Monday, April 16, 2018

७५ वर्षीया जौमती विक एचआईभी संक्रमित १३ वर्षीय नातिको उपचारका लागि अस्पताल धाउँदै

विभेद बिरुद्ध  अभियान  - ३ वैशाख । गोदावरी नगरपालिका–१२ ओलानीकी ७५ वर्षीया जौमती विक एचआईभी संक्रमित नातिको उपचारका लागि एआरटी लिन प्रत्येक महिना धनगढीस्थित सेती अञ्चल अस्पताल धाउँछिन् ।

केही वर्षअघि एचआईभीकै कारण छोराबुहारीको मृत्यु भएपछि जौमतीको काँधमा १३ वर्षीय नातिलाई हुर्काउने मात्र होइन, उनको औषधि उपचारको जिम्मेवारी पनि थपिएको छ ।

उनका दुई नाबालक नाति छन् । ‘एउटा डेढ वर्षको र अर्काे ५ वर्षको छँदा छोराबुहारीको मृत्यु भयो,’ उनले भनिन्, ‘टुहुरा नातिलाई हुर्काउन बुढेसकालमा दु:ख खेपिरहेकी छु ।’ उनको कान्छो नाति कोमल गर्भमै एचआईभी पोजिटिभ भएर जन्मिए । जेठो नाति भने संक्रमण बाट जोगिए । अहिले जेठो साथमा छैन । ‘१४/१५ वर्षको उमेरमा उसले घर छोड्यो, कहाँ गयो अत्तोपत्तो छैन,’ वृद्धा जौमतीले सुस्केरा हालिन्, ‘कान्छो नाति मेरै सहारामा बाँचिरहेको छ ।’

उनले नातिको आयु लामो पार्न दु:खकष्ट झेलेर पनि ३ वर्षको उमेरदेखि नियमित औषधि खुवाउन थालेको बताइन् । ‘सुरुमा संस्थाका मानिस घरमै आएर आमाबुबा एचआईभी संक्रमित भएर बितेकाले नाबालक पनि संक्रमित हुन सक्छन् भन्ने जानकारी दिए,’ उनले भनिन्, ‘नभन्दै रगत जाँच गर्दा त्यही निस्कियो । सेती अञ्चल अस्पतालमा एआरटीका लागि नाम दर्ता गराए । अहिले नियमित औषधि सेवन गराइरहेकी छु ।’

बुढेसकालमा आफ्नो भन्दा संक्रमित नातिको चिन्ता छ, उनलाई । ‘म त अब डाँडामाथिको जून भइसकें, कुन बेला मरिन्छ पत्तो छैन,’ उनले भनिन्, ‘यसको शिक्षादीक्षा र स्वास्थ्यको जिम्मा लिने एउटा भगवान खोज्दै छु ।’ बुढेसकालमा आफू र संक्रमित नातिका लागि साँझ–बिहानको छाक टार्न गाउँमा माग्दै हिँड्नुपरेको पीडा उनले सुनाइन् । ‘सित्तैमा खाना कसले दिन्छ ?

गाउँलेका घरमा र खेतमा काम गर्दै नाति हुर्काइरहेकी छु,’ उनले भनिन् ।

कामका लागि भारत जाने गरेका उनका छोरा काले कामी संक्रमित भएर घर फर्किए । त्यसपछि बुहारीलाई पनि सर्‍यो । ‘भारतबाट बिरामी भएर घर फर्केपछि छोराको उपचार गर्न घरजग्गा समेत बिक्री गर्‍यौं,’ वृद्धा जौमतीले भनिन्, ‘सुरुमा एचआईभी लागेको थाहा भएन । अन्य रोगको उपचार गर्दागर्दै घरजग्गा बिक्री गरेको पैसा पनि सकियो ।’ थलिएको ५ वर्षपछि मात्रै एचआईभी भएको खुल्यो । त्यतिबेलासम्म बुहारीलाई पनि सरिसकेको उनले बताइन् ।

गोदावरीस्थित एचआईभी संक्रमितहरूको संस्था ‘गोदावरी प्लस’ का अध्यक्ष दलबहादुर ओडले गाउँमा यस्ता दर्जनौं परिवार रहेको बताए । ‘बूढीआमाले संक्रमित नातिलाई हुर्काउनुपरेको पीडा त छँदै छ, बाँच्नका लागि संक्रमितहरूले भोगिरहेको दु:ख अझै कहालिलाग्दो छ,’ उनले भने । संस्थामा २ सय बढी संक्रमित आबद्ध छन् । तिनमा २० जना यस्ता बालबालिका छन्, जसले एचआईभीकै कारण अभिभावक गुमाइसकेका छन् । ‘संक्रमित बालबालिकाले पोषणयुक्त खाना पाएका छैनन्,’ अध्यक्ष ओडले भने, ‘शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुविधा निकै टाढा भएका छन् ।’ उनका अनुसार संक्रमित बालबालिकालाई सरकारी स्कुलमा नि:शुल्क अध्ययनको व्यवस्था भए पनि उनीहरूले कापी, किताब र स्टेसनरीको अभाव झेलिरहेका छन् । स्कुलमा समेत संक्रमित बालबालिकाले उपयुक्त वातावरण नपाएको गुनासो गरे । एआरटी औषधि लिन सेती अञ्चल अस्पतालमा पुग्न पनि गैरसरकारी संस्थाहरूले आर्थिक सहयोग गर्नुपरेको अध्यक्ष ओडको भनाइ छ ।

कैलाली जिल्लामा एड्स हेल्थ केयर फाउन्डेसन्स अफ नेपाल र सेभ द चिल्ड्रेन लगायत संस्थाहरूले एआरटी औषधि सेवनका लागि संक्रमितलाई आर्थिक सहयोग गर्दै आएका छन् । सेती अञ्चल अस्पताल एआरटी सेन्टर प्रमुख लोकराज पनेरूका अनुसार अहिले ७ सय ४९ जनाले नियमित एआरटी औषधि सेवन गरिरहेका छन् । अस्पतालले सन् २००६ देखि एआरटी सेवा दिन सुरु गरेको थियो ।

यो सेन्टरबाट कुनै बेला १ हजार ७ सय ५ जनाले औषधि सेवन गर्थे । तीमध्ये विभिन्न कारणले नियमित सेवा लिनेको संख्या घटेको छ । औषधि सेवन गरिरहेका १ सय ८९ जनाको मृत्यु भइसकेको छ । यहाँबाट अर्काे पायक पर्ने सेन्टरमा ६ सय ३८ जना सरुवा भएर गएका छन् ।

संक्रमित थपिएका थपियै जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लामा ४२ जना नयाँ एचआईभी संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य निरीक्षक महेश चन्दले साउनदेखि पुससम्म जिल्लाका विभिन्न ठाउँँमा गरेको रगत परीक्षणबाट ४२ जना संक्रमित भेटिएको बताए । उनका अनुसार कैलाली जिल्लामा ३ हजार ३ सय ७६ जना संक्रमित भएको तथ्यांक छ । जसमा महिला/पुरुषको संख्या लगभग बराबरी छ । १५ देखि ५० वर्ष उमेर बीचका बढी पीडित छन् ।

No comments:

Post a Comment