विभेद बिरुद अभियान -भदौ १२ , सामन्ती खस उच्चजातीय अहङ्कारवादी ठालु शासक वर्गले दलित उत्पीडित जनतामा शोषण उत्पीडन गरिरहेको छ । शताव्दीऔँदेखि कानुन बनाएर अपमानपूर्ण, कठिन र सेवामूलक काम अनिवार्यरूपले गर्न लगाउँदै दलित श्रमिक वर्गमाथि राज्यले नै शोषण गरिरहेको छ । अहिले लोकतन्त्र आयो, देशमा कानुन छ, नयाँ संविधानको मौलिकहकमै दलित अधिकार उल्लेख गरिएको छ तर व्यवहारमा दलितप्रति छुवाछूतको कारणबाट हुने जघन्य हत्यासमेत कानुनको दायरामा आउँदैन ।
त्यसकारण अब दलितहरू विद्रोह जनताको अधिकार हो भन्दै छुवाछूत विरुद्धको भीषण साझा आन्दोलन बनाएर अगाडि बढ्नु जरुरी छ । दलितलाई अन्यायमा राख्ने सामन्ती ठालुहरूको राज्यसत्ता ध्वस्त गर्न अनिवार्य छ । नत्र शोषण उत्पीडनका असङ्ख्य शृङ्खला जीवित भइरहन्छन् । दलित जनताले निरङ्कुश सामन्ती राजतन्त्र अन्त्यका लागि गरेको सङ्घर्ष र बलिदानको कीर्तिमान छ । शान्ति प्रक्रियामा आएपछि शासकवर्गले सहजरूपमा ग्रहण गर्न सकेको छैन । यो महान जनयुद्ध र जनसङ्घर्षले पुरानो प्रतिक्रियावादी शासनसत्ता÷सरकार फेरियो व्यवस्था परिवर्तन भयो तर जातपात छुवाछूतको दासत्व अन्त्य भएन । दलितलाई राज्यसत्ताको नीतिनिर्माणको तहमा उचित स्थान दिइएन । वर्ग सङ्घर्षको भट्टीमा खारिएर आएको, दलित जनताको न्यायको लागि दृढ, कसैले नगलाउने विशिष्टि किसिमको स्पात बनेको उच्च व्यक्ति प्रचण्ड अहिले देशको प्रधानमन्त्री छन् । हामी उनलाई दलित उत्पीडितका लागि बोल्ने दृढतायुक्त नेता ठान्छौँ ।
यो खुशीको प्रचण्डले कुरा हो, दलितबाट एकजना क्याविनेट मन्त्री र एकजना राज्यमन्त्री आफ्नो पार्टीबाट मन्त्रिमण्डलमा स्थान दिएका छन् । हामीले अब दलितको सवालमा गम्भीरतापूर्वक सुनुवाइ हुनेछ भन्ने ठानेका छौँ । दशवर्षे महान जनयुद्धमा क. प्रचण्ड दलित उत्पीडित तथा सर्वहारा वर्गको मुक्तिको अभियानमा महानायक बने । अब उनी जातीय छुवाछूत र यसका पीडाका विरुद्ध लड्ने एक ठोस कार्यदिशासहित बाँकी क्रान्तिको कार्यभार पूरा गर्ने अभियानमा लाग्नुपर्छ ।
नेपाली क्रान्तिमा दलित मुक्तिको प्रधान अन्तरविरोध वर्गीय उत्पीडिनमात्र होइन, जातीय उत्पीडन पनि हो । अर्थात वर्गीय मुक्तिले मात्र जातीय छुवाछूतको दासत्वबाट मुक्ति हुनै सक्दैन । त्यसकारण जातीय मुक्तिसङ्घर्ष र वर्गीय मुक्तिसङ्घर्षका दुई प्रवर्गलाई उचित संयोजन गर्दै भीषण क्रान्तिका आधार निर्माणद्वारा दलित मुक्ति अघि बढाउनु अनिवार्य छ । नेपाली चालु क्रान्तिको सामाजिक, आर्थिक सत्ताको विश्लेषण गर्दा वर्ग सङ्घर्षको पूर्णयुद्ध (टोटल वार) सबै प्रक्रिया सकेपछि मात्र साँस्कृतिक क्रान्ति चाल्ने होइन भन्ने हाम्रो ठम्याइ छ । अन्य देशको क्रान्तिको इतिहासबाट हामीले सिक्नुपर्छ । चीनमा माओले १९४९ मा नौलो जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि पनि सामाजिक व्यवहारका अन्याय पूर्ण आदतका सत्ताहरू परिवर्तन नहुँदा सामन्ती प्रतिक्रियावादी वर्गको हेडक्वाटरमा बमबारी गर्दै सन १९६६ देखि १९७६ सम्म महान साँस्कृतिक क्रान्ति गर्नु भएको थियो । साँस्कृतिक क्रान्तिका बेला जहाँ प्रतिक्रियावादी सत्ताको विरुद्धको लडाइमा सबै कुरामा रातो लेपन (क्रान्तिकारिता) गरिएको थियो । सामन्ती उत्पादन, पछौटे सँस्कृतिका सबै खाले उत्पीडन र अन्यायलाई धुलोपिठो पार्न माओले चलाएको त्यो साँस्कृतिक क्रान्ति उचित थियो, न्यायोचित थियो तर केही आलोचकहरूले त्यो अभियान अलि धेरै भयो कि भनेर आफ्नो भनाइ पनि बाहिर ल्याएका थिए । त्यो बेलाको चीनको पुरानो प्रतिक्रियावादी राजनीतिक सत्ता ध्वस्त भए पनि अन्यायपूर्ण सामाजिक आर्थिक सत्ताहरू सामाजिक जीवन व्यवहारमा स्थिर रहेको क्रुरता खतम गर्न माओको त्यो महान साँस्कृतिक क्रान्ति सर्वहारा वर्गको पक्षमा थियो । अहिले नेपाली समाजको उत्पीडनको वर्गसंरचना र सामाजिक सत्ताको जातीय शोषणको अन्याय अन्त्य गर्न त्यहि प्रकृतिको साँस्कृतिक क्रान्ति आवश्यक छ । नत्र हामी नेपाली समाजको छुवाछूतको दासत्वबाट दलितहरूलाई जातीय मुक्ति दिलाउन सक्दैनौ । वर्ग सङ्घर्ष र साँस्कतिक क्रान्ति एकसाथ लिएर नेपाली समाजको सबै खाले अन्यायपूर्ण आदतका सत्ताहरू ध्वस्त गर्ने एक बलियो शक्तिको रूपमा विकास र प्रयोग गर्दै लग्नुपर्छ ।
नेपालमा जातीय छुवाछूत अन्त्य गर्ने नियम कानुन छ । अहिले नयाँ संविधानमा पनि मौलिक अधिकारको धारा ४० को उपधारा १ देखि ६ सम्म दलितको लागि शिक्षा, रोजगार, आवास, जमिन तथा दलितको परम्परागत पेशालाई पनि आधुनिकीकरण गर्दै बजारमुखी बनाउने अधिकारको प्रत्याभूत गरेको छ । नेपालको संविधानको धारा २४ मा छूवाछुत विरुद्ध स्पष्ट अधिकार उल्लेख गरिएको छ । दलित हक सुरक्षित गर्न छूवाछुत सजाय र कसुर ऐन २०६८ छ । संविधानको मौलिकहकमा कानुन बनाएर लागु गर्ने भनेको छ, त्यो सम्बन्धमा कानून बन्नेमा शंका छ । अर्कोतर्फ कानून बने पनि कानून लागू गर्न निकै कठिन छ, किनकि कानून लागु गर्ने ठाउमा दलितको प्रतिनिधित्व छैन ।
गैरदलित शासकजातिले भरसक दलितका लागि कानूनमा लेखिका कुरा पनि लागू गर्न चाहँदैन । छुवाछूत यथावत राख्न खोज्ने समाजको मुख्य प्रतिक्रियावादी धारले उच्चजात र उच्चवर्गको शोषणले दलितलाई आफ्नो स्तरमा समानरूपमा सामाजिक हैसियत दिन चाहँदैन । सबभन्दा कठिन व्यवहार त अन्तर्जातीय विवाहलाई समाजले जीवनव्यवहारमा सर्वग्राहृय गराउन चाहेन । निरकुंश पछौटेधार अन्तर्जातीय विवाहविरुद्ध कठोर प्रतिरोधमा आयो जो दलितको अग्रगामी विचारको विरुद्ध छ । अन्तरजातीय विवाह भएमा समाजले दलितको परिवारलाई ग्रहण गर्न चाहँदैन, भौतिक आक्रमण गर्छ, हत्या नै गर्छ ।
हालैमात्र, असार २५ गते, काभ्रेको पाँचखालका अजित मिजार सार्कीले कल्पना पराजुलीसँग बिहे गरे । असार दुईदिन पछि उनीहरूलाई पुलिसमा ल्याएर उमेर मिलेन भनी केटा–केटीलाई आआफ्ना अभिभावकको जिम्मा लगाए । त्यसको फेरि दुई दिनपछि, २९ गते, अपहरण गरेर केटाको हत्या भयो । यो घटनाका दोषी उपर केटापक्षका सरोकारवालाले किटानी जाहेरी धादिङ प्रहरी कार्यालयमा दिँदा पनि कानुनतः जाहेरी दर्ता नगरी प्रहरीले अड्काइरहेको छ । ठूलो प्रतिरोधपूर्ण लडाइँ दलित आन्दोलकारीले गरेका भए पनि अभियुक्तको नाममा पक्राउ पूर्जी समेत जारी भएको छैन ।
यो हत्याकाण्डका दोषीलाई कानुनको दायरामा नल्याएर राज्यले दण्डहीनताको सँस्कृति जीवित राख्न चाहिराखेको हो कि भनेर शङ्का गर्ने ठाउँ दिएको छ । हामीले थाह पायौँ बास्तवमा सत्ता दलितको थिएन त्यसकारण दलितको पक्षमा पुलिस–प्रशासन सहजरूपमा न्याय दिलाउने कुरामा आएन । हो, पुरानो सत्ताका अन्यायपूर्ण व्यवहारहरू बलपूर्वक ध्वस्त नगरी सचेत र न्यायपूर्ण क्रान्तिकारी सत्ता निर्माण हुनै सक्दैन । यो छुवाछूतको भीषण अत्याचारलाई हामी नेपाली क्रान्तिको प्रतिक्रान्ति हो भन्छौँ । नेपाली क्रान्तिको रक्षा, प्रयोग र विकास गर्ने सवालमा छुवाछूतको दासत्व समूल नष्ट गर्न ठोस पहलकदमी आवश्यक छ । दलितहरू छुवाछूतको युगीन दासत्व र अन्यायको घूट पिएर बाँचेको साँचो कुरा हो । दलित त ऐतिहासिक सर्वहारा वर्ग हो । यो त नेपाली वर्गयुद्धको सचेत अग्रगामी, क्रान्तिकारी वर्ग हो र हिजो क्रान्तिमा अहम् भूमिका निर्वाह गरेको थियो । यो आम जनताको मुक्तिको लागि लडाइँको रणभूमिवाट पछि कहिलै हटेन र हट्दैन पनि । दलितले छुवाछुतको दासत्वबाट मुक्त हुन अग्रगामी सङ्घर्षको कार्यदिशा निर्माण गर्दै अघि बढनु जरुरी छ । नेपाली क्रान्तिमा दलित सर्वहारा वर्ग संसार जित्ने र दासत्वको सिक्रिबाट मुक्त हुने क्रान्तिकारी भावबाट अघि बढ्नै पर्छ, अहिलेको वस्तुगत आवश्यकता यही हो । दलित अब रोमको दासयोद्धा स्पार्टाकस जस्तै महान लडाइँबाट अघि बढ्नु जरुरी छ ।
जातीय छुवाछूतको कारणले दलित उत्पीडित वर्ग र उत्पीडक वर्ग तथाकथित उच्चजात र उच्चवर्गबीच अन्तरविरोध मौजुद भइरहँदा समाजमा अन्तरसङ्घर्ष र द्वन्द्व निस्तेज हँुदैन, त्यो चलाएमान भइरहन्छ । दलित मुक्तिको लागि उत्पीडनमा क्रमभङ्गता, विकासमा महान छलाङ, दृढता, साहस र बलिदानको कीर्तिमान कायम गर्दै अब हामी दलितको विजयका लागि तयार हुनै पर्छ । बन्दुकको बलमा टिकेको राज्यसत्ता खतम गर्न बन्दुको बलले दशवर्षे महानजनयुद्धमा काम गरेजस्तै उच्चजातीय हिन्दु अहङ्कारवादमा टिकेको जातीय छुवाछुतको अन्यायपूर्ण सामाजिक सत्ता फाल्न महान साँस्कृतिक क्रान्ति र अन्तरघुलनको सँस्कृतिबाट कार्यक्रम अघि बढाउनु पर्छ क्रान्तिकारी वर्गले । नत्र जातीय भेदभाव तथा छुवाछूतको युगीन दासत्वबाट दलितहरू मुक्त हुनै सक्दैनन् । राज्य एक वर्गहरूको सङ्गठन हो त्यसकारण राज्यले शासितहरूको शोषण गर्छ । राज्यले आफ्नो अधिनमा रहेको सत्ता, सम्पति सस्कृति, ज्ञान, शिक्षा तथा चेतना आफ्नो वर्ग र जातिको रक्षाको लागि संरक्षण गर्छ । सत्ताले सबैको हित गर्दैन । आफनो वर्गस्वार्थ अनुरूपको जाति समुदायको हित अनुकूलको काम गर्छ । त्यसकारण सत्ता, सरकार र राज्यको स्रोत साधनमा कुन वर्ग र कुन जातले प्रभुत्व राख्छ, निर्देशन गर्छ भन्ने आधारमा समाज चल्छ । त्यहि स्वरूपमा शासनसत्ता परिचालित भइराख्छ । अहिले दलितका लागि बोलिदिने, न्याय दिने सत्ताका नायकहरू कोही छैनन् । अब दलितले दलितको मुक्तिको साझा विषय बनाएर सबै विचार दर्शनलाई छुवाछूत विरुद्धको सङ्घर्षमा सङ्गठित गरेर दलित राजनीतिक योद्धाहरू जहाँजहाँ छौँ त्यहिँबाट प्रतिरोधपूर्ण सङ्घर्ष नगरी राजनीतिक शक्तिले दलितको आवाज सुन्दैन भन्ने कुरा बुझ्न जरुरी छ । त्यसको लागि सङ्घर्ष उठाउन जरुरी छ ।
हामीले राज्यसत्तामाथिको सहभागिताको प्रश्नलाई सङ्घर्षको केन्द्रीय प्रश्नको रूपमा लिनु पर्छ । दलितको लागि मुख्य सवाल सत्ता हो । राज्यका सबै अङ्गमा न्यायपूर्ण सहभागिता र नीति निर्माण गर्ने ठाउमा पहुँचबाहेक अरू कुरा भ्रम हो । यही विचारबाट दलित आन्दोलनको पहल हुनु अनिवार्य छ । अब यसको लागि छुवाछूतलाई आन्दोलनको प्रस्थानबिन्दु मान्नु पर्छ र यही आधारमा दलितमुक्तिको एकीकृत सङ्घर्ष चलाउनु अनिवार्य छ ।~हिमालय टाइम्स बाट
No comments:
Post a Comment