्डर खाए पनि हत्तपत्त रित्तो हात फर्किन नसक्नुको पीडा कसले बुझ्ने ? कहिले काहिँ बाध्यताले मानिसका रहरहरुमाथि दमन गरिदिन्छ ।जसले गर्दा लेखि भाइले झैँ लाखौ नेपालीले आज आफ्नो चाहाना र सपना एकापट्टि थन्क्याएर बाध्यताले देखाएको बाटो अंगाल्न बाध्य भएका छन् ।लेखि भाइको जस्तै अरबको भुङ्ग्रोमा लाखौ युवायुवतीको मन सेकिएको छ । नेपालबाट बाहिर कतै नजाउन्जेल विदेशमा त पैसाको रुख फलेको हुन्छ कि जस्तो मानसिकताले हाम्रो टोल-समाज र व्यक्ति स्वयंमा पनि अझै डेरा जमाएको छ । केही समयअघिसम्म यस्तै मानसिकताको डेरा आफु भित्र जमाएका लेखिको मन अहिले अरवको तातो भुङ्ग्रोमा सेकिई रहेको छ ।

कहिलेकाही भेटमा आफना रहर र बाध्यताका सपना खोज्दा खोज्दै जिन्दगीको एक दशक लुटाउछु होला दाई भन्ने यी भाइले आफ्नो सपना र बाध्यताबीचको तादाम्यतालाई मिलाएर जीवनमा रोजगारी र जीविकाको नयाँ मेलो भेट्ने ध्याउन्नमा भनसुन गरेर १६/१८ घण्टा काम गर्ने ठाउमा सार्न भनेको कुरा भन्दै थिए ।६/७ महिना भो उनि गए देखि भेटिएका छैनन् । तर लाखौँको संख्यामा नेपालीलाई विदेश पठाएर रेमिटेन्सको बलमा चलेको देशमा बैदेशिक रोजगारीको नाममा सयौं ठगि, बेथिति र अस्तव्यस्त स्थिति एव बाध्यताको परिवन्दमा जेलिएर कोहि कोहि नेपालीहरु नराम्रोसँग पीडित बनेको ,प्रताडित बनेको सत्य उजागर गरेको छ । वैदेशिक रोजगारीमा जानेले गन्तव्य मुलुकमा पाएको दुःखका कथाहरु असरल्ल छन् है भनेर बुझाएको छ ।

वैदेशिक रोजगारी व्यवस्थित, मर्यादित र पारदर्शी हुन नसकेको वर्षौं भइसकेको छ । स्वदेशमा प्रयाप्त रोजगारीको अवसर उपलब्ध नहुँदा दैनिक हजारौं युवायुवती आफ्ना सपना र बाध्यताको झोली दुइवटै काँधमा बाकेर बिदेश पलाएन भईरहेका छन् । शारीरिक, मानसिक र आर्थिक शोषणमा परेका छन् ।तर पनि श्रमिककै नाम भजाएर स्वदेशमै रोजगारीको लागि अब केहि गर्ने भनेर बिभिन्न राजनीतिक दलले चुनावका बेला र कुर्शीमा बिराज हुन्जेल सम्म कुरा गरेपनि त्यसको कुनै प्रभाब व्यावहारिक रुपमा देखिएको छैन । के रोजगारी र समृद्धिको कुराहरु ब्यबहारिक रुपमा कहिले लागु नहुने नै हो त ? 

दलित समुदायका सात विद्यार्थीको कक्षा १० सम्मको शैक्षिक अभिभावकत्व ग्रहण

बिभेद बिरुद्ध अभियान-  वैशाख १४,काठमाडौँ — काभ्रेको चौरी–देउराली गाउँपालिका ज्यामिरेस्थित बालकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत् अतिविपन्न र आमाबाबुको हेरचाहसमेत नपाएका सातजना दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

काठमाडौंको सासा ट्राभल्सले सामाजिक उत्तरदायित्वअन्तर्गत् प्राथमिक तहदेखि कक्षा १० सम्मको सबै शैक्षिक अभिभावकत्व ग्रहण गरी छात्रवृत्ति प्रदान गरेको हो ।संस्थाका अध्यक्ष एवं प्रबन्ध निर्देशक इन्दु चौलागाइँले छात्रवृत्तिसँगै लत्ताकपडा, शैक्षिक सामाग्री वितरण गरिन् ।

आगामी दिनमा सहयोग रकम वृद्धि गर्नुको साथै अरु सहयोग पनि गर्ने आश्वासन चौलागाइँले दिइन् ।विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद चौलागाइँले यस्तो सहयोगले विद्यार्थीलाई हौसला र प्रोत्साहन मिल्ने बताए ।

दलित समुदायका पत्रकारहरुको समस्या र सुझाव संकलन

बिभेद बिरुद्ध अभियान-  वैशाख १४,काठमाडौँ — कथित दलित समुदायका पत्रकारलाई सञ्चार माध्यममा अर्थपूर्ण सहभागिता बढाउन आवश्यक रहेको दलित पत्रकारहरुले धारणा व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघको दलित पत्रकार समितिले राजधानीमा शुक्रबार गरेको छलफल कार्यक्रममा यस्तो धारणा आएको हो । समितिले नयाँ वर्ष २०७५ को शुभकामना आदान–प्रदान संगै दलित समुदायका पत्रकारहरुलाई भेला गराई उनीहरुको समस्या र सुझाव संकलन गरेको थियो । जसमा कार्यक्रममा सहभागी पत्रकारले आफ्नो समस्या र चुनौति बताएका थिए । समितिकी संयोजक मधु शाहीले दलित समुदायका पत्रकारको हितमा महासंघ कसरी अगाडि बढ्न सक्छ ? भनेर उपस्थित पत्रकार समक्ष सुझाव लिएकी थिइन् ।

उनले समीतिले पछिल्लो समय तथ्यांक संकलन कार्य सुरु भएको खुलाइन् । त्यस्तै, महासंघका सचिव रेम विश्वकर्माले समाजका अझै पनि विभेद उस्तै भएको दलित समुदायका पत्रकारले काम गर्दा थुपै्र चुनौति खेप्नु परेको सुनाए ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य एवं पत्रकार प्रकाशचन्द्र परियारले दलित समुदायका पत्रकारलाई दक्ष बनाउन सिपमुलक तालिम, हौसला प्रदान गर्न पुरस्कार प्रदान र समावेशी मुलक मिडिया बनाउन जोड दिनु पर्ने धारणा राखे ।

पत्रकार एवं अनुसन्धानकर्ता जेवी विश्वकर्माले समावेशीमुलक मिडिया बनाउन महासंघको जोड हुनु पर्ने बताए । बोलीमा मात्रै सीमित भएको भन्दै उनले महासंघद्धारा निगरानी र अनुसन्धान प्रक्रिया जारी राख्न आवश्यक रहेको सुनाए । कार्यक्रममा लक्ष्मी परियार, केशव भुल, श्याम रोक्का, प्रेम नेपाली, मिलन विश्वकर्मा, सुशील दर्नाल, गोमा परियार लगायत पत्रकारले आ–आफ्ना अनुभुति सुनाएका थिए ।

दलित महिला जनप्रतिनिधि बलात्कृत हुँदासमेत घटना सार्वजनिक भएन : प्रतिवेदन

बिभेद बिरुद्ध अभियान-  वैशाख १४,पछिल्लो समय बलात्कारका घटनाहरु बढ्दो छ। तर, दलित समुदायका महिला बलात्कृत हुँदा सार्वजनिक हुन नसकेको एक अध्ययनले देखाएको छ।  स्थानीय तहका दुई दलित महिला जनप्रतिनिधि बलात्कृत हुँदासमेत घटना सार्वजनिक भएको अध्ययनले देखाएको हो। 

 जागरण मिडिया सेन्टरले गरेको एक अध्ययनमका अनुसार बलात्कारका घटना हुँदा दलित महिला को पनि उत्तिकै रहेकोे तथ्यांकले उल्लेख छ। हाल भइरहेका बलात्कारका घटनामा जनजाति समुदायका महिला पनि उत्तिकै पीडित हुने गरेका छन्। २०७३ मा ७ सय ९२ वटा बलात्कारका घटना भएकामा ३४ प्रतिशत जनजाति, १९ प्रतिशत दलित, १८ प्रतिशत क्षेत्री, ९ प्रतिशत ब्राह्मण, ६ प्रतिशत मधेशी, ४ प्रतिशत मुस्लिम र ९ प्रतिशत महिलाको पहिचान हुन नसकेको पाइएको छ।  

सेन्टरका अनुसार स्थानीय निकायमा निर्वाचित दुई जना दलित महिलाको बलात्कृत भएका छन्। एक वर्षको अवधीमा तीन जना दलित महिला सदस्य हत्या भएको उल्लेख गरिएको छ।  बुधबार काठमाडौंमा आयोजना गरेको ‘बालबालिका, बलात्कार र दलित महिला’ विषयक मिडिया संवादमा कार्यक्रममा सहभागीहरुले पछिल्ला दिनमा दलितहरुप्रति छुवाछुतका घटना बढ्दै गएको र त्यसमा पनि दलित महिला बलात्कृत हुनु परेकोमा चिन्ता व्यक्त गरे।  

प्रतिनिधिसभा सदस्य निरा जैरुले स्थानीय तहका उपप्रमुखहरुले न्यायालय हेर्ने भएकाले उनीहरुले निक्कै सुझबुझका साथ काम गर्नुपर्ने बताइन्। जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीलगायतले दलित समुदायका महिला थप हिंसामा पर्ने गरे पनि न्याय पाउन नसकेकोमा गुनासो गरेका थिए।

म्याग्दीको बेली गाउँ युवाविहीन, गाउँमा पुरुष नभएपछि महिला नै मलामी

बिभेद बिरुद्ध अभियान-  वैशाख १४,म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ ।

गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताए ।

बेली गाउँ यतिबेला शोकमा छ । वैदेशिक रोजगारीका लागि मलेशिया गएका मालिका–२ बेलीका धर्मलाल रोकाको सुतेकै अवस्थामा मलेशियामा मृत्यु भएपछि गत बिहीबार रोकाको शव जिपको हुटमा बाकसभित्र राखेर घरमा पुर्याइएको थियो । एकै परिवारका तीनभाइ छोराको विदेशमा मृत्यु भएपछि शोकमा डुबेको बेली गाउँबाट स्व धर्मलाल रोकाको मलामीमा पनि पुरुष अत्यन्त कम देखिन्थे ।

छोराको शव घरमा आएपछि शोकले विह्वल भएका स्व रोकाका बुबा धनबहादुर र आमा लिलमती रोकालाई सम्हाल्ने र सम्झाउने पुरुष पनि त्यहाँ थिएनन् । ‘गाउँमा करीव ४० घरपरिवारको बस्ती छ, सबै घरबाट पुरुष कि विदेश गएका छन्, कि आरा चिर्न, मिस्त्रीको काम गर्नका लागि गाउँबाहिर छन्’, २९ वर्षीया देवकली विकले भनिन्, ‘यहाँ त मर्दा पर्दा मलामी जाने पनि महिला नै हो ।’

जिल्लाका दुर्गम गाउँ मध्येमा पर्ने रुमको बेली गाउँमा सडक पुगेको छ । यातायातका साधन पनि गुड्ने गरेका छन् । तर आयआर्जनका लागि बलियो माध्यम नहुँदा गाउँका प्रायः सबै युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् ।

उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदुरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका छन् ।

गाउँ पुरुषविहीन भएपछि पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था आएको स्थानीयवासी टेकी विकले बताइन् । टेकी विकले विगत ४ वर्षदेखि बेली गाउँको खोल्सामा पानी घट्ट चलाउँदै आएकी छन् । घट्ट चलाएर गाउँलेको अन्न कुटानी पिसानी गरेबापत पाएको अन्न र रुपैयाँले घरखर्च चलाउने गरेको उनी बताउँछिन् ।

‘श्रीमान् ज्यामी काम गर्नका लागि गाउँबाहिर जानुभएको छ, घरमा कहिलेकाहीँ मात्र आउनुहुन्छ’, चार छोराछोरीकी आमा विकले भनिन्, ‘घरका सबै काम मैले नै गर्नुपर्छ ।’

स्व रोकाको परिवारलाई सान्त्वना दिन बिहीबार बेली गाउँमा पुगेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले युवालाई आफ्नै गाउँ–ठाउँमा रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको बताए । 

बागलुङको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म

बिभेद बिरुद्ध अभियान-  वैशाख १४,समयक्रमसँगैं जातीय विभेद अन्त्य हुन थालेको चर्चा भइरहँदा बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म पुगेको छ ।

बागलुङ सदरमुकामबाट करिब १५ किलोमिटरको दुरीमा रहेको काठेखोला गाउँपालिका-३ धम्जामा दलित र गैरदलितहरू बिचको विभेदले ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ भन्ने सामाजिक मान्यता समेत गलत सावित हुन पुगेको छ ।

धम्जाको असौजे गाउँका दलित र गैरदलित समुदाय आजभोलि एक अर्काको जन्ती र मलामीसमेत जान छाडेका छन् । केही समय पहिलेसम्म जन्म र मृत्यु संस्कार पर्दा समूहमा जम्मा हुने, विवाह, व्रतबन्ध जस्ता कार्यमासमेत एक अर्कालाई निमन्त्रणा गर्ने गरेकामा आजकल सो परम्पराबाट उनीहरू अलग्गिएका छन् ।

पछिल्लो दुई महिनायता धम्जाको असौजे गाउँका दलित र गैरदलित समुदाय एकआपसमा बोलचाल गर्नसमेत छाड्न थालेको स्थानीय भविलाल बिकले बताए । ‘यो गाउँमा केही महिना पहिलेसम्म कसैको बिहेवारी र मृत्यु शोकमा छिमेकी गाउँसम्म एक साथ जाने चलन थियो । तर, केही समययता बिहेवारी हुँदा एकआपसमा निम्तो पनि नगर्ने र गरिहाले पनि निम्तोमा नजाने प्रवृत्ति सुरू भएको छ ।’-बिकले भने ।

‘गत वैशाख ६ गते मेरी छोरीको बिहे थियो । गाउँका सबैलाई निम्तो पनि गरेको थिएँ । तर, कथित उपल्लो ‘विष्ट’ जातिका कोही पनि आएनन् ।’-बिकले भने-‘दलित समुदायकोमा नजाने भनेर सरसल्लाह नै गरेका रहेछन् । मैले यहाँका अगुवाहरूलाई विशेष अनुरोध गर्दासमेत कोही पनि आएनन् ।’

गाउँघरमा जातीय विभेद विस्तारै कम हुँदै आएको भनिए पनि ठूलो भोजभतेरमा दलित र गैरदलित समुदायका लागि छुट्टाछुट्टै व्यवस्था गरिँदै आएको छ ।

बिहेवारीमा मात्र होइन, विभेदका घटनाले मान्छे मर्दा मलामी जाने जस्तो विषयमा समेत दुवै समुदाय एकअर्काप्रति कठोर रूपमा प्रस्तुत हुन थालेका छन् । गाउँका छिमेकी रहेका रणबहादुर बिककी को मृत्यु हुँदा घरदेखि सागर जाने असौजेका कुनै पनि गैरदलित सो कार्यमा सहभागी भएनन् । सागर जान भनेर हिँडेका सर्सबहादुर श्रीषलाई पनि स्थानीय गैरदलित समुदायले बिच बाटैबाट फर्काएको दलित समुदायको भनाई छ ।

गाउँघरको एकआपसको सामाजिक सद्भाव र एकतामा विभेदको विषयले ठूलो खलल आएको स्थानीय अमरबहादुर श्रीषले बताए । ‘पुर्खौँदेखि मिलेर बसेको समाजमा अहिले फेरि गम्भीर फुट आएको छ ।’- उनले भने-‘यो विषय कुनै व्यक्ति विशेष र समुदायको नभएकाले कसैले पनि नजर अन्दाज गर्न मिल्दैन । सिङ्गो समुदाय र सम्बद्ध निकाय सबै गम्भीर बन्नुपर्छ ।’

सहर बजारमा जातीय विभेद विरूद्ध चर्का भाषण र कार्यक्रमहरू भइरहेको समयमा यस्ता घटनाले आफूहरूलाई पनि झस्काएको वडाध्यक्ष यामबहादुर श्रीषले बताए । ‘विभेदले समाजमा गहिरोसँग जरा गाडेर बसेको छ । अहिले विभेदको रूप फेरिएर झनै डरलाग्दो परिदृश्य देखिएको छ । यसले हामीलाई गम्भीर बनाएको छ ।’-अध्यक्ष श्रीषले भने-‘यो संविधानमा लेखेर, ऐन कानुन बनाएर मात्र रोकिँदैन । यसका लागि सोच, चिन्तन पनि समयक्रमसँगै बदलिनुपर्छ । स्थानीय स्तरमै नागरिकहरूलाई सचेत बनाउन आवश्यक छ ।’ विभेद अन्त्यका लागि जनप्रतिनिधिका हिसाबले खेल्ने सबैखाले भूमिका आफूले निभाउने उनले प्रतिबद्धता जनाए ।

दार्चुलामा घर नजिकै पानी भर्ने क्रममा रेखा महर माथि जातीय विभेद र कुटपिट

बिभेद बिरुद्ध अभियान-  वैशाख १४,दार्चुला- शैल्यशिखर नगरपालिका-१ बलाँचथलाका २३ वर्षीया रेखा महरले आफूलाई सोही ठाउँका २५ वर्षीय माधवसिंह बोहराले जातीय विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा वैशाख १३ गते उजुरी दिएकी छन् ।

पीडित महिलालाई आरोपितले वैशाख ११ गते जातीय विभेद हुने शब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै कुटपिट गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएकी हुन् ।

घर नजिकै पानी भर्ने क्रममा पानी भर्न पाइँदैन भन्दै गालीगलौज गरेको पीडितले आरोप लगाइन् । आरोपित बोहराले लाठीले कुटपिट गर्दा चोट लागेको उनले सुनाइन् । पीडितका अनुसार बोहराले अपशब्द बोल्नुका साथै शरीरमा लगाएको कपडा च्यातिदिएका थिए ।

त्यस्तो नगर्न आग्रह गर्दा आरोपितले हसिँया लिएर मार्ने धम्की दिएको पीडितको आरोप छ । कुटपिटको क्रममा पीडितले लगाएको तिलहरी, नथीयासमेत हराएको निवेदनमा उल्लेख गरिएको छ ।

आरक्षण कसलाई ? - मेखराज परियार

बिभेद बिरुद्ध अभियान-  वैशाख १४, अघिल्लो मार्च २१ गते नेपालमा पनि रंग/जातीय विभेद उन्मूलन दिवस विभिन्न कार्यक्रमहरू गरी मनाइयो । दलित नागरिक समाजले गरेको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दलितहरूलाई सत्ताकब्जा गरी देशको राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा रहेको मिठो सपना बाँडे । त्यतिमात्रै होइन, केन्द्रका विद्रोही नेता विश्वभक्त दुलाल ‘आहुति’प्रति पनि आक्रामक टिप्पणी गरे । नेपालको गणतन्त्र, संघीय लोकतन्त्र, समानता र समानुपातिक समावेशीकरण जस्ता जनाधिकार स्थापित गर्न माओवादीले गरेको जनसंघर्ष विना सम्भव थिएन । उक्त सभामा प्रचण्डले दलितमाथि गरेको नकारात्मक टिप्पणीप्रति एउटा मिठो व्यङ्गय गर्न सकिन्छ । जस्तो– बिरालोहरूको अन्याय र अत्याचार विरुद्ध मुसाहरूले विशाल सभा गरे । मुद्दा हो, बिरालोहरूबाट मुसाहरूले अधिकार प्राप्त गर्नु । तर विडम्बना, मुसाहरूको अधिकार सभाको प्रमुख अतिथि भने एउटा ‘घोर्ले भाले बिरालो’ ।

भर्खरै सम्पन्न प्रतिनिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुने १६५ मध्ये खस–आर्य ८२ जना अर्थात ५० प्रतिशत एक्लै जित्न सफल भयो । त्यतिमात्रै होइन, राष्ट्रकै प्रमुख पदहरू राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षमा खस–आर्यको शतप्रतिशत नेतृत्व हुनगयो । ७ मध्ये ४ प्रदेशको मुख्यमन्त्री खस–आर्यको हातमा पुग्यो । न्यायालय, सेना, प्रहरी, लगायत सुरक्षा अंग, आयोग नियोग, मिडिया, गैरसरकारी संस्थामा एकछत्र राज खस–आर्यकै छ । यस्तो स्थितिमा राज्यले अंगीकार गरेको बञ्चित वर्ग, कमजोर, जाति, लिङ्ग, पिछडिएको क्षेत्र, धर्मको प्रतिनिधित्व गर्न अवलम्बन गरिएको समावेशीकरणको सिद्धान्तकै खिल्ली उडाउनेगरी त्यहाँसमेत सबैभन्दा बढी ३१.२ प्रतिशत खस–आर्यलाई नै सिट सुरक्षित गरिने व्यवस्था कसरी न्यायोचित मान्न सकिन्छ ? पछिल्लो पटक समानुपाकिक प्रणालीकै बद्नामी हुनेगरी राजनीतिक नेतृत्वले गलत व्यवहार प्रदर्शन गरे । आरक्षण या समावेशीकरण अब कुन–कुन जाति, महिलाभित्र पनि कुन वर्ग, जाति, क्षेत्रका महिलालाई दिने भन्ने सन्दर्भमा स्पष्ट हुन जरुरी देखियो । महिला कोटाका नाममा नेता र पहुँचवालाकै श्रीमती, साली, आफन्त, बुहारी, नातागोताको हालीमुहाली रह्यो । नेकपा एमाले, माओवादी केन्द्रका प्रभावशाली नेताका श्रीमती, सांसद, बुहारी मन्त्री बन्ने, तर महिला हकका निम्ति लडेका महिला पछि पार्ने षडयन्त्र भए । अब समावेशी सिद्धान्तकै परिमार्जन गर्नुपर्ने जरुरी भैसकेको अवस्था छर्लङ्ग भएको छ ।

संविधान र कानुनमा संशोधन गरी कुल संख्यामै आरक्षित सिट छुट्याउने व्यवस्था गर्नुपर्छ । मानौं २७५ सदस्यीय प्रतिनिधिसभा बनाउने हो भने त्यतिकै संख्यामा निर्वाचन क्षेत्र तोक्ने र दलित महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मुस्लिम समुदायलाई कति प्रतिशत या कति कोटा दिने हो, निश्चित गर्ने । त्यसपछि क्षेत्र निर्धारण गर्दा दलितको दलितसँग, महिलाको महिलासँग, आदिवासी जनजातिको सोही समुदायसँग प्रतिस्पर्धा गराउने । यसो गर्दा नेताको मनोमानी, नातागोता, पक्षधर, छोरी, बुहारी र आफन्त छानिने विडम्बनाको अन्त्य हुनपुग्छ । महिला हकका निम्ति लड्ने अधिकारवादी महिलाहरूसमेत बञ्चित हुनुपर्ने स्थिति अन्त्य हुन्छ । दलितमा समेत योग्य दलित निर्वाचित भएर आउने र आसेपासे नजिकका, सम्पत्ति खर्च गरी पद हत्याउने युगको अन्त्य हुनपुग्छ । यस्तो व्यवस्थाले खस–आर्यको अधिकार एवं भविष्यसमेत सुरक्षित राख्छ । बाहुन, क्षत्री, खस, दसनामी, ठकुरीको नाममा केही टाठाबाठा जातिले मात्रै सधंै सत्ता र शक्तिभोग गर्ने व्यवस्थाको अन्त्य हुन जरुरी छ ।

जाति, लिङ्ग, क्षेत्र, समुदाय, धर्म, भाषा र भेगका नाममा दिइने आरक्षण एकै व्यक्ति या जातले मात्रै पटक–पटक पाउने व्यवस्थाको अन्त्य गर्नैपर्छ । महिलाको नाममा पहाडे खस–आर्य महिला, ठूला घरानाले मात्रै सुविधा प्राप्त गर्ने । आदिवासीको नाममा केवल श्रेष्ठ, भट्टचन, थकाली, लिम्बु इत्यादिले मात्रै लोभ गरिरहँदा अति पछि परेका समुदाय, चेपाङ, राउटे, कुमाल इत्यादिले कहिले अधिकार पाउने ? दलितका नाममा विश्वकर्मा, परियार, मिजार, पासवान, हरिजनले मात्रै अधिकार प्रयोग गरिरहँदा अन्य सधैं अधिकारविहीन रहिरहने ? त्यसैकारण उत्पीडित वर्गभित्रै पनि सीमित जाति, वर्ग, लिङ्ग र समुदायले मात्रै अन्यको समेत अधिकार खोसेर आफूमात्रै हावी भैरहने विडम्बनाको तत्कालै अन्त्य गर्न जरुरी छ ।

नेपालको संविधान २०७२ सबै जात, जाति, वर्ग, समुदाय, लिङ्ग, क्षेत्र, धर्मको बलिदानी त्याग र संघर्षबाट प्राप्त भएको हो । संघीय लोकतन्त्र गणतन्त्र, धर्म–निरपेक्षता, विधिको शासन, समानता र समानुपातिक समावेशीकरण यस संविधानको मूलभूत आधार हुन् । समानता र समानुपातिक समावेशीकरण व्यवस्था लागू गर्ने क्रममा ऐन–नियम निर्माण गर्दा जालसाजी, षडयन्त्र गरी पुन: एकल जातीय शासनसत्ता टिकाउने खेल आएकोप्रति दलित लगायतका उत्पीडित वर्ग तथा महिला सचेत रहन जरुरी देखिन्छ । परिवारवाद, नातावाद, सम्पत्ति मोह, विभेद र असमानता जीवित राखेर कसरी प्राप्त हुन्छ, समाजवादी राज्य ? कित जाति परित्याग आन्दोलन उठाउनुपर्‍यो । राज्यले घोषणा गरी जात व्यवस्था अन्त्य गर्ने र तीनपुस्ते पुरुष नश्लवाद व्यवस्थाको अन्त्य गर्नुपर्‍यो । अन्यथा सबै जात, जाति, भाषा, धर्म, वर्ग, लिङ, समुदाय, क्षेत्रको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई तोडमोड गर्न पाइन्न । शक्तिको दुरुपयोग गर्दा मुलुक जातीय द्वन्द्व, हिंसा र घृणामा फस्ने निश्चित छ ।-कान्तिपुर दैनिक बाट 

Tuesday, April 24, 2018

छात्रवृत्ति कार्यान्वयनका समस्या - भोला पासवान

विभेद बिरुद्ध अभियान ,बैसाख ११  ।   नेपाल सरकारले सबैका लागि शिक्षासम्बन्धी कार्यव्रmम विगत केही दशकदेखि उच्च प्राथमिकतासाथ सञ्चालन गर्दै आएको छ । छात्राहरूको भर्नादर पुरुषसरह समदरमा पुगेको छ । अझ मुस्लिम,दलित,सीमान्तीकृत र पिछडा वर्गलाई कठिन अवस्थामा जिउन बाध्य पारिएको छ । सीमान्तीकृत समुदायका छात्राहरू अझैपनि उच्च माध्यमिक विद्यालयको पहुँचबाहिर रहेको अवस्था छ। 

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले शैक्षिक सुधारका मार्गचित्र सार्वजनिक गरेका छन् । लगत्तै अर्को दिन प्रदेश २को नीति तथा कार्यक्रम पनि सार्वजनिक भएको छ । शक्तिशाली भनिएको सरकारमा पोखरेल दोस्रो पटक शिक्षा मन्त्रालयको बागडोर सम्हालेपछि शैक्षिक क्षेत्र सुधारको सम्भावना बढेर गएको छ । विगतमा पनि शिक्षा मन्त्री हुँदा पोखरेलले सुधारको प्रयास गरेका हुन्।

शैक्षिक सूचकाङ्कमा सबभन्दा कमजोर प्रदेशमात्र होइन, उहाँलाई निर्वाचित गरेर पठाएको महोत्तरी जिल्ला देशकै सबभन्दा कमजोर शैक्षिक सूचकाङ्कमा सूचीकृत छन् । देश,प्रदेश र आफ्नै जिल्लाको शैक्षिक सूचकाङ्क सुधार गर्न ठूलै जिम्मेवारी छ,मन्त्री पोखरेलको काँधमा । यो आलेख शिक्षाको समग्र अवस्था र सुधारबारे केन्द्रित छैन ।  यसअघि  पोखरेल शिक्षा मन्त्री हुँदा दलित,मुस्लिम,सीमान्तीकृत र पिछडा वर्गका छात्राहरूको पहुँचका लागि ल्याइएको ‘रामनारायण मिश्र विशेष छात्रवृत्ति कार्यक्रम र प्रदेश २मा मुख्यमन्त्रीले बेटी पढाऊ, बेटी बचाऊ अभियानमा केन्द्रित छ ।
रामनारायण मिश्रको जन्म महोत्तरीको पिपरा गाउँमा १९७९ जेठ २३ गते भएको थियो । लोकतन्त्रका लागि प्राण उत्सर्ग गरेका थिए । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा महोत्तरीबाट विजयी भएका थिए । लेखक चन्द्रकिशोरका अनुसार मिश्रगाउँहरूको विकासका लागि खेतीमा सुधार र सामुदायिक सद्भावलाई पनि उनी आवश्यक ठान्थे । मूल रूपमा उनी मानवतावादका पक्षधर थिए।

 मन्त्री गिरीराजमणि पोखरेल शिक्षा मन्त्री हुँदा तराईका २० जिल्लाका पिछडिएका दलित र सीमान्तीकृत वर्गका कक्षा ११ र कक्षा १२ मा अध्ययनरत छात्राहरूका लागि ‘रामनारायण मिश्र विशेष छात्रवृत्ति कार्यक्रम २०७२÷०७३को बजेटमार्फत ल्याएका थिए । छात्राहरूको शैक्षिक पँहुच, विद्यालय शिक्षामा टिकाउ दर र विद्यालय चव्रm पूरा गर्ने उद्देश्यले ८० हजार छात्राहरू लाभान्वित हुने लक्ष्यसहित कार्यक्रम ल्याइएको  थियो। 

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको सामुदायिक उच्च माध्यमिक विद्यालयमा कक्षा ११–१२ मा अध्ययनरत पिछडा वर्ग, लोपोन्मुख, सीमान्तीकृत, अतिसीमान्तीकृत, मुस्लिम र दलित छात्राहरूका लागि  वितरण गरिने व्यवस्था छ । कार्यक्रम कार्यान्वयन सहजताका लागि पिछडा वर्ग, लोपोन्मोख, सीमान्तीकृत, अतिसीमान्तीकृत, मुस्लिम र मधेसी दलित जातजातिको विवरण अनुसूचीसमेत उल्लेख गरेको छ। 

छात्रवृत्ति वितरण प्रक्रिया ः सामुदायिक उच्च माध्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका लक्षित समुदायका छात्राहरूका लागि निश्चित समय तोकी सार्वजनिक सूचना जारी गरी छात्रवृत्तिका लागि आवेदन माग गर्ने,प्राप्त आवेदनका आधारमा तोकिएका समूहका छात्राहरूको सड्ख्या यकिन गरी विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा स्रोतकेन्द्रमा पेस गर्ने,स्रोतकेन्द्रले विद्यालयबाट प्राप्त नामनामेसीको वास्तविकता प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ ।
स्रोत केन्द्रले वास्तविक सड्ख्याको विवरण जिल्ला शिक्षा कार्यालयसमक्ष पेस गर्ने,जिल्ला छात्रवृत्ति व्यवस्थापन समितिले स्रोतकेन्द्रबाट प्राप्त नामनामेसीको आधारमा आवश्यकतानुसार नमुनाका रूपमा तथ्याङ्कको सत्यापनसमेत गरी छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गर्ने र जिल्ला शिक्षा कार्यालयले जिल्ला छात्रवृत्ति व्यवस्थापन समितिको सिफारिसका आधारमा छात्रवृत्तिको आवश्यक रकम शिक्षा नियमावली २०५९ (संशोधन सहितको) नियम १६४ को अधीनमा रही विद्यालयको खातामा निकासा दिने व्यवस्था छ।  

कार्यान्वयनको अवस्था ःउक्त छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधि,२०७२ निर्माण भई दुई आर्थिक वर्ष २०७२÷०७३ कार्यान्वयन भइसकेको छ भने आव २०७४/०७५ कार्यान्वयनको क्रममा छ । प्रतिविद्यार्थी वार्षिक ३ हजारका दरले १० हजार विद्यार्थीका लागि बजेट विनियोजन गरिएको छ।

पहिलो आर्थिक वर्षमा २० करोड,दोस्रोमा १९ करोड र तेस्रो (चालु आव)मा २२ हजार ९ सय ५८ जना छात्राका लागि ६करोड ८८ लाख ७४ हजार रकम विनयोजन गरिएको छ । शिक्षा विभागका अनुसार अघिल्लो दुई आर्थिक वर्षमा उक्त छात्रवृत्तिका लागि छुट्याइएको रकममध्ये करिब बढीमा २० प्रतिशत रकम मात्र खर्च भएको जनाएको छ । 
चालु आर्थिक वर्ष २०७४/०७५ बित्नै लाग्दा समेत छात्रवृत्ति वितरण हुन सकेको छैन । यो पंक्तिकारले प्रदेश २को ८ ओटा जिल्लामा छात्रवृत्ति कार्यान्वयनको अवस्थाबारे खोजी गर्दा कुनै पनि जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन भएको पाइएन।

सप्तरी जिल्लामा अघिल्लो आर्थिक वर्षमा १२ सय ६५ जना विद्यार्थीका लागि छात्रवृत्ति आएको थियो । जिल्ला शिक्षा कार्यालय सप्तरीले सीमान्तीकृत,मुस्लिम,दलित र पिछडा वर्गको कोटासमेत छुट्याएर विद्यालयको खातामा छात्रवृत्ति रकम निकासा गरेको थियो । तर सप्तरीको ४७ ओटा उमाविमध्ये कञ्चनरूप नगरपालिकास्थित शंकर मावि र सर्वोदय माविमा मात्र उक्त छात्रवृत्ति वितरण गरिएको पाइयो ।उक्त विद्यालयमा पनि दलित अगुवाहरूले पटक पटक ताकेदा गर्दा मात्र छात्रवृत्ति वितरण गरेको थियो।

सप्तरीमा चालु आर्थिक वर्षमा १६ सय ९७ जना छात्राका लागि रकम आए पनि चैतको अन्तिम सातासम्म ४ सय जनाले मात्र छात्रवृत्ति पाएको जिशिकाको तथ्याङ्क छ । सिरहामा अघिल्लो वर्ष उक्त कार्यक्रम कार्यान्वयन भएन । चालु आर्थिक वर्षमा जिशिकाले विद्यालयलाई माग गरेको कोटाअनुसार सम्बन्धित विद्यालयको खातामा रकम पठाइदिएको छ । 
तर विद्यालयहरूले अझैसम्म छात्रवृत्ति रकम विद्यार्थीलाई वितरण गरेको छैन । सिरहामा चार हजार विद्यार्थीका लागि १करोड २० लाख आएपनि १८ सय ११ जना छात्राहरूले मात्र  ५४लाख ३३ हजार रकम मात्र वितरण भएको छ । बाँकी पैसा फ्रिज हुने पक्का छ।

दोस्रो पटक मन्त्री भएका गिरीराजमणि पोखरेलका गृह जिल्ला र स्वर्गीय रामनारायण मिश्रको समेत जन्मभूमि रहेका महोत्तरीमा अघिल्लो आर्थिक वर्षकै छात्रवृत्ति वितरण भएको छैन । जिशिका महोत्तरीले एउटा पनि विद्यालयले छात्रवृत्ति रकम वितरण गरेको भरपाई नबुझाएकाले चालु आर्थिक वर्षको रकम विद्यालयहरूलाई नपठाएको जानकारी यो पंक्तिकारलाई गरायो।

जिशिका महोत्तरीले विद्यालयहरूलाई पटक पटक छात्रवृत्ति वितरण गरेर भरपाई बुझाउन पत्राचार गरे पनि कुनै पनि विद्यालयले टेरपुच्छर लगाएन । पछिल्लो पटक विद्यालयको नामै किटेर तीन दिनभित्र अघिल्लो वर्षको छात्रवृत्ति रकम वितरण र चालु आर्थिक वर्षको रकम लैजान पत्राचार गर्दा समेत २÷३ ओटा विद्यालयबाहेक कोही पनि सम्पर्कमा नआएको गुनासो जिशिकाका कर्मचारीले गरेका छन् । महोत्तरी,रौतहट,बारा र पर्सा सबैको अवस्था उस्तै छ । 
समग्रमा भन्दा दलित,मुस्लिम,सीमान्तीकृत र पिछडा वर्गका विद्यार्थीहरू उक्त कार्यक्रमबाट लाभान्वित हुनबाट वञ्चित भएका छन् । शिक्षा कार्यालय रहने वा नरहने अन्यौल,रहेपनि कार्यकारी भूमिका नहुने,कर्मचारी अभाव र प्रक्रिया पु¥याउँदा यो वर्ष पनि छात्रवृत्ति कार्यान्वयन हुने सम्भावना देखिँदैन।

जनकपुरमा आयोजित शिक्षा सम्बन्धी एक कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘शिक्षाको नाउँमा अर्बाैं रुपियाँ पठाउने तर प्रभावकारी अनुगमन नगर्दा तराई मधेसको शैक्षिक अवस्था नाजुक भएको हो । सरकारले पैसा विनयोजन गर्छ,निकासा पनि हुन्छ ।तर, त्यो बजेटको उपयोग भयो कि भएन भन्ने विषयसँग कसैले मतलब राख्दैन ।’
मुख्यमन्त्री राउतले भनेजस्तै आकर्षक र गरिबमुखी कार्यक्रम ल्याइए पनि कार्यक्रम कार्यान्वयन भए नभएको खोजीनीति नगर्ने परिपाटीले राम्रा भनिएका कार्यक्रम पनि असफल भएका छन् । शिक्षा कार्यालयले कार्यक्रम कार्यान्वयनमा गरेको ढिलासुस्ती र विद्यालयका प्रअको लापरबाहीका कारण हजारौँविद्यार्थीले वार्षिक रूपमा पाउने रकममध्ये १२ देखि १५ करोडरुपियाँ फ्रिज भइरहेको छ।

संविधान र शिक्षासम्बन्धी नीति,कार्यक्रम र बजेटमा दलित तथा सीमान्तीकृत समुदायका विद्यार्थीहरू कक्षा १२ सम्म निःशुल्क हुने व्यवस्था गरिएपनि ती व्यवस्था कार्यान्वयनमा भइरहेको छैन। अर्कोतर्फ दलित तथा सीमान्तीकृत समुदायका विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुग्ने छात्रवृत्ति कार्यक्रम जिशिका र विद्यालयका प्रअहरूको अक्षमताका कारण असफल बनाइँदासमेत सरोकारवाला निकायको मौनता उदेकलाग्दो छ। 

गरिब निमुखाका लागि राजनीति गर्ने भनिएका राजनीतिक दलका नेता, समाजसेवी कहलिएका जमिनदारहरूको त कुरा छोडौँ, दलित हक अधिकार कार्यान्वयन गर्नका लागि राज्यले निर्माण गरेको वैधानिक संयन्त्र राष्ट्रिय दलित आयोग समेत मौन बस्नु विडम्बानापूर्ण छ।

सूचनाको पहुँचबाट वञ्चित निमुखा मुस्लिम,दलित,सीमान्तीकृत र पिछडा वर्गका विद्यार्थीको कुरा छोडौँ, दलित अधिकारका लागि खोलिएका गैरसरकारी संस्था र दलित अधिकारकर्मी स्वयंलाई पनि कुनै मतलब भएन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि केही सुधार हुन्छ कि भन्ने विश्वास थियो तर स्थानीय तहका नेता पनि भोटमात्र लिएको तर सीमान्तीकृत जनताको सेवा सुविधाप्रति जवाफदेही हुनुपरेको छैन। 

तर सरकारले ल्याएको कार्यक्रम कार्यान्वयन नगरी असफल बनाउन उद्यत विद्यालयका प्रअ तथा शिक्षा कार्यालयका कर्मचारी कारबाहीको दायरमा कहिले आउने, थाह छैन।

मुख्यमन्त्री र शिक्षा मन्त्रीलाई अवसर ःअहिले प्रदेश २का मुख्यमन्त्रीलेठीक त्यस्तै ‘बेटी पढाऊ,बेटी बचाऊ’ अभियान ल्याएपछि सर्वत्र वाहवाही भइरहेको छ । मुख्यमन्त्री राउतले ८ ओटै जिल्लाका जिशिअलाई बोलाएर विद्यालयको गइसकेको र जान बाँकी छात्रा विद्यार्थीवृत्ति रकम वितरण गर्न लगाउनुपर्छ । विगतमा जस्तो केन्द्रीय सत्तालाई सरापेर मात्र काम चल्दैन । यो आर्थिक वर्ष सकिन अझै तीन महिना बाँकी छ,इच्छा शक्ति हुनेले गरेर देखाउन सक्छन् । 
जिशिका र स्थानीय तहसँग सम्मन्वय गरेर मुख्यमन्त्री राउतले यो जिम्मेवारी पूरा गरे मात्र ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानले सार्थकता पाउनेछ । मुख्यमन्त्रीभन्दा पनि एक कदम अगाडि शिक्षा मन्त्री स्वयंले यो कार्यक्रम ल्याएकाले त्यसमा रहेको कमीकमजोरीलाई हटाउँदै कार्यक्रम कार्यान्वयन गर्न विशेष पहलकदमी लिनु आवश्यक छ ।दलित तथा सीमान्तीकृत छात्राका नाममा आएका करोडौँ रकम फ्रिज गर्ने व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा नल्याएसम्म सरकारले जस्तोसुकै राम्रो कार्यक्रम ल्याएपनि सम्बन्धित समुदाय लाभान्वित हुन सक्दैन । अर्को कुरा कार्यक्रमसँगै कार्यान्वयनको ढाँचासमेत ल्याउनु आवश्यक छ ।नागरिक बाट 

सूर्यकुमार सेन्चुरी फलाम कुटेरै मासिक १ लाख रुपैयाँ आम्दानी गर्छन

विभेद बिरुद्ध अभियान ,बैसाख ११  ।   धादिङ - चार कुनामा उभ्याइएका फलामका डन्डी, जस्ताको अस्थायी टहरा, भाँडाकुँडा बनाउन राखिएका फलामका चाङ अनि फलाम तथा तामाका भाँडाकुँडा बनाउँदै गरेका कालीगढ । नीलकण्ठ नगरपालिका–३ धादिङमा व्यवसाय गर्दै आएका सूर्यकुमार सेन्चुरीको आरनको दृश्य टीठलाग्दो भए पनि उनी फलाम कुटेरै मासिक १ लाख रुपैयाँ आम्दानी गर्छन् ।

पुस्तौंदेखि आरन व्यवसाय गर्दैआएका सेन्चुरीको घर गल्छी गाउँपालिका–३ मा छ । बाली उठाएर आरन चलाउँदै आएका उनले जिल्ला सदरमुकाम धादिङबेंसीमा २०४६ सालदेखि साहुको आरनमा काम गरे ।

२० वर्षसम्म साहुको आरनमा काम गर्दा सेन्चुरीले खान, बस्न र घर खर्च चलाउनबाहेक १ रुपियाँ पनि बचाउन सकेनन् । २०६६ सालमा ३ लाख ऋण लिएर आफैंलेआरन व्यवसाय सुरु गरे ।‘गाउँमा बाली उठाएर आरन चलाउँदा हातमा १ रुपियाँ पर्दैनथ्यो, गाउँवासीले खेतीपातीबाट भिœयाएको खाद्यान्न बाली उठाएर दिन्थे, त्यही नै जीविकोपार्जनको उपाय थियो,’ अतीत सम्झँदै उनले भने, ‘व्यावसायिक रूपमा आरन चलाउन थालेपछि अहिले आएर हातमुख जोर्न मात्र होइन मासिक लाख रुपैयाँसम्म बचतसमेत भइरहेको छ ।’

आरन व्यवसायबाट जम्मा भएको रकम र थप ऋण खोजेर उनले २०७० सालमा १५ लाख रुपैयाँ लागतमा निर्माण सामग्री बिक्री पसल स्थापना गरेका छन् । सेन्चुरीका दुई छोरामध्ये एउटा नर्सरी र अर्को एलकेजीमा पढ्छन् । श्रीमतीसहित चार जनाको परिवारको मासिक १० हजार हाराहारीको घर खर्च, आरन रहेको स्थान पसलको घर भाडासमेतमा अर्को १२ हजार हाराहारी उनको खर्च छ । यी सबै खर्च उनको आरन र निर्माण सामग्री पसलबाटै जुट्छ ।

तयति मात्र होइन उनी वित्तीय संस्थाको मासिक ५० हजार ब्याज र किस्तासमेत आफ्नै व्यवसायबाट आर्जन गरेर तिर्छन् । ‘नुनको जोहो गर्न हामी परदेश पुग्छौं तर घरदेशमा सुन देख्दैनौं,’ आशावादी हुँदै उनी भन्छन्, ‘विदेशमा गएर रगत बगाउनुभन्दा नेपालमै पसिना बगाउनसके यहाँ सुन फल्छ ।’

उनी आरन व्यवसायबाट भएको आम्दानी बचत गर्दै पसलमा सामान थप्दै गर्छन् । तीन जनालाई रोजगार दिन पाउँदा खुसी लागेको भन्दै आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको उनले बताए । पेसालाई सानो र ठूलोको रूपमा हेरिन नहुने भन्दै आरन व्यवसाय गर्न चाहनेलाई तालिम पनि दिने सोचमा रहेको उनले बताए ।

नयाँ सामग्री किन्नजस्तै फलाम तथा तामाका पुराना सामग्रीहरू बेच्न पनि उत्तिकै आउने गरेको सेन्चुरी बताउँछन् । नियमित रूपमा आफ्नो आरनबाट निर्माण गरिएका सामग्री धादिङ जिल्लाका विभिन्न स्थानीय तह तथा छिमेकी जिल्लामा समेत लैजाने गरेको उनले बताए ।

कृषि औजारदेखि लिएर पूजाआजा, जन्मोत्सव, विवाहजस्ता शुभकार्य तथा दाहसंस्कारमा आवश्यक पर्ने सामग्रीसम्म आरनमा पाइन्छ । सेन्चुरीकै आरनमा काम गरिरहेका चितवनका ५६ वर्षीय चन्द्रबहादुर विकले मासिक करिब ३० हजार कमाइ गरिरहेको बताए । ३५ वर्षदेखि आरनमा काम गर्दै आएका विकले राम्रो आम्दानी भएपछि छोरालाई पनि सेन्चुरीकै आरनमा काममा लगाएका छन् ।

मकवानपुरका भीमसेन सुनार पनि विगत एक दशकदेखि सेन्चुरीकै आरनमा काम गर्दै आएका छन् । अन्यत्रभन्दा राम्रो तलब दिएका कारण आफू सेन्चुरीसँग काम गरिरहेको उनको भनाइ छ ।

जिल्लाको सदरमुकाम आसपास तथा जिल्लामा आरन व्यवसाय गरेर बस्नेहरू धेरै छन् । पहिले गाउँघरमा बालीमा काम गर्नेहरू केही वर्षदेखि व्यावसायिक रूपमा लागेका हुन् । दैनिक उपभोग्य तथा अति आवश्यक सामग्री बनाइने हुँदा बढी बिक्री हुने गरेको आरन व्यवसायीहरू बताउँछन् ।

पुर्खाैली व्यवसायलाई प्राथमिकता दिँदै नयाँ ज्ञान, सीप तथा प्रविधिको प्रयोगबाट गरिएको आरन व्यवसायीहरूले मनग्य आम्दानी गरिरहेका छन् । रोजगारी नपाएका युवा जमातमा आरन व्यवसायप्रति आकर्षित गर्ने नीति बने आर्थिक उपार्जनका लागि कोही बिदेसिनु नपर्ने सेन्चुरीको दाबी छ राजधानी दैनिकले खबर लेखेको छ ।

सरकारी कार्यालयमै दलित कर्मचारीमाथि विभेद !

विभेद बिरुद्ध अभियान , (शान्ता कमली ) बैसाख ११  ।  जातीय विभेद कानुनी दृष्टीकोणले दण्डित कार्यभएपनि लमजुङको एक सरकारी कार्यालयमै दलित कर्मचारीहरु विभेदमा परेका छन् । लमजुङको राईनास नगरपालिका–६ स्थित धमिलिकुवा स्वास्य चौकीका कार्यरत तिन कर्मचारीले आईतबार बेसीशहरमा पत्रकार सम्मेलन गरी आफुहरु माथि भएको बिभेदबारे जानकारी गराएका हुन् ।

धमिलीकुवा स्वास्थ्य चौकीका इन्चार्ज सहित ३ जना दलीत समुदायका कर्मचारीले कार्यालयमा आफुहरुलाई गैरदलित परिवारका व्यक्तिले जातीय विभेद गरेको आरोप लगाएका हुन । स्वास्थ्य चौकीका ईञ्चार्ज राजेश दुलाल, अनमि वर्षा सुनार र कार्यालय सहयोगी अप्सरा नेपालीले सहकर्मीबाट कार्यालयमै जातियविभेद र दुव्र्यवहार भएको घटना सार्वजनिक गरेका हुन् ।

कार्यालयमा बेलाबखत भईरहने प्रशिक्षण तथा बैठकका अवसरमा दलित समुदायकी कार्यालय सहयोगीले पकाएको खाजा नखानुको साथै उनले भरेको पानी समेत नखाने र दलितले छोएको खादैनौं भन्ने गरेको उनीहरु बताउँछन् ।
लामोसमयदेखि भेदभावपूर्ण व्यवहार गरिदै आएकोमा पछिल्लो समय त्यो क्रम निकै बढ्दै गएको स्वास्थ्य चौकीका कार्यालय सहयोगी नेपालीले बताईन् । दुई महिनादेखि आफुले काम गर्न थालेको र आफुले भरेर राखेको पानी र पकाएको चिया, खाजा गैह्रदलित समुदायका कर्मचारीले नखाने गरेको उनले बताईन् । ‘बिहान भरेर राखेको पानी भाँडोमा जस्ताको तस्तै हुन्थ्यो,’ उनले भनिन् ‘बाँसी पानी खानु हुन्न भनेर दिनदिनै पानी फेरिरहन्थें, धेरेपछि मात्रै दलितले भरेकाले उनीहरुले पानी नखाएको बुझेँ ।’

गत फागुन २३ मा महिला स्वास्थ्य स्वयंसेविकाहरुको बैठक राखिएको र सो दिनमा पनि कार्यालय सहयोगी नेपालीले चाउचाउ खाजा बनाएपछि अनमिहरु विन्दुदेवी चिलुवाल, सरस्वती चिलुवाल, स्वयंसेविकाहरु भवानीदेवी, ठुलीकान्छी चिलुवाल, टिलकुमारी तामाङ, मिराकुमारी घिमिरे, पार्वती कडरिया, कमला विसुराल लगायतले खाजाखान आनाकानी गरेको बुझिएको स्वास्थ्यचौकी ईञ्चार्ज दुलालले बताए ।
कसैले काँचै खान्छौं भन्ने, कसैले नखाईकन मिल्काएको र कसैले बिरामी भएको बाहनावाजी गरेको महिला स्वास्थ्य स्वयंसेविकाहरुबाटै खुल्न आएको पनि दुलालले बताए ।कर्मचारी जस्तो बुझेका व्यक्तिले जातिय विभेद गर्नु नहुने भएकाले सम्झाउने प्रयास गर्दा उनीहरुले उल्टै आफुसँग सवालजवाफ गरेको उनको भनाई छ । विभेदको बारेमा नगरपालिकामा समेत निवेदन दिदा पनि सुनुवाई नभएको स्वास्थ्य चौकी ईञ्चार्ज दुलालले बताए ।

‘स्वास्थ्य चौकीको व्यवस्थापन समितिमा छलफल गर्दा निस्कर्ष निस्किएन उनले भने, ‘नगरपालिका कार्यकायरी अधिकृत देवबहादुर अधिकारीले पनि उल्टै बिभेद गर्नेहरुकै बचाउ गर्नुभयो ।’ स्थानीय स्तरमा न्यायका लागि थुप्रै ठाउँमा धाएपनि न्याय नपाएपछि आफुहरु जिल्लामा आएर पत्रकार सम्मेलन गर्नुपरेको नयाँपत्रिकालाई उनले जानकारी दिए ।

त्यसबारेमा बुझ्दा अनमी विन्दूदेवी चिलुवालले आफूहरूले सँगै खाने बस्ने गरेका छौँ त्यस्तो विभेदको व्यवहार नगरेको बताइन् । यसबारेमा राइनास नगरपालिकाका कार्यकारी प्रमुख देवबहादुर अधिकारीलोई सम्पर्क गर्दा निवेदन आएको छ तर निवेदन आफूले उपमेयरलाई दिएको बताए ।

उनले भने, ‘महिनै पिच्छे हुने बैठकमा राजेश आउँछन् सँगै बस्छौँ, खाजा खान्छौँ, त्यस्तो विभेदको व्यवहार हामीले गरेको जस्तो लाग्दैन । त्यो निवेदनमा उपमेयरले दुवै पक्षलाई राखेर छलफल गराउने भन्दै हुनुहुन्छ, आज पनि फोन गर्नु भएको थियो तर उनी यता आउनुको सट्टा बेसीशहर गएछन्, के गर्न खोजका हुन् बुझिन ।’

यस विषयमा बुझेर समस्या समाधान गर्न उपप्रमुख एवं न्यायिक समितिका प्रमुख धनकुमारी गुरुङ सँग सल्लाह भएको नगरप्रमुख सिंहबहादुर थापाले बताए । केहीदिनमै सो घटनाको छानबिन गरी समस्या समाधान गरिने पनि उनी बताउँछन् ।

कर्मचारी माथि भएको जातिय विभेद र दुव्र्यवहारको घटनाले आफुहरु दुःखी भएको र समस्या समाधान नभए दवाव तथा विरोधमा उत्रिने मुक्ति समाजका अध्यक्ष प्रेम रम्तेल, मुक्ति मोर्चाका अध्यक्ष देवबहादुर गहतराज, दलित सेवा संघका अध्यक्ष दलबहादुर मजाकोटी र दलित सञ्जाल राईनासका अध्यक्ष शंकर नेपालीले बताएका छन् ।

सुर्खेत विरेन्द्रनगरकी अनमि वर्षा सुनारले दलित भएकै कारण कोठाभाडा पाईनन्

विभेद बिरुद्ध अभियान , (शान्ता कमली ) बैसाख ११  । धमिलिकुवा स्वास्थ्यचौमै कार्यरत अनमि सुर्खेत विरेन्द्रनगरकी वर्षा सुनारले पनि आफुमाथि जातिय विभेदपूर्ण व्यवहार भएको भन्दै दुखेसो पोखिन् । ०७२ मा नियुक्ति लिएर राईनास मोहोरियाकोट स्वास्थ्य चौकीमा खटिएको र दलित भएकै कारण गाउँमा कसैले पनि कोठा नदिएको नमिठो भोगाई उनले सुनाईन् ।

तत्कालिन स्वास्थ्य चौकी ईञ्चार्ज आनन्द सेढाईंले कोठा खोज्न निकै खटेको तर सानोजातकी भन्दै कसैले कोठा दिनै मान्दैनन्’ भनेपछि साह्रै दुःख लागेको उनले बताईन् । गाउँमा कतै कोठा नपाएपछि स्वास्थ्य चौकीमै बस्न थालें,’ उनले भनिन्, ‘त्यहाँ अकलादेवी अधिकारी दिदी अर्कोकोठामा बस्नु हुन्थ्यो तर, उहाँले मलाई यति छिःछि र दुरदुर गर्नुभयो कि, भनिसाध्यै छैन ।’

गाउँलेहरु र आफ्नै सहकर्मीबाट भएको दुव्र्यवहारले आफुलाई निकै तनाव भएकाले धमिलिकुवा सरुवा भएको तर त्यहाँपनि उस्तै सास्ती भोग्नु परेको उनले बताईन् । ‘नपढेका, नबुझेकाहरुले भेदभाव गर्छन्, छुवाछुत गर्दछ् भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘समयले मलाई एउटा फरक पाठ सिकायो, शिक्षित र जानेबुझेकै मान्छेहरुबाट पनि त्यस्तो हुँदो रैछ ।’

Monday, April 23, 2018

अन्तरजातीय विवाह गर्ने जोडीलाई आमाभन्दा बाबुबाट समस्या

विभेद बिरुद्ध अभियान , बैसाख १० ( नारायण खड्का ) - परिवर्तित समयसँगै आजभोलि समाजमा अन्तरजातीय विवाह सहज बन्दै गएको पाइएको छ। अन्तर जातीय विवाह गरेका जोडीहरूले दलित र गैर दलित जात बीचको विवाह समाजमा विस्तारै सहज रूपमा स्वीकार्य बन्दै गएको बताएका छन्।

दीपक/देवा जोडी
५३औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसका अवसरमा सेतोपाटीले दाङमा अन्तरजातीय विवाह गरेका केही जोडीहरूसँग बुधबार गरेको कुराकानीमा अन्तरजातीय विवाह समाजमा स्वीकार्य बन्दै गएको ती जोडीले बताए।

ती जोडीहरूमध्ये अधिकांशले अन्तरजातीय विवाह सामाजिक चेतना बढेसँगै स्वीकार्य बन्दै गएको बताएता पनि तर माइती पक्ष र घर पक्ष दुबै तर्फबाट मानसिक यातना दिने क्रम भने अझै पूर्ण रूपमा बन्द भइनसकेको गुनासो गरे। अन्तरजातीय विवाह गरेकामध्ये अधिकांशले आमाभन्दा बाबुबाट समस्या हुने गरेको अनुभव साटेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ भमके निवासी २१ वर्षीय दीपक विक र २० वर्षीया देवा गिरीले भागी विवाह गरेको ६ वर्ष पुग्यो। उनीहरूबाट ५ वर्षीय एक छोरा र २ वर्षीया छोरी पनि छन्। उनीहरू एकै गाउँका थिए। प्रेम भएपछि भागी विवाह गरे । तर गिरीकी छोरी विकसँग भागेको भन्दै माइतीले २ वर्षसम्म स्वीकार गरेन। छुटाउन धेरै प्रयास भए।

‘तल्लो जातसँग विवाह गरी भनेर माइतीबाट धेरै छुटाउन प्रयास भएपनि म विचलित भइन,’ देवाले भनिन्। विस्तारै आमा बोल्न थालेपछि आफू माइतीमा आउने जाने गरेको तर बुबा भने अझै पनि राम्रोसँग बोल्न मन नगरेको देवाले बताइन्। आज दीपकले वाइरिङको काम गर्छन् भने देवाले  सिलाइ कटाइ गरेर राम्रैसँग गृहस्थी गरिरहेको बताइन्। सुरूमा अन्तरजातीय विवाह गर्दा आफ्नो व्यापक आलोचना भएपनि आज त्यो सहज बनेको देवा गिरीले बताइन्।
योयल / पवित्रा 

४ वर्ष पहिले प्रेममा परेर भागी विवाह गरेका तुलसीपुर ८ नयाँ बस्ती निवासी २४ वर्षीय योयल सुनारसँग सोही गाउँ निवासी १९ वर्षीया पवित्रा केसीले कक्षा १० मा पढ्दा पढ्दै विवाह गरिन्। अन्तरजातीय विवाह गरेपछि पवित्राका बाबु पनि उनीसँग अझैसम्म बोलेका छैनन्। तर, आमा भने बोल्छिन्।

‘मेरो विवाहको एक वर्षपछि आमा बोल्नु भयो, माइतीमा पनि बोलाउनु भयो तर, बुबा भने अझै बोल्नु भएको छैन,’ पवित्रा केसीले भनिन्। उनीहरूबाट जन्मिएकी ३ वर्षीया छोरीलाई भने सबैले बोलाउने गरेको उनले बताइन्।


गोविन्द/तारादेवी
तुलसीपुर १ पवननगर निवासी ७१ वर्षीय गोविन्द सापकोटा र ५९ वर्षीया तारादेवी सुनारले ३३ सालमा विवाह गरेका हुन्। उनी ३ वर्षको हुँदा बुबा बितेका थिए भने ६ वर्षको हुँदा  उनले आमा गुमाउनु परेको थियो।

गोविन्दले पहिलो पत्नी बेलमतीको मृत्यु भएपछि तारादेवीसँग प्रेम विवाह गरेको थिए। उनीहरूको एक छोरी पनि छन्। उनीहरूको जीवन राम्रै चलिरहेको जानकारी दिए। सापकोटाले अन्तरजातीय विवाहपछि थुप्रै समस्या झेल्नु परेको बताए।

‘कति पीडा खेप्नुपर्‍यो  कति त्यो भनेर साध्य नै छैन, अञ्चल प्रहरी र थानामा धेरै पटक थुनिएको तथा धेरै कुटाइ खाएको छु,’– गोविन्द सापकोटाले अगाडि थपे, ‘तर पनि हामी विचलित भएनौं घर गृहस्थी गरेरै देखाएका छौं।’

उतिबेला अहिलेको जस्तो खुला समाज र परिवेश नभएको हुँदा आफूले अन्तरजातीय विवाहपछि पाउनु दुःख पाएको सापकोटाले बताए। तर उनले त्यसलाई समाजको चेतना र शिक्षाको स्तरसँग तुलना गर्नुपर्ने बताए। बाहुनको छोरा किन दलितसँग विवाह गर्नु भयो त ? भन्ने प्रश्न गर्दा गोविन्दले भने ‘हेर्नुहोस्, सबैकुरा आफ्नो वैंशको हुन्छ, मन चित्तको हुन्छ, कि मात्यो धनले कि मात्यो मनले त्यही त हो।’ तर सापकोटाले भने आफूलाई महिला र पुरुष भन्ने जात मात्रै थाहा भएको र अन्य जातभातको कुराको मतलब नभएको बताए। आफन्तले के भन्छन् नि ? भन्ने प्रश्नमा जवाफ पनि गोविन्दले सहज रूपमै दिए ‘मनमा अलिअलि तुष त हुन्छ होला नै तर, मेरो अगाडि कसैले केही भन्न सक्दैनन्। आज मेरोमा आफन्त आवात जावातमा पनि समस्या छैन।’

संजिव/यशोदा

नेपालगञ्ज माइती घर भएकी २० वर्षीया यशोदा गुरुङ हाल पनि कोहलपुरको एउटा विद्यालयमा पढाउँदै आएकी छिन्। दाङको तुलसीपुर १ भमके निवासी २० वर्षकै संजिव नेपाली पनि बाँकेमा अध्ययन गर्ने क्रममा उनीहरूको माया प्रेम बसेपछि र चार महिनाअघि भागी विवाह गरेको उनीहरूले बताए।

संजिव मेडिकल ल्याबमा काम गर्छन् र यशोदा विद्यालयमा विज्ञान विषय पढाउँछिन्। आफ्नो राजीखुसीका साथ यो जोडीले बिहे गर्दा पनि माइती पक्ष र घर दुबै तर्फबाट समस्या भने झेल्नु परेको बताउँछन्।

‘मैले नेपालीसँग विवाह गरेपछि पारिवारिक समस्या भयो। बुबा मम्मी रिसाउनु भयो। तर आज विस्तारै सहज हुँदैछ,’– यशोदाले थपिन्,‘चार महिनापछि आज मम्मी बोल्नु हुन्छ। म माइती पनि जान थालेकी छु। मम्मीले संजिवसँग पनि फोनमा कुरा गर्न थाल्नु भएको छ। तर, बुबा भने बोल्नु हुन्न।’

शुक्रराज / बालिका
तुलसीपुर ८ दुधेना निवासी ३० वर्षीय शुक्रराज चौधरीले सोही ठाउँ निवासी २५ वर्षीया बालिका विकसँग प्रेम भएपछि भागेर विवाह गरे। उनीहरूको ६ वर्षे छोरा सन्दीप चौधरी पनि छन्। तर पनि उपल्लो जात मानिने चौधरीसँग विवाह गरेको भन्दै बालिकाको बाबु आमा रिसाएर ६ महिना घर पस्न नदिएको बालिकाले स्मरण गरिन्।

‘आफ्नो जातभन्दा माथिको सँग विवाह गर्ने भन्दै मसँग आमा बुबा रिसाएका थिए तर पछि विस्तारै मैले मनाउन सकेँ,’ बालिकाले भनिन्। सुरूमा घरमै उनीहरूलाई विकसँग बिहे गरेको भनेर खिसी गरे पनि पछि विस्तारै सहज भएको उनीहरूले बताए। तर, परिवारले आफूलाई छुट्याएर एक्लै बनाएको उनीहरूले बताए। अरुले जे गरेपनि आफूहरू भने खुसी राजी भएको उनीहरूको तर्क थियो।

‘जात भात भन्ने गलत कुरा हो। कोही मान्छे जातले उचो र निच हुँदैन,’– शुक्रराज चौधरीले भने, ‘सबैभन्दा महत्वपूर्ण सवाल व्यक्तिको चिन्तन हो, क्षमता हो र विश्वास हो।’ सेतोपाटिवाट ।   

अन्तरजातीय विवाह गरेको आरोपमा गाउँ र घरबाट विस्थापित

विभेद बिरुद्ध अभियान , बैसाख १० ( नरी बडु ) - दशरथचन्द नगरपालिका- ६ बगछनाका २४ वर्षीय सुरेश नाथ र अछामको मङ्गलसेन नगरपालिका-७ लाछिमनाकी २२ वर्षीया राधिका औझीले अन्तरजातीय विवाह गरेको थाहा पाएपछि परिवारले परिवारबाट र गाउँलेले गाँउबाट विस्थापित गराएका छन् । उनीहरू अहिले सदरमुकाममा बस्दै आएका छन् ।

०७३ वैशाख २० गते विवाह गरेका उनीहरूले यस भन्दा अगाडि अन्तरजातीय विवाहको बारेमा परिवारलाई बताएका थिएनन् । राधिकाको नागरिकता बनाउन माइती पक्षको नागरिकता आवश्यक पर्ने भएपछि राधिका दलित भएको परिवारले ‘थाहा’ पाएका थिए ।

परिवारले दलित भनेर थाहा पाएपछि आफूहरू गाँउबाट विस्थापित भएर सदरमुकाममा बस्दै आएको पीडित सुरेस नाथले बताए । ‘पहिला त बताएका थिएनौँ । तर, उनको (पत्नीतिर देखाउँदै) नागरिकता बनाउँदा बुवाको नागरिकता पनि चाहिने भएकाले परिवारले थाहा पाए ।’-नाथले भने ।

विगत १५ दिनदेखि होलमा बस्दा आफूहरूलाई निकै समस्या परेको पीडितको गुनासो छ । अन्तरजातीय विवाह गरेपछि नेपाल सरकारले दिने गरेको प्रोत्साहन रकम समेत आफूहरूले नपाएको उनीहरूको गुनासो छ । परिवारले दलितको छोरी छोड भन्ने दबाव दिइरहेको नाथको गुनासो छ । नाथ दम्पतिकी ५ महिने एक छोरी छिन् ।

वडा अध्यक्षले चुनावका बेला भोट नदिएको भन्दै केहि दलित बृद्धहरुको भत्ता रोके

विभेद बिरुद्ध अभियान , बैसाख १० - कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ को बण्डकी ७४ वर्षिया किथ्थी लुहारले २०६५ सालबाट समाजिक सुरक्षा भत्ता बुझ्दै आएकी थिईन्। तर स्थानीय तहमा जनप्रतिनिधी निर्वाचीत भएर आएसंगै उनले पछिल्ला दुई चौमासिकको भत्ता पाएकी छैनन्। वडा अध्यक्ष मोहन बस्नेतले चुनावका बेला भोट नदिएको भन्दै बृद्ध भत्ता रोकेको आरोप लागेको छ। वडा अध्यक्ष बस्नेतले कृष्णपुर नगरपालिका १ बण्डका केहि दलित परिवारले चुनावका बेला भोट नदिएको भन्दै बृद्धभत्ता रोकेको आरोप लागेको हो।

७४ वर्षिया किथ्थीले बस्नेत वडा अध्यक्ष भएर आएपछि भत्ता नमिलेको गुनासो गरिन्। उनले २०७४ असार २० गते भत्ता पाएपनि त्यसपछिका २ चौमासिकको ८ हजार रकम नपाएकी हुन्। कित्थी मात्रै होईन सोही ठाँउ बस्ने घुइरे पार्कीले पनि जनप्रतिनिधी आएपछि बृद्धभत्ता पाएका छैनन। घुइरे पार्कीकी श्रीमती कमला पार्कीले चुनावका बेला अध्यक्षले मलाई भोट नदिए श्रीमानको बृद्ध भत्ता दिदैन भनेको बताईन्। बुढाको दुई चौमासिकको ८ हजार भत्ता नपाएको उनले गुनासो गरिन।

सरकारले सामाजिक सुरक्षाका नाममा वितरण गर्ने बृद्धभत्ताको अहिलेसम्मको रकम कृष्णपुरको वडा नम्बर १ को वडा कार्यालयले वितरण गरिसकेको छ। तर केहि दलित समुदायका ज्येष्ठ नागरीकहरुलाई भोट नदिएको भन्दै भत्ता नदिएपछि कृष्णपुर नगरपालिकाका मेयरका उमेद्वार समेत रहेका हरि टमटा लगायतले भत्ता बितरण स्थलमै बिरोध जनाएका थिए। आफुले भत्ता नपाएको बिषयमा सामान्य बिरोध जनाएपछि प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्धा चलाएको हिरासतमै रहेका टमटाले बताए।

‘अघिल्लो चौमासिकमा पनि दलित समुदायका केही बृद्धबृद्धाले भत्ता नपाएका रहेछन्, यसपालि पनि अरुलाई भत्ता वितरण गरिएछ उनीहरु म कहाँ आए’ दिनेश खबरसँग टमटाले भने, चैत ३० गते सामुदायिक स्वास्थ्य इकाई निगालीमा भत्ता वितरण हुदै थियो, मैले भत्ता दिनुपर्छ किन रोकेको भन्दा प्रहरी बोलाएर उल्टै मलाई हिरासतमा राखेका छन्।’ टमटाले वडा अध्यक्षमाथी हातपात गरेको र सरकारी कागजात च्यात्न खोजेको भन्दै ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिइ सार्वजनीक मुद्धा चलाएको हो।

यता भोट नदिएपछि भत्ता रोकेको आरोप लागेका वडाअध्यक्ष मोहन बस्नेतले भने वडा कार्यालयबाट नगरपालिकामा नाम सिफारिस गरिसकेको दाबि गर्दै विविध कारणले नाम छुटेको बताए। ‘भत्ता नपाएकाहरुका विषयमा छलफल सुरु भइसकेको छ वडा अध्यक्ष बस्नेतले भने’, ‘छुटेकाहरुको भत्ता मिली हाल्छ।’ वडा अध्यक्ष बस्नतेले प्राविधिक त्रुटीका कारण भत्ता रोकिएको बताएपनि ८ महिनासम्म उक्त त्रुटी नसच्चीनु भनेको जनप्रतिनिधिहरुको लापरवाही हो। दुई चौमासिकको बृद्धभत्ता रोकेपछि आक्रोसीत दलित परिवारहरुले बिरोध जनाउदा एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्धा चलाएपछि विवाद झनै बढेको छ।

Saturday, April 21, 2018

पुजारीले एक दलितलाई काँधमा बोकेर मन्दिर छिराएको घटना अहिले भारतभर चर्चामा

विभेद बिरुद्ध अभियान - सुर्खेत, ८ वैशाख–हैदरावादमा पुजारीले एक दलितलाई काँधमा बोकेर मन्दिर छिराएको घटना अहिले भारतभर चर्चामा छ ।

यसलाई नाटकीय कदमको रुपमा हेरिएको छ किनकी विगतदेखिनै दलितहरुलाई मन्दिरमा प्रवेशमा निशेध गरिएको छ । हिन्दु रुढीवादीहरुले दलितहरुलाई अशुद्ध मान्दै आएका छन् । भारतमा  आजको दिनसम्म पनि अधिकाशं हिन्दु मन्दिरहरुमा दलितलाई प्रवेश गर्न दिइँदैन ।

“म मानिसहरुलाई इश्वरको नजरमा सबै समान छन् भनेर देखाउन चाहन्थेँ।” पुजारी सी.एस. रङ्गराजनले भनेका छन् । 

हिन्दु धर्मको कठोर स्तरीकरणमा सबैभन्दा तल रहेका दलितहरु भारतीय उपमहाद्विपका सबैभन्दा दमित नागरिकहरु हुन् । उनीहरुको प्रतिरक्षा गर्न कानुनहरु बनेको भएता पनि दैनिक जीवनमा पटक पटक उनीहरुले भेदभाव सहनुपर्छ । भारतमा मात्र २ करोड दलितहरु रहेका छन् ।

परम्परादेखि उनीहरुलाई उच्च जातबाट अलग राखियो । उनीहरुलाई उच्च जाति जाने मन्दिर, स्कुल र यहाँ सम्मकी पानीका श्रोतहरु जस्तो इनारहरुमा निषेध गरिन्छ । उनीहरुमाथि कयैन पटक विभेद ,अपमान, शोषण र हिंसाको शिकार हुन्छन् ।

रङ्गराजन हैदरावादमा रहेको चर्चित चिलकुर मन्दिरको प्रमुख पुजारी हुन् । मन्दिर पसिसकेपछि रङ्गराजन र युवा दलित आदित्य(जसले नामको पहिलो भागमात्र प्रयोग गर्छन्) ले प्रर्थना र पुजा गरे ।
“दलितहरु विरुद्ध धेरै भेदभाव रहेको छ तर यो हाम्रो समाजबाटै उब्जिएको हो, धार्मिक ग्रन्धहरुबाट होइन,” आदित्यले भने । उनले आफूलाई धार्मिक व्यक्तिको रुपमा व्याख्या गरे । उनले वर्षौ हिन्दु ग्रन्ध र दार्शनिक लेखनको अध्ययनमा बिताएका छन् ।

रङ्गराजनले आफूले हालसालै सहभागीता जनाएको एक दलित पहिचान सम्बन्धी बहसबाट प्रभावित भएर यो काम गरेको बताए । एक विश्वविध्यालयमा बहशका क्रममा उनले विद्याथीहरुलाई सताब्दीऔं पुरानो एक मिथक भनेका थिए, जसमा एक दलित भक्तलाई पुजारीले काँधमा राखेर मन्दिर पसाएको कथा छ ।

मिथक अनुसार थ्रिउप्पन अलवर नामक एक भक्तलाई तमिल नाडूमा रहेको हिन्दुहरुको पवित्र मन्दिर श्रीरङ्गम मन्दिरमा प्रवेश गर्न रोकिन्छ । त्यसपछि उनी दिनभरी मन्दीर बाहिर भजन गाएर बस्न थाल्छन् । यो कुरा मन नपराएको एक साधुले उसलाई ढुण्ङ्गा हानेर भगाउन खोज्छन् । साधुको कर्मले अलवर रगतपक्ष भएर त्यहाँबाट हिँड्छ ।

कथाका अनुसार जब साधु मन्दिरमा पस्दछ भित्र मुर्तीबाट पनि रगत आइरहेको पाउछ । त्यसपछि आफ्नो गल्ति महसुस गरेर साधुले अलवरलाई काँधमा बोकेर मन्दिर प्रबेश गराएको जनयुक्ति छ ।
आज अबलर एक सम्मानित साधु मानिन्छन् ।

जब रङ्गराजनले विद्यार्थीहरुको अगाडी यो कथा भने केही दलित विद्यार्थीहरुले यसमा शंका व्यक्त गरे । तीनले उनलाई आजको दिनमा कुनै मन्दिरका पुजारीले त्यसो गर्न सक्छन् प्रश्न गरे । प्रश्न सुनेपछि उनी आफैले यो कार्य गर्ने निर्णय गरे ।

“म अरुले पनि यस्तै गरुन् भन्ने आस गर्दछु । मेरो अर्थ सबैले दलितलाई काँधमै बोक्नुपर्छ भनेको होइन । तर तिनले दलितहरुलाई मन्दिरमा स्वागत गर्नै पर्छ,” रङ्गराजनले भने ।

आदित्यले बीबीसीसँग आफूले परिवर्तनको आसा गरेको बताउदै आफ्नो गाँउमा दलितहरुलाई मन्दिर प्रवेश गर्न बन्देज रहेको बताए ।

उनले रङ्गराजनले आफूलाई बोकिरहदा उपस्थित रहेका अरु पुजारीहरुले पनि आफूले काम गर्ने मन्दिरमा यस्तै गर्ने घोषणा गरेको बताए ।

“हामीहरु अरुको काँधमा बोकिन चाहदैनौं । हामीले खासमा चाहेको उदारता र सम्मान हो । हामी समुदायको हिस्सा हुन चाहन्छौं ।” तिलकले भने ।
तर सबै यत्तिकै आसाबादी छैनन् ।

“यो घटनाले केही बढी दलितहरुलाई मन्दिर प्रबेश सम्भव पार्न सक्छ तर बाँकी सुधारको कुरामा शंका लाग्छ । जाति प्रथा हिन्दु धर्मको अनिवार्य हिस्सा हो ।” कलेजकी प्रध्यापक रहेकी एक दलित अभियन्ता सुजाथा सुरेपाल्लीले भनिन् ।

उनको टिप्पणी पछिल्लो समय दलित र उच्च जाति हिन्दुहरुबीच तनाब बढीरहदा आएको हो ।

अभियन्ताहरुले पछिल्लो समय युवा दलितहरुमा बढेको उत्साह र मेहनतले दलितहरुको जीवनमा सुधार भइरहेको बताए । यो सँगसँगै यसलाई स्वीकार गर्न नसकेका उच्च जातिहरुबाट दलितहरु माथि पनि हिंसा बढीरहेको छ ।

हालसालै भारतको सर्बोच्च अदालतले दलितहरुको संरक्षण गर्ने एक कानुन हटाएको विरोधमा दलितहरुले विशाल विरोध प्रदर्शन गरेका थिए । त्यो विरोधको क्रममा आठ जना मानिसहरुको ज्यान गएको थियो ।

अस्पतालले बेड नभएको बताउँदै फिर्ता पठाए पछि सिर्जना विक सडकमै बच्चा जन्माउन बाध्य

विभेद बिरुद्ध अभियान - सुर्खेत, ८ वैशाख–तपाईंलाई सुन्दा अच्चम लाग्ला, राजधानीमै बच्चा सडकमै जन्मियो भन्दा । यो सत्य कुरा हो ।दैलेख डाँडापराजुल घर भएकी सिर्जना विकले शनिबार विहान करिब ६ बजे वीरेन्द्रनगर–६, बुद्धपथ नजिकै रहेको देउराली होटल बाहिरै बच्चा जन्माएकी छिन् । उनले सुविधा सम्पन्न वीरेन्द्रनगर बजारमा कम्बलको सहारामा बच्चा जन्माएकी थिइन् ।

तीन दिनअघि क्षेत्रीय अस्पताल कालागाँउमा बच्चा जन्माउनका लागि आएकी विकलाई अस्पतालले बेड नभएको बताउँदै फिर्ता पठाएको थियो । आर्थिक अवस्था नाजुक रहेकाहरुका लागि सरकारी अस्पतालले सेवा दिनुपर्नेमा उल्टै सेवाग्राहीहरुलाई होटलको बास बनाउने अस्पताल प्रशासनको गैरजिम्मेवारी पनका कारण सुत्केरी महिलाको ज्यान समेत जोखिममा पर्यो ।

होटलमा बसिरहेकी विकलाई एक्कासी व्यथा लाग्दा अस्पताल लैजान खोज्दा–खोज्दै देउराली होटलको बाहिरै बच्चा जन्मिएको हो । बच्चा जन्मिसकेपछि प्राथमिक उपचारका लागि देउती अस्पतालबाट नर्सहरु आएका थिए ।

उनीसँग एम्बुलेन्समा जाने पैसा नभएपछि नेपाल चेम्बर अफ कमर्स सुर्खेतका कोषाध्यक्ष हेमा उपाध्यायले आर्थिक सहयोग गरेर क्षेत्रीय अस्पताल कालागाउँ पठाएकी थिइन् । यसरी राजधानीमै सडकमा बच्चा जन्माउनु पर्ने कर्णालीमा अन्यत्रको अवस्था के होेला, अनुमान लगाउन गाह्रो छैन ।लोकान्तरमा खवर छ ।

Friday, April 20, 2018

दलितलाई नै चल्दैन दलितले छाेएकाे पानी

विभेद बिरुद्ध अभियान - बझाङ, वैशाख ७ – सदरमुकाम समेत रहेको तत्कालिन चैनपुर गाविसकी आशा रसाइली (सुनार) ले स्थानीय बिक थर भएका युवासँग प्रेम विवाह गरिन ।

कामीसँग विवाह गरेर जात फालेको भन्दै उनका माइती पक्ष आक्रोशित भए । उनीहरुले आशासँग विवाह गरेका लोकेन्द्र बिकको घर तोडफोड गरे । दोहोरो झडप भयो । लोकेन्द्रका दाजुहरुसहित आशाका माइती पक्षका युवाहरु पनि घाइते भए ।घटना प्रहरीमा पुग्दा अर्कै मोड लियो । ज्यान मार्ने उद्योग गरेको भन्दै दुवै पक्षले मुद्धा दायर गरे । दुवै पक्षका १२ भन्दा बढी पक्राउ परे । लामो समयसम्म मुद्धा चल्यो । विवाह भएको ८ वर्षपछि मात्र गएको दशैंमा आशाका माइती पक्षले यो सम्बन्ध स्विकार गरे । ‘मेरा घरका आमा बुवा भन्दा पनि छिमेकीहरु सबैले तेरो छोरीले जात फाली भनेर उचालेर यस्तो घटना भएको हो’, आशाले भनिन ‘ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धा चलाए पनि भित्री कारण भनेको तल्लो जातसँग बिहे गरेको आक्रोशमा यो घटना भएको डिबी विष्टले उज्यालोमा समाचार लेखेका छन्  ।’

त्यो घटना ८ वर्ष पुरानो हो । दुई वर्ष अघि बझाङ घर भएर कञ्चनपुरको बंकमा बसोवास गर्दै आएका रबी बादीले बंक जातकै बिक थर भएकी एक युवतीसँग प्रेम विवाह गरे । तल्लो जातले छोरी भगाएको भनेर बिक परिवारले रबीकी आमा, बहिनीलगायतका आफन्तहरुलाई निर्धात कुटपिट गरे ।  

घटनाको प्रत्यक्षदर्शी चैनपुर घर भएकी रबीकी दिदी राधा बादीले भनिन् ‘भाइबुहारी भागिसकेका थिए । उनीहरुलाई लुकाएको भनेर हामीलाई धेरै धम्क्याए, कुटपिट गरे । आमाको छातीमा कुल्चिए । कुटाइ त हामी सबैले खायौ । मारिदिने धम्की दिन थाले पछि त्यहाँको घर नै छोडेर भाग्यौं ।’बिक परिवारको डरले बंकबाट रबीको परिवार नै विस्थापित भयो । अहिले उनीहरु कैलाली जिल्लाको अत्तरियामा बसोबास गरिरहेको राधाले बताउनुभयो ।

यी दुई घटना दलितभित्र रहेको छुवाछुतको अवस्था झल्काउने साना उदाहरण मात्र हुन् । सार्वजनिक भएका यी घटनाहरुले मात्र दलित भित्रको रहेको छुवाछुतको समग्र अवस्था व्याख्या गर्न सकिन्न । भुक्तभोगीहरु अहिले पनि दलित भित्रको छुवाछुतको अवस्था अत्यन्तै क्रुर र दयनिय रहेको बताउछन ।

‘कहिले पानी छोएको, कहिले भाँडा छोएको, खानेकुरा छोएको भनेर हाम्रा केटाकेटीहरुले कुटाइ नखाएको दिनै छैन’, सदरमुकाम चैनपुरकी किथ्थी बादी भन्छिन् ‘अबोध बच्चाहरु आँखैं अगाडि कुटपिट हुँदा पनि हामी केही बोल्न सक्दैनौं । बोल्यो भने हामीलाई नै कुटपिट गर्छन । छिमेक मै उनीहरुको घर छ । दिन दिनै बादीहरु तिम्रा छोराछोरी सम्हाल भनेर गाली नखाएको दिन छैन ।’

उनको छिमेकमा सुनार, रसाइली, बिक र दमाई जातीका दलितहरुको बसोवास छ । ‘बरु गैर–दलितहरुले पहिलाको जस्तो छोइछिटो गर्न छोडिसके । दलितहरु सुध्रिएका छैनन’, जानु बादीले भनिन्, ‘उनीहरुमा खाएको भाडा आफैले धुनुपर्छ । धोएर मात्र हुँदैन । भाडा राम्रोसँग सुकेपछि गहुंत वा सुनपानी छरेर मात्र शुद्ध भएको मान्छन । हामीलाई घर भित्र पस्न त के नजिक बस्न पनि दिँदैनन ।’ 

दलित भित्र पनि जातिगत तह छन । बझाङमा दलित भित्रको सबैभन्दा ठूलो जात सुनार मानिन्छ भने सबैभन्दा तल्लो जात (दलित भित्रको पनि दलित) बादीलाई मान्ने गरिन्छ । दलित भित्रको जातिय तह यतिकैमा टुँङ्गिदैन । च्याम्यां, हुड्के आदी जातहरुलाई पनि बादीकै हाराहारीको स्थान दिइन्छ । बादी, च्याम्यां, हुड्के जातले छोएको पानी अन्य कुनै पनि दलितले खाँदैन । 

बादीभन्दा एक स्थान माथि दमाई जातलाई मान्ने गरिएको छ । दलित भित्रको जातिय बर्गिकरणमा दमाइभन्दा माथि सार्कीलाई राखिएको छ भने सार्कीभन्दा माथिको स्थानमा कामीलाई राख्ने गरिन्छ । 

सुनार, कामी आदी जातलाई सार्की र दमाइले छोएको पानी चल्दैन भने दमाइको हातको पानी सार्कीहरुले पनि खाँदैनन । प्रत्येक जातका मन्दिरहरु पनि अलग–अलग नै छन् । कथित तल्लो जातका लागि माथिल्लो जातको मन्दिरमा पूजाआजा गर्न बन्देज छ । 

जिल्ला भरका दलितहरुमा पनि बादी, दमाइ, सार्की, कामी र सुनार जातका खानेपानीका धारा र कुवा अलग्गै छन । एउटाको धारामा अर्काेले छोए जरिवाना तिराइन्छ । आफूले पनि पटक–पटक दलित भित्रैबाट छुवाछुत र भेदभावको सामना गरेको एक गैरसरकारी संस्थाका कार्यक्रम संयोजक समेत रहेका जयपृथ्वी नगरपालिकाका श्याम नेपाली बताउनुहुन्छ ।

‘दलित र गैरदलितको बीचको छुवाछुतको बढी चर्चा हुने गरेको छ’, नेपाली भन्नुहुन्छ, ‘दलितहरुबाटै दलितलाई भएको विभेद त्यो भन्दा चर्काे छ ।’ उहाँले कतिपय उपल्ला जातका दलित अधिकारकर्मीहरुबाटै समेत तल्लो भनिएका जातमाथि छुवाछुत र विभेद भएको आफ्नै आँखाले देखेको बताउनुभयो । 

कानुनमा दलित गैरदलित भनेर नछुट्याइएको र दलितले पनि दलितलाई भेदभाव गरेमा कारबाही गर्ने व्यवस्था रहेको भए पनि कानुनी उपचार खोज्नका लागि कोही पनि नआउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी क्रृषिराम कँडेलले बताउनुभयो ।