Friday, May 25, 2018

प्रधानमन्त्री ज्यु , दीर्घे परियारहरुको अभिभावकत्व कस्ले ग्रहण गर्ने ? - डम्बर अधिकारी

विभेद बिरुद्ध अभियान - जेष्ठ ११- तालबाराही मन्दिरको दर्शन गर्न जाँदै हुनुहुन्छ भने शारीरिक रुपले अशक्त ३४ बर्षिय दिर्घे परियारलाई तपाई जो कोहीले देख्न सक्नु हुनेछ । परियारको नजिक जो पुग्छ उनलाई देख्ने वित्तिकै उनीहरुको मन पग्लिन्छ अनि १० ÷२० रुपैयाँ सहयोग गरी हाल्छन् ।मन हुनेले त ५० ÷१०० रुपैयाँ पनि दिई हाल्छन् । विगत एक दशक परियारको दैनिकी यसरी नै चलिरहेको छ । बाग्लुङ स्थायी घर भएका परियार जन्मदा देखिनै अपाङगता भएका हुन् । उनको परिवारमा आमा बाबु देखि दाजुभाई सम्म रहेका छन् । तर यतिखेर परियार सहारा बनेका छन् उनका मामा । मामा सगै पोखराको सिर्जना चोकमा कोठा भाडामा लिएर बस्दै आएका परियारलाई हरेक दिन मामाले उक्त स्थानमा पुरयाइदिने गर्दछन् अनि साँझ पख लिन जाने गर्दछन् ।परियारको दैनिकी यसरी नै बिति रहेको छ ।

यसरी सार्वजनिक स्थलमा सहयोगका हात फैलाएर बस्दा सहयोगी मनहरुले गरेको सहयोगबाठ आजसम्म परियारको दैनिकी चलिरहेको छ । तर परियार यहाँ बस्दा पनि त्यति ढुक्क साथ बस्न भने पाएका छैनन । कहिले नगरपालिका त कहिले प्रहरीले उनलाई हिव्ल चियरमा राखेर हटाई दिने गरेको छ । तर जसले जति हटाएपनि युद्ध लडेर जिते झै परियार रुखमुनि पापी पेट पाल्नका लागि हात फैलाउँदै बसिरहेका छन् ।

जन्मदा नै शारीरिक रुपमा ठगिएका परियारको सरकार प्रति निकै दुःखेसो रहेको छ । मासिक रुपमा सरकारले उपलब्ध गराउने दुई हजार भत्ताले आफूलाई बाच्न त के मर्दा खेरी कात्रोमा बेर्ने कपडा किन्न समेत नपुग्ने परियारको भनाई थियो । मेरो शारीरिक अवस्था देखिहाल्नु भयो अब सरकारले दिएको दुई हजारले कसरी जिवन यापन गर्न सक्छु उनले भने । सडकमा यसरी हात फैलाएर बस्नु आफ्नो रहेर नभएर बाध्यता भएको परियारले कुराकानीका क्रममा भनेका थिए । सरकारले आफ्नो सम्पूर्ण जिम्मा लिईदिए यसरी दोवाटेमा हात फैलाएर नबस्ने समेत उनको भनाई थियो ।पोखराको तालबाराही मन्दिरमा भेटिएका परियार एक उदाहरण पात्र मात्र हुन् यो देशमा हजारौं दीर्घे परियारहरु सडक पेटी पेटीमा हात फैलाएर बसि रहेका छन् । जसको कोही सहारा छैनन ।

सवाल दिर्घे परियार जस्ता जन्मजात अपाङगता भएका व्यक्तिहरुको मात्र होइन यो मुलुकमा मुलुकमा लोकतन्त्र स्थापना लागि भएका पटक—पटक भएका आन्दोलनमा परि अपाङगता भएका व्यक्तिहरुको पनि रहेको छ ।मुलुकमा लोकतन्त्र ल्याउनका लागि भएका आन्दोलनहरुमा सहभागी हुँदै गर्दा राज्य र तत्कालिन विद्रोही पक्षको आक्रमणबाट सयौं नेपाली नागरिकहरु अपाङगता हुन पुगेका थिए । मुलुकमा लोकतन्त्र स्थापना भएसगै आफूहरुलाई राज्यले हेर्नेमा उनीहरु आशावादी रहेका थिए । तर लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी हुँदा अपाङगता हुन पुगेका योद्धाहरु आज सडकमा हात फैलाउँदै पाटीको बास बस्नु पर्ने अवस्था रहेको छ ।

अब एकैछिन प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी तत्कालिन नेकपा एमाले र हालको नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणापत्र लागौं ।त्यतिबेला असहाय र जेष्ठ नागरिकहरुको जीवन यापनका लागि ओली र ओलीको चर्को आवाज उठाएका थिए ।अहिले मासिक रुपमा दिदै आएको दुई हजारलाई ५ हजार रुपैयाँ बनाउने घोषणा चुनावी सभाहरुमा भाषणका क्रममा बोलेको थिए । तर अफसोच राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन अगाडि तिनै ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे गर्दा अपाङता र जेष्ठ नागरिकहरुलाई दिइने सुविधाका विषयमा कुनै खास कार्यक्रम आउने संकेत देखिएको छैन । यसले ओली नेतृत्वको वर्तमान सरकारबाट अपाङगता भएका व्यक्तिहरुले ठूलो अपेक्षा गर्नु व्यर्थ सिवाय अरु केही हुनेछ ।


यसो भन्दै गर्दा प्रधानमन्त्री प्रधानमन्त्री ओली मुलुक र मुलुकबासी प्रति उत्तरदायी छैनन भन्ने आरोप लगाउन खोजे जस्तो अनुभूति जो कोहीलाई लाग्न सक्दछ । यदि त्यस्तो सोचियो भने प्रधानमन्त्री ओली र वर्तमान सरकार प्रति सरासर अन्याय हुनेछ ।तर यत्ति हो कि प्रधानमन्त्री ओलीले शैक्षिक सत्रको शुरुवातीमा एक विद्यार्थीको अभिभावक बनेर मुलुक र मुलुकबासीको अभिभावकत्व ग्रहण गरे भनेर छाती फुलाउनुमा भने कुनै तुक छैन । विश्व परिवेशलाई एकपटक नियालेर हेर्ने हो भने अधिकांश विकसित मुलुकहरुमा दीर्घे परियार जस्ता अपाङगता भएका व्यक्ति र जेष्ठ नागरिकहरुको सम्पूर्ण जिम्मा राज्यले नै लिने गरेको पाइन्छ ।तर हामी कहाँ भने अपाङगता भएका व्यक्ति र जेष्ठ नागरिकहरु राज्यबाट अपहेलित भएर किन सडकमा हात फैलाउँदै हिडि रहनु परेको छ बुझ्न सकि राखिएको छैन ।

अन्तमा ओली जी, तपाईले मुलुक हाँकी रहँदा दीर्घे परियार र अन्य दीर्घे परियारहरुको अभिभावकीय भूमिका कस्ले ग्रहण गर्ने हो यसको जवाफ झर्को नमानि दिनुहोला ?

No comments:

Post a Comment