Tuesday, May 26, 2020

उठौं, जागौं, बोलौं ! गोपाल शिवा


‘मरे पछि डुमै राजा” भन्ने उखान आज भोलि पढ़े लेखेका समाजमा गनिएकाहरूले सार्वजनिक रुपमा प्रयोग गर्न थालेका छन् ।गत वर्ष संसद कोमल ओलीले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘इट्स माई सो’ मा मरे पछि डुमै राजा भनिंन भने केही दिन अघि मात्र नेपाल सरकारको सचिव जस्तो उच्चतहमा पुगेका भीम उपाध्ययले सामाजिक संजालमा सोही उखानलाई उदाहरण दिदै आफना बिचार पोखे।सार्वजनिक भएका विचार अभिव्यक्ति हेर्दै सुन्दा बौद्धिक वर्गको मस्तिष्कमा यस्तै प्रश्न दलितहरुलाई होच्याउने शब्दहरु समाजका बुद्धिजीवीहरु ले नै सार्वजनिक रुपमा प्रयोग गर्ने हो भने समाजको बिकासको बाधक समेत रहेको कुनै पनि जात-जाति तथा वर्गलाई लक्षित गरी बनाइएका समाजविरोधी उखान-तुक्काहरु कसले ,कहिले ,कसरी हटाउने भन्ने प्रश्न मात्र हैन त्यसै संग जोडिएर गणतन्त्रात्मक शासन व्यवस्था भएको देशमा पनि जातीय पूर्वाग्रह राखेर उखान टुक्कामा कसैको उछितो काडेर रोमान्चित हुने कस्तो बौद्दिकता ? नेपाली समाजमा बौद्धिक तप्काहरु बाट उठिरहेको जातको/बिभेदको घोचापेचीमा कसको स्वार्थ मिसिएको छ ? भन्ने आउछ । 

सामाजिक संजाल तथा संचार माध्यममार्फत कसैलाई होच्याउने र अपमान गर्ने खालका अभिब्यक्ति दिन नपाइने कानुनमा उल्लेख छ। तर अच्चम यी कुरा कोमल ओली र भीम उपाध्यायले के बुझेका छैनन होला त ? सर्वसाधारणले समेत मिडियामा अभिब्यक्ति दिँदा बिचार पुर्याउनु पर्ने हुनछ भने संसद र सचिव जस्तो व्यक्तिले हेक्का नराखेका होलान  त् ? एकातिर कुरा बुझेर बुझ पचाउने संक्रमणभित्र देश रुमलिएको छ भने अर्को तिर हाम्रो बौद्दिक तप्का कहलिएका तप्काहरुको बुद्धि र कुण्ठाको लेभल मिल्छ...न पत्याए हेर्दै जानु होला धेरै उहाहरु जस्ता बौद्धिकहरुको जातीय पूर्वाग्रह सहितको बोलि सामाजिक संजालमा आउदा दिनमा पढ्न देख्न सुन्न पाइनेछ । एकातिर हामी हाम्रो समाज शिक्षित र परिवर्तित हुँदै गएको छ भन्दै गम्कीरहेका छौ भने यथार्त चै   शिक्षित,दिक्षित र बौद्दिक बनेकाहरूको मान्यता एवं सोचहरूमा समयको गतिसँगै परिवर्तन आउन नसकेकोमा दुखि हुनु परेको छ । बौद्दिक तप्काका एक थरि मानवको मानष्पटलमा कुसंस्कार, कुरिती,अमानविय, अपचनिय र असम्मानिय आदि सोचको पट्टकै परिवर्तन भएको पाईन्न। उल्टो नराम्रो गरि जरो मोटाउदै गएको पाइन्छ। समय समयमा सामाजिक संजालमा दलितको काम, पेशा र जीवनशैलीमाथि निरन्तर प्रहार गरेर , उनीहरुलाई मानसिक रुपमा सँधै होच्याएर दलित समुदायको हुर्मत लिएर दलित विरोधी भेदभाव, छुवाछुत भावना र रुढिवादिको सोच सामाजिक व्यवहारमा पोखिदै आएको तथ्य र तत्थयांक बाट विभेद तथा छुवाछुतले नेपाली समाजमा कति कति सम्म जरो गाडी बसेको छ भन्ने स्पस्ट हुन्छ ।यी त प्रतिनिधि उदाहरण वा पात्र मात्र हुन् । बर्णाश्रम समाज बहुल मुलुकभित्रका लाखौं दलितहरु आज उखान तुक्काको नाममा रातोदिन चर्को मानसिक पिडा खेपिरहेका छन् ।

त्यसो त् सामान्य मानेर बौद्धिक तप्काहरु जातीय पूर्वाग्रह र खिसि गर्दै बोल्दा के बोले भनेर हेक्का राख्न नभयाउलान तर वहाहरु जस्तो बौद्धिक तपका बाट हामी समाजमा जे जति समुदाय वा वर्ग बस्छौ , हामीले एकअर्काको अस्तित्व लाइ नस्वीकार्दा र आफुले आफैलाई ठूलो जात समुदायको मपाईत्व गर्दा तथा एक अर्काको जीवनलाई ‘सम्मान’ र ‘समान’ नगर्दा मानविय मन् भड्किन्छ, भड्किएको मन् वा जीवन हिंसा /सामाजिक द्वन्द्व प्रति उन्मुख हुन्छ भन्ने हेक्का चै राख्नु होला।सामाजिक द्वन्द्व आएपछि त्यसै जाँदैन । त्यसले ज्ञात अज्ञात सहिदहरू उत्पादन गर्छ । बचेका कति मानिसको जीवनलाई पङ्गू, कबाड, अर्थहीन बनाएर जान्छ ।

अर्को तिर गैरदलित समुदायबाट दलित समुदायमाथि हुने हत्या, अपमान र क्रूर यातनाको प्रतिनिधि घटनाहरूलाई हेर्दा हाम्रो समाजमा जातका आधारमा आफ्ना सन्तानलाई विवाह गर्न नदिने दण्डनीय अपराध गर्ने पाखण्डीहरूको संख्या ठूलो छ भन्ने कुरामा कुनै शंका छैन।केहि बर्ष अघि कथित उपल्लो जातकी ‘पराजुली’ थरकी किशोरीसँग प्रेम गरेकै कारण अजित मिजार मारिएको थिए तर अफवाह फैलाइयो आत्महत्याको।त्यस यता न्यायको पर्खाइमा अजितको लास टिचिङ अस्पताल (त्रिवि शिक्षण अस्पताल, महराजगन्ज) मा राखेको  ५ वर्ष हुन लाग्यो। अजित मिजार मात्र हैन अन्तरजातीय प्रेम सम्बन्धका कारण शिवशंकर दास, सेते दमाई, अस्मिता तोलामी सार्की, संगीता परियार, माया तिरुवा र सविता नेपालीले ज्यान गुमाए । २ दिन अघि मात्र सोही प्रकृतिको २ ओटा घटना सार्वजनिक भए । पहिलो घटना रुपन्देहीको देवदहकी अङ्घिरा पासीले स्थानीय २२ वर्षीय वीरेन्द्र भरसँग प्रेम विवाह गरेकी थिइन् । स्थानीयवासीले संगै फेला पारे पछि गत जेठ ९ गते गाउँमा भएको भेला र छलफल पछि वडाका वडाध्यक्ष अमरबहादुर चौधरी लगायतका समाजसेवीले उनीहरुलाई विवाहको अनुमति दिएका थिए । जनप्रतिनिधिले नै किशोरको जिम्मा लगाएर घर पठाइएका थिए तर घर गएपछि किशोरको आमाले जातिय विभेद गर्दै लाच्छना लगाएपछि,केटाको आमा भौतिक आक्रमणमै उत्रिएपछि उनी शनिवार घर नजिकैको एउटा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परिन। उता जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक सहित उनका साथीहरु टीकाराम सुनार र गणेश बुढालाई गाउँलेहरू मिलेर कुटपिट गरि हत्या गरेको घटना सार्वजनिक भयो । थाहा छैन उमेर पुगेकाहरूको स्वतन्त्र रूपमा विवाह गर्न पाउने संवैधानिक अधिकार हनन गर्न पलकेकाहरू अर्थात् जातका आधारमा विवाह हुन नदिने, आफु विवाह गरेका जोडीलाई छुट्ट्याउन खोज्ने, अन्तरजातीय प्रेम गरेकालाई धम्क्याउने, कुट्ने, प्राण नै हर्नेहरू यी दुई घटना / हत्याको बारेमा के अफवाह फैलाऊँछन ? 

त्यसो त् समाज र यसका मान्यताहरू तीव्र गतिमा बदलिरहेका छन् । हिजो जुन कुरा वा घटना असामान्य र असम्भव थिए, आज ती कुरा सामान्य र सम्भव भएका छन् ।जात–थर , धर्म भन्ने कुरा गौण हुन थालेको पनि छन ।तर गैरदलित समुदायसँग प्रेम सम्बन्ध राख्दा मात्र पनि ज्यान गुमाऊनु परेको अजित मिजार, शिवशंकर दास, सेते दमाई, अस्मिता तोलामी सार्की, संगीता परियार, माया तिरुवा र सविता नेपाली हत्या घटनामा दलित समुदायमाथि राज्यको दृष्टिकोण र संवेदनहीनताको प्रमाण सामान्य दलितले मात्र हैंन बौद्धिक कहलीएका र दलितको राजनीति गरेर कपाल फुलाएकाहरूले समेत देखि सके।अन्तरजातीय प्रेम सम्बन्धका कारण ज्यान गुमाएका आफ्ना सन्तानका हत्याराहरूलाई कानुनी कारबाही गरियोस् भनेर रुँदै हिडीरहेको मिझार, दास, दमाई, तोलामी सार्की, परियार, तिरुवा र नेपालीका परिवारले बर्षौ देखि न्याय नपाएको साक्षी बनिरहेको बेला देशको कानुन र न्याय दिने निकायले नवराज विक र  अङ्घिरा पासीलाई न्याय देला /दिन सकला ? प्रश्नले एकतमास चिमोटी रहेको छ। दलित समुदाय माथिको आक्रमण तीव्र बन्दै जाँदा देशमा रहेका लाखौं दलितहरुको भविष्य के हुन्छ भन्ने प्रश्न पेचिलो बनेको छ ।जातकै कारण एक पछि अर्कों आफ़ना समुदायका युवायुवती गुमाएका पीडाले न्यायका लागि दलित समुदाय यसरी नै आँसु बगाएर बस्छौ कि हामी जाग्छौ होला !

हाम्रो सामाजिक संरचना यस्तो छ कि दलित गैरदलित नम्वरीहरु संगै  हुर्किंदै जाँदा गैरदलितमा म ठुलो जात भन्ने कुण्ठा भरिदै उ भित्र कुण्ठामाथि कुण्ठा थपिँदै / फेरिँदै जान्छ। पछि विभेदकारीमा अवतरित हुन्छ। वर्षौंसम्म कुण्ठाले भरिएको गिदी बोकेर हिँडेको रहेछु भनेर चाल पाएँ त् ठिकै हो नपाए चै जहाँ  ठाउँ भेट्यो त्यहि विभेदको बिष बमन गर्ने र आफ्नो कुरूप ब्यबहार देखाई रहन्छ । यसरी नै अझै पनि आफु ठूलो जातको हूँ छुवाछूत , बिभेदको संस्कार मैले निरन्तरता दिनु पर्छ समाजका दलित गरिव उत्पीडितलाई हेलाहोचो गर्नु पर्छ /उखान तुक्का र खिसिमा उनेर आत्मरत्तिमा रमाऊनु पर्छ भनेर बस्ने हो भने त्यसले समस्या निम्त्याउँने निश्चित छ ।

२१औ शताब्दी सम्म आई पुग्दा पनि दलितले सम्मानजनक सामाजिक हैसियत पाउन बाट बन्चित हुनु पर्ने , उखान टुकका र खिसिको उनाईमा ऊनीनु पर्ने , ज्यान गुमाउनु पर्ने के लोकतन्त्र, प्रजातन्त्र अनि गणतन्त्रको सम्मान हुन सक्दैन। त्यसैले हेक्का नराखी बोलिने यी र यस्ता शब्दले जब सिंगो दलित समुदायलाई अपमान गरेको महसूस हुनछ तब संसार भरि छरिएर रहेका र सामाजिक संजालमा पहुँच भएका कथित दलित समुदायहरू कान ठाडो पारेर यी र यस्ता शब्द ,अभिब्यक्ति एव अमानवीय घटनाको बिरोध गरदै बिभेदकारी मानसिकताको सराद्धे गर्न कम्मर कसेर लाग्छ्न/ लागेका छन र लाग्नु पनि पर्छ । किनकि  सामान्य विषय हो भनेर बेवास्ता गरि प्रतिकार नगर्ने हो भने यिनको भड़कीएको कुण्ठा र चरित्रले सदियौ देखि समाज, राजनिति अनि राज्य व्यवस्था बाट अपमानित भई रहेको दलित समुदाय एकाईशौ शताब्दिको उन्नत लोकतान्त्रिक व्यवस्थामा पनि अझ बढ़ी 'छि छि र दूरदूर' को अपमानले पिरोलिदै बाच्न बाध्य पर्ने छन ।

अन्त्यमा, समाज , समय र बिचार सबै गतिशील बस्तुहरु हुन अत बिचार र चिन्तनलाई पनि समयसापेक्ष बनाउदै परिस्कृत बनाउदै लैजाऊ ।नेपाली समाजका दलित गरिव उत्पीडितलाई हेर्ने हेयको दृष्टिकोणलाई बदलौ ।हेलाहोचो गर्ने मानसिकता त्यागौ ।अन्यथा एक दिन तपाइको बिभेदकारी मानसिकता र विचारलाई हिजोको गरिवी , अशिक्षा र ज्यु–हजुरी श्रद्धा गर्नेहरु आज  सराद्धे गर्न  तपाईले टेकेकै धरातलमा आइपुग्ने छन। विभेदविरुद्ध सशक्त रूपमा उत्रने छन र उत्रौ । किनकि जातकै कारण दलित समुदायलाई निषेधको ब्यबहार गर्ने ,होच्च्याउने, धम्काउने, जे बोल्दा /गर्दा पनि हुन्छ भने, हतोत्साही गर्ने र प्राण हर्ने संस्कार अहिले देखिए जसरी हावी हुदै गयो भने दलितहरु कोही पनि सुरक्षित हुने छैनन् । आज समुदायका अङ्घिरा पासी र नवराज विकको हत्या भएको बेला/ उनको परिवारलाइ परेको बेला आफूलाई नछुने भनेर चुप लागेर बस्नु भो भने पछि तपाईलाई परेको बेला बोलिदिने कोही बाँकी रहँदैनन् । त्यसैले, उठौं, जागौं, बोलौं । दलित प्रतिकार समुहको जनमत निर्माण गरौ ..अहिल्यै हो  बोल्ने बेला, गर्ने बेला । 

Tuesday, May 19, 2020

कञ्चनरुप–५मा खान नपाएर मलरा सदाको मृत्यु,चन्दा उठाएर दाह संस्कार


 विभेद बिरुद्द अभियान - कञ्चनपुर,जेष्ठ ७ गते । कञ्चनरुप नगरपालिका–५ पथरी रामपुर टोलमा एक जना मुसहर समुदायको गरिबीका कारण मृत्यु भएको छ ।

सरकारले अव नेपालमा गरिबीको कारणले ‘कोही भोकै पर्दैन,कोही भोकले मर्दैन’ भन्ने प्रतिबद्धता जनाएको छ । तर झण्डै दुई महिनादेखीको लकडाउनका कारण खान नपाएर ५० वर्षिया मलरा सदाको मंगलबार मृत्यु भएको स्थानीयले जनाएको छ ।

मृतक सदाका छिमिकी विश्वनाथ सदाका अनुसार लकडाउन सुरुभएपछि गत सोमबार एक दिन गाउँकै एक किसानको खेतमा कोदालो जोत्न गएका थिए । धेरैदिन दिनदेखीव मलरा सदाले खान पाएका थिएनन् । 

मृतक मलरा सदाका तीन छोरा राजेश,सोनी  र साजन कामका लागि भारतको गुजरात गएका छने । उनीहरु उत्तै फसेका छन् । तीन छोराको विवाह भ्यसकेका छन् । उनीहरु छुट्टा–छुट्टै बस्दै आएका थिए । मृतक मलरा सदा र उनको श्रीमत िजलेश्वरी सदा दैनिक गुजरा गरेर पेट पाल्दै थिए । तर कोरोना भाइरस(कोभिड–१९)का कारण गत चैत्र ११ गतेदेखीव  लकडाउन सुरु भएपछि सदा दम्पतीलाई छाक टार्न समस्या भइरहेको थियो ।

स्थानीयहरुले चन्दा संकलन गरेर कात्रो खरिद गरी मृतक सदाको दाहसंस्कार गरेको स्थानीय अगुवा विश्वनाथ सदाले बताए । उक्त टोलमा करिब २२ घर सदा,३५घर सरदार र १५ घर राम समुदायको बसोबास रहेका छन् । उनीहरु सबै कञ्चपुर बजार,बेरियर लगायतका ठाउँमा दैनिक ज्यालादारी गरेर गुजरा गर्दै आएका थिए ।  

कञ्चनरुप नगरपालिकाले लकडाउन भएको दुई महिनामा एक पटक १५ किलो चामल र एक सय २० रुपैया नगद राहत वितरण गरेको थियो । कञ्चनरुप नगरपालिका–५का वडाअध्यक्ष कैलाश साहले मलरा सदा गरिब भएपनि मादक पदार्थ सेवन गर्ने गरेको बताए । उनले भने,‘ मेरो वडामा ५० प्रतिशतभन्दा बढी घरधुरी दलित समुदायको छ । गरिवीका कारण सबभन्दा बढी हाम्रो वडा प्रभावित भएको छ ।’ वडाअध्यक्ष साहले नगरपालिकामा दोस्रो चरणको राहत वितरण गर्न कुरा उठाएपनि बैठक कहिले राख्ने निश्चित नभएको बताए ।

Sunday, May 10, 2020

समृद्धिको बहस र माननीय ज्युको विभेदकारी बिज्ञप्ति -गोपाल शिवा

दुबईमा निधन भएका पोखरा–१६ बाटुलेचौरका सम्मरबहादुर सुनारको किरिया गर्न सार्वजनिक किरिया समाजघर दिन बञ्चित गर्ने र जातीय विभेद गर्ने  आफु विशेषको निकट रहेका विभेदका दोषीलाई कानुनी कारबाही हूने बेला त्यसलाई अल्मल्याउने गरी गतिविधि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला अध्यक्ष समेत रहेका गण्डकी प्रदेशसभा सांसद् मा. कृष्णबहादुर थापा  बाट भएको देखिन्छ । यसो गर्नु भनेको कानुनी कारबाहीलाई अवरुद्ध गर्नु पनि हो । मा. कृष्णबहादुर थापा द्वारा जारी उनको विज्ञप्तिले मनोसामाजिक चरित्रबारे धेरै बोलेको छ ।जुन संविधानको सपथ खादै माननीय बने त्यही संविधानले परिकल्पना गरेको समतामुल्क समाजको विरोध गरि जातीय बिभेदलाई मलजल गर्नु भनेको कुण्ठाग्रस्त मानसिकताको उपज मात्र होईन नश्लवादी मानसिकता र रङ्गभेदी मानसिकता हो। त्यती मात्र हैंन संविधानका बूँदा बूँदा पढ़ेका प्रदेशसभा सांसद् मा. कृष्णबहादुर थापाले जुन विज्ञप्ति जारी गरे त्यो घटनाले थप सांकेतिक अर्थ पनि राख्छ ।अझ  माननीय थापा लोकलज्जा प्रति अलिकति पनि चिन्तित रहेंनछन भने स्पष्ट हुन्छ । संविधानको मर्म अनुसार कतै आफ्ना बोलि, ब्यबहार र कामले सर्वसाधारणमा वितृष्णा पैदा होला कि ? भन्नेमा भन्दा पनि दण्डहीनताका मामलामा खुलेर अभिव्यक्ति सार्वजनिक गरेर चुनौती दिदै विज्ञप्ति लिएर लाखौ दलित समुदायको बिपक्षमा ठिंग उभिनु बाट‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्नेमा ध्याउन भएको स्पष्ट देखिंनछ।

नेकपाको विधानमा जातीय विभेद गर्ने पार्टीको सदस्य हुन नसक्ने प्रावधान छ । केही महिनाअघि पार्टीले जारी गरेको आचार संहितामा पनि जातीय विभेदलाई पूर्णत निषेध गरिएको छ । संयोगले यतिबेला आफ्नो पार्टीको नेता भन्दै निसर्त रिहाइको माग गरेको घटनामा माननीय ज्यूँको हर्कतले सत्तारूढ दल समेत जोडिएको छ र जनमानसमा नकारात्मक भाव पैदा गरेको छ ।उनको हर्कतले कास्की जिल्लाका नेकपा कार्यकर्ता र सुबेच्छुकमा मात्र  होइन, देशै भरिका नेकपाका कार्यकर्ता र सुबेच्छुकले समेत लज्जा महसुस गर्नुपरेको छ । जातीय विभेदको विषयमा विज्ञप्ति जारी गरी पीडककै पक्ष लिने र दलित अधिकारको लडाईं लडिरहेकाहरुमाथि आँच पु¥याउने फोहोरी विज्ञप्तिको खेलमा आफूलाई अग्रसर बनाएर उनले आफ्नो बेइज्जती मात्र होइन, सिंगो नेकपाको बद्नाम पनि गरेका छन् । अतः यस घटनालाई नेतृत्वपंतिले कसरी लिने हो भने हेराई आम उत्पीडित समुदायमा छ।अर्कों तर्फ प्रहरी संगठनमा हज़ारौ दलित समुदायका युवायुवती समेत कार्यरत छन ।यसरी दलित उत्पीडितहरूको उजुरी दिएको पाँच दिनमा बल्ल–तल्ल प्रहरीले जाहेरी दर्ता गर्ने संस्कारको साक्षी बन्नु पर्दा आफु कार्यरत प्रहरी संगठनभित्र फिल्डमा खटिएका ति तमाम दलित समुदायका सिपाहीहरुको मनोबल कसरी दरो हुन्छ र कस्तो मानसिकता बन्ला ? पाँच दिनमा जाहेरी दर्ता गर्ने प्रहरी संगठन र विभेदकारी मानसिकताको जन्तर बाधेर विज्ञप्ति लेखेर /बोकेर हिड्ने आडम्बरीहरू माथि छानबिन र कारबाही अघि बढाउनु पर्छ । नत्र विभेद लाइ सामाजिक, कानुनी र राजनीतिक रूपमै मान्यता दिलाउने दण्डहीनताको डरलाग्दो नजिर स्थापित हुनेछ र समतामुलक समाजका लागि सबैभन्दा खतरनाक साबित हुनेछ ।

त्यसो त् सबैजसो बिभेदको घटनामा समाजका बिभेदकारी मानसिकताहरू बलियो पृष्ठभूमि बनेर बसेको छन ।फलस्वरूप जातीय भेदभाव सम्बन्धी केही उजुरी दर्ता भए पनि अदालतसम्म पुगी फैसला भएका मुदाहरू औलामा गन्न सक्ने मात्र छन् । यधपी सतहमा चाहिँ केही पात्र र घटनासित जोडिएर यसरी दिनहुँ प्रकट हुन्छ । माननीय थापा मात्र होईन कतिपय पढ़ेलेखेका समाजले गनेका चूनेकाहरु समेत समाजमा सामन्ती संस्कारलाई जीवन्त राख्न बिभेद जोगाउन यसरी नै ब्यबहार र वक्तव्यबाजी गरदै,विभेदका घटनाहरु ढाकछोप र मिलापत्र गराउन नेपाली समाज भित्रका कुसंस्कार र बिभेदहरूलाई संघारको यतापट्टि नै राख्न उद्धत छन।

बर्षौ देखि उत्पीड़नको जातोमा पिसिएर नेपाली समाजका कथित दलित समुदायमा बेचैनी र अधिरता त छ नै अझ कति दलितहरू बिभेदको यो स्वरूपलाई जस्ताको तस्तै स्वीकार गरि सामान्य ठान्दै सन्तोषमय जीवन पनि बाँचिरहेका छन् । ५० लाख भन्दा बढ़ी दलितको जनसंख्या छ। हज़ारौ जनप्रतिनिधि छन , हरेक प्रदेशमा उल्लेख्य संख्यामा माननीय देखि प्रदेश प्रमुख सम्म छन ।अझ हज़ारौको संख्यामा देश भित्र र बाहिर जुटेका दलित सरोकार राख्ने संघ संस्था देखि रास्ट्रिय दलित आयोग सम्म छन।तर उदेकलाग्दो कुरा के छ भने गण्डकी प्रदेशसभा सांसद् मा. कृष्णबहादुर थापाले जातीय बिभेदलाई जीवन्त राख्ने गरि विज्ञप्ति जारी गर्दा पनि र त्यसले सिर्जना गरेको माहोलमा चकमन्न छन।सार्वजनिक ठाऊमा विभेदको सुइरोले आफु जस्तै समुदायको एक दलितलाइ घोच्दा पनि देशभरिका दलितहरुलाई पिडाको अनुभव सम्म नभए जसरी मौनता देखाएका छन । यसरी सार्वजनिक रुपमा प्रताड़ित हुदा दलितहरू हिम्मत र मुटु नभएका नेपाली समाजका पात्रहरू हुन कि भन्ने प्रश्न पनि उठ्छ बेलाबेला । खासगरी अभावग्रस्त ग्रामीण जीवनका सधैंभरि दबाइएका दलित पात्रमा त्यस्तो भावना अस्वाभाविक पनि लाग्दैन । 

तर, त्यसको अर्थ दलित समुदायहरू निराशा र दुःखका एकनासे शृंखला हुन् भन्ने होइन । किनकी हाम्रो समाज अहिले संघारमा छ । यहाँ समाजलाई संघारको यतापट्टि नै राख्न चाहने माननीय थापाहरू र लोकतन्त्रमा आम देशका नागरिक सरह आफु र आफ़ना समुदाय बाच्न उतापट्टि धकेल्न चाहनेहरू छन  ।भलै समयसँगै बिभेद र निषेध गर्ने थापा क़ाज़ीहरूको तयतारिका झनै समृद्ध हुँदै पनि जाला तर, निरन्तर बिभेद भोगेर आफुलाई /दलित समुदायलाई नै फराकिलो पार्न ,धारिलो बनाउन र क्रान्तिको अग्रपंतिमा छाती खोलेर पाठ सिकाउन दलितहरू पनि उत्तिकै माहिर छन् भन्ने कुरा ऊबेलाका बिसे नगर्ची देखि जनयुद्दमा विचार र बन्दुक बोकेर अघि लागेका दलित समुदायलाई हेरे पुग्छ। अक्सर उत्पन्न हुने विद्रोहभाव, व्यवहारमा प्रकट हुने विद्रोहले समाजमा उथलपुथल ल्याएका छन र भोलि त्यों दिन हाम्रो समाजमा न आउला भन्न सकिन्न। नेपाली समाजको तल्लो तप्कामा बिभेद, अन्याय र अत्याचारलाइ झेल्दै बसेकाहरु लाई विभेदैविभेदको जञ्जालमा फँसाएर सत्तामा हावी हुने काजीहरूको कर्तुतहरु स–साना लाग्ने सामाजिक मुद्दाले भोलि राजनीतिक असन्तोष र विद्रोहलाई जन्मदिन सक्छ  ।नीति निर्माण तहमा पुगेका , राज्य हाक्नेहरुले यसरी नै पक्षपातपूर्ण विज्ञप्ति जारी गर्ने भने यो भुसभित्रको आगो भित्रभित्रै फैलिएर अझै ठूलो विनाश निम्त्याउन पनि सक्ने अवस्थामा पुग्न सक्छ।  

अत : जुन आस्था र बिस्वास राखेर चुनाव जितायो उहि ठाऊमा पुगे पछि संविधान नै नचाहिए जस्तो ... विधिको शासन नै आवश्यक नभए जस्तो गर्छन भने ,हाम्ले जिताएकाहरुले ठूलो र सानोको तह बनाउछ्न भने , भेदभावको बीउ रोप्छन भने र समाजलाई विभाजित गर्छन भने हामी सवै मिलेर सच्याउ ।जे चलिआएको छ, चलिरहन्छ भन्ने उनीहरूको सोचाइ लाई मलजल नगरौ ।अन्यथा सभ्य र शान्तिपूर्ण समाज निर्माणमा यस्ता सोचाइहरूले सहयोग गर्दैनन्। त्यसैले गतिशील रहेको विश्व परिदृश्यमा हामी कहाँ छौं ? भन्दा पनि जहाँ छौं, त्यहाँबाट अघि बढ़ौ ।समतामूलक समाज बनाऊँन र समाजमा बिधमान कुसंस्कार र बिभेदहरू निर्मूल गर्न दलित र गैरदलित सवैको गति तीव्र रूपले बढाउ । हामीले गरेको खबरदारीको कारण सुझबुझका साथमा सारा काम छाडेर हतार–हतार विभेदका दोषीलाई आफ्नो पार्टीको नेता भन्दै निसर्त रिहाइको मागसहित प्रेस विज्ञप्ति जारी गर्ने माननीय ज्यूले हिजो मात्र अर्को बिज्ञप्ति निकालेका छन।Image may contain: 1 person, text

Tuesday, May 5, 2020

दलित समुदाय र कोरोना कहर - श्यामबहादुर मगराती

विभेद बिरुद्ध अभियान- बैशाख २३ गते - तीन महिनादेखि चीनको वुहानमा नोबल कोरोना भाइरस (कोभिड–१९) देखा पर्रयो । यसले तीन महिनाको अवधिमा विश्वका २०९ भन्दा बढी देशहरुमा महामारीको रुप लिई सकेकोछ । २०७६ साल चैत्र २९ गते (सन् २०२० अप्रिल ११ तारिख) सम्म विश्वमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख नाघेकोछ भने १७ लाखभन्दा बढी संक्रमित भईसकेका छन् । यो क्रम तीव्र गतिमा बढिरहेको हुँदा कति मानिसहरु प्रभावित हुने हो ? कहिलेसम्म यसको सन्त्रास कायम रहने हो ? र यसको अन्त कहिलेसम्म हुने हो भन्ने कुरा अनुमान गर्न सकिने अवस्था छैन ।

त्यसो त यी र यस्तै किसिमको प्राकृतिक प्रकोपका कारण कोही पनि टाढा छैनन् भन्ने हो । प्रकोपले कहिले पनि जात, वर्ग, लिंग, धर्म, भौगोलिक क्षेत्र, सम्पन्नता र विपन्नता भनेर भेदभाव गर्दैन । त्यसैले राष्ट्रको उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिसम्म कोरोना भाइरसको निसानामा परेका छन् । तर, कोरोना भाइरस र अरु यस्तै महामारीसँग जुध्न सक्ने व्यक्तिको क्षमता भने फरक फरक हुन्छ । पहिलो, व्यक्तिको रोगसँगको प्रतिरोधात्मक क्षमता हो । जुन कुरा प्राकृतिक रुपमा निर्मित हुन्छ र व्यक्ति अनुसार फरक फरक पनि हुन्छ । दोस्रो, व्यक्तिको सामाजिक प्रतिरोधात्मक क्षमता हो । जसलाई व्यक्तिको आर्थिक, सामाजिक, राजनीतिक र पर्यावरणीय प्रणालीसँगको सम्बन्ध राख्दछ र संघर्षले निर्धारण गर्छ । हाल विश्वका बहुसंख्यक मानिसहरु कोरोना भाइरस जस्ता महामारीसँग कसरी संघर्ष गर्दै छन् ? जोखिममा रहेका मानिसहरुलाई आजको पुँजीवादी राज्य व्यवस्थाले कसरी सम्बोधन गर्दैछ ? भन्ने कुरा मुख्य सवाल हो ।


यसले विश्वको धनी र गरिबबीच बढ्दै गईरहेको खाडललाई संकेत गर्छ । दक्षिण एसियामा वर्गीय असमानता मात्र छैन । त्यो भन्दा कयौँ गुणा विभेद जात व्यवस्थामा विद्यमान छ । हाम्रो सामाजिक संरचनामा पूँजीपति बन्ने सवाल कुन जातमा जन्मिन्छ भन्ने कुराले पनि बढी निर्देशित गर्छ । पूँजीपति मात्र होईन राजनीतिक पहुँच र नियन्त्रण पनि सम्बन्धित छ । सामाजिक सम्बन्ध कतिको मजबुत छ ? यी सबै कुराको निर्धारण जात व्यवस्थाले गरिदिन्छ । राज्यका नीति निर्माण र कार्यान्वयन गर्ने तहमा समेत कथित उपल्लो जातिको वर्चस्व हुने हुँदा कथित तल्लो जाति स्वभाविक रुपमा जोखिममा परेकै हुन्छ । गरिबीको चरम मार र जात व्यवस्थाबाट उत्पीडित भएकोले दलित समुदाय कोरोना भाइरस लगायत अन्य प्रकोपसँग संघर्ष गर्नको लागि सामाजिक प्रतिरोधात्मक क्षमता अत्यन्त कमजोर हुन्छ । जसको असर उनीहरुको आन्तरिक प्रतिरोधात्मक क्षमतामा पर्दछ । कोरोना भाइरस जस्ता महामारी पूँजीपति वर्गका लागि थप समृद्ध बन्ने अवसरको रुपमा आईदिन्छ । तर गरिब देश र समुदायका लागि यिनै महामारी ठूलोे समस्या बनेर आउँछ ।


पुँजीवादमा मानवीयताको सम्बन्ध कत्ति पनि नहुने रहेछ भन्ने कुरा हालको कोरोना महामारीबाट स्पष्ट भएकोछ । पूँजीपति वर्गका मानिसहरु आवश्यक सबै सुरक्षा कवच प्रयोग गरि क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुलाई कोरोना भाइरससँग लड्न सक्ने खानपानदेखि दैनिक रुपमा प्रयोग गर्ने सम्पूर्ण बन्दोबस्तीका सामग्री सहजै उपलब्ध भईरेकोछ । कोरोना भाइरसको महामारी जति गतिमा फैलिँदै जान्छ उनीहरुको व्यापार पनि त्यही गतिमा भईरहेकोछ । मास्क, सेनिटाइजर, पिपिई जस्ता सामग्रीहरु उत्पादन र व्यापार गर्ने देश र उद्योग दिन प्रति दिन सम्पन्नशाली बनिरहेका होलान् । त्यसैले यस्ता महामारी पुँजीपति वर्गका लागि थप समृद्ध बन्ने अवसरको रुपमा स्थापित भएकोछ । तर विपन्न समुदायका लागि समस्या बनेर आएकोछ ।


हामी नेपाली समुदाय राष्ट्रवादको गफ गर्न कहिल्यै पनि थाक्दैनौँ । तर हामीले हात धुने साबुनसम्म उत्पादन गर्न सकेका छैनौँ । देशभरका अस्पतालहरुमध्ये कोरोना भाइरसको स्वाब परीक्षण गर्ने प्रयोगशाला टेकु अस्पताल मात्र हुनुले पनि हाम्रो स्वास्थ्य प्रविधिको स्थितिलाई उजागर गर्छ । हाम्रो मुलुकको अर्थतन्त्रको मुख्य हिस्सा रेमिट्यान्सले धानेको छ । त्यसपछि वैदेशिक सहायताको भर पर्नुपर्दछ । केही गा¥ह्रो सा¥ह्रो परेको अवस्थामा कसले सहयोग गर्ला भनेर हात फैलाउनुको कुनै विकल्प छैन । मुलुक गरिबीको चपेटामा भए ता पनि यहाँका केही व्यक्तिहरु निकै मोटाएका छन् । यसरी मोटाउनेहरुमा व्यापारिक घरनादेखि राजनीतिज्ञसम्म, प्रशासकदेखि विकासे संघ संस्था चलाउनेहरुसम्म पर्दछन् । वैधानिक बाटोबाट रातारात यति धनी बन्न सम्भव हुने कुरा भएन । त्यसपछि दलाली, भ्रष्टाचार, घुस, कमिसनको धन्दा फस्टाउन थाल्छ । महामारी रोकथाम गर्न आएका राहत सामग्री पनि वास्ताविक लाभग्राहीसम्म पुग्न सक्दैन । पूँजीपति वर्गहरुमा पाएसम्म छोड्नु हुँदैन भन्ने मानसिकताले बलियो डेरा जमाएर बसेकोछ । विगतको भूकम्प र नाकाबन्दीको समयमा केही मुठीभरका व्यक्तिहरु रातारात नव धनाढ्यका रुपमा जन्मिए । अहिलेको कोरोना भाइरसको महामारीमा पनि मास्क, सेनिटाइजर लुकाउने दलाल र व्यापारीदेखि विना प्रतिस्पर्धा सुरक्षा कवच र स्वास्थ्य सामग्री खरिद गर्ने प्रकरणले रातारात नव धनाढ्यहरु जन्मिरहेका छन् ।
विश्वमा कोरोना संक्रमितको संख्या बृद्धि हुन थालेपछि नेपाल सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेकोछ । लकडाउनको विषयमा अग्रिम जानकारी पाएका मानिसहरुले चैत्र १० गते रातीसम्म खाना पकाउने ग्याँस, खाद्यान्न र तरकारी लगायतका अत्यावश्यकीय सामग्रीहरुको भण्डारण गर्न थालेका थिए । लकडाउन शुरु हुने अघिल्लो दिन वा चैत्र १० गते साँझसम्म काठमाडौं र काठमाडौं बाहिरका जिल्लाहरुमा खाना पकाउने ग्याँस, खाद्यान्न, तरकारी, मास्क, स्यानिटराइज लगायतका अत्यावश्यकीय सामग्रीहरु व्यापारीहरुले लुकाउन थाले भने कतिले महंगो मुल्यमा बिक्री गरि कालो बजारी गरे । एक्कासी घोषणा गरिएको लकडाउनका कारण विपन्न, दलित, महिला, बालबालिका, अपांग, सिमान्तकृत समुदाय, सुकुम्बासी, मजदुर र आम्दानीका श्रोत नभएका व्यक्तिहरु नराम्ररी प्रभावित भएका छन् । एकातिर कोरोना भाइरसको महामारीले उनीहरुलाई आतंकित बनाएको छ भने अर्कातिर लकडाउन पालना गर्नुपर्ने कडा उर्दीले नजरबन्दको अवस्थामा छन् । भोको पेट क्वारेन्टाइनमा लामो समयसम्म बस्न सक्ने अवस्था पनि छैन । फल स्वरुप पेट पाल्नको लागि ज्यानकै बाजी लगाएर लकडाउनको उल्लंघन गरि घर र कोठाबाट बाहिर निस्किएर काम गर्न थालेको पाईएकोछ । कतिपयको त चुलो नै बल्न छाडि सकेकोछ ।


एउटा विपन्न दलित समुदाय जसको आफ्नो खेतीपाती गर्ने जमिन छैन । घर भाडा लिएर गुजारा चलाउन बजारमा आरसीसी घर छैन । रोजगारी गर्नलाई सीप, दक्षता र अनुभव छैन । व्यापार व्यवसाय गर्नको लागि लगानी गर्ने पुँजी छैन । पुरेत्याईं गर्न जात मिल्दैन । बालबच्चा कम जन्माउनको लागि सचेतना छैन । भएका बालबच्चाको पालन पोषणको लागि पनि मजदुरी पेशाले धान्दैन । समस्या परेको समयमा साथी भाई र इष्टमित्रबाट सहयोग पाउँला भनौं भने उनीहरुको पनि हालत उस्तै छ ।
 यस्तो गरिबीको पिँधमा रहेका दलित समुदायलाई कोरोना भाइरसको कहरमा सहयोग गर्ने कसले हो ? यस्ता विपन्नताको दुश्चक्रमा जीवन व्यतित गरिरहेका दलित समुदायको कोराना भाइरस जस्तो महामारीमा बाँच्न पाउने मानव अधिकार हुँदैन र ? सरकारले किस्ताबन्दीमा लकडाउन बढाई रहेकोछ । कोरोनाको महामारीबाट नागरिकको जीवन रक्षाका लागि चालिएको यो कदमलाई सराहनीय नै मान्न सकिन्छ । तर यति लामो समयसम्मको लकडाउनको अवधिमा तीनै तहको सरकारले राहतका नीति तथा कार्यक्रमको सुनिश्चितिता गर्न सकेको छैन । उल्टै राज्यका हर्ताकर्ताहरु कोरोनाको महामारीलाई अवसरको रुपमा लिंदै भ्रष्टाचार र अनियमितताको लागि उन्मुख रहेका छन् । यस्तो अवस्थामा दलित समुदायले राहतको अपेक्षा गर्न सक्ने त अवस्था नै छैन । बितेको दुई साता लामो लकडाउन अवधिलाई समिक्षा गर्दा राज्यले नागरिकहरुलाई कुनै किसिमको सहानुभूति दिलाउन सकेन । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीहरुलाई समेत सरकारी तथा निजी अस्पतालले भर्ना लिन मानेका छैनन् । बिरामीबाट मोटो रकम असुल्ने निजी अस्पतालहरु यस्तो संकटको समयमा पनि चुपचाप छन् । सरकारले ती अस्पतालहरुको उचित नियमन गर्न सकेको छैन । राजधानीकै नागरिकहरुले मास्क र सेनिटाइजर जस्ता कोरोनाबाट जोगिने न्यूनतम सामग्री नपाईरहेको अवस्थामा दलित समुदायले त्यस्ता सुरक्षाका सामग्रीहरु पाउने त कुरै भएन । सरकारले राहतको सामग्री बोकेर दलित समुदायको झुपडीमा पुग्छन् भनेर पनि परिकल्पना गर्न सकिंदैन ।
(लेखक : दलित सेवा संघ जिल्ला शाखा धादिङका अध्यक्ष हुनुहुन्छ ।)

कोरोना र दलित -लक्ष्मण दर्नाल

विभेद बिरुद्ध अभियान- बैशाख २३ गते - मानवजातिको अस्तित्वलाई नै चुनौती दिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व लकडाउन छ । भाइरसले सेकेन्ड र मिनेटको महत्व र अर्थ राख्ने द्रुतगतिको चलायमान विश्वलाई कोठाभित्र थन्काइदियो ।

हालसम्म (२८ चैतसम्म) सम्म विश्वमा ९५ हजारको ज्यान लिइसकेको भाइरस १५ लाख मानिसमा संक्रमण देखिएको छ । यो भाइरसका कारण कोलाहल विश्व एकाएक सुनसान बनेको छ ।

(भारतमा सामाजिक दूरीको बिरोध भएको छ । सामाजिक दूरीको नाममा छुवाछूत बढ्ने खतराप्रति भारतीय लेखक कान्चा इलैयाले लेखमार्फत् चिन्ता व्यक्त गरेका छन् ।)

तयारी अवस्थामा बसेका विश्व शक्ति राष्ट्रका मिसाइल, अणुबम र लञ्चरहरु भाइसरको सामु खिँया लागेका काम नलाग्ने सावित भए । ती मानव रक्षाका लागि रहेन छन् । हरेक एक शताब्दीको अन्तरालमा यस्ता महामारीहरु आइरहेको विश्व इतिहास छ । यस्ता महामारीको आँकलन पहिल्यै नगरिएको पनि होइन । तर, संभावित जोखिम न्यूनीकरणका लागि के गरियो भन्ने कुराको हिसाबकिताव भाइरसलाई परास्त गरिए पछिको बिश्वमञ्चमा छलफल हुने नै छ । विज्ञान, प्रविधि, पुजी र विकासले विश्वको एक नम्बरमा कहलिएका शक्ति राष्ट्रहरुलाई समेत माथ खुवाउने गरी मन्द्राएको कोरोना भाइरसको चर्तिकला देख्दा मलाई ताजुव लागेर आउछ ।

(हिन्दुधर्ममा बहिस्कार भन्दा पनि स्वागतमा दीप प्रज्वलित गर्ने प्रचलन बढी छ । थाल ठटाएर, दीप प्रज्वलन गरेर कोरोना भाग्ने पनि होइन । कोरोनामा नाममा परम्परालाई अघि सारेर विभेदलाई प्रोत्साहन गर्न खोजियो की भन्ने बहस जारी छ ।)

भाइरस पनि कस्तो ? एकले अर्कोलाई छुन नहुने । टाढै बस्नुपर्ने । जसलाई सामाजिक दूरी कायम भनेर भनियो । यो नेपालमा दलित र गैरदलितबीच करिब तीन हजार वर्ष पहिल्यैदेखि जबरजस्त प्रचलनमा छ । सामाजिक दूरीका नाममा टाढा रहनुपर्ने बहानामा छुवाछूतका घटनाहरु बढ्न सक्ने सम्भावना बलियो छ ।

चोरलाई भर्याङ भएजस्तै विभेद गर्नेहरुलाई सामाजिक दूरीको अवधारणा अर्को हतियार हुनेछ । ‘सामाजिक दूरी’ को विरोध हुन थालेपछि विश्व स्वास्थ्य संगठनले सामाजिक दूरी नभनी शारिरीक दूरी भन्न थालेको छ । भारतमा सामाजिक दूरीको बिरोध भएको छ । सामाजिक दूरीको नाममा छुवाछूत बढ्ने खतराप्रति भारतीय लेखक कान्चा इलैयाले लेखमार्फत् चिन्ता व्यक्त गरेका छन् ।

छोइन नहुने । अरुको घरमा जान नहुने । मलाई भाइरसप्रति शंका छ । कतै यसले जातीय भेदभाव तथा छुवाछूतसँग मिलेमतो त गरेको छैन? यी दुवैको प्रकृति हेर्दा उस्तैउस्तै देखियो, एकले अर्कालाई छुन नहुने, छोएको खान नहुने । तर, विश्वमा फैलिएको कोरोना भाइरस हाल दक्षिण एसियामा मात्र व्याप्त जातीय भेदभाव तथा छुवाछूतसँग कसरी सहकार्य गर्न पुग्यो ? ‘लकडाउन’मा परेर कोठाभित्र रन्थनिएको बेला शंकाले झन उकुसमुकुस बनायो । आफैलाई प्रश्न गरे ।

(कोरोनाको कुनै प्रवाह नगरी भोको पेटले लाइन बसेका दलितमाथि न्याय होलाभन्दा उल्टो अपमानित भइ कुटिनु पर्ने? सक्नेले र पहुँच भएकाहरुले नै पाउने रहेछ राहत भन्ने कुरा भूकम्पपछि फेरी पुष्टि हुँदैछ ।)

दक्षिण एसियाको मुख्य शक्तिराष्ट्र भारतका (जहाँ २ करोड ५० लाख दलित छन्) प्रधानमन्त्री नरेन्द्र मोदीले दीप प्रज्वलन गरेर कोरोना भाइरसलाई स्वागत गरेका हुनकी बहिस्कार ? प्रश्न उनैलाई । हिन्दुधर्ममा बहिस्कारभन्दा पनि स्वागतमा दीप प्रज्वलित गर्ने प्रचलन बढी छ । थाल ठटाएर, दीप प्रज्वलन गरेर कोरोना भाग्ने पनि होइन । कोरोनामा नाममा परम्परालाई अघि सारेर विभेदलाई प्रोत्साहन गर्न खोजियो की भन्ने बहस जारी छ । तर, नेपालमा त ‘लकडाउन’कै बेला छुवाछूतका घटनाहरु भइरहेका छन् ।

भारतमा दीप प्रज्वलित गरेको चौथो दिन स्याङ्जा चापाकोट नगरपालिकाका सुमन बि.क राहत लिन जादा कुटिए । दलित भएकै कारण उनीमाथि कुटपीट भएको छ । कोरोना भाइरसले त जातीय भेदभाव तथा छुवाछूतलाई नै प्रोत्साहन गर्ला जस्तो छाट देखाउन थाल्यो । अचम्म राहत वितरणका नाममा दलितमाथि छुवाछूत र कुटपिटका घटनाहरु पो बढ्न थाले । ‘लकडाउन’मा पनि छुवाछूत! छुवाछूतसहितको ‘लकडाउन’ स्वीकार्य छैन ।

११ चैतदेखिको गुप्तबासले दलित तथा दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग समुदायको चुल्हो नबल्ने अवस्था आइसक्यो । स्थानीय सरकारले राहत वितरण गरेका फोटा फेसबुकभरी छाएका छन् । घरमा अन्न सकिएपछि राहत लिनेको लाइनमा दलितहरु अग्रपक्तिमा छन् । स्वभाविकै हो, दलितहरु भूमिहिन सुकुम्बासी छन्, बेरोजगार छन्, अहिले पनि २३ प्रतिशत गरिवीको रेखामुनि छन्, काम गर्न पाएका छैनन् अनि दलितहरु राहतको लाइनमा नगएर भो त?

(अहिले तपाईको कुरा विश्वले सुन्छ कोभिड महाराज । कोरोना महाराज तपाईले हाम्रो ज्यान लिएपनि बाचुञ्जेल सम्मानका साथ बाँच्न पाउँ, भोको पेटमा लकडाउनमा नराखिबक्योस् महाराज ।)

कोरोनाको कुनै प्रवाह नगरी भोको पेटले लाइन बसेका दलितमाथि न्याय होलाभन्दा उल्टो अपमानित भइ कुटिनु पर्ने? सक्नेले र पहुँच भएकाहरुले नै पाउने रहेछ राहत भन्ने कुरा भूकम्पपछि फेरी पुष्टि हुँदैछ । तर, शासकहरुलाई यी घटनाहरु सामान्य लागेको देख्दा कन्पारो तातेर आउँछ । तर, के गर्नु ‘लकडाउन’ले बाहिर निस्कन पाए पो ।

‘लकडाउन’ खुल्ला भएको भए माइतीघर मण्डला पुगेर प्लेकार्ड समाएर उभिने थिए । अनि प्लेकार्डमा लेख्ने थिए ‘लकडाउनमा वितरण गरिएको राहत सामाजिक न्यायको आधारमा वितरण गर, गरीव, दलित र मजदुर वर्गलाई पहिलो प्राथमिकतामा राखेर समानुपातिक तरिकाले राहत वितरण गर, राहत लिन गएका जनता कुट्ने चापकोट नगरपालिकाका मेयरमाथि तत्काल कारवाही गरियोस् प्राकृतिक प्रकोप वा महामारीले जात, धर्म, भाषा लिङ्गका आधारमा विभेद गर्दैन । सत्य हो सानो ठूलो छुट्याउँदैन । तर, यस्ता महामारीले गरिब तथा समाजमा जसलाई पछाडि पारिएको छ, जसको पहुँच छैन त्यही वर्ग समुदायलाई बढी प्रभावित गर्छ यो पनि सत्य हो । दुईमत छैन लकडाउनमा भोकमरीमा पर्ने दलित समुदाय नै बढी हो ।

विश्वभर आफ्नो साम्राज्य फैलाइरहेको कोरोना भाइरस महाराजलाई मेरो प्रश्न छ ‘दलितले धारा, कुवा छुनै पाउदैनन् अनि कसरी हात धुने? म भाइरस महाराजलाई विन्ती चढाउछु नेपालका दलित वस्तीमा हात धुने पानी छैन । पानी भए सावुन छैन । आरनमा पाईन् राख्ने एक बटुको पानी छ ।

(प्राकृतिक विपत्ले पनि दलितलाई छुट्याउदो रहेछ । होइन भने भूकम्प र कोरोना भाइरसको महामारीमा दलित समुदायमाथि विभेद किन भइरहेको छ?)

मालिकहरुको सेवाको लागि राखेको हो । मेरो हात धुनलाई सावुन पानी छैन । हाम्रा झुपडीमा अन्न सकिएको, मेरो आरन र वस्तीमा सावुन पानी नभएको खवर मेरा शासक महाराजलाई तपाई कोभिड महाराजले सुनाइदिई बक्स्योस् । अहिले तपाईको कुरा विश्वले सुन्छ कोभिड महाराज । कोरोना महाराज तपाईले हाम्रो ज्यान लिएपनि बाचुञ्जेल सम्मानका साथ बाँच्न पाउँ, भोको पेटमा लकडाउनमा नराखिबक्योस् महाराज ।

हुनत दलित समुदाय कुटिनु पर्ने, राहतबाट बञ्चित हुनुपर्ने घटना पहिलो होइनन् नेपालमा । तराईको शीतलहर, हुण्डरी, बाढी, पहिलो, आगलागी लगायतका दुर्घटनाहरुमा दलित समुदायमाथि विभेद भएका छन । काम गर्ने बेला, आन्दोलन गर्ने वेला दलितमाथि बिभेद हुदैन नेपालमा । खाने वेला वा अवसर र अधिकार बाँठफाँड गर्ने वेला विभेद हुन्छ । कलडाउनमा पनि यस्तै भएको छ । बाँडफाँड गर्ने बेला आएसी विभेद । कसैलाई बाड्नु नपरेको भए त्यहाँ विभेद हुदैन्थ्यो । दलितहरु कटिनुपर्ने थिएनकी!

बिश्व युद्धहरु भए, गृहयुद्धहरु भए तर दक्षिण एसियाबाट छुवाछूत हटेन । जनआन्दोलनहरु पनि भए तर छुवाछूतलाई हल्लाउन सकेनन् । २०७२ बैशाख १२ गतेको भूकम्पको स्मरण पनि ताजै छ । भूकम्पका बेला पनि दलितमाथि सक्दो विभेद गरियो । त्यो विभेद राहत वितरणमै थियो । राहत लिन आउने दलितमाथि विभेद गरियो ।

(संविधान र कानुनले त सम्मानित जीवन दिएकै छ । तर, मान्छेको व्यवहार संविधान र कानुनले परिवर्तन गर्न नसक्दा विभेद उस्तै छ ।)

भूकम्पको अवधीमा करिब आधार दर्जन घटनाहरु बाहिर आए । काठमाडौँमै राहत वितरणमा दलित महिलामाथि कुटपीट भएको थियो । राहत लिन जादा रामकोटकी सरस्वती सुनारलाई स्थानीय गैरदलितले कुटेर हात भाचिदिएका थिए । प्राकृतिक विपत्ले पनि दलितलाई छुट्याउदो रहेछ । होइन भने भूकम्प र कोरोना भाइरसको महामारीमा दलित समुदायमाथि विभेद किन भइरहेको छ? भाइरस नियन्त्रणका नाममा दलितमाथि गरिएको विभेद अमानवीय छ । स्वीकार्य छैन ।

मानव निर्मित संरचनालाई प्रकृतिले जहिले पनि चूनौती दिदै आएको छ । ध्वस्त पारेको पनि छ । जातीय भेदभाव तथा छुवाछूत पनि मानव निर्मित सामाजिक संरचना हो । यसलाई पनि प्रकृतिले नै ध्वस्त पार्नुपर्ने होकी! नेपालका मानवजातिले त कानुन र संविधानमा अस्वीकार गरेपनि व्यवहारमा राखिरहे । छुवाछूत गर्न हुदैन भन्ने कुरा यो दुनियामा कसलाई थाहा छैन ? अचम्म त २०७२ को भूकम्पलाई सम्झिदा पो लाग्छ । ७.८ म्याग्नाच्युट स्केलमा जबरजस्ती धर्ती हल्लाएर हायलकायल पारि ८ हजार मान्छेको ज्यान लिएको नाथे भूकम्पले छुवाछूलाई हल्लाउन समेत सकेन ।

अब झण्डै एक शताव्दिको अन्तरालमा आएको कोरोना भाइरस महामारीले के गर्छ हेरौं । झण्डै तीनहजार वर्षदेखि जातीय भेदभाव र छुवाछूतबाट हेपिएका दलित समुदायलाई कोरोना भाइरसले पनि हेप्नी! होइन भने लकडाउनको राहत वितरणमा दलितमाथि किन विभेद? किन कुटपिट? शासकहरुलाई कुनै पनि चिज बाड्न पर्दाको आक्रोशको सिकार हाललाई चापाकोटका सुमन बि.क भए पनि अन्य जिल्लाको अवस्था फरक छैन । खवरदार कोरोना भाइरस तिमी दलितका लागि थप विभेद लिएर आएका छौ ।

(संघर्ष र आन्दोलनलेमात्र समाजमा परिवर्तन ल्याउदैन प्राकृतिक विपतले पनि परिवर्तन ल्याउँछ । तर जातीय भेदभाव तथा छुवाछूतको सवालमा भने यी विपतहरु किन मौन छन्?)

मृत्युसँग डराएर तिमीलाई खवरदार भनको होइन । मर्नु त एकदिन छदैछ तर हामी बाचुञ्जेल सम्मानित जीवन चाहान्छौं । मानवीय जीवन चाहान्छौ । संविधान र कानुनले त सम्मानित जीवन दिएकै छ । तर, मान्छेको व्यवहार संविधान र कानुनले परिवर्तन गर्न नसक्दा विभेद उस्तै छ ।

संघर्ष र आन्दोलनलेमात्र समाजमा परिवर्तन ल्याउदैन प्राकृतिक विपतले पनि परिवर्तन ल्याउँछ । तर जातीय भेदभाव तथा छुवाछूतको सवालमा भने यी विपतहरु किन मौन छन्? नयाँ वर्षदेखि जातीय भेदभाव तथा छुवाछूत गर्न हुदैन र गर्दिन भन्ने सतबुद्धि पलाओस् ।

छुवाछूत जस्तो अमानवीय र संविधान विपरितको कुकार्यप्रति शासकहरुको ध्यान गम्भीर होस्, कानुन कार्यान्वयन गर्ने निकायको सोच परिवर्तन भएर छुवाछूतका पीडितहरुले न्याय पाउन नयाँ वर्ष २०७७ को शुभकामना!

लेखक: राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय महासचिव हुन् ।

कोरोना, मनुवाद र दलित - मिमबहादुर परियार

विभेद बिरुद्ध अभियान- बैशाख २३ गते - हिन्दु धर्मभित्रको वर्ण व्यवस्थामा आधारित जात व्यवस्थाको मूलजरो मनुवादी चिन्तन कोभिड–१९ अर्थात नोभेल कोरोना भाइरसभन्दा कम छैन। कोरोनाले जसरी विश्वव्यापी रुपमा आम जनसमुदायमा  डर र त्रास फैल्याएर एकान्तमा घरभित्रै लुक्न बाध्य बनाएको छ। विश्वका शक्तिशाली राष्ट्रलाई लकडाउन अर्थात बन्दाबन्दीमार्फत समाजिक दूरी कायम राख्न, कोहि नयाँ संक्रमित मानिसले आफ्नो भूमिमा नटेकाउँन, संक्रमणको जोखिम कम बनाउन कोरोनाले यो अवस्था सृजना गरेको छ।

के धनी के गरिब, के हिन्दु के मुस्लिम, मानिस मानिसबीच समाजिक तथा शारीरिक दूरी कायम राख्नुपर्ने नियम बनाइएको छ। मानव समुदायभित्र, आमा छोराबीच जीवाणुको डरले समाजिक नाकाबन्दीको अवस्था देखिएको छ।

 ठ्याक्कै यस्तै लकडाउनको नियम अझ त्यो भन्दा घातक र अमानवीय नीति मनुवादी कुसंस्कारमा आधारित वर्ण व्यवस्थाको जातीय कुप्रथाभित्र देख्न सकिन्छ। मानिस मानिसबीच समाजिक दूरी रहेको छ। कथित उपल्लो जात मानिएकाको घरमा कथित तल्लो अर्थात दलित समुदायका मानिसलाई प्रवेशमा बन्देज लगाएको छ। जातको आधारमा कसैलाई प्रत्येक सामाजिक, सांस्कृतिक, धार्मिक कार्यमा स्वागत गरिन्छ त कसैलाई  बहिस्कार गरिन्छ।  

आज  कोरोना भाइरसको त्रासमा संक्रमितबाट अन्य मानिस टाढै रहनुपर्छ। जसरी दलितका  लागि गैरदलितको घरमा बन्दाबन्दीको नियम हुन्छ। दलित गैरदलितको घरमा टेक्न पाउँदैन, गैरदलितका हरेक समाजिक र सांस्कृतिक कार्यमा दलितको सहभागिता हुँदैन। अहिलेको आइसोसेलसन र क्वारेन्टाइनको अवधारणा जस्तै।

हिजोआज कोरोना भाइरसको कहरले केही नयाँ शब्द प्रयोगमा छन्। आइसोलजन र क्वारेन्टाइन, हरेक मानिसको मुखमा झुन्डिएको छ। आइसोलेसन अर्थात गुप्तबास, जहाँ कोरोना संक्रमित बिरामीलाई सबैबाट अलग राखेर उपचार गरिन्छ। आइसोलसनमा उपचारार्थ बिरामी समाज, घरपरिवारबाट टाढा बस्नुपर्छ। उसलाई मनुवादी भाषामा भन्नुपर्दा अछुत भनिन्छ। उसले छोएको, टेकेको, समातेको आम मानिसलाई चल्दैन।

दलित समुदायको भोगाइ पनि आइसोलेसनमा राखिएको कोरोना संक्रमितको जस्तै हो। सदियौंदेखि जातीय भेदभावको कुसंस्कारमा समाजिक, धार्मिक, सांस्कृतिक क्रियाकलापबाट गैरदलित समुदायले सधैं टाढा राख्यो। दलितका हरेक गतिविधिलाई अस्वीकार गरियो, उसलाई पर, उता, टाढा समाजिक दुरीमा बस्न बाध्य बनाइयो। दलितका  हरेक पाइलालाई अयोग्य, अछुत, नचल्ने बनाइयो। फलतः आजको एकाइसौं आधुनिक युगमा पनि दलित समुदाय समाजिक आइसोलेसनमा बस्न बाध्य छ। मनुवादी कुसंस्कारले श्रृजना गरेको आइसोलेसनको जति निन्दा गरेपनि अपुग हुन्छ।

मानिस हप्ता दश दिन आइसोलेसनमा बस्दा कति पीडा हुन्छ त्यो कोरोना संक्रमितलाई थाहा होला। उसका घरपरिवारलाई त्यो पीडा थाहा होला। तर सयौं वर्षदेखि आइसोलेसनको पीडा सहेर बसेका तमाम दलितको मनोविज्ञान कस्तो होला? जातीय छुवाछूत तथा भेदभावबाट हुने पीडा, त्यसबाट उब्जिएका समाजिक, सांस्कृतिक यातना पिएर पुस्तौंदेखि जीवनयापन गरेका दलित समुदायको मनमा के बित्यो होला? यी यावत समाजिक र सांस्कृतिक पीडाको हेक्का गैरदलित समुदायले बिरलै राख्यो। जब मानिसलाई मानिसबाट दुरीमा राखिन्छ, कसैलाई स्वागत र कसैलाई जातकै आधारमा विभेद गरिन्छ, त्यसको पीडा, मर्म बेदना दलित समुदायलाई थाहा छ। ती पिडाको अगाडी कोरोनाको पीडा ज्यादै न्यून छ। आइसोलेसनको बसाइँ सामान्य देखिन्छ।

कोरोना भाइसको जन्म केही महिना अगाडि चीनको उहान सहरमा भयो। जन्मेको केही दिनमै यसले आफूलाई विश्वव्यापी रुपमा विस्तार गर्‍यो। आज कोरोना भाइसको संक्रमण विश्वका करिब २ सय ५ राष्ट्रका मानिसमा देखिएको छ। संक्रमित बिरामीको पीडा समाजिक संजालमा भाइरल भएका भिडियोमा हेर्ने सकिन्छ। पीडा, त्रास, भयबाट कोरोना कति पीडा छ, कति कठोर छ, कति निर्दही छ भन्ने कुरा पीडकका आँसुमा देखिन्छ।

मानिसहरू कोरोना भाइरसको डरले आफ्ना प्रियजनको लास छुन डराएका छन्। बिरामीको आँसु पुछ्न डराएर छन्। भेटघाट त परको कुरा अस्पतालका शैयाबाट मृत्युप्रति बेदना पोख्दै छन्। दुई महिनाको दुधे बालककी आमा रुँदै क्वारेन्टाइनमा बस्न विवश छन्। आम मानिसमा कोरोनाको कहरले मानसिक समस्या देखिएको छ। मानिस मानिसदेखि तर्सिन थालेका छन् । अवस्था निकै भयावह छ। डक्टर, पादरी, राजकुमार, राजकुमारी सबैलाई  कोरोनाले डसेको छ। घरघरमा बन्दाबन्दीमा बस्न बाध्य छन्। हजारौं मानिस आइसोलेसनमा बस्न बाध्य भएका छन्।

लाखौंको संख्यामा संक्रमित छन्।एक लाख बढी मानिसको ज्यान गएको छ। समग्रमा पूरा विश्वमा त्रास फैलिएको छ। त्यस्तै मनुवादी जातीय विभेदको आतंककारी भाइरसले पनि दलित समुदायलाई कोभिड–१९ झैं गलाएको छ, तर्साएको छ, जिउँदै मारेको छ। यो विभेदकारी भाइरबाट पीडित तमाम दलित समुदाय समाजिक स्वतन्त्रता, आत्म सम्मानको पर्खाइमा वर्षाैदेखि पर्खेर बसेको छ। तर, विडम्बना मनुवादी कुचिन्तनका अनुयायीमा कहिले समाजिक सदाचार सद्भावनाको चेतना देखिएन। उही पुरातनवादी रुढिवादी बाहुनवादी सोच हावी भयो । जसबाट दलित समुदाय दलित क्वारेन्टाइनभित्र बस्न विवश छ।

मनुवादी चिन्तन तुलनात्मक रुपमा अझ बढी खतरनाक,अमानवीय र घिनलाग्दो छ। कोरोना भाइरसको मिति सिमित छ। यसबाट बच्न केही सावधानी अपनाए संक्रमणबाट जोगिने सम्भावना बढी हुन्छ। आज कोरोना कहरको रुपमा देखिए पनि विज्ञान, वैज्ञानिकको मिहिनेतले अवश्य कोरोनाको रोकथामको लागि औषधि उपचार हुनेछ।

मानिसमा भएको भयावह, डरत्रास केही दिनमा अन्त्य हुनेछ। तर मनुवादी कुसंस्कारमा आधारित उच्च जातीय अहंकारमा सदियौंदेखि पीडित दलित समुदायले जातीय कुसंस्कार कहरको अन्त्य कहिले देख्ने? कहिले मनुवादी कुचिन्तनबाट मुक्ति पाउने? देशमा संविधान बन्यो, अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा नीति नियम बने तर परिणाम आजको मितिमा दलित जातकै आधारमा कोठाबाट निकालिन्छन्। धारामा पानी छोएकै कारणले कुटपिट सहन बाध्य छन्। मठमन्दिरमा रोकिन्छन् ।

यो कहर, यो पीडा कहिलेसम्म? कोरोनाबाट मानिसले अवश्य मुक्ति पाउँछन्। यसको रोकथाम अवश्य हुनेछ। संक्रमित बिरामी आइसोलेसमा बस्नुपर्ने छैन। क्वारेन्टाइन भोलि रहनेछैन तर मनुवादी जातीय भाइरसबाट दलित समुदायले कहिले उन्मुक्ति पाउने? यसको रोकथाम कहिले हुने?

सर्सर्ती हेर्दा कोरोनाभाइरस र मनुवादी कुसंस्कारी चिन्तनमा धेरै समानता देखिएका छन् जस्तैः यी दुवै विभेदकारी भाइरस हुन्। कोरोना पीडितले पनि विभेदको सामना गर्नुपरेका घटना हाम्रो वरिपरि छन्। क्वारेन्टाइ पनि एकप्रकारको विभेद हो। आइसोलेसन झन् चरम विभेद हो।

बुटवलमा कोरोनाको आशंकामा  बाबुराम थापाको शव अस्पतालबाट उठ्न सकेको छैन। भलै स्वाबको परिणाम नेगेटिभ देखिएको छ तर उनका आफन्तले छुन मानिरहेका छैनन्। दलितका कैयौं लासले बाबुराम थापाको हविगत भोगेका छन्। दलितका लासलाई छुनु हुन्न भन्ने कुमानसिकता भएका कैयौं गैरदलित हाम्रै अगाडी छन्। यो भन्दा मार्मिक के हुनसक्छ? जब आफ्नाले लास छुन मान्दैनन् । कोरोनाले जस्तै  मनुवादी चिन्तनले गैर दलितलाई विभेदकारी कुसंस्कारी मानसिकता दिएको छ। फलतः  नछुनु, सम्बन्ध नगाँस्नु, मर्दा पर्दा सधैं बहिस्कार गर्नु भनेर गैरदलितलाई सिकाइको हुन्छ। आज कोरोनाले त्यही पाठ आम मानिसलाई सिकाउँदैछ। मानिस मानिसबीच दुरी बढेको छ। एकअर्काको घरमा जान सक्दैनौं। सँगै खान सक्दैनौं। बस्न निषेध छ।

कोरोना र मनुवादी कुसंस्कारी भाइसको एकमात्र उद्धेश्य भनेको मृत्यु हो। समाप्त हो। कोरोना भाइरसले भौतिक रुपमा मानिसमाथि आक्रमण, संक्रमण गरेर मानिसलाई तहसनहस गर्दै, गलाउँदै मृत्यु शैयातिर धकेल्छ भने मनुवादी कुसंस्कारी भाइरसले सदियौंदेखि शुद्र अर्थात दलित समुदायलाई धार्मिक, सांस्कृतिक, मानसिक, राजनीतिक, आर्थिक र समाजिक स्वतन्त्रतामाथि अंकुश लगाउँदै पीडामा बस्न बाध्य बनाएको छ।

मानिसको स्वतन्त्रपूर्वक जिउने अधिकारलाई तहसनहस गर्दै समाजिक मृत्युको आभास दिने काम गरेको छ। जबसम्म यस्ता समाजिक भाइरस र माहाव्यादी भाइरस मानव जगतमा देखिन्छन्, मानिसको समाजिक समानता, स्वतन्त्रताको खिल्ली उड्ने हुन्छ। एकअर्काका माथि समाजिक दूरी कायम हुनेछ।

कोरोनाको लक्षण र मनुवादी कुसंस्कारका धेरै लक्षण मिलेको देख्न सकिन्छ। अहिले कोरोनाका संक्रमितलाई आम मानिसले गर्ने व्यवहारमा विभेद देखिन्छ । पर पर, उता उता, जस्ता विभेदकारी शब्दको प्रयोग भएको छ। ठ्याक्कै यही चित्र, यिनै शब्द वर्ण व्यवस्थामा आधारित जातीय कुप्रथामा ब्राम्हण, क्षेत्री, वैशबाट शुद्र वर्णलाई गरिन्छ। आजको विश्वमा कोरोना संक्रमितलाई अन्य स्वस्थ मानिसले विभेद गरिरहँदा आम दलितले त्यही विभेद सदियौंदेखि कथित गैरदलितले गर्ने व्यवहारमा झल्किन्छ।

आज पनि समाजका हरेक धार्मिक तथा सांस्कृतिक कार्यमा दलित समुदायलाई आइसोलेसनमा राखिन्छ। उसलाई पर, उता, टाढा, नछुन आदि शब्द प्रयोग गरिन्छ। ताकि दलितलाई दमन गर्न सकियोस्। ऊ नदेखियोस्, उसले नछोवस्, उसको पाइला नपरोस् भनेर। यस्ता विभेदकारी चिन्तनले समाज कुन दिशामा जाला? हाम्रो समाजिक मानसिक चिन्तनको विकास कहिले होला? अहिले अभ्यास भएको गैरदलितका गतिविधिबाट असम्भव जस्तै देखिन्छ। तत्कालै उच्च जातीय अहंकारको अन्त्य नभए नेपाली समाजले ठूलो दुर्घटनाको सामना गर्नुपर्ने देखिन्छ। धर्मको नाममा मुलुक विखण्डन भएका धेरै घटना छन्। जातीय कलहले समाज विभाजित भएर नरसंहार भएका अफ्रिकी मुलुकको के गति छ। यस्ता अव्यवस्थाको समयमै हामीले मनन गरौं। अन्यथा जातीय छुवाछूतको भाइरसले नेपाली समाजलाई तहसनहस अवश्य गर्छ।

राज्यलाई सम्भावित जातीय  दुर्घटनाबाट जोगाउनुपर्छ। ताकि आम नेपालीमा भाइचारा र एकता कायम रहोस्। जसरी कोरोना भाइरसको कहरबाट आजित भएर विश्व समुदाय एक भएर आ–आफ्ना वैज्ञानिक प्रयोगशालामा मानव उत्थानका निम्ति अहोरात्र खटिएका छन्। सबै धनी गरिब राष्ट्रको साझा संकल्प छ, जसरी हुन्छ कोरोनाबाट मुक्त हुने र मानव सभ्यता जगाउने। यस्तो एक्यवद्वताले ढिलोचाडो कोरोनाविरुद्धको खोप र औषधिको अवश्य विकास हुन्छ। मानिसमा आजको त्रासदी हट्ने छ।

हामी तीन करोड नेपालीले जसरी सिङ्गो विश्व एक भएर कोरोनाविरुद्धको अभियानमा छौं, त्यसरी मनुवादी कुसंस्कारी चिन्तनको अवसानका लागि हामी पनि एक ढिक्का भएर लड्नुको विकल्प  छैन। मनुवादी कुचिन्तनविरुद्ध नेपाली समाजले उचित कदम चाल्नुपर्छ। मानवलाई अमानवीय गतिविधि सिकाउने कुसंस्कारको अन्त्य गर्नुपर्छ।

आजआज भोलिभोलि भन्दाभन्दै सयौं वर्ष बितिसकेको छ। अब सबै नेपाली एक भएर जातीय भाइस विरुद्धको साझा अभियानमा लाग्नुपर्छ। ताकि हाम्रो भावि सन्ततिलाई जातीय पिडा नदोहोरियोस्। एउटै समाजभित्र समाजिक दुरीको अवधारणा नहोस्।

आजको जस्तो समाजिक लकडाउन, आइसोलेसन, क्वारेन्टाइनको अवधारणा मानिसको मानसपटलमा नआहोस्। मानिस माथिको विभेदको अन्त्यका लागि समाजिक भाइरस, मनुवादी भाइरसको अन्त्यको लागि आम नेपाली एक हुनुपर्छ। सारा विभेदकारी भाइरलाई पराजित गर्नुपर्छ।

महुवनका ३० घरधुरीका दलित परीवारलाई खाद्यान्न राहत वितरण

विभेद बिरुद्ध अभियान- बैशाख २३ गते - लकडाउनले प्रभावित पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रहेका दलितलाई खाद्यान्न राहत वितरण वितरण गरिएको छ । गाउँपालिकाको वडा ५, महुवनमा रहेका ३० घरधुरीका दलित परीवारलाई सोमबार खाद्यान्न राहत वितरण गरिएको हो । 

कोरोना भाइरसको संक्रमणबाट देशभरी लकडाउनको रहेको अवस्थामा  दैनिक ज्यालादारी गरि गुजारा गर्ने दलित समुदाय अहिले बढि प्रभावित भएका छन्। यस्तो अवस्थामा दलित अधिकार समाज पर्सा तथा पिस फर दलित फाउन्डेशन नेपालको पहलमा  समता फाउन्डेसन नेपालको आर्थिक सहयोगमा सो खाद्यान्न राहत वितरण गरिएको सामाजिक अभियन्ता मनोज रामले बताए । 

खाद्यान्न राहतमा एक परीवारलाई ११ केजी चामल , १ केजी नुन , १ केजी दाल, १ लिटर तेल ,मसला , १ केजी आलु र नुहाउने साबुन वितरण गरिएको समता फाउन्डेसन नेपाल ललितपुरका अध्यक्ष प्रदीप परियारले बताए ।