Friday, December 29, 2017

गाउँपालिकामा जमानत नै जफत भएको आशा स्वर्णकार, समानुपातिकबाट सांसद बन्दै

विभेद बिरुद्ध अभियान -रुकुम (पूर्व) पुष, १४   — भूमे गाउँपालिका–७, गुनामकी ढाँटी सुनार भनिने आशा स्वर्णकार नेकपा एमालेका तर्फबाट ५ नम्बर प्रदेशसभा सदस्य बन्दै छिन् । एमालेले समानुपातिक सूचीबाट उनलाई प्रदेशसभा सदस्य बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले केही दिनपछि उनलाई प्रदेशसभा सदस्य घोषणा गर्नेछ ।पार्टीले निर्णय गरिसकेपछि उनी सांसद हुनेमा ढुक्क छिन्। उनै स्वर्णकार गत असार १४ गते भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा पराजित भएकी थिइन्। भूमे गाउँपालिकामा नेकपा एमालका तर्फबाट उम्मेदवारी दिएकी उनी तेस्रो मात्र भइनन्, जमानत नै जफत भयो। स्वर्णकारको पक्षमा ४ सय ४२ मत मात्रै आएको थियो।

उक्त गाउँपालिकामा खसेको ६ हजार १ सय ६९ मतको १० प्रतिशत मत उनको पक्षमा आएन। ६ सय १६ मत नपुगेपछि उनको जमानत जफत भएको थियो। माओवादी केन्द्रले जितेको उक्त गाउँपालिकामा कांग्रेस दोस्रो बनेको थियो।

गाउँपालिका अध्यक्षमा पराजित भए पनि प्रदेशसभा सदस्य पाएकी उनले राजनीतिको ठेगान नहुने प्रतिक्रिया दिइन्। ‘हो, मलाई पार्टीले जे गर भन्यो, त्यही गर्दै आएकी छु, स्थानीय तहमा भूमे गाउँपालिकाको अध्यक्षको टिकट दियो, चुनाव लडें र हारें पनि,’ उनले भनिन्, ‘अहिले पार्टीले प्रदेशसभा सदस्यका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ।’

उनले प्रदेशसभा सदस्य हुनुलाई जिम्मेवारी पाएका रूपमा बुझेकी छन्। ‘पार्टीले जिम्मेवारी दिएको छ, खुसी पनि छु, चुनौती पनि छ, म लामो समयदेखि राजनीतिमै भएकीले चुनौती चिर्न सक्छु भन्नेमा ढुक्क छु,’ उनले भनिन्। उनले विशेष गरी पछाडि पारिएको क्षेत्र र समुदायका लागि आफू डटेर लड्ने बताइन्। ‘म पनि पछाडि पारिएको क्षेत्र र समुदायकै भएकाले मेरो विशेष प्राथमिकता त्यसैमा हुने भइहाल्यो,’ उनले भनिन्, ‘मेरो कार्यकालभरि उत्पीडनमा परेका र पारिएकाहरूको पक्षमा लड्नेछु।’

२०२६ सालमा जन्मेकी सुनार सुरुदेखि नै एमालेको राजनीतिमा छिन्। अन्य कुनै भ्रातृ संघसंगठनमा आबद्ध नभई उनी २०४६ मा सीधै पार्टीको वडा कमिटीमा बसेकी थिइन्। त्यसयता उनी निरन्तर राजनीतिमा छिन्। महिला र दलित संगठनमा उनी क्रियाशील छिन्। हाल रुकुम पूर्वको जिल्ला उपसंयोजक, अखिल नेपाल महिला संघ र नेपाल जातीय उत्पीडित मुक्ति समाजको पनि केन्द्रीय सदस्य छिन्। सबै राजनीतिक दलका महिलानेत्रीहरूको साझा संगठन अन्तरपार्टी महिला सञ्जालमा पनि उनले काम गरेकी थिइन्। उनले साविकको रुकुम जिल्लामा दलित तथा महिला अधिकारकर्मीका रूपमा पनि राम्रो छवि बनाएकी छन्।

पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै ११औ ‘दलित संसद्’ सम्मेलन सम्पन्न


विभेद बिरुद्ध अभियान - पुस १४- संविधानबमोजिम राजनीतिक दलका हरेक तहका संरचनामा दलितको समानुपातिक प्रतिनिधित्व र नेतृत्वको सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
दुई दिनसम्म चलेको ‘दलित संसद्’ सम्मेलनले पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै राजनीतिक दलका सबै तहका नेता तथा कार्यकर्ताका लागि जातीय छुवाछूत तथा भेदभावविरूद्ध आचारसंहिताको निर्माण गरी प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेको छ । सम्मेलनले ‘एक दलित बस्ती एक सहकारी’ र ‘एक दलित परिवार एक रोजगारी’को कार्यक्रम लागू गर्नसमेत माग गरेको नेटवर्कका अध्यक्ष गणेश विकेले जानकारी दिनुभयो ।
राष्ट्रिय दलित नेटवर्क नेपाल, जागरण मिडिया सेन्टर, समता फाउण्डेशन लगायत संघसंस्थाद्वारा आयोजित सम्मेलनले संविधानले सुनिश्चित गरेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक सिद्धान्तको कार्यान्वयनसँगै स्थिर सरकार हुनुपर्नेमा जोड दिएको छ । “हलिया आन्दोलन र सरकारबीच भएका सम्झौता तथा मुक्त हलिया समस्या समाधान गर्न गठित कार्यदलको सिफारिशको अक्षरशः कार्यान्वयन गर्दै मुक्त हलियाको समयसीमाबद्ध रूपमा पुनःस्थापनाको सुनिश्चितताका लागि उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गर्न जोडदार माग गर्दछौँ”, घोषणापत्रमा भनिएको छ ।
सञ्चारमाध्यममा समावेशिताको माग 
सरकारी तथा निजी सञ्चारमाध्यम दलित, महिला, मधेशी र उत्पीडित समुदायसहितको समावेशी हुनुपर्ने माग गरिएको छ । जागरण मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको ‘मिडियामा दलितः सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा पत्रकार एवं सञ्चारकर्मीले सञ्चारमाध्यममा दलित समुदायको समान सहभागिताका लागि नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वअध्यक्ष तथा पूर्वसभासद् विनोद पहाडीले दलितको सवालमा दलित पत्रकारले मात्रै लेख्ने भन्दा पनि गैरदलित पत्रकारलाई लेख्नका लागि प्रोत्साहन गर्नुपर्ने तथा गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र रेडियो नेपाललाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो ।
जागरणका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्माले नेपालमा रहेका ठूला मिडियालाई सहभागिता र विषयवस्तुको हिसाबले पूर्ण समावेशी बनाउन महासंघले अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले दलित समुदायका पत्रकारलाई मिडियामा टिकिराख्न सरोकार भएका संघसंस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

Wednesday, December 27, 2017

दलित महिला समूह गठन भएपछि बोल्न डराउने विन्दुकुमारी चार ठाउँमा पदाधिकारी बनिन

विभेद बिरुद्ध अभियान -कुमार श्रेष्ठ, पौष १३- बाँके । बैजनाथ–८, बेलडाँडीकी विन्दुकुमारी सुनार ७ वर्षअघिसम्म बाहिरका व्यक्तिसँग बोल्न डराउनु हुन्थ्यो । घर परिवार भन्दा बाहिर निस्किनु भएको थिएन ।
गाउँमा चाँदनी दलित महिला समूह गठन भएपछि सुनार त्यसमा बस्नुभयो । पछि बेलडाँडीमै संघर्ष दलित महिला समूह गठन हुँदा सुनार अध्यक्ष हुनुहुभयो । समूहमा बसेपछि सुनारले विभिन्न तालिममा भाग लिनुभयो । अधिकारका सवालहरु पहिचान गर्नुभयो । विभिन्न समिति संरचनाहरुमा बसेर आफ्नो र समुदायको हक अधिकारका लागि लड्न सिक्नुभयो ।
सुनार यतिबेला संघर्ष दलित महिला समूहको अध्यक्षसँगै स्थानीय भगवती माविको विद्यालय व्यवस्थापन समितिको सदस्य, भगवती सामुदायिक वन उपभोक्ता समितिको सदस्य र त्रिपुरा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । आठ कक्षा पढेकी सुनारले यतिबेला गाउँमा हुने छुवाछुत विभेद, घरेलु हिंसाहरु झैझगडाहरु मिलाउने काम गर्नुहुन्छ । ‘घर झगडाका धेरै घटनाहरु आउँछन्, हामीले मिलाएर पठाइदिन्छौं, सुनारले भन्नुभयो ।
बाहिर बोल्नै नसक्ने सुनारले यतिबेला गाउँपालिकामा ‘पर्पोजल’ हालेर विभिन्न तालिमहरु गरिरहनु भएको छ । दलित महिलाहरुलाई संगठित गरेर हक अधिकारका साथै सीपमूलक तथा आयआर्जनका गतिविधि गरिरहनु भएको छ । ‘धेरै ठाउँमा बसेको छु । घरको काम पनि मिलाउनु पर्छ, सुनारले भन्नुभयो । संघर्ष दलित महिला समूहमा ३० जना आवद्ध छन् ।
चाँदनी दलित महिला समूह, चौफेरीकी अध्यक्ष खिमसरा विकले समूहमा बसेपछि नेतृत्व विकास भएको बताउनुभयो । ‘बाहिर बोल्नै सक्दैनथे, अहिले बोल्न सक्ने भएको छु, अध्यक्ष विकले भन्नुभयो, अहिले वडा कार्यालयमा गएर आफ्नो समूहका लागि बजेट छुट्याउन माग गरेका छौं ।’ उहाँले स्थानीय निकायबाट पैसा ल्याएर मैनबत्ती, कडाई तालिम सञ्चालन गरेको बताउनुभयो ।
बैजनाथको पिपिरीमा रहेको लक्ष्मी दलित महिला समूह, खजुरा–५, उढरापुरको सगरमाथा दलित महिला समूहले पनि नियमित बचत गर्नेदेखि स्थानीय निकायमा बजेट मागेर सीप र आयआर्जनमूलक गतिविधि गर्न अघि सरेका छन् । तराईका दलित महिलाहरु सम्मिलित रहेको सगरमाथा दलित महिला समूहकी अध्यक्ष सरस्वती पासीले बालविवाह, नागरिकता, घरेलु हिंसाविरुद्धमा गतिविधि गरिरहेको बताउनुभयो ।
दलित महिलालाई यसरी अगाडि ल्याउन भने दलित महिला संघ (फेडो) ले मिहिनेत गरेको छ । पछिल्लो समयमा फेडोले यी चार समूहका दश÷दश जना महिलालाई बाख्रा प्रदान गरेको छ । फेडोकी अध्यक्ष निर्मला सुनारले नेतृत्व विकास, आर्थिक सशक्तिकरण, तालिम र राज्यका हरेक निकायमा समान सहभागिताका लागि गतिविधि गरिरहेको बताउनुभयो । फेडोले जिल्लाभरमा ५३ वटा यस्ता महिला समूह बनाएको छ । तीन वटा गाउँपालिका स्तरीय सञ्जाल बनाएको छ ।
सात जना जनप्रतिनिधि
समूहमा बसेर सशक्तिकरण र हक अधिकारका सवाल बुझेका महिलाहरु स्थानीय निकायको चुनावमा पनि अगाडि आएका छन् ।
बाँकेमा सात जना दलित महिला स्थानीय निकायमा जनप्रतिनिधि बनेका छन् । आठ जनाले चुनाव हारेका छन् । ‘हाम्रै समूहमा बसेर क्षमतावान बनेका सात जना महिलाले स्थानीय निकायमा चुनावमा जितेका छन्, फेडोकी अध्यक्ष सुनारले भन्नुभयो, आठ जना चुनाव लडेर पराजित भएका छन् ।’
आफ्नो हक अधिकारका लागि आफै अगाडि बढ्नु पर्छ भन्ने कुरा समूहमा बसेर महिलाले सिकेका छन् । लक्ष्मी दलित महिला समूहकी सदस्य कुश्मा सुनारले वडा सदस्य जित्न नसक्दा आफूले सोचेका कुरा पूरा गर्न नसकेको बताउनुभयो । ऐलानी जग्गामा बस्ने पिपिरीका दलितले भोगेका विविध समस्या समाधान गर्न कुश्मा राजनीतिमा अगाडि आउनु भएको थियो ।

किन रिसाउँछ, उल्लु मुसहर ? - केशव दाहाल

विभेद बिरुद्ध अभियान, पुस १२   - प्रिय केपी ओलीज्यू ! तपाईलाई अत्यन्तै सानो प्रश्न सोध्न मनलाग्यो । तपाईलाई थाहा छ, ‘किन रिसाउँछ, उल्लु मुसहर ?’ मैले यो प्रश्न कमरेड प्रचण्डलाई सोधिन । काजी शेरबहादुर देउवालाई सोध्ने त प्रयोजन नै रहेन । कसलाई सम्बोधन गर्ने भन्ने सानो छलफलपछि उल्लु मुसहरले नै भन्यो, केपी ओलीलाई सोध ।
खासमा उल्लु मुसहरको आज्ञा शिरोपर गर्दै म यो शीर्षप्रश्न ओली महोदय, तपाईको नाममा जाहेर गर्छु ।
सुरुमै भनिदिन्छु, म तपाईको कार्यकर्ता होइन । म ती दर्जन बुद्धिजीवीभित्र पनि पर्दिन, जसले निर्वाचनमा बाबुराम भट्टराई विरुद्ध वक्तव्य निकाले । म शेरबहादुरको मान्छे त हुँदै होइन । असली कुरा के भने यो चुनावमा मैले तपाईलाई समर्थन गरिन । तपाई अलिक बुझिनसक्नुको हुनुहुन्छ भन्ने लाग्छ । तपाई बर्चस्ववादी मान्छे हो । बर्चस्ववादी मान्छे मलाई निरंकुश ‘साँढे’जस्तै लाग्छ, जसले अरू गोरु, बहर, बाछाबाछी र गाईको अस्तित्व मान्दैन । उदाहरण अलिक खराब दिएँ, माफ गर्नुहोला । मान्छे अस्तित्ववादी हुनुपर्छ, तर बर्चस्ववादी हुनु कुनै अर्थमा राम्रो होइन । यद्यपि आफ्नो बर्चस्व स्थापित गर्न तपाई सिपालु हुनुहुन्छ । तपाईका कार्यकर्ताहरू भन्छन्, ‘तपाई रमाइलो हुनुहुन्छ’ । हो, यो सत्य हो कि तपाई सिधा कुरा गर्नुहुन्छ र सपना देख्नुहुन्छ । मान्छेलाई सपना देख्न उत्प्रेरित गर्ने तपाईसँग कला छ । त्यसैले म पनि तपाईको कुरा मनपराउँछु । यद्यपि म नढाँटी भन्छु, यो चुनावमा मैले तपाईको पार्टी र गठबन्धन कसैलाई पनि भोट हालिन । एकजना शक्तिशाली मान्छेलाई हाकाहाकी यसो भन्न पाउने व्यवस्था हामीले नै ल्याएका हौं । अर्को कुरा पनि सुनाउँछु, यो चुनावमा तपाईलाई उल्लु मुसहरले पनि भोट हालेन । यही कुरा सुनाउन मैले तपाईलाई सम्बोधन गरेको हुँ ।
कुरा थालौं, उल्लु मुसहरबाट । उल्लु मुसहर, कस्तो हाँसउठ्दो नाम । यो नाम उसलाई सानैमा उसको मालिकले राखिदिएको । उसको भागमा किन यस्तो नाम पर्‍यो ? कसैलाई थाहा छैन । उल्लुलाई मैले चिनेको १७ वर्ष भयो । १७ वर्षपछि यो चुनावमा मैले उसलाई फेरि भेटेंँ । ऊ सुनसरीको कुनै गाउँमा धान काट्दै थियो । उमेर ५० वर्षजति हुँदो हो । तर निकै बूढो देखिन्थ्यो । अनुहारमा अनगिन्ती मुजा । उसका आँखा सुरुदेखि नै गहिरा थिए । तर ती गहिरा आँखामा कुनै उत्साह, उमंग र सपना थिएन । तपाईले शासन गर्ने देशको सबैभन्दा निर्धो नागरिक हो ऊ । उसको खास विशेषता छ, ‘ऊ रिसाइरहन्छ’ । यसपाली पनि भेट हुनासाथ ऊ मसँंग झगडा गर्न तम्सियो । मैले भने नरिसाउ उल्लु, अब देश फेरिन्छ । गरिबका दिन आउँछन् । उसले पत्याउनै सकेन । ऊ त जोडले औंला नचाउँदै नेताहरूलाई गाली गर्न पो थाल्यो । त्यसपछि उसले जे भन्यो, कुरा त्यही नै सबैभन्दा महत्त्वपूर्ण छ ।
ऊ जन्मजात एमाले । २०४८ सालदेखि निरन्तर एमालेलाई भोट हाल्यो । उसलाई त्यो बेला कम्युनिष्ट भनेपछि त्यसै–त्यसै माया लाग्ने । उसको घर नजिकै प्रधानपञ्चको घर थियो, तर पनि उसले एमाले नै रोज्यो । तर ०६४ सालमा उसले एमालेभन्दा पक्का कम्युनिष्ट माओवादीलाई देख्यो । हँसिया–हथौडामा भोट हालिदियो । तर यसपाली उसले वाम गठबन्धनलाई भोट हालेन । किनभने ऊ कम्युनिष्टहरूसँंग जोड रिसाएको छ । ऊ भन्छ– यसपाली मैले ‘बगावत’ गरेंँ । एउटा निर्धो नागरिकले ‘बगावत’ गर्‍यो त के बिगार्‍यो ? यसमा रिसाउने कुनै कुरा छैन । ओलीज्यू, कृपया आफूलाई भोट नहाल्नेहरूसँंग नरिसाउनु होला ।
ऊ भन्छ– ‘म सुकुम्बासी । एमालेले भन्यो– म धनीपुर्जा दिन्छु । मैले धनीपुर्जा पनि पाएँ । तर नक्कली पर्‍यो । त्यसलाई मैले पक्का पुर्जा बनाउन अनेक कोसिस गरेंँ । अनेक विन्तीभाउ गरेंँ । मेरो पैसा पनि फोकटमा खर्च भयो । तर काम बनेन ।’ ऊ गुनासो गर्छ कि ‘यस्तो दु:ख किन दियो, एमालेले’ ? त्यसैले उसको निष्कर्ष छ, ‘कम्युनिष्टहरू चिल्ला कुरा गर्छन्, काम गर्दैनन्’ । त्यसो त ऊ अझै पनि सुकुम्वासीमा बस्छ । हरेक रात ऊ आफ्नो नाममा घरघडेरी जोडेको सपना देख्छ । तर जब सपना भंग हुन्छ, ऊ भयंकर रिसाउँछ । केही वर्षअघि उसकी आमा बिरामी परिन् । उनी ६० वर्षकी विधवा थिइन् । तर गोल्छाकी आमाले पाउने वृद्धभत्ता नपाई उनी थलिइन् । उनी त्यही वर्ष बिरामी परिन्, जुन वर्ष तपाई बिरामी पर्नुभयो । ठिक त्यही वर्ष विद्या भण्डारी पनि बिरामी परिन् । त्यही वर्ष अनेकौं कमरेडहरू बिरामी परे । मन्त्रीहरू बिरामी परे । हाकिमहरू बिरामी परे । ऊ भन्छ– ‘सबैको उपचार भयो । सबै बाँचे । तर मेरी आमा मरिन् । किन ? उस्तै मान्छे कसैले सिटामोल खान नपाउने, कसैले उपचारकै लागि करोडांै राज्यकोष पाउने ? यस्तो पनि हुन्छ ?’ ऊ चित्तबुझ्दो जवाफ पाउँदैन । त्यसैले रिसाउँछ ।
उल्लु मुसहरका चारजना छोराछोरी छन् । ऊ भन्छ– ‘भगवानले दिए, मैले हात थापेंँ’ । तर ऊसँंग बालबच्चा पढाउने पैसा थिएन । जेनतेन अक्षर चिनाउन उसले केटाकेटीलाई प्राथमिक स्कुलमा पठाएकै हो । तर दलित भनेर असाध्यै छोइछिटो गरेकाले ३ वटी छोरी कोही पनि स्कुल जान मानेनन् । मालिकले भने, ‘छोरी पढाएर के काम ? १५ वर्ष पुगेपछि सबैको बिहे गरिदियो । एउटा छोरो छ, जसलाई उसले यताउता गरेर ८ कक्षासम्म पढायो । त्यसपछि उसले पनि पढ्न सकेन । भन्छ– ‘कपी, कलम, किताब के–केमा खर्च माग्छ, मसँंग दिने पैसा थिएन । उसलाई भनँे, नपढ ।’ यसरी उसको छोराले पनि स्कुल छोड्यो । स्कुल छोडेपछि छोरो २ वर्ष अर्काको घरमा चरुवा बस्यो । जब १७ वर्षको भयो, ऊ पंजाव गयो । उल्लु भन्छ– ‘सबैका छोराछोरीले तरक्की गर्दा मेरामात्र किन अलपत्र परे ?’ उसको दु:खेसो छ कि ‘उसको बाउ पनि हली, ऊ पनि हली र उसको छोरो पनि हली’ । तीन पुस्ता हली बन्नुपर्ने उसको भाग्यलाई हाम्रो लोकतन्त्रले किन फेर्न सकेन ? उसले मलाई भन्यो कि यो प्रश्न ओलीलाई सोधिदेऊ ।
मैले भेट्दा ऊ धान काट्दै थियो । केही छिनपछि हामी उसको घर गयौं । घर के भन्नु सानो झुप्रो । बर्खामा पानी चुहिन्छ । हिउँदमा शीत र सिरेटो पस्छ । न कोठा, न भकारी, न भान्सा । उसले सुनायो, चिसोमा उसलाई हड्डी दुख्ने रोग लागेको छ । उसकी जहानलाई दम छ । भन्छ, ‘वर्ष नकाटिकनै पो मरिन्छ कि के हो ?’ गतवर्ष असाध्यै बिरामी परेर एकदिन ऊ नजिकैको स्वास्थ्य केन्द्र गयो । त्यही वर्ष, जुन वर्ष ओली कमरेड तपाई प्रधानमन्त्री हुनुहुन्थ्यो । स्वास्थ्य केन्द्रले भन्यो– ठूलो अस्पताल जाऊ । ऊसँंग उपचार गर्ने पैसा भए पो अस्पताल जानु । कुरा नबुझ्ने डाक्टर देखेर उसलाई जोड रिस उठ्यो । त्यसो त त्यही दिन हो, उसलाई भगवानसंँग पनि रिस उठेको । नेताहरूसंँग पनि रिस उठेको । सबैभन्दा धेरै त्यो दिन उसलाई कम्युनिष्टहरूसंँग रिस उठ्यो, जसलाई उसले पटक–पटक भोट हालेको हो । भन्छ, ‘मैले भोट हालेका नेताहरूसँंग नरिसाएर कोसँंग रिसाऊँ ? पुरानो दिन सम्भँmदै उसले भन्यो, ‘यसपाली कसैलाई पनि भोट हाल्दिन । सबका सब ठग ।’
गतवर्ष उल्लु मुसहरको छोरो पंजावबाट आयो । भन्यो– पासपोर्ट बनाइदेऊ, ‘अरब’ जान्छु । पासपोर्ट बनाउन नागरिकता चाहिने, सिफारिस लिनुपर्ने, सीडीयो कार्यालय धाउनुपर्ने, काठमाडौं जानुपर्ने के–के हो के–के ? उसलाई सरकारी काम भनेपछि त्यसै डर लाग्छ । हाकिमले घुस माग्छ, पुलिसले घुस माग्छ, नेताले खर्च माग्छ । सबैले हेप्छन् । त्यसैले छोरालाई भन्यो, ‘पर्दैन अरब जान’ । छोरो फेरि पन्जाव नै गयो । उसलाई लाग्छ, ‘यहाँ बरालिएर बस्नुभन्दा त उतै ठिक’ । त्यसो त उल्लु मुसहरका सपनाहरू ससाना छन् । भन्छ– ‘बस, म अलिकति कमाउन चाहन्छु । जहानको उपचार गर्न’ । ऊ आफ्नी मुसहरनीलाई असाध्यै माया गर्छ । तर कसरी कमाउने उसलाई थाहा छैन । अरूको खेतमा जनबनी गर्नेले कसरी पो कमाउने होला ? उसले सुनेको थियो, भूमिसुधार हुन्छ । किसानले जमिन पाउँछ । ऊ जस्तो पक्का किसानले नै त हो, जमिन पाउने । गम्छ, ‘जमिन भए यसो बैंकमा धितो राखेर पैसा निकाल्न सकिन्थ्यो । त्यो पैसाले छोरो किसानी गथ्र्यो । म उपचार गर्न अस्पताल जान्थेंँ’ । तर भूमिसुधार भएन । यहींनेर आफ्नो सपनाको हलो अड्किएको उसलाई लाग्छ । त्यसैले ऊ जोडले रिसाउँछ । उसलाई लाग्छ, रिसाउनुउसको अधिकार हो ।
ओलीज्यू † उल्लु मुसहर व्यक्तिगत रूपमा तपाईसंँग अझ धेरै रिसाएको छ । भन्छ, ‘केपी ओली ठूलठूलो विकासको कुरा गर्छन् । घर–घरमा ग्यास चुलो । समुद्रमा जहाज । पूर्व–पश्चिम रेल । ठूला सडक । हुनेखानेलाई चाहिएको त यस्तै होला । तर त्यस्तो विकास मुसहरलाई के काम ? मलाई त ससानो कुरा चाहिएको छ । मलाई सुकुम्वासीको पुर्जा । खेती गर्न खेत । नाति–नातिना पढाउन सस्तो र राम्रो स्कुल । नि:शुल्क उपचार’ । उसले मलाई भन्यो कि ‘गरिबलाई पहिले न्याय चाहियो हजुर । त्यसपछि रेलको कुरा गरौंला । पहिले जमिनको कुरा गरौं हजुर, पछि चन्द्रमाको कुरा गरौंला’ । साँच्चै भन्ने हो भने मलाई उसको कुरा मनपर्‍यो र मैले तपाईलाई सम्बोधन गर्न मञ्जुर गरेँ । ऊ भन्छ, ‘मलाई नेताहरूसँग विश्वास छैन । मलाई केपी ओलीसँग पनि विश्वास छैन ।’
प्रिय ओली महोदय † यदि उल्लु विनाकारण रिसाउँछ भन्ने तपाईलाई लाग्छ भने ठिक छ, उसलाई सजाय दिनुहोला । तपाईका सेवकहरूले भन्न सक्छन्, एकजना सम्मानित नेतासंँग रिसाएर नाथे मुसहरले जघन्य अपराध गर्‍यो । त्यसो हो भने हाम्रो लोकतन्त्रले उसलाई जे सजाय तोकेको छ, सजाय दिनुहोला । अन्यथा उसको रिस स्वाभाविक लाग्छ भने उसलाई हँसाउनु होला । तपाई सम्भवत: आगामी सरकारको शक्तिशाली प्रधानमन्त्री पनि हो । अत: अन्त्यमा सानो सुझाव दिन्छु, ‘कुराले चिउरा भिज्दैन हजुर । कृपया काम गर्नुहोला’ ।
कान्तिपुर दैनिक बाट साभार 

झनै उपेक्षित मधेसी दलित - भोला पासवान

विभेद बिरुद्ध अभियान, पुस १२   - प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फ मत परिणाम सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन एकल संक्रमणीय प्रणालीद्वारा गर्ने कि बहुमतीय प्रणालीबाट गर्ने भन्नेमा मुख्य दुई घटकबीच विवाद छ । यो आलेखमा संघीय तथा प्रादेशिक सांसदमा दलित प्रतिनिधित्व र दलितभित्र पनि मधेसी दलितको प्रतिनिधित्वका सवालमा केन्द्रित छ ।

संवैधानिक व्यवस्था : देशैभरबाट संघीय र प्रादेशिक संसद्मा कुल ८८४ जना सांसद छनोट हँुदैछन् । राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी संघीय संसद् दुई सदनात्मक हुने कानुनी व्यवस्था छ । ५९ सदस्य राष्ट्रिय सभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपतिक गरी कुल २७५ जना प्रतिनिधिसभा सदस्य र ७ वटा प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक गरी कुल ५५० जना प्रादेशिक सांसद छनोट हुने संवैधानिक व्यवस्था छ ।

प्रत्यक्षमा दलित ः प्रतिनिधि सभातर्पm ३ जना र प्रदेशसभामा ४ जना दलित पुरुष निर्वाचित भएका छन् । वामगठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका तीन जना पहाडी दलित उम्मेदवारमध्ये तीनै जना निर्वाचित भएका छन् । तर, मधेसी दलितको बाहुल्य रहेको सप्तरी र सिराहा जिल्लामा एमाले, कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राजपा नेपालमध्ये कुनै पनि पार्टीले एकजना पनि मधेसी दलितलाई प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारसम्म बनाएनन् । अझ मधेसवादी दलहरूले त देखावटीका लागि जनाधार कमजोर भएको पहाडी जिल्लामा जम्मा ५ जना पहाडी दलितलाई उम्मेदवार बनाएका थिए । नेपाली कांग्रेसले प्रतिनिधि सभामा एक जना दलितलाई उम्मेदवार बनाउन रुचि देखाएन । त्यसो त उसले दोस्रो सविधान सभामा पनि प्रत्यक्षतर्फ कुनै पनि दलितलाई उम्मेदवार बनाएको थिएन ।

प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० गरी कुल ४९५ दलितहरूको उम्मेदवारी रहेकोमा प्रत्यक्ष निर्वाचितमा जम्मा ७ जना अर्थात् १.४ प्रतिशत निर्वाचित भएको देखिन्छ । जनसंख्याको हिसाबले कुल प्रादेशिक जनसंख्याको हिसाबमा प्रदेश नं. १, ३, ४ र ५ मा क्रमशः १०, ५.८४, १७.४ र १५.११ प्रतिशत दलितहरू भए पनि यी तीनवटै प्रदेशमा एक जना पनि दलित प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचित भएनन् । यद्यपि, प्रदेश नं. २, ६ र ७ मा क्रमशः १७.३, २३.३ र १७.३ दलित जनसंख्या रहेकामा क्रमशः २, ८ र ३ प्रतिशत दलितहरू निर्वाचित भए ।

दलितको प्रतिनिधित्व ओरालोतर्फ ः प्रतिनिधिसभाको १५ जना दलित कोटामा कांग्रेसले एक र माओवादीले दुईजना मधेसी दलितलाई मात्रै समावेश गरे । एमालले मधेसी दलित महिला १ र पुरुष ३ जना सहित १५ जना, संघीय समाजवादी फोरमले मधेसी महिला २ र  पुरुष २ सहित १५ जना तथा राजपा नेपालले मधेसी दलित महिला ६ र पुरुष ४ गरी १० जनाको नाम समानुपातिकमा राखेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले ६÷६ वटा सिट पाउने देखिन्छ । प्रतिनिधि सभामा एमाले र कांग्रेसले घटीमा ५ र बढीमा ६ जना, माओवादी केन्द्रले २ जना दलितलाई सांसद बनाउने देखिन्छ । संघीय समाजवादी फोरम र राजपा नेपाल १० प्रतिशतभन्दा कम सिट जितेकाले कानुनी रूपमा दलित, जनजाति, मुस्लिम र खस¬–आर्यलाई सांसद नबनाए पनि हुने संवैधानिक व्यवस्था छ ।

एमाले, कांग्रेस र माओवादी केन्द्रबाट दलित कोटामा सांसद हुनेहरूको सूचीमा पहाडी दलितको मात्रै चर्चा छ । दलितको कुल जनंसख्यामा मधेसी दलित ३५ प्रतिशत छन् । एमाले र माओवादीबाट प्रत्यक्षमा पनि पहाडी दलित निर्वाचित भएकाले कांग्रेस र एमालेले कम्तीमा २ जनाका दरले र माओवादी केन्द्रले एक जना मधेसी दलित प्रतिनिधित्व पठाउनुपर्ने कानुनी बाध्यता छ । तर, उनीहरू संविधानको मर्म विपरीत पहाडी दलितलाई मात्रै समानुपातिक कोटामा ल्याउँदैछन् ।

एमालेले प्रतिनिधिसभामा एक महिलासहित ३ जना मधेसी दलित सूचीमा राखेको छ । एमालेले दलिततर्फको सूचीको प्राथमिकतामा मधेसी दलित रामप्रित पासवानलाई राखेकाले कम्तीमा एक मधेसी दलित पुरुष र एक मधेसी दलित महिला एमालेले प्रतिनिधिसभामा पठाउनेमा मधेसी दलित समुदाय विश्वस्त छ । नेपाली कांग्रेस र माओवादीले १५ जना सूचीमा एकजना मात्रै मधेसी दलित राखेकाले संविधानको मर्म अनुसार प्रतिनिधिसभामा पठाउनुपर्ने कानुनी, नैतिक सबै खाले दबाब छ ।

जनसंख्याको अधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व खोज्ने राजपा र संघीय समाजवादी फोरमलाई कानुनी बाध्यता नभए पनि मधेस आन्दोलनमा ११ जना मधेसी दलितको सहादतले कम्तीमा पनि एक उक जना मधेसी दलितको प्रतिनिधित्व सुनिश्चित गराउनेमा मधेसी दलित आशावादी छ ।

प्रदेशसभाको समानुपातिकको २२० जना सांसदमा प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशमा मधेसी दलितको प्रतिनिधित्व हुने सम्भावना देखिँदैन । प्रदेश नम्बर २ मा पनि ३ देखि ४ जनासम्म मात्र मधेसी दलित प्रदेश संसद्मा पुग्ने देखिन्छ । कांग्रेस र माओवादीले २ नम्बर प्रदेशबाहेक अन्यमा मधेसी दलितलाई उम्मेदवार नै बनाएका छैनन् ।
एमालेले प्रदेश नम्बर १ मा एक जना मधेसी दलितलाई समानुपातिकको बन्दसूचीमा राखेको छ । एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर २ र १ मा मधेसी दलितलाई प्राथमिकता दिनुपर्छ । समाजिक न्याय र समानताका कुरा गर्ने केपी ओली र प्रचण्डले पनि दलितभित्र पनि पिँधमा पारिएका मधेसी दलितलाई समानुपातिक प्रतिनिधित्व गराउने कुरामा मधेसी दलितले बढी आशा राखेको छ ।

राजपा नेपाल र संघीय समाजवादी पार्टीले प्रदेश नं. ३ र ४ बाहेकका अन्य प्रदेशमा मधेसी दलितलाई उम्मेदवार बनाए । तर, प्रदेशको समानुपातिक परिणामअनुसार २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा उल्लेखनीय सिट प्राप्त नगरेका कारण उनीहरूकोे प्रतिनिधित्व हुने देखिँदैन । राजपाले प्रदेश नम्बर दुईमा मधेसी कोटामा एक मात्र दलित रामप्रवेश बैठालाई सूचीमा राखेको छ । तसर्थ राजपाले मधेसी दलित बैठालाई प्रदेश सांसद बनाउनुको विकल्प छैन । संघीय समाजवादी फोरमले पनि मधेसी दलितलाई प्राथमिकतामा राख्नुपर्छ ।

संविधानको धारा ४०(७)मा  दलितका लागि उपलब्ध हुने अवसर, सेवा सुविधामा दलितभित्र महिलालगायत सबै दलितले समानुपातिक रूपमा पाउने उल्लेख छ । तर, ठूलो राजनीतिक दल कांग्रेस, एमाले र माओवादी पार्टीले समानुपातिक सूचीमा मधेसी दलितलाई उपेक्षा गर्ने सम्भावना भएकाले अब मधेसी दलितले कानुनी उपचार खोज्न ढिला गर्नु हुँदैन । मधेसी दलित युवाहरूको एक टोलीले गत पुस ६ गते निर्वाचन आयोगलाई ध्यानाकर्षणपत्र बुझाउँदै मधेसी दलितलाई पनि जनसंख्याको आधार प्रतिनिधित्व गराउन माग गरिसकेका छन् । सोही मागका आधारमा आयोगले पाँचवटै दललाई पत्राचार पनि गरिसकेको छ ।

विकल्पको खोजी ः प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४ को परिच्छेद–५(२) मा दलले उपनियम (१) बमोजिम उम्मेदवारको बन्दसूची तयार गर्दा सम्बन्धित प्रदेशको भौगोलिक सन्तुलनलाई समेत ध्यान दिई जनसंख्याको आधारमा समावेशी सिद्धान्त बमोजिम सूची बुझाउनुपर्ने व्यवस्था गरेको थियो । तर सूची बझाउने क्रममै प्रदेश सभा सदस्य निर्वाचन नियमावली र निर्देशिका संशोधन गरी उपनियम (१) अगाडि ‘यथासम्भव’ शब्द राखिदिएर दलहरूलाई प्रदेशसभामा दलित, आदिवासी जनजाति, मुस्लिम र थारूको प्रतिनिधित्व कम हुने प्रतिगामी व्यवस्था गरेको छ । तसर्थ प्रदेशसभाबाट जनसंख्याका अधारमा दलित प्रतिनिधित्व हुन सक्ने अवस्था छैन ।

दलित आन्दोलनले दलितले पाउने सेवा सुविधामा मधेसी दलितलाई उनीहरूको जनसंख्याको आधारमा समानुपातिक हक लाग्ने कुरामा विवाद छैन । संविधानमा पनि यो कुरा लिपिबद्ध भइसकेको पनि छ । यस्तो अवस्थामा मुख्य दलले संविधान कार्यान्वयन गर्ने कि नगर्ने अर्को महत्वपूर्ण प्रश्नमा पनि उठेको छ ।
मधेस विद्रोह हुनुभन्दा अगाडि जसरी मधेसी समुदाय मतदाताको रूपमा सीमित थियो । ठीक यतिबेला दलितको अवस्था त्यस्तै छ । तर दलित अब मतदाता मात्रै होइन है ? हाम्रो पनि समान प्रतिनिधित्व चाहिन्छ, नभए हामी मतदान बहिष्कार गर्छौं भन्ने कुरा दलितभित्र पनि सबभन्दा पिँधमा पारिएका मुसहर समुदायले प्रतिनिधि तथा प्रदेशसभाको चुनाव बहिष्कार गरेर दलित आन्दोलनको बिगुल फुकिसकेको छ । पश्चिमी मधेसमा हजारौँका संख्यामा मधेसी दलित युवाहरू एकजुट भएका छन् । पूर्वदेखि पश्चिम सबैतिरका दलितहरू कानुनी र राजनीतिक दुवै लडाइँ लड्न तयारी गर्र्दैछन् ।

अबको प्रतिनिधि, प्रदेशसभा र राष्ट्रियसभा कुल ८८४ जना सांसदमा समानुपातिक सूची कार्यान्वन भएको खण्डमा धेरैमा ४३ जना अर्थात् ४.८ प्रतिशतभन्दा माथि पुग्दैन । १० वर्षे जनयुद्ध, २०६२÷०६३ जनआन्दोलन र मधेस विद्रोहपछि संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधानले पहिलो र दोस्रो संविधानसभाभन्दा पनि कम दलित प्रतिनिधित्व हुने व्यवस्था कायम गरेको छ । यो समग्र दलित आन्दोलनका लागि घाटा हो ।
मुख्य राजनीतिक दलहरूको यस्तो प्रतिगामी कदमविरुद्ध मधेस र पहाडका दलित एक जुट भएर आन्दोलनमार्फत संविधान संशोधन गर्न जोड दिनुपर्छ । यस सन्दर्भमा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका दलित भ्रातृसंगठनका दलित नेतृत्वमा पछिल्लो समय सहमत देखिन्छ ।

एमाले, कांग्रेस, माओवादी होस् या राजपा तथा फोरम नेपाल मधेसी दलितलाई यस पटक उनीहरूको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व नगराएको खण्डमा कानुनी लडाइँ त लड्नुपर्छ नै सिंगो मधेसमा अबको ५ वर्षसम्म यी दलका सांसद तथा नेताहरूले गर्ने कार्यक्रम बहिष्कार गर्नुपर्छ । पार्टीका घोषणापत्र, विधान, नीतिगत दस्तावेज र भाषणमा मात्रै चिप्ला कुरा लेख्ने, बोल्ने तर समानुपातिक प्रतिनिधित्व नगराउने दललाई अबको ५ वर्षसम्म मधेसमा कालो झन्डा लिएर स्वागत गर्न मधेसी दलितहरू एकजुट हुुनुको विकल्प छैन । यो कुरालाई राष्ट्रिय राजनीतिक दलले मनन गरेको वेश । संविधान जारी भएपछिको स्थानीय, प्रादेशिक र प्रतिनिधिसभाको निर्वाचनपछि देखिने दलित प्रतिनिधित्वको अवस्थाले अब दलितहरूले वैकल्पिक राजनीतिक संगठन निर्माणतर्फ अग्रसर हुन सक्ने संकेत गरिसकेको छ ।नागरिक दैनिक बाट साभार 

दलित बस्तीमा चिसोको कहर, पराल ताप्दै, परालमै सुत्दै !

विभेद बिरुद्ध अभियान, पुस १२   - शीतलहरले तराई–मधेसको जनजीवन प्रभावित भएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न समुदाय सकसमा छन् । न्यायो लुगाको अभावमा सुकुम्बासी र दलित समुदाय साँझ–बिहान परालको घुर ताप्छन् । राति परालकै ओछ्यान बनाएर सुत्न बाध्य छन् ।
सुत्ने ठाउँ अभावमा सिरहा धनगढी माई ११, मुसहर बस्तीकी गौरी सदायको ४ जनाको परिवार झुपडीमै रात काट्न बाध्य छन् । ज्याला मजदुरीबाट गुजारा चलाउँदै आएको उनको परिवारलाई शीतलहरले पिरोलेको छ । ‘जाडो महिनामा मजदुरीमा पनि जान सकिँदैन,’उनले भनिन्, ‘२ महिना साहुबाट ऋण लिएरै गुजारा चलाउँछौं ।’
भदैया बासाजोडीका भुरे सदाय परिवार पनि झुपडीमै रात काट्छन् । बाटोछेउको ६ धुर ऐलानीमा बनेको झुपडीमा ३ छोराबुहारी र नातिनातिनासहित १३ जना कोचिएर सुत्छन् । भुरेको परिवार ‘परालकै ओछ्यान र परालकै घुर’ बालेर रात काट्न बाध्य छन् । दलित बस्तीका अधिकांशको जाडो काट्ने मेलो भनेकै पराल र घुरको सहारा लिनु हो । गर्मीमा खुला ठाउँमासुतेर रात कटाए पनि जाडोमा रात कटाउन सकस बेहोर्नुपर्छ । लहान बहुमुखी क्याम्पसका मनोविज्ञान विभागका उपप्राध्यापक कन्हैया भट्ट अशिक्षा र गरिबीको पराकाष्ठा, घरको बनावट र प्रकृतिलाई आफ्नो पहुँचमा राख्न नसक्दा दलित समुदाय प्रताडित भएको बताउँछन् ।
दलित अधिकारकर्मी उमेश विसुन्के नाजुक आर्थिक अवस्थाकै कारण चिसोमा गरिब, सुकुम्बासी परिवार बढी प्रभावित हुने बताउँछन् । ‘जाडोबाट अन्य समुदाय र सर्वसाधारण पनि प्रभावित हुन्छन्, तीमध्ये पनि विशेषगरी निमुखा, सुकुम्बासी परिवार बढी समस्यामा पर्छन्,’ उनले भने ।
कतिपय सर्वसाधारणले चिसोकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । सिरहाका स्थानीय अस्पतालमा चिसोजन्य रोगका कारण दैनिक ४५ भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको चिकित्सकले बताए ।
अर्का अधिकारकर्मी राजकुमार राउत कुर्मी तराईमा शीतलहरका बेला केही गरिब बस्तीमा पुगेर सीमितलाई कम्बललगायत राहत वितरण गरेर मात्र नहुने बताउँछन् । ‘यसका लागि दीर्घकालीन योजना चाहिन्छ,’ उनले भने, ‘तत्कालको राहत क्षणिक मात्र हुन्छ ।’ उनले शीतलहरबाट बच्ने उपायबारे सरकारले नै गरिब, दलित, सुकुम्बासी बस्तीमा जनचेतना अभियान सञ्चालन गर्नुपर्ने र न्यानो कपडा खरिदका लागि सहयोग गर्नुपर्ने सुझाव दिए ।
 शीतलहरबाट बच्न सतर्कता
सिरहाका गरिब तथा विपन्न वर्गलाई शीतलहरबाट जोगाउन जिल्ला प्रशासन कार्यालयले विशेष सतर्कता अभियान थालेको छ । चिसोबाट गरिब तथा विपन्न समुदाय प्रभावित हुन थालेपछि कार्यालयले सरोकारवाला निकायको सहयोगमा न्यून आय भएका त्यस्ता परिवारका लागि २ हजार थान कम्बल तथा न्यानो कपडा वितरणको तयारी थालेको छ । केही दिनदेखि बढ्दै गएको शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि प्रजिअ श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले साताभित्रै राहत प्याकेज वितरणको योजना बनाएको छ । जिल्ला वन कार्यालयले मुख्य बजार क्षेत्रमा दाउरा वितरण थालेको छ ।
 ‘गरिबलाई काल’
सर्लाहीका विपन्न मुसहर समुदायका लागि चिसो मौसम निकै कष्टकर हुन्छ । ओढ्ने र न्यानो कपडा अभावमा ती बस्तीमा जाडो प्रकोप बनेर आउँछ । चन्द्रनगर गाउँपालिकाको अति विपन्न मुसहर बस्तीमा झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने धेरै छन् । साँझबिहान पराल बालेर आगो ताप्ने र राति परालकै बिछ्यौनामा सुतेर जाडो छल्ने दिनचर्या जस्तै बनेको छ ।
चन्द्रनगर ३ का श्याम माझी तराईको पोल्ने घामको तुलनामा चिसो मौसम ज्यादै कष्टकर हुने गरेको बताउँछन् । ‘गाउँपालिकाभरिमा ५ सयबढी घरधुरी मुसहर छन्,’ उनले भने, ‘जाडो काट्न सबैलाई उस्तै समस्या छ ।’ झुप्रोमा बाख्रापाठा र मानिस सँगै सुत्नुपर्छ । चिसो छेक्ने प्रमुख अस्त्र भनेकै पराल हो । परालको ओछ्यानमा सुत्ने र त्यसैको गुन्द्री, चटाई ओढ्नु उनीहरूको बाध्यता हो । सम्पत्तिको नाममा पशुबस्तु मात्र छन् । चोरिने डरले भित्रै बाँध्छन् ।
दैनिक मजदुरी गरेको न्यून ज्यालाले खानै ठिक्क हुन्छ । जाडोमा कपडा किन्ने पैसा नै नभएपछि परालकै भरमा रात कटाउनुपर्ने अवस्था रहेको माझीले बताए । ‘कुनै पनि कपडा एउटा सिजनभन्दा बढी टिक्दैन,’ उनले भने, ‘कपडा र सिरक राख्ने ठाउँ नभएर हरेक वर्ष नयाँकिन्नुपर्ने हुन्छ । मजदुरी गरेको पैसाले किन्न सक्ने अवस्था छैन ।’
अधिकांश ऐलानी जग्गामा बसोबास गर्छन् । बिहानबेलुका पराल बालेर राति अबेरसम्म ताप्छन् । र, त्यही परालमा सुतेर जसोतसो रात कटाउँछन् । मुसहर समुदायका अगुवा पाचु माझीले चेतना र धन अभावले गरिब बस्तीमा जाडो दैवी विपत्तिकै रूपमा आउने गरेको बताए ।
गर्मी महिनाको टन्टलापुर घाममा काम गर्न सजिलो मान्ने मुसहर समुदायलाई जाडोले भने सताउने गरेको उनी बताउँछन् । ‘शीतलहरचलेका बेला काममा समेत जान नसक्ने अवस्था हुन्छ,’ उनले भने, ‘दिनभर आगो तापेर जीउ तताउनुपर्छ । न्यानो ओढ्ने नभएर रातभरि जीउ नतातेपछि भोलिपल्ट काम गर्न सक्दैनन् । रोगव्याधि नलाग्ने भने पनि पोसिलो खाना र न्यानो कपडा अभावमा मुसहर समुदाय भने जाडोकै बेला बढी बिरामी पर्छन् ।’
न घर न ओछ्यान
वीरगन्ज महानगर १७ अलौंकी ७० वर्षीया एकल महिला घोघरी देवी चमइन सोमबार साँझ घाँस काँटेर आउँदै थिइन् । घरमा पशुबस्तु नपालेकी उनले छिमेकीका लागि घास काटेर ल्याएको बताइन् । ‘के गर्नु म एक्ली विधवा,’ उनले भनिन्, ‘छिमेकीलाई यति घाँस दिए बेलुकाको छाक टर्छ । रातभरि चिसोले ठिहिरिए पनि सुत्न भोको पेटले कहाँ सकिन्छ र ?’
घोघरीकै जस्तो पीडा टोलकी अर्की वृद्धा रामपति देवी रामले पनि सुनाइन् । ‘घरमा चार जना छौं,’ ७२ वर्षीया रामपतिले भनिन्, ‘हाम्रो पनि सिरक र डस्ना त पराल नै हो नि बाबु । कहाँबाट ल्याउनु कम्बल, सिरक र डस्ना ।’
भmन्डै सय परिवार बसोबास गर्ने चमारटोलका अधिकांश घरधुरीको यही पीडा छ । पश्चिमबाट चल्ने चिसो सिरेटोको कहर न उनीहरूको फुसको घरको छानो र भित्ताले रोक्न सक्छ, न परालको सिरक र डस्नाले नै । मजदुरी गरेर जीविका चलाउने टोलवासी बिहान घाम नछिप्पिउन्जेलसम्म परालको घुरको सहारामा हुन्छन् । जाडो छल्न अधिकांश टोलवासीको आङमा स्वेटर, ज्याकेट त परेकै छैन । अधिकांश पुराना थोत्रा र पातला कपडाको भरमा जीवन गुजारिरहेका छन् ।
तराईमा बर्सेनि आउने शीतलहर र जाडोले सर्वाधिक पीडा दिने यहाँका कथित दलित समुदायलाई नै हो । उनीहरूसँग न त जाडोमा टाउको लुकाउन पक्की घर नै हुन्छ । न रातमा तातो ओछ्यान । जाडो आफूहरूका लागि बर्सेनि कहर बनेर आउने स्थानीय जलिल पवरियाले बताए । ‘हामी गरिब असहायका लागि त गर्मी मौसम नै राम्रो, जहाँ सुते पनि हुन्छ, आङ नाङ्गोभए पनि हुन्छ,’ उनले भने, ‘जाडोमा सिरक डस्ना र स्वेटर–ज्याकेट हामीले कहाँ पाउनु ।’
यस्तो जाडोमा आफूहरूको जीवन कष्टकर बन्दा पनि सरकार त के गाउँका नेता र अगुवाहरूले पनि पीडा नबुझिदिने गरेको गुनासो उनले सुनाए । ‘अरू त परै जाऊन्,’ जलिलले भने, ‘३ महिनामा २ पटक हाम्रो दैलोमा भोट माग्न आउने नेताहरू अहिले कता हराए पत्तै छैन ।’

कान्तिपुर दैनिकमा प्रकासित सिरहाबाट भरत जर्घामगर, सर्लाहीबाट अमन कोइराला र पर्साबाट शंकर आचार्यको रिपोर्ट

यी हुन् कांग्रेस समानुपातिक तर्फबाट माननीय बन्नेहरु, दलित समुदाय बाट को को पर्दै ?

विभेद बिरुद्ध अभियान - पौष १२ -प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ४० सिट पाउने निश्चित भएको छ । जम्मा ६३ सिट जितेको कांग्रेसबाट प्रतिनिधिसभामा कम्तिमा एक तिहाई अर्थात २१ जना महिला निर्वाचित हुनुपर्छ ।
कांग्रेसको प्रत्यक्षबाट एकजना पनि महिला नजितेकाले संविधानअनुसार समानुपातिकबाट मात्र एक तिहाइ पुर्‍याउनुपर्ने हुन्छ । समग्रमा कम सिट जितेकोले कांग्रेसले अरु दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै १९ जना पुरुष छनौट गर्न पाउने भएको छ । 
एमालेले समानुपातिकबाट ३ जना र माओवादीले केन्द्रले २ जना मात्र पुरुष निर्वाचित गर्न पाउनेछन् । तिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकबाट बन्द सूचिमा रहेका उम्मेदवार निर्वाचित गर्दा क्रमसंख्या अनुसार नै निर्वाचित गर्नुपर्छ ।
त्यस्तै कानुनमा उल्लेख भएको बमोेजिम सातवटा क्लष्टरको अनुपात अनुसार छनोट गर्नुपर्ने बाध्यता पनि छ । जसमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाती २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेशी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्छ ।
महिला २१ जनामा  
खस आर्य-७
सुजाता कोइराला
पुष्पा भुषाल गौतम
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा
रुक्मणीदेवी कोइराला
आदिवासी जनजाति-६  
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बु
हिरा गुरुङ
मीना सुब्बा
सुवर्ण ज्वारचन
दलित -३
सुजाता परियार
लक्ष्मी परियार सेवा
विमला नेपाली
मधेसी -३
सीतादेवी यादव
चित्रलेखा यादव
मिनाक्षी झा
थारु वा मुस्लिम -१
पार्वती डिसी चौधरी वा सर्वत आरा खान
पिछडिएको क्षेत्र-१ - हुम्लाकी रंगमती शाही
पुरुष तर्फका १९ जना
खस आर्य-६ 
बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बडु
किशोरसिंह राठैर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहनप्रसाद पाण्डे
आदिवासी जनजाती-५ 
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जीपछिरिङ लामा
दलित-३ 
मानबहादुर विश्वकर्मा
मीनबहादुर विश्वकर्मा
प्रकाश रसाइली
मधेसी-३ 
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नागेन्द्रकुमार राय
थारु वा मुस्लिम-१
पद्यमनारायण चौधरी वा अतहर कमाल मुसलमान
पीछडिएको क्षेत्र-१
अछामका रामबहादुर बिष्ट

Tuesday, December 26, 2017

१८ वर्षिया बिक ८ महिनाको गर्भ सहित अलपत्र परिन

विभेद बिरुद्ध अभियान, पुस ११  - प्रेम सुनार- गुल्मी , अर्घाखाँची जिल्लामा एक जना दलित युवतीले एक जना युवाको गर्व हो भन्दै न्यायका लागि सदरमुकाम धाए पनि न्याय पाउन नसकेर अलपत्र परेकी छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनकी १८ वर्षिया समिता बिक (नाम परिवर्तन ) ८ महिनाको गर्भ सहित अलपत्र परेकी हुन् ।उनले गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर २ , पिपलधारा जुम्लादीका १७ वर्षिय सन्तोष बिकले आफुलाई माया प्रेम गर्दै आएको र विवाह गर्ने प्रलोभन देखाई आफुलाई गर्भधारण गराएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सन्धखर्कमा उजुरी दिएकी छन् । उनले उजुरी दिएको एक हप्ता हुँदा पनि प्रहरीबाट न्याय पाउन सकेकी छैनन् । उनका आफन्तजनले आरोपित युवाका दाजु तथा वडा सचिव कमल बिकको मिलोमोतोमा अलपत्र पार्ने षडयन्त्र भएको गुनासो गरेका छन् ।

वडा सचिव बिकले भाई सन्तोषको बचाउका लागि डिएनए परिक्षणको माग गरे पछि युवती अलपत्र परेकी हुन् । गत मंसिर २२ गते सम्म म तिमीलाई विवाह गरी वुटवल लगेर जान्छु भन्दै पटक पटक सुनका गहना , मोवाईल र नगद समेत लगेर गएका सन्तोष विरुद्ध सुरुमा गुल्मीकै नयाँगाउँ प्रहरी चौकीमा पिडित युवतीका परिवारले जाहेरी दिएका थिए ।

पिडित युवतीका अनुसार त्यस पछि उनका दाजु कमल बिक र आमाले सन्तोषलाई घरबाट भगाएका थिए । दोश्रो पटक खन ईलाका प्रहरीमा उजुरी दिएको मंसिर ७ गते त्यहाँबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा दुवै पक्षलाई पठाईएको थियो । ८ महिना पार गरेकी गर्भवति उनलाई जिल्ला अस्पतालबाट रिफर गरी यति वेला भैरहवा पठाईएको छ । उनको अवस्था गम्भीर रहेको रुरुरेसुंगामा खबर छ  ।

निज सन्तोषले नै उनकी प्रेमीकाले आफुलाई ५ महिनाको गर्भ हुँदा देखि नै जानकारी गराएको बताएका छन् । तर उनले अहिले भने उनि सग शाररिक सम्वन्ध राख्दै नराखेको जिकिर गर्दै आएका छन् । तर उनिहरु दुई जनालाई धेरै स्थानमा बसेको देख्ने तमाम मानिसहरु रहेका छन् ।

एक पटक साँझपख खनको जंगलमा संगै बसेको र गत असार महिनामा सन्धखर्कको एक होटलमा बसेको देख्ने मानिस हुँदा हुँदै पनि उनले वसेकै छैनौं भनेर ढाँट्दै आएको र निज युवाको धोकेवाज प्रवृद्धिले गर्दा आफु आत्मा हत्या गर्ने सम्मको अवस्थामा पुगेको पिडित युवतीको भनई छ ।निजले उन दिदी वहिनी पर्ने एक जना महिला मार्फत प्रेमीकाले दिएको १५ हजार भन्दा बढि नगद रकम समेत लिएको छैन भने पछि प्रहरी कार्यालय भित्रै महिलाहरुले सन्तोषलाई घेराउ गरेका थिए । अस्लील शव्द सहितका ४२ वटा म्यासेज सन्तोषले ति युवतीको मोवाईलमा गरेका छन् ।

निज युवतको गर्भ सन्तोषको वाहेक अरु कसैको नभएका सप्रमाण पुष्टाई हुँदा हुँदै पनि हल्का रुपमा लिईएको पिडित युवतीको उजुरीमा उल्लेख छ । निजले मंसिर २२ गतेका दिन सम्म पिडित युवती संग र उनका आफन्त समेत संग आफ्नी श्रीमतिका रुपमा स्वीकार गर्दै गर्भपतन गराउनबाट समेत रोक्दै छिट्टै विवाह गर्ने प्रलोभन देखाएको र त्यस पछि दाजु कमल बिकको उक्साहटमा लागेर सम्र्पक गर्न छाडेको परिवारजनको आरोप छ । उनले प्रेमीका रुपमा उनि संग संगै तस्वीर समेत खिचेका छन् ।

स्थानियका अनुसार यस अघि पनि केहि युवती संग माया प्रेमको ढोंग रच्दै निज सन्तोष आपत्तीजनक अवस्थामा भेटिएको र भित्रभित्रै मिलाईएको थियो । उनका दाजु कमल बिकले पनि आफुलाई माया प्रेमको ढोङ्ग रच्दै फसाउने प्रयास गरेको भन्दै सन्धीखर्कमा एक युवती आएकी थिईन् । जिल्ला प्रहरी कार्यालय सन्धीखर्कका प्रमुख डिएसपी एकनारायण कोईरालाले आफुले मिलाउने प्रयास गरे पनि केटा पक्षले डिएनएको माग गरे पछि अदालती प्रकृयामा जान आफुले सुझाव दिएको बताए ।

प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले आफु यति वेला काठमाण्डौमा रहेकोले जिल्ला फर्केपछि आफुले मिलाउने प्रयासमा जुट्ने बताएका छन् । अन्तरपार्टी महिला सञ्जाल अघौखाँचीकी अध्यक्ष सुशिला गैरेले निज युवा र उनका दाजु वेईमान भएको प्रतिकृया दिईन् । उनले भनिन वेईमानहरुका कारण दलित युवतीलाई अलपात्र पारिदै छ , गर्भधारण गराउँदै डिएनएको माग गर्दै हिड्नेहरु विरुद्ध महिलाहरु सडकमा उत्रिदै छौं ।

 आरोपित युवाका दाजु कमल बिकले भाईले स्वीकार गरे आफुले नरोक्ने र आफुबाट कुनै किशिमका षडयन्त्र नभएको जिकिर गरे पनि युवती अलपत्र पार्नमा मुख्य गरी उनै सक्रिय हुँदै आएका छन् । उनि भुमिका स्थान नगरपालिका वडा नम्वर ९ का वडा सचिव हुन् । यसर्थ पनि उनि प्रहरी प्रशासनको पहुँचमा रहेकोले घटना दवाउन सक्रिय भएको पिडित पक्षको आरोप छ ।

६५ लाख मेरो समुदाय मुखमा सातु हालेर बस्ने वाला छैन- बिनिता सुनार

विभेद बिरुद्ध अभियान, पुस ११  - ।आफ्नो सीप र कला सिर्जना गर्ने हामी विश्वकर्मा समुदाय कसरी अछुत भयो अछुत त त्यो हो हाम्रो कला र सीपलाई अपहेलना गर्दै छ हाम्रो रगत पसिनामा रजाइ गर्न पल्केकाहरूले अब सोच्ने समय आएको छ ।
आरनमा हसिया बनाउने विश्वकर्मा दाइले घास काट्ने हसिया , खेत खन्ने कोदालि, मात्र बनाउने छैनन् सदियो वर्ष देखि लागेको अछुतको दाग मेट्नको लागि खुकुरि, बन्दुक, बनाउन बाध्य हुने छन् आफ्नो मुक्तिको लागि सडकबाट सदन सम्म हतियारसँग युद्ध गर्न बाध्य हुने छन् ।
आफ्नो कला र सीप सिर्जना गरी दुख परिश्रम गरेर खाने मेरो समुदायलाई अछुत भन्ने पाखन्डि ब्राहमण अब होसियार भए हुन्छ ६५ लाख मेरो समुदाय मुखमा सातु हालेर बस्ने वाला छैनन् ।आफ्नो मुक्तिको लागि मार्न र मर्नकोलागि तयार हुने छन् हतियार बनाउन हरुले हतियार चलाउने छैनन् भन्ने तिम्रो सोच मूर्ख हो तिमी बुझि राख हामी युद्धको अन्तिम चरणमा छौ ।
अन्तरजातिय बिहे गर्दा अजित मिजारलाई मारियो दलित भएकै कारण काभ्रेकि लक्ष्मी परियार दिदीलाई दिशा पिसाब खुवाइ कुटि कुटि मारियो पानी छोएको निहुंमा दिदी बैनी खुल्लेआम पिटिएका छन्, मन्दिर छोएको निहुंमा मन्दिरबाट लखेटिएको छ ।
यति मात्र कहाँ होर मन्दिरको देवता छोएको बापत जरिमाना गरिए को छ । ए पाखन्डि आज मेरो रगत उम्लेर आए को छ । कित सुद्र, हैन भनौ हैन भने छिनाइ दिनेछौ तिम्रो घाटि चेतना भय ।
दमाईले छोएको धजा चल्ने । विश्वकर्माले बनाएको घण्टी,त्रिशुल चल्ने । विश्वकर्माले बनाएको मूर्ती चल्ने । छोरीचेलिको जवानी चल्ने मैले छोएको पानी मात्र नचल्ने ।
ए पाखन्डि हामी त वैज्ञानिक हौ अछुत त तिमि ब्राहमणवाद हो जसले हात थापेर खाने गरेको छ । याद राख कयौँ पटक दक्षिणाको नाम मा मैले तिमी लाई पैसा दियकि छु मेरो पैसा चलि रहेको छ बाँस मेरो हातको पानी मात्र चलेको छैन!!

प्रदेश ७ को मुख्यमन्त्रीमा मानबहादुर सुनारको दाबी

विभेद बिरुद्ध अभियान, पुस ११  - ।मोहन विष्ट/कञ्चनपुर, ८ पुस । मानबहादुर सुनार दलित समुदायबाट प्रदेश ७ का एक मात्र सांसद बनेका छन् । सुनार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ सार्वजनिक गरेको प्रतिवेदनअनुसार दलित समुदायबाट उनले मात्र निर्वाचन जितेका छन् । वाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य बनेका सुनार माओवादी केन्द्रका नेता हुन् ।
०३२ देखि राजनीतिक जीवनयात्रा सुरु गरेका उनी ०४९ मा तत्कालीन दोधारा गाविस अध्यक्ष भएका थिए । ०५१ मा संसदीय चुनाव लडेका सुनार त्यतिवेला पराजित भए । कांग्रेसबाट बागी उम्मेदवार सुनारका कारण एमाले उम्मेदवार उर्वादत्त पन्त विजयी भएका थिए । पछि माओवादीमा प्रवेश गरेका उनी ०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
उम्मेदवार छनोट गर्दा राजनीतिक दलमा दलित, महिला र थारू समुदाय खासै प्राथमिकतामा पर्दैनन् । तर, माओवादीले कञ्चनपुरमा सन्तुलित उम्मेदवार अघि सारेको थियो । यस प्रदेशमा दलित समुदायबाट सुनार निर्वाचित भएपछि यहाँका दलित समुदाय हर्षित भएका छन् । आफ्नो समुदायको समेत प्रदेश सभामा प्रतिनिधित्व भएको भन्दै उनीहरू हर्षित भएका हुन् ।
कञ्चनपुरका रवि सार्कीले नीति–नियम बनाउने तहमा दलित समुदायको समेत प्रतिनिधित्व हुँदा आफ्नो समुदायलाई लाभ हुने बताए । दलित समुदाय आर्थिक, समाजिक रूपमा पिछडिएको बताउँदै उनीहरूको उत्थानका लागि ऐन–नियम बनाउने ठाउँमा यस समुदायको प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्रीमा दाबी
निर्वाचित भएपछि प्रदेश सभा सदस्य सुनारले प्रदेश ७ को मुख्यमन्त्रीमा आफ्नो पनि दाबी रहेको बताए । बिहीबार महेन्द्रनगरमा उनको सचिवालयले गरेको पत्रकार सम्मेलनमा सुनारले मुख्यमन्त्रीको जिम्मेवारी लिन तयार रहेको बताए । ‘मलाई पार्टीले जिम्मेवारी दिए, म पनि मुख्यमन्त्रीको जिम्मा लिन तयार छु,’ उनले भने, ‘मसँग सरकार चलाउने अनुभव छ ।’ आफू निर्वाचित भएपछि महाकाली नगरपालिका दोधाराचाँदनीमा बन्ने भनिएको सुक्खा बन्दरगाह निर्माणको काम अघि बढाउने उनले बताए ।
महाकाली र जोगबुढा नदीमा चारलेनको पक्की पुल निर्माण गरेर भारतसँग सीधै जोड्ने उनको योजना छ । यस क्षेत्रको गरिबी, बेरोजगारी अन्त्यका लागि सुक्खा बन्दरगाह निर्माण, औद्योगिकीकरणका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । महाकाली जोगबुढाको कटानी नियन्त्रणका लागि समेत गुरुयोजना बनाएर अघि बढ्ने उनले बताए ।-नयाँपत्रिका

दोधारा-चाँदनीको सुनार परिवारले इतिहास बनाए

विभेद बिरुद्ध अभियान, पुस ११  - ।महेन्द्रनगर, ७ पुस दोधारा चाँदनीका सुनार परिवारले नयाँ संरचनाको अनुसार राज्य व्यवस्थामा इतिहास रचेका छन् । दोधारा उद्यमी व्यवसायी मान बहादुर सुनारको परिवारले नयाँ संरचनाका अनुसार दुई ओटा निर्वाचनमा जित हात पारेका छन् । पाँच महिनाको अन्तरमा सुनार परिवार काका र भतिजा स्थानीय र प्रदेश सरकारमा पुगेका छन् ।
मंसिर २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट दोधाराका मान बहादुर सुनार प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । यस अघि स्थानीय तह निर्वाचनमा उनका काका विर बहादुर सुनार माहाकाली नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य सुनार माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य भएका हुन् । वाम गठबन्धनका साझा उम्मेदवार सुनारले काँग्रेसका बेल बहादुर रानालाई पराजित गरेका हुन् । उनीहरु दुबै जना माहाकाली नगरपालिका वार्ड नं. ७ का वासिन्दा हुन् । माहाकालीका १० र भीनपाका ७ वडा पर्ने प्रदेश सभा क्षेत्र नं. २ मा सुनारले १३ हजार ७ सय मत ल्याएका छन् ।
सुनारका काका भने काँग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् । उनले एमालेलाई चार सय मतले पराजित गरेका थिए । उनीसित एमालेका किशोर कुमार लिम्बू पराजित भएका हुन् ।
काँग्रेस छाडेर २०६५ मा माओवादी केन्द्र प्रवेश गरेका सुनारमा २४ वर्ष अघि साँसद हुने इच्छा जागेको थियो । काँग्रेसका वागी भएर लडेका उनले काँग्रेसका एनपी साउँदलाई पराजित गरी दोस्रो भएका थिए । माछो चुनाव चिन्ह लिएर लडेका सुनार अहिले २४ वर्षपछि एमाले र माओवादीको संयुक्त उम्मेदवार प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । काका भतिजा दुबैले जनजातिसंग प्रतिस्पर्धा गरेका छन् । दोधारा चाँदनीमा दलित र जनजाति मत बढी छन् । दोधाराका उद्यमी व्यवसायी सुनार यस अघि २०४९ मा तत्कालिन दोधारा गाविसको अध्यक्ष भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका राना उनीपछि २०५४ मा अध्यक्ष भएका थिए । २०६५ मा काँग्रेस छाडेका उद्यमी व्यवसायी सुनार अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति सदस्य छन् ।
दोधाराका सुनार परिवारले स्थानीय तह निर्वाचनबाट नयाँ व्यवस्थाको खुसी भित्र्याएका थिए । सुनारका काका विर बहादुर सुनार गत असारमा माहाकाली नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । काँग्रेसका सुनारले एमालेलाई चार सय मत अन्तरले पराजित गरेका थिए ।
दोधारा चाँदनीबाट काका भतिजाले एकपछि अर्को जित हात पारेका छन् । काकाले जितेको पाँच महिनामै सुनारले प्रदेश सभा सदस्य जितेर परिवारमा अर्को खुसी थपेका छन् ।
सुनारका काका भतिजालाई जितलाई समाज रुपान्तरणको संकेतका रुपमा समेत हेर्न थालिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कञ्चनपुरका अध्यक्ष दिलराम टमटाले स्थानीय तह निर्वाचनदेखि प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा देखिएको नतिजाले समाज रुपान्तरणको बाटोमा गएको देखिएको बताए । ‘यी दुई निर्वाचनले दलितमाथि समाजको दृष्टिकोण फेरिएको देखिएको छ, यो समाज रुपान्तरणको संकेत हो’ उनले भने । दुईटै निर्वाचनबाट राजनीतिमा दलितलाई अवसर चाहिएको देखिएको उनको भनाई छ ।
स्थानीय तह निर्वाचनमा दलित समुदायका उम्मेदवार वार्ड अध्यक्षदेखि मेयरसम्म निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिका वार्ड नं। ५ मा माओवादी केन्द्रका नेता गणेश बहादुर विक निर्वाचित भएका थिए । प्रदेश नं। ७ को एक मात्र धनगढी उप महानगरपालिकामा दलित समुदायका नृप ओडा मेयरमा निर्वाचित भएका छन् । काँग्रेसका ओड निर्वाचित भएको क्षेत्रमा अहिले प्रतिनिधि सभामा प्रधानमन्त्री आरजु राणा पराजित भएकी छन् ।
प्रदेश सभा सदस्य मान बहादुर सुनार माहाकाली नगरपालिकाका १० र भीमदत्त नगरपालिकाका ७ वार्डका मतदाताको मतले निर्वाचित भएका छन् । माहाकालीका १० र भीमदत्तका ७ वडामा बराबरी हाराहारी मतदाता छन् । सुनारले १३ हजार ७ सय मत पाएका छन् । ठिक २४ वर्षपछि माओवादी केन्द्र र एमालेको साझा उम्मेदवार भएर सुनारले जित हात पारेका छन् । यो जितसंगै उनले प्रदेश नं। ७ मा दलित समुदायबाट प्रदेश सभामा प्रत्यक्षमा चुनाव जित्ने रेकर्ड बनाएका छन् । नेकपा माओवादी केन्द्रमा प्रभावशाली मानिने सुनार प्रदेश सरकारमा मन्त्री बन्न सक्ने सम्भावना बढी छ । उनी मन्त्री बनेपछि देशभर अर्को नयाँ रेकर्ड कायम हुने छ ।

सुनारको निर्वाचन परिचालन प्रचार समितिका सदस्य नविन चन्दले भने,‘दलित समुदायमाथि वर्र्षौदेखि गरिएको विभेद र छुवाछुतको क्षतिपूर्ति वापत पनि वहाँलाई पहिला कुरा त मुख्य मन्त्री नै बनाउनु पर्छ, नत्र मन्त्री त दिनु नै पर्छ ।
सुनार परिवारलाई विजयको रथमा बसाउन गैर दलित समुदायका नेताले सबैभन्दा बढी भूमिका निर्वाह गरेका छन् । माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी बक्सर सुनारका चुनावी कमाण्डर थिए । जोशीका काका यज्ञराज जोशी काँग्र्रेसबाट क्षेत्र नं। ३ ९१० मा उम्मेदवार थिए । उनी एमालेका प्रकाश रावलसित पराजित भएका छन् । ‘काका र मेरो राजनीतिक सिद्धान्त मिलेन भने मैले वहाँलाई सहयोग गर्नु पर्ने अवस्था आउँदैन’ जोशीले चुनाव प्रचारका क्रममा भनेका थिए । प्रदेश सभा सदस्य सुनारले गैर दलित समुदायलाई विश्वासमा लिन समुदायभन्दा माथि उठेर प्रचार गरेका थिए । गैर दलित उम्मेदवारले समेत एजेण्डा नबनाएको ज्येष्ठ नागरिक भत्ता सबैलाई समान उमेरमा दिने सुनारको प्रचार थियो । अहिले दलितलाई ६० र अन्यलाई ७० वर्षमा भत्ता दिइने गरिएको छ । दलित र गैर दलित सबैले भत्ता पाउने उमेर घटाएर ५५ सम्म बनाउनु पर्ने उनको प्रचार थियो । सबै समुदायको मतदाताका साझा समस्या लिएर चुनावी प्रचारमा खटिएका उनी काँग्रेससित भने आक्रामक देखिएका थिए । उनले विभिन्न वडाका चुनावी प्रचारमा आफूले उठ्दा काँग्रेसको रुख ढलेको भाषण गरेका थिए ।
सुनारले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह सञ्चालन, मझगाउँ विमानस्थल सञ्चालन, जोगबुडा नदीमा पक्की पुल, महाकाली तटबन्ध, बाटोघाटो, शिक्षा स्वास्थ्य, विद्युत विकास लगायतलाई प्राथमिकता दिएका छन् । उनी भन्छन्, ‘अब राजनीतिक लडाई सकिएको छ, आर्थिक लडाई लड्नु परेको छ , त्यस विरुद्ध सबै जना मिलेर लड्छौ ।

एक वर्ष अघि वलात्कृत भएकी समिता नेपालीको रहस्यमय ढंगले मृत्यु

विभेद बिरुद्ध अभियान, प्रेम सुनार गुल्मी, पुस–११ ।अर्घाखाँचीमा एक वर्ष अघि वलात्कृत भएकी एक दलित युवती शनिवार रहश्यमय रुपमा मृत फेला परेकी छन् । भुमिका स्थान नगरपालिका वडा नम्वर ९, धनचौरकी १७ वर्षिया सुन्दरी नामले परिचित समिता नेपाली सोही नगरपालिका वडा नम्वर १० स्थित चरेपानी जंगलको विचमा पर्ने कालिका मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । आईतवार विहान अर्घाखाँची प्रहरीले जिल्ला अस्पताल सन्धीखर्कमा शव पोष्मार्टम गरी दाह सस्कारका लागि परिवारजनलाई बुझाएको छ ।

२०७३ साल माघ ७ गते सन्धीखर्कमा भएको अर्घाखाँची महोत्सव हेरेर उनले पढ्ने स्थान वाङलाको आँमडाँड तर्फ जाँदै गर्दा भुमिका स्थान नगरपालिका वडा नम्वर ४ धारापानी मकै डाँडाका अन्दाजी २५ वर्षिय राजु अधिकारीले मोटरसाईकलमा म पुराई दिन्छु भनेर चढाएका थिए । उनले समितालाई त्यस तर्फ लैजाँदै गर्दा नास्ता गरेर जाउँला भन्दै सन्धीकर्खको होटल डायमण्डमा पुराएका थिए । समितिले प्रहरीलाई दिएको वयान अनुसार नसालु पदार्थ सेवन गराई उनलाई अधिकारीले त्यस रात त्यही राखेर बलात्कार गरेका थिए । त्यही घटनाको रिसईवीका कारण अहिले उनको हत्या भएको हुन सक्ने बताउँ छन् सोही वडाका वडा सदस्य जनकलाल गैरे ।

वलात्कार को तेश्रो दिन माघ ९ गते जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा दर्ता भएको थियो । त्यस लगत्तै फरार आरोपी अधिकारी हाल सम्म वेपत्ता छन् । यहि पुष ६ गते एक वर्ष पुरा भई दोश्रो वर्षका लागि पक्राउ पुर्जी जारी गर्न कै दिन उनी मृत फेला पर्नु शुनियोजित रुपमा उनको हत्या गरिएको आशंका परिवारजन र अधिकारकर्मीहरुले गरेका छन् । दलित मुक्ति मोर्चा अर्घाखाँचीका जिल्ला संयोजक जंग परियार ।

वलात्कार पछि उनलाई गाउँमा असुरक्षा महशुस गरी परिपारजनले पढ्नका लागि ललितपुरमा रहेकी मामाकी छोरी मिनाको घरमा राखेर पढाउन पठाएका थिए । कक्षा ११ मा पढ्ने समितिता विहिवारका दिन विहान सदा झै पौने ६ वजेतिर मिनाको घरबाट कलेज जान्छु भन्दै हिडेकी थिईन् । कलेज जान्छु भने पनि समितिा आउट डे«शमा हिडेकी थिईन् । त्यस दिन दिउँसो ११ वजे तिर समितिलाई उनै दिदी मिनालाई फोन गरेर म अर्घाखाँची कै एक जना केटा संग विवाह गरेर ईन्डिया तिर जाँदै छु अहिले वुटवल आई पुगे भनेर फोन गरेकी थिईन् । दिदी मिनाले नपत्याएर किन ठट्टा गर्छेस छिटो घर आउ भनेर फेरी फोन गरेकी थिईन् । त्यस पछि समिताले फोन स्वीच अफ गरे पछि सम्पर्क विहिन भएकी थिईन् ।

यस घटनावारे परिवारको तर्फबाट संयोजन गरिरहेका समितिाका भिनाजु हुमबहादुर नेपाली उनी आर्फ झुण्डिएर आत्मा हत्या गरेको कुरा पत्याउनै नसक्ने बताउँ छन् । त्यस मन्दिरमा समिति झुण्डिएको वलेसी ५ फिट भन्दा बढि छैन् । त्यो भन्दा अग्ली समिता छन् । उनको घुँडा पहिल्लै नुगाईएको , थप डोरी भुँईमा पनि छ । कोखैमा चुरोटको ठुटा निभाएर राखिएको छ । नेपाली भन्छन घटनाको प्रकृतिले उनलाई पहिला डोरीले गला कसेर हत्या गरी झुण्डाईको छ । ।समिताका पिता विष्णुबहादुर नेपाली स्थानिय शिक्षक हुन् । छोरीको वलात्कार गरिएका व्यक्तिको षडयन्त्रमा छोरीको हत्या गरिएको आरोप उनले लगाउँ छन् ।

घटनाका सम्वन्धमा अर्घाखाँची प्रहरी प्रमुख डिएसपी एकनारायण कोईराला संग सम्पर्क राख्दा उनले अनुसन्धान भई रहेको बताए । हत्याको आशंक गर्ने आधारहरुः घटना स्थल भन्दा समितिको घरमा पुग्न करिव साढे दुई घण्टा लाग्छ । उनले बुटवलबाट ललितपुर स्थित दिदी मिनालाई फोन गरे पनि घरमा फोन गरेकी छैनन् । उनि आफ्नो मन खुशीले अर्घाखाँचाी घरमा आएको देखिन्न । उनि तिहारमा घर आएर गएकी थिईन् । घटनाको केहि दिन अघि मात्र आमालाई उनले फोन गरेकी रुरुरेसुंगामा खबर छ  ।

वलात्कार घटना पछि उनि पिता संग ठाडो शिर लगाएर बोल्न सक्दीनथिन् । त्यसैले पनि पिता संग फोन हुँदैनथ्यो । त्यस अघि दिदी मिना संग र परिवारका कुनै सदस्य संग कसै संग माया प्रेम रहेको सुईको उनले दिएकी थिईनन । वलात्कृत भए देखि उनी निकै सजग हुँदै आएकी थिईन् ।

   त्यस दिन एक्कासी घरबाट निस्कनु र दिउँसो एक कल फोन पछि स्वीचअफ गर्नु र र तिन दिन पछि मात्र जंगल विचको मन्दिरमा उनको शव फेला पर्नुले समितिलाई भारततिर वा वुटवलतिर बस्ने कसैले षडयन्त्रमुलक ढंगले लभ चक्कर चलाई रहेको र विवाह गरेर ईन्डियातिर जाने वाहनामा अपहरण गरी जंगलमा लगेर हत्या गरेको हुन सक्ने आशंका गर्न सकिन्छ । यस घटनाको गम्भीर रुपले अर्घाखाँची प्रहरीले अनुसन्धान गर्न जरुरी देखिन्छ । प्रहरी गभ्भीर नभएको भन्दै दलित अगुवा खड्ग दर्नाल लगायतका नेताहरुले आन्दोलन चर्काउने चेतावानी दिएका छन् ।

Monday, December 25, 2017

बाजुराको भूवापर्वमा स्थानीय बासीबीच झडप हुँदा आठ जना घाइते

विभेद बिरुद्ध अभियान, पुस १० - बाजुरा । बाजुराको गौमूल गाउँपालिका–४ मा बुधबार राति भूवापर्वमा स्थानीय बासीबीच झडप हुँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको बताइएको छ ।

घाइते हुनेहरुमा घोगालाका १४ वर्षीय रमेश रोकाया, ४० वर्षीय देबे कामी, ४५ वर्षीय मन कामी, २७ वर्षीय मंगल बिक, ५५ वर्षीय बिर्के कामी, ४५ वर्षीय अशबहादुर कामी , ६० वर्षीय भिके बिक र ४२ वर्षीय नरेन्द्र रोकाया रहेका छन्।घाइतेहरुका अनुसार आक्रमणकारीले धारिलो हतियार, ढुङ्गा, लाठी प्रहार गरेको बताइएको छ । 

घाइतेहरुको हात, टाउको लगायत शरीरका विभिन्न अंगमा चोटपटक लागेको छ।कुटपीटमा संलग्न रहेको भन्दै गौमूलका भुपाल रोकाया, धिरेन्द्र रोकाया, सुरत रोकाया, गोरख रोकाया, सागर रोकाया, घमण्ड रोकाया, धनगिरी रोकाया, लगायत १७ जना बिरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।नरेन्द्र रोकाया सुके रोकायाले सुरुमा बन्दुक पड्काएको प्रहरी जाहेरीमा उल्लेख छ।

सन्तानलाई विद्यालय पठाउन डोम परिवारले बेच्यो सुँगुर

विभेद बिरुद्ध अभियान, पुस १० - (एस.के. शान)सप्तरी । तराईमा बसोबास गर्ने डोम समुदायको मुख्य पेशा बाँसका सामग्री बनाउने र सुँगुर पाल्ने हो । जसको घरमा सुँगुर हुँदैन, उनीहरु आफूलाई कमजोर ठान्छन् । सुँगुरकै कारण डोम समुदायका बालबालिका पढ्न समेत पाउँदैनन् ।तर, आफ्नो छोराछोरीको भविष्य बिग्रेको ठहर गर्दै सप्तरीका एक डोम परिवारले पाल्दै आएको सुँगुर नै बेचेका छन् ।दिनभरी सुँगुर चराउने र साँझ बिहान घरको काम गर्ने डोम समुदायका बालबालिका त्या बाहेक बाँसको सामग्री बनाउन आफ्ना अभिभावकलाई सहयोग गर्ने गर्छन् ।

बोदे बर्साइन नगरपालिका वडा नम्बर १० खड्गपुर निवासी हरि मरिकले दुई जनता सन्तानको भविश्य अँध्यारोतर्फ उन्मुख भएको भन्दै सुँगुर बेचेका छन् । उनले दुबै सन्तानलाई नियमित विद्यालय पठाउन थालेका छन् ।उनीसँग चार वटा सुँगुर थियो । सुँगुरलाई चराउने काम १२ वर्षीया छोरी रुबी र ८ वर्षीय छोरा अमितको थियो । अमित आफ्नी दिदीसँगै सुुँगुर चराउन व्यस्त हुन्थे ।तर, दुबैको दैनिकी फेरिएको छ । न त सुँगुर चराउन जानुपरेको छ नत घरमै बाँसको सामग्रीमा सघाउनु परेको छ । दुबै जना नियमित विद्यालय जान्छन् र, घर र्फकेपछि सधैं गृहकार्य समेत गर्ने गर्छन् ।

सुँगुर चराउन पर्ने भन्दै दुबैलाई विद्यालयमा समेत भर्ना गरिएको थिएन । ‘हसर र उनकी पत्नीलाई आफ्ना सन्तानलाई विद्यालय भर्ना गराउन धेरै सम्झाउनुपरेको थियो’ शिक्षा क्षेत्रमा काम गर्ने आसमान नेपालकी सहजकर्ता ललिता चौधरीले भनिन्, ‘शैक्षिक सत्र २०७३ मा धेरै सम्झाएपछि बल्ल मरिक परिवारले छोरा छोरीलाई विद्यालयमा भर्ना गराए ।’स्थानीय आधारभूत विद्यालयमा भर्ना गराएपनि शुरुका दिनमा उनीहरु नियमित विद्यालय जाँदैनथे । कारण थियो सुँगुर । ‘सधैं सुँगुरलाई चराउनैपर्ने भएकाले रुबी र अमितलाई कहिलेकाहीँ विद्यालय नपठाई सुँगुर चराउन पठाउनैपर्ने हुन्थ्यो’ हरिले भने, ‘विद्यालय किन नपठाएको ? भनेर दैनिक दवाव आउन थालेपछि सुँगुर नै बेचे ।’

‘अरु मान्छे पढेर ठूलो-ठूलो पोष्टमा गएको हेरेको थिएँ’ उनले भने, ‘यसबारेमा धेरै सोंचे र श्रीमतिसँग समेत छलफल गरेर सुँगुर बेच्ने निर्णय गरेको हुँ ।’
सुँगुर बेचेपछि कसरी गुजारा चलाइरहेको छ त ? भन्ने प्रश्नमा उनी भन्छन्, “छोराछोरी स्कुल जान्छन् । आफू दुबै जना बाँसको सामग्री बनाउँछु ।’
ढकिया, कोनिया, डलियासहितका सामग्री बनाएर बेच्दै गुजारा चलाउँदै आएका छन् हरी मरिकका परिवार ।शुरुमा डोम भनेर विद्यालयमा रुबी र अमितलाई केहि हेप्ने गरिएपनि अहिले त्यस्तो छैन । आधारभूत विद्यालय खडगपुर विद्यालयका प्रधानाध्यापक बृजेन्द्र यादवले भने, ‘दुबै जना बालबालिका अरु बालबालिकासँगै पढ्छन्, खेल्छन् ।’

रुबी र अमित अहिले कक्षा २ मा अध्ययनरत रहेको अनलाइन खबरमा समाचार छ  । रुबी र अमित झैं खडगपुर निमाविमा २१ जना डोम बालबालिका नै अध्ययन गर्दै आएका छन् । यीमध्ये डोम समुदायका ६ जना बालबालिका पहिलो पुस्ताको भर्ना भएर अहिले कक्षा २ मा पुगेको सहजकर्ता चौधरीले जानकारी दिइन् । उनले भनिन्, ‘यस पटक ३ जना विद्यालय भर्ना भइसकेका छन् । अब डोम समुदायबाट उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् ।’

गरिबीको चपेटामा परेको मुसहर समुदायको दैनिकी चिसोले थप कष्टकर, दुईको ज्यान गयो

विभेद बिरुद्ध अभियान - किशोर बुढाथोकी / पुस १० विराटनगर : चिसोका कारण एक महिनाकी छोरी गुमाउनुपरेको पीडाले सुन्दरहरैंचा नगरपालिका–५ की १८ वर्षीया मनीषा ऋषिदेवलाई पिरोलिरहेको छ। साताअघि छोरीको मृत्यु भएको घटनाले उनको छाती भतभती पोलिरहेको छ।घरमा पुग्ने जो कोहीसँग उनी आँखाबाट आँसुका धारा बगाउँदै छोरी बचाउन नसकेको पीडा सुनाउन थाल्छिन्। ‘घरमा सन्तानको आगमन हुँदा परिवारमा जुन खुसी थियो तर शरीर ढाकिदिने न्यानो कपडा नभएर जीवित राख्न नसक्दा त्यो सबै सकिएको छ’, उनले भनिन्, ‘परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण समस्या भएको हो। यस्तो दुःखमा साथ दिने मनकारी कोही पनि भेटिएन।’मनीषाले चिसोका कारण पहिलो सन्तान बचाउन नसक्दा धेरै पीडा भइरहेको दुखेसो पोखिन्। उनले सुत्केरी भएपछि भरपेट खान र पोसिलो खानेकुरा पनि पाएकी छैनन्।

शिशुको ज्यान गए पनि स्थानीयको सहयोगमा परिवारका सदस्यले सुत्केरी आमालाई चाहिँ बल्लतल्ल बचाए। ‘चिसोले शिशुको मृत्यु भयो भन्ने सुनियो। गएर बुझ्दा हामीले आमालाई पनि समस्या भइरहेको पायौं’, स्थानीय लहरी ऋषिदेवले भनिन्, ‘न्यायो कपडा नहुँदा शिशुको मृत्यु भए पनि सुत्केरी अवस्थाकी आमालाई चाहिँ न्यानो कपडाको व्यवस्था गरेर बचाउन सक्यौं। न्यानो कपडा र खानेकुरा नहुँदा आमाको स्वास्थ्य अवस्थासमेत खस्किँदै गएको रहेछ।’४५ वर्षीय लतु ऋषिदेवको पनि चिसोले कठ्यांग्रिएर मंसिर अन्तिम साता मृत्यु भयो। लतुका भाइ बद्री ऋषिदेवले शरीर ढाक्ने न्यानो कपडाको अभाव हुँदा दाजुले मृत्युवरण गर्नुपरेको बताए। ‘हामीसँग जाडोमा लगाउने न्यानो कपडा पनि छैन। कपडा किन्ने पैसा पनि छैन’, बद्रीले भने, ‘मुसहर समुदायलाई बिहान–बेलुका छाक टार्न नै धौधौ परिरहेको हुन्छ। अरू कुराको व्यवस्था गर्न त सम्भव नै छैन।’

दिन–प्रतिदिन चिसो बढ्दै जाँदा सुन्दरहरैंचा ५ र ६ का मुसहर समुदायको दैनिकी कष्टकर बन्दै गएको छ। न्यानो कपडा नहुँदा परिवारका सदस्य गुमाउनुपरेको पीडाले समुदायलाई नै पिरोलिरहेको छ। यहाँ मुसहर समुदायका ३५ परिवारको बसोबास छ। टाटीले बारबेर गरेर बनाएका घरमा जाडोमा लगाउने कपडाको व्यवस्था छैन। समुदायको कमजोर आर्थिक अवस्थाका कारण छाक टार्न धौधौ छ।

यो बस्तीमा ८ कक्षाभन्दा बढी पढेका कोही छैनन्। गाउँमा सरकारी विद्यालय रहे पनि अध्ययनका लागि मुसहर समुदायका बालबालिका नआउने र आए पनि ८ कक्षाभन्दा माथि कसैले पनि नपढेको श्रीलाल आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर मोक्तानले बताए। ‘यो समुदायमा जनचेतना र शिक्षाको पनि कमी छ’, उनले भने, ‘पढ्नका लागि विद्यालय आउने बालबालिका अक्षर चिन्ने भइसकेपछि भने मजदुरी गर्न जानुपर्ने बाध्यता छ।’ यो समुदायमा परिवारको आर्थिक अवस्था कमजोर हुनु, अशिक्षा, जनचेतनाको अभाव, जीविकोपार्जनमा समस्या मुख्य कारक बनेको उनले बताए।

स्थानीय रुदाइ ऋषिदेवले मजदुरी गरेर दिन काटे पनि चिसोमा रात काट्न समस्या हुने गरेको सुनाए। ‘न्यानो कपडा नहुँदा आच्छु–आच्छु गरेर रात काट्नुपर्छ। कसैले न्यानो कपडा दिए राहत हुन्थ्यो’, उनले भने। मजदुरीको कमाइले खानेकुराको जोहो मात्र गर्न सकेको उनले सुनाए।चिसोले बस्तीका बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। उनीहरूको अनुहार र शरीरका अंग सुनिन थालेका छन्। बिरामी पर्दा अस्पतालसम्म पुर्‍याउन पैसा नहुने र कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको रुदाइले बताए।

‘चिसो मौसम सुरु भएपछि हाम्रा दुःखका दिन सुरु हुन्छन्। धेरैसँग सहयोग मागिसके पनि कसैले वास्ता गर्दैनन्’, उनले भने, ‘पुस पहिलो साता बित्दा चिसोले दुई जनाको मृत्यु भइसकेको छ। यसपालिको जाडोमा कतिले ज्यान गुमाउनुपर्ने हो भन्ने टुंगो छैन।’चुनावका बेला वासस्थान, खाना र न्यानो कपडा दिने भन्दै आएका नेता त्यसपछि फर्किएर नआएको गुनासो गर्दै लहरीले भनिन्, ‘चिसोले गाउँमा दुई जनाको मृत्यु भइसक्दा पनि अहिलेसम्म फर्किएर आएका छैनन्।’ स्थानीय अर्काको ट्र्याक्टरमा मजदुरी गरेर कमाइ गर्छन्। दिनभर ट्र्याक्टरमा काम गरेर आएको पैसाले जीविका चलाउने गरेको उनले सुनाइन्।

सुन्दरहरैंचा–६ का वडाध्यक्ष जीवन राईले मुसहर समुदायको दैनिकी निकै कष्टकर बनेको सुनाए। भने, ‘गरिबीको चपेटामा परेको मुसहर समुदायको दैनिकी चिसोले थप कष्टकर बनेर गएको छ।’अन्नपूर्ण पोष्टमा समाचार छ ।

पढाउँदै गरेका शिक्षक नमराज नेपाली माथी कुटपिट


हिक्मत नेपाली,विभेद बिरुद्ध अभियान , पुस १० - दैलेख । दैलेखको नौमूले गाँपालिका वडा न. ६ मा रहेको शिवशक्ति मावीमा कार्यरत शिक्षकमाथी कुटपिट भएको छ । आइतवार कक्षामा पढाइरहेको बेला शिवशक्ति माविका सहायक शिक्षक नमराज नेपालीमाथि आइतबार कुटपिट भएको हो । कुटपिटमा परेका शिक्षक नेपालीले आफूलाई नेपाल तरुण दलका जिल्ला सभापति लालबहादुर चन्दले कुटपिट गरेको आरोप लगाएका छन् । आइतबार बिहान सवा ११ बजेतिर विद्यालयको चौरमा विद्यार्थीहरुलाई वरिपरी राखेर घाम ताप्दै पढाई रहेको बेला एक्कासी चन्दले आफूलाई आक्रमण गरेको नेपालीले बताए ।
‘नमराज सरले पढाइरहनुभएको थियो, विद्यालय हातामा आएर लालबहादुरले बोलाएर लात्तीलात्तीले कुटेको हामीले देख्यौं’ बालविकास सहजकर्ता पार्वती सुबेदी र प्रधानाध्यापक मानबहादुर रावल भने ‘कुर्चीले हानेपछि हामी छुट्टयाउन गयौँ, त्यसपछि नमराज सर भागेर जंगलतिर जानुभएछ । ’
‘नजिकै अरु कक्षाहरु पनि पढाई भइरहेकै थियो, म कक्षा ३ को नेपाली विषय विद्यालयको चौरमै पढाइरहेको बेला उसले बोलाएपछि किन पो हो भनेर नजिक गएँ । ताकेरै गुप्ताङ्गमा लात्ती सोझ्याएको चाल पाएर मोडिएँ अनि तिघ्रामा लाग्यो ।’ उनले भने । लात्तीले ३–४ पटक हानेपछि पनि काठको कुर्ची तोकेको देखेर भाग्दै गर्दा ढाडमा चोट लागेको पीडित शिक्षक नमराज नेपालीको भनाइ छ ।
टेलिफोन गरेर घटनाबारे सोध्दा नेपाल तरुण दलका जिल्ला सभापति चन्दले सामान्य विवाद भएको हो, ठूलो विषय नबनाई दिनुहोला भनेर आग्रह गरे । चन्दले अघिल्लो वर्ष २०७३ कात्तिक १३ गते कोठामा मस्त सुतेका शिक्षक नमराजको मुखमा वियरको बोतल कोच्याएको फोटो खिची फेसबुकमा ‘यस्ता त शिक्षक के शिक्षा दिन्छन ?’ भन्दै पोस्ट गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा बेइज्जती र अपमान गरेको भन्ने नमराजको निवेदनमा जिल्ला प्रहरी कार्यालय दैलेखले कात्तिक १८ गते अभद्र व्यवहार नगर्ने सर्तमा मिलापत्र गराएको थियो ।
चन्दविरुद्ध यस्तो दुव्र्यवहार गरेका ३ वटा उजुरी प्रहरीमा पुगेका छन । उनलाई खोज्न घरमा गएको प्रहरीले नभेटाएर फर्किन नपाउँदै यो घटनाको सूचना प्रहरीलाई पुगेको थियो ।
कक्षामा पढाइरहेको शिक्षकमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै दैलेखका शिक्षकहरुका पेशागत संगठनहरुले प्रेस विज्ञप्ति जारी गरेका छन । नेपाल शिक्षक संगठनका अध्यक्ष नरबहादुर थापा तथा सचिव खगेन्द्र श्रेष्ठ र एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष बिसाखर तथा सचिव गणेश कार्कीले जारी गरेकोे प्रेस विज्ञप्तिमा प्रहरीले अबिलम्व पक्राउ गरी कारवाही नथाले आन्दोलन गर्ने उल्लेख छ ।

Saturday, December 23, 2017

सुको र उजेलीका दुःखमा पनि फर्केनन् छोराहरु

विभेद बिरुद्ध अभियान - पुष ८ ,बझाङ, पुस ८– न बाली लगाउने जमिन छ । न छ आय स्रोतको कुनै माध्यम नै !  ६ जना छोराछोरीसहित दयनीय अवस्थामा एक छाक खाई एक छाक भोकै बसेर गुजारा चलाउँदै आएका थलारागाउँपालिका –६, का सुको सार्कीको परिवारको अवस्था अहिले पनि उस्तै छ । शरीरमा शक्ति छउञ्जेल त गाउँमा गएर कसैको जग्गामा काम गरेर पाइने अन्नले सुकोले जीविका चलाउनुभयो ।जब उनलाई उमेरले बुढ्यौलीले छुँदै गयो, उनी निवेकमा नसक्ने भए । सुको अहिले थला परे सरह छन् । ६० वर्षीय सुको सार्की जन्मजात नै अपाङ्ग हुनुहुन्छ । उहाँकी श्रीमती ४९ वर्षीया उजेली सार्की १४ वर्षको उमेरपछि अपाङ्ग हुनुभयो । १२ वर्षको कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएकी उजेली सार्कीको १४ वर्ष पुग्नै लाग्दा माइती घरबाट सिमललेखको भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर दाँया हात नचल्ने भयो ।उज्यालो अनलाइनमा खबर छ   । 
‘माइती घरबाट घाँस काट्न जंगल गएकी थिएँ, अचानक खुट्टा चिप्लिएर ठूलो भिरबाट खसेँ, उजली सार्कीले भन्नुभयो, ‘अगाडिको दुईवटा दाँत भाँचियो । हातमा चोट लागेको थियो । उपचार गर्ने पैसा भएन् । जिल्लामा उपचार गराउँदा बाहिर लैजानुपर्छ भनेको थियो डाक्टरले ।  बाहिर गएर उपचार गराउन सक्ने क्षमता भएन् । पछि हात नै नचल्ने भयो । अपाङ्ग भएर जीवन कटाउनु पर्यो ।’ 

उजेलीका गुनासो यतिमै सकिँदैन, रसाएका आँखा पुछ्दै भन्नुहुन्छ, ‘उब्जनी गर्नका लागि जग्गा छैन । अहिले हामी ऐलानी जग्गामा बसोबास गर्दै आएका छाँै । धेरै पटक यहाँका स्थानीय बासिन्दा यो ठाँउमा बस्न पाइन्न भनेर धम्काउन आएका थिए । कि त आफूलगायत छोराछोरी सबैले पासो लगाउर मर्नु पर्यो ! नत्र अन्त जाने ठाउँ नभएपछि धम्की सहेर पनि बस्नैपर्यो ।’

‘सरकारले हाम्रा लागि केही पनि सहयोग गरेको छैन् । उमेर हुन्जेल त अर्काको मेलापातमा काम गरेर छोराछोरीको लालन पालन गरेका थियौँ । तर अहिले आफ्नो शक्ति नै छैन्’, सुको सार्कीले भन्नुभयो, ‘मलाई कुष्ठरोगले थला पार्यो आँखा पनि राम्रोसँग देख्न सक्दिन् ।’ सुकोका ३ छोरा र ३ छोरी छन् । उहाँको जेठो छोरा मोहन र माइलो छोरा देवले विवाह गरिसकेका छन् । सुको भन्नुहुन्छ, ‘छोराको हामीले विवाह गरिदिएका होइनौँ । उनीहरुले आफैले भागेर विवाह गरेका हुन् । अब कान्छो छोराको र सानी ३ छोरीको चिन्ता छ ।’ सुकोका तीनै जना छोरा भारत गएका छन् । उनीहरु सानै हुँदा भारत गएका हुन् । अहिलेसम्म घर फर्किएका छैनन् ।

सुकोलाई छोराहरु जग्गाजमिन केही नभएका कारणले घर नफर्केको जस्तो लाग्छ । ‘अहिले हाम्रो जीवनको साहारा तीन जना छोरीहरु छन् । दुईवटा छोरी कक्षा ८ मा पढ्दै छन् । एउटा कक्षा ५ मा पढ्दै छ । सार्कीले भन्नुभयो, ‘ छोरीहरु विद्यालय जाँदाखेरी पनि कहिले खाना खाएर जान्छन् । कहिले खाने खाना नै हुँदैन, भोकै जान्छन् ।’ 

सुकोका छोरीहरुलाई पढ्ने चाहना छ । सुको भन्नुहुन्छ, ‘ छोरीहरु अरुको भारी बोकेर भए पनि पढ्छु भन्दै छन् । हाम्रो पढाउने क्षमता छैन । हामी त मर्ने नै भयौँ । छोरीको लागि सरकारले केही गरीदिए पनि हुन्थ्यो  । अहिलेसम्म त मर्न नसकेर जसोतसो गुजारा चलैकै छ । अबका दिन के हुने हुन् । खै  ! भन्न सकिने अवस्था छैन् ।’सुको दम्पती दुवै जना अपाङ्ग भए पनि उनीहरुको आँट भने निकै दरिलो छ । पहिलेदेखि नै एउटा राम्रो घर भित्र बस्ने सपना साकार भएको छ । ‘खान भन्दा बढी चिन्ता एउटा सानो घर निर्माण गर्ने थियो’, उजेली सार्कीले भन्नुभयो, ‘तर त्यो कुरा सपनाजस्तो थियो । हामीले हरेस खाएका थिएनौँ । म विवाह गरी आएदेखि नै पक्की घर निर्माण गर्ने सोच थियो । १२ वर्ष अगाडिको सोच अहिले बल्लबल्ल पूरा त भएको छ । तर ऋण्को चिन्ताले बढी सताउछ    
 ।’
उजेलीको परिवारले गाँउकै मान्छेसँग ३० हजार ऋण निकालेर घर बनाएका हुन् । उक्त ऋण कसरी तिर्ने भन्ने ठूलो चिन्ता उजेलीको परिवारमा थपिएको छ । उजेली र सुकोले एक हातले बाँझो जमिन खनेर रायो, मुला लगाउनुभएको छ । उजेली भन्नुहुन्छ, ‘एकै हातले गोडमेल  गरेर अब आम्दानीको स्रोत त्यसैलाई ठानेका छौँ । त्यही बिक्री गरेर ऋण तिर्ने योजाना रहेको छ । कसैले सहयोग गरी दिए त हुन्थ्यो । ऋण नतिरेरै मरियो भने छोरीको अवस्था कस्तो होला भन्ने चिन्ता लागि रहन्छ ।’ 

चुनावमा भोट माग्न आए नेता, जितेपछि आएनन् 
‘भोट माग्दा धेरै नेताले यो जग्गा तपार्इँकै नाममा बनाइदिन्छौँ भनेका थिए, चुनाव सकिएपछि कुनै नेता पनि आएनन्’, सुको सार्की भन्नुहुन्छ, ‘जग्गा आफ्नो नाममा कसरी बनाउने हो ? कसैलाई चिने जानेका छैनौँ । अनि अड्डा गयो भने धेरै रुपैयाँ लाग्छ होला ! कसरी जानु । यति भन्दाभन्दै आँखाभरी आँसु बनाएर सुकोले आफूलाई भगवानले ठगेको बताउनुभयो । 

सुकोले यस वर्षदेखि वृद्धभत्ता पनि पाउनुभएको छ । वृद्धभत्ताले खर्च चलाउन केही सहज भए पनि सुकोलाई त्यो पैसाले न ऋण तिर्न सहज भएको छ । न त छोराछोरीको परिवार पाल्न नै । 
साभार :डीबी विष्ट/उज्यालो अनलाइन

आमाको शव घरसम्म लैजाने पैसा नभएपछि...

विभेद बिरुद्ध अभियान - पुष ८ , प्युठान - ऐरावती गाउँपालिका-३ अर्जामकी पकला हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा बिहीबार निधन भयो । लामो समयदेखि श्वासप्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले बुधबार अस्पतालसम्म पुर्‍याएकी थिइन् । ७३ वर्षीय विकको उपचारका क्रममा बिहान ८ बजे अस्पतालमै मृत्यु भयो ।  अन्नपूर्ण पोस्टमा खबर छ ।

विक परिवारको घर जिल्ला अस्पताल बिजुवारदेखि करिब चार घण्टाको दूरीमा पर्छ । आमाको मृत्युपछि छोरी पीडामा छटपटिइन् । छोरीले जसोतसो उपचार गर्न अस्पतालसम्म पुर्‍याए पनि आमालाई बचाउन सकिनन् । उपचार गर्दागर्दै साथमा भएको थोरैधेरै पैसा पनि सकियो । मृत्युपछि आमाको शव घरसम्म पुर्‍याउन उनीसँग पैसा भएन । उनले प्युठान नगरपालिका बिजुवारस्थित झिमरुक नदी किनारमा आमाको शव गाड्ने सोचमा पुगिन् । मृत्युको खबर पाएपछि गाउँबाट छिमेकी दिदीबहिनी पनि आए ।

‘बुबा १५ वर्षअघि नै बित्नुभयो’, राधाले रुँदै भनिन्, ‘घरमा आमा एक्लै बस्नुहुन्थ्यो । हेरचाह गर्ने कोही थिएनन् ।’ महिनौं दिनसम्म आमा ओछ्यानमै थला परेपछि रोजगारीका लागि भारत पुगेकी उनी माइतीघर आएर आमाको उपचारमा लागेकी थिइन् । ‘अलिकति खोजेर ल्याएको पैसा आउँदाजाँदा सकियो’, उनले भनिन्, ‘गाउँका दिदीहरूलाई बोलाएर बिजुवारमा गाड्न खोज्याँै ।’ जिल्ला अस्पतालदेखि करिब आधा घन्टा दूरीसम्म उनीहरूले ‘स्टेचर’मा शव बोकेर झिमरुक नदीकिनार नजिक पुर्‍याएका थिए ।शव गाड्न राधासँगै आएकी छिमेकी मंगला विकले मद्दत गर्दै थिइन् । इलाका प्रहरी कार्यालय बिजुवारमा पुगेर मंगलाले गैटी, फोरुवासमेत ल्याइन् । प्युठान नगरपालिका -४ स्थित वडा कार्यालयनजिकै विकका आफन्तले शव गाड्न तयारी गरिरहेका थिए । पहिले त्यस क्षेत्रमा शव गाड्ने गरिए पनि अहिले रोक लगाइएको थियो । राधालाई पनि शव घर लैजान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । ‘अरूको ठाउँमा कसरी गाड्ने होला ? ’, विकले भनिन्, ‘घरमा लैजान नसक्ने भएपछि यहाँ आएका हौँ ।’

नगरपालिका वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीलाई आफ्नै अगाडिबाट गएका उनीहरूलाई ‘स्टेचरमा’ बिरामी बोकेर लगेजस्तो लाग्यो । अलि तल पुगेर महिलाहरूले शव गाड्ने तयारी गरेको देखेपछि उनले सोधखोज गरे । विक परिवारको आर्थिक अवस्था दयनीय भएको बुझेपछि राजभण्डारीले ‘शववाहन’मार्फत शव घरसम्म पुर्‍याइदिन पहल गरे । आमाको शव घरसम्म लैजान पाएपछि छोरी राधाको अनुहारमा थोरै भए पनि खुसीको आभास मिल्यो ।

वडाध्यक्ष राजभण्डारीले जनज्योति सामुदायिक विकास केन्द्रसँग समन्वय गरेर शव पुर्‍याइदिने व्यवस्था मिलाएका हुन् । ‘उहाँहरूको आर्थिक अवस्था दयनीय बुझ्यौँ’, राजभण्डारीले भने, ‘घरसम्म निःशुल्क शव पुर्‍याइदिने व्यवस्था मिलाएका छौँ ।’ जिल्लामा शव वाहन सञ्चालन गरेपछि पहिलोपटक विपन्न दलित परिवारको सेवा गर्न पाएको संस्थाका अध्यक्ष सञ्जय रिजालले जानकारी गराए ।

आमाको अन्तिम दाहसंस्कार गरे पनि अहिले राधालाई अन्य खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । ‘जग्गाजमिन पनि खासै छैन’, उनले गुनासो गरिन्, ‘किरिया खर्च कसरी जुटाउने होला ? ’

Wednesday, December 20, 2017

दलितको नाममा विनियोजन भएको बजेटबारे सोधखोज गर्दा राजकुमार प्रहरी खोरमा

विभेद बिरुद्ध अभियान -पुस  ५ - सोलुखुम्बु । लक्षित वर्गको बजेट खोजी गर्दा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१, टाक्सिन्दुका राजकुमार सुन्दास प्रहरी हिरासतमा पुगेका छन् ।गत वर्ष साविकको टाक्सिन्दु गाविसबाट लक्षित वर्ग अन्तर्गत दलितको नाममा विनियोजन भएको बजेटबारे जवाफ माग्दा प्रहरी हिरासतमा पुग्नुपरेको हो ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका –१, टाक्सिन्दुले वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण, भूकम्प गुनासो दर्ता, भूकम्प सम्झौताको काम भइरहेको बेला कार्यालयमा पुगेका सुन्दासले वडा प्रमुख छोङ्बा लामा शेर्पासँग बुझ्दा अघिल्लो वर्षको बजेट आफूलाई थाहा नहुने भन्दै वडा सचिव र सामाजिक परिचालकको जिम्मा लगाएका थिए ।

वडा प्रमुख शेर्पाको जवाफ अनुसार वडा सचिव र समाजिक परिचालकसँग बुझ्दा रकम फ्रिज भएको जानकारी पाउनसाथ विवादले उग्ररुप लिएको सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रदुम्न अधिकारीले जानकारी दिए।

Tuesday, December 19, 2017

रहेनन् दलित आन्दोलनका अगुवा तथा दलित अधिकारकर्मी नेता परियार

विभेद बिरुद्ध अभियान -पुस  ५ - पाल्पा । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ । तानसेन बसन्तपुर निवासी ६४ वर्षिय परियारको सोमवार राती क्यान्सर रोगका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।  

दलित आन्दोलनका अगुवा तथा दलित अधिकारकर्मी समेत रहेका परियार पार्टीको राजनितिमा समेत उत्तिकै क्रियासील मिलनसार, मृदुभाषी , सवैका प्रिय व्यक्तिका रुपमा चिनिन्छन् । परियारलाई दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिक उम्मेदवारका रुपमा पार्टीले नाम सिफारीस गरेको थियो ।

 नेपाली कांग्रेसको पार्टी कार्यालयमा परियारको पार्थिव शरिरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरि प्रसाद नेपाल र नेपाली कांग्रेसका जिल्ला सभापति विर बहादुर रानाले पार्टीको झण्डा ओढाएका थिए भने दलित संघका जिल्ला सभापति लक्ष्मण हिताङ र पार्टीको दलित विभाग प्रमुख दल बहादुर राजपुतले दलित संघको झण्डा ओढाए पछि परियारको शवलाई नगर परिक्रम गराईएको थियो । परियारको मंगलवार राम्दीघाटमा हिन्दु संकार अनुसार  अन्तिम दासंकार गरिएको थियो ।

छुवाछूत नेपाली समाजमा सोच्नै नसकिने कलंक हो - अध्यक्ष केपी शर्मा ओली

विभेद बिरुद्ध अभियान - पुस ४ ,भक्तपुर -  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब राजनीतिक संघर्षको युग सकिएको बताउनुभएको छ ।आज बालकोटस्थित उहाँकै निवासमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अब सामाजिक विसंगती विरुद्धका अभियान द्रुतगतिमा अघि बढ्ने छ भन्नुभयो ।उहाँले दलित समुदायले आरक्षणमा मात्र भर नपरेर प्रतिष्पर्धाका लागि आफूलाई तयार पार्नुपर्ने बताउँदै निश्चित समयका लागि मात्रै राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गरिने हुँदा खुला प्रतिस्पर्धामा जान तयार हुन लाग्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले अब नेपालमा छुवाछूत प्रथा लामो समय कायम नरहने प्रष्ट्याउँदै विगतका राजनीतिक आन्दोलनले यो विषयलाई अलिपछि पारेपनि अब पछि नपर्ने धारणा व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “छुवाछूत नेपाली समाजमा सोच्नै नसकिने कलंक हो, यसको अवशेष पनि रहदैन, यसलाई हटाइन्छ, अब सामाजिक विसंगति विरुद्धका अभियान सुरु हुन्छन् ।”

नेपाली संस्कृतिले छुवाछूतको कल्पना नगरेको भए पनि संस्कृतिलाई विकृत बनाएर छुवाछूत घुसाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले अबको युग कोहीबाट अपमानित, अपहेलित वा तिरस्कृत हुने समय नभई अब सबैले आत्मसम्मानका साथ बाँच्न पाउने युगको सुरुवात भएको बताउनुभयो ।उहाँले छुवाछूत अन्त्यका लागि एमालेले विगत देखिनै महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै दलित समुदायलाई राज्यका उपल्लो तहमा स्थान दिएको स्मरण गर्नुभयो ।एमालेले सामाजिक सचेतना फैलाउन र जातीय छुवाछूत हटाउनकै लागि मुक्ति समाजलाई वर्गीय संगठनको रुपमा अघि बढाएको पनि अध्यक्ष ओलीले भन्नुभयो ।

– लाइट नेपालबाट साभार  

जातिय बिभेद बिरुद्धको संघर्ष, उपलब्धी र आजको आवश्यकता- डिल्लीश्वर दर्नाल

विभेद बिरुद्ध अभियान - पुस ४ -नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३० औं स्थापना दिवस (२०७४ पौष ३) को अवसरमा जातिय बिभेद बिरुद्धको संघर्षका उपलब्धी, संबैधानिक व्यबस्थाका अधिकार र त्यसका ब्याववहारिक चुनौति के हुन सक्छन, तिनको रिराकरण कसरी हुनसक्छ र आगामी दिनका कार्यभार के हुन सक्दछन भन्ने चर्चा गनु आवश्यक छ ।

नेपाल उत्पीडित जातीयमुक्ति समाजको लक्ष्य भनेको नेपाली समाजको कुरिती जातीय बिभेद तथा छुवाछुत जन्य व्यवहारको समुल अन्त्य गर्नु, न्याय समानता सामाजीक सास्कृतिक, राजनीतिक र आर्थिक समृद्धिको बिकास गर्नु नै हो । नेपालको दलित आन्दोलन बिभिन्न नामाकरण तथा घुम्ती मोडहरु पार गर्दै ०४५ पौष ३ गतेबाट नेपाल उत्पीडित जातीय मुक्ति समाज गठन भयो । नेकपा एमालेको जनबर्गिय संगठनको रुपमा जनताको बहुदलीय जनबादलाई आफ्नो मार्गदर्सन सिदान्त मानी दलितहरुको हक अधिकारमा निरन्तर संघर्षसिल छ । जनताका प्रतिनिधिहरुले निर्माण गरेको संबिधानले समाजमा रहेको सामाजीक बिभेद तथा छुवाछुत जन्य कुरितिको समुल अन्त्य गर्ने एवम सामाजीक सास्कृतिक र राजनीतिक, अर्थिक समृद्धिको सबैधानिक ब्यबस्था गरेको छ ।

नेपालका तथाकथित दलित जातीहरुले प्राप्त गरेका सबैधानिक अधिकार र उपलब्धी धेरै छन । सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्ने, सामाजिक न्याय सुनिश्चित गर्ने राज्यको राजनीतिक उद्धेश्य हुने, जातीय आधारमा छुवाछुत गरी वा नगरी कार्यस्थलमा कुनैप्रकारको भेदभाव गर्न नपाईने, सबै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भीर सामाजीक अपराधका रुपमा दण्डनीय ठहरिने र पीडितले क्षतिपूर्ति पाउने व्यबस्था छ ।

दलितले राज्यका सबै निकायमा समानुपतिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुन पाउने, दलित बिद्यार्थीहरुलाई प्राथमिकदेखी उच्च शिक्षासम्म छात्रबृत्तिसहित निःशुल्क शिक्षाको व्यबस्था गरिने, प्रविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागी बिशेष व्यवस्था गरिने, भूमीहिन दलित समुदायलाई एकपल्ट भूमी उपलब्ध गराई बसोबासको ब्यवस्था गराईने जस्ता उपलब्धीहरु रहेका छन् ।
समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी राजनीतिक दलले उमेदवारी दिदा समावेशी सिद्धान्तको आधारमा गर्ने, राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना दलित निर्वाचित गर्नु पर्ने, गाउँ कार्यपालिकामा र नगरकार्यपालिकामा दलित समुदायबाट दुईजना, नगरमा तीनजना र जिल्ला समन्वय समितिमा कम्तीमा एकजना रहने व्यबस्था सराहनीय छ ।

राष्ट्रिय दलित आयोग संबैधानिक निकायको रुपमा रहने र आयोगको अध्यक्ष सदस्यहरु दलित मात्र रहने, राष्ट्रिय दलित आयोगले आवश्यकता अनुसार प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने र सबैधानिक अंग र निकायका पदमा समावेशी सिद्धान्तको आधारमा नियुक्ति गरिने संबैधानिक व्यवस्था छ । स्थानीय तहको निर्वाचनमा प्रमुख, उप–प्रमुख मध्ये एक जना महिला र प्रत्येक वडामा दुई जना महिला सदस्य हुने र ती मध्ये मध्य एक जना दलित महिला वडा सदस्य हुँनु पनि संबिधानले दलितलाई दिएको अधिकारको कार्यान्वयन हुँनु हो । प्रदेशसभा सदस्य तथ प्रतिनिधि सभा सदस्यमा समानुपातिक सदस्यको अवसर पाएका छन ।

राष्ट्रिय सभाको गठन प्रक्रियामा दलित प्रतिनिधिको सवाल, अब बन्ने सरकारमा समावेशीताको सवाल र राष्ट्रपति, उप–राष्ट्रपतिको निर्वाचन कसरि हुँदैछ यसलाई चुनौतिका रुपमा हेरिएको छ । किनकी, छमेकी राष्ट्र भारतले दुई चोटी दलित राष्ट्रपति बनाई सकेको नजिर हाम्रो सामु छ । छिमेकि राष्ट्र भारत भन्दा हाम्रो देशको लोकतान्त्रिक अभ्यास कयौ गुणा प्रगतिसिल र समाजबाद उन्मुख छ ।

नेपाली समाजको रुपान्तण सामाजिक सास्कृतिक र राजनीतिक बिकासमा हाम्रो सघर्षका अभ्यासबाट प्राप्त उपलव्धी र अवसरका चुनौति समान छन । किनकी बिश्व परिवेशमा मानव समाजको बिकासको तिव्रगति सँगै विज्ञान प्रविधि र प्रयोगको चाहना तिब्रगतिमा दौडिरहेको छ । आज हामीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिसप्रधा गर्नु छ । अरुको दाजोमा युवा जनशक्तिको बिकास, शैक्षिक उन्नत आर्थिक समृद्धि, सामाजिक न्याय र दिगो बिकाससंग प्रतिसप्रर्धा गर्नुछ ।

हाम्रो समाज पछौटे हुँनुमा मनुबादी चिन्तन, जयस्थीती मल्लकाल, जहानीय राणा सासन र शाह बंश बादी सरकारको निरन्तर शासनले प्रभाव पर्यो । त्यत्तीमात्र नभएर जातीय बिभेदको बिजारोपन पनि गरे । जसका कारण मानब समाज युगौ युगसम्म दासदासी मात्र नभई अपमान जनक छुवाछुतको भरिया भयो । यही कुरुतिको अन्त्य गरी समानतामुलक समाज निर्माण गर्न निरन्तर आन्दोलन गर्नु परेको थियो ।

शासकहरुले दमन शोषण र अत्याचार गरि निश्चित जाती समुदायलाई बिभाजन गरी तोकिएको कामका आधारमा तहगत जात खसाल्ने र तोकिएको काम नगरे दण्डीत गर्दथे । एकतह जात खसाल्ने दण्डको ब्यबस्था थियो । श्रमगर्ने जिम्मा पाएका श्रमजीबी बर्गहरुनै आजसम्म बंशगतरुपमा कथित ‘दलित’ समुदायको रुपमा रहेका छन ।

बर्ग र बर्णका आधारमा शोषण, दमन गर्दै शासक वर्गले दास बनाउँने प्रचलनको विजारोपण श्रमका आधारमै गरिएको थियो । जन्म जात मानव गरिव र पछौटे हुने अवस्था सृजना गरियो । पहिलो वर्ग विभाजन ग¥यो, जसले आर्थिक उत्पादनप्रणालीसंग शोसण ग¥यो । दोस्रो वर्ण विभाजन ग¥यो, जसको वर्णाश्रम व्यवस्थाबाट जातीय बिभेद तथा छुवाछुतको जातीयच्युत ग¥यो यहि नीति शासन कायम रह्यो ।
वर्णाश्रम व्यवस्था कामका आधारमा ल्याईएको हुनसक्दछ । तर, कालान्तरमा समाजका शासकहरुले हेपिएका श्रमिकबर्गहरु माथि शोसण मात्र गरेनन् छुत–अछुतसमेत बनाए । यो प्रथाको सुरुवातदेखि बिभिन्न लेख रचना, साहित्यिकक्षेत्र लगायतबाट बिरोधात्मक प्रस्तुती जारी रह्यो ।

वि.सं. १९९७ सालमा वाग्लुङ गैरा गाउँका भगवत सर्वजीत विश्वकर्मा नेतृत्वमा छुवाछुत बिरुद्धको आन्दोलन सुरु भयो । जहानीय राणा शासन बिरुद्धको आन्दोलन २००७ पछि राजनीतिक दलहरुले छुवाछुत बिरुद्धको आन्दोलनसमेत समाहित गराउदै ल्याए । कम्युनिष्ट पार्टीहरुले वर्गिय मुक्तिको रुपमा जातिय मुक्तिको सम्वन्ध छ भन्ने संघर्ष चलाउदै आएका हुन । ३० वर्षीय निरंकुश पञ्चायती व्यवस्थाले नेपाली समाजलाई अस्तव्यस्त बनायो । निरंकुशताको कालो वादल २०३६ सालको जनमत संग्रहमा परिणत भयो । त्यसमा उत्पीडित सामुदायहरुको सक्रिय भूमिका रह्यो । पञ्चायतले १० वर्ष पुनः भोग गरे पश्चात जनताको आन्दोलनको बलबाट २०४६ सालमा प्रजातन्त्र स्थापना भयो । १० वर्ष पछि अर्को १२ वर्षे जनयुद्धमा दलित समुदायका धेरैले साहादत पनि प्राप्त गरे ।

०६२/०६३ को १९ दिने शान्तिपूर्ण जनआन्दोलका बलमा २४० वर्षीय निरंकुश सामन्ती राजतन्त्रको अन्त्य भयो । र पुनस्थापित प्रतिनिधि सभाले छुवाछुत मुक्त राष्ट्रसमेत घोषणा ग¥यो । नेपाली जनताले आफ्नो देशको शासन व्यवस्थामा आफै सहभागी हुने मौका पाएका हुन् ।
अन्तर्राष्ट्रिय जाति हौ भनेर कम्युनिष्ट पार्टीका सदस्यहरु गीत गाउछन । हामी नेपाली जाती हौ भन्दै आएका छन् । प्राकृतिक नियम अनुसार महिला र पुरुष दुई जात मात्र हुन्छन । साच्चो अर्थमा भन्नेहो भने आजका दलित भनिएकाहरु र खस आर्य भनिएका समुदाय एउटै गणका हुन । नेपालको संबिधानमा अहिले ‘दलित’ सब्द प्रयोग भएको छ । यो शब्दले नव युगका जनशक्ति उत्पादन गर्ने काममा समानताको सिद्धान्त बिपरित हुने हुँदा सब्दमा पुर्नबिचारको गर्नु आवश्यक देखिन्छ ।

किनकी संबिधान भित्र लेखिएका ‘दलित’ सब्दले कालान्तरमा यो समुदाय भनेको छुवाछुत गर्नुपर्ने समुदाय नै हो कि भन्ने मानसिकता कायमै रहन सक्छ । दलित समुदायका युवा पंत्तिहरु पनि त्यो सब्द रुचाउदैनन् र अपमानित भएको ठान्दछन । साच्चै यो सब्दले छुवाछुत अन्त्य गर्ने नभै कायम गर्ने हो की, पुरातन सास्कृतिबाट आएको कुरितिको झल्को दिने मात्र हो । आज संघीय लोकतान्त्रिक गणतन्त्रमा समाजबादी व्यवस्थाको सुरुवात भई सक्यो । यो सँगै अबपनि यहिकुरा हामीले दोहोर्याउँनु आफैमा हिनता मात्र हैन कमजोर र पछौटे पन पनि हो । कथित दलित समुदायहरु आफै दलित भएका हैनन्, सामन्ति शासकले बनाएको हो । अब त्यो सामन्ति शासकहरु सदाको लागि अन्त्य भईसकेको छन् । मुक्ति समाज नेपालले लिएको लक्ष्य अनुरुप जातीय मुक्ती आन्दोलनका अभियनबाट सामाजिक मान्यता स्थापित भईसकेको छ ।

अबको बृहत्तर लक्ष्य भनेको आर्थिक समृद्धिको अभियान हो । अब आधुनिक समाजबादलाई कसरी सार्थक रुपमा परिणाम मुखि बनाउने, कसरी न्याय मुखि समानतामुलक समाजको दिगो बिकास गर्ने, युगौ देखिका उत्पीडित शोसित बर्गहरुलाई कसरी सम्मानीत र मर्यादित बनाउने भन्ने अबको अभियान हुनेछ । नेपाली जनताले राजनीतिक परिर्वतका निम्ति, सामाजिक साँस्कृतिक परिर्वतनका निम्ति लड्दै आएका छन । जुन लडाई सार्थक बन्दै गएको छ । अब नेपाली जनताको जिबन स्तर उकास्न आर्थिक क्रान्ति गर्न जरुरी छ । यसका निम्ति राज्य सञ्चालकहरुसचेत हुनपर्छ । अब पुराना कुसस्कृतिहरु स्वत निष्कृय भएर जादैछन् ।

हामीले नयाँ परिवर्तन अंगाल्नका लागि कुसस्कृतिलाई त्याग्नु जरुरी पनि छ । समयको बिकाससँगै नेपाली राजनीतिले पनि नयाँ पन पाउँदै गएको छ । तर, पुरानो कुसस्कृतिलाई सुधार गर्न नसक्नु अहिलेको कमजोरी हो । यसलाई सुधार गरेर राजनीतिको नयाँ पनसँगै सुसस्कृतिको पनि थालनी गराउँन तर्फ सवैको ध्यान केन्द्रित हुँन आवश्यक देखिन्छ ।

(लेखक नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य हुन् । 
Email–dsdarnal@gmail.com)संगालो खबर बाट साभार