नेपाल र नेपालीको नाम उच्च राख्ने काम गरौं - गणेश रावत

२०३० सालमा दैलेख नारायण नगरपालिका वाड न ७ किमुगाउमा जन्मिएका गणेश रावत पछिल्लो केहि बर्ष देखि अप्रवासी कामदारका रुपमा कुबेतमा कार्यरत छन । रावत कुबेतमा सामाजिक कार्यमा क्रियाशील, कुबेतमा कार्यरत नेपालीहरुको समस्यालाई मिडियामा पाक्षिक रुपमा उठान गर्ने कार्यक्रम प्रस्तोता , बिभिन्न संघ सस्थामा आबद्ध एव जिफन्ट सहयोग समुह कुवेतको स्थापना कालदेखि क्रियाशील सदस्य समेत रहेका छन ।केहि दिन अघि मात्र नेपाल ट्रेन्ड युनियन महासंघ( जिफन्ट) नेपालको वैदेशिक शाखा जिफन्ट सहयोग समुह कुवेतले तिनै गणेश रावतको नयाँ नेतृत्व पाएको छ ।
प्रवासको ठाउमा आफै अप्रवासी कामदार भएर नेपाली श्रमिकले व्यहोरेका स्थानीय समस्या समाधानमा खटिरहनु सोचे जस्तो सहज त छैन । फेरी पनि नेतृत्व गर्नका लागि अनेकौं कठिनाईलाई सामना गर्नसक्छु भन्ने आत्मविश्वासका साथ गणेश रावत नेपाल ट्रेन्ड युनियन महासंघ( जिफन्ट) नेपालको वैदेशिक शाखा जिफन्ट सहयोग समुह कुवेतको नेतृत्वमा पुगेका छन् । जिफन्ट सहयोग समुह कुवेतलाई व्यवस्थित गर्ने, सञ्चालन गर्ने, कर्तव्यको दयारा बिस्तार गर्ने लगायतका थुप्रै चुनौती सामु जिफन्ट सहयोग समुह कुवेतको अध्यक्षमा मनोनित भएका तिनै गणेश रावत संग हाम्रो संचार डटकमका लागि गोपाल सिवाले गरेको कुराकानी :-

सर्व प्रथम त हाम्रो संचार डट कमको तर्फ बाट जिफन्ट कुवेतको अध्यक्षमा निर्वाचित हुनु भएकोमा ढिलै भए पनि बधाई छ। तपाईको व्यक्तिगत पृष्ठभूमिको बारेमा बताईदिनुस् न ।
बधाई र सुभकामनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । हाल सुर्खेतमा बसोबास गरेको भए पनि मेरो जन्म स्थल दैलेखको किमुगाउ हो । बुवा श्री चक्र बहादुर रावत र आमा श्रीमती चन्द्रा रावतको कोख बाट जन्मिएका ३ जना दाजुभाइ दुई दिदीबहिनी मध्यका माइलो छोरा म ।सामान्य कृषक परिवारको घरमा जन्मिएको म , सानै मा बुवाको निधन पछी आमाले धेरै दु:ख कस्ट गरेर हुर्काउनु भयो । यस्तै बिबिध कारणले एसएलसी सम्मको अध्ययन गर्न सकेको छु ।


नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) बारेमा केहि जानकारी दिनुस न । 
नेपाल टेण्ड युनियन महासंघ ( जिफन्ट ) को स्थापना बि.सं. २०४६ साल साउन ५ गते भएको हो। नेपालको पहिलो ट्रेड युनियन महासंघको रूपमा दर्ता भएको यो महासंघमा निजि तथा अनौपचारिक क्षेत्रका विभिन्न श्रममा कार्यरत २९ वटा घटक युनियन हरुसङ्ग सम्बन्धित ३ लाख ५३ हजार श्रमिकहरु आवद्ध छन् ।महासंघले स्वदेशमा मात्र नभई नेपाली श्रमिकहरुको हक, हित र अधिकार सुनिश्चितताका लागी विदेशमा कार्यरत नेपाली श्रमिकहरुका विषयमा समेत काम गर्दै आएको छ। यो महासंघ २००६ नोभेम्बरमा स्थापित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ ( आईटियुसी ) को संस्थापक सदस्य पनि हो।

रोजगारीको क्षेत्रको विश्वव्यापारिकरण र नेपाली श्रमिकहरुको बाहय गमन वृद्धिसंगै नेपाली श्रमिकहरुको समस्या र जटिलताहरु पनि थपिदै गएको छ। जिफन्ट्ले प्रवासी नेपाली श्रमिकहरुको समस्या समाधानका लागी सन १९९२ देखि विभिन्न गतिविधिहरु गर्दै आएको छ। सन १९९६ मा उक्त कार्यलाई थप प्रभावकारी बनाउन महासंघको विदेश विभाग मातहत प्रवासी डेस्क स्थापना गरि विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरुलाई संगठित गर्दै आएको छ । सम्बन्धित देशमा संगठित सदस्यहरु लाई प्रवासी डेस्क अन्तर्गत जिफन्ट सहयोग समुह ( GEFONT SUPPORT GROUP ) स्थापना गरिएको छ।
कुवेतमा जिफन्टको आवश्यकता किन महसुस गर्नु भो ?
कुवेतको श्रम बजारमा नेपाली श्रमिकको बाक्लो उपस्थितिमा "जहाँ श्रमिक, त्यहाँ जिफन्ट भन्ने मुल नारा" लाई आत्मसात गर्दै २०१६ मे २१ का दिन कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई संगठित गर्दै बिदेश बिभाग मातहतमा रहेको प्रवासी डेस्क अन्तर्गत रहि जिफन्ट सहयोग समुह कुवेत ( GEFONT SUPPORT GROUP KUWAIT ) स्थापना गरेका हौ ।
वैदेशिक रोजगारको तीन चरणहरु जस्तैः ( बिदेश जानू पुर्व , विदेशमा रहदा र स्वदेश फिर्ता ) मध्ये विदेशमा कार्यरत रहदा को अवस्था सबैभन्दा जोखिमपुर्ण र समवेदनशील हुन्छ । विदेशमा रहदा हुने समस्याहरुको समाधानको उपायको जानकारी नहुदा कष्टदायी जीवन बिताउन नेपाली श्रमिकहरु ब्याध्य छन विदेशी श्रमिकहरुले उपयोग गर्न पाउने कानुनी तथा सामाजिक अधिकार कुवेतमा हुँदा हुँदै पनि नेपाली श्रमिकहरु निरन्तर पीडित हुनु परेको अवस्था छ । तसर्थ नेपाली श्रमिकहरुलाई सुरक्षीत , व्यबस्थित र संरक्षित गर्न कुवेतमा जिफन्ट सहयोग समुह कुवेतको आवश्यकता महसुस गरेका हौ।
कुवेतमा नेपाली श्रमिकलाई कुनै समस्या परेमा त्यसलाई सुल्झाउन जिफन्ट कुवेतको भूमिका के हुन्छ ? 
नेपाल ट्रेन्ड युनियन महासंघ( जिफन्ट) नेपालको वैदेशिक शाखा जिफन्ट सहयोग समुह कुवेत ले कुनै पनि नेपाली श्रमिकहरुलाई जस्तोसुकै समस्या परे पनि जिफन्ट सहयोग समूह कुवेतलाई सम्पर्क गरेमा बैधानिक बाटो बाट नेपाली दूतावास कुवेत , कुवेत टेन्ड्र युनियन फेडेरेसन, श्रममैत्री संघसंस्थाहरु र सरोकारवाला विभिन्न पक्षहरू सङ्ग सहकार्य गरेर समस्याको समाधान गर्नेछ। समस्यामा परेका पीडितहरुले जिफन्ट सहयोग समुह कुवेतमा निवेदन दिएमा आवस्यक पर्ने सहयोग गर्ने गरेको छ।
कुवेतमा कार्यरत नेपाली श्रमिकको अधिकार संरक्षणका लागि जिफन्ट कुवेतले नेपाली श्रमिक र स्थानीय युनियनबीच जोड्ने अहिले सम्म के के गरेको छ ?
कुवेतको स्थानीय टेन्ड्र युनियन भनेको कुवेत टेन्ड्र युनियन फेडेरेसन हो । नेपाली श्रमिक हकहितको लागी नेपाल टेन्ड्र युनियन महासंघ जिफन्टले कुवेत टेन्ड्र युनियन फेडेरेसन सङ्ग सम्झौता गरेको छ । नेपाली श्रमिकहरुलाई कुनै पनि ख्यालका समस्या परि आएमा त्यसको समाधानका लागी कुवेत टेन्ड युनियन फेडेरेसनले जिफन्ट सङ्ग सहकार्य गर्दछ। भने कुवेत ट्रेन्ड युनियन फेडेरेसन सङ्ग मिलेर आई एल ओ का प्रतिनिधि र कुवेत लेवर कानुनका विज्ञहरुलाई बोलाएर विभिन्न चरणमा प्रशिक्षण दिने गरेका छौ भने कुवेत ट्रेन्ड युनियन फेडेरेसन सङ्ग सहकार्य गर्दै मे दिवस र आप्रवासि दिवस मनाउने गर्दछौं । कुवेत ट्रेन्ड युनियनको पचासौं बर्ष गाठको कार्यक्रममा जिफन्टको तर्फबाट पन्चेबाजाको प्रस्तुति गरेको थियो जसको कारणले नेपाल र नेपाली श्रमिकलाई चिनाउने काम गरेको थियो।
घरेलु कामदारका समस्या धेरै उजागर भएका छन् । घरेलु कामदार र नेपाली मजदूरहरुको समस्या समाधान गराउन जिफन्टको भूमिका के रहन्छ ?
घरेलु श्रमिकहरुलाई यहाँको कानुनले श्रमिकको रूपमा मानेको अवस्था नभएकोले श्रमिकहरुले पाउनुपर्ने अधिकार घरेलु श्रमिकले पाएका छैनन् । घरेलु श्रमिकको बारेमा राज्यले राज्य स्तरमा नै दोहोरो श्रम सम्झौता गरि सामाजिक सुरक्षा को व्यवस्था गर्नुपर्छ । भखरै जिफन्ट सहयोग समूह कुवेतले नेपाली राजदुतावास मार्फत प्रधानमन्त्री ज्यु, श्रम तथा सामाजिक सुरक्षा मन्त्री ज्यु र नेपाल ट्रेन्ड युनियन महासंघ ( जिफन्ट) लाई विभिन्न बुदा सहितको ज्ञापनपत्रसमेत बुझाएको छ ।
हामी सधै सुरक्षित र ब्यबस्थित बैदेशिक रोजगारको बिषयलाई छलफलमा लैजाने र सुझाव दिने हाम्रो भुमिका रहनेछ ।यस बिषयभित्र खाडी राष्ट्रमा नेपालीहरुले बैदेशिक रोजगारीको क्रममा भोगिरहेका समस्याहरु, श्रम स्वीकृति, बैदेशिक रोजगार सम्बन्धि झन्झटिला प्रकृयाहरु, दुतावासलाई यहाँ रहेका सबै नेपालीको सर्वसुलभ पहुँचमा पुर्याउन संघसंस्थाहरुसंग सहकार्य र समन्वय गर्दै, घरेलु श्रमिकहरुलाई मर्यादित र सिर्जनात्मक काममा अभिप्रेरित गर्दै सामाजिक सुरक्षा व्यवस्थाको प्रत्याभूत गराउन सरकार लाई सचेत गराउने लगायत सम्बन्धित समस्त मुद्दाहरु पर्नेछन ।
अर्को कुरा नि थप्न चाहे कुवेतमा समस्यामा परेका श्रमिकहरुलाई नेपाली दूतावास र कुवेत ट्रेन्ड युनियन फेडेरेसन सङ्ग सहकार्य गरि समस्यामा परेकालाई आफू सक्दो नैतिक , भौतिक र आर्थिक सहयोग गर्दै आएका छौ। भने हामी सङ्ग आएका समस्यालाई नेपाल ट्रेन्ड युनियन महासंघ ( जिफन्ट) मा पठाउने गरेका छौ। र आवश्यक परेको खण्डमा जिफन्टले सरोकारवाला निकायलाई अवगत गराई समस्याको निराकरण गरेको छ। आजसम्म आएका समस्याहरुको समाधान गरेका छौ।तर मलाई लाग्छ अझै धेरै काम गर्न बाकी नै छ । जिफन्ट सबै श्रमिकहरु सम्म पुग्न सकेको छैन। कहिलेकाही यसले मलाई दुखी बनाउछ ।तर हाम्रो प्रयास जारी छ।
अन्य देशका नागरिकको तुलनामा खाडीमा नेपाली कामदारको ज्याला न्यून रहेको पाइन्छ। नेपाली कामदारको ज्याला पनि अन्य देशका कामदार सरह हुनुपर्नेमा जिफन्टको प्रयास के रहन्छ ?
सर्वप्रथम नेपाली श्रमिक अदक्ष कामदारहरु छन । हामीले कुनै अरु देश सङ्ग तुलना गरेर हुदैन । जस्तो भारत र फिलिपिन्सका कामदारहरु टेक्निकल कामहरू सिकेर आएका हुन्छन् । तर बङ्गालादेशका श्रमिक पनि अदक्ष नै छन त्यसैले बङ्गाली श्रमिकहरु भन्दा नेपाली श्रमिकहरुले राम्रो तलब पाएका छन । तर नेपाली श्रमिकहरु अदक्ष कामदारको रुपमा आएपनी लगन र परिश्रम बाट अहिले म्यानेजर सम्म भएका छन ।देशमा सिप र ज्ञानको सिकाउने व्यवस्था गरि दक्ष कामदार उत्पादन गरेर दक्ष कामदारहरुलाई बिदेश पठाउने व्यवस्था गर्नुपर्छ ।
कुबेतमा त धेरै संघ सस्था र राजनीतिक संगठन छन् । तपाईं भर्खरै नेतृत्वमा आउनु भएको छ कतिको सहयोग पाउनु भएको छ ? 
कुवेतमा धेरै संघसंस्था र राजनीति संगठनका भातृ संगठन हरु छन । हामी बिदेश मा भएर पनि होला श्रमिकको हकहित को लागी होस वा कुनै पीडित श्रमिकको उद्दारको लागी होस सबै एक भएर काम गरेका छौ र सबैले बुझ्नु भएको पनि छ जिफन्ट कुनै राजनीतिक बिचार वा आस्था , धार्मिक , जातीय र लैगिङ्ग विभेद बिना जिफन्ट सहयोग समुह कुवेतले नेपाली श्रमिकहरुलाई सदस्यता प्रदान गरि उसको हकहित को लागी काम गरेको छ। त्यसैले हामीलाई सबैको सहयोग पाएका छौ।
पछिलो केहि समय देखि कुबेतमा कार्यरत नेपालीहरुमा गलत गतिविधिहरुमा संग्लन हुने नेपाल र नेपालीको बद्नाम गर्ने उदत भएको खवर सुनिदै आएको छ ।नेतृत्वदायी भूमिका र ठाउमा भएको तपाइँ र यो समाज सुधार गर्न तपाईंहरुको संगठनको योजना धारणा के छ ?
हो केही नेपालीहरुको अवाञ्छित कार्यले गर्दा नेपाल र नेपालीको सिर झुक्ने गरेको छ । यसलाई न्यूनीकरण गर्नको लागी जनचेतना मुलुक कार्यक्रम लिएर नेपाली श्रमिकहरुको बिचमा जाने योजना रहेको छ भने यस्ता खालको प्रवृत्ति भएका ब्यक्ति हरुलाई नेपाली दूतावासको सहकार्यमा कानुनी उपचार गर्न समेत पछि पर्ने छैनौ।
अन्त्यमा, हाम्रो संचार डट कम मार्फत तपाईं कुबेत बासी नेपालीहरुलाई के भन्नु हुन्छ।
जिफन्टको बारेमा नेपाली लाई बुझाउने अवसर जुटाउनु भएकोमा हाम्रो सन्चार डट्कम लाई धेरै धेरै धन्यवाद । तपाईहरु बिदेश मा कार्यरत हुनुहुन्छ । त्यसैले अवाञ्छित कार्य देखि टाढा बस्ने र लगनशील र इमान्दार भइ आफ्नो काम गर्दै नेपाल र नेपालीको नाम उच्च राख्ने काम गर्नोस् । केही समस्या परेमा नेपाली दूतावास र जिफन्ट सहयोग समुहको सम्पर्कमा आउन यसै मिडिया मार्फत आग्रह गर्दछु ।

No comments:

Post a Comment