काभ्रे, असार २१, विभेद बिरुद अभियान । आफ्नै घरअगाडि विद्यालय खुलेको ६२ वर्षपछि दलित समुदायबाट एक जना विद्यार्थी एसएलसी उत्तीर्ण भएका छन्। कात्तिके देउराली गाविस–२ बोकेचौरका सरोज सार्की दलित समुदायबाट प्रवेशिका उत्तीर्ण गर्ने पहिलो व्यक्ति बनेका छन्।
प्रभा उच्च मावि कात्तिके देउरालीमा अध्ययनरत सरोजले यसपटक एसएलसी उत्तीर्ण गरेका हुन्। सो विद्यालय २०२७ सालदेखि एसएलसीमा सामेल हुँदै आएको छ। तर बोकेचौरका ३६ दलित परिवारका कुनै विद्यार्थीले यसअघि एसएलसी उत्तीर्ण गरेका थिएनन्। प्रवेशिमा उत्तीर्ण भएसँगै सरोजलाई विद्यालयले सम्मान गरेको छ।
उनको रोजगारी र शिक्षाका लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भलाराज गिरीले बताउनुभयो। प्रथम डिभिजनका लागि ४ नम्बर कम आए पनि अहिले सरोज दलित समुदायको आशा र भरोसाका केन्द्र बनेका छन्। २०१० सालमा त्यहाँ विद्यालय खुले पनि धेरै पछिसम्म दलित परिवारले शिक्षाको महत्त्व बुझेनन्। ‘समाजले पनि दलितका छोराछोरीलाई पढाउनुपर्छ भनेर वातावरण बनाइदिएन।’ –स्थानीय गणेश सार्कीले भन्नुभयो। बोकेचौरका ३६ घर दलितमध्ये यसअघि २ जना विद्यार्थी एसएलसीमा सामेल भएका थिए।
होमबहादुर सार्की र यादव सार्की केही वर्षअघि परीक्षामा सहभागी भए तर उत्तीर्ण हुन सकेनन्। सरोजले पनि आफू फेल हुन्छु भन्दै मजदुरीका लागि काठमाडौं गएका थिए। ‘फेल हुन्छु भन्दै काठमाडौंमा मजदुरी गर्न गएको छोरो अहिले खुसी छ, हामी पनि धेरै खुसी छौं।’ –सरोजका बुबा लीलाबहादुर सार्कीले भन्नुभयो। विद्यालय व्यवस्थापन समितिले सरोजको उच्च शिक्षाको जिम्मा लिने बताएको छ। ‘प्रभा उमाविमै विज्ञान विषय अध्यापन हुने भएकाले सरोजलाई यहीं भर्ना हुन र दिउँसोको समयमा विद्यालयमा सहयोगिका रूपमा काम गर्ने वातावरण मिलाउने तयारीमा छौं।’ –अध्यक्ष गिरीले भन्नुभयो।
बोकेचौरमा १ सय ५० भन्दा धेरै बालबालिका छन्। अधिकांश बालबालिकाहरू ६ महिना मात्रै विद्यालय जाने गरेका छन्। वैशाखमा भर्ना भएका विद्यार्थी असोज मसान्तसम्म मात्र विद्यालय जान्छन्। असोजदेखि चैत्र अन्तिमसम्म काठमाडौंको थानकोट र भक्तपुरको भट्टामा काम गर्न पुग्छन्। ६ महिना मात्र विद्यालय जाने भएपछि धेरै विद्यार्थी परीक्षामा उत्तीर्ण हुने सम्भावना रहँदैन।
No comments:
Post a Comment