सरकारले मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको सात वर्ष नाघेको छ ।
तर व्यावहारिक र मानसिक रूपमा नेपाली समाज जातीय विभेद र छुवाछूतको रोगबाट
अझै मुक्त हुन सकेको छैन । जातजातिका आधारमा भेदभाव र अवहेलना गर्ने
प्रवृत्ति निरुत्साहित भएको छैन । कतिपय ठाउँ र सन्दर्भमा ‘माथिल्लो जात’
काहरूले ‘तल्लो जात’ र दलित समुदायका मानिसलाई भेदभाव गर्छन् भने दलित र
सीमान्तकृत समुदायभित्रै पनि असमानता र भेदभाव प्रशस्त हुने गरेका छन् ।
पटकपटकको राजनीतिक परिवर्तनपछि मुलुक गणतन्त्रमा आइसकेको छ । संघीय
लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छैन तथापि यो नेपालको राजनीतिक
इतिहासमा सर्वाधिक अग्रगामी परिवर्तन हो । यो चरणसम्म आइपुग्दा जातीय विभेद
र छुवाछूतविरोधी कानुनमा समेत ठूलो परिवर्तन भएको छ । तर दुर्भाग्य नेपाली
समाज परम्परागत र रूढिग्रस्त सोचबाट बाहिर निस्कन सकेको छैन । बेलाबेलामा
दलित समुदायमाथि हुने अमानवीय व्यवहारले समाजको रूढि सोच प्रकट भइरहेको
हुन्छ ।
कानुनकै कुरा गर्ने हो भने मुलुकी ऐन २०२० मा भएको संशोधनले सबैभन्दा
पहिले छुवाछूत र जातीय भेदभावलाई निषेध गरेको थियो । लामो समयदेखि यहाँ
छुवाछूतविरोधी आन्दोलन पनि चल्दै आएको छ । प्रमुख राजनीतिक दल, सरकारले पनि
छुुवाछूत र जातीय विभेदको विरुद्धमा उभ्याउँदै आएको छ । २०६३ जेठ २१ गते
तत्कालीन सरकारले मुलुुकलाई छुवाछूतमुक्त भनेर घोषणा गर्यो । अन्तरिम
संविधान र २०६८ जेठ १० गते जारी भएको जातीय विभेद तथा छुवाछूत कसुर सजाय
ऐनले छुवाछूत र जातीय भेदभाव गरिनुलाई हिंसा र अपराधको श्रेणीमा राखेको छ ।
कानुन, सरकारी नीतिगत कुरा, राजनीतिक दलका प्राथमिकता आदिमा परे पनि समाज
पूर्ण रूपमा दलितमैत्री हुन सकेको छैन । विगतको तुलनामा केही परिवर्तन भएको
छ तर छुवाछूत र जातीय भेदभावको गलत परम्परा पूर्ण रूपमा अन्त्य हुन सकेको
छैन । सरकारको नीति र कानुनी व्यवस्था हुँदाहुँदै समाजमा छुवाछूत र जातीय
विभेदजस्ता रूढि मान्यताले जरो गाडेर बस्नु विडम्बना हो ।
छुवाछूतका नाममा नेपालको दलित समुदायले धेरै दुव्र्यवहार खेपिसकेको छ ।
कहीँ एउटै धारा, कुवा प्रयोग गरेको भनेर यो समुदाय अपहेलित हुनुपरेको छ भने
कहीँ मन्दिरमा पूजा गर्न जाँदा अपमानित हुनुपरेको छ । कतिसम्म भने
अन्तरजातीय विवाह गर्दा समाजबाटै बहिष्कार गर्ने, गाउँनिकाला गर्नेजस्ता
अमानवीय व्यवहार पनि दलितमाथि हुने गरेको छ । सरकारले अन्तरजातीय विवाह
गर्नेलाई प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने नीति लिए पनि व्यवहारमा यस्तो
विवाह गर्नेहरू घर समाजबाटै नस्वीकारेर बहिष्कृत हुनुपरेको थुप्रै नजिर
भेटिन्छ । बेलाबखत आइरहने यस्ता प्रकृृतिका घटनाको अर्थ हो, नेपाली समाज
दलितमैत्री छैन र यहाँ अझै जातीय विभेद र छुवाछूतजस्तो कुप्रथा जड भएर
बसेको छ । यस्तो गलत प्रवृृत्ति न्यून मात्रै होेइन, निर्मूल पार्नु
अनिवार्य छ ।
वर्षौंदेखि जड भएर बसेको यो रोग निर्मूल पार्ने दुई वटा उपाय हुन सक्छन्
। एउटा सरकारले भएका कानुनी कारबाहीको प्रक्रियालाई प्रभावकारी बनाउन
सक्नुपर्छ । दलित र सीमान्तकृत समुदायमा कानुन र अधिकारका बारेमा सचेतना
कार्यक्रम सञ्चालन गर्दै समाजमा भेदभाव र असमान व्यवहार हुँदा कानुनी
उपचारको खोजी गर्न उत्पे्ररित गर्नुपर्छ । छुवाछूत तथा जातीय भेदभाव गर्ने र
त्यस्तो गर्न प्रेरित गर्ने समुदाय या व्यक्तिलाई कानुनी कारबाहीको
दायरामा ल्याउने, दण्ड दिएर निरुत्साहित गर्नुपर्छ । त्यस्तै समाजमा
भइरहेको व्यापक परिवर्तनका नयाँ-नयाँ आयामबारे सचेतता कार्यक्रम गर्नु पनि
जरुरी छ । राज्यसँगसँगै राजनीतिक पार्टी, सामाजिक संघसंगठन र एउटा चेतनशील
नागरिकले पनि छुवाछूत र जातीय विभेदलाई आदर्श या कागजमा मात्रै आत्मसात्
गर्ने होइन, सोच र व्यवहारमै स्विकार्न पूरै समाजलाई उत्प्रेरित गर्नुपर्छ ।
साभार : http://www.ekantipur.com/np/2070/2/22/full-story/369429.html
No comments:
Post a Comment