Thursday, August 6, 2015

पुलकितको घरमा पुगेका सिडियोलाई उल्टै थर्काए ‘कथित’ उच्च जातिले

लहान, श्रावण २१, विभेद विरुद्ध अभियान  - डोम परिवारलाई इनार प्रयोगमा अवरोध गरेको घटना बुझ्न बिहीबार सिरहाका प्रमुख जिल्ला अधिकारी पीडितको घरमा पुगेका छन् ।
जिल्ला प्रहरी प्रमुख र विभिन्न कार्यालयका प्रमुख सम्मिलितसहित सीडीओको टोली सिरहा धनगढी ३ नयनपुरका ६५ वर्षीय वृद्ध दलित पुलकित मल्लिक डोमको घर पुगेका छन् । 
गाउँलेले इनार प्रयोग गर्न नदिएपछि भोकै रात काट्नु परेपछि प्रहरीले हस्तक्षेप गरि पानी प्रयोग गर्न पाएको घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी मानवहादुर विश्वकर्मा सम्मिलित टोली विहीबार पुलिकतको घर पुगेका हुन । ‘समस्या बुझन आएको हुँ,’ उनले पुलकित दम्पतीलाई भने ।
पुलकित दम्पतीले भने धम्की आउने क्रम अझै नरोकिएको बताएका छन् । ‘आज पुलिस लगाएर पानी भर्‍यौं, अरु दिन कसरी भर्छौं हेरौं न त भनेर गाउँलेले धम्की दिएका छन्,’ पुलकितबप् पत्नी ५५ वर्षीया प्रमिलादेवीले प्रजिअसमक्ष दु :खेसो गरिन् । 
ईलाका प्रहरी लहानका डिएसपी उमाप्रसाद चर्तुवेदी, प्रशासनका शाखा अधिकृत रन्जित अधिकारी र गाविस सचिव अशेष लम्साल नेतृत्वको टोलीले डोम परिवारलाई रामऔतार महतोको घर अगाडिको इनारबाट हस्तक्षेप गरी बुधबार पानी झिक्न लगाई प्रयोग गरिएको थियो । 
प्रमुख जिल्ला अधिकारी विश्वकर्माले आश्वास्त पार्दै भने, ‘जातीय भेदभाव गैरकानुनी हो, हामीले पालना गर्ने भनेको राज्यले बनाएको नियम हो, कुनै जातिले, समाजले हेप्छ भनेर छुट दिइने कुरा होइन ।’
पुलकित परिवारसँगको भेटपछि प्रमुख जिल्ला अधिकारी विश्वकर्मासहितको टोली समस्या समाधान उपायका लागि गाउँले भेलामा पुगे । विवाद सुरु भएको इनार अगाडिको रामऔतार महतोको घरमा भएको भेलामा २६ वर्षीय सञ्जीत महतोले आफूले जातीय भेदभावको विरोधी भएपनि वृद्ध वुवा जोगिन्दर र आमा कुश्मादेवीलाई डोम परिवार प्रयोग गरेको इनारबाट पानी ल्याउन भन्नु यमलोक पठाउनु सरह भएको समस्या सुनाए ।
रामऔतार महतोले जातपात छैन भनेपनि धार्मिक ग्रन्थमा जातपात किन राखियो र वर्णाश्रम व्यवस्था अनुसार वैश्य, शुद्र किन राखियो भन्दै प्रश्न गरे । उनले जातपात छैन भने सबैले थर र जातिमा ‘नेपाली’ राख्नुपर्ने अडान राखे । 
स्थानीय रामप्रसाद महतोले पशुपति नाथको मन्दिरमा समेत हिन्दु धर्मालम्वी बाहेक अन्यलाई पुजाआजा वर्जित गरिएकाले राज्यले विभेद गरेकाले आफूहरुले पनि सहन गर्न नसक्ने औल्याए । 
कान्तिपुर दैनिक बाट

No comments:

Post a Comment