Wednesday, October 9, 2013

परियार समुदायले पञ्चेवाजा वजाउने पेशा छाडेपछि मगर युवा तम्सिए

पाल्पा जिल्लाको परियार समुदायका युवाले नौमती पञ्चेवाजा वजाउने पेशा छाडेपछि गाउँघरमा शुभकार्यमा वजाउने सो वाजाको संरक्षणमा मगर युवा तम्सियका छन् । हिजोआज मगर युवाले लोप हुने अवस्थामा पुगेको नौमती पञ्चेवाजा वजाउन थालेपछि सोको संरक्षण भएको हो । राजा जयस्थिति मल्लका पालादेखि कामका आधारमा जातजातिको वर्गिकरण संगै पाल्पाका परियार जातिले पेसाको रुपमा नौमती वाजा वजाउन थालेका थिए ।
नौमती वाजा वजाउने दलित युवाले सामाजिक सम्मान नपाएको भन्दै उनिहरु पेसावाटै विस्थापीत भएपछि
अहिले जिल्लाका अधिकांश भेगका मगर युवाले गाउँघरमा नौमती वाजा वजाउन शुरु गरेका छन् । जिल्लाको वौघागुम्वा गाविस–४ कसेनी टोलमा मगर युवाको ६३ सदस्यीय नौमती पञ्चैवाजा समूह गठन भएको छ । समूहमा १५ देखि ३५ वर्ष सम्मका युवाहरुको सहभागिता छ । गाउँका प्रत्येक घरवाट सय रुपियाँ उठाएर रु २७ हजारमा नौमती वाजा खरिद गरिएको छ । सो समूहका सदस्य वाजा वजाउनका लागि रुपन्देही, नवलपरासी, कपिलवस्तु,स्याङ्जा,काठमाण्डौं लगायतका जिल्लामा पुग्ने गरेका छन् ।

सो समूहका सल्लाहाकार मनवीर थापा(साठीघरे)ले पूर्खाको सीप सिकेर राम्रो आम्दानी गर्नुपर्छ भन्ने मान्यताको विकास भै स्थानीय क्लवमा छलफल भएपछि गाउँका मगर युवाले नौमती वाजा वजाउन थालेका वताए । मनवीर स्वयम् पैसा कमाउने उद्देश्यले ६ वर्ष मलेसिया वसेका थिए । घरफर्केपछि नौमती वाजा वजाउन थालेका उनले भने–“विदेशी वाजा भन्दा नेपाली वाजाको धुनले नेपालीको मन‘वडो’छुन्छ ।

”जिल्लाको मुझुङ,छहरा,अर्गली,सोमादी,सिद्धेश्वर,जुवापौठा,कञ्चल,फेक र भैरवस्थान गाविसका मगर युवाले नौमती वाजा वजाउने अभियान नै चलायर लोप भएको वाजा वजाउने पेसालाई आत्मसाथ गरेका हुन् । सुरुमा दलित समुदायले गर्ने काम पनि गर्छन् भन्दै त्यसो नगर्न गाउँका कथित भलादमीहरुले भने पनि आफूहरुले दलितको पेशा भनेको नेपालीको संस्कृति भएको वुझेर त्यो पेसा रोजेको मनवीरको भनाई छ ।

जिल्लाकै खानीगाउँमा रहेको पञ्चेवाजा वजाउने परियार जातीका युवाहरु विदेश पलायन भएपछि गाउँमा वाजा वजाउनेको अभाव भएसंगै शुभकार्यको वेला समस्या पर्न गएकाले त्यो पेशा अंगाल्न वाध्य भएको मनवीरको तर्क छ ।

समूहलाई वाजा वजाएवापत प्राप्त आम्दानीको २५ प्रतिशत दिनुपर्ने र वाँकी ७५ प्रतिशत रकम वाजा वजाउने युवाको लागि खर्च गरिने व्यवस्था रहेको समूहका अध्यक्ष रेखवहादुर अस्लामीले वताउनुभयो । गाउँका विद्यार्थी पनि सो समूहमा आवद्ध छन् । उनिहरु प्रायजसो विदाको दिन नौमती वाजा वजाउने गर्छन् । गाँउघरमा नौमती पञ्चेवाजा वजाउन सिक्ने सङ्गीत घरहरु कहाँ छन् र भन्ने प्रश्न गर्दै अस्लामी भन्नुहुन्छ–यस व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छ ।नेपाल मगर संघ पाल्पाका अध्यक्ष वलवहादुर गाहामगर पञ्चैवाजाको संरक्षण गर्ने जिम्मा मगर समुदायका युवाले लिएकामा प्रसन्नता वयक्त गर्दै उनिहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुहुन्छ । 
source :- nepalikorea.com

No comments:

Post a Comment