बैदेशिक रोजगारले निम्त्याएको मिलन राईको पिडा !- गोपाल शिवा


वैदेशिक रोजगारीको सकारात्मक पाटो हुँदै नभएको होइन । बैदेशिक रोजगारले जसरी परिवार, समाज र मुलुकको आर्थिक हिस्सा धानेको छ त्यसै गरि सामाजिक मूल्य पनि उस्तै चुकाउनु परिरहेको छ । नेपालमा करोडौ रेमिट्यान्स भित्रिएको प्रष्ट देखियो,तर त्यहि रेमिट्यान्स  कमाउन परिरहेको लागत चर्को परेको कुरा विस्तारै देखिंदै छ । यसै साता मात्र वैदेशिक रोजगारी भित्रको एउटा पाटो दिया मिडियामा सार्वजनिक भयो । भिडियो हेर्ने जो कसैको आङ जिरिङ्ग भयो।धेरैले यसरि नाबालक बिरामी सन्तानलाई अलपत्र पारी हिंड्ने कस्तो आमा भने ? धेरैले सामाजिक संजाल बिकृति भने ...सबैले आ–आफ्नो बुझाइ र हेर्ने तरिका ले कमेन्ट गरे  । भिडियोमा पाँचथर स्थायी घर भएकी बोनम्यारो क्यान्सर जस्तो गम्भीर रोगले थलिएकी ४ बर्षीय नाबालिका एलिश्ना राईका पिता  मिलन राई भकानिदै भन्छन परिवारको खुसीको लागि भनेर म बिदेशिएको थिए । विदेश हुदै छोरी बोनम्यारो क्यान्सर बिरामी परेको बज्रपातको पिडाले थिचिएको बेला जीवन संगिनीले समेत बेबारिसे हालतमा छोरा र छोरिलाई बिजोग बनाई छाडेर गइछिंन । छोरिको उपचार गर्ने आर्थिक अवास्था कम्जोर भएकै कारण छोरीको उपचार हुन नसकेको बताउदै राइले आफ्नो मोबाइल न: ९८४००५७५२०,मिलन राई - S.B.I Bank को एकाउन्ट न : २०२१५२४१४०९०३२ आर्थिक सहयोग गरेर छोरीको जीवन बचाईदिन सबै देश बिदेशमा रहनुभएका मनकारी नेपाली दाजुभाइ दिदिबहिनिप्रति सहयोगको लागि याचना समेत गरेका छन् ।उनको यो पुकार मेरो लेख मार्फत लाखौ मनकारी सम्म पुगोस ।

 राजनैतिक दलहरुको गलत हर्कतले गर्दा देशको दुरावस्था भनौ कि हामी गरिव र मध्यम बर्गका नेपालीको बाध्यता भनौ देशमै रहेर गाँस, बाँस र कपासको लागि निकै संर्घष गर्नुपर्छ । सबै अस्तव्यस्त र देशमा बेरोजगारी यसरि बढेको छ कि मातृभूमिको प्रगाढ मायाले जति नै सताए पनि जीवनयापन गर्ने क्रममा ६० लाख भन्दा बढी नेपालीहरु बिदेशिन बाध्य छन् । विदेश जानेहरुमा आर्थिक, सामाजिक हिसाबले पछाडि पारिएका महिला पुरुषको संख्या बाहुल्यता  छ । उमेरको परिपक्वता नभएकै कारण सानै उमेरमा विवाह गरेका श्रीमान श्रीमती परिपक्व भइसक्दा दुईचार सन्तानका आमा बुवा मात्र हैन यी बिच राम्रो सम्बन्ध नहुने , कोही श्रीमान अर्को विवाह गर्ने त कोही निकम्बा भएर आफू केही गर्न नसक्ने र घर परिवारलाई पाल्न नसक्ने अवस्थामा भए पछि जसको काधमा सबै जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ उहि महिला होश कि पुरुष घर परिवारलाई सहयोग गर्ने बालबच्चाको पढाइ लेखाइ राम्रो बनाउने ठूलो सपना बोकेर विदेश हिँड्न बाध्य हुने गर्छन् ।सबै जिम्मेवारी बहन गर्नुपर्ने भएपछि यो अवस्थामा वैदेशिक रोजगारलाई अगाल्नुको विकल्प नभएपछि आँखा बन्द गरेर विदेश निस्कछन् ।समग्रमा भनु पर्दा कमाएर घर-परिवारको अपेक्षा र सपना पूरा गर्ने बैदेशिक रोजगार परिवार, समाज र देशको आर्थिक कृयाकलापलाई चलायमान बनाउने मुख्य हिस्सा बनेको छ ।  तर यसपछि के होला ...कसैको नजर अन्दाज रहँदैन ।



बैदेशिक रोजगारी देशको आर्थिक मेरुदण्ड बनेको निक्कै बर्ष भयो ।यी र यस्तै बिषम परिस्थिति बाट गुज्रिदै समृदिको सपना बुनेर  बर्षेनी लाखौ नेपाली युवाहरु बिदेशमा आफ्नो श्रम बेच्न बाध्य छन्। कतिपय रहरले विदेश पलायन भएका हुन्छन भने अधिकांश चाही बाध्यताले गर्दा बिदेशिन बाध्य भएका हुन्छन ।  विदेशिएको  महिला पुरुष अपवाद छोडेर एकातिर पीडा र दुखदायीको पात्र बन्ने , ठगिने , शोषित् हुने र बिचल्लीमा पर्ने हुन्छन भने अर्को तिर सबैभन्दा उर्बर, प्रजननशिल, रोमाञ्चकारी गरि खाने उमेर र सपनाहरू बैदेशिक रोजगारमै लुटिएका छन्  । राम्रोसँग एकअर्काको व्यवहार बुझ्न समेत नपाउँदै विदेशिनु पर्ने बाध्यताले दुई मनबीचको भावनात्मक सम्वन्धलाई कमजोर बनाउँदै मात्रै लगिरहेको छैन, दुईजना सँगै बस्नै नसक्ने अवस्थामा समेत पुर्याइरहेको छ । धेर थोर धन कमाए पनि धेरैको पति पत्नी दुबैलार्इ अनेक चिन्ता, तनाव र शंकामा जलाएको छ  , कतिका सम्बन्ध बिच्छेद नै  भएको छ  , घर बनाउन बिदेशिएका कतिका भएका घरहरु पनि भत्किका छन । कति श्रीमतीका श्रीमानले विदेश तिरै बिहे गरेर चर्को मानसिक यातना दिएका छन् त् कतिका श्रीमानले विदेशबाट कमाएर पठाएको पैसा लिएर श्रीमति अर्कैसँग हिंडेका छन्। लाउँ-लाउँ र खाउँ-खाउँको अवस्थाका छोराछोरीलाई घर न घाटको बनाएर आफ्नो दुनो सोझाएका छन् । 


मान्छे आफु स्वतन्त्र छु भन्दैमा अंहता पालेर छोरा र छोरिलाई बिजोग बनाई छाडेर अर्को बिहे गर्ने , पोइल जाने , बिरामी सन्तानलाइ लत्याएर जाने अनि पति पत्नीको सम्बन्ध घर परिवार प्रतिको दायित्व भरोशा सबै दोबाटोमा तोडेर जाने नारी पुरुष पात्र जो भए पनि त्यो दरिद्र चरीत्र हो! यस्तो व्यबहार र आचरणको जति निन्दा गरे पनि कमै हुन्छ । यस्तो चरीत्र भएका पात्रहरुले सामाजिक मुल्य मान्यताहरुलाई सखालित बनाउनेछन । अत सामाजिक परिवेशमा यस्ता गलत कुरालाइ मौलिक हक हैन अपराध घोषित  गरिदै सच्याइयोस । 

अन्त्त्यमा , एउटा परदेशिको जिन्दगी घरमा बूढा बा-आमा, श्रीमती र कलिला लालाबाला छोडेर भविष्य बन्ला भनेर विदेसिदा अनेक सास्ती खेप्दै घर परिवार भताभुंग लथालिंग हुने बियोग र बेदना एव आफै समेत जीवन समेत गुमाउँदै   बित्दै आएको छ   । पैसाले भौतिक सुख सुविधा त ल्याएको छ, तर आफन्तलाई टाढा बनाएकोे छ ।यसलाई सुधार गरौ ब्यबस्थित गरौ भनेर लागि पर्ने भन्दा पनि बैदेशिक रोजगारी नेपालीहरुको बाध्यता हो भनेर कसैको बाध्यतामा फाइदा उठाउने बिभिन्न वर्ग पनि हावी भएका छन् । जसले गर्दा बैदेशिक रोजगारले धेरै  मिलनहरुको सम्बन्धहरु टुटेको र टुट्न सक्नी चाङ नेपाली समाजमा अझै धेरे देखिने निश्चित छ  ।अत यस्ता प्रवृतिलाई निरुत्साहित गर्नको लागि  राज्यको ध्यान वैदेशिक रोजगार प्रवद्र्धनमा भन्दा स्वदेशमा रोजगारी सिर्जना गर्न तर्फ लागोस ।ईति 

No comments:

Post a Comment