Tuesday, August 30, 2016

दलित मुक्तिको सवालमा देखिएका चुनौती :मेघेन्द्र विश्वकर्मा


विभेद बिरुद अभियान - भदौ १५,सदियौंअघि कथित् वर्णव्यवस्थाले निर्धारण गरेको ‘शुद्र’ र ‘अछूत’ हुँदै दलितसम्म आइपुग्दा नेपालका आमदलित जातीय छुवाछूतको दलदल, अधिकार र अवसर विहीनताको डरलाग्दो भुमरीभित्र कैद छन् ।  दलित मुक्तिको खातिर गरिएको ६५ वर्षभन्दा लामो सङ्गठित सङ्घर्ष र आन्दोलनले किन अपेक्षाकृत सफलता हासिल गर्न सकेन ? अब हामीले दलित मुक्तिका सवालमा आन्तरिक र बाह्य रूपमा रहेका खास समस्याहरूको निष्पक्ष र गम्भीररूपमा पहिचान र विश्लेषण गर्न जरुरी छ ।  दलित उत्थानको दिशामा देखिएका आन्तरिक समस्याहरूमा जातिवाद, परियोजनावाद र गुटवाद नै प्रमुख छन् ।  विभिन्न राजनीतिक दर्शन, आदर्श र सिद्धान्तमा विश्वास गर्ने दलित नेताहरूमा देखिएको गुटगत मानसिकता र जातिवादी मान्यताले नेपालको पछिल्लो कालखण्डको दलित आन्दोलन तीव्र क्षयीकरण र विघटनको दिशातर्फ उन्मुख छ ।  दलितभित्रकै जातिवादी केही नेता र अभियन्ताको बीचमा भएका आरोप–प्रत्यारोप र कटाक्षहरू सतहमै देखिएका छन् ।  हिजोका दिनमा सशक्त दलित आन्दोलनका निम्ति निर्माण गरिने संयुक्त मोर्चाको अभ्यास र अवधारणालाई तोड्दै अहिले भातृत्व एकता र संस्कृति संरक्षणको हवला दिँदै जातिगत सङ्घसङ्गठनहरू निर्माण गरिएका छन् तर ती सङ्गठनहरूको भनाइ र गराइमा एकरूपता छैन ।  
राजनीतिक दल, पार्टीका दलित भातृ सङ्घसङ्गठन र दलित गैससहरूमा दलित नेताहरूले स्वजातीय व्यक्तिलाई स्थापित गर्न र अन्य दलितहरूलाई विस्थापित गर्न राजनीति लबिङ गर्ने र सबै शक्ति लगाउने होड चलेको छ ।  दलित आन्दोलनको रक्षा, आन्दोलनको सही दिशानिर्देश सुरक्षित अवतरण, थप अधिकार प्राप्ति र प्राप्त अधिकारको सशक्त कार्यान्वयनका लागि यस किसिमको जातीय द्वेष, घृणा र गलत रवैयालाई तिलाञ्जली दिनुपर्छ ।  केही व्यक्तिको नीहित स्वार्थ र महìवाकांक्षालाई पूर्ति गर्न गराउन सिङ्गो जाति, सङ्गठन र आमदलितहरू बन्दक बस्न सक्दैनन्, जातिवादीहरूले बुझून् ।  भित्रभित्रै भूसजस्तै सल्किरहेको जातिवादी विकृत मानसिकताका विरुद्धमा अब कोही मौन बस्नु हुँदैन ।  
अर्कोतर्फ केही व्यक्ति दलितको उत्थान, चेतनाको विकास र मुक्तिको फोस्रा आश्वासन दिँदै दातृ निकायहरूको एजेन्ट बन्ने र गैससहरू मार्फत् करोडौँ डलरको अवैधानिक खेती गरिरहेका छन् ।  वर्गीय मुद्दासँग जोडिएको जातीय विभेदले राजनीतिक परिवर्तन र व्यवस्थासँग प्रत्यक्ष सम्बन्ध राख्छ ।  राजनीतिक व्यवस्था र राज्यसत्ताको विकल्प विकासे सङ्घसंस्थाहरू र उनीहरूले सञ्चालन गर्ने चेतना र आयआर्जनमुखी कार्यक्रमहरू हुन सक्तैनन् ।  नेपालको दलित आन्दोलनले दलितहरूमाथि भइरहेको जातीय विभेदको अन्त्य, समान अवसरको वितरण र न्यूनतम् अधिकार प्राप्तिको लडाइँमा मात्रै आफूलाई बढी केन्द्रित ग¥यो ।  दलित–गैरदलित बीचमा रहेको चरम् जातीय छुवाछूतलाई आन्दोलनको निशाना बनाउँदा आफैँभित्र रहेको तीव्र जातीय विभेदप्रति आँखा चिम्लियो ।  दलितहरूमाथि हुने जातीय विभेदको अन्त्यका निम्ति गरिएका अभियान र आन्दोलनप्रति रोष प्रकट गर्दै वर्णव्यवस्थाको वकालत गर्ने परम्परावादी तप्काले दलितभित्र रहेको विभेदलाई बेलाबखत उछाल्ने र औँला ठड्याउने गरिरहेको छ ।  हिन्दु धर्मीय ब्राह्मणवादी सामन्ती व्यवस्थाले नियोजितपूर्वक निर्धारण गरेको कठोर जातिगत व्यवस्थाका पक्षमा विभेदकारी व्यवहार र चिन्तन गर्ने प्रवृत्ति कुनै नयाँ र आपत्तिजनक चाहिँ होइन तर यस विषयमा दलित आन्दोलनले अवश्य ध्यान दिन जरुरी छ ।  अबको दलित आन्दोलन दलित गैरदलितका बीचमा रहेको जातीय असमानता र छुवाछूत अन्त्यको कुरामा मात्रै केन्द्रित नभई दलितभित्रै रहेको विभेदकारी जातीय व्यवहार र गलत परिपाटीको अन्त्य तथा अवसरको समान वितरण र उपभोग गर्न गराउन लाग्नुपर्नेछ ।  
राज्यप्रदत्त दलितमुखी आंशिक समावेशी सहभागिता, सशक्तीकरण र आयआर्जनमुखी कार्यक्रमहरूमाथि राजनीतिक दलको दलित नेताहरू, डलरको खेती गर्ने र दलित आन्दोलनप्रति योगदानविहीन कथित अधिकारकर्मीहरू हावी भएको देखिन्छ ।  दलितभित्रका अधिकांश अतिविपन्न तथा गरिब, भूमिहीन, सुकम्बासी, हलिया र कमैयाहरूले अध्यापि राज्यप्रदत्त सीमित सेवासुविधा र अवसरको स्वाद चाख्न पाएका छैनन् ।  सरकार, व्यवस्थापिका, कार्यपालिका, संवैधानिक अङ्गहरू, सेना र प्रहरी सङ्गठन तथा अन्य निकायहरूमा हुने सहभागितादेखि स्थानीय तहसम्म टाँठाबाठा र हुनेखानेहरूले कमजोर र पहुँचविहीनहरूलाई पाखा लगाई निरन्तर अवसर लिइरहेका छन् ।  अझ प्राप्त अवसरहरूमा उही व्यक्ति, झुण्ड र तिनका आसेपासेहरू नै सरकारी, गैरसरकारी र दातृनिकायको वृत्तमा रहेर निरन्तर लाभ लिइरहने विडम्बनापूर्ण परिस्थिति कायम छ ।  
नेपालका स्थापित दलित नेता, बुद्धिजीवी, अधिकारकर्मी र उच्च चेत भएका दलितहरूमा समेत एक अर्कामा सम्मान भाव, योगदानको कदर र आदर गर्ने संस्कार देखिँदैन ।  उनीहरूमा अहम्कार, उत्तेजना र विकृत मानसिकताले घर गरेको देखिन्छ तर हामीले दलित अधिकारका निम्ति लामो सङ्घर्ष गरेका र उच्च योगदान पु¥याएका अग्रज, बौद्धिक र राजनीतिक व्यक्तिहरूको सम्मान गर्ने र एक अर्काको अस्तित्व स्वीकार गर्ने संस्कृति र परिपाटीको विकास गर्नैपर्छ ।  नेपालको पछिल्लो कालखण्डको दलित आन्दोलन जनजाति, महिला, मधेश र अन्य आन्दोलनहरूको तुलनामा कमजोर र प्रभावहीन हुन पुग्यो ।  राजनीतिक सङ्घ–सङ्गठनहरूको हातबाट फुत्किएर गैरसरकारी सङ्घसंस्थाहरूको पोल्टामा पुगेको आन्दोलन निष्प्रभावी हुनु स्वभाविक नै थियो ।  निष्कृट जातिवादी सोंच, एकअर्काको अस्तित्व अस्वीकार, अवसरमाथि तर मार्ने व्यक्तिवादी प्रवृत्ति र दलितको नाममा गरिने डलरको खेतीले आम दलितहरूको बीचमा एकता र सौहाद्रता विकास हुन नसक्दा दलित आन्दोलन कमजोर बन्न पुग्यो ।  अन्ततोगत्वाः दलितहरूले उठाएका कैयौँ महìवपूर्ण र गम्भीर मुद्दाहरू सम्बोधन नै भएनन् ।  
दलित आन्दोलनको दिशामा देखिएका बाह्य समस्याहरू लिच्छविकालीन समयदेखि कट्टर जातिवादी व्यवस्था प्रारम्भ भई लोकतन्त्र स्थापनापश्चात्को कालसम्म दलितहरूले छुवाछूतजन्य भेदभाव झेल्ने, सामाजिक–सांस्कृतिक रूपमा बहिष्कृत हुनुपर्ने र न्यूनतम् अवसर र अधिकारबाट विमुख हुनुपर्ने बाध्य परिस्थिति कायम छ ।  अध्यापि दलित समुदायको मुक्तिको निम्ति राज्यले प्रभावकारी कार्यक्रमहरू सञ्चालन र कानुनी व्यवस्थाहरू निर्माण गरेको छैन ।  नेपालको राज्यसत्ताले दलितहरूलाई सबैथोक दिएजस्तो गर्ने र अघाएका केही दलितले सबैथोक पाएजस्तो गरे पनि फितलो ऐन कानुन र सामान्य कार्यक्रमहरूको भरमा भयावह छुवाछूतको अन्त्य र दलितहरूको दयनीय जीवनमा आमूल परिवर्तन हुन सक्तैन ।  दलितहरूलाई सशक्तीकरण गर्ने, स्रोतसाधन तथा अवसरको समान वितरण गर्ने र अधिकार सम्पन्न बनाउने भन्दा पनि छुवाछूतप्रथाको अन्त्य गर्नमा केन्द्रित भएजस्तो गर्ने सरकार न्यूनतम् ऐन कानुनहरूको कार्यान्वयनमै चुकेको छ ।  छुवाछूतमुक्त राज्यको घोषणा, २०६३ र छुवाछूत अन्त्यसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ पश्चात् पनि सार्वजनिक स्थलमा छुवाछूतको आरोपमा व्यक्ति हत्या र गाउँ निकालासमेत गरिए ।  ती दुःखद र निन्दनीय घटनाहरू उपर सरकारले गम्भीर चासोसमेत देखाएन ।  अझ प्रहरी प्रशासनले त त्यस्ता जातीय विभेदजन्य कैयौँ संवेदनशील र गम्भीर प्रकृतिका घटनाहरूका दोषी, आरोपी र अभियुक्तहरूलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूको मुद्दा दर्ता गर्नसमेत जरुरी ठानेन ।  यस किसिमका सम्पूर्ण पक्षको गलत नियत र व्यवहारले जातीय छुवाछूतजन्य घटनाहरू नियन्त्रण हुनुको साटो प्रश्रय पाउने सम्भावना बढ्ने देखिन्छ ।  केही दलित नेता र अधिकारकर्मीहरूले दलितहरूले सम्पूर्ण चिजहरू प्राप्त गरिसके भनेर उद्देलित र उत्तेजित हुँदै विवादास्पद अभिव्यक्ति दिने र मनोवादी विश्लेषण गर्ने गरे पनि प्राकृतिक स्रोतसाधनको समान वितरण र पहुँच निश्चित हुने ऐन कानुन निर्माण गर्ने र व्यवहारमै प्राप्त गर्ने अवस्था नहुँदासम्म ठूलो विजयोत्सव मनाउन जरुरी छैन ।  
रोगभोक, गरिबी र अभावभित्र पिल्सिएका आमदलितहरूको मुक्तिको सवाल प्रत्यक्षरूपले देशको सामन्ती र अर्ध–सामन्ती उत्पादनसँग जोडिएको छ ।  नेपालका अधिकांश दलितहरू उत्पादनमुखी स्रोत र साधनहरूबाट वञ्चित छन् ।  ठूलो सङ्ख्यामा रहेका भूमिहीन र सुकुम्बासी दलितहरूले परम्परागत बालीघरे प्रथा र ज्यालादारी श्रम गरी जेनतेन जीवन निर्वाह गरिरहेका छन् ।  न्यून सङ्ख्यामा रहेका दलितहरू मात्रै आफ्नै खेतबारीबाट उत्पादित अन्नबालीले जीवन गुजार्ने गर्छन् ।  असमान भूमि वितरण, सामन्ती र पुँजीपतिहरूको पक्षपोषण गर्ने भू–नीति र उत्पीडित, गरिब र दलितमारा राज्यसत्ताको रवैयाका कारण आमदलितहरू जर्जर र पीडादायी जीवन जिउन बाध्य छन् ।  सरकारले उत्पीडित र पहुँचविहीन आमदलितहरूलाई राज्यको मूलधारमा सहभागी गराउन आंशिक रूपमा सशक्तीकरण, शैक्षिक र आयआर्जनमुखी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ तर ती कार्यक्रम न्यूनरूपमा र सुस्त गतिमा सञ्चालन गरिएको हुँदा अपेक्षाकृत फलदायी देखिएको छैन ।  त्यसकारण अब एकसाथ ठूलो बजेटमा बृहत्, आक्रामक र द्रुत गतिमा तल्लो तहसम्म लैजानुपर्छ ।  
दलितहरूमाथिको सामाजिक–सांस्कृतिक बहिष्करण र अधिकारविहीनताको सवाल दलितहरूको जीवनमा पीडादायी मात्रै बनेको छैन, अन्र्तराष्ट्रिय स्तरमा समेत बहुत लज्जाको विषय बनेको छ ।  सभ्यता र संस्कारको कुरा गरेर कहिल्यै नथाक्ने नेपालीहरू देशका ५० लाखभन्दा बढी मानिसले भोगिरहेको छुवाछूतजन्य दर्दनाक अवस्था र बहिष्कृत विभेदकारी व्यवस्थाप्रति मौन छन् ।  देख्दा सामान्य लाग्ने तर भोग्दै जाँदा कहाली र अत्यासलाग्दो छुवाछूतजन्य अवस्थाले बुद्धिजीवी, अधिकारकर्मी र राजनीतिज्ञहरूलाई समेत छोएको छैन ।  दलितहरूलाई उपयोगवादी चालबाजी गर्ने राजनीतिक दलहरू, यथास्थितिवादी प्रशासन र अधिकांश लेखकहरू समेत चरम् जातीय छुवाछूत, राज्यको विभेदकारी नीति र व्यवहारप्रति बेमतलब छन् ।  सरकार र अन्य पक्षहरूको रवैया हेर्दा लाग्छ, दलित ‘माग्ने’ वर्ग हो र राज्यसत्ता ‘दाता’ हो ।  अन्त्यमा सम्पूर्ण पक्षहरूमा रहेका यस किसिमका खराब नियत, मानसिकता र व्यवहारमा जबसम्म आमूल परिवर्तन हुँदैन, तबसम्म आमदलितहरूको मुक्ति नहुने निश्चित छ । ~गोर्खापत्र बाट 

लक्ष्मीनारायण मन्दिरमा विभेद गरेको आरोपमा उजुरी दर्ता

भदौ १५, धनगढी उपमनपा-४ बस्ने ४० वर्षीय हिक्मत दर्जीलाई धनगढी बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा भजनकिर्तनमा सहभागी हुन जाँदा पुजारी १००८ स्वामी देवराज आचार्यले अभद्र व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
आफूमाथि भदौ ४ गते नै छुवाछुतको व्यवहार गर्दै भजनकिर्तनमा सहभागी हुन नदिएको भएपनि आफूले असुरक्षित महसुस गरी भदौ १२ गते मात्रै जिल्ला प्रहरी कार्यलय, धनगढीमा उजुरी दर्ता गरेको बताए ।
पीडित दर्जीले सो घटनापछि अपमानित महसुस भएको भन्दै न्यायका लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको बताए ।
सोही घटनाको बारेमा भदौ १३ गते जिल्ला प्रशासन कार्यलय, कैलालीमा पीडित र अरोपित दुवै पक्षबीच छलफल गरिएको भएपनि कुनै निर्णय भने भएन । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सो घटनाको बारेमा थप छलफल गरेर निश्कर्ष निकालिने बताए ।
सो घटनामा आफुहरूको ध्यानाकर्षण भएको जनाउँदै कैलालीमा राष्ट्रिय दलित नेटवर्क, एनएनडिएसडब्लुओ लगायतका दलित अधिकारमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूले पीडितको न्यायका लागि भदौ १२ गते विज्ञप्तिसमेत जारी गरेका छन् ।

Monday, August 29, 2016

युएई गएको चार दिनमै दिपेश सुनारको मृत्यु,शव नेपाल ल्याउन समस्या

दुबई,विभेद बिरुद अभियान -  भाद्र १३  । भिजिट भिसामा युएई आएर काम खोज्दै गरेका एक नेपालीको मृत्‍यु भएको छ । चार दिन पहिले पर्यटकिय भिसामा युएई आएका ढेकावार २ केरवानी छ नम्बर चौराह चोक रुपन्देहीका दिपेश सुनारको युएईमा ज्यान गएको हो ।
दुबईमा कार्यरत आफ्नै साथीको सहयोगमा काठमान्डौ बाटै आँफैले निकालेको भिजिट भिसा मार्फत चारदिन पहिले युएई आएका बिहीवार राती हृदयघातका कारण ज्यान गएको हो ।
२४ बर्षिय सुनार युएई आएको दुईदिन सम्म सँगै पढेको साथी हेम गुरुङ सगैं बरदुबईको मिना बजारमा बसेका थिए । उनि बिहीवार बेलुका युएईको आबुधाबीमा कार्यरत आफ्ना काका धनबहादुर सुनारलाई भेट्न आबुधाबीको आईकार्ड पुगेका थिए । काकालाई भेटेर , काकासँगै राम्रै खाना खाएर सुतेका उनि बिहान तीन बजे सुतेकै ठाउँमा छटपटाई रहेको देखेर काकाले अन्य सहकर्मीहरुसगैं गएर हेरेका थिए । त्यो बेला दिपेशको ज्यान गईसकेको काकाले बताए ।
मृतकको सुनारको शब अहिले आबुधाबीमा रहेको खालिफा हस्पिटलमा राखिएको दलित सन्जाल युएईका अध्यक्ष बिनोद विश्वकर्माले जानकारी दिए ।
रोजगारीका लागि यस् अघी रसिया जानुभएका उनि चार महिने पहिले बुवाको निधनमा नेपाल फर्किएका थिए । उनी आफैले खोजेर रोजेको काम गर्ने मनासयले भिजिट भिसामा युएई आएका थिए उनको ज्यान गएपछि शब नेपाल पठाउदा हुने समस्याले गर्दा आफन्त चिन्तित छन । मृतक दिपेसको परिवारमा आमा, गर्भवती श्रीमती र १ छोरा समेत रहेको र अहिले परिवारमा रुवावासी चलेको रेडियो देबदहका पुर्व स्टेसन म्यानेजर याम रानाले बताए ।
शव नेपाल पुराउन समस्या
उनको मृत्‍युले युएईमा कार्यरत आफन्तहरुलाई थप समस्या परेको छ । भिजिट भिषामा रहदा मृत्‍यु भए शब सम्बन्धित मुलुक पुराउन खर्चिलो हुन्छ । यसरी ज्यान गुमाउनेको शब नेपाल लैजादा लाग्ने खर्च आफन्तले जुटाउनु पर्छ । धेरै पैसा लाग्ने भएकाले मृतकको शब कसरी नेपाली पठाउने भन्ने समस्या भएको छ । मृतकका मामा शंकर शर्माले शब नेपाल पुराउन सक्दो सहयोग गरिदिनुहुन युएईमा रहेका संघसंस्थालाइ अनुरोध गरेका छन् ।
भिजिट भिसा निकालेको ट्राभल एजेन्सी मार्फत कानुनी प्रकृया पुरा गरेपछि दुतावासले बाँकी प्रकृया पुराएर शब नेपाल पठाउन सहयोग गर्ने जनाएको छ ।

आर्थिक अभावका कारण एक दलित युवकको दाहसंस्कार हुन सकेन

कर्ण चन्द- विभेद बिरुद अभियान -  भाद्र १३ , डोटी – आर्थिक अभावका कारण मृत्यु भएको दुई दिन बितिसक्दा पनि एक दलित युवकको दाहसंस्कार हुन सकेको छैन । डोटी जिल्लाको दुर्गामाण्डौ गाउँ विकास समिति वार्ड नं. ८ चन्केसैन घर भई हाल अध्ययनको सिलसिलामा ललितपुर बस्दै आएका २५ बर्षिय अपांग ब्यक्ति हरि सिंह विश्वकर्माको यहि भदौ १० गते ललितपुर जिल्लाको ग्वार्को स्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सब पोष्ट मार्टम गरी दाहसंस्कारका लागि सब बुझ्न अस्पतालले भनेपनि दाहसंस्कारका लागि आवश्यक रकम नहुँदा शव अस्पतालमै राखिएको छ ।

गरिब दलित परिवारमा जन्मेका बिश्वकर्मा जन्मजात दृष्टिबिहिन थिए । उनका जेठा दाई र दुई बहिनी छन् । २०६५ सालमा गाउँकै श्री झिमेमालिका उच्च मा.वि.बाट दोस्रो श्रेणीमा एस.एल.सि.उतिर्ण गरि उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं बस्दै आएका उनी एक्कासी बेहोस भई ढलेका थिए । बेहोस उनको किष्ट अस्पतालमा आईसियूमा राखेर उपचार भइरहेको थियो ।

तर उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । पाल्पा जिल्लाबाट गत पौष महिना बिवाह गरी श्रीमती मुना बि.क.का साथमा ललितपुर बस्दै आएका उनको अल्पायुमै मृत्यु भएपछि श्रीमती बेहास छिन् । बेहोस श्रीमतीको पनि किष्ट अस्पतालमै उपचार भई रहेको मृतकका साथी देविलाल पार्कीले बताए । सहयोगका लागि सम्पर्क गर्न चाहेमा देविलाल पार्कीको सम्पर्क नम्बर ९८४८७९८६७४ मा सम्पर्क गर्न सकिने रातो पाटीमा खबर छ  ।

किन हुन सकेका छैनन दलितका मुद्धाः संस्थागत र नितीगत- राम कुमार परियार

भदौ १३, विभेद बिरुद अभियान -दलित भनेर सम्बोधन गर्न त मन लाग्दैन तर के गर्नु  अहिले समाजमा घटिरहेका नकारात्मक घटनाहरु पनि दलित कै नामबाट उब्जिरहेका छन । फेरि त्यस्ता घटनाहरु बिरुद्ध आवाज उठाउनको लागी दलित अगुवाहरु नै लागि परेका छन र अझै त्यो भन्दा मुख्य कुरा भनेको राजनितिक क्षेत्रमा पनि दलित कै नाम बाट अगुवाहरु बनेर आफनो राजनितिक क्षेत्र बिस्तार गरिरहेका छन । त्यसैले पनि  मलाई आजको मेरो यो लेखमा दलितका मुद्धा नै भनेर सम्बोधन गर्न मन  लागेको छ ।
समाजमा बिकृतिको रुपमा रहेको जातिय छुवाछुत मुद्धा राज्यले कानुनी रुपमा गलत हो भनेर राज्यस्तरमा नितीगत रुपमा यसलाई परिभाषित गरिएता पनि आखिरमा यो किन अहिले सम्म संस्थागत हुन सकिरहेको छैन ? यो एउटा महत्वपुर्ण प्रश्न ।
२०६८ सालको ऐन नं. ४ को प्रस्तावना लाई हेर्ने हो भने त्यहाँ पनि के उल्लेख गरिएको छ भने “प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गर्दै प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा छुवाछूत तथा भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछूत, बहिष्कार, प्रतिबन्ध, निष्काशन, अवहेलना वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था गरी सर्वसाधारणबीच सुसम्बन्ध सुदृढ गरी राष्ट्रिय एकता अक्षुण्ण राखी समतामूलक समाजको सिर्जना गर्ने सम्बन्धमा समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ बमोजिमको व्यवस्थापिका–संसदको हैसियतमा संविधान सभाले यो ऐन बनाएको छ । ” यहि प्रस्तावनालाई २०७२ सालको संबिधानले पनि पछयाईएको पाईन्छ ।तर यसलाई आत्मसात गरेको कतै पनि पाईदैन ।
जसरी संस्कारले धर्मको, चाडपर्वले रीतिरिवाज र परम्पराको, अर्थतन्त्रले विकासको, देशप्रेमले राष्ट्रियताको अस्तित्व दर्शाउँछ, त्यसरी नै जातले जातीयताको अस्तित्व दर्शाउँछ । मानिसले गर्वका साथ बाँच्न, समाजमा आफ्नो पहिचान बनाउन, कुल वंशज अगाडि बढाउन जातीय अस्तित्वले ठूलो महत्व राख्छ । तर, कस्तो यो मानसिकता हो, जहाँ एउटा व्यक्तिले अर्को व्यक्तिलाई, एउटा जातले अर्को जातलाई हेप्ने प्रवृत्ति हाबी छ । सार्वजनिक ठाउँमा शिर ठाडो गरेर हिँड्न नसक्ने, कहीँ कसैले केही भनिहाल्छ कि भनेर मनमा डरत्रास बोकेर हिँड्नुपर्ने अवस्था छ । खै कहाँ गयो त्यो व्यक्तिको अस्तित्व ? कहाँ जानुपर्ने हो तिनले आफुलाई एउटा नेपाली, एउटा प्राणी भनेर चिनाउन ?
अहिले समाजमा जताततै जातिय बिभेदले निम्त्याएको घटनाहरु सुन्न र देख्न पाईरहेका छौं । केहि दिन अगावै मात्रै एउटा युवा जो १२ कक्षामा पढदै गरेको थियो तर उसले अहिले आफनो ज्यान गुमाउनु परेको छ । अजित मिजार, म उसैको मृत्यु प्रकरणलाई मेरो लेखको एउटा भागमा राख्न खोजेको छु । जसले आफनो जात भन्दा फरक अथवा अन्य जातको युवतीसँग प्रेम गरेका थिए । उनिहरुले त केवल महिला पुरुष भएर प्रेम गरेका थिए जस्तो लाग्छ । तर, हाम्रो समाजमा रहेका जातिय बिभेद जस्तो घृणित कार्यले गर्दा आज एउटा युवाले आफनो ज्यान गुमाउनु प¥यो । अहिले सम्म पनि उक्त हत्या गर्ने गिरोहलाई कानुनको दायरामा ल्याउन सकेको छैन ।  
बेला बेलामा सुनिने जातिय बिभेदका घटनाहरु कतै पानी छोएको निहुँमा, कतै कोठा बहालको निहुँमा, कतै मन्दिर प्रवेशको निहुँमा दिनादुदिन सुन्न र देख्न पाईरहेका छौं । तर पनि राज्यस्तरबाट कसैले पनि यसको सहि वकालत गर्न सकिरहेको छैन । साविक देखि नै दलितको मुद्धालाई लिएर बिभिन्न संघ संस्थाहरु दर्ता हुनेगरेका छन र अझै भई पनि रहेका छन । तर, तिनिहरुको कार्य सम्पादन कसरी भईरहेका छन । कसैले बुझ्न र देख्न सकेका छैनन् ।
दलितका नाममा बिभिन्न संस्था दर्ता भएर संचालनमा आएता पनि ति संस्थाहरुले दलितको मुद्धालाई भन्दा पनि बिभिन्न दातृ निकायले दिदै आएको सहयोग लिएर बिकासे कार्यमा ब्यस्त हुन थालेको पाईन्छ । दलित मुद्धालाई लिएर बिभिन्न ब्यक्तिहरु अगाडि बढे । कतिले दलित आन्दोलनको अगुवाको रुपमा कार्य गरेको भनेर आफुलाई चिनाउने गर्छन । कतिले दलितको आन्दोलनमा आफनो योगदान दिएको भनेर सम्मान पनि लिने गरेका छन । तर समाजमा भने दलितको अवस्था भने जहिको त्यहि छ । अचम्म लाग्छ, जब एउटा गरिब ब्यक्ति दलितको मुद्धालाई अघि लिएर हिडछ । हेर्दै जादा उसको अवस्था चाहिँ अघि बिकास भईसकेको हुन्छ  भने अरुको चाहि जस्ताको त्यस्तै । अहिले त्यहि भईरहेको छ । आखिर यो कसरी सम्भव छ ?
अहिले दलित अगुवाहरु बिभिन्न उच्च स्तरमा पनि कार्यरत छन । संबिधान सभामा पनि दलितका प्रतिनिधिहरु धेरै छन । दलित कै कोटाबाट संबिधान सभामा धेरै माननियहरु ह्ुनुहुन्छ । मन्त्रीहरु पनि भईरहनु भएको छ । तर, उहाँहरुको पनि आफनै बिवशता छ । दलितका अवस्था, समस्याहरुलाई अझै पनि मुल समस्याका रुपमा लैजान सकिरहनु भएको छैन । संबिधान भवनभित्र गरिने क्रियाकलाप, दिईने अवशरहरुमा उहाँहरु पनि बिभेदको शिकार हुनु परिरहको चर्चा परिचर्चा बेला बेलामा सुन्न पाईन्छ ।
त्यस्तै, दलित आयोगका कुरा गर्ने हो भने दलित आयोग पनि नामको मात्र दलित आयोग भएर आफनो कार्य सम्पादन गरिरहेको पाईन्छ । यहाँ सम्म कि नेपाल सरकारको कुनै बिज्ञापनको लागि समावेशीबाट दरखास्त दिनु प¥यो भने जातिय खुल्ने प्रमाण पत्र दलित आयोगले दिएको शिफारिशलाई मान्यता नदिएर स्थानिय जिल्ला प्रशासनबाट ल्याउनु पर्ने भनेर उल्लेख गरिएको हुन्छ ।
यि सबै अवस्थाहरु म जस्तै धेरैले भोगेका, सुनेका तथ्यहरु ह्ुन । आखिर किन दलितका अवस्थाहरु, बिषयहरुलाई गहन रुपमा लिन सकिरहेको छैन । दलितका मुद्धाहरुलाई साधारण रुपमा लिएर यसलाई कडा स्वरुपमा कानुनी प्रक्रियामा अघि बडाउन सकिरहेका छैनन । हामीसँग सरकारी संयत्रमा पनि दलितका अगुवाहरु बिशेष अनुभवहरु, ज्ञानहरु लिएर आफनो जिम्मेवारी बहन गर्दै आउनु भईरहेको छ । दलितका मुद्धालाई साझा स्वरुपलाई लिएर दलितका अगुवाहरुले कडा भन्दा कडा पहल गर्नु पर्ने अहिलेको आवश्यकता छ । दलितको सवाललाई सम्बोधन गर्दै माथिल्लो निकायबाट आवश्यक पहलको ब्यवस्था गर्न तिर लाग्नु पर्दछ ।
त्यस्तै, बिभिन्न जातिको आफनै पहिचान हुन्छ तर परिवर्तित अनि बिकसित हुदै गएको राष्ट्रले पनि आज दमाई, कामी, सार्की र अन्य सामाजीक रुपमा छुवाछुत र भेदभावमा परेका तथा आर्थिक रुपमा बिपन्न र शैक्षिक स्तरमा पछाडी परेका जातीहरुलाई दलित शब्दको छाप लगाई दिएर दलित शब्दको परिभाषा नै यहाँ गलत रूपमा गरिदिएको पाईन्छ ।
दलित शब्दले मानिसलाई एकअर्काको शत्रु बनाउँछ, समाजमा स्वतन्त्रसँग बाँच्न दिँदैन, कसैको घरमा पस्न दिँदैन, सार्वजनिक क्षेत्रमा स्वतन्त्र भएर बोल्न दिँदैन । यदि, दलित शब्दले ऊ समाजको एउटा घृणित पात्र बन्छ भने एकपटक हेर्नुहोस् त दलितको परिभाषा नै गलत बनाएर एउटा मान्छे कसरी अर्को मान्छेबाट भेदभाव, घृणा र तिरस्कारको पात्रो भइराखेको छ । समाज बिगार्ने मान्छे दलित हो र दलित कसैको घरआँगन अनि कुनै मठमन्दिरमा जान नहुने हो भने पहिले हामीले समाजमा बसेको त्यस्तो व्यक्ति जसले समाजमा बसेर दुईचार पैसाका लागि कसैलाई धम्काउँछन्, मार्छन् । आफ्नै गाँउघरका चेलीबेटीलाई यौनहिंसाको शिकार बनाउँछन् । जसले घुस खाएर देश नै बिगारिरहेका छन् र कुलतमा लागी समाजलाई नै चरित्रहीन बनाएका छन्, त्यस्ता व्यक्तिहरू बाह्मण, क्षेत्री, दमाइ, कामी र सार्की, चमार, डोम अथवा जुनकुनै जातबाट भए पनि के तपाईंहरू त्यस्ता व्यक्तिलाई आफ्नो घरमा छिर्न, बस्न र खान दिनुहुन्छ ? दिनुहुन्न । यदि, दिनुहुन्न भने तपाईं आफै भन्नुहोस् के यहाँ दलितको परिभाषा सही छ ?.
मलाई यहाँ थोरै दलित भनेर सम्बोधन गरिएको जातिहरुको लागी राज्य स्वतन्त्रता कहाँ छ भनेर उल्लेख गर्न मन लागेको छ ।
ईतिहासलाई हेर्ने हो भने पनि नेपाली राजनितिमा यि जातिहरुको उल्लेख्य भुमिका देखिन्छ । स्वर्गिय श्री बडा महाराजाधिराज पृथ्बी नारायण शाहलाई नेपाल एकिकरणको समयमा आर्थिक सहयोग गरेर स्वर्गिय श्री बिषे नगर्चीले (दमाई) आर्थिक क्रान्तिको बिगुल फुकेका थिए । त्यस्तै, भारतमा बसेर नेपालको राजतिनिलाई सहयोग गर्ने देवव्रत परियार, राजेन्द्र प्रसाद नेपाली, र धनमान सिंह परियार नेपालको राजनितिको उदयसँगै ओझेलमा परेको देखिन्छ । उनिहरुको योगदानलाई कहि कतै उल्लेख गरेको पाईदैन । प्रजातन्त्रको स्थापना, राणा शासणको अन्त्यको राजनितिक दौडाहामा नेपाल भित्र र बाहिर बसी योगदानी दिएका यिनिहरुको अवस्था अहिले अज्ञात छ । उनिहरुलाई कसैले सम्झीन सकेका छैनन् । के उनिहरुको योगदानको फल यहि हो आज दलितको उपनाम दिएर बिभेदमा पारिएको छ ।
छुवाछुत बिरुद्धको अभियान आफै सफल हुदैन यसमा दलित, गैर दलित सबैको बराबर भुमिका हुनु पर्दछ । यति मात्र होईन, दलित दलित जातिय भित्र पनि एक रुपता हुनु जरुरी छ । दलित भित्र भएको बिभेदलाई निराकरण गर्दे लैजानु पर्दछ । दलित जात भित्र बिभिन्न्न जातका ब्यक्तिहरु छन जुन एकआपसमा लडनुको साटो एकजुट भएर हिडन जरुरी छ । एक अर्काको समस्यालाई साझा सम्झिनु पर्दछ । एउटालाई परे अर्कोले महशुस गर्न सक्नु पर्दछ ।
दलितका हरेक आवश्यकता, समस्या, अवस्था, घटनालाई राज्यस्तरमा संस्थागत र नितिगत बनाउन दलितका अगुवाहरुले आ आफनो पक्षबाट भुमिका निर्वाह गर्नु पर्दछ । दलितका अगुवाहरुले एउटा सहि बाटो लिएर अगाडी बढने हो भने राज्यका धेरै दलितहरुले उहाँहरुलाई सहयोग गर्न पछि पर्ने छैनन् । कसरी हुन्छ सबै दलितलाई एकिकृत गर्न आवश्यक पहल गर्न सक्नु पर्दछ ।
अन्त्यमा, बिभेद बिरुद्धको अभियानमा हरेक घरका दलित, दलित बिच र दलित गैर दलित बिचमा एउटै सोच र बिचार हुनु जरुरी छ । सबैले आ आफनो स्तरबाट यस दलित बिभेद बिरुद्धको अभियानमा साथ चल्नु पर्दछ । सबैले आफनो सन्तानहरुलाई शिक्षाको उचित वातावरणको व्यवस्था गरिदिनु पर्दछ । अनि मात्र हाम्रो समाज पनि शिक्षित हुन्छ । राम्रो नराम्रो छुटयाउन सकछन र बिभेद बिरुदको अभियानमा आ आफनो पक्षबाट गर्न सक्नेछन । अनि बिस्तारै हाम्रो समाजबाट यस्ता अपराधिक क्रियाकलापहरु उन्मुलन हुदै जान्छ र एउटा स्वस्थ्य समाजको श्रृजना हुन्छ ।
प्रतिक्रियाको लागि :- राम कुमार परियार , बिराटनगर–११, मोरङ्ग, इमेल :- pariyar.ram@gmail.com

Sunday, August 28, 2016

उज्यालोतिर डोम बस्ती -जितेन्द्र साह

भाद्र १२ - विभेद बिरुद्ध अभियान -  तराईको अधिकांश भेकमा अन्य जातिकाले डोमलाई अझैसम्म अछूत मान्छन्। आफ्नो बराबरीमा बस्न दिंदैनन्। उनीहरूको हातको पानी पिउँदैनन। छोएको खाँदैनन्। यस्तोमा मधेसकै एक गाउँमा अरू जातिकाले डोमको घर बहालमा लिएर बसेको, उनीहरूकै भान्छा, धारा एवं शौचालय प्रयोग गरेको सुन्दा अचम्म लाग्न सक्छ। नेपाल टेलिकमका सुरक्षाकर्मी सञ्जय खड्का र प्रहरी जवान साँगी शेर्पाले मोरङको कटहरी–१, आदर्शनगरस्थित डोम समुदायका विनोद मरिकको सुन्दर पक्की घर बहालमा लिएका छन्। काभ्रे पाँचखाल–१६ का खड्का श्रीमती र दुई छोरासहित एवं इलाम देउमाई–५ का प्रहरी जवान शेर्पा पत्नीसहित उक्त घरमा बस्छन्। ‘सरुवा भएर आउँदा धेरै घरहरू हेर्‍यौं, मरिककै घर चिटिक्क लाग्यो,’ खड्काले भने। 
विराटनगरको सिंघिया खोलापारि उनीहरूको डेरा र थोरै दूरीमा वारितिर कार्यालय छ। कर्म, योग्यता र क्षमताले पहिचान बनिने वा मान्छे चिनिने हुनाले जातिको आधारमा ठूला–साना हुने सोच नै वाहियात भएको उनले बताए। ‘उहाँहरू र हामीले खाने खाना, पिउने पानी र शरीरबाट निस्कने रगत पनि एउटै हो,’ प्रहरी जवान शेर्पाले भने, ‘खाएर हेर्नुस्, यो घरको चापाकलको पानी त धेरै मीठो छ।’ दुवैका श्रीमतीले समेत त्यस्तो विभेदपूर्ण सोच नराखेको बताए। खड्काको श्रीमती शारदा पेसाले नर्स हुन् भने शेर्पाकी श्रीमती उर्मिला राई गृहिणी हुन्। ‘सबै सोचाइको खेल हो, त्यही भएर त्यस्तो धारणा नै बनाउनु हुन्न,’ शेर्पाले भने। दुई दशकभन्दा बढी समयदेखि घरबेटी मरिक र उनको पत्नी टेलिकममै कार्यालय सहायक छन्। जागिरबाटै जोडेको एकएक रुपैयाँले १० धुर जग्गा किनेर घर खडा गरेको मरिकले बताए। उनले तीन वर्षदेखि घर भाडामा लगाएका हुन्। ‘डुमको घरमा अरू जातिका बस्दा गर्व लाग्छ,’ मरिकले भने, ‘छोराछोरीको शुल्क तीर्न सहज होस् भनेर भाडामा दिएको हुँ।’ उनी आफैं भने विराटनगर–१५ सरोचियास्थित सरकारी क्वाटरमा बस्छन्। मरिक दम्पतीले आफ्ना चार छोराछोरीलाई सहरका राम्रा विद्यालय र कलेजमा पढाइरहेका छन्। कठिन मिहिनेतको बलमा आफ्नो जातिका धेरैले पक्की मकान बनाएको उनले बताए। विगतको तुलनामा आफूहरूप्रतिको सम्मान बढेको पनि उनले सुनाए। उक्त बस्तीकै १४ धुर जग्गामा डोम जातिका सफल महिला आशा मरिकको चिटिक्क परेको घर छ। विराटनगरस्थित राष्ट्र बैंकको शाखामा कार्यालय सहायकको रूपमा कार्यरत उनी छोरा, बुहारी र नातिनातिना गरी ९ जनाको परिवारसँग बस्छिन्। 
दुई वर्षअघि जागिर स्थायी भएकोमा उनी दंग छिन्। आशाले छोरालाई नयाँ मोटरसाइकलसमेत किनिदिएकी छन्। ‘यो सब आमाको मिहिनेतले गर्दा सम्भव भएको हो,’ छोरी ममताले भनिन्। उनी विराटनगरस्थित एक बाल अस्पतालमा केयरगिभरको रूपमा कार्यरत छिन्। सबै छोराछोरीको आ–आफ्नो घर होस् भन्ने सपना बोकेको आमा आशाले बताइन्। अवकाशपछि सञ्चय कोषको रकम निकालेर तल्ला थप्ने उनको योजना छ। ‘दक्षताअनुरूप भेटेसम्मका हरेक काम गर्छु,’ आशाको श्रीमान् राजेन्द्रले भने, ‘सबैले मलाई मिहिनेती, इमानदार र असल भनेर चिनुन् भन्ने चाहन्छु।’ यहाँको डोम जातिले घर, खेत र बारीमा उब्जेका फलफूल एवं तरकारी स्थानीय हाटमा बेच्छन्। ‘हाट र पसलदेखि कार्यालयसम्म विभेद कम हुँदै गएको महसुस गरिरहेको छु,’ छोरी ममताले भनिन्, ‘सबथोक सोचाइमा भर पर्ने हुनाले त्यसमा नि:सन्देह परिवर्तन आउँछ।’ आशाको घर छेउकै १० धुर जग्गामा ५६ वर्षे मुनेश्वर मलिकको दुईतले पक्की घर छ। उनी र उनको पत्नी ४६ वर्षीया शनिचरी राष्ट्र बैंक शाखामै कार्यालय सहायकको पदमा कार्यरत छन्। जीवनमा जतिसुकै आरोह–अवरोह बेहोर्नुपरे पनि ४ छोरी र २ छोराको पालनपोषण एवं शिक्षामा सकेसम्म कमी हुन नदिएको मलिकले बताए। अनुशासित, परिश्रमी स्वभाव र कामप्रति समर्पणका कारणले उक्त बैंकका उपल्ला अधिकारीहरू पनि उनीहरूसँग खुसी छन्। ‘मुलुकका हजारौं जातिमध्ये उनीहरू पनि एक हुन्,’ उक्त बैंककी बैंकिङ युनिट प्रमुख सृजना बास्तोलाले भनिन्, ‘हामीजस्तै मानव हुन्।’ उनले आफ्नो कार्यकक्षमा उनीहरूलाई आदरका साथ बस्न भन्छिन्। यहाँको कार्य सम्पादनमा उनीहरूले सक्रिय भूमिका निभारहेको बास्तोलाले बताइन्। 
बाँसको सामग्री निर्माण, सुंगुरपालन, सरसफाइ, सेवामूलक एवं मानवीय कार्यमा यो जाति समाजमा अग्रणी भूमिका छ। मलिककै निकट छिमेकी ५० वर्षीया मंगली मरिकले आफ्नै पौरखको भरमा १५ धुर जग्गामा ठूलो आँगन भएको आरामदायक घर बनाएकी छन्। बूढाबूढीको ३० वर्षअगाडिदेखि सुरु भएको संघर्षपछि यो राम्रो दिन देख्न पाएको उनले बताइन्। ‘५ वर्षको अन्तरमा जग्गा किन्दै यो घडेरी जोडेँ,’ मरिकले भनिन्। उनी र उनका परिवारका अधिकांश सदस्यहरू कार्यालय सहायक वा सरसफाइ कर्मचारीका रूपमा विराटनगरका विभिन्न अस्पतालमा कार्यरत छन्। तलबको रकमले सुंगुर व्यवसाय र सुनचाँदी किनबेच गर्दै यतिका सम्पत्ति जोडेको उनले बताइन् । उनको श्रीमान् ५५ वर्षे मंगला मरिकको गत वर्षको २७ जेठमा निधन भइसकेको छ। तर उनीहरूको आवासलाई स्थानीयले भने मंगलामंगलीकै घर भनेर चिन्छन्। श्रीमान्ले कोसी अञ्चल अस्पतालमा झन्डै ४० वर्षसम्म सरसफाइको काम गरेको मंगलीले बताइन्। उक्त अस्पतालमै मासिक ३ सय रुपैयाँबाट काम सुरु गरेकी उनको तलब अहिले १३ हजार रुपैयाँ पुगेको छ। मंगलीको परिवार पनि लालाबालाले ढाकेको छ। उनको ३ छोरी, ३ ज्वाइँ, एक छोरा, एक बुहारी, २ पोता र एक पोती छन्। सबैजना मिलेर बस्छन्। घरका अधिकांश सदस्य कतै न कतै करार र दैनिक ज्यालादारीमा कार्यालय सहायककै रूपमा काम गरिरहेकै छन्। एक छोरी र तीन ज्वाइँका लागि स्थायी जागिरको खोजीमा रहेको मंगलीले बताएको  कान्तिपुर दैनिकमा खबर छ  । 
‘जहाँ फोहोर, दुर्गन्ध र मानवीय पीडा हुन्छ, त्यहाँ हामी पुग्छौं,’ मंगलीको ज्वाइँ वीरेन्द्र मरिकले भने, ‘वातावरण स्वच्छ राख्ने मुख्य जिम्मेबारी पूरा गरिरहेका छौं।’ उनी कोसी अञ्चल अस्पतालमा काम गर्छन्। उक्त अस्पतालमै मात्र उक्त समुदायका झन्डै ४५ जना सरसफाइ कर्मचारी एवं कार्यालय सहयोगीको रूपमा कार्यरत छन्। श्रीमान्श्रीमती नै जागिरमा हुनु, पूरा परिवार मिलेर काम गर्ने स्वभाव र कार्यालयको ६ घन्टाको कामपछि बाहिर पटके काम पनि गर्ने हुनाले यो जाति आर्थिक समृद्धितर्फ लम्केको उक्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोशन पोखरेलले बताए। बाँसको कलात्मक सामग्री निर्माण, सुंगुरपालन, सरसफाइ, सेवामुूलक एवं मानवीय कार्यमा हिन्दू धर्मावलम्बी यो जाति निपुण मानिन्छ। यहाँका अस्पतालहरूमा डोम समुदायले सरसफाइदेखि बिरामीको स्याहारसम्म गरिरहेका हुन्छन्। छुनै डर वा घीन लाग्ने खाले घाउको सफाइदेखि शवगृहमा पोस्टमार्टम हुँदा उनीहरू नभई हुन्न। शव ल्याउने, पुर्‍याउने, चिरफारमा सहयोग गर्ने र शवलाई पुन: सिल्ने काम उनीहरूले गर्छन्। 
सेफ्टी टयांक, ढल र नालाको सरसफाइ कार्यमा उनीहरूलाई विज्ञ मानिन्छ। ‘वास्तवमा उनीहरू वातावरण स्वच्छ राख्ने दूत हुन्,’ डा. पोखरेलले भने, ‘अरूले गर्न नसक्ने हुनाले यी मिहिनेती जातिले यस कार्यमा मनग्यै आम्दानी गर्छन्।’ उक्त बस्तीमा १७ घर डोम जातिका छन्। बरोबरी संख्यामा अन्य जातजातिकाका पनि यहाँ घरहरू छन्। त्योबाहेक विराटनगरको सरोचिया, मिल्स एरिया, कोसी अञ्चल अस्पतालको क्वार्टरपछाडिको भाग र रंगेली नगरपालिकामा पनि डोमको बस्ती छ। पूर्वाञ्चलका सबै जिल्लाहरूबाहेक भारतका डोम जाति पनि मोरङमा बस्छन्। २०६८ को जनगणनाअनुसार मुलुकभर डोम जातिको संख्या १३ हजार २ सय ६८ छ। तीमध्ये सहरमा ३ हजार ७० र गाउँमा १० हजार १ सय ९८ बस्छन्। सबैभन्दा बढी तराईमा उनीहरूको जनसंख्या १२ हजार ८ सय ३३ छ। त्यसमा पनि पूर्वाञ्चलमा ६ हजार ५ सय ५१ र मध्यमाञ्चलमा ६ हजार ३ सय ४६ जना बसेको देखिन्छ। छिमेकी भारत र नेपालबाहेक मध्यपूर्व, उत्तर अफ्रिका, युरोप एवं एसियाको सीमा क्षेत्र ककासस एवं पूर्वी एसियामा पनि यस जातिको बसोबास छ। इराकमा उल्लेखनीय संख्यामा गरी टर्की, इजिप्ट र इरानमा २२ लाख डोम बस्छन् ।

१४ बर्ष भो न पासपाेर्ट पाएँ न नेपाल फिर्ता हुन नै पाएँ :जित बहादुर दमाई

विभेद बिरुद्ध अभियान-१२ भदौ । गरिबीका कारण केहि पैसा कमाउने आशामा १४ बर्ष अगाडी २०६२ सालमा साउदी पुगेका भाचोक-७ मकैखोला, पोखरा कास्कीका जित बहादुर दमाई अहिले सम्म नेपाल फर्कने आशामा साउदीको बिरानो ठाउमा नै आफ्नो दुखि जीवन कटाउन विवस छन् ।
बिगत ७ बर्ष देखि घर परिवार संग पनि सम्पर्क बिहिन भएका जित बहादुर साउदीको रफा भन्ने ठाउमा रहेको हामीलाई जानकारी दिएका छन् । जित बहादुरले हामी संग भने, म नेपाली दुतावास पनि गएको थिए एउटा कागज बनाएर दिएको थियो तर मलाई साहुले पासपोर्ट नदिएकोले नेपाल जान सकिन। लामो समय देखि साउदीमा रहेका जित बहादुर काठमाडौं पुगेपछि आफ्नो घर पुग्न पनि अरुको सहयोग लिनु पर्ने बताउछन् । सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मेरो अवस्थाको बारेमा नेपाल सरकार सम्म पुर्याइदिएर मेरो उद्धार गर्न पहल गरिदिन विनम्र आग्रह गर्नु भएको छ ।
१४ बर्ष देखि घर फर्किन नसकेका जित बहादुर घर फिर्ता गराउन पहल गरिदिनका लागि सँघसँस्था , नेपाली समुदाय र नेपाल सरकारसँग बिलाप गरेका छन, म ५५ बर्षकाे सेतै फुलेकाे बुढाे मान्छे मर्नु आज हाेकि भाेलि टुङ्गाे छैन , नेपाली माटाेमा टेकेर मर्न पाउ भन्छन । गरिबिले थिचिरहेकाे बुढ्याैलिमा प्रदेशिन रहर थिएन जित बहादुर दमाई लाई , बाध्यता थियाे भाेकाे पेट नाङ्गाे शरीर अनि लाला बालाकाे उज्वल भबिष्य । त्यहि सपना बाेकेर २०६० ताका अरब हानिएका थिए जित बहादुर भाचाेक ७ मकैखाेला कास्कीका जित बहादुर पाेखरा महेन्द्र गुफाका लक्षुमन बस्नेत नामक दलाल मार्फत साउदि पुगेका हुन् । तर उनकाे सपना अन्धकार , कालकाेठरि अनि मरुभुमिकाे बालुवा सँगै रुमल्लिन पुग्याे ।
 साउदि मा मासिक ४०० रियाल मा बाख्रा चराउन पुगेका उनी साहुकै भाईकाे व्यवहार का कारण फसेकाे बताउछन् ।तिनै जित बहादुर परियार लाई नेपाल फिर्तिका लागि NRN NCC कतार बाट केन्द्रिय सदस्य प्रकाश परियार लगायतले पहल गर्नुभएकाे छ भने NRN कतार ले NRN साउदि सँग समन्वय गरि घटना बारे बुझ्न र समबन्धित निकाय सँग समन्वय गर्न अनुराेध गरेकाे छ ।
जित बहादुर संग केन्द्रिय सदस्य प्रकाश परियार  टेलिफाेन सम्पर्कमा पोखेको आफ्नाे ब्यथा:- 
साहुकाे भाइले बाख्रा लाई दाना घाँस ल्याउने , खाना खर्च पानी ल्याउने गर्दथे । साहुले नै भाइ हाे भनी चिनाजानि गराएकाे ले उनी घाँस ल्याउने लाई पनि साहु नै सम्झन्थे । साहुकाे भाईले बाख्रा लैजान मागेपछि जित ले साहुसँग साेधे साुहले दपनु भनेपछि साहुकाे भाइ लाई केही भन्न पनि नमिल्ने उ पनि त साह न हाे भनेर पटक पटक बाख्रा लग्याे ।
एक दिन साहुले फाेन गर्याे त पुलिस चाैकि जानू छ भनेर साहु लिन आयाे साहुकै गाडिमा चढेर पुलिस थाना गएँ किन पुलिस थाना जाँदै छु थाहा भएन भाषिक समस्याका कारण साेधपुछ पनि भएन । दस दिन सम्म पुलिस चाैकिमा राख्याे किन मलाई चाैकिमा राखेकाे हाे म अनबिज्ञ थिएँ । दस दिन पछि साहुकाे भाइ पनि चाैकि आयाे र दुबैजना लाई जेल चलान गरियाे ।हामी दुबैजना लाई ६ महिना सम्म जेलमा राखियाे र ६ महिना पछि काेर्टमा लगियाे , मलाई ८ र उसकाे भाईलाई एक महिना जेल सजाय दिईयाे । त्यसपछि हामिलाई फिर्ता गरायाे ।
केही दिनै अदालतले फेरि बाेलायाे र साहुले मेराे माथि ७७ हजार र उसकाे भाइ माथि ५५ हजार काे केस गरेकाे छ भन्ने जानकारि गरायाे , त्याे रकम नेपाली रपैयाँ हाे वा साउदि रियाल म अनबिज्ञ थिएँ ।यसरी मुद्दा चलाउदै दुई बर्ष फेरि ज्ल राखियाे र चाैकि ल्याईयाे ७७ हजार तिर्नुपर्ने बताईयाे मैले ४०० रियाल मा मजदुरि गर्ने मान्छे कहाँ हुन्छ ७७ हजार म त्यहि माथि जेलमा छु भनेपछि दुई दिन राखेर फेरि ज्ल चलान गरियाे ।
तीन बर्ष ज्ल सजाय भएपछि नेपाल एम्बिसि बाट आदिकारिक ब्यक्ति आएमा र हस्ताक्षर गरेमा तिमी फिर्ता हुन पाउछाै भनेपछि हार गुहार गरेँ र ३जना आउनु भयाे , र हस्ताक्षर पछि अब २७ दिनपछि छुटकारा मिल्ने का भयाे । खुशि भएँ नफस्नु फसे अब छुट्नसाथ नेपाल जान्छु र दुखजिलाे गरेर खान्छु भनेर २७ दिनकाे प्रतीक्षा गरेँ । तर कैयाै २७ दिनहरु बिते तर मलाई लबाट फुकुवा गरिएन सात बर्ष बित्याे अनि म जेलबाट फुकुवा भएँ ।
जेलबाट सजाए सकिएकाे र फुकुवा भएकाे कागजात दियाे , प्रहरी चाैकि ले पनि छुटकारा पाएकाे कागजात दिए । घर जाने तयारिमा थिएँ , घर जानू पुर्ब एकामाकाे पैसा तिर्नुपर्छ भन्ने नया बज्रपात बज्रियाे म माथि ।
म १४ लामाे समय जेलमा बिताएकाे हुदा राेटि खानलाइ समेत पैसा थिएन । अन्तत साहुले एकामाकाे पैसा तिर्ने भयाे । घर फिर्ने कुरा हुदाहुदै जवाजात ले पासपाेर्ट बिना नेपाल फिर्ता हुन नपाउने भनेपछि थप समस्यामा परेँ । म सँग पासपाेर्ट थिएन । पासपाेर्ट नभएपछि रियाद नेपाल एम्बिसि गएर पासपाेर्टका लागि लिखित कागजात ल्याएँ । तर ती कागजातले नेपाल फिर्ता हुन नपाउने भएँ ।
पासपाेर्ट बिना नेपाल फिर्ता हुन नपाउने र कपिलले पासपाेर्ट नदिने भएपछि मैले केही साथिहरुकाे सल्लाह बमाेजिम कपिलले पासपाेर्ट नदिएकाे हुदा पासपाेर्ट दिलाई पाउ भने अदालतमा मुद्दा दायर गरेँ ।पुरै कर्म काण्ड हिसाब गर्दा १४ बर्ष भयाे , न पासपाेर्ट पाएँ न नेपाल फिर्ता हुन नै पाएँ ।
दुई छाेरा र एक छाेरि र श्रीमती परिवारमा रहेका जित बहादुर भन्छन्, १४ बर्ष देखि परिवार सँग सम्पर्क हुन सकेकाे छैन, परिवार के कस्ताे हालतमा छन् थाहा छैन ।
म ५५ बर्षकाे सेतै फुलकाे बुढाे भईसके , कहिले बाटाेमा सुत्छु, कहिले बाटाेमा फालेका खानेकुरा खाएर सास धानेकाे छु ।नेपाल फर्किने आशा र मर्नु परेपनि नेपाली माटाेमा पुगेर मर्न पाउ भन्दै नेपाल सरकार , नेपाली सँघसँस्था, साथै नेपाली जनता हरुलाइ नेपाल फिर्तिका लागि पहल गरिदिनका लागि बिलाप गरेका छन् । जित बहादुर रफा साउदि मा रहेका छन् , +९६६-५५०८१७६५८ सम्पर्क नम्बर रहेकाे छ ।

दलित मुक्तिका आधारहरू - एम.एल. नेपाली

विभेद बिरुद अभियान -भदौ १२ , सामन्ती खस उच्चजातीय अहङ्कारवादी ठालु शासक वर्गले दलित उत्पीडित जनतामा शोषण उत्पीडन गरिरहेको छ । शताव्दीऔँदेखि कानुन बनाएर अपमानपूर्ण, कठिन र सेवामूलक काम अनिवार्यरूपले गर्न लगाउँदै दलित श्रमिक वर्गमाथि राज्यले नै शोषण गरिरहेको छ । अहिले लोकतन्त्र आयो, देशमा कानुन छ, नयाँ संविधानको मौलिकहकमै दलित अधिकार उल्लेख गरिएको छ तर व्यवहारमा दलितप्रति छुवाछूतको कारणबाट हुने जघन्य हत्यासमेत कानुनको दायरामा आउँदैन ।
त्यसकारण अब दलितहरू विद्रोह जनताको अधिकार हो भन्दै छुवाछूत विरुद्धको भीषण साझा आन्दोलन बनाएर अगाडि बढ्नु जरुरी छ । दलितलाई अन्यायमा राख्ने सामन्ती ठालुहरूको राज्यसत्ता ध्वस्त गर्न अनिवार्य छ । नत्र शोषण उत्पीडनका असङ्ख्य शृङ्खला जीवित भइरहन्छन् । दलित जनताले निरङ्कुश सामन्ती राजतन्त्र अन्त्यका लागि गरेको सङ्घर्ष र बलिदानको कीर्तिमान छ । शान्ति प्रक्रियामा आएपछि शासकवर्गले सहजरूपमा ग्रहण गर्न सकेको छैन । यो महान जनयुद्ध र जनसङ्घर्षले पुरानो प्रतिक्रियावादी शासनसत्ता÷सरकार फेरियो व्यवस्था परिवर्तन भयो तर जातपात छुवाछूतको दासत्व अन्त्य भएन । दलितलाई राज्यसत्ताको नीतिनिर्माणको तहमा उचित स्थान दिइएन । वर्ग सङ्घर्षको भट्टीमा खारिएर आएको, दलित जनताको न्यायको लागि दृढ, कसैले नगलाउने विशिष्टि किसिमको स्पात बनेको उच्च व्यक्ति प्रचण्ड अहिले देशको प्रधानमन्त्री छन् । हामी उनलाई दलित उत्पीडितका लागि बोल्ने दृढतायुक्त नेता ठान्छौँ ।
यो खुशीको प्रचण्डले कुरा हो, दलितबाट एकजना क्याविनेट मन्त्री र एकजना राज्यमन्त्री आफ्नो पार्टीबाट मन्त्रिमण्डलमा स्थान दिएका छन् । हामीले अब दलितको सवालमा गम्भीरतापूर्वक सुनुवाइ हुनेछ भन्ने ठानेका छौँ । दशवर्षे महान जनयुद्धमा क. प्रचण्ड दलित उत्पीडित तथा सर्वहारा वर्गको मुक्तिको अभियानमा महानायक बने । अब उनी जातीय छुवाछूत र यसका पीडाका विरुद्ध लड्ने एक ठोस कार्यदिशासहित बाँकी क्रान्तिको कार्यभार पूरा गर्ने अभियानमा लाग्नुपर्छ ।
नेपाली क्रान्तिमा दलित मुक्तिको प्रधान अन्तरविरोध वर्गीय उत्पीडिनमात्र होइन, जातीय उत्पीडन पनि हो । अर्थात वर्गीय मुक्तिले मात्र जातीय छुवाछूतको दासत्वबाट मुक्ति हुनै सक्दैन । त्यसकारण जातीय मुक्तिसङ्घर्ष र वर्गीय मुक्तिसङ्घर्षका दुई प्रवर्गलाई उचित संयोजन गर्दै भीषण क्रान्तिका आधार निर्माणद्वारा दलित मुक्ति अघि बढाउनु अनिवार्य छ । नेपाली चालु क्रान्तिको सामाजिक, आर्थिक सत्ताको विश्लेषण गर्दा वर्ग सङ्घर्षको पूर्णयुद्ध (टोटल वार) सबै प्रक्रिया सकेपछि मात्र साँस्कृतिक क्रान्ति चाल्ने होइन भन्ने हाम्रो ठम्याइ छ । अन्य देशको क्रान्तिको इतिहासबाट हामीले सिक्नुपर्छ । चीनमा माओले १९४९ मा नौलो जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि पनि सामाजिक व्यवहारका अन्याय पूर्ण आदतका सत्ताहरू परिवर्तन नहुँदा सामन्ती प्रतिक्रियावादी वर्गको हेडक्वाटरमा बमबारी गर्दै सन १९६६ देखि १९७६ सम्म महान साँस्कृतिक क्रान्ति गर्नु भएको थियो । साँस्कृतिक क्रान्तिका बेला जहाँ प्रतिक्रियावादी सत्ताको विरुद्धको लडाइमा सबै कुरामा रातो लेपन (क्रान्तिकारिता) गरिएको थियो । सामन्ती उत्पादन, पछौटे सँस्कृतिका सबै खाले उत्पीडन र अन्यायलाई धुलोपिठो पार्न माओले चलाएको त्यो साँस्कृतिक क्रान्ति उचित थियो, न्यायोचित थियो तर केही आलोचकहरूले त्यो अभियान अलि धेरै भयो कि भनेर आफ्नो भनाइ पनि बाहिर ल्याएका थिए । त्यो बेलाको चीनको पुरानो प्रतिक्रियावादी राजनीतिक सत्ता ध्वस्त भए पनि अन्यायपूर्ण सामाजिक आर्थिक सत्ताहरू सामाजिक जीवन व्यवहारमा स्थिर रहेको क्रुरता खतम गर्न माओको त्यो महान साँस्कृतिक क्रान्ति सर्वहारा वर्गको पक्षमा थियो । अहिले नेपाली समाजको उत्पीडनको वर्गसंरचना र सामाजिक सत्ताको जातीय शोषणको अन्याय अन्त्य गर्न त्यहि प्रकृतिको साँस्कृतिक क्रान्ति आवश्यक छ । नत्र हामी नेपाली समाजको छुवाछूतको दासत्वबाट दलितहरूलाई जातीय मुक्ति दिलाउन सक्दैनौ । वर्ग सङ्घर्ष र साँस्कतिक क्रान्ति एकसाथ लिएर नेपाली समाजको सबै खाले अन्यायपूर्ण आदतका सत्ताहरू ध्वस्त गर्ने एक बलियो शक्तिको रूपमा विकास र प्रयोग गर्दै लग्नुपर्छ ।
नेपालमा जातीय छुवाछूत अन्त्य गर्ने नियम कानुन छ । अहिले नयाँ संविधानमा पनि मौलिक अधिकारको धारा ४० को उपधारा १ देखि ६ सम्म दलितको लागि शिक्षा, रोजगार, आवास, जमिन तथा दलितको परम्परागत पेशालाई पनि आधुनिकीकरण गर्दै बजारमुखी बनाउने अधिकारको प्रत्याभूत गरेको छ । नेपालको संविधानको धारा २४ मा छूवाछुत विरुद्ध स्पष्ट अधिकार उल्लेख गरिएको छ । दलित हक सुरक्षित गर्न छूवाछुत सजाय र कसुर ऐन २०६८ छ । संविधानको मौलिकहकमा कानुन बनाएर लागु गर्ने भनेको छ, त्यो सम्बन्धमा कानून बन्नेमा शंका छ । अर्कोतर्फ कानून बने पनि कानून लागू गर्न निकै कठिन छ, किनकि कानून लागु गर्ने ठाउमा दलितको प्रतिनिधित्व छैन ।
गैरदलित शासकजातिले भरसक दलितका लागि कानूनमा लेखिका कुरा पनि लागू गर्न चाहँदैन । छुवाछूत यथावत राख्न खोज्ने समाजको मुख्य प्रतिक्रियावादी धारले उच्चजात र उच्चवर्गको शोषणले दलितलाई आफ्नो स्तरमा समानरूपमा सामाजिक हैसियत दिन चाहँदैन । सबभन्दा कठिन व्यवहार त अन्तर्जातीय विवाहलाई समाजले जीवनव्यवहारमा सर्वग्राहृय गराउन चाहेन । निरकुंश पछौटेधार अन्तर्जातीय विवाहविरुद्ध कठोर प्रतिरोधमा आयो जो दलितको अग्रगामी विचारको विरुद्ध छ । अन्तरजातीय विवाह भएमा समाजले दलितको परिवारलाई ग्रहण गर्न चाहँदैन, भौतिक आक्रमण गर्छ, हत्या नै गर्छ ।
हालैमात्र, असार २५ गते, काभ्रेको पाँचखालका अजित मिजार सार्कीले कल्पना पराजुलीसँग बिहे गरे । असार दुईदिन पछि उनीहरूलाई पुलिसमा ल्याएर उमेर मिलेन भनी केटा–केटीलाई आआफ्ना अभिभावकको जिम्मा लगाए । त्यसको फेरि दुई दिनपछि, २९ गते, अपहरण गरेर केटाको हत्या भयो । यो घटनाका दोषी उपर केटापक्षका सरोकारवालाले किटानी जाहेरी धादिङ प्रहरी कार्यालयमा दिँदा पनि कानुनतः जाहेरी दर्ता नगरी प्रहरीले अड्काइरहेको छ । ठूलो प्रतिरोधपूर्ण लडाइँ दलित आन्दोलकारीले गरेका भए पनि अभियुक्तको नाममा पक्राउ पूर्जी समेत जारी भएको छैन ।
यो हत्याकाण्डका दोषीलाई कानुनको दायरामा नल्याएर राज्यले दण्डहीनताको सँस्कृति जीवित राख्न चाहिराखेको हो कि भनेर शङ्का गर्ने ठाउँ दिएको छ । हामीले थाह पायौँ बास्तवमा सत्ता दलितको थिएन त्यसकारण दलितको पक्षमा पुलिस–प्रशासन सहजरूपमा न्याय दिलाउने कुरामा आएन । हो, पुरानो सत्ताका अन्यायपूर्ण व्यवहारहरू बलपूर्वक ध्वस्त नगरी सचेत र न्यायपूर्ण क्रान्तिकारी सत्ता निर्माण हुनै सक्दैन । यो छुवाछूतको भीषण अत्याचारलाई हामी नेपाली क्रान्तिको प्रतिक्रान्ति हो भन्छौँ । नेपाली क्रान्तिको रक्षा, प्रयोग र विकास गर्ने सवालमा छुवाछूतको दासत्व समूल नष्ट गर्न ठोस पहलकदमी आवश्यक छ । दलितहरू छुवाछूतको युगीन दासत्व र अन्यायको घूट पिएर बाँचेको साँचो कुरा हो । दलित त ऐतिहासिक सर्वहारा वर्ग हो । यो त नेपाली वर्गयुद्धको सचेत अग्रगामी, क्रान्तिकारी वर्ग हो र हिजो क्रान्तिमा अहम् भूमिका निर्वाह गरेको थियो । यो आम जनताको मुक्तिको लागि लडाइँको रणभूमिवाट पछि कहिलै हटेन र हट्दैन पनि । दलितले छुवाछुतको दासत्वबाट मुक्त हुन अग्रगामी सङ्घर्षको कार्यदिशा निर्माण गर्दै अघि बढनु जरुरी छ । नेपाली क्रान्तिमा दलित सर्वहारा वर्ग संसार जित्ने र दासत्वको सिक्रिबाट मुक्त हुने क्रान्तिकारी भावबाट अघि बढ्नै पर्छ, अहिलेको वस्तुगत आवश्यकता यही हो । दलित अब रोमको दासयोद्धा स्पार्टाकस जस्तै महान लडाइँबाट अघि बढ्नु जरुरी छ ।
जातीय छुवाछूतको कारणले दलित उत्पीडित वर्ग र उत्पीडक वर्ग तथाकथित उच्चजात र उच्चवर्गबीच अन्तरविरोध मौजुद भइरहँदा समाजमा अन्तरसङ्घर्ष र द्वन्द्व निस्तेज हँुदैन, त्यो चलाएमान भइरहन्छ । दलित मुक्तिको लागि उत्पीडनमा क्रमभङ्गता, विकासमा महान छलाङ, दृढता, साहस र बलिदानको कीर्तिमान कायम गर्दै अब हामी दलितको विजयका लागि तयार हुनै पर्छ । बन्दुकको बलमा टिकेको राज्यसत्ता खतम गर्न बन्दुको बलले दशवर्षे महानजनयुद्धमा काम गरेजस्तै उच्चजातीय हिन्दु अहङ्कारवादमा टिकेको जातीय छुवाछुतको अन्यायपूर्ण सामाजिक सत्ता फाल्न महान साँस्कृतिक क्रान्ति र अन्तरघुलनको सँस्कृतिबाट कार्यक्रम अघि बढाउनु पर्छ क्रान्तिकारी वर्गले । नत्र जातीय भेदभाव तथा छुवाछूतको युगीन दासत्वबाट दलितहरू मुक्त हुनै सक्दैनन् । राज्य एक वर्गहरूको सङ्गठन हो त्यसकारण राज्यले शासितहरूको शोषण गर्छ । राज्यले आफ्नो अधिनमा रहेको सत्ता, सम्पति सस्कृति, ज्ञान, शिक्षा तथा चेतना आफ्नो वर्ग र जातिको रक्षाको लागि संरक्षण गर्छ । सत्ताले सबैको हित गर्दैन । आफनो वर्गस्वार्थ अनुरूपको जाति समुदायको हित अनुकूलको काम गर्छ । त्यसकारण सत्ता, सरकार र राज्यको स्रोत साधनमा कुन वर्ग र कुन जातले प्रभुत्व राख्छ, निर्देशन गर्छ भन्ने आधारमा समाज चल्छ । त्यहि स्वरूपमा शासनसत्ता परिचालित भइराख्छ । अहिले दलितका लागि बोलिदिने, न्याय दिने सत्ताका नायकहरू कोही छैनन् । अब दलितले दलितको मुक्तिको साझा विषय बनाएर सबै विचार दर्शनलाई छुवाछूत विरुद्धको सङ्घर्षमा सङ्गठित गरेर दलित राजनीतिक योद्धाहरू जहाँजहाँ छौँ त्यहिँबाट प्रतिरोधपूर्ण सङ्घर्ष नगरी राजनीतिक शक्तिले दलितको आवाज सुन्दैन भन्ने कुरा बुझ्न जरुरी छ । त्यसको लागि सङ्घर्ष उठाउन जरुरी छ ।
हामीले राज्यसत्तामाथिको सहभागिताको प्रश्नलाई सङ्घर्षको केन्द्रीय प्रश्नको रूपमा लिनु पर्छ । दलितको लागि मुख्य सवाल सत्ता हो । राज्यका सबै अङ्गमा न्यायपूर्ण सहभागिता र नीति निर्माण गर्ने ठाउमा पहुँचबाहेक अरू कुरा भ्रम हो । यही विचारबाट दलित आन्दोलनको पहल हुनु अनिवार्य छ । अब यसको लागि छुवाछूतलाई आन्दोलनको प्रस्थानबिन्दु मान्नु पर्छ र यही आधारमा दलितमुक्तिको एकीकृत सङ्घर्ष चलाउनु अनिवार्य छ ।~हिमालय टाइम्स बाट

Saturday, August 27, 2016

छोराछोरीको भोक मेटाउन लगेको बिस्कुटको १५ रुपैयाँ तिर्न नसक्दा दलित दम्पतीको हत्या

विभेद बिरुद्ध अभियान, भाद्र १२ - नयाँदिल्ली -भारतको उत्तर प्रदेशमा १५ रुपैयाँको विवादलाई लिएर दलित समुदायका  दम्पतीको हत्या भएको छ । उधारोमा किनेर ल्याएको बिस्कुटको पैसासम्बन्धी विवादलाई लिएर कथित उपल्लो जातका किराना व्यापारीले बिहीबार उनीहरूको हत्या गरेका हुन् । व्यापारीले बारम्बार बिस्कुटको पैसा माग्दा ती दम्पतीले केही दिनको समय मागेका थिए । उत्तर प्रदेशको मेनपुरी जिल्लामा बिहीबार बिहान सो बीभत्स घटना भएको भारतको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । एकाबिहानै काम गर्न जाने क्रममा बाटोमै दम्पतीको हत्या भएको हो । उनीहरूलाई गाउँकै किराना व्यापारी अशोक मिश्रले हत्या गरेका हुन् । मिश्रले सुरुमा दम्पतीले केही दिनअगाडि उधारोमा लगेका तीन प्याकेट बिस्कुटको मूल्य तिर्न कर गरेका थिए ।
 उनीहरूले आफ्ना तीन छोराछोरीका भोक मेटाउन तीन प्याकेट बिस्कुट लगेका थिए । दिउँसो कामबाट पाएको कमाइले साँझसम्म बिस्कुटको पैसा तिर्ने बाचा दम्पतीले गरेका थिए । तर, मिश्रको जिद्दीका अगाडि उनीहरूको याचनाले कुनै काम गरेन । ‘मिश्रले पैसा देऊ भनी कराउँदै गर्दा दम्पती कामका लागि खेतबारीतिर हिँड्दै थिए । मिश्र तत्कालै आफ्नो घर गए बन्चरो लिएर फर्किए र भरतको घाँटीमा हिर्काए । भरत भुइँमा लड्दा पतिलाई जोगाउन गएकी मम्ता पनि बन्चरो लागेर ढलिसकेकी थिइन् । दम्पतीको घटनास्थलमै मृत्यु भयो,’ स्थानीय गाउँले नदिमले दी इन्डियन एक्सप्रेसलाई भने । आक्रमण गर्ने किराना व्यापारी पक्राउ परेका छन् । सोही घटनालाई लिएर गाउँका दलित समुदायले विरोध प्रदर्शन गरेका छन् । ढुंगा र मुढा तेस्र्याएर ठाँउ–ठाँउमा बाटो अवरोध गरेका छन् । 
दुई साताअगाडि मात्र कथित गौ संरक्षक भिजिलान्तेले मरेको गाईको छाला बोकेर हिँडेका दलित समुदायलाई निर्घात कुटपिट गरेका थिए । हिन्दू धर्मावलम्बीले गाईलाई पवित्र माताका रूपमा हेर्छन् । भारतका धेरै राज्यमा गाई काट्न निषेध छ । तर, कथित उपल्लो जातिले मरेको छाला लिएर हिँड्दा पनि गाई खाएको दोष लगाउने गरेको प्रहरीले जनाएको छ । 
गत मार्चमा मात्र भारतको दक्षिणी राज्य तमिल नाडुमा उपल्लो जातकी महिला विवाह गरेको आरोपमा दलित पुरुषको हत्या भएको थियो । छोरीलाई भगाएर लगेको भन्दै बेहुलीका बाबुले दिउँसै व्यस्त सडकमा दलित ज्वाइँको हत्या गरेका थिए । हत्यापछि प्रहरी चौकीमा गएर आत्मर्सपण गरेका थिए ।

दलित र गैरदलितको संयुक्त सञ्चालनमा कृषि औजार निर्माण गर्ने उद्योग संचालन

रेशम बिक,रोल्पा, लिबाङ-विभेद बिरुद्ध अभियान, भाद्र १२ - पछिल्लो समयमा दलितहरुको परम्परागत पेशा बालीघरे खलोप्रथाको अन्त्य सँगसँगै आरान व्यवसायीबाट राम्रो आर्थिक आम्दानी गरिरहेका छन् । यसको नमुना हो जिल्लाकै कोटगाउँ माडीचौर स्थितको कोटगाउँ कृषक औजार निर्माण उद्योग हो । यसबाट दैनिक आम्दानी गरि जीवन निर्वाहसँगै स्वरोजगार बनिरहेका छन् ।
कोर्चाबाङमा जन्मिएर कोटगाउँमा बसोबास गरी हाल माडीचौरमा उद्योग सञ्चालन गरी आफ्नो परिवार व्यवस्थापन गरिरहनुभएको छ । करिव २ वर्ष देखि यता उद्योग सञ्चालन गरिरहुनुभएको छ सार्के बिक । शारिरिक रुपमा अशक्तता भएपनि उद्योग भने फस्ताएको छ । सो उद्योगबाट मासिक २०–२५ हजारसम्मको आम्दानी भइरहेको उद्योग सञ्लाचक सार्के वि.क.ले बताउनुभएको छ । सो कोटगाउँ कृषक औजार निर्माण उद्योगबाट उत्पादन भएका कृषि औजार जिल्लाका कोर्चाबाङ, घर्तीगाउँ, भाबाङ, जंकोट, कोटगाउँ, लिबाङ, ह्वामा सहित अन्य ठाउँहरूमा पनि निर्यात भइरहेको समेत पनि बताउनुभयो । उद्योगमा गाउँको भन्दा गुणस्तरीय सामाग्री उत्पादन हुनेभएकोले पनि कृषि औजारको माग बढेकाले कृषकको माग पु¥याउन नभ्याएको समेत उद्योग सञ्चालनक वि.क.ले बताउनुभयो । उहाँको अनुसार कृषक औजार निर्माण उद्योग सञ्चालन गर्नका लागि घरेलु तथा साना उद्योग विकास समिति कार्यालयले १८ प्रतिशत छुटमा उद्योगमा प्रयोग गरिने सामाग्री, जिल्ला विकास समिति कार्यालय रोल्पाले रू ९० हजार बराबरको तहरो बनाउन आर्थिक सहयोग गरेको छ । त्यसैगरी जिल्ला कृषि विकास कार्यालयले पनि ५० प्रतिशत छुटमा उद्योगमा प्रयोग हुने सामाग्री उपलब्ध गराएको थियो । घरेलु तथा साना उद्योग विकास समिति कार्यालयको आयोजनामा विशेष तालिमको आयोजना गरी उद्योग सञ्चालन गर्नमा थप सहयोग प्रदान गरेकोमा सहयोगी निकायको प्रशंंसासमेत गर्नुहुन्छ । कृषि औजार निर्माण उद्योगमा फलामको नै प्रयोग गरिने भएकाले फलाम परम्परागत घनले फलाम पिट्दा समयमा नै काम नभ्याएकोले कृषि औजार मागनुसार उत्पादन गर्नका लागि विद्युतिय घनको व्यवस्थापन गर्न सकिएमा कृषकको माग समयमा नै पु¥याउन सकिने उद्योग सञ्चालक प्रेमबहादुर बाठा बताउनुहुन्छ । सो विद्युतीय घनलाई रू ९ लाखदेखि १३ लाखसम्मको मुल्य पर्दछ । आफूहरुसँग लगानीको अभाव रहेकोले त्यो लिन नसकेको समेत बताउनुभयो । तर पनि उद्योगबाट भएको कमाईबाट जम्मा गरी लिन तयारीमा रहेको बताउनुभयो ।
विगतमा गलत चिन्तनका कारणले दलितहरुले मात्रै गरिने पेशालाई हाल आम मानिसको रोजगारको क्षेत्र बन्दै गैरेहको समेत बाठाँमगरले बताउनुभयो । उहाँले भन्नुभयो ः–“यो गलत चिन्तनबाट मुक्त हुनुपर्दछ, हामी मानिस मानिस सबै एउटै हो ।” उद्योग व्यवस्थापनमा लाग्नुभएका बाठामगरले भन्नुभयोः– “विद्युतीय घन लिने योजनामा रहेको अव हामी विद्युतिय घनको व्यवस्थापन गर्न प्राथमिकता दिइरहेका छौ, यस घनको व्यवस्थापन आवश्यकतानुसार कृषि औजार उत्पादन गर्दछौं ।” कृषकको औजारको मागलाई समयमा नै पुरा गरी उद्योगलाई विस्तार र वजारिकरणमा ध्यान पु¥याउने बाठाँले बताउनुभएको छ । यसरी हामीलाई नियमित रूपमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने कच्चा पदार्थ कोइलाको निकै समस्या परेको समेत सञ्चालकद्वयको भनाई छ ।
कोइलाको अभावमा उद्योग सञ्चालन गर्न कठिन नै हुन्छ । किन कि अहिले गाउँ–गाउँमा फर्निचर उद्योग सञ्चालन भएकोले कोइला बनाउन प्रयोग गरी सल्लाको मूल्यमा पनि बढेकाले कोइलाको बनाउन सहज नभएको उद्योग सञ्चालनमा समस्या भएको छ । अहिले गाउँमा एउटा सल्लालाई ५ हजारसम्म किनेर कोइला बनाउँदा मजदुरी ज्याला बढी लाग्ने समेत सञ्चालकले बताएका छन् । अहिले उद्योग सञ्चालन गर्नमा कठिनाई सामना गर्नुपर्ने वाध्यता रहेको छ । तर, पनि अर्थपार्जन गर्न अरवको खाडीमुलका गएर पसिना बगाएर गर्दछन् । यो त आफ्नो जिल्लामै रोजगारी गर्न पाउँदा खुशी नै देखिन्छन् सञ्चालकहरु ।
सार्के बिक र प्रेमबहादुर बाठामगरको एउटै आवाज र विचार छ ः–“आफ्नै ठाउँमा हरेक चुनौतीलाई सामना गर्दै आर्थाेपार्जन गर्दा आफ्नो उद्योगको आत्मैदेखि नै मायान् लागेर आउँछ । उद्योग सञ्चालनक दोयले भन्नु हुन्छ–“यस उद्योगलाई निरन्तरताका साथ सञ्चालन गर्न सकेमा हाम्रो जीवन निर्वाह अव यसै उद्योगबाट हुन्छ भन्ने सोचेका छौं ।” यस उद्योगलाई परम्परागत आरान पेशा भने पनि हामी हाम्रो सन्तालनहरूले पढि सकेपछि पनि यस कृषि औजार उद्योगलाई नै नियमित्ता दिएर सफल व्यवसायी बनेर आफ्नै ठाउँमा नै उद्यमशिलबाट आम्दानी गरी जीवन निर्वाह गरून् भन्ने आशा पनि व्यक्त गर्नुभएको छ । मानिस आर्थाेपार्जनका लागि धेरै जोखिमपूर्ण कार्य समेत गरेको बताउँदै आफूहरुले त सीप मेहनतको पारीश्रम यो पेशा सहज भएको समेत बताउनुभउको छ । त्यसैले खलोघरे प्रथाबाट परम्परागत पेशालाई व्यावसयी आधुनीकरण गरी व्यवसायी रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता समेत औल्याउनु भएको छ, उद्योग सञ्चालनकद्वय सार्के वि.क र प्रेमबहादुर बाठाले । जसरी उद्योगलाई प्रर्वद्वनगर्नमा सहयोगी निकायको सहयोग अहिलेसम्ममा पाएको खुशी व्यक्त गर्दै त्यसैगरी आगामी दिनमा पनि सहयोगको अपेक्षा समेत गरेको बताउनुभएको छ । उद्योग सञ्चालक सार्के वि.क.ले भन्नुहुन्छ– “हामीलाई नयाँ सीप सिक्नका लागि यस्ता कृषि औजार सञ्चालन गरिएका व्यवस्थिति उद्योगमा सहयोगी निकायबाट भ्रमणको व्यवस्था गरिदिएमा हामीलाई थप नयाँ सीप ज्ञान पाउँथेयौं र हाम्रो सेवाग्राहीलाई पनि नयाँ सेवा प्रदान गर्न सक्ने थियौँ । यसरी दलित समुदायले आफ्ना पर्खाहरूले सञ्चालन गर्दै आइरहेका परम्परागत आरान पेशा सहित अन्य परम्पारगत पेशाबाट आयआर्जन गरी जीवन निर्वाह गरिरहेका छन् । दलित समुदायले सञ्चालन गरेको आरान पेशा लगायत अन्य परम्परागत पेशा खलोघरे प्रथाबाट दलित समुदायको जीवन परिवर्तन हुन सकेन् । जिल्लाका दलित नेतृत्वको पहलमा नेपाल सरकारको सहयोगमा जातिय छुवाछुतमुक्त गा.वि.स. घोषणा गर्ने सँगसँगै खलोघरे प्रथा गा.वि.स. घोषणा भइरहेका छन् । परम्परागत पेशाबाट सेवा गरेबाफत अर्धवार्षिक खाद्यन्न मात्र ल्याउने गर्दथे त्यसैले जीवन स्तर सहित आर्थिक विकास नभएको यार्थाथता हो ।
सयमको विकास क्रम सँगसँगै दलित समुदायको चेतना पनि उत्तिकै तीव्र गतिमा विकास भइरहेको छ । सयम परिस्थितिको विकास क्रमसँगसँगै कोर्चाबाङ–५ निबासी सार्के वि.क र कोटगाउँ–८ निबासी प्रेमबहादुर बाठामगर सञ्चालन रहने गरी घरेलु तथा साना उद्योग विकास समिति कार्यालयमा २०७१ साल माघ महिना २ गते दर्ता गरी दलित र गैरदलितको संयुक्त सञ्चालनमा कृषि औजार निर्माण गर्ने गरी उद्योग दर्ता भएको थियो । अहिले उक्त उद्योगबाट किसानलाई आवश्यक पर्ने हसियाँ, कुटो, कोदालो, फालो लगायत कृषि औजार सहित अन्य महत्वपूर्ण माछा खुकुरी र विभिन्न किसिमका अधुनिकका सामाग्रीहरू निर्माण गरिन्छ । यसरी शारिरीक अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको उद्योगलाई प्रर्वद्वन विकासमा सरकारी कार्यालय गरैसरकारी संघ संस्था सहित सहयोगी निकायको ध्यान नियमित रूपमा पु¥याउन पर्दछ । अपाङ्ग व्यक्तिलाई आफ्नै ठाउँमा स्वरोजगारी बन्ने अवसर प्रदान गरी व्यवसायमिूलक बनाउनमा उत्प्रेरित गर्नुपर्दछ । त्यसबाट सक्दो सहयोग सल्लाह सुझाव दिएर उद्योग सञ्चालकलाई रचनात्मक सहयोग भएमा पक्कै अपाङ्ग व्यक्तिहरूलाई पारिवारीक जिम्मेवारी सँगसँगै जीवन निर्वाह गर्नमा सहयोग मिल्दछ । सार्के सहित हजारौ अपाङ्गरूलाई पारिवारिक जिम्मेवारी वहन गर्नुका साथै जीवन निर्वाह गर्नमा समस्या थपिएको वास्तिविकता हो । त्यसैलाई नीति नियम निर्माण तहमा पनि अपाङ्गलाई प्राथमिकता दिएर नीति नियम बनाएर सोहीनुसार योजना निर्माण गरी कार्यन्वयन गरिएमा सार्के वि.क सहित हजारौं अपाङ्गहरूलाई पनि न्याय हुन्थ्यो । अपाङ्गलाई जीवन निर्वाह सँगसँगै पारिवारिक जिम्मेवारी बहन गर्नमा सहजता हुन्थ्यो ।
परम्परागत रुपमा दलितहरुको दमिति पेशाको रुपमा रहे पनि समय र परिस्थिति अनुसार हाल एउटा सम्मानयोग्य उद्योग बन्दैछ । यस पेशामा दलित तथा गैर दलितहरुको सहभागितामा सञ्चालित व्यवसायीको क्षेत्र बन्दैछ । त्यसैले यस उद्योग एउटा नमूनना हो । जातीयछ छुवाछुतमुक्त, बाली घरे खलो प्रथाको अन्य व्यावसायीमुखी पेशाको रुपमा बनेको छ । त्यसैले यो कृषि औजार निर्माण गर्ने दलितलाई दमन गर्ने पेशाको रुपमा होइन कि त्यसलाई आर्थिक उत्पादनको क्षेत्र बनाउन दलित तथा गैर दलित समुदायहरु लाग्न समयको आवश्यकता र माग भएको छ ।

प्रहरीले दर्ता गर्न नमानेपछि न्याय माग्न राजधानी पुगे धादिङ पीडाकी दलित महिला

विभेद बिरुद्ध अभियान, भाद्र १२ - धादिङ – धादिङको पीडा गाँउ विकास समिति वडा नं ६ भदौरेमा दलित महिलामाथि बलात्कार प्रयासपछि मरणसन्न हुने गरी कुटपिट गरिएको छ ।भदौरेकी २७ वर्षिया सीता विकलाई स्थानीय ३१ वर्षिय ज्ञानबहादुर थापा मगरले साउन १८ गते राती ९ बजे सुतेकै ठाउँमा आएर सीतालाई बलात्कार गर्न खोजेपछि सिताले हारगुहार गरेपछि उनीमाथि कुटपिट गरिएको हो ।
आफ्ना स–साना दुई सन्तानका साथमा सुतेकी सीताले हारगुहार गरेपछि मगर भागेका थिए । तर त्यसको केही समयपछि मगरले उल्टै आफ्नी श्रीमती मैया मगर सहित आएर आफूलाई निर्घात कुटपिट गरेकोे सीताले बताइन् ।
पिडितले दोषीलाई कार्वाहीको माग गर्दै दिएको जाहेरी धादिङ प्रहरीले दर्ता गर्न नमानेपछि न्यायका लागि उनी राजधानी काठमाडौँ गएकी छिन् । उनले राष्ट्रिय मानव अधिकार आयोग, दलित सेवा समाज लगायतका ठाँउहरुमा निवेदन हालेकी छिन् ।
उनका पति वैदेशिक रोजगारीका लागि मलेशियामा छन् । पीडित सीताले आयोगहरुमा दिइएको निवेदनमा आफूमाथि भएको जबर्जस्ती करणी प्रयासको किटानी जाहेरी दिन जाँदा धादिङ जिल्ला प्रहरी कार्यालयले पीडक पक्षधर स्थानीय राजनीतिक दलको प्रभावमा परी जाहेरी दर्ता गर्न इन्कार गरी पीडककै संरक्षणमा लागेको आरोप लगाएकी छन् ।
आयोगहरुमा दर्ता गराइएको निवेदनमा पीडित सीता विकको मौलिक हक हनन् गर्ने प्रहरी र राजनीतिक दललाई समेत कार्वाही गर्न पीडित पक्षले माग गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय धादिङले भने सार्वजनिक मुद्धामा उजुरी दर्ता गरी सोही अनुसार प्रक्रिया अगाडी बढेको तर जर्वजस्ती करणीको निवेदन नआएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जीयारले यदि पिडित पक्ष त्यस्तो खालको निवेदन दिन आएमा आफुहरुले सोही प्रक्रिया अनुसारकै उजुरी दर्ता गर्ने बताए । पिडितले दिएको निवेदनका आधारमा आफुहरुले त्यहाँको प्रहरी कार्यालयमा सम्पर्क गरी बुझ्ने काम भइरहेको राष्ट्रिय मानव अधिकार आयोगकी सुचना अधिकृत गीता श्रेष्ठले बताइन् । उनले के गर्ने भन्ने विषयमा आजै भन्न नसकिने प्रतिक्रिया दिइन् ।

दलित समुदायले राज्यको अनुभूति कहिलेदेखि गर्न पाउने हो ? -श्यामबहादुर मगराती

विभेद बिरुद्ध अभियान, भाद्र १२ -नेपाल सरकारले मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको पनि आज दश वर्ष पुगिसकेको छ । तर व्यवहारिक र मानसिक रुपमा नेपाली समाज जातीय छुवाछूत र विभेदको रोगबाट अझै ग्रस्त छ । जातीय आधारमा भेदभाव र अवहेलना गर्ने प्रवृत्ति नेपाली समाजमा निरुत्साहित भएको छैन । कथित दलित भएकै कारण दलित समुदायमाथि गरिने छुवाछूत र विभेद अझैसम्म कायम रहेकोछ ।
नेपालमा पटक पटकको राजनीतिक परिवर्तनपछि गणतन्त्र आईसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानमा जातीय छुवाछूत तथा विभेद विरुद्धका व्यवस्थाहरु उल्लेख गरिएका छन् । नयाँ संविधानको धारा (४०) मा दलित हकलाई मौलिक हकको रुपमा र धारा (२४) मा जातीय छुवाछूत तथा विभेद विरुद्धको हकको रुपमा व्यवस्था गरेकोछ । तर दुर्भाग्यवश नेपाली समाज पुरातन सोच र चिन्तनबाट बाहिर निस्कन सकेको छैन ।
लामो समयदेखि नेपालमा जातीय छुवाछूत तथा विभेद विरुद्धका आन्दोलनहरु चल्दै आईरहेको छ । यहाँ सरकार तथा राजनीतिक दलहरुले आफूलाई जातीय छुुवाछूत तथा विभेद विरुद्ध उभ्याउँदै आएका छन् । २०६३ जेठ २१ गते तत्कालीन सरकारले नेपाललाई सदाका लागि छुवाछूतमुक्त राष्ट्र घोषणा ग¥यो । अन्तरिम संविधान, २०६३ तथा जातीय छुवाछूत तथा विभेद कसुर र सजाय ऐन, २०६८ ले जातीय छुवाछूत तथा भेदभावलाई हिंसा र अपराधको रुपमा परिभाषित गरेको छ ।
ती नीतिगत व्यवस्थाहरु सरकार र राजनीतिक दलको प्राथमिकतामा परे पनि समाज पूर्ण रुपमा दलितमैत्री बन्न सकेको छैन । तुलनात्मक रुपमा विगत भन्दा केही परिवर्तन आएको छ । तर जातीय छुवाछूत तथा विभेद पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । सरकारको नीतिगत व्यवस्था हुँदाहुँदै पनि समाजमा जातीय छुवाछूत तथा विभेदले जरो गाड्नु आम नेपालीहरुको लागि विडम्बना नै हो ।
जातीय छुवाछूत तथा विभेदका नाममा दलित समुदायले धेरै दुव्र्यवहार खेपिरहेका छन् । धारा, कुवा, विद्यालय, मन्दिर जस्ता स्थानहरुमा जातीय छुवाछूत तथा विभेद विद्यमान नै रहेको छ । अन्तरजातीय विवाह गरेकै कारण समाजबाट विस्थापित हुनुपर्ने, मारिनु पर्ने जस्ता घटनाहरु निरन्तर रुपमा विकास भईरहेका छन् । सरकारले अन्तरजातीय विवाहित जोडीलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम ल्याए पनि समाजमा ती जोडीहरु सहज रुपमा स्थापित हुने वातावरण छैन । नयाँ संविधान जारी भएपछि जातीय छुवाछूत तथा विभेदका फरक फरक प्रकृतिका घटनाहरु घटिरेका छन् । पछिल्लो दुई महिनामा धेरै जातीय छुवाछूत तथा विभेदका घटनाहरु घटेका छन् ।
२०७३ जेठ ६ गते आवाज मिडिया गु्रप सुनसरी, धरानले संचालन गरेको आधारभूत रेडियो पत्रकारिता तालिमका प्रमुख अतिथि तथा कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले सार्वजनिक मञ्चबाटै जातीय छुवाछूत तथा विभेद हटाउन नमिल्ने अभिव्यक्ति दिए । त्यसपछि दलित अधिकारकर्मीहरुले उक्त एसएसपी खरेललाई कारवाहीको लागि गृहमन्त्रीसँग माग गरे । गृहमन्त्री र गृह सचिवले तत्काल घटनाको यथार्थ बुझि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे । तर अहिलेसम्म पनि कुनै कारवाही गरिएको छैन ।
२०७३ जेठ ९ गते कास्की जिल्ला भदौरे तामागी गा.वि.स. वडा नं. १ देउराली ढापस्वाँरास्थित देउराली देवी मन्दिरमा चण्डी पूर्णिमाका दिन पूजा गर्न पुगेका दलित समुदायलाई पुजारी देवीप्रसाद पौडेलले मन्दिर प्रवेशमा रोक लगाए । उनले दलित समुदायलाई अछुत भन्दै टीका लगाएनन् । घटना सार्वजनिक भएपछि दलित अधिकारकर्मीहरु आन्दोलनमा उत्रिए । मेलमिलापको प्रयास गरिंदा पीडितले ईन्कार गरेपछि घटनालाई कानुनी प्रक्रियामा लगियो ।
बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नं. १ बाडिलेककी गर्भवती हिरा भुललाई प्रसुती उपचारको लागि एम्बुलेन्स माग्न गएका दलित महिलालाई मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज अवस्थीले मदिरा सेवन गरि डुम भन्दै दलित अपशब्दले गाली गरे । मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज अवस्थी विरुद्ध जातीय छुवाछूत तथा विभेद विरुद्धको जाहेरी दर्ता गराउन जाँदा उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय बैतडीले दर्ता गर्न ईन्कार ग¥यो । उल्टै दलित महिलालाई कालोमोसो लगाएको भनी सार्वजनिक अपराध मुद्दा दर्ता गरि प्रशासनले पक्राउ गरि हिरासतमा लियो । तर डा. अवस्थीलाई भने कुनै कारवाही भएन ।
सिराहा जिल्लाको विष्णुपुरकट्टी गा.वि.स. वडा नं. ४ का तीर्थलाल वि.क. धारोमा पानीको गाग्रो छोईएको आरोपमा स्थानीय कमल ढुंगाना र नीजका छोराबाट । पीडित वि.क.ले प्रहरीमा उजुरी दिए । तर पीडकलाई कारवाही नै भएन ।
यस्तै मोरङ जिल्ला गाछा सुन्दर दुलारी गा.वि.स. वडा नं. ७ की प्रमिला वि.क.लाई कथित दलित भएकै कारण स्थानीय मन्दिरा गुरुङको दिदीबहिनीले कुटपिट गरि मरणासन्न हुने गरि घाईते बनाए । पीडित प्रमिला वि.क.ले प्रहरीमा मुद्दा दर्ता गर्न जाँदा मुद्दा दर्ता गर्न ईन्कार गरेपछि पुनरावेदन अदालत विराटनगरमा रिट दर्ता गरेकी छन् ।
महोत्तरी जिल्लाका झगरु पासवान र उगनारायण पासवानको परिवारलाई स्थानीयले भात पानीमा रोक लगाए । त्यसपछि पीडितहरु विस्थापित भए ।
काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं. ६ होक्सेका अजित ढकाल मिजार अन्तरजातीय विवाह गरेकै निहुँमा मारिए । उनको २०७३ असार २५ गते सँगै पढ्ने कल्पना पराजुलीसँग प्रेमविवाह भएको थियो । विवाह भएको पर्सिपल्ट कल्पना पराजुलीले आफ्नो माईती पक्षलाई फोन गरेर आफूले विवाह गरिसकेको जानकारी गराएकी थिईन् । त्यो जानकारी नै उनको लागि विछोड बन्न पुग्यो । आफूले माया प्रेम गरेको मानिसँग प्रेम विछोड त भयो नै अजित ढकाल मिजारको जीवन समेत सदाका लागि समाप्त भयो ।
राज्यले भने घटनाको मतियार टोलीको संलग्नतामा छानविन समिति बनाई अनुसन्धानको नाममा दुनियाँ नाटक गरिरहेको छ । यति बेला अजित ढकाल मिजार हत्या प्रकरणको घटनाले देशका आम दलित समुदाय त्रसित भएका छन् । यसरी दलित समुदायमाथि एकपछि अर्को श्रृंखलाबद्ध रुपमा जातीय छुवाछूत तथा विभेदका घटनापछिका परिघटनाहरुले नेपालका आम दलित समुदायले हाम्रो पनि राज्य छ भन्ने कुरा अनुभूति गर्न पाएका छैनन् ।

नागरिकता बिहिन बिक दम्पति कुष्टरोग लागेपछि ६ वर्षदेखि जङ्गलमा बस्न बाध्य

विभेद बिरुद्ध अभियान - भाद्र १२ - जाजरकोट । सबैको इच्छा गाउँघर, साथीभाइ र इष्टमित्रसँग मिलेर बस्ने र सुखका साथ जिन्दगी बिताउने भन्ने हुन्छ । मिठो, मसिनो खाना अनि राम्रो बन्न कसलाई पो इच्छा हुदैँन र रु तर यहाँको एक दुर्गम गाउँको एक परिवार कुष्टरोग लागेपछि विगत ६ वर्षदेखि जङ्गलमा बस्दै आएका छन् ।त्यहाँ उनीहरु जङ्गलमा रहरले नभइ बाध्यता, समाजको छ्या, छ्या अनि दुरदुरका कारण जङ्गलमा बस्न बाध्य भएको हो । जिल्लाको अति विकट नायकडावा गाविस– ८ तासीका वीरबहादुर कामीको परिवार कुष्टरोग लागेपछि जङ्गलमा बस्न बाध्य भएका हुन् ।
वीरबहादुर आफू करिब ५० वर्ष पुगेको बताउँछन् । वीरबहादुर श्रीमतीको साथमा जङ्गलमा बस्दै आएका छन् । कुष्ठरोगी परिवारसँग सम्पत्तिको रुपमा दुुई कुखुरा छन् । यो रोगीपरिवारसँग बिहान÷बेलुका छाक टार्न नै मुस्किल छ । खरको छाप्रोभित्र पानी चुहिँदा केही भएका कपडा भिजेर सुत्न नमिल्ने अवस्थामा पुग्ने वीरबहादुरले गुनासो गरे । आफूलाई लागेको रोग कसरी निको पार्ने भनेर वीरबहादुरका दम्पती निकै चिन्तामा छन् ।
तीन वर्षअघि भारतबाट एक गाउँलेले ल्याएर दिएको कपडा लगाएर दिनरात काटेको वीरबहादुरको भनाइ छ । जङ्गलमा बस्दा सर्प, बिच्छी, र अन्य जङ्गली जनावरले सताउने गरेको छ । ५० वर्षीय वीरबहादुर र उनकी श्रीमतीसँग नेपाली नागरिकताको प्रमाणपत्र समेत नभएको पाइएको छ । उपचार गर्नका लागि आधिकारिक प्रमाणपत्र आवश्यकपर्ने भएका कारण विक परिवारसँग त्यो नहुँदा थप समस्या परेको स्वास्थ्यचौकी नायकवाडाका इन्चार्ज गणेश खड्काले बताए ।
वीरबहादुरलाई कुष्टरोग लाग्नुभन्दा अगाडि ज्यामी, मजदुरी गरेर श्रीमान्, श्रीमती पालिने गरेको स्थानीयवासी दीपक महताराले बताए । विक परिवारलाई लागेको कुष्टरोग अन्य गाउँमा सर्छ भन्ने गलत मान्यताका कारण उनीहरुलाई गाउँमा जान नदिएको स्थानीयवासीले बताएका छन् ।
सुरुमा उपचारका लागि धामी, झाक्री गरेको तर केही नलागेपछि जङ्गलमा बस्न बाध्य भएको वीरबहादुरले बताए । कुष्टरोग लागेपछि कोर लागेको छ, यसका सन्तान या यसले पाप गरेका कारण हो भन्ने अन्धविश्वासका कारण आफूहरु थप मर्कामा परेको विक परिवारको दुखेसो छ ।
श्रीमान् र श्रीमती दुबैजना कुष्टरोगका कारण थला परेको कारण आफूहरूलाई कसैले सहयोग नगर्दा रोग भन्दा पनि खाना नपाएर कुन दिन प्राण जान्छ थाहा छैन वीरबहादुरले रुदै भने । कुनै नयाँ मानिस गाउँमा गएमा आफूलाई सहयोग गर्छन् कि भनेर आश लाग्ने गरेको दम्पतीको भनाइ छ । उनीहरूका कुनै सन्तान नभएका कारण आफ्नो सहारा कोही नभएको वीरबहादुरले बताए । घरबाट छुट्टिएको २५ वर्ष पुगेको अहिलेसम्म जेठा, कान्छा भाइ बिरामीको अवस्था कस्तो छ भनेर बुझ्नसम्म नआएको उनले गुनासो गरे ।
सङ्घ संस्थामा काम गर्ने, शिक्षक आदिले कहिले काहीँ केही सहयोग गर्ने गरेको उनी बताउँछन् ।आफूसँग उपचार गर्ने पैसा छैन् । ‘धन नभै वैहिमानी हुनु कर्म बिग्रे जोखी’ भन्ने उखान जस्तै आफ्नो जिन्दगी भएको वीरबहादुरले भने । नायकवाडा गाविसमा थुपै्र कुष्टरोगी भए पनि खुल्न नसकेको पाइएको छ ।

Friday, August 26, 2016

पुर्खाबाट प्रदुषित भएको समाज सफा गर्न अब लाज नमानौ - गोपाल सिवा

विभेद बिरुद अभियान - भदौ ११ - सदियौ देखि सत्ता र शासकीय निकायहरु बाट बन्चितिकरणमा पारिदै दमन र शोषणका पात्रहरु मात्र बनाइएका दलित समुदायका बहुसंख्यक नागारिकहरु  अझैसम्म पनि मौलिक हक र जातीय भेदभाव तथा छुवाछूत ऐनबारे बेखबर छन् ।जसको परिणाम अहिले पनि देशै भरि दलितहरू दिनहुँ सार्वजनिक धारामा पानी छोएको, बिहेभोजमा भत्तेर छोएको, मन्दिरमा पूजामा प्रसाद छोएको आरोपमा दलितहरू उपल्लो जातिकाहरूबाट कुटिएका, पिटिएकै छन् । दलित भएकै कारण भोगेका छुवाछुत र अपमानका घटनाको बयान साध्य छैन। कुटपिट र हत्याका घटनासमेत कम छैनन्। गाउँमै मिलाउने, प्रहरीसम्म पुग्न नदिने परिपाटीका कारण प्रहरी कार्यालयमा हत्तपत्त छुवाछूतको मुद्दा दर्ता हुँदैनन् भए पनि प्रहरीले मुदा दर्ता गर्दैन । छुवाछूतकै कारण कतिपयले त ज्यानै पनि गुमाएका छन् । अन्तरजातीय बिहे गर्ने हजारौ जोडी विस्थापित देखि देश निकाला सम्म भएका छन् । कतिको हात खुट्टा भाचिएका छ्न, कुटिएका छन्, पिटिएका छन् । अछुत कामी भएका कारण कालीकोट, जुबिथा गाविसका मनवीर सुनारलाई कुटीकुटी मारिए ,अन्तर्जातीय विवाह गरेको निहुँमा दैलेखमा केटाको बाबु सेते दमाईलाई खुकुरी प्रहार गरी मारिए। हुम्लामा गैरदलित युवतीसँग प्रेम गरेको निहुँमा केटालाई भिरबाट खसालेर मारियो। कास्कीको घान्द्रुकमा  सामूहिक भोजमा दलितहरुलाई पनि सहभागी गराउन खोज्दा एक दलित शिक्षकलाई कालो मोसो दलेर गुरुङ परिवारले महिलाको पेटीकोट लगाइदिएर ठटाए। मोरंग जिल्लाको बेलबारी गाविसमा माया सार्की र पत्रकार मनोज विश्वकर्मालाई कुटपिट गर्दै मोसो दल्नेकाम भयो । बाजुरामा दशैंको दिन सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने दशैंमेलामा टीका थाप्न गाएका ३ जना दलित समुदायका वालवालिका माथि मन्दिरकै पुजारीले छोएको भन्दै निर्घात कुटपीट गरे । रौतहटमा ७० वर्षे महिलामाथि सामूहिक बलात्कारै भयो।तनहुँको घाँसीकुवा -१ नाहालाकी डेरावाल माया विश्वकर्माले भरिएको गाग्रो पन्छाएर धारामा आफ्नो गाग्रो भरिन्। त्यही निहुँमा गाग्राधनी अजित श्रेष्ठ र उनका  परिवारले अस्पतालै भर्ना गर्नुपर्ने गरी उनलाई कुटे। धनगढी नपा(१२ जुगेडाकी ४० वर्षीया लक्ष्मीदेवी नेपालीलाई धारा छोएको आरोपमा कुटपिट भयो ।कास्कीमा अन्तर्जातीय विवाह गरेको निहुँमा केटाको हातखुट्टा भाँचियो। सप्तरीको पिप्रा गाविस ७ र वीरगन्ज नगरपालिकाभित्रको दलित बस्तीमा आगो लगाइयो। काभ्रे होक्सेका १९ बर्षीया अजित मिजार ढकाल 'ठूला जात'की केटी बिहे गर्दा मारिए । अजित मिजार , सेते दमै जस्ता कयौको  ज्यानैसम्म गएको उदाहरण त प्रतिनिधि घटना मात्र हुन्  । गाउ ,सहर देखि राजधानी सम्म यस्ता ज्यादती दिनहु हुने गरेको छ जसको सुची बनाउने हो भने दलित समुदायले भोगेको अमानवियताको कथाहरु थपिँदै जाँन्छन ।

एकातिर समाजमा यस्तो विभेदको राज चलेको छ भने अर्को तिर समता मुलक समाज निर्माण गर्न भनेर बनेको नेपालको संविधानले कुनै पनि व्यक्तिलाई जात, जाति, वर्ण, लिङ्ग वा धर्म आदि कुनै आधारमा छुवाछूत गर्न नपाइने कानुनी व्यवस्था गरेको भए पनि दलित माथि हुने ज्यादतिको बिषयमा सरोकारवालाहरु कानुन कार्यन्बयन गराउन समेत विभेद गरेको छ  । यस्तै बिभेदको पछिल्लो घटना अर्थात अन्तर जातीय बिवहा गर्दा मारिएका अजित मिजारको घटना ले अहिले सवै लाइ कुरी कुरी बनाएको छ ।लोकतान्त्रिक शासन व्यवस्था अंगालेको हाम्रो नेपालमा दलित गैर दलितको बिवाहा त् के जस्तो सुकै ठुलो अपराध गरेको भएपनि कुनै पनि व्यक्तिको बाचन  पाउने अधिकार न त् गाउका ठुला जात भन्नेले खोस्न सक्छन, न त् प्रहरी प्रशाशनले ,न त् संविधानले नै खोस्न सक्छ। लोकतन्त्र र नेपालको सविधानले उल्लेख गरेको कानुनको शासनमा  हामी विश्वास गर्छौ भने कानुनको नजरमा सवै समान हुनु पर्छ । बाचन पाउने र कानुनि उपचार पाउने अधिकार सवैको अक्षुण छ र रहनुपर्छ। तर आफ्नो छोरीले राजि खुसि दलित केटा संग बिहे गरि भन्दैमा दलित भएको बहानामा कथित ठुला जात भनिनेहरुले कसैको ज्यान लिन पाउँछन ? के कानुनको शासनमा कुनै जात , विचार, आस्था, शक्ति वा पदसंग जोडिएकै आधारमा कसैले पनि समाजका कथित दलित, गरिव , उत्पीडितलाई मार्ने छुट पाउने वा सजाय नपाउने भन्ने हुन्छ ? अजित मिजारको हत्याको राज्यले एउटा नागरिक मानेर अनुसन्धान गर्नु पर्ने होइन ? किन महिनौ सम्म  अनुसन्धान नगरेर यस किसिमको गैह्रन्यायीक कार्य र दुस्प्रयास राज्यका निकायवाटै गरियो ? के यो  संबिधान र कानून को गम्भिर उलङ्घन र राज्यको सबैभन्दा निकृष्ट प्रदर्शन होइन ? कानुनी राज्यमा कानुनको पालना गर्न र शान्ति सुव्यवस्था कायम राख्न कानुनले तोके अनुसार राज्यले बिभिन्न निकायमा अधिकार दिएको छ तर किन गलत पोस्ट मार्टम रिपोर्ट बनाएर प्रहरी प्रसाशनले लास दबाउन हतार गर्यो  ? महिना दिन बितिसक्दा पनि अनुसंनधानको दायारामा किन यो मुदा आउँन सकेन ? किन सयुक्त दलित आन्दोलन टोली र पीडितका परिवारले पटकपटक गृहमन्त्री देखि प्रधानमन्त्री सम्म भेटेर न्यायको भिख माग्नु पर्यो ? आखिरी किन दलितमाथी विभेदको घटना हुँदा अदालत कम भन्दा कम सजाय दिलाउन र प्रहरी प्रशासन सकभर मुदै दर्ता नगरि मिलापत्र गराउन उद्धत  हुन्छन् ? कानुनको नजरमा सवै समान हुन्छन भने देशको कानुनले समान नागरिक मानेका दलितमाथि असमान व्यवहार गर्न तिनलाई कुन कानुनले यो अधिकार दियो ? आखिर कहिले पाउलान् दलित समुदायले न्याय ? नेपालको संविधानले सवै समान मानेर आम नागरिक सरह दिएको अधिकार ब्यबहारमा कार्यान्बयन गराउन न्यायको भिख माग्दै कहिले सम्म पत्रकार सम्मेलन गर्ने ? कहिले सम्म झोली थाप्दै गृहमन्त्री र प्रधानमन्त्री सम्म धाउने ?

दलित समुदायको लागि बनेको अहिले सम्मका मौलिक हकहरु ,छुवाछुत र भेदभाव विरूद्धको हकहरु कमै भए छन तर त्यति अपर्याप्त पनि छैन । कानून र कानूनमा उल्लेखित कार्यबिधिबाट सिर्जित भएको खासै चुनौतीहरु पनि छैनन् । समस्या कानून कार्यान्वयन ईकाइमा रहेका कर्मचारिको आचरण र ब्यबहारबाट सिर्जित मात्र पनि हैन । यो समस्या समाजमा बर्षौदेखि अनुशरण हँदै आएको, सामाजिक ब्यबस्थाले ल्याएको समस्यामा छ । हाम्रो घर, परिवार, परम्परा, शिक्षा, आर्थिक अवस्था, राजनितिक, सम्वद्धता, सामाजिक पृष्ठभूमी, धर्मशास्त्र संस्कार, संस्कृति, सामाजिक सम्पर्क आदिको प्रभावबाट बिकसित हुँदै आएको सोचले गर्दा नेपाली समाजमा दलित समुदायमा विभेद गर्ने घिनलाग्दो प्रथा अझै  गढेर बसेको छ । त्यसैले कानुन को नजरमा सवै बराबर भएर पनि न्यायको भिख माग्न नेता नेताको घरदैलो धाउँन बाध्य हुने सस्कार बसाइदै छ ।

अजित मिजारको घटना धेरै साथीहरूले प्रधानमन्त्री प्रचण्डले दलित अगुवाको गुनासो सुनेको २ घन्टामा एयाक्सन लिए भनेर सामाजिक संजाल भरेका छन । कदम सकारात्मक हो तर हिजो दलितको अधिकारले सविधानको ब्यारो मिटर नाप्छ भनेर पछि अधिकार लाइ कानुन बनाएर भन्नेर कुरा घुमाउरो बनाउने एउटा शक्तिशाली मुखिया मध्ये एक यिनै प्रचण्ड होइनन ? अझ दुई घन्टामा कार्वाही गर्न निर्देशन दिने प्रचण्ड गत ओली सरकारको पालामा उच्च स्तरीय संयन्त्र तथा आफ्नै पाटीमा लगभग सयौ दलित समुदाय बाट पोलिट ब्युरो तथा केन्द्रिय सदस्य समेत रहेको सत्तारुढ दलका अध्यक्ष पनि हुन् । २ घन्टामै अनुसन्धानको आदेश दिन मिल्ने  रैछ त्यसो भए  दलित समुदाय बाट सयौ पोलिट ब्युरो तथा केन्द्रिय सदस्य हुदा पनि पछिल्लो एक महिना सम्म अजित मिजारको हत्या बिषयमा सडकमा न्यायको भिख मागिदा अध्यक्ष प्रचण्ड ज्यु लाइ जगजाहेर गर्ने हिम्मत किन नगरेको हो ? या नचाहेका हो ? गरेको हो भने महिना दिन सम्म किन अध्यक्ष प्रचण्ड ज्यु बाट आदेश जारि किन भएन ? मैले कुनै दल र राजनीतिक दलको बिरोध गर्न खोजेको हैन मात्र के भन्न खोजेको हो भने दलित समुदाय माथि भएको अमानविय विभेदको राज्यको कानुनमा भएको न्यायोचित प्रक्रिया पूरा गरी न्याय दिलाइयोस  ।लोकतन्त्रको संस्थागत विकास कानुनको शासनमा अडेको हुन्छ । हामी प्रत्येकले आफ्नो जिम्मेवारी पुरा गर्यौं भने मात्र सायद हामीले चाहेको सभ्य समाज निर्माण हुनसक्छ, कानुनी शासन स्थापित हुनसक्छ। त्यसैले हाम्रो देशमा दलित लाई सबल बनाउने, राज्यका हरेक कार्यमा सहभागी बनाउने, राज्यबाट पाउने लाभ वा उपचार विना कुनै भेदभाव समान रुपमा वितरण गर्ने उद्देश्यलाइ ब्यबहारिक रुप दिन राजनीतिक दल नेता र सरोकारावाला सवैको ध्यान जवाओस ।

वर्षौंदेखि भोग्दै आउनुपरेको सामाजिक–आर्थिक असमानता र विभेदका विरुद्ध सङ्घर्ष गरी मुलुकमा लोकतन्त्र, गणतन्त्र आए पनि अझै समाजमा व्याप्त जातीय भेदभावपूर्ण व्यवहारले प्रचलित कानुन, आधुनिक सभ्य सामाजिक संरचना र मानवीय पक्षलाई खिल्ली उडाएको छ। समाजले गरेको यस्तो अमानबिय ब्यवहारमा बर्षौ देखी विवस र बाध्य भएका उत्पीडित दलितहरु बोल्दैनन् र त्यतिकै सहि दिन्छन । तर अब नयाँ नेपालले दलित उत्पीडितहरुलाई समान र सार्वभौम नागरिक मानेर न्यायमूलक समाज निर्मार्ण हुने सपना देखेको छन । श्रमजिवि एवं कला र सिल्पि कथित दलित समुदायको यथोचित सम्मान र सशक्तीकरण भएको समाज नै उन्नत समाज हो भन्ने मान्यता खास गरि गैर दलित पढेलेखेका र जान्ने सुन्नेहरूमा अब हुनु पर्छ।  हाम्रै दाजुभाइ दिदिबहिनी धाराकुवामा अप्मानित हुदा , राजिखुसी बिहे गर्दा मारिदा,एकै आस्थाका देवालय जादा कुटपिट हुदा ,सामाजिक राजनीतिक सहभागितामा सधै पर राखेर समतामूलक समाजको परिकल्पना गर्दा पनि शिक्षित र सचेत मानिसहरूमा आफ्नो बुझाइ र मान्यताबाट माथि उठेर कुनै विषयलाई पृथक दृष्टिकोणबाट हेर्ने कुरामा चासो राखिनु पर्छ र देखाउनु पर्छ ।

आफ्नो मान्यता र परम्परालाई नै महान, आदर्श र पूर्ण ठान्ने र यसको बचाउमा घुँडा धसेर ठसठस कन्दै धर्म र जातका अनि इतिहासका आलुपाँडे तर्क र व्यबहार देखाउने आदरणीय गैर दलित पढेलेखेका मित्रहरु ,राजनीतिक दलका नेताहरु ,नीति निर्माताहरु  डाक्टर ,वकिल ,सिक्षक सवै छेत्रका  मित्रहरु इतिहास र पुर्खाबाट  प्रदुषित भएको समाज सफा गर्न अब लाज नमानौ । प्रभावकारी नीति र कानुनको परिपालनाको अभावमा प्रदुषित भएको बाग्मती सफाइ गर्ने एक व्यक्तिले  गरेको अभियानलाइ तपाइँ हामि सवैले दिएको साथ/समर्थन ले गर्दा आज बाग्मती सफाइ महाअभियानका रूपमा धेरै सफा भएको छ । व्यक्तिविशेषको अभियानमा यसरी स्वतस्फुर्त सामेल भएर गन्हाउने खोला सफा गर्न तत्पर आम मानिस समाजमा भएको कु- सस्कार र मान्छेलाई मान्छे नगन्ने अमानवीय अब्यहार भएको समाज भित्रको फोहोर मानसिकता सफा गर्न कहिले तातिने ?

जातिय विभेद र छुवाछुत :मिस्टर प्रदिप

विभेद बिरुद अभियान - भदौ ११ -जातिय विभेद,  छुत अछुत तथा दलित,उंचो निचको भावना र व्यवहार आज पनि हाम्रो समाजमा विध्यमानरुपले आफ्नै आंखा अगाडि घटिरहेको देख्दा , महशुश गरिरहदा  कतै हामी अझै दासयुग र सामन्तियुगमा त बांचिरहेका छैनौ भन्ने पनि लाग्छ । तर यो एक्काइसौ शताब्दिको युगमा पनि नेपाली समाज लगायत दक्षिण एसियाका अधिकांश मुलुक यो समस्या कहालि लाग्दो रुपमा जकडिएर रहेको पाइन्छ । विशेष गरेर नेपाल र भारतमा यसले जरो गाडेर बसेको छ । दलित र छुत अछुतको सम्वन्ध विशेष गरेर हिन्दु धर्म संस्कृति र परम्परा संग जोडिएर आएको देखिन्छ । भलै हिन्दु धर्म ग्रन्थमा के कस्तो व्यवस्था छ र त्यसको अनुशरण गर्ने पण्डित विद्वान र कर्मकाण्ड वेत्ताहरुले के कसरी तिनिहरुलाइ अनुसरण गरे । आफ्नो स्वार्थ अनुकुल बनाउनको लागि कसरी गलत व्याख्या गरे भन्ने कुरा अर्को बहसको विषय बन्न सक्ला । तर यो सत्यतालाइ स्विकार गर्नै पर्ने हुन्छ कि नेपालमा जातिय भेदभाव आजको दिनसम्म पनि भयावह रुपमा सामाजिक व्यवहारमा रहेको छ । कानुनमा वा कागजमा जातिय भेदभाव र छुवाछुत अन्त्य भइसकेको घोषणा गरिए पनि कानुनि व्यवस्थाहरु भएपनि सामाजिक व्यवहारले कानुनलाइ र राज्यलाइ चुनौति दिइरहेको छ ।
हिन्दु धर्मले दलित समुदायलाइ धार्मिक शाष्त्र र ज्ञान बाट वञ्चित मात्र गरेन जनवारलाइ भन्दा तल्लो व्यवहार गरेर मन्दिर प्रवेशमा निषेध तथा सार्वजनिक धारामा छुन सम्म पनि रोकावट गरि नै रहेको पाइन्छ । यो कस्तो विडम्वना मानिस भएर मानिस जस्तो व्यवहार नपाउनु मानवअधिकारको उल्लङ्न भएन र ? मन्दिर र धारामा निषेध गरिएको छ भने दलितसंग तथाकथित उपल्लो जातिहरुसंग हुने वैवाहिक सम्वन्ध त झन् ठुलो समस्या बन्ने गरेको छ ।
   एकातिर शिक्षा आर्जनका लागि अभिभावक आफ्ना छोराछोरि स्कुल कलेज पठाउने गर्छन् तर स्कुल कलेजमा पढाइने ज्ञान शिक्षा केवल परिक्षामा अङ्क ल्याएर जागिर खाने कामका लागि मात्र हो कि जस्तो व्यवहारमा देखाउछन् । त्यसैले आज पनि नेपालका लाखौ दलित आंशु र आक्रोश लिएर राज्यसंग आफ्नो सामान्य मानवअधिकारको भिख मागिरहेछन् , वेदना सुनाइरहेछन्। अधिकार समानता र न्यायको माग गरिरहेछन् । जातिय छुवाछुत आजको समयको सबैभन्दा निकृष्ट क्रुर र मानवतालाइ हिनताग्रस्त बनाउने विकृत कुप्रथा नै हो । यसले दलितहरुमाथि सामाजिक सांस्कृतिक आर्थिक र मनोवैज्ञानिक रुपमा नराम्रो असर गरिरहेको छ । यसरी जातिय उत्पिडनमा परेका दलित समुदायको पिडा कतिपय पढे लेखेका शिक्षित वर्गलाइ पत्यार नलाग्न सक्छ अथवा यो समस्या खासै समस्या नै हो भन्ने नलाग्न पनि सक्छ । जातिय भेदभाव कम गर्नका लागि युवा पुस्ताको भुमिका अहम भुमिका हुन पर्ने देखिन्छ । युवा पुस्ताले नै विस्तारै यो कुप्रथालाइ अन्त्य गर्नुपर्ने जिम्मेवारी आफ्नो कांधमा बोक्न जरुरी देखिन्छ । हिन्दु धर्म संग प्रत्यक्ष परोक्ष सम्वन्ध राख्ने छुवाछुत र दलित समस्याको अन्त्यका लागि हिन्दु धर्मको व्यवहारमा पनि परिवर्तन ल्याउन अत्यन्त जरुरी छ। धर्म भनेको मानवता प्रेम सम्मान श्रद्दा मानव कल्याण सद्भाव र समानताको प्रतिक हुने गर्छन् । धर्मको मुल मन्त्रलाइ बुझ्नु र अनुशरण गर्नु नै आजको आवश्यकता हो । धर्म आफैमा खराब हुदैन । धर्मका ठेकेदारहरुको स्वार्थले यसलाइ विकृत गराइरहेको हुन्छ। यस तर्फ सबै सजग हुन जरुरी छ ।
  देशमा संघियताको मुद्दा जोडतोडले उठिरहेको विरोधका स्वर सुनिन थालेको छ जनताहरु आफ्नो रगत बगाइरहेका छन् । दलित तथा छुवाछुत प्रथा दलित लाइ कुनै प्रदेश दिएर समाधान हुने पक्कै होइन । यदि कोहि दलित प्रदेश चाहिन्छ भन्दै हिड्छ भने त्यो उसको निकृष्ट मानसिकता हो ।दलित कल्याण र जातिय छुवाछुतको अन्त्य चर्का  भाषण तारे होटलका सेमिनार र कानुनले मात्र हुदैन यसका लागि सामाजिक चेतना, शिक्षा र आर्थिक विकास लगायत कानुनको प्रभावकारी कार्यान्व्ययन अत्यन्त महत्वपुर्ण पक्ष हुन्। र अन्त्यमा दलित, जातिय छुवाछुत र विभेदका बारे बोल्ने, आवाज उठाउने सबै दलित नै हुन्छन् या हुनुपर्छ भन्ने सोचबाट मुक्त हुन जरुरी छ ।दलित हक हितका लागि बोल्न लेख्न , जातिय छुवाछुतका विरुद्द आवाज उठाउन दलिल समुदायकै हुनुपर्छ या यस्तो विभेदको विरोध गर्न गैर दलितले दलितसंगै वैवाहिक सम्वन्ध गास्नुपर्छ भन्ने मानसिकता फेर्न जरुरी हुन्छ । जातिय छुवाछुत तथा विभेद अमानविय र समाजको कलङ्क हो यसलाइ मानवतापुर्ण र कलङ्करहित बनाउनु समाजका हरेक व्यक्तिको कर्तव्य र दायित्व पनि हो ।