Friday, March 31, 2017

दलितलाई नै सुविधा हुने गरी कानुन बनाउन सुझाव

विभेद बिरुद्ध अभियान - १८ चैत्र , काठमाडौँ – दलित मुक्ति आन्दोलनका अगुवाले कार्यान्वयन गर्ने निकायलाई होइन, दलितलाई सुविधा हुने गरी कानुन बनाउन सुझाव दिएका छन्। नेपाल कानुन समाजले विहीबार ललितपुरमा आयोजना गरेको छलफल कार्यक्रममा दलित हकलाई कार्यान्वयन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफलमा भाग लिँदै उनीहरुले दलित समुदायलाई हकअधिकार प्रदान गर्ने कानुन बनाउँदा ‘देखाउने खसी खुवाउने फर्सी, त्यो पनि आज र भोलि होइन पर्सि’ भन्ने ढङ्गबाट नहोस् भनी आग्रह गरे । दलित समुदायलाई राज्यका तर्फबाट प्रदान गरिने सेवा, सुविधा र छुटको व्यवस्था परिचयपत्रको आधारमा हुने व्यवस्था गर्न तथा दलित समुदायले परम्परागतरुपमा गर्दै आएको पेसा व्यवसाय सञ्चालन गर्न चाहेमा कर छुट र सहुलियत प्रदान गर्ने प्रावधान ऐनमै किटान गर्न माग गरेका थिए। 

हलिया र कमैयामुक्ति भएको घोषणा गरिए पनि अधिकांश दलित समुदाय साहुको खेती किसानीमै आश्रित रहेको जनाउँदै उनीहरुले सबै दलित समुदायमा अधिकार प्राप्तिको सुनिश्चितता गरिनुपर्ने खाँचो औँल्याए । 

सहुलियत र छुट भने आवश्यकताको सिद्धान्तका आधारमा वितरण हुनुपर्ने अगुवाहरुको धारणा थियो । दलित समुदायमा स्वास्थ्य, शिक्षा र रोजगार सबैभन्दा ठूलो समस्याका रुपमा रहँदैआएको छ भने सांस्कृतिक रुपमा जातीय छुवाछूतले विभेदमा पारेको छ । राज्यका सबै निकायमा समावेशी सिद्धान्त लागू नभएसम्म दलित समुदाय दलितकै रुपमा रहिरहने बताउँदै उनीहरुले कानुनमा सक्नेछ, गर्ने छ, भनेर राखिएका प्रावधानले आफूहरुको समस्यालाई समाधान गर्न मद्दत नपुग्ने भएकाले कार्यान्वयनमै जानुपर्नेमा जोड दिए । 

भूकम्पबाट पनि सबैभन्दा बढी दलित समुदाय नै मारमा परेको उनीहरुको भनाइ थियो । 

सो अवसरमा मधेसमा रहेको दलित समुदायका तर्फबाट शम्भु हजारा, रामचन्द्र रामलगायतले मधेसको नाममा धेरै विदेशीले नागरिककताको प्रमाणपत्र प्राप्त गरे पनि तराईमा रहेका खास भूमिहीन दलित समुदायले नागरिकता समेत प्राप्त गर्न नसकेको गुनासो गरे । 

नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले कानुन समाजले दलित समुदाय, सरकारी अधिकारी समेतको सहभागितामा तयार गरेको विधेयकमाथि विहीबारदेखि छलफल प्रारम्भ भएको हो । 
दलित समुदायको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सशक्तीकरण तथा भूमिहीन दलितलाई जमिन, आवासविहीनलाई आवास तथा उनीहरुको परम्परागत पेसा र सीपको जगेर्ना गर्न ऐन ल्याउन लागिएको हो । 
दलितका लागि उपलब्ध गराइने सेवा सुविधा प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिव सदस्य रहेको एक समन्वय समिति गठन हुने व्यवस्था विधेयकले गरेको छ । 

सभासद्द्वय मीन विश्वकर्मा र ज्ञानुदेवी गैरे, शिवकुमारी गोतामे, उदय नेपाली श्रेष्ठ, तिलक परियार, लक्ष्मी परियार, ऋण असुली न्यायाधीकरणका अध्यक्ष मानहादुर अर्याल, दलित अधिकारकर्मी धर्मिता मिजार र नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विधेयकका विभिन्न पक्षमाथि चर्चा गरेका थिए ।

Thursday, March 30, 2017

आगोले जलेकी स्मिता नेपालीको उपचारमा समस्या

विभेद बिरुद्ध अभियान - १७ चैत ,फलेवास । घरकै चुल्होमा सल्किएको आगोमा परेर गम्भीर घाइते भएकी यहाँकी एक बालिकाको उपचारमा आर्थिक समस्या परेको छ ।विपन्न परिवारकी बालिका घाइते भएपछि उपचारका लागि आर्थिक समस्या भएकाले सहयोग माग्दै सदरमुकाम कुश्माबजार आइपुगेका बालिकाका बाजे काजीमान नेपालीले गुनासो गरे । उनले भने, “घरजग्गाको नाममा घरबाहेक अरु केही छैन, अन्य कुनै आर्थिक स्रोतसमेत नभएकाले निकै समस्या परेको छ ।”

अहिलेसम्म रु दुई लाखभन्दा बढी रकम खर्च भइसकेको र अझै त्यति नै रकम आवश्यक पर्ने भएकाले सहयोगको खोजीमा भौँतारिएको उनले बताए । छोरा, बुहारी घाइते बालिकाको उपचारका लागि राजधानीमा गएपछि आफू सहयोगको खोजीमा हिँड्नु परेको काजीमानले गुनासो गरे । घाइते बालिकाका बाबु लालकाजी र आमा कल्पना गाउँमै मजदुरी पेसा गरेर गुजारा चलाउँदै आएका थिए ।

शरीरको पूरै भाग जलेका कारण पोखरामा समेत उपचार सम्भव नभएपछि राजधानी लगिएको थियो । गुप्ताङ्ग लगायत भागको घाउ निको हुँदै गएको र अन्य स्थानमा प्लास्टिक सर्जरी गर्नुपर्ने तथा केही भागको शल्यक्रिया अझै बाँकी रहेको परिवारले जानकारी दिएका छन् ।लालकाजीका दुई छोरी र एक छोरा रहेका छन् । अहिलेसम्म रु दुई लाख खोजेर राजधानीमा पठाएँ अझै त्यति रकम आवश्यक पर्ने भएकाले कहाँबाट सङ्कलन गर्ने हो भन्ने पिरलो परेको बाजे काजीमानले गुनासो गरे ।

स्थानीय नेकपा (एमाले) का नेता भक्त कुँवरले विपन्न परिवारकी बालिकाको उपचारका लागि आर्थिक समस्या बल्झिएको र सहयोग गर्न सबैसँग अपिल गरिएको जानकारी दिए ।

Wednesday, March 29, 2017

मानव अधिकारकर्मी स्व. दयाराम परियारको नाममा छुट्टै वेभसाइट सार्वजनिक

विभेद बिरुद्ध अभियान - चैत १६ गते । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारकर्मी स्व. दयाराम परियारको नाममा छुट्टै वेभसाइट सार्वजनिक गरेको छ । स्व. परियारको ११ औँ स्मृति दिवसका अवसरमा आयोगको परिसरमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले स्व. परियारको नाममा तयार गरिएको छ्ुट्टै वेभसाइट सार्वजनिक गर्नुभएको हो ।  
स्व.परियार आयोगका तत्कालीन जनकपुर सम्पर्क कार्यालयमा कार्यरत कर्मचारी हुुनुहुथ्यो । सुरक्षाकर्मीको गोली लागी ११ वर्ष अघि परियारको मृत्यु भएको थियो । 
स्मृति दिवसका अवसरमा स्व. दयाराम परियारका दाजु प्रकाशचन्द्र परियारले दयाराम स्मृति मानव अधिकार लेखन वृत्ति र वृत्त चित्रको निर्माण लगायतका कार्यहरु गर्नुपर्ने सुझाव दिनुभएको थियो । 
कार्यक्रममा यस वर्षको ‘दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ बाट दलित तथा भूमिहीन अधिकारको क्षेत्रमा क्रियाशील सिरहाका वलदेव राम र महिला, बालबालिका तथा असहाय अधिकारको क्षेत्रमा क्रियाशील उदयपुरकी नजबुल खानलाई दिने घोषणा गरियो । उक्त सम्मान आउँदो जेठ १३ गते आयोगको स्थापना दिवसका अवसरमा प्रदान गरिने पनि बताइएको छ ।

वालिङ खहरेमा रहेको दलित बस्तीका महिलालाई बाख्रा उपहार

विभेद बिरुद्ध अभियान - १६ चैत्र, स्याङ्जा । जिल्ला पशुसेवा कार्यालय स्याङ्जाले दलित समुदायका महिलाहरुलाई आर्यआर्जनका लागि बाख्रा वितरण गरेको छ । जनजाती तथा दलित आर्यआर्जन कार्यक्रम अन्तरगर्त नगद सहित बाख्रा वितरण गरेको हो । वालिङ नगरपालिका वडा नं. १ खहरेमा रहेको दलित बस्तीका महिलाहरुलाई एक कार्यक्रमका विच बाख्रा उपलव्ध गराएको छ । दुई ओटा बाख्रा खरिदका लागि १४ हजार र खोर बनाउनका लागि ६ हजार गरी २० हजारका दरले १० जना दलित महिलाहरुलाई २ लाख रकम हस्तान्तरण गरिएको छ । 

दलित भएकै कारण पछाडी परेको समुदायलाई आर्यआर्जन मार्फत अगाडी ल्याउन सरकारले हरेक बस्तीमा समुहगत यस्ता कार्यक्रम गर्दै आएको छ । उन्नत जातका बाख्रा दिएर हामीलाई रोजगारी पाएको महशुष गरेको साहार बाख्रा पालन समुहकी अध्यक्ष सीता विकले बताईन् । जग्गा जमिन नभएको र बस्ने बास मात्रै भएकोले दैनिक ज्यालादारी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका थियौ समुहकी अध्यक्ष वि.क.ले भनिन्,“ हामीलाई आर्यआर्जनका लागि बाख्रा पाएपछि रोजगारी पाएको महशुष भएको छ ।” बाख्रा पालनलाई हाम्रो समुह जिल्लाकै नमुना हुने छ उनले भनिन् ।

स्याङ्जा जिल्लालाई बाख्रामा आत्मनिर्भर बनाउने अभियान नै पछिल्लो समय चलेको छ । नमुना बाख्रा गाँउ अभियान मार्फत अहिले स्याङ्जामा बाख्रापालनलाई अगाडी बढाइएको छ । सरकारले आर्यआर्जनका लागि बाख्रा दिएको छ समाजसेवी केदार काफ्लेले बाख्रा बितरण गर्दै भने,“यसको स्याहार सुसार राम्रो गरेमा महिलाहरुको आर्थिक बृद्धि हुनेछ ।” सरकारको लगानीलाई सदुपयोग गर्न काफ्लेले समुहका महिलाहरुलाई आग्रह गरे । पहिलो पटक १० जनालाई वितरण गरिएपनि अर्कोपटक फेरी १० जना महिलाले बाख्रा पाउने भएकाले बाख्रालाई पालन पोषणमा ध्यान दिन काफ्लेको आग्रह थियो ।

कुनै बेला स्याङ्जामा मासुका लागि बाख्रा तराई र मुस्ताङ्बाट ल्याउनु पर्ने अवस्था रहेको थियो । पछिल्लोपटक बाख्रा वितरण अभियानले स्याङ्जा बाख्राबाट आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । बाहिरबाट आयत भन्दापनि स्याङ्जाबाट बाख्रा निर्यात हुने क्रम बढेको जिल्ला पशुसेवा कार्यालय स्याङ्जाका प्राविधिक डोलराज गैह्रे भने,“दलित, जनजाती, एकल महिला,अति विपन्न महिलाहरुलाई बाख्रा पालन अभियान मार्फत आयस्तरमा टेवा पुगेको छ ।” जसले गर्दा महिलाहरुको आर्थिक बृद्धिदरमा बढेको पनि छ र बाख्रामा आत्मनिर्भर पनि बनेको उनले भने । पशु सेवा कार्यालयले वितरणगरेकापशुपंक्षीको विमा देखि उपचार खर्च समेतनिशुल्क गर्दै आएको छ । 

जसले गर्दा किसानलाई केही सजिलो भएको छ । जिल्ला पशु सेवा कार्यालयले आर्थिक रुपमा कमजोर रहेको बस्तीलाई अनुगमन गरेर आर्यआर्जनका लागि बंगृुर, भैसी, गाई, कुखुरा लगायत वितरण गर्दै आएको छ । वितरण गरेका पशुपंक्षीले आर्थिक रुपमा कमजोर रहेका बस्ती र समुहले कस्तो पारर्दशिता अपनाएका छन् भन्ने तथ्याङ्क भने बाहिर आएको छैन । यस तर्फ पनि बेला बेलामा अनुगमन गर्न सकियो भने सरकारले गरेको लगानीको सदुपयोग हुने सक्ने थियो । 

Tuesday, March 28, 2017

दलितले छोएको खाँदा हाम्रो जात गयो भन्नेलाई कुरीकुरी भएको त् छैन ?

विभेद बिरुद्ध अभियान, चैत्र १५ –जातीय भेदभाव र छुवाछुत रहित समता मूलक समाज निर्माणमा प्रतिवद्ध रहौं भन्दै बर्षौ अघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले "क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन.... मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।" भन्दै मुनामदनको सृजना गरे । तर मुनामदनको भाका हाली हाली गाउने यो समाज जातीय भेदभाव र छुवाछुतको बिषयमा भने दिमाग भरि संक्रीणताको लेउ बोकेर हिडी रहयो ।

२१ औं शताब्दीको युगमा पनि हाम्रो समाजले मुसहरहरुले छोएको पानी खाँदैन । हामी पनि त्यही समाजका मान्छे हौं । ७७ दिन देखि निरन्तर उनीहरुसंगै खाना खाइरहेका छौं । न हामी सानो नै भयौं । न हाम्रो जातै गयो । भन्दै ठुलो र सानो भन्ने संक्रीणताको लेउ खुर्केर ब्यबहारिक रुपमा समतामूलक समाज निर्माणमा प्रतिवद्ध भएको यसरि उदाहरण धुर्मुसले दिदैछन .....धुर्मुसको यो सत्य कुराले दलितले छोएको खाँदा हाम्रो जात गयो , इज्जत गयो भन्नेहरु लाई कुरीकुरी भएको त छैन ?

नेपाली दलित आन्दोलनको आगामी दिशा - उपेन्द्र विक

विभेद बिरुद्ध अभियान, १५ चैत, काठमाडौं ।नेपालमा दलितहरूको जनसंख्या दलित आन्दोलनले स्वामित्व ग्रहण गर्ने गरी आउन सकेको छैन । त्यसो हुनुमा पहिलो, सरकारी प्रतिवेदनमा कुल जनसंख्याको ५.६ प्रतिशत रहेको नेवार जातिभित्रका दलितलाई दलितका रूपमा गन्ती नै गरिएको छैन । दोस्रो, तराईका मधेसका कैयौं दलितभित्र पर्ने जातलाई दलितको संख्याभित्र राखिएको छैन । तेस्रो, दलित समुदायलाई पहिलेदेखि उनीहरूको थरगोत्र लेख्न नदिई ‘जात’ लेख्न बाध्य पारिएकाले अधिकांश माथिल्लो जातका गणकलाई दलितको थरगोत्रै थाहा भएन र छैन । चौथो, जनगणना लिँदा दलित बस्तीको असुविधा र छुवाछुत तथा दलितप्रतिको उपेक्षा भावका कारण कथित माथिल्लो जातका गणकहरू दलित बस्तीमा प्रवेशै नगर्ने वा माथिल्लो जातका व्यक्तिहरूसँग सूचना लिएर गणना फाराम भर्ने काम भयो । जसका कारण दलित तथ्यांक मिथ्यांक हो भन्दा अत्युक्ति हुँदैन । राजनीतिक तथ्यांकमा दलित हेर्दा ०४६ सालको परिवर्तनपछि ०४८ सालको आमनिर्वाचनमा एकपल्ट एकजना दलित मात्र प्रतिनिधि सभामा निर्वाचित भए । त्यसबाहेक राजा र विभिन्न पार्टीबाट राष्ट्रिय सभामा आठजना दलित सांसद बनाइए । पञ्चायतले एकजना दलितलाई राज्यमन्त्रीसम्म बनाएको थियो । भने संसदीय व्यवस्थाको एक दर्जन वर्षमा पनि कुनै पनि दलित मन्त्रीस्तरमा पुग्न सकेनन् । 

अहिलेसम्म तोकिएको २ सय ५ वटा निर्वाचन क्षेत्रमध्ये १५ वटामा दलितको बहुमत रहेको छ, तर, उनीहरू निर्वाचित हुन सक्ने सामाजिक स्थिति र राजनीतिक प्रणाली नै खडा हुन सकेको छैन । शिक्षाको क्षेत्रमा हेर्दा नेपालमा दलितको साक्षरता सरदर १०.७ प्रतिशत छ । त्यसभित्र पनि दलित महिलाको साक्षरता सरदर ३.२ छ, यद्यपि सम्पूर्ण नेपालीको साक्षरता सरदर ४८ रहेको छ । एसएलसीमा सहभागिता १.५, प्रमाणपत्र तहसम्म १ र स्नातक तहमा ०.६ प्रतिशत छ । यस तथ्यांकमा पनि पहाड र बाग्मती उपत्यकाको तथ्यांकको बढी भाग छ । तराईका दलितको मात्र स्थिति हेर्ने हो भने स्थिति अत्यन्त खराब देखिन्छ । आम नेपालीको सरदर आयुको तुलनामा दलितको आयु पाँच वर्ष कम छ । मातृ मृत्युदर, शिशु मृत्युदर, कुपोषण र खाद्य असुरक्षाजस्ता महŒवपूर्ण क्षेत्रमा अन्य जातिको तुलनामा दलितको स्थिति अत्यन्तै गम्भीर रहेको छ । राज्यका प्रमुख अंगमा दलितको सहभागिता नगण्य छ । सेना र प्रहरीभित्र जातीय भेदभाव र छुवाछुत अहिले पनि कायम छ । नेपालको रक्षा मन्त्रालयका अनुसार सेनामा १ प्रतिशत अर्थात् करिब ५ सय जनाजति दलित छन् । उनीहरूलाई त्यहाँ परम्परागत पेसामा सीमित राखिन्छ । उनीहरूलाई सशस्त्र गणमा भर्ना नै गरिँदैन । सेनामा कोही पनि दलित युद्ध कार्य गर्ने विभागमा अधिकृत छैनन् । न्यायपालिकाको क्षेत्रमा लेखन्दास र केही अधिवक्ताबाहेक न्यायाधीशस्तरमा एकजना दलित भर्खर पुगेका छन् । पत्रकारिताको क्षेत्रमा केही रिपोर्टर, त्यति नै संख्यामा स्तम्भ लेखक र दलितसम्बन्धी एकाध पत्रिकाका सम्पादक छन् (पराजुली र गौतम २०५८) । विश्वविद्यालयका अध्यापकमा १२ जनाको हाराहारीमा दलितहरू पुगेका छन् । उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सजस्ता संस्थामा दलितहरू नपुग्नु भनेको केवल प्रतिनिधित्वको न्यूनता मात्र नभई त्यसस्तरका उद्योग व्यवसायमा दलितहरू पुग्न नसकेको तीतो यर्थाथतासमेत हो । प्रशासन क्षेत्रमा एकजना सहसचिव र केही शाखा अधिकृत छन् । अहिलेसम्म केही डाक्टर र केही इन्जिनियर उत्पादन भएका छन् । 

नेपाली कलाक्षेत्र मात्रै एउटा क्षेत्र छ, जहाँ दलितको उपस्थिति सामान्यतया ठीकै छ, त्यो क्षेत्र हो– गायन र संगीत । रेडियोमा गायन र संगीतमा मूलतः कामी, दमाई र नेवार दलितको ठीकठीकै उपस्थिति छ । यसो हुनुमा पहिलो, राणाकालमा दरबारमा गीत गाउने थुप्रै नेवार दलित थिए र सरकारी ब्यान्डमा कार्यरत थिए । त्यतिबेला अरू ‘उच्च जात’काले गाउने–नाच्ने पेसालाई हेलाका दृष्टिले हेर्दथे । त्यसैले, सेना र प्रहरीमा ब्यान्ड स्थापना गर्न परम्परागत रूपमै बजाउने पेसाका दलितलाई समावेश नगरी काम चल्दैनथ्यो । दोस्रो, आर्य–खस समुदायका दलित संगीतकार र गायकहरू मूलतः भारतको दार्जिलिङ क्षेत्रबाट भित्रिएका हुन् । फिल्म क्षेत्रमा एकाध दलित निर्देशक छन् । रोचक त के छ भने दार्जिलिङतिरबाट भित्रिएका दलित फिल्म निर्देशक तुलसी घिमिरे, गायिकाहरू कुन्ती मोक्तान, देविका प्रधान, संगीतकारहरू रञ्जित गजमेर, सचिन सिंहजस्ता प्रतिभाले ‘जात’ नलेखी थर लेखेकाले धेरैलाई उनीहरू दलित हुन् भन्ने पनि थाहा छैन । नेपालमा दलित प्रतिनीधित्वको कुरा गर्दा ००७ सालदेखि ०५७ सालबीचको ५० वर्षको अवधिमा दलित समुदायको एकजना व्यक्ति क्याबिनेट स्तरको मन्त्री भएन, कुनै अदालतको न्यायाधीश भएन, राष्ट्रिय योजना आयोगको सदस्य भएन, कुनै मुलुकको राजदूत भएन । योभन्दा बहिष्करणको पाराकाष्ठा संसारका कुनै समुदायमाथि भएको पाइँदैन ।

नेपाली समाज पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरिसकेको निष्कर्षका साथ नेकपा (एमाले) को नवौं महाधिवेशनले सामन्तवादका अवेशषहरूको समूल अन्त्य गर्ने निष्कर्ष निकालेको छ । यस सन्दर्भमा सामन्तवादका अवेशषहरूको अवस्था विश्लेषण गर्न जरुरी छ । दलित समुदायको स्थितिबारे बुझ्न उत्पादन सम्बन्धमा दलितको स्थान कहाँनेर छ भन्ने तथ्यलाई खोतल्नु आवश्यक हुन्छ । त्यस प्रयत्नले मात्रै दलितहरू सामन्ती र सामन्ती उत्पादन संरचनामा कसरी पिँधमा ङ्याँकिएका छन् भन्ने कुरा देखा पर्दछ । यस कोणबाट हेर्दा दलित समुदायको आर्थिक क्षेत्रको केन्द्रीय छुवाछुत र भेदभावका कारण इच्छा र आवश्यकताअनुसार व्यवसाय अँगाल्न नपाइने सामन्ती सांस्कृतिक बन्देज लगाइएको छ । उत्पादनका साधन–स्रोतमा जातीय प्रभुत्वसम्बन्धी तथ्यांक सन्तोष मान्न सकिने स्तरमा उपलब्ध हुन सकेको छैन, तर पनि उपलब्ध तथ्यांकका आधारमा नेपाली दलित कसरी सामन्ती उत्पादन सम्बन्धको चंगुलमा फसेका छन् भन्ने कुरा प्रस्टसँग देख्न सकिन्छ ।

अहिले पनि ७१ प्रतिशत जनता कृषि क्षेत्रमा निर्भर रहेको नेपालमा ७० प्रतिशत कृषक परिवारको हातमा केवल ३० प्रतिशत मात्रै खेतीयोग्य जमिन छ । जमिनको वितरणमा यस्तो असमान सामन्ती सम्बन्ध रहेको संरचनामा दलितको स्थानचाहिँ कस्तो छ त ? कुल जनसंख्याको १३ प्रतिशतको संख्यामा रहेका दलितसँग केवल १ प्रतिशत खेतीयोग्य जमिन छ । नेपालमा करिब २५ लाख भूमिहीन किसान (नेकपा एकता केन्द्र ०५४ ः ३९) मध्ये १० देखि १५ लाख त दलित मात्रै छन् । त्यसमा पनि तराईका ९५ प्रतिशत दलितसँग खेती गर्न जमिनै छैन (शर्मा ०५७ ः १०९) । पहाडका १६ प्रतिशत दलित शुद्ध भूमिहीन, ५० प्रतिशतसँग ६ रोपनीभन्दा कम जमिन र ३४ प्रतिशतसँग ६ रोपनीभन्दा बढी जमिन (शर्मा ०५७ ः १०९) देखिन्छ । पहाडमा एउटा परिवारले जसोतसो प्राण जोगाउन पनि न्यूनतम पाखोबारी २० रोपनीभन्दा कमले नपुग्ने स्थिति हेर्दा गरिब किसान अर्थात् आफ्नो जमिनबाट जीवन धान्न नसक्ने दलितको संख्या ९० प्रतिशतभन्दा बढी हुन पुग्छ । यस स्थितिलाई गरिबी र प्रतिव्यक्ति आयको तथ्यांकसँग दाँज्दा अझ स्थिति छर्लङ्ग हुन्छ । नेपालका कुल जनतामध्ये ६६ प्रतिशत गरिबीको रेखामुनि छन् भने दलितहरू ९० प्रतिशत गरिबीको रेखामुनि छन् । त्यसैगरी नेपालीहरूको प्रतिव्यक्ति आय २ सय १० अमेरिकी डलर छ भने दलितको प्रतिव्यक्ति आय केवल ३९.०६ अमेरिकी डलर छ ।
यस तथ्यांकको ऐनामा पनि असमानताको स्थितिले दलितहरूको पीडादायी जीवनलाई प्रतिविम्बित गर्दछ, तर वास्तविक जीवनमा स्थिति योभन्दा चर्को छ । बाँच्न खेतीयोग्य जमिन नहुनाले, अन्य क्षेत्रमा रोजगारको अभाव हुनाले दलितहरू मूलतः कृषि क्षेत्रमा मोही किसान र कृषि श्रमिकका रूपमा रहेका छन् । उनीहरू पहाडमा खेताला, हली, गोठाला र तराईमा जन (खेताला), हरवा, चरवाका रूपमा क्रियाशील छन् ।

 त्यसैगरी, दलितहरूको करिब ४० प्रतिशत संख्या परम्परागत जातीय सीपमूलक पेसामा संलग्न छन् (शर्मा ०५७) । तर, कृषि र सीपमूलक व्यवसाय दुवैमा उनीहरू सामन्ती शोषणमा परेका छन् । कतिपयको तर्क छ, सामन्तको जग्गा छाड्न स्वतन्त्र रहेका ज्याला प्रणालीमा प्रवेश गरिसकेकाले मोहीहरू पुँजीवादी श्रम–सम्बन्धअन्तर्गतका स्वतन्त्र मोही हुन् । तर पनि नेपाली दलितका सन्दर्भमा त्यस्तो तर्क पुरै सही साबित हुन नसक्ने प्रस्ट छ । किनभने, एक त दलित मोही सांस्कृतिक रूपमा समेत बन्धनमा छन् । दुई, उनीहरू श्रम क्षेत्र छनोट गर्न स्वतन्त्र छैनन्, किनभने छुवाछुत र भेदभावमय सांस्कृतिक सम्बन्धले उनीहरूलाई स्वतन्त्र बजारमा जान बाधा दिन्छ । तीन, शुद्ध कृषि श्रमिक पनि स्वतन्त्र बन्न पाएका छैनन् । परम्परागत सीपमूलक र सेवामूलक काममा रहेका दलित पनि ‘बालीघर’ जस्तो सामन्ती प्रथाअन्तर्गत शोषित हुन बाध्य छन् । अहिले पनि बालीघर प्रथा नेपालका अधिकांश भागमा विभिन्न नाममा प्रचलित छ ।

यसप्रकार नेपाली दलित सामन्ती उत्पादन सम्बन्धको माखेसाङ्लोमा पिल्सिइरहेका छन् । राजधानी र प्रमुख सहरमा रहेका दलितसमेत सामन्ती शोषणमा रहेका छन् । राजधानीलगायतका अधिकांश नगरपालिका र अस्पतालमा अहिले पनि दलित नै सरसफाइसम्बन्धी काममा रहेका छन् । उनीहरू ज्यालामा श्रम गर्ने भएकाले शुद्ध मजदुरजस्तो लाग्छ, तर, त्यस कामका लागि अन्य जातिलाई अझै भर्ती गरिन्न । दलितहरू सहर–बजारमै पनि चाहेको पेसामा जान सक्तैनन् । त्यसैले, सहर–बजारका दलितसमेत सामन्ती सम्बन्धमा बाँचिरहेका छन् ।
देशभित्रको दस्तकारी र कृषि क्षेत्रबाट जीवन धान्न नसक्ने स्थितिका कारण पश्चिम नेपाल र तराईबाट ऋतुकालीन वा लामो समयका लागि भारतमा श्रम गर्न जाने दलितको स्थिति पनि गुणात्मक रूपमा फेरिन सकेको छैन । एक त उनीहरूले भारतमा पनि सबैभन्दा तल्लो दर्जाको काम पाउँछन्, अर्को कुरा परिवारको एकाध सदस्य न्यून आयका निम्ति प्रवासिँदा सिंगै परिवारको सामाजिक–आर्थिक हैसियत फेरिने स्थिति बन्न सत्तैmन । यसरी सामन्ती उत्पादन सम्बन्धभित्र पिल्सिएका दलितको मुक्तिको प्रश्न सीधै देशको सामन्ती उत्पादन सम्बन्धको परिवर्तनसँग जोडिन पुग्दछ । आर्थिक आधार वा जमिनमा दलितको स्वामित्व कायम नभएसम्म, सीप प्रवद्र्धन र वैकल्पिक रोजगारको व्यवस्था नभएसम्म, पेसा फेर्न सक्ने सांस्कृतिक वातावरण नबनेसम्म दलितको जीवनमा आधारभूत परिवर्तन हुन नसक्ने प्रस्टै छ । तर, दलितको उत्थानको कुरा गर्ने विभिन्न प्रवृत्तिले यस पक्षलाई बेवास्ता गरेका उदाहरण प्रशस्तै छ । आर्य–खस, नेवार र मधेसी समुदायभित्रका स्वयं दलितभित्र पनि छुवाछुत र जातपात चर्को छ । दलितभित्रका एकाधबाहेक कुनै पनि एक जातकाले अर्को जातकासँग विवाह गर्दैन । उनीहरूभित्रै त्यो जातभन्दा यो जात ठूलो भन्ने वर्णवाद कहालीलाग्दो स्तरमा विद्यमान छ । सम्पत्तिहीनता, परिष्कृत ज्ञानको न्यूनता, सामाजिक प्रतिष्ठाहीनताको युगौंयुगको प्रशिक्षण र अभ्यासले गर्दा स्वाभाविक रूपमा दलितहरू थुप्रै विकारजन्य रीतिथिति र बानीबेहोराका सिकार भएका छन् ।

नेपाली जनताको सात दशक लामो संघर्षको प्रतिफल तथा यसबीचमा भएका आर्थिक÷सामाजिक सन्निकट चेतनाको संयोजनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकताको झ्यालबाट भविष्यमा सुन्दर, शान्त र प्रगतिशील नवनेपालको दलितमैत्री तस्बिर सहजै देख्न सकिने राजनीतिक अवस्थामा हामी आइपुगेका छौं । यो अवस्थामा हामी स्वतः आइपुगेको कदापि होइनौं । यसबीचमा निरन्तर दलित, जनजाति, महिला, मधेसी, भूमिलगायतका मुक्ति आन्दोलनहरू तथा सचेतनामूलक अभियानहरूको दबाबका कारण नेपाली राजनीतिक व्यवस्था, आर्थिक व्यवस्था र सामाजिक÷सांस्कृतिक व्यवस्थाका क्षेत्रमा अतुलनीय परिवर्तनहरू भएका छन् । यस अवधिमा तीनवटा ठूला राजनीतिक परिवर्तन भए, जसमा ००७ सालको संघर्षले राणा शासनको त समाप्त ग¥यो तर त्यसको सामाजिक÷आर्थिक आधारका रूपमा रहेको सामन्ती संरचना बदल्न सकेन । ३० वर्षको पञ्चायतकालभरि दलितको आर्थिक दरिद्रता र अपमानजनक सामाजिक परिस्थिति कायमै रह्यो । दोस्रो ठूलो परिवर्तन २०४६ सालको जनआन्दोलनले निरंकुश राजतन्त्रात्मक पञ्चायती प्रणालीलाई अन्त्य गरी संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रणालीको स्थापना ग¥यो । तर, राजनीतिक स्वतन्त्रतालाई मात्र ठूलो ठानेर पुरानै सामाजिक आर्थिक नीति कायम राखेर पुरानै संरचनामाथि निर्भर रहेर नयाँ समाज निर्माण गर्न सम्भव थिएन भएन पनि । तेस्रो ठूलो ऐतिहासिक जनक्रान्ति ०६२÷६३ को परिवर्तनले नेपाली जनताको करिब सात दशक लामो सम्झौताहीन संघर्षपश्चात् दोस्रो संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । यसले ००७ देखिका सबैखाले आन्दोलनहरूका उपलब्धिहरूलाई संवैधानिक रूपमा संस्थागत गर्ने युगीन काम ग¥यो भने दलित मुद्दा नेपाली राजनीतिको एक स्वायत्त आन्दोलन तथा संवोधन गर्नैपर्ने अनिवार्य केन्द्रीय विषय बन्यो । देशव्यापी रूपमा दलितहरू संगठित भए । राजनीतिक प्रक्रियाबाट हजारौं राजनीतिक नेता तथा कार्यकर्ता उत्पादन भए । गैरदलितहरूको ठूलो हिस्सा दलित मुद्दामा आफैं लड्ने भयो । राज्यले सम्बोधन गर्नैपर्ने सामाजिक समूहका रूपमा स्थापित भयो । दलित मुद्दा संविधानमै पहिचानका साथ स्थापित भयो र दक्षिण एसियाको राजनीति वैचारिक हिसाबले उत्कृष्ट आन्दोलन बन्न पुग्यो । अब दलित मुक्ति आन्दोलनको गम्भीर समीक्षा गरेर यसका उपलब्धिहरूको रक्षा गर्ने र कमजोरीबाट शिक्षा लिँदै बाँकी उपलब्धिका लागि निरन्तर संघर्ष गर्ने रणनीति लिनुपर्दछ ।

हाम्रो आन्दोलनमा दलित समस्यालाई बुझ्ने र बदल्ने सन्दर्भमा वर्गीय दृष्टिकोणको अभाव रहँदै आएको छ । यसलाई जातीय छुवाछुतमा मात्र बुझ्ने शास्त्रीय जडता रहदै आएको हुनाले दलित आन्दोलन मन्दिर प्रवेश र होटल प्रवेशको गोलचक्करमा करिब ६ दशक फनफनी घुमिरह्यो । मन्दिर प्रवेशमा उत्साहित रहरलाग्दो भीडलाई राजनीतिक राजमार्ग हुँदै सिंहदरबार प्रवेशमा प्रोत्साहित गर्न दशकौं लाग्यो । राजनीतिक विज्ञानको आँखाले हेर्दा दलित समस्या मूलतः तीन किसिमको छ, जसमा राजनीतिक क्षेत्रको समस्या भनेको राज्यको नीति निर्माण गर्ने राजनीतिक दल तथा तिनको सहभागितामा नीति बन्ने संसदीय क्षेत्र र बनेको नीति लागू गर्ने कार्यपालिका र प्रशासनिक थलोमा कानुनी रूपमा दलितहरू पुग्ने राजनीतिक प्रणाली नहुनु हो । आर्थिक क्षेत्रमा दलितहरूको मुख्य समस्या भूमिहीनता, बेरोजगारी र सामन्ती शोषणमूलक कुप्रथाहरूको निरन्तरता हो । सामाजिक÷सांस्कृतिक क्षेत्रमा जातीय छुवाछूत, भेदभाव, दण्डहीनता वा शिक्षाबाट वञ्चित हुनु हो । जसका कारण दलित र अन्य समुदायका बीचमा अन्तरघुलन तथा समावेशीकरण सगरमाथाभन्दा अग्लो बन्न पुगेको छ । दलित समस्याका राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूको एकसाथ सम्बोधन हुने गरी प्रगतिशील आरक्षणको मोडल लागू गरिनुपर्दछ । जब दलितले गर्ने मुफ्त वा निम्न ज्यालायुक्त श्रम हरेक हिसाबले प्रतिबन्धित÷दण्डित हुन्छ अनि मानव श्रमको न्यायोचित मूल्य दिनदिनै पर्ने उत्पादन प्रणाली र राजनीति स्थापित हुन्छ, जब मानवश्रम र श्रमिक वर्ग समाजमा अत्यधिक आदरणीय हुने र काम नगर्ने मानिस र काम गर्ने मानिसलाई ‘अछुत’ ठान्ने मानिसचाहिँ अपहेलित र दण्डित हुने श्रम र श्रमिकप्रधान संस्कृति र राजनीति समाजमा स्थापित हुन्छ, जब जोतिरहेको जमिनमा र उत्पादनका अन्य साधनस्रोत र सम्पत्तिमा, शिक्षा र विकासका तमाम अवसरमा काम गर्ने श्रमिकको न्यायोचित हिस्सेदारी कानुनतः र व्यवहारतः सुनिश्चित हुन्छ र जब शासन गर्ने, कानुन बनाउने र नीति निर्णय गर्ने हरेक ठाउँमा उत्पीडित दलितहरू, तमाम श्रमिकहरू सही अनुपातमा पुग्ने व्यावहारिक स्थिति बन्छ । अनि मात्र दलितहरूको प्रतिस्पर्धी क्षमता निर्माण भई समानतामा आधारित प्रतिस्पर्धाको युगको सुरुवात हुन्छ । प्रगतिशील आरक्षणको आवधिक चरण समाप्त हुन्छ ।

अबको दलित आन्दोलनको मुख्य संघर्ष दलाल पुँजीवादका विरुद्ध र सहायक संघर्ष सामन्तवादका अवशेषहरूविरुद्ध केन्द्रित हुनेछ । हाम्रो आन्दोलन दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध लड्दै जनस्तरमा राष्ट्रिय पुँजींको विकासको राष्ट्रिय अभियानमा एक अभिन्न अंग बन्न सक्नुपर्दछ । अब हाम्रा सामुदायिक वा जातीय मुक्तिका आन्दोलनहरू वर्गीय आन्दोलन अर्थात् वर्ग संघर्षका सबै रूपको सबै स्तरमा अभ्यास गर्दै वैज्ञानिक समाजवादको आवश्यकताद्वारा प्रशिक्षित गर्दै लैजाने आम संघर्षसम्बन्धी नीति निर्माणमा जोड दिनुपर्दछ । अबको दलित आन्दोलन पहिलो दलित समुदायबाट विकसित भएका उच्चस्तरका नेताहरूले राजनीतिक दल र दलित आन्दोलनबीचको सेतुको भूमिका निर्वाह गर्नुपर्दछ, दोस्रो राजनीतिक दलित संगठनहरूले सडकको मोर्चालाई सम्हाल्नुपर्दछ र तेस्रो दलित समुदायका सांसदहरूले सरकार र संसदको मोर्चालाई निर्णायक बनाउनुपर्दछ । यसका साथै दलित नागरिक समाज, कानुन व्यवसायीहरू, सञ्चारकर्मीहरू र दलित कर्मचारीहरूका संगठनहरूसँग साझा मुद्दामा समदूरी तर सक्रिय भूमिकाबाट मात्र दलित आन्दोलन पूर्ण हुनेछ ।

कांग्रेसले भेट्टाएन ६८८० दलित महिला उम्मेदवार ?

विभेद बिरुद्ध अभियान, १५ चैत, काठमाडौं । देशभरका स्थानीय तह अन्तरगत हरेक वडामा एक महिला र एक दलित महिला उम्मेदवार हुनुपर्ने व्यवस्थालाई स्थानीय सरकारमा उनीहरुको पहुँचका दृष्टिले ऐतिहासिक निर्णय मानिएको छ ।स्थानीय तह निर्वाचन ऐनको यो व्यवस्थाले ६ हजार ८८० महिला र ६ हजार ८८० दलित महिला स्थानीय प्रतिनिधि निर्वाचित हुने सुनिश्चित भएको छ भने उम्मेदवारको संख्या यसको कयौं गुणा हुनेछ ।तर, सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा भने ६ हजार ८८० दलित महिला उम्मेदवार भेट्टाउन गाह्रो भएको गुनासो आएको छ ।कांग्रेससम्वद्ध महिला संघ हरेक वडामा दलित महिला उम्मेदवार भेट्टाउन नसक्ने भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।
संघले उक्त व्यवस्था संशोधन गरेर विपन्न तथा अन्य समुदायका महिलालाई उम्मेदवार बनाउने व्यवस्था गर्न माग गरेको छ । संघकी केन्द्रीय अध्यक्ष उमा रिजालले भनिन्, ‘अधिकांश ठाउँमा दलित महिला उम्मेदवार पाउने अवस्था छैन । त्यस्तो अवस्थामा अन्य समुदायको महिलालाई मौका दिनुपर्छ भन्ने हाम्रो माग हो ।’

दलित नेताको जवाफः महिला संघ जस्तो छ, गाउँ पनि त्यस्तै होला भन्ने दृष्टिकोण त्रुटिपूर्णतर, कांग्रेसका दलित केन्द्रीय सदस्यहरु भने यो मान्न तयार छैनन् । केन्द्रीय कार्यसमिति बैठकमा नै यसबारे जवाफ दिएका छन् ।

मानबहादुर विकले महिला संघमा छैन होला तर, गाउँमा छन् भन्ने जवाफ दिए । ‘पहिलेको एउटा गाविस नै अहिले वडा भएको छ । नेपालको बसोबास यस्तो छ कि दलित नभएको टोली नै छैन, गाउँको त कुरै छाड्नुस्,’ उनले भने, ‘चार घर क्षेत्रीबाहुनका घर छ भने दमाई कामी र सार्कीको त्यहाँ घर हुन्छ नै । यतिसम्म कि माओवादीको द्वन्द्वमा बसाई सर्दा पनि सँगसँगै लिएर गएका छन् किनभने यो सहयोगी जात हो ।’उनले अघि भने, ‘वडा न नभेटिनुको अर्थ तपाईहरुले नदेखेको वा नखोजेको हो । महिला संघमा छैन होला तर, गाउँमा छन् ।’

अर्का केन्द्रीय सदस्य मीन विश्वकर्मा वडामा दलित महिला उम्मेदवार अनिवार्य गर्ने व्यवस्था ऐतिहासिक भएको बताउँछन् । ‘यसले आम नेपाली दलित महिलामा उत्साह थपेको छ । अन्तराष्ट्रिय जगतलाई उदाहरण पनि दिएको छ,’ उनले भने, ‘गाउँ, क्षेत्र र जिल्लामा दलित महिला छन् । महिला संघमा दलित महिलाको बाहुल्य कम भएको हुनाले महिला संघ जस्तो छ, गाउँ पनि त्यस्तै होला भन्ने उहाँहरुको दृष्टिकोण त्रुटिपूर्ण छ ।’

Monday, March 27, 2017

बहराइनका लागि प्रस्तावित राजदूत पदम सुन्दासलाई सम्मान

विभेद बिरुद्ध अभियान, १४ चैत ।‘दलित अनलाइन डटकम’ले बहराइनका लागि नेपालका प्रस्तावित राजदूत पदम सुन्दासलाई सोमबार सम्मान गरेको छ । दलित आन्दोलनका अगुवा तथा समता फान्डेसनका अध्यक्ष सुन्दासलाई नेकपा (माओवादी केन्द्र) का नेता रणेन्द्र बराइली, लेखक तारालाल श्रेष्ठ, दलित अधिकारकर्मी भद्रमान मोते र अनलाइनका प्रकाशक/सम्पादक अशोक दर्नाल लगायतले बधाई दिए ।

सो अवसरमा नेकपा (एमाले) का नेता तथा सांसद जितु गौतम र राष्ट्रिय दलित आयोगका निवर्तमान सदस्य सचिव घलेले नेपाल र बहराइनबीचको सम्बन्धलाई अझै सुमधुर बनाउनुपर्नेमा जोड दिए । प्रस्तावित राजदूत सुन्दासले आफू राजदूत रहुन्जेल त्यहाँ रहेका श्रमिकका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको कान्तिपुर दैनिकमा खबर छ  ।



तस्बिर स्रोत :माननीय जितु गौतम एव भद्रमान मोटे ज्युको सामाजिक संजाल बाट

स्थानीय चुनावमा दलितको सवाल : कृष्ण प्रजापति

विभेद बिरुद्ध अभियान, १४ चैत । नेपालमा जातीय प्रथा उन्मूलन भएको ५० वर्ष नै नाघिसकेको छ। तैपनि हरेक क्षेत्रमा दलित पीडित भन्दै दलितको नाममा कोइराला परिवारदेखि पजेरो चढ्ने खालका दलितहरुले नै कोटाबाट फाइदा उठाइरहेको अवस्था जगजाहेर छ। अहिले पनि स्थानीय निकायको चुनावको लागि स्थानीय वडा सदस्यहरुमध्ये एकजना अनिवार्य रुपमा दलितबाट हुनै पर्ने प्रावधान राखिएको छ। मुलुकी ऐन २०१९ ले खारेज गरिसकेको दलित र छुवाछूत प्रथा मानिसको मनमा अझै पनि झाङ्गिएर रहेको छ भन्ने कुरा यो प्रावधानबाट अझ स्पष्ट हुन पुगेको छ। दलित भनेर कसलाई भन्ने ? गरिब, खान नपाएका, कम आर्थिक उपार्जन गर्न वा जन्मजात नै दलित है भनी मानिएका विश्वकर्मा, च्याम्हाखलः, कसाई, खड््गी वा द्योलाहरुलाई ?
नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको पाटनमा भएको नेवाः राष्ट्रिय भेलाले नेवाः जातिभित्र कोही पनि दलित छैनन् भनी पारित गरेको अवस्था छ। अझ भनौं नेवाः देय् दबूको लागि विश्वकर्मा, कुसुले, दमाईं, सार्की, सुनार वा नकर्मीहरु कोही पनि दलित होइनन्। उनीहरुलाई पेसाले मात्रै विभिन्न रुपमा काम विभाजन गरिएको मात्रै हो। कामको आधारमा कोही माथिल्लो र कोही तल्लो तहको भनी भेद्भाव गर्नु ठीक होइन। तर हाल निर्वाचन आयोगले दलित कोटा छुट्याएर जबर्जस्ती दलित कायम नै राख्ने प्रावधान अगाडि सारेको छ। जुन संविधानतः गतल प्रक्रिया हो।
यदि स्वच्छ निर्वाचन भयो भने यहाँ जनताको बढी सेवा गर्ने व्यक्ति चुनावबाट जित्न सन्छ। खाली जबर्जस्ती उम्मेदवार खोज्नुपर्ने गर्दा ठूला–ठूला शोषक र शासक वर्गबाटै दलित कोटाको नाममा जितेर आउने सम्भावना धैरै रहन्छ। अहिले संविधानले किटानी गरेअनुसार यहाँ कोही उच्च र नीच छैन। बरु सबै समान छन् भन्ने भावनालाई कायम राख्न सकेको खण्डमा जो जिते पनि स्वच्छ प्रतिस्पर्धामा टिक्न सक्ने व्यक्ति जित्दा कोही असन्तोष हुने सम्भावना देखिन्न।
वास्तवमा वर्गको आधारमा नै चुनाव वा निर्वाचन प्रक्रिया अगाडि बढाउनु राम्रो कार्य हो। जातीय, क्षेत्रीय र धार्मिक नाराले त्यस्ता स्वच्छ प्रतिस्पर्धालाई भत्काएर अस्वस्थ र हुनेखानेको मात्रै वर्चश्व कायम हुने सम्भावना बढ्न सक्छ। यसले गर्दा वर्तमान लोकतान्त्रिक संविधानअनुरुप हुन गइरहेको चुनावमा पनि दलित, मधेसी वा तराई मूलका भनी अलग्ग नछुटाईकन जो सबल र सक्षम छन्, उनीहरुलाई नै चुन्ने उच्चस्तरको निर्वाचन प्रक्रिया अगाडि बढाउनु हितकर हुने देखिन्छ।
जबसम्म आफैं दलित भनेर आफ्नो जातलाई आफैंले तल्लो मानिरहन्छ भने त्यसबाट उँभो लाउने आशा गर्न सकिन्न। जन्मजात कोही बाहुन र तुच्छ व्यक्ति नहुने भएर यो प्रावधान राख्नु पनि राम्रो होइन
दलितको नाममा आयोग गठन गरी विदेशी डलर पचाउने कार्यहरु बढिरहेको वर्तमान अवस्थामा वर्गीय चेतना अगाडि सारी गरिब वर्ग र धनी वर्गको बीच हुने वर्गभेदलाई नै निर्वाचनको प्रमुख एजेन्डा बनाउनु राम्रो देखिन्छ। यहाँ दलितको नाम जपेर विदेश भ्रमण गर्ने, मन्त्री बन्ने, पजेरो र प्राडो चढ्ने गरेको यथार्थ त हामी नेपालीले देखिरहेकै छौं। तर कोही दलित साँच्चै खानै नपाएर मगन्तेझंँ जीवन बिताइरहेका पनि देख्छौं। यसबाट मुक्त हुने उपाय भने वर्गसंघर्ष नै हो। धार्मिक, दलित र क्षेत्रीय नाराले यसको समाधान हुन्न।
सम्पूर्ण नेवारहरुमा कोही दलित छैनौं भनेपछि अब दलितबाट उम्मेदवारी दिने कुरो पनि भएन। साथै अन्य जातिले पनि आफूहरुलाई अब दलित हौं भनी हीनताबोध गरी बाँच्नुपर्ने हो भने देशमा हिजोझैँ ‘सबै पञ्च नेपाली’ नारा नै सही हुन सक्छ। यसले गर्दा पनि यदि देशमा गणतन्त्र आएको महसुस गर्ने हो भने कहिल्यै अब उप्रान्त यो दलित, यो अछूत भनेर छुट्याउनु हुन्न। मुलुकी ऐनले उन्मूलन गरिसकेको दलित प्रथालाई अहिले आएर पनि कायम राख्नु उचित होइन। समय छँदै यो विषयमा सोच्नुपर्ने हो। तर यहाँ आफूहरु सधैँ कसरी सत्तामा टिकिरहने भन्ने सोचलाई प्राथमिकता दिएर दलितलाई यति, मधेसीलाई यति भनी राज्यको भागवण्डा गरेको देखिन्छ। देशमा बढीभन्दा बढी जनताको सेवा गर्ने व्यक्ति उच्च तहको व्यक्ति र भ्रष्टाचार, अन्याय–अत्याचारमा रमाउनेहरुलाई नीच व्यक्तिको रुपमा परिभाषित गर्नुपर्ने बेला पनि जातभातको कुरा गर्ने, दमाईं, सार्की, सुनार वा विश्वकर्मा थर भएकाहरुलाई मन्दिर प्रवेशमा रोक्नु उचित धारणा होइन।
यसरी समाज यति अगाडि बढिसकेको बेलामा पनि नीच जाति भनी उनीहरुलाई दानस्वरुप सिट दिनु उचित होइन। सक्षम वा योग्य व्यक्ति भए मेयर, उपमेयर वा वडा अध्यक्ष नै ती दलित भनिएकालाई दिन आवश्यक छ। ऊ योग्य नै छैन भने बलजफ्ती फलाना दलित कोटाबाट भन्दै अयोग्य व्यक्तिलाई पनि तानेर वडा समितिको सदस्य बनाउँदा उसबाट वडामा विकास निर्माणको पूर्वाधार तयार गर्नुभन्दा पनि उसलाई जागिर दिएझैँ मात्र हुनेछ। वा राज्यको ढुकुटी स्वाहा गर्ने चालजस्तो मात्रै देखिन्छ।

वडामा दलित महिलाको उम्मेदावरी कसरी सुनिश्चित गर्ने, आयोग आफै अन्यौल

विभेद बिरुद्ध अभियान - १४ चैत्र । ३१ वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनले वडामा २ महिला सदस्य मध्ये एक दलित महिला अनिवार्य उम्मेदवार हुनुपर्ने प्रावधान गरेसगै सबै वडामा दलित महिला उम्मेदवार पर्नेमा आंशका पैदा भएको छ । देशभरका ६ हजार ६ सय ८० वडामा दलित महिला उम्मेदवार हुन सक्ने वा नसक्ने विषयमा निर्वाचन आयोग आफै अन्यौलमा देखिएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यस विषयमा संसदबाटै ऐन संशोधन भएर आउनुपर्ने बताउनुभयो । ‘सबै वडामा दलित महिला उम्मेदवार पर्लान वा नपर्लान् भन्ने एकिन छैन, नभएको खण्डमा के गर्ने भन्नेमा हामी आफै अन्यौल छ, यादवले भन्नुभयो,–यस विषयमा संसदले नै व्यवस्था गर्नुपर्छ ।संचारिक समूहद्धारा सञ्चालित टिभी कार्यकम समकोणमा नुवाकोटका महिलाहरूको जिज्ञासको जवाफ दिँदै उहाँले ऐन संशोधनको विकल्प नरहेको बताउनुभयो । यस विषयमा के गर्ने भनेर छलफल भइरहेको बताउनुभयो । महिलाहरूले दलित महिला उम्मेदवार सम्भव नभएको वडामा अन्य महिलालाई अवसर दिनुपर्ने आवाज उठाएका थिए । सहभागीहरुले महिलालाई वडा सदस्यमा मात्र सीमित नगराएर नेतृत्व तहमा जिताउने सुनिश्चितताका साथ महिला उम्मेदवार उठाउन दलले पहल गर्नुपर्ने बताएका थिए । साथै दयामाया वा नातावाद नभई पैसा नभएका क्षमतावान महिलाले पनि  उम्मेदवारी दिन पाउने वातावरण बनाउन आयोग र दललाई आग्रह गरे ।
स्थानीय तहको निर्वाचन, जित्ने र जिताउने भूमिकामा महिला’ विषयमा भएको कार्यक्रममा प्रमुख आयुक्त यादव सहित माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषाल, एमालेकी केन्द्रीय सदस्य एवं अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष सावित्रा भुषाल र महिला संघकी अध्यक्ष उमा रेग्मी वक्ताको रूपमा हुनुहुथ्यो । नुवाकोटमा छांयाँकन गरिएको उक्त कार्यक्रम आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।महिला खबर बाट 

दलित र स्थानीय निकाय निर्वाचन - भीम बराइली

विभेद बिरुद्ध अभियान - १४ चैत्र । विगतमा पनि कानुन कार्यान्वयनको क्रममा दोधारे अर्थ लाग्ने शब्द राखेर दलित अधिकारबाट बञ्चित गरेका थुप्रै उदाहरण छन् । तसर्थ अब हुने स्थानीय तहको चुनावमा पनि दलितको उचित प्रतिनिधित्व हुने देखिँदैन ।२१ मार्चका दिन यस वर्ष पनि अन्तर्राष्ट्रिय जातीय एंव रंगभेद विरुद्धको दिवस मनाइयो । ५२ औं जातीय एवं रंगभेद विरुद्धको दिवस मनाइरहँदा यसबारेका विषयले स्थानीय तथा राष्ट्रिय मिडियामा खासै स्थान पाएनन् । आए त केवल दलित मिडियाकर्मीको पहुँच र सहभागिता जति थियो त्यही रुपमा । यसो भनिरहदा सदियौंदेखि पछाडि परेको दलित समुदायलाई अगाडि बढाउन अहिले स्थापित मिडिया वा सञ्चारकर्मीको ध्यान जान सकिरहेको छैन । समाज रुपान्तरण गर्दै सभ्य र समतामूलक समाज निर्माण अभियानमा लाग्ने तागत राख्दैन भन्दा अतिरञ्जित हुँदैन ।
यो दिवस २१ मार्च १९६० मा दक्षिण अफ्रिकामा सार्पभिल्लेमा रंग विभेदको विरोधमा शान्तिपूर्ण र्‍यालीमा उपस्थित ६९ काला जातिका व्यक्तिलाई तत्कालीन गोरा नेतृत्वको सरकारले दमन गरी हत्या गरेको थियो । जुन घटनाको विश्वव्यापी रुपमा भत्र्सना गरियो । सोही घटना स्मरण गर्दै संयुक्त राष्ट्रसंघको महासभाले सन् १९६५ डिसेम्बर २१ मा पारित गरी सन् १९६९ जनवरी ४ बाट लागू गरेको सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५ मा भएका प्रावधानहरू नेपाल सरकारले कार्यान्वयन गर्नुपर्ने सवाललाई जोड दिएर नेपालका दलितले प्रत्येक वर्ष २१ मार्चलाई सम्झने गर्छन् । कानुनका अगाडि सबै जाति समान हुन छन् भन्ने प्रमुख अवधारणा रहेको उक्त महासन्धि नेपालमा पनि सन् १९७१ को ३० जनवरीका दिन अर्थात् २०२७ फागुन २७ गतेदेखि लागू भएको पाइन्छ ।
नेपालको कानुनले पनि सबै जातिलाई समान मानेको छ तर पनि सामाजिक व्यवहारले फेरि त्यही दास युगीन व्यवस्थाकै झल्को दिइरहेको छ । सन् १९६० मार्चपछि अफ्रिकन काला जातिको अवस्थामा सुधार आयो, राज्यले उनीहरूमाथि लगाएका सबै प्रतिवन्ध फुकुवा गर्‍यो । उनीहरू राज्यसत्ता प्राप्तिको पहुँचमा पुग्न सफल भए तर नेपालमा दलितको अवस्था भने कानुनले फुकुवा गरे पनि व्यवहारीकतामा अघोषित प्रतिवन्ध लगाएको छ । जुन घोषितभन्दा पनि घातक बन्दै आएको छ । नेपालमा सबै जातजातिका पर्वमा सार्वजनिक बिदा दिने गरिएको छ तर राज्यको मूल धारबाट पछाडि पारिएका १३ प्रतिशत जनसंख्या भएका दलितका कुनै पर्वमा बिदा दिने त परै जाओस्, यस्ता विशेष दिवसलाई पनि राज्यले आँखा चिम्लेको छ । यसबाट पनि थाहा लाग्छ कि दलित समस्याप्रति सरकारले थोरै पनि चासो देखाएको छैन । अर्को, मिडियामा यो सवाल नउठ्नु पनि दलित समुदायका लागि दुखद् पक्ष नै हो ।
२१ औं शताब्दीमा आइपुग्दासमेत दलित समुदायमाथि जातको आधारमा भइरहेको निकृष्ट छुवाछुत र विभेदले दक्षिण एसियाली राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय रुपमै लज्जाबोध गराएको छ । जातिभेद उन्मूलन दिवसको यो ऐतिहासिक दिनमा दलित समुदाय र दलित अधिकारकर्मीले एकातर्फ दलित मुक्तिको विद्रोहलाई थप संगठित र सुदृढ गर्दै समयसापेक्ष कार्यदिशा कार्यनीति र रणनीति तय गर्न जरुरी छ भने आजसम्मको संघर्षबाट प्राप्त उपलब्धिको व्यवहारिक कार्यान्वयनका लागि जागरुक हुनु पर्दछ ।यतिवेला स्थानीय तहको निर्वाचनको प्रसंगले राजनीतिक वृतमा तरंग ल्याइरहेको छ । राज्य पुनर्संरचनाको नयाँ ढाँचामा हुन लागेको यो निर्वाचन संघीय लोकतान्त्रिक राज्य व्यवस्थाको व्यवहारिक कार्यान्वयनको पहिलो अभ्यास हो । त्यसैले यसको महत्वलाई वृहत रुपमा सोच्नु जरुरी छ । स्थानीय तहका निर्वाचनका लागि उम्मेद्वारी छनौटको वहस हुँदै गर्दा राजनीतिक दलहरुभित्र कस्तो छलफल भइरहेको छ, त्यसमा समावेशीताको आधार खोजिएको छ कि छैन, यसमा वहस गर्नु जरुरी छ ।
समाजका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक तथा भौगोलिक समूहहरूको राज्य तथा समाजप्रति अपनत्व निर्माण हुनु लोकतन्त्रको आधार हो । यो आधार निर्माण आसन्न स्थानीय निर्वाचन र यसको परिणामले स्थापित गर्न जरुरी छ । राज्य संरचनाको पुरानो आधार भत्काइ नयाँ ढाँचा निमार्ण हुँदै गर्दा नयाँ सोच, जाँगरका साथ समावेशी नेतृत्व आउन सके नयाँ नेपालको आधार निमार्ण हुन सक्छ । राज्य सञ्चालनको केन्द्रदेखि स्थानीय स्तरसम्मका सबै किसिमका निकाय तथा संरचनामा तिनका नीति निर्माण तथा फैसलाका प्रक्रिया तथा परिणाममा समावेशीकरण खोजिँदै गर्दा स्थानीय निकायको निर्वाचन र यसको परिणामले वृहत अर्थ राख्छ ।
नयाँ संविधान २०७२ ले पनि नगर र गाँउपालिकामा दलित प्रतिनिधित्वका लागि गरेको व्यवस्था पनि विगतमा स्थानीय स्वायत्त शासन ऐन २०५५ ले वडाका लागि गरेको व्यवस्था भन्दा धेरै फरक छैन । त्यसैले दलित प्रतिनिधित्व हुन नसक्ने आंशक पनि व्यप्त छ । पहिलो संविधानसभाले स्थानीय तहमा समानुपतिकमा थप ५ र केन्द्रमा ३ प्रतिशत थप अधिकार दिने प्रस्ताव गरेको थियो तर त्यो प्रस्ताव दोस्रो संविधानसभाबाट संविधान निर्माण हुँदासम्म हरायो । दलितको हकमा अल्पसंख्यक वा दलितमध्येबाट सहभागी नगरपालिकामा ३ जना, गाँउपालिकामा २ र जिल्ला सभामा १ जना छनोट हुने व्यवस्था गरेको छ ।
संविधानले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको ग्यारेण्टी गरेको देखिँदैन । विगतमा पनि कानुन कार्यान्वयनको क्रममा दोधारे अर्थ लाग्ने शब्द राखेर दलित अधिकारबाट बञ्चित गरेका थुप्रै उदाहरण छन्, तसर्थ अब हुने स्थानीय तहको चुनावमा पनि दलितको उचित प्रतिनिधित्व हुने देखिँदैन । विभिन्न राजनीतिक दलका जनवर्गीय संगठनहरू पनि दलितको अर्थपूर्ण सहभागिताका हुनेमा ढुक्क छैनन् । संविधानमा स्थानीय तहको निर्वाचन समावेशी प्रणालीमा हुने भनिए पनि महिलाको कोटामा निर्वाचन ऐनमा २ जना महिलामध्ये एक दलित महिला अनिवार्य भनिएको भए पनि दलित पुरुषको सहभागिताबारे स्पष्ट छैन । संविधानमा समानुपातिक निर्वाचन प्रणाली भनिएको छ थप निर्वाचनको विधि के हुने भन्ने कुरा स्पष्ट छैन । निर्वाचनसम्बन्धी ऐनमा पनि दलितको सहभागिताबारे केही उल्लेख नभएकाले दलितको सहभागिता न्यून रहने पक्का छ ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउँदै गर्दा दलित अधिकारकर्मीले केही महत्वपूर्ण कार्यभार पूरा गर्ने प्रतिवद्धता गर्ने कार्य थालनी गर्नु पर्छ । स्थानीय तहको चुनावमा कानुनमा भएको मौजुदा व्यवस्थामा दलितबाट मनोनित गर्ने भन्ने मात्र उल्लेख छ । दलित समुदायले सुरक्षित सिटसँगसँगै खुल्ला प्रतिस्पर्धामा समेत भाग लिने वातावरण सृजना गर्न सके दलितको सहभागिता बढ्न सक्ने देखिन्छ । यसका लागि दलित समुदायका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ताले राजनीतिक दलमा क्रियाशीलता बढाउनुका साथै दबाब सिर्जना गर्न जरुरी छ ।
पहिचान, पहुँच, प्रतिनिधित्व हर क्षेत्रमा सुनिश्चित गर्न सकिएमा मात्र अन्तर्राष्ट्रिय जातीय एंव रंगभेद विरुद्धको दिवस मनाउनुको सार्थकता रहनेछ । संविधानले सुनिश्चित गरेका दलितका अधिकारलाई अक्षरशः कार्यान्वयन एवं थप राजनीतिक अधिकारका लागि दलित नेताहरूले एक भएर लाग्नु जरुरी छ ।समाधान न्युज बाट

Saturday, March 25, 2017

रुकुममा लेखपढ गर्न नजानेकी अनिता बिक,फिनल्याण्डको स्थानीय चुनाव लड्दै

विभेद बिरुद्ध अभियान -१२ चैत, काठमाडौं -हेल्सिन्की/आँट,बिश्वास र हिम्मत गरे सफलता पाईन्छ भन्ने एक सफल उदाहरण हुन् अनिता बिक। रुकुम गोतामकोट जस्तो बिकट ठाउँमा जन्मेकी अनिताले लेख्न पढ्न जान्ने थिईनन्। तर अबसर पायो भने महिलाले पनि गर्न सक्छे भन्ने उदाहरण प्रस्तुत  गरेकी छन् उनै अनिताले। उमेरले अहिले २६ बर्षकि मात्र भईन् तर हाल फिन्ल्याण्डको स्थानिय निर्वाचनमा चुनाव लड्दै छन्।फिन्ल्याण्ड आएको भर्खरै ५ बर्ष पुगेकी अनिता दुई बच्चाकी आमा पनि हुन्। उनले यता आए पछि फिनिश भाषा समेत अध्ययन गरिन् र राम्रोसँग बोल्न सक्ने पनि भईन्।यो सँगै राजनीतिमा प्रबेश गर्न पनि भ्याईन्।तर उनको सफलताको पछाडि ठुलो हात उनकै श्रीमानको रहेको छ।राइमो तुओमानेन उनका श्रीमान् हुन् लामो समय देखि फिनल्याण्डमा उनि पनि राजनीतिमा नै आबद्द छन्।
बिबाह गरेर फिनल्याण्ड ल्याए पछि साक्षर त बनाए नै, त्यतिमात्र हैन अनितालाई राजनीतिमा पनि अघि सारेका छन्। हरियाली पार्टी (ग्रीन पार्टी) को तर्फबाट अनिताले कोपियो नगरबाट उम्मेदवारी दिएकी छन्।रुकुम गोतामकोटको एक दलित परिबारमा जन्मेकी अनिताले जीवनमा यति ठुलो परिबर्तन होला भन्ने सायद सोचेकी पनि थिईनन्।
चुनावमा उनको हारजित जे सुकै होला तर नेपाली समुदायको सोचको अगाडि भने अनिताले भारी बहुमत पाईसकेकी छन्। श्रीमानको राम्रो साथ पाउन सकियो भने लेखपढ,भाषा बोल्न र लेख्न न त उमेर नै छेक्ने रहेछ न समाजले नै,एक ज्वलन्त उदाहरण बनेकी छिन् रुकमेली अनिता।अप्रिल ९ मा हुने स्थानिय निर्वाचनमा उठ्न हिम्मत दिएका उनका श्रीमान्,अहिले चुनाबी प्रचार प्रसारमा पुरै खटिएका छन्। आँफू अब घर समाल्छु,बाल बच्चालाई समय दिन्छु र श्रीमतीलाई चुनाव जिताएर जनताको प्रतिनिधि बनाउँछु भन्दै राइमो पनि कस्सिएका हुन्।
उचित अवसर र बातावरण पाएमा नेपाली महिलाहरु जस्तोसुकै भूमिका निभाउन पनि सक्षम छन् भन्ने सन्देश दिएको छ । शिक्षा र बालबालिका हेरचाहमा प्रशस्त लगानी, मिश्रीत समाज जस्ता एजेन्डा लिएको हरियाली पार्टी यस अघिको स्थानिय निर्वाचन र सँसदीय निर्वाचनमा पाँचौ नम्बरमा परेको थियो। अनीताको चुनावी नम्बर २३६ रहेको छ।५४ लाख कुल जनसँख्या रहेको देशमा ३ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ। स्थानीय निर्बाचनमा अन्य नेपालीहरु पनि उमेद्वारको रुपमा खडा भएको हुँदा,नेपाली समुदायमा यसपटक झनै चासो बढेको छ ।
मेहेनती, मिलनसार, इमान्दारको छबी बनाएका नेपालीहरु अब बिदेशी भुमिमा, निती निर्माण तह अर्थात् राजनीतिक क्षेत्रमा पनि आफ्नो बाक्लो उपस्थिती जनाउँन सक्रिय बनेको देखिन्छ।

दलित मरून कि बाचूँन भन्दै उभिएको नेपाली समाज - गोपाल सिवा

विभेद बिरुद्ध  अभियान -१२ चैत, सार्वजनिक ठाउमा कथित दलित समुदाय माथि हुने बिभिन्न प्रकारका बिभेदहरु समय समयमा हामीले सुन्दै देख्दै भोग्दै आएका छौ दलितहरुलाई सार्वजनिक छेत्रमा विभेद गरिनु उनीहरुलाई स्रोत , साधनको पहुच बाट सदैव टाढा राख्नु , आर्थिक ,सामाजिक, सास्कृतिक  हिसाबले अझ पछाडी धकेल्नु सर्वदा शोषण गर्नका लागि सजिलो बनाइ राखन एक किसिमका समाजका ब्यक्तिहरु सधै नेपाली समाजमा क्रियाशील छन समाजका यी क्रियाशील परजीवीहरुले कानुन लाइ समेत चुनौती दिदै अहिले सम्म पनि सार्वजनिक बन्देज मात्र हैन दलितमाथि नाकाबन्दी गरी आक्रमण समेत गर्दै आएका छन् दलितलाइ सार्वजनिक उपभोगका बस्तु पनि नाकाबन्दी गरिएको दलितलाइ सार्वजनिक बाटो , स्कुल , बन, पानी जस्ता सार्वजनिक स्थलमा समेत प्रवेश नदिने आफुहरुले भनेको कुनै पनि कुरा अस्विकार गरेमा कुट्ने पिट्ने ज्यान मार्ने धम्कि दिने नाका बन्दि गर्ने गर्दै आइएको सार्वजनिक समारोह, भोज भतेर, धारापधेरा, मठमन्दीर आदिमा अझैपनि अमानविय व्यवहार गरिदैछ

नेपाली समाजमा पानीको बिषयमा झगडा भएको गैर दलितले भनेको नमानेको कारण हजारौ अमानवीय घटनाहरु घटेका छन २०५९ सालमा दोलखामा एउटा घटना भयो जुन सुन्ने लाइ समेत प्रहरी प्रसासनको अकर्मयता देखेर लाज लाग्यो भिमेस्वर नपा ११ का कुमार नेपालीले सार्वजनिक धारामा पानी खादा उछिटिएर सोहि ठाउका शिबहरि सुबेदीको सामानमा पर्यो भनेर धारामा नै निर्घात कुटे एक रात प्रहरीमा नेपालीलाइ थुनाए प्रहरी पीडक लाइ कारवाही गर्नु साटो पिडितलाई नै थुन् अग्रसर भयो केहि बर्ष अघि मात्र सिन्धुली जिल्लाको  कुसेस्वर दुम्जा गाबिसमा छेत्री बाहुनले पानि खाने कुवामा तल्लो जातिको किन पानी लिन गयौ भन्दै दिपक कोइरालाको नेतृत्वमा बिष्णु पुर्कोटिलाइ ५० हजार जरिवाना तिराउने भनियो तर प्रशाशनले यहि कुरा लिएर निबेदन दिदा पीडकलाई कुनै कारवाही गरेंन सार्वजनिक स्थलको पानी छोएको निहुँमा  केहि अघि खोटाङ खाल्ले का २७ वर्षीया लक्ष्मी परियारमाथि कुटपिट भयो तर पीडकलाई कुनै कारवाही भएँन

फूलबरीया हाल मिर्चैया नगरपालिकास्थित सार्वजनिक इनारको पानी छोएको भन्दै लाल यादवले कवितादेवी सदायलाई निर्घात कुटपिट गरे सुकुम्बासी परिवारकि कवितादेवीले १० हजार ऋण उपचार गर्नु पर्यो तर न्याय पाइनन् गत बर्ष वर्षौंदेखि खानेपानीमा छुवाछुत भोग्दै आएका घर नजिकै इनार भएर पनि पानी निकालेर खान नपाएको थाहा पाएपछिसाझा सवाल’  टेलिभिजन कार्यक्रमको छायांकनको क्रममा नेपाली चलचित्रका अभिनेता राजेश हमालसँग इनारबाट पानी निकाल्न दलित समुदायका दीपक मरिकलाइ लिएर इनारसम्म गए। तर, मलिकले इनारबाट पानी निकाल्न लाग्दा गाउँभरका महिलापुरुषले इनारलाई घेरा हालेर मलिकलाई रोके स्थानीयको आक्रोशका अगाडि हमालको केही जोर चलेन ।न्यायको त् कुरा छोडौ, पछी यहि बिषयलाइ लिएर दीपक मरिकले धेरै सास्ती भोगे मरिकको समस्या पिडा अझै ज्युका त्यु देशकै राजधानी काठमाडौं जिल्लाको बुढानिलकण्ठ नजिकै चुरिखेल् गाउ स्थित् सार्वजनिक धारामा पानी छोएकै निहुमा केहि महिना अघि स्थानीय डम्बर बहादुर परियारको परिवारलाई आफुहरूलाई कथित उच्च जाती हौ भन्ने ५० / ६० जना स्थानीय नेवार समुदायको जत्थाले घरमै गई आक्रमण गरी अमानबिय असभ्य तरिकाले गरीको कुटपिट गरे तर न्याय के कति पाए सवैको सामु छर्लंग अहिले पनि सार्वजनिक धारमा पानी लिदा पिडा धेरैले  अनाहकमा कुटिनु परेको , धेरैको गाग्री कुचिएका छन् धेरैको हात खुटा भाचिएको धेरै लाइ बस्ति छाडेर जान उर्दी गरिएको

त्यसतै गरि, गैर दलितले भनेको नमानेको कारण ०५७ साल साउन १३ गते सप्तरी हरिपुर गाबिस   मटिगढीका चमार समुदायले मरेको भैसी नफालेको भन्दै तत्कालिन गाविस अध्य्क्ष समेत रहेका बद्रि नारायण चौधरीको अगुवाइमा चमार जातिलाई आर्थिक , सामाजिक ,धार्मिक नाकाबन्दी गरियो सोहि साल सप्तरीको कोचाबखारीमा चमार समुदायले सिनो फाल्न छाडेको रिसमा चमार बस्तीमा मरेको गाइ लगेर फालियो  ।अझ रोचक कुरा के भने चमार जातिमाथि नाकाबन्दी बहिष्कार गरिएका घटनामा न्याय त् परै जावोस घटनाको बारेमा प्रहरी प्रशासनमा छलफल चल्ने क्रममा चमार जातिले आफ्नो पेशा छाडेको भनेर गैर दलित बाट केहि चमार  निर्घात कुटिए तर प्रशाशन रमिते भएर बस्यो  ।गत बर्ष मात्र रौतहटको ब्रह्मस्थान भगवती मन्दिरमा स्थानीय उमेश रामको विवाहपछि दलितहरुले पुजा गर्न जाँदा कथित उपल्लो जातका व्यक्तिहरुले मन्दिर प्रवेश गर्न नदिई कुटपिट गरे ,दलित बस्तीमा जेठ २४ गते गैरदलितले सामूहिक आक्रमण गरे ,गैरदलितले दलितलाई खेतबारी लगायतका स्थानमा जान प्रतिबन्ध लगाए प्रहरी प्रशाशन जातीय भेदभाव तथा छुवाछुत (कसुर सजाय) अन्तर्गत कानुनि उपचार गराउन भन्दा पनि सामाजिक सद्भाव कायम गराउने भन्दै मिलापत्र गराउन उदत् भयो

यी यस्ता हजारौ  प्रतिनिधि घटना छन् नेपाली समाजमा जुन एक पछि अर्को फरक ढंगले समाजमा जातपात छुवाछुत झन् झन् ब्यापक जटिल बन्दै दलित समुदाय माथि एक पछी अर्को अमानवीय घटना भै रहेको । दलित समुदाय कै भएका कारण यस्ता अमानविय घटना नेपाली समाजमा धेरै भएका छन् र नेपाली समाजमा दलित हुनुको नियति भोग्न विवश प्रतिनिधि पात्रहरू धेरै छन्  । प्रहरी र स्थानीयको दबाबमा दबिएर बसेका हजारौ घटनाहरु छन्  । गत महिना धादिङ ज्यामरुङ गाउँ बिकास समितिको दलित बस्ति कुमाईगाउँमा एउटा फरक किसिमको घटना सार्वजनिक भएको

४२ घर धुरी सार्की जातका बसोबास गर्दै आएको धादिङ जिल्लाको ज्यामरुङ गाउँ बिकास समितिको दलित बस्ति कुमाईगाउँमा गत फागुनको दोस्रो साता अर्थात फागुन १८ गते आर्थिक स्तर बलियो भएका मान बहादुर बयलकोटीले सामाजिक सद्भाव कायम गर्दै बाहुन छेत्री , नेवार दलित समुदायको लागि छुटाछुटै भोजको ब्यबस्ता सहित आफ्ना बर्षिय छोरा बिनोद बयलकोटीको ब्रतबन्ध गर्दै थिए ।पानीको चरम अभाव रहेको बस्तीमा  झाडा पखाला फैलिनु हप्ता अघि मात्र भूकम्पमा काम गर्न आएको फोकस नेपाल नाम गरेको संस्थाले हजार लिटर क्षमताका हिलटेकका १२ वटा काला ड्रमहरु बस्तीका विभिन्न स्थानमा राखिदिएको थियो झाक्रेखोला मुहानबाट एक दिन अघि मात्र पानी ल्याएर राखिएको उक्त पानी भोजमा पकाउन पिउन प्रयोग गरिएको थियो। भोज खाने  गैर दलितहरु लाइ भने केहि भएन तर दलित पटि भोज खाने पानीको प्रयोग गर्नेहरु बीच  झाडावान्ता पखाला फैलियो एक्कासी झाडा पखाला बाट बिरामी भएपछि सुरुमा १८ जना , एम्बुलेन्समा १३ जना पछि ल्याइएका सहित गरि ६८ जना लाई सदरमुकाम स्थित जिल्ला अस्पतालमा पुराइयो भने थप १३ जना लाई गाउकै स्वास्थ्य चौकीमा र केहीलाई राजधानीको टिचिंग हस्पिटलमा सिकिस्त अवस्थामा पुराइयो ।
मिडियामा विषाक्त खाना दूषित पानी पिउँदा दलित बस्तीमा झाडा पखाला फैलियो भन्दै समाचार मिडियामा आयो बर्षौ देखि पिउदै आएको पानीको निहुमा दलित गैर दलित झगडा गर्दै आएको  कुमाईगाउँमा त्यस दिनको भोजमा एक घरका गैर दलितको भने अनुपस्थिति रहेको पाइयो त्यो घर तिनैको थियो जसले कुनै दिन सारा दलित लाइ केहि गरेर देखाई दिने धम्कि बारम्बार पानीको निहुमा झगडा गर्दा दिने गरेका थिए घटना संगै  गाउमा कसैले पानीमा बिषादी मिसाई दिएको भन्ने हल्ला फैलियो  यस्तै हल्ला शंकाका बीच दलित समुदायले घटनाका मुख्य योजनाकारका रूपमा कोहि कि भनेर सत्य तथ्य खोजि गर्न भनेर सयुक्त रुपमा  केहि समय अघि पानी बिषादी हुनुको कारणको खोजि हुनु पर्ने भन्दै धादिङ जिल्लाका सहायक जिल्ला प्रमुख अधिकारी लिलाधर अधिकारी सग भेटि छलफल निबेदन दिए तर जाहेरी परे पनि अहिले सम्म  स्थानीय प्रहरी प्रशासनले कुनै आरोपितलाई पक्राउ गरेको देखिन्छ, दुवै पक्षलाई मिलाउन पहल नै गरेको देखिन्छ।

मिडियामा समाचार आए पछि निबेदन परे पछी प्रजिअ उमेश ढकालले समेत दूषित पानीको कारण पत्ता लगाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे  तर दूषित पानीको जाचका बारेमा अहिले सम्म स्थानीय प्रशासन् बाट आधिकारिक कुनै रिपोर्ट सार्वजनिक भएको छैन।  यधपी ड्रमहरुमा पानी भरेर राखिदिने सामाजिक सेवा गर्ने फोकस नेपालले नै स्थानीय लाइ घटना प्रति कोलिफर्म भेटीयो भन्दै आएको खानेपानि सस्थांनले भने पानीमा केहि छैन पिउन लायक को भन्दैछ  कोहि फुड पोइजन ले हो भन्दैछन भने सदरमुकाम स्थित जिल्ला अस्पतालमा पुगेका १८ जनालाई उपचार गर्ने क्रममा  जिल्ला अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रसिला अमात्यले विषाक्त खानाका असरहरु देखा परेको रिपोर्टमा देखिएको बताउदै आएकी छिन दलित माथि भएको अत्याचारको नमुना रिपोर्टमा यसरि बाझिएको तर सत्य तथ्य पता लगाउने निकाय भने निबेदन फाइलमा राखेर दलित मरून या बाचूँन भन्ने भावना लिएर मौनता साधेर बसेको

२०६४ सालमा गोठमा गाइ बस्तु मरेमा फाल्न आफुहरुलाई बोलाईनु भनेको अपमान गर्नु हो भन्दै अब देखि आफुहरुले नफाल्ने प्रतिबध्ता गरेका कुमाई गाउँका दलित माथि त्यस बेला पनि केहि अगुवाहरुलाई सार्वजनिक आक्रमण गरेका थिए ।तर गैरदलितले छलफलमा भविष्यमा यस्ता घटना नदोहोरिन बताए पछी घटना गाउकै एक बन्द कोठा मा सामसुम भएर मिलेको थियो त्यस यता पानीको बिषयमा दिनहु झगडा पर्दै आएको ले गर्दा बदलाको भावले कसैले नियोजित ढंगले पानीमा बिषादी मिसाउने काम गरेको होकी भन्ने शंका गर्ने आधारहरु देखिन्छन  एउटा गैर दलितले दलित बस्ति लाइ नै कुनै दिन ठिक पार्छु भन्दै अभिब्यक्ति  दिन्छ अनि भोजमा उसका परिवार मात्र आउदैनन  दलित जति विषादीको सिकार हुन्छ तर पनि घटनामा कसको दोष ? भोजमा दलित गैरदलितमा अन्तर गरेर झाडावान्ता पखालाले कसरि आक्रान्त बनायो ? खोजि गर्ने प्रहरी प्रशासनले आफ्नो दायित्व सम्झिन्छन , त् मानवअधिकारवादी भनाउँदाहरुले नै उपयुक्त सम्झिन्छ त् समाज परिवर्तन गराउँछु भन्दै हिँड्ने दलित अधिकारवादीहरु नै आफ्नो दायित्व मान्छन ।एका तिर यो देशमा दलितलाई जसले जे गरे पनि हुने भइ सक्यो भन्ने मानसिकता ब्यबहारिक हुदै आएको भने अर्को तिर सिंगो दलित समुदाय माथि ज्यादती हुदा बोल्दिने नेपाली समाज पनि दलित मरून कि बाचूँन भन्ने भावना लिएर उभिएको

अन्त्यमा, कुनै पनि नागरिक समुदाय माथि अत्याचार हुदा बोल्दिनु एक सचेत् नगारिकको पहिलो दायित्व हो दायित्व बाट हामी कोहि पनि  बिमुख नहऔ । बर्षौ देखि दलित अछुत भनेर अन्याय,अत्याचार, थिचोमिचो, दमन अनि सांघातिक आक्रमण गर्नेहरु लाइ सच्याउन सके मात्र समतामुलक समाज बन्न सक्छ । त्यसैले नेपाली समाजमा भएका अन्धकारलाई हटाउन प्रहरी,प्रशासन, पत्रकार,अधिकारवादी नागरिक समाज सबैको प्रयासमा हाम्रो समाजमा विभेदका बेहुदा हर्कत गर्ने दोषीहरुलाई कारवाही गराउन  पिडितलाई न्याय  दिलाउन प्रतिबद्ध प्रतिबध्ताको खाचो त्यस्तै गरि यदि गाउमा चलेको हल्ला जस्तै कोहि कसै बाट भोजको आडमा पानीमा बिषाधि मिलाउने कार्य यदि भएको हो भने यो आपराधिक कार्य हुनु दुर्भाग्य मात्र होइन, उद्देश्य सम्पूर्ण दलितको समुदायको सामुहिक हत्या गराउने योजना होकि भन्ने प्रतित हुदैछ  त्यसैले यसलाई  कानुनको दायरामा ल्याएर हदै सम्मको कानुनि कारवाही गरिनु पर्छ