कहिले सम्म आफ्नै तालले डम्फु बजाउदै जाने ? -गोपाल शिवा

आजको लेखको सुरुवात केहि बर्ष अघि हाम्रा गाउको घटना बाट गर्दैछु। गाउमा एक जना जोशी थरका व्यक्तिको घरमा साझ खाना खाए पछि पारिवारिक कलह भएछ । दुई छोराहरु र आमा बुवाको झगडा को रुप यसरी बढ्यो कि उनिहरु बसेको ३ कोठाको सिंगो कच्ची घर रात भरिमा ३ तिर फर्किएको ३ ढोका भएको ३ ओटा घरमा परिणत भयो । गाउलेहरु सवै यो दृश्य देखेर मुक दर्शक बने एकै घरका मान्छेहरु ३ तिर मुख फर्काएर बसेको देख्दा सवैले आ-आफ्ना तिर जोड्ने , उछाल्ने ,पछार्ने गरेर यो परिवार लाई एकता कहिले हुन् दिएनन् र यो परिवारले पनि एकताको आवश्यकता र आत्मालोचना कहिले गरेनन् ।बरु कालान्तर सम्म यो परिवारमा एक अर्का बीच वितृष्णाको यस्तो एजेरु पलायो कि एकअर्कोको सुख दुख मरिमराउ मा समेत प्रवाह हुन् छाड्यो ।

आजको लेखमा दलित समुदायको एक अर्का बीच पलाएको वितृष्णाको यस्तै एजेरुको बारेमा थोरै चर्चा गर्नेछु।देशमा मात्र होइन प्रवासमा पनि अनगिन्ति नेपाली समुदायहरु छन्। थुप्रै जातीय समुदाय मात्र होइन पूर्वेली , पश्चिमेलि , सुदूरपश्चिमेलि देखि ठाउ ठाउका नाम बाट आफ्नै समुदाय छ, आफ्नै सघ सस्था छ । तिनै सस्थाहरुको बिचमा औलामा गन्न नसकिने कथित दलित समुदायहरुको धेरै संघ सस्थाहरु पनि छन् ।

तत्कालीन सामन्ती राज्यसत्ताले प्रारम्भ गरेको वर्ण व्यवस्थापश्चात् तुलनात्मक रूपमा निकृष्ट कर्म गर्न बाध्य र सम्पूर्ण अधिकारबाट वञ्चित भएका कथित आजका दलित समुदायहरु जो जातीय विभेदको शिकार भएर सधै हिंसाको शिकार हुदै ,अपमानित हुदै अझ ज्यानसम्म नै गुमाउदै बाची रहेका छन् । तर कैयौं वर्षदेखि आफूहरुले एकै प्रकारको पिडा भोग्दै आएका यिनै दलितहरु देश बाहिर आएर पनि एक् भएर बस्न सकेका छैनन । फलस्वरूप जातीय छुवाछुत र विभेदको प्रताडना सहदै पलपल बाचेकाहरु कोहि आफुलाई राज्य सत्ता बाट दलित बनाईएका हामी दलित हौ भन्ने ,कोहि हामी दलित होइनौ भगवानका सन्तान हौ भन्ने त् कोहि आफु लाइ दलित होइनौ शिल्पी हौ भन्ने सम्मको समुदाय बनाएर दलित समुदायहरु एक आपसमा फुटेर बसेका छन।सबै लाई आफ्नो डम्फु बजाउदै मा फुर्सद छैन । कित्ता कित्तामा विभाजित भएका छन।आखिरी कहिले सम्म आफ्नै तालले डम्फु बजाउदै जाने ? दलित समुदायको मुदालाई अन्यौलता तर्फ धकेलने ?

केहि बर्ष देखि मैले चिनेको एकजना मित्र जो पहिला आफुलाई दलित हु भन्दै खादा र अबिरमा सजिएर दलित सस्थाको कार्य समितिमा उभाउँन सफल भएका थिए उनैले अहिले आफु दलित होइन भन्दै आफुलाई शिल्पी बनाएर भर्खरै शिल्पी सस्थाको गठन गर्न भयाएछन । हुन् त् आफूलाई कसरी पहिचान गराउने भन्ने अधिकार व्यक्ति वा समुदायमा रहेको हुन्छ । यो व्यक्तिगत स्वतन्त्रता र मौलिकहक लाई सबैले सम्मान गर्नुपर्छ । तर जसरी पहिला पहिला समाजका बाठाहरु झोलामा खोला बोकेर हिड्थे त्यसै गरि अहिले दलित समुदायका केहि जाने बुझेकाहरुले दलित समुदायको नया नया सस्था जन्माएर सामाजिक संजालको ग्रुप ग्रुपमा राखेर खादा लगाएर हिड्दै छन । जे जे नाम र उपनाम दिएर भए पनि आफु र आफ्ना समुदाय प्रति हुदै आएका मानवता विरोधी असामाजिक कुरीतिहरुको प्रतिकार गर्न ,सामाजिक सुरक्षा र निर्भयता पुर्वक समाजको सदस्यको रुपमा बाच्न र समग्र सर्वत्र आफ्नो उपस्थिति देखाउन वातावरण बनाउन भनेर सस्थाहरु खडा गर्न दिन रात नभनी माथिएका साथहरु र सस्थालाई यहाँसम्म ल्याउन अघि लागेकाहरुको योगदान अविस्मरणीय रहे पनि यिनको दूरदृष्टि र लगनशिलताको गल्तिले यसरि खुलेका धेरै सस्थाहरु खादा लगाउने र गफ गर्ने क्लबमा रुपान्तरण गरेर दलित समुदायको सबल हुने बाटो खोजिरहेका छन। नाम मात्रको लागी सामाजिक संजालमा एक दुई वटा घटनाहरुको उठान गरे पनि अन्य घटनाहरुको बारेमा, मुख्य मुद्दाको बारेमा कानमा तेल हालेर बसेका छन् ।

उपेक्षित, उत्पीडित, अपहेलित र सीमान्तकृत बर्ग लगायत सम्पूर्ण नेपाली जनताको हक हित र अधिकार सुनिश्चितता सहित संविधान जारी भएको छ तर कहिले धारा छोए भनेर भगवानका सन्तान पिटिएका छन् , कहिले तथाकथित ठुलो जातसँग बिहे गरेको नाममा दलित कुटिएका छन् , कहिले सार्वजनिक मन्दिर प्रवेशको बिषयलाई लिएर शिल्पीहरुले याताना भोगने क्रम अझैँ चलिरहेको छ ।तर दलितका,शिल्पीहरुका र भगवानका सन्तानका सस्थाहरु भनेर आम देश-विदेश बासी जातीय रुपमा उत्पीडित नेपालीहरुका समस्या र भैपरी आउने आपत बिपत समाधान गर्न स्थापित सामुहिक संस्थाहरु मुकदर्शक बनेर सामाजिक संजालका ग्रुपहरुमा मात्र सीमित भएका छन।विदेशमा रहेका नेपालीहरुको सबैभन्दा ठुलो संस्था ठान्ने दलित समुदायका लागि भनेर खुलेका , जन्मिएका सस्थाहरुले पनि यो पनि जान्न जरुरी छ कि आखिर किन जन्मिदै छन् त विदेशमा दशैंका जमरा सरी अनेकौ उपनाममा दलित समाज र गठबन्धनहरु? को हुन त यसको जिम्मेवारी लिनेहरु? छैनन् जिम्मेवारी लिनेहरु भने देश विदेशवासी दलित समुदायका नेपाली जनशक्तिले किन चुन्दैछन त सत्तरी लाख समुदायको नेतृत्व सम्हाल्ने व्यक्ति र कार्यसमिति ? समुदायको लागि भनेर खुलने तर सेल्फी खिचने , फेसबुकमा शब्द शब्द बुनेर नाटक देखाउँदै अबिर जात्रा गर्ने यस्ता सस्थाको अस्तित्व के ? के हो समुदायको लागि भनेर खुलेको सस्थाको दायित्व ? अनि के गर्दै छ समुदायको सस्था ले ? अब स्पस्ट हुनु पर्छ र समुदायका लागि भनेर खुलेका जोडिएका सस्थाहरु हाम्रो सबैको साझा हुनु पर्छ।

बर्षौ देखि सामाजिक–आर्थिक र जातीयजस्ता विभेद लादेर कथित दलित समुदायलाई सामाजिक मात्र नभएर वैयक्तिक विकासमा पछाडि पारिएको छ ,नेपाली समाजमा दलित समुदायलाई कमजोर र असक्षम देख्ने मानसिकता बिकास गरिएको छ ।फेरी पनि खुला आकाशमा कुनै सीमा छैन भनेर तपाई हामी दलित,शिल्पी र भगवानका सन्तान मानेर अनेकौ परिचय बनाएर मन लाग्दी शब्द कुथेर उडीरहेका छौ तर भोलि जमिनमा पाइला राख्नु पर्ने हुन्छ। त्यसबेला आफ्नो अवतरण कहा हुने, गर्ने भनेर चै निश्चित गरौ।किनकी मुख्य समस्या भनेको दलितीकरण हो ,आफुलाई दलित भने पनि , भगवानका सन्तान भने पनि या त् शिल्पी भने पनि जब सम्म हाम्रो समूहगत पहिचान हुदैन तब सम्म सामाजिक,आर्थिक र जातीयजस्ता उत्पीडनमा परेको समुदायले जुनसुकै शब्दको सट्टा जुनसुकै शब्द प्रयोग गरे पनि तात्विक अर्थमा फरक पार्दैन ।

त्यसो त् संस्था नहुँदाको अवस्था भन्दा हुँदाको अवस्था पक्कै पनि राम्रो हो। तर यसमा भएका कमि कमजोरी औल्याउदै सामुहिक र सर्बत्र चासोको बिषयमा उदाहरणीय काम गरौ,आफुलाई दलित भने पनि , भगवानका सन्तान भने पनि या त् शिल्पी भने पनि समुदायको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरण गर्ने फेसबुके प्रतिबद्दता होइन ब्यबहारिक रुपमा प्रतिबद्ध हौ । राज्यको नीति नियम र समाजप्रतिको दायित्व समाधानको पहल गर्न राज्यलाई कर्तव्यनिष्ट बनाउन , समाजलाई समता मुलक बनाउन दलित समुदायको सशक्त हस्तक्षेपकारी भूमिकाको आवशयकता छ त्यसका लागि सम्पूर्ण दलित समुदायको सचेत एकता,साझा योजना र समूहगत पहिचान आजै बनाऊ ।

No comments:

Post a Comment