Sunday, March 2, 2014

दैलेखका दलित बिधार्थी दाउरा बेचेर पढाइ गर्छन

सदरमुकाममा दाउरा बेच्न लैजाँदै दैलेख खोरस्थित भैरव उमाविका प्राथमिक तहका विद्यार्थी । तस्बिर : प्रकाश/कान्तिपुर
दैलेख, फाल्गुन १७ - बडाभैरव खोरकी ९ वषर्ीया फूलमती विक तीन कक्षामा पढ्छिन् । गरिब परिवारकी उनलाई पढाइमात्र नभई घरायसी खर्चको समेत जोहो गर्नुपर्ने बाध्यता छ । आमाबाबुको सहयोगमा अघिल्लो दिन दाउराको भारी कसेर ठिक्क पार्छिन् । र, दाउरा बेच्न झिसमिसेमै घर छाड्छिन् । उकाली-ओराली गर्दै सदरमुकाम पुग्न र घर फिर्न झन्डै ४ घन्टा बित्छ ।
पढाइ छाडेर आफंै खर्चको जोहो गर्नुपर्ने बाध्यता रहेकामा फूलमती मात्र एक्ली होइनन् । स्कुले ड्रेसमा धान्न नसकिने भारीले असिनपसिन भएकी उनले भनिन्, 'गरिबको घरमा जन्मियौं । यो त हाम्रो बाध्यता हो ।' खोरका अधिकांश दलित बालबालिकाले पढाइभन्दा आम्दानीलाई महत्त्व दिनुपरेको छ । भैरव उच्च माविमा ३ कक्षामै अध्ययनरत १२ वषर्ीय चन्द्र विक, ९ वषर्ीय बमबहादुर चमारो, १२ वषर्ीय भक्तबहादुर चमारो, कक्षा ४ का ११ वषर्ीय नवीन विक र कक्षा ५ का दीपक विक साताको २ दिन दाउरा बेच्न सदरमुकाम आउने गर्छन् ।
उनीहरूले दाउराको भारीलाई एक सयदेखि ४ सय रुपैयाँसम्म बिक्री गर्ने गर्दछन् । 'खाना खान घरमै पुग्छौं । आफूलाई र घरका लागि चाहिने सरसामान किनेर लैजान्छौं,' आमा शीतलासँगै दाउराको मूल्य बार्गेनिङ गरिरहेका नवीनले भने, 'बजार आउँदा स्कुल भेटाउन सकिन्न । पढाइ छुट्छ । सोचेअनुसार मूल्य पाउन बजारमा धेरै डुल्नुपर्छ ।' लत्ताकपडा, कापीकलम, झोलादेखि चामल, नुनतेल, साबुनसम्मका सामग्री दाउरा बेचेर जुटाउने गरेको उनीहरूले बताए । दैलेख बजारमा शुक्रबार भेटिएका ती बालबालिकाले गरिबीका कारण राम्ररी पढ्न नसकेको दुःखेसो पोखे । 
'घरमा बसेर होमवर्क गर्न पाइन्न । गोठाला जानुपर्छ । दाउरा खोजेर बेच्न जानुपर्छ कतिबेला होमवर्क गर्नु र स्कुल जानु ?' अर्का विद्यार्थी दीपकले भने, केहीले यस्तै समस्याका कारण पढाइ छाडेका छन् । दलित समुदायका बालबालिकाले खर्चको आफंै जोहो गर्नुपर्ने अवस्थाका कारण पढाइमा कमजोर हुने र अन्तिममा बाध्य भएर स्कुल छाड्ने समस्या निम्तिएको छ । दलित बालबालिकालाई छात्रवृत्तिको व्यवस्था भए पनि घरमा तीन महिनासम्म पनि खाना नपुग्ने अवस्थाका कारण ज्यालामजदुरी गर्नुपरेको हो । घरको आर्थिक अवस्था नसुधि्रएसम्म बालबालिकाले ढुक्कसँग शिक्षा आर्जन गर्न नसक्ने शिक्षकको भनाइ छ ।

No comments:

Post a Comment