झवानी टोलका दलित (चमार जाति ) ले करिब ४० वर्षपछि मात्र गाउको मन्दिरमा पूजापाठ गर्न पाए

विभेद बिरुद्ध अभियान - भाद्र २८ गते-बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित (चमार जाति ) हरु आफना बाबु, बाजेसहितका पूर्वजले बनाएको शिव पार्वती मन्दिरमा करिब ४० वर्षपछि मात्र पूजापाठ गर्न पाएका छन् ।
झवानी टोलमा चार दशक पहिले निर्मित शिव पार्वती मन्दिरमा गैर दलितहरुले तल्लो जातिको भनेर प्रवेश गर्न नदिएपछि उनीहरुले पूजापाठ गर्न पाएका थिएनन् । करिब एक सय १० घर धुरीको झवानी टोलमा चमार जातिका ६० घरधुरी छन् भने बाँकी घरधुरी ब्राम्हण, राजपुत, सहनी, तेली र नुनिया जातिको छ ।
मन्दिरमा प्रवेश र पूजापाठ गर्न चमारहरुलाई बन्देज लगाएको खबर गत शनिवारको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएपछि सोमबार झवानीमा बारा, पर्सा, रौतहट, सर्लाही र धुनषाका दलित अगुवा भेला भएका थिए । भेलामा राष्ट्रियसभा सदस्य रामप्रित पासवान, दलित सञ्जालका केन्द्रीय अध्यक्ष धर्मेन्द्र पासवान र महासचिव रामविनय पासवान पनि सहभागी थिए ।
झवानी टोलमा सोमबार साँझ दलित अगुवाहरुको भेलाले शिव पार्वती मन्दिरमा दलितलाई पूजापाठ गर्ने वातावरण बनाउन मन्दिर व्यस्थापन तथा सन्चालन समितिलाई आग्रह गर्दै यदि त्यसो नभए छुवाछुत विभेद गर्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी पनि दिएको थियो ।
त्यसपछि मङ्गलवार बिहान वडा कार्यालयमा वडाअध्यक्ष एवम् व्यवस्थापन समितिका अध्यक्ष रमेश कुशवहाको अध्यक्षतामा बसेको समितिको बैठक बस्यो ।
बैठकले गाँउमा छुवाछुत अन्त्य गर्दै दलितहरुलाई पनि मन्दिर प्रवेश र पूजापाठ गर्न दिने निर्णय गरेपछि मङगलवार बिहान साढे ११ बजे त्यहाँका दलित र गैर दलितहरुले एकसाथ मन्दिरमा पूजापाठ गरेका हुन् ।
वडा कार्यालयको छलफलमा गैर दलितहरुले दलितहरुलाई पनि मन्दिरमा प्रवेश र पूजापाठ गर्न दिने सहमति जनाएपछि एकसाथ मन्दिरमा पुगेका दलित र गैर दलितले जलाभिषेक गरि पूजापाठ गरेको झावानीका नन्दलाल राम चमारले बताए ।
‘वडाअध्यक्ष रमेश कुशवाहाले वडा कार्यालयमा दलित र गैर दलित सबैलाई छलफलमा बोलाउनु भयो, छलफलमा गैर दलितहरुले मन्दिर प्रवेश र पूजापाठ गर्न दलितहरुलाई अब नरोक्ने सहमति जनाए’, उनले भने, ‘त्यसपछि हामी दलित गैरदलित सबै एकसाथ मन्दिरमा पुगेर जल चढाइ पूजापाठ गर्‍यौ ।’
उनका अनुसार मङगलवार बिहान मन्दिरमा दलितका तर्फबाट सतहु राम चमार, हरिराम चमार, नन्दलाल राम चमार, शीला देवी चमार, लालमुनी देवी राम चमार, पार्वती देवी चमार, मन्झरीया देवी चमार, सुनिता देवी चमार, गीता देवी चमार र दलित महिला सदस्य सरस्वती देवी राम चमार गरि १० जना दलितले र गैर दलितका तर्फबाट स्थानीय शिक्षक अवधेश सहनीले पूजापाठ गरेका हुन् ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाले पनि मङगलवार बिहान वडा कार्यालयमा सहमति जुटेपछि प्रहरीको उपस्थितिमा झावानीका दलित र गैर दलितहरुले मन्दिरमा जलाभिषेक गरी पूजापाठ गरेको बताए ।
आफनै पूर्खा र पूर्वजहरुको लगानी र सक्रियतामा बनाइएको मन्दिरमा चार दशकपछि पहिलो पटक पूजापाठ गर्न पाउँदा गाउँका दलितहरु निक्कै खुशी भएको वडा सदस्य सरस्वती देवी राम चमारले बताइन् । झवानीमा झण्डै चार दशक देखि दलितसँग हुँदै आएको जातीय छुवाछुतको विभेद मङ्गलवारदेखि अन्त्य भएको युवा विद्यार्थी संघर्ष समितिका अध्यक्ष उमेश कुशवाहाले बताए ।
यसअघि गत बुधबार सिम्रौनगढका मेयर विजय शंकर यादवको पहलमा बसेको सर्वपीक्षय बैठकले पनि दलितमाथि भइरहेको जातीय विभेद अन्त्य गर्न भन्दै शिव पार्वती मन्दिरमा गत शुक्रबार बिहान ११ बजे दलित र गैरदलितहरुले पहिलो पटक पूजापाठ गर्ने निर्णय गरेको थियो ।
तर गत बुधबारको सर्वपक्षिय बैठकमा सहमति जनाएर दलितसंगै पूजापाठ गर्ने निर्णय गरेका मन्दिर व्यवस्थापन समितिमा रहेका गैरदलितहरुले नै मन्दिरमा पसेर पूजा गर्ने दलितलाई धम्की दिएपछि शुक्रबार दलितहरु घरबाटै निस्किएनन् । जसका कारण शुक्रबार पूजापाठ गर्ने तयारी रोकिएको थियो । यो खबर अन्नपूर्ण पोष्टबाट लिएका हौ ।

No comments:

Post a Comment