विभेद बिरुद्ध अभियान

दलित सवालहरूलाई आमसमुदायसम्म पुर्‍याउने प्रयास

LightBlog

Thursday, September 13, 2018

पानी छुँदा कुटाई खाइयो,अब छुवाछुत हटाउन लड्छु : बुद्धमाया विश्वकर्मा

विभेद बिरुद्द अभियान - भाद्र २८ गते - धारो छोएको निहुँमा छोरी कुटिइन् । किन भनेर सोध्दा आमा पनि कुटिइन् । सहन नसकेर अदालत पुगिन् महोत्तरी बर्दिबासकी बुद्धमाया विश्वकर्मा । अदालतले न्याय दियो । तर, गैरदलित गाउँलेले तनाब दिइरहे । झन् गाली गरे । सहन नसकेर विष पिइन् । सघन उपचारपछि बाँचेर घर आइपुगिन् । उक्त घटना र छुवाछूतको समस्याबारे उनीसँग गरिएको कुराकानी ।
पानी छोएको निहुँमा खास के भएको थियो ?
बैशाख १५ गते साँझको कुरो हो । छोरी मनीषा स्कूलबाट आएर गाउँको सार्वजनिक धारामा गएकी थिइन् । छिमेकी कमला गिरीकी छोरी दिपिका पानी भर्दै थिइन् । मनिषा धारा छेउमा बसेकी थिइन् । दिपिकाले किन धाराको पक्का (वरिपरि पक्की बनाएको ठाउँ) र मेलै भरेको पानी छोएको भन्दै मेरो छोरीलाई गाली गर्न थालिन् । त्यतिकैमा उनकी आमा कमला गिरी र उनका भान्जा रामबहादुर दाहाल आए । तथानाम गाली गर्दै जगल्टा समातेर भुत्ल्याए । म घाँस काटेर आएपछि छोरीले भनिन् । कमलाको घर नजिकै रहेको धारामा गएर हात–खुट्टा धुदैं उनलाई मेरी छोरीलाई पानी छोएको निहुँमा किन कुटेको भनेर सोधें । उनले भनिन्, ‘तेरो छोरीलाई मारेर दबाई गर्थें । बल्ल बाँचेर गई । तँ फेरि आइस् ? ’ त्यसपछि भनाभन हुन थाल्यो । उनले मलाई पनि जगल्टा समातेर कुटपिट गरिन् । अनि मैले भने, ‘मेरै श्रीमान्ले घर बनाइदियो, आज म र मेरी छोरीलाई मारेर दबाई गर्ने ? ’
त्यसअघि पनि छुवाछूतमा कुटाइ खानुभएको थियो ?
कति चोटी कुटे, कति चोटि । परिवारका सबैले एक–एक गरेर कुटाइ खाइसकेको छौं । वैशाखमा पनि कुटाइ खाँदा गाउँका मान्छेहरुलाई भेला हुन भनें । छलफलमा कोही आएनन् । सहेरै बसेको थिएँ । गाउँलेहरुले पनि साथ नदिएपछि कानूनको शरणामा पुगे । अदालतले न्याय दिलायो । तर, समाजले हामीलाई झन् नराम्रो नजरले हेर्‍यो ।
अनि, न्याय पाइसकेपछि किन बिष पिउनुभयो ?
घाँस काट्न बारीतिर गएँ । कुटपीटको कुरालाई किन पानी छोएको भन्ने निवेदन हालेको, किन कमला गिरी र रामबहादुर दाहाललाई थुनाको भनेर धेरैले सोधे । पारी गाउँ गयो, त्यसै भन्ने । उता छोरीको घरतिर गएँ, त्यसै भने । गाउँलेहरुले हाम्रो परिवारलाई देख्नेवितिकै कुरा काट्न थाले । हेर कानुनको धाक देखाको भन्थे । ला जिती भन्दै खिल्ली उडाउन थाले । गाउँका सबै मान्छे हाम्रा विरुद्ध एक जुट भएको देखें । सबै मेरो पराई भएको महसुस भयो । मेरो मनमा लाग्यो– बरु गाउँलेले मलाई मारिदिऊन्, तर मलाई हेरेर कुरा नकाटून् ।
तपाईंलाई कसैले साथ दिएन ?
के साथ दिनु ? झन् सबै एक जुट भए । त्यसपछि मलाई लाग्यो– दलितले पानी छुनु हुदैंन, छुँदा कुटाई खानु हाम्रो पुर्खैदेखि चलिआएको चलन हो । कानुनको गुहार माग्नु हुँदैन । प्रहरीमा उजुरी दिएर मैले भुल गरें । मेरै पो गल्ति रहेछ । काटेको घाउमा मल्हम लगाउने कोही गाउँले भेटिनँ । उल्टै केलाई यस्तो गरेको, गाउँमै मिलाउनु पर्दैन भन्दै थर्काए । अदालतको न्याय मेरा लागि निल्नु न ओकल्नु भयो । यो संसारमा बाँच्न मलाई पापझैं लाग्यो । कतिखेर साथमा रुपैंया होला र बिष पिएर मरौं भन्ने लाग्यो ।
त्यसपछि बिष पिउनुभयो ?
बिष किन्न पनि मसंग त्यति खेर पैसा थिएन । घरबारीको फर्सिको मुन्टा टिपेर बेच्न बर्दिबास बजार गएँ । एक सयमा बेचें । अनि बिष किनें । घरमा छोरा–छोरीलाई उडुस मार्न ल्याएको भनेर ढाँटिदिएँ । न्याय माग्नु सोह्रै आना मेरो गल्ति रहेछ भनेर दिउँसै कोही घरमा नभएको बेला लुकाएर आधि गिलास रक्सीमा बिष मिलाएर खाइदिएँ ।
अस्पताल कस्ले पुर्‍यायो, थाहा छ ?
खोई कसले हस्पिटल लग्यो थाहा भएन । हस्पिटल लान लाग्दा मैले भनेको थिएँ, मलाई मर्न देउ, बाँच्न मन छैन । यति थाहा मात्रै छ । त्यसपछी थाहा भएन ।
अहिले धारामा पानी थाप्न सहज छ त ?
—के हुनु सहज ? गैर दलितहरुले पानी थाप्दा हामीले परै बस्नुपर्छ । धारोको पक्का छुइनु हुँदैन । केटाकेटीले पानी छोइदिए उनीहरुले घोप्टयाएर अर्को पानी थाप्छन् । गाली गर्छन् । पानी छुँदा कुटाई खाइयो, जिन्दगी भरि नर्बिसने चोट मनमा लाग्यो ।
तपाईका बालबच्चा कति छन् ?
पाँच जना । चारवटा छोरी र एउटा छोरा । जेठी छोरी मालतीको बिहे भईसक्यो । गरिबीले छोरा भुवनले एसएलसी पढ्दापढ्दै पढाई छोडे । एउटी छोरी मोनिका पढ्दिनन् । अर्की छोरी मनिषा कक्षा ९ मा र कान्छी छोरी मानुषी २ मा पढ्दै छन् । छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना छ मेरो ।
तपाईका श्रीमान् र छोरा के गर्नुहुन्छ ?
मेरो श्रीमान्को नाम रामबहादुर विश्वकर्मा हो । उहाँ घर बनाउने काम गर्नुहुन्छ । छोरो भुवन काठमाडौंमा मूर्तिमा बुट्टा भर्ने काम गर्छन् । मेरो सासु र ससुरा पनि हुनुहुन्छ । ससुरा जनकलाल विश्वकर्मासँग आरण चलाउने कला छ ।

समाजमा दलितको सीप र श्रम चल्छ, तर पानी चल्दैन है ?
के गर्नु । हामी दलितले बनाइदिएको घरमा बस्न हुन्छ । बुट्टा काटिदिएको मूर्तिलाई मन्दिरमा लगेर पुजा गर्नु हुन्छ । कचिया, कोदालो, खुकुरीमा लगाइदिएको धार चल्छ । तर, हाम्रो पानी चल्दैन ।

मन्दिरमा पुजा गर्न जानुहुन्छ ?
अहा, जान्न । धारा अगाडी नै सरकारी बजेट र चन्दाबाट शिव मन्दिर बनाइएको छ । भरखरै मन्दिर बनेको छ । दलितलाई पस्न दिदैनन् भन्ने डरले जाँदिन । भब्सी गाउँको हबल्दार टोलमा हाम्रो एउटा मात्रै दलितको घर छ ।

यहाँबसेको कति वर्ष भयो ?
थुप्रै भयो यहाँ बसेको । १६ वर्षमा मेरो बिहे भयो । म अहिले ३८ बर्षकी भएँ ।

माइती घर कहाँ ?
उदयपुर जिल्लाको कटारीमा ।

सानामा पनि छुवाछुत भोग्नुभएको थियो ?
कटारीमा त हाम्रो जातीको ठुलो बस्ती छ । त्यहाँ छुवाछुत थिएन । गरिवीले गर्दा बुवाआमाले मलाई पढाउनुभएन । त्यतिखेर छोरीलाई पढाउने चलन पनि थिएन । बिहे गरेर भब्सी आएपछि पानी भर्दा धारामा पर बस्नु पर्ने, दलितले पानी छुन हुँदैन भन्ने कुरा देखें ।
दलितमाथि समाजमा कस्तो व्यवहार गरिन्छ ?
छुवाछुत त समाजमा धेरै हुन्छ । दलितलाई घरभित्र पस्न दिदैनन् । कुकुर बिरालो सहजै जान्छन् । हामीले छोएको पानी पनि खादैनन् ।

अनि गाउँमा भोज खान बोलाउँछन् त तपाईहरुलाई ?
बोलाउँछन् । घर बाहिरै बसाएर खुवाउँछन । आप्mनो जाती एक लाईन, दलितलाई छुट्टै लाईनमा खुवाउँछन् । गैर दलितले दलितलाई भोज खुवाउनु परे चामल, दाल, तरकारीहरु दिएर पकाउने जिम्मा छुट्टै दिन्छन् । तर, मलाई उजुरी गरेदेखि गाउँमा कोही पनि भोज खान बोलाउँदैनन् । बोल्नै छाँडिसके ।

दलित बिटुलो जातै हो त ?
होला । त्यही भएर त अलग्गै राखेर भोज खुवाउँछ । नछुइने भए हाम्रो पानी पनि चल्थ्यो । धारामा पानी भर्न जाँदा पक्की गरे ठाउँ नै छुइन्छ रे । त्यो जमिनमा उभिँदा यो जमिन छुइदैन र ? तर, मलाई के लाग्छ भने छुवाछुत गर्नु गलत हो । यो समाजको कुप्रथा हो ।
छुवाछुत अन्त्य गर्न के गर्नुपर्छ ?
अब गाउँगाउँमा बैठक राख्नु पर्‍यो । छुवाछुत गर्नु हुँदैन, त्यो गल्ति हो भनेर सम्झाउनु पर्‍यो । बुझाउनु पर्‍यो । समाजमा मिलेर बस्नुपर्छ । छुवाछुत हुन नदिन सरकारले निगरानी बढाउनु पर्छ । छुवाछुत गर्नेलाई कडा कानुन लगाउनुपर्छ ।
तपाईंको अबको योजना के छ ?
बाँचें । अर्को जुनी पाएँ । अब छुवाछुत हटाउन लड्छु ।
-अन्नपूर्ण पोष्ट बाट