Monday, April 22, 2019

दलित महिलालाई कपाल मुण्डन गरी कुटपिट गरेको आरोपमा ८ पक्राउ

विभेद बिरुद्ध अभियान -धनुषा, बैशाख ९- धनुषामा एक दलित महिलालाई कपाल मुण्डन गरी कुटपिट गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले स्थानीय ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रञ्जित सादा र १९ वर्षीय सन्तोष सादालाई पक्राउ गरेको हो ।उनीहरुले जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी महिलालाई उनीहरुले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रमुख शेखर खनालले भने, ‘गाउँलेहरु मिलेर कपाल मुण्डन गरी कुटपिट गरेका हुन् । शनिबार राति भएको सो घटना आइतबार मात्र सार्वजनिक भएपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको छ ।’सो घटनामा पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गराई अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ ।

खोटाङमा भेटियो डरलाग्दो रोगः कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जनाको मृत्यु

विभेद बिरुद्ध अभियान -खोटाङ, बैशाख ९  : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो ।

तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भागमा समस्या देखिएको छ । कम्मरमुनिको भाग नचलेपछि जबर्जस्ती हिँड्ने क्रममा अँगेनामा पर्दा मनिषाको खुट्टामा घाउसमेत भएको छ ।

जम्मा १३ छोराछोरी जन्मिएका विश्वकर्मा परिवारमा चार छोराछोरीको मृत्यु भइसकेको छ । बाइस वर्षको उमेरमा साइली शर्मिला र २५ वर्षको उमेरमा काइली उषाको कम्मरमुनिको भाग नचल्ने रोगकै कारण मृत्यु भएको हो ।

विश्वकर्मा परिवारमा अहिले पाँच छोरी र चार छोरा छन् । दुईको सानै उमेरमा मृत्यु भएको विश्वकर्मा परिवारले बताएका छन् । पाँच छोरीमा जेठी छोरी सङ्गीता र कान्छी छोरी अस्मिता तथा जेठा छोरा राजेन्द्र, माइला ईन्द्रकुमार र साइला कृष्णमा अहिलेसम्म रोग देखापरेको छैन । सङ्गीता विवाह गरेर पराइ घर गइसकेकी छिन् । कान्छी पढ्दै छिन् । कमजोर आर्थिक अवस्थाका विश्वकर्मा परिवारमा यस्तो समस्या माइली छोरी कोपिलाबाट शुरुआत भएको स्थानीयवासी तथा जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो ।
“शुरुमा सपाङ्ग नै विद्यालय आउथे”, उहाँले भन्नुभयो, “पढाइमा पनि अब्बल नै हुन्थे, बिस्तारै पाँच÷छ कक्षा पुगेपछि त्यस्तो समस्या पर्न थालेपछि विद्यालय छाडेर बस्ने गरेका छन् ।” हिँड्ने क्रममा खुट्टा नलाग्ने, लाटिएर ढल्ने, भनेको समयमा भनेको ठाउँमा खुट्टा नपुग्ने, खुट्टाले टेक्न नमान्ने समस्याले कोपिला त थला नै बसिसकेकी छिन् । उनलाई कक्षा ५ पढ्दादेखि उक्त समस्या शुरु भएको आमा लक्ष्मीमायाँले बताउनुभयो । बाल्यकालमा अरु जस्तै सपाङ्ग जीवन बिताइरहेकी कोपिलालाई अहिले शौचालय लैजान तथा एक स्थानबाट अर्को स्थानमा लैजान आमाले बोकेर लानुपर्छ ।

कम्मरमुनिको भाग नचल्ने समस्या कोपिलामा शुरु भएको १२ वर्ष पुगेको बुबा वीरबहादुरले बताउनुभयो । “यही समस्या अन्य छोराछोरीमा पनि सर्दै गएको छ”, उहाँले भन्नुभयो, “आर्थिक समस्याले उपचारमा लैजान नसक्दा थप दुई छोरीको पनि अवस्था जटिल बन्दै गएको छ ।” अनिशा र मनिषाले एसइईसम्मको अध्ययन पूरा गरेकी छन् । अनिशामा कम्मरमुनिको अङ्ग नचल्ने समस्या देखिएको पाँच वर्ष भएको पारिवारले जनाएको छ ।
सोही समस्या मनिषामा देखापरेको दुई वर्ष भयो । अनिशा, मनिषा र कोपिलालाई अहिले आमाले नै डोहो¥याएर घरभित्र÷बाहिर गराउनुका साथै शौचालय लानुपर्ने बाध्यता छ । बोल्न, खान र बस्न सक्ने अवस्थाका उनीहरुको हेरचाह वृद्धा आमाले गर्नुहुन्छ । कान्छा छोरा चेतराज पनि अहिले सहज तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँड्दा उनको खुट्टाले भर दिन्न, काम्ने, लरबराउँछ । उनलाई कम्मरमुनिको भाग चलाएर हिँड्न धेरै सकस हुन्छ ।

माइली छोरीबाट शुरु भएको कम्मरमुनिको भाग नचल्ने समस्या बिस्तारै उनीहरुको परिवारका सबै सदस्यमा देखिने सम्भावना रहेको छिमेकी बताउँछन् । खेतीपातीबाहेक आयस्रोतको अन्य विकल्प नभएको विश्वकर्मा परिवारमा एक्कासी उक्त समस्या देखापरेपछि बिचल्ली भएको छ । उनीहरुमा देखिएको समस्याको उपचार नेपालमा सम्भव नहुने स्वास्थ्यकर्मीले बताएको आफन्त तथा नगरकार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो ।

भारतको गङ्गाराम अस्पतालमा मात्र उपचार हुने उनीहरुका लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने बताएपछि झनै समस्या भएको बताइएको छ । अहिलेसम्म राज्यकोतर्फबाट कुनै सुविधा नपाएका पीडित विश्वकर्मा परिवारलाई नेपाली साझा मञ्चकी कार्यवाहक अध्यक्ष शारदा भुसालले नगद रु १० हजारसहित लत्ताकपडा उपलब्ध गराउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र प्रहरी नायब उपरीक्षक राजकुमार केसीसहित पीडित परिवारको घरमा पुग्नुभएका कार्यवाहक अध्यक्ष भुसालले थप उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अहिलेसम्म नेपाली नागरिकता र अपाङ्गता परिचयपत्रसमेत नपाएका पीडित परिवारलाई घरैमा नागरिकता र अपाङ्गता परिचयपत्र लगेर वितरण गर्ने प्रजिअ पौडेलले आश्वासन दिनुभएको छ ।

Thursday, April 18, 2019

छोरीले दलित युवकसँग बिहे गरेपछी माइती पक्षलाई सामाजिक बहिष्कार

विभेद बिरुद्ध अभियान - दमौली, बैशाख ५- अन्तरजातीय बिहे गरेको भन्दै शुक्लागण्डकी ८ ढोरफिर्दीकी हुमाकुमारी भुजेलका कारण उनको माइती पक्षलाई सामाजिक बहिष्कार गरिएको छ। छोरीले दलित युवकसँग बिहे गरेको भन्दै समाजबाटै विभेद गरेको हो।

 उनकी छोरी सुस्मिताले तीन वर्षपहिले दलित युवकसँग बिहे गरेकी थिइन्। अन्तरजातीय विवाहपछि माइती आउन थालेकी सुस्मिताका कारण भुजेल परिवारलाई सामाजिक कार्यमा बहिष्कार गर्न थालिएको अन्नपूर्णमा खबर छ ।दलित समुदायका युवकसँग बिहे गरेकी छोरीलाई माइत ल्याएको भन्दै आफू र परिवारलाई छरछिमेकको बिहेलगायत सामाजिक कार्यमा सहभागी हुन बन्देज गरिएको उनले बताइन्। ‘टोल छिमेकबाटै विभेद भइरहेको छ’, उनले भनिन्,‘विभेद गर्नेमाथि कारबाही होस्। ’ आफूमाथि अन्याय भएको भन्दै उनले शुक्लागण्डकी नगरपालिकास्थित न्यायिक समितिमा उजुरी दिएकी छन्। 

टोलको एक विवाह भोजमा सहयोग गर्न पुगेकी उनले निमन्त्रणा भएको स्थानमा समेत सहभागी हुन नदिइएको उनले बताइन्।उजुरी दिएको लामो समयसम्म पनि छलफल नभएको भन्दै भुजेलले न्यायिक समितिले समेत विभिन्न बहानामा न्याय दिन नखोजेको गुनासो गरेकी छन्। समितिमा उजुरी दिएपछि गाउँ छाड्नुपर्ने धम्की आएको पनि उनले जानकारी दिइन्। न्यायिक समितिकी संयोजक सविता रसाइलीले उजुरीमाथि तत्काल छलफल गर्ने प्रतिबद्धता जनाएकी छन्।

शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले पीडकमाथि कारबाही हुनुपर्ने भन्दै पीडितले न्याय महसुस गर्ने गरी छानबिन हुनुपर्ने बताए। छुवाछुतजस्ता घटना गाउँघरमै मिलाउने गरिएकाले अदालतसम्म नआउने जानकार बताउँछन्। चालु वर्षमा एउटा मात्र छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको तनहुँ जिल्ला अदालतले जनाएको छ।

दलितमाथि अपमानजन्य विभेद हुँदा पनि प्रदेश सरकार किन मौन छ ?

विभेद बिरुद्ध अभियान - निरञ्जन मैनाली-२०७५ बैशाख ५ - यही १५ चैतमा नयाँ पत्रिकामा प्रकाशित ‘दलितले पैसा उठाएर, पसिना बगाएर बनाएको मण्डपमा मन्त्रीले महायज्ञ उद्घाटन गरे, पूजा बस्दा दलित लखेटिए’ शीर्षकको समाचार पढ्दा साह्रै दुःख लाग्यो । 

परापूर्वकालदेखि नै सामन्ती शासकले दलितमाथि छुवाछुतजन्य विभेद गरेको हामी सबैले सुन्दै, पढ्दै, अहिलेसम्म प्रत्यक्ष भोग्दै र अनुभव गर्दै आएका छौँ । आजको २१औँ शताब्दीमा पनि दलित भनेर एउटा मान्छेले अर्को मान्छेमाथि छुवाछुत, भेदभाव, अन्याय र अत्याचार गरिनु गम्भीर अपराध हो । संविधानमा दलितमाथि छुवाछुतजन्य विभेद गर्नु अपराध हो भनेर प्रस्टै लेखिएको छ । तर, बाराको परवानीपुरमा महायज्ञ आयोजक समितिका अध्यक्ष तथा वडाध्यक्षलगायत पदाधिकारीले दलितलाई पूजामा बस्नबाट वञ्चित गराए । उनीहरूमाथि विभेद हुँदै गर्दा त्यहाँ मधेसमुक्तिको नारा लगाएर प्रदेशको सत्तामा आसीन मधेसी मन्त्री पनि उपस्थित थिए । तर, कसैले पनि दलितलाई पूजामा सामेल गराउन कुनै पहल गरेनन् । यो कस्तो विडम्बना हो ?

महायज्ञका लागि इँटा बोक्ने दलित, मण्डप बनाउने दलित, त्यसका लागि पैसा उठाउने दलित, तर पूजा भने उनीहरूले गर्न नपाउने यो कहाँको नियम हो ? यसरी मधेसकै दलितमाथि अपमानजन्य विभेद हुँदा पनि प्रदेश सरकार किन मौन छ ? के यो सरकारले दलितमाथि भएको यस्तो अन्यायको विरोधमा बोल्न पनि सक्दैन हो ? के यहाँका बुद्धिजीवी, शिक्षक, राजनीतिज्ञ, समाजसेवी कसैले पनि दलितमाथि भएको यो विभेदको विरोध गरेर उनीहरूलाई पनि पूजामा सामेल गराउने वातावरण तयार गर्न सक्दैनन् ?

भ्रममा बाँचिरहेका आडम्बरीहरु -गोपाल शिवा

जति हाम्रो समाज सभ्य र शिक्षित हुँदैछ, त्यति नै विभेदका तर्कहरु , नया तरिकाहरु पनि बढिरहेको छ । हाम्रो ज्ञान र विद्वताले हामीलाई जति नै सभ्य बनाएता पनि आज पनि हाम्रो मानसिकता र ब्यबहारबाट  बिरालोले फोहर लुकाएजस्तै हामीले हाम्रो समाज भित्रको विभेदको कुरा लुकाउदै आएका छौ ।तर जति लुकाएपनि यो लज्जास्पद सत्य विभिन्न समयमा सार्वजनिक भएको छ ।काठमाडौं लगायतका गाउँ शहरहरुमा आज पनि दलित समुदायकालाई अलग्ग व्यवहार धेरै गरिन्छ । समाज बाट गरिएको यस्तो व्यवहारले गर्दा राजधानी जस्तो ठाउमा समेत दलित समुदायहरु नै आफु माथि भएको विभेद र ज्यादती बारे खुलेर बोल्न सकिरहेका छैनन् । त्यसमा पनि बिकट र सुदुरका गाउँ जिल्लाहरुमा दलित समुदाय माथि गरिने अमानवीय व्यवहार शहरमा बसेर कल्पना गरिने भन्दा पनि बढी पीडादायक छन ।

त्यसो त् देशको केन्द्रिय राजधानी काठमाडौंका तारे होटलहरुमा दलित समुदायका हक अधिकारका बारेमा थुप्रै गोष्ठी सभा सेमिनारहरु आयाेजना हुन्छन् । उनीहरु थुप्रै विषयमा चर्का र गहकिला भाषण गर्छन् ,कार्यपत्र पेश गर्छन् अध्ययन रिपोर्ट पनि बनाउँछन् । तर दिन प्रतिदिन जातीय विभेद र छुवाछुतको घटना यस्तो यस्तो घट्दै छ जुन सुन्दा मात्र पनि जिउ सिरिङ्ग हुन्छ । यदि कोहि जातीय विभेद बाट यहि राजधानीमा प्रताडित भयो भने दलित अधिकारका बारेमा बोल्ने व्यक्तिहरु तथा संस्थाहरु अर्को पटकका लागि चर्का र गहकिला भाषण कथेर , कार्यपत्रहरु तयार गरेर बस्छन कि क्या हो ? हैन भने अपबाद छोडेर धेरैले केही भनेको, गरेको देखिएको सुनिएको बुझिएको किन छैन? 

अर्को तिर  हामी एक्काइसौं शताब्दीमा छौ तर हामी सवै मिलेर प्रतिस्पर्धात्मक जीवन र सामुदायिक विकास गर्ने सोच भन्दा पनि फलानो त दलित हो उसले छोएको खानु हुन् , अलग्गै बस्नु पर्छ हुनु पर्छ भन्ने जस्ता मनमा दरिद्र सोच आफुमा हावी गराई विखण्डित बिचारहरु निरन्तर समाजमा प्रवाह गरिरहेका छौ।यस्तै एउटा सानो उदाहरण राख्न चाहन्छु। केहि दिन अघि एक जना दलित समुदायका मित्र कार्यक्रममा सहभागी भएका रहेछन ।संयोग कस्तो भएछ भने उनलाई दलित समुदायको भनेर चिन्नेहरूले कार्यक्रममा चलेको चियापानमा अनेक बहाना बनाएर केहि खान मानेन् छन । मित्र भन्दै थे कि बाहिर सार्वजनिक कार्यक्रममा बोल्दा आफ्नो विचार बदलिनेहरुले आफु भित्रको व्यवहार बदलिन कठिन परेको स्पस्ट देखे । माथिको सन्दर्भ एउटा सानो उदाहरण हो, मित्रले भने झैँ हाम्रो नेपाली समाजमा जात प्रथाको बारेमा कुन हदसम्मको नकारात्मक सोच छ भन्ने कुराको प्रमाण हो । पढे लेखेका र समाजका अगुवा एव  छुवाछूत अन्त्य गर्न भन्दै समाजमा अर्ति र उपदेश दिनेहरुको त यो हालत छ भने जन्मेर बुझ्ने अवस्था भएदेखि नै नकारात्मक सोच र संस्कारमा हुर्केका आम मानिसको हालत के होला ? 

यी मित्रले मात्र हैन धेरै पटक आदरणीय दलित समुदायका अन्य मित्रहरुले पनि यसरी नै सार्वजनिक कार्यक्रममा संगै बसेका गाउँका गैर दलित अगुवाहरुले चिया बिस्कुट खान पर्यो भने अनेक कारण बताएको याद गर्नु भएको होला ।  यिनका कारणमा तपाइले बिस्वास पनि गर्नु भएको होला तर के स्पस्ट हुनुस भने उनीहरु संगै तपाइँ या कोहि दलित समुदायको संगै बसेको छ भने त्यो नै सबैको कारण समस्या बनिरहेको हुन्छ ।भलै दलित समुदाय माथि आएको चेतनाको बिकास र देशको कानुनले गर्दा पछिल्ला केहि बर्ष देखि यसरी नै दलितले छोएको नखाने भनेर खुलेर प्रतिकार गर्न नसक्ने गैर दलितहरु हेर्दा विभेद नदेखिने गरि व्यवहारिकरुपमा विभेदको ठूलै पहाड आफु सामु उभाएर बसेका छन ।किनकी दलितले छोएको खान हुँदैन भन्ने पुरानो सोंचहरु जमेर बाक्लो बोसो बनेर अझैपनि यिनको दिमागमा जेलिएको छ ।

अर्को एउटा उदाहरण भन्छु, एक दिनको कुरा हो एकाबिहानै म एक जना दलित समुदायकै मित्र कहा काम बिशेषले पुगे ।  मित्र कहाँ हरेक बिहान दुध लिएर त्यहि गाउका पुराना एकजना गाइ पाल्ने आउदा रहेछन । गफिदै गर्दा दुध ल्याउनेले घरै अघि बाट साईकलमा  दुध बोकेर गए ... तर मित्र कहाँ दुध छोडेन ...आज पनि दुध ढिला ल्याउने भो ।भाईलाई (मलाई ) चिया पिलाउन नपाइने भो त ....मित्रकि दिदिले भनिन् । केहि छैन दिदि फेरी पिउला नि मैले वहाको पीर लाई अलि मत्थर पार्दै बोले ।गफको सिलसिलामा थाहा भयो कि मित्रको घर नजिकै रहेका यी गाइ पालक ले उनकै घर बाट दुध वितरण गर्दै केहि दिन सवै तिर लगेछन तर तेस्रो दिन देखि अचानक उनले ढिलो ल्याउन थालेका रहेछन ।कसले भन्यो थाहा भएँन तर गाउमा कथित छुन नहुने जातलाई छुवाएर दुध ल्याउदा रहेछौ भनेर केहि ग्राहकले आपत्ति जनाए रे भनेको सुनियो । त्यसैले होकी केले हो कुन्नि पहिला गैर दलितलाई दिई सकेर अहिले सवै भन्दा लास्टमा हामीकहाँ दुध ल्याउन थालेका छन  , मित्रका पिताले थपे ।पोइसा तिरेर लिने होनि किन ढिला ल्याउनु भा भनेर सोध्नु भएन त् कारण , मैले प्रश्न तेर्साए । म सधैँ हिचकिचाउने गर्दछु, आफ्नो जात र समुदायको कुरा देखाएर आफ्नो अपमान र उपेक्षा आमन्त्रण गर्ने क्षमता ममा छैन, मित्रले जवाफ फर्काए ।कुरा छोट्याउदै म मित्रको घर बाट बिदा मागेर फर्किए।तर मनमा बारम्बार त्यहि विभेदको स्वरुपको अनुत्तरित प्रश्नहरु मेरो मनमा उठिरहेका थिए ।नेपाली समाजका दलित समुदायमा बिना कसुर आफुमा हिनताबोध हुने र गैर दलितमा दुध सम्म छोइने भन्ने नकारात्मक सोच र चिन्तन कुन हदसम्म छ भन्ने कुराको उदाहरण श्रवण गरेर फर्किदै थिए । 

त्यसो त् देशमा लोकतन्त्र आयो अब त् पहिलेको जस्तो विभेद छैन , व्यक्तिहरु शिक्षित भए , कानुनले सजाय निर्दिष्ट गरेको छ , जातीय भेदभाव तथा छुवाछुत दण्डनीय अपराध हाे भनेर सबै मान्छन् भनेर आत्म सन्तुस्टीको तक्मा लगाए पनि नेपाली समाज भित्र देखिएको विभेदको अनेकौ स्वरुपले दलित समुदाय बाट हुनुकाे पीडा पटकपटक अनुभूति गराएको छ ।नेपाली समाजका  जेष्ठ पुस्ताको कुरा छोडौ युवा पुस्ताका विद्वानहरु र बौद्धिकहरु समेत अझै पनि दलित समुदायले छोएको चिया र पानी समेत पिउन मान्दैनन् ।   समाजको आदर्श नमूना भएर देखाउनुपर्ने विद्वानहरुभित्र पनि  हिन्दु संस्कृतिको एउटा तत्व लुकेर रहेको हुन्छ जसले उनीहरुलाई आजका मितिमा पनि कुनै सार्वजनिक कार्यक्रममा नेपाली समाजका एकै धर्म र संस्कार मान्ने दमाई , कामी , सार्की लगायत कथित दलित भनेर चिनिएकाहरुको साथमा बसेर भात त के चिया, पानी पिउने सम्म पनि आँट दिलाउन / आउन सकेको छैन ।त्यति मात्र हैन अझै पनि नेपाली समाजका केहि ठाउहरुमा दलित भन्ने थाहा पाएमा किनेरै खाएको चिया, खाजाका भाँडा माझन लगाउने गरेका धेरै उदाहरणहरु सार्वजनिक भएका छन्  ।मुलुकमा लोकतान्त्रिक ब्यबस्था हुदा पनि हिन्दु संस्कृति कै कारण कथित तल्लो जाति भएर सकसको जीवन जिउनु बाध्य भएका दलित समुदाय आफैले बनाएको मन्दिरमा खुट्टो राख्न डराउछन ।  

सामाजिक र ब्यबहारिक रुपमा सुरुमा मान्छेले धर्म र पारिवारिक बाताबरण बाट व्यक्तिलाई जसरी चिनेको हुन्छ, चिनाइएको हुन्छ त्यहि अनुरुप जति नै शिक्षित भए पनि विभेदकारी ब्यबहार गरि रहेको हुन्छ जुन अहिले हाम्रो समाजको समस्याको रुपमा उभिएको छ  ।  दुध चोखो हुनु पर्ने, आफु भन्दा पहिले दलित समुदायकोमा दिन नहुने भन्दै विभेदलाइ मलजल गर्नेहरु  । उतिनै दाम तिरेर लिने दुधको नाममा दलित समुदाय माथि अप्रत्यक्ष रुपमा हिँसा गर्नेहरु । दलित समुदायलाई मानसिक यातना दिनेहरु जन्मजात संस्कारको रुपमा जीनमै  जातीय विभेद लिएर आएको आडम्बरीहरु हुन् जसले आफु भ्रममा बाचेर आस्थाको हिलो समाजमा छ्यापी रहेका हुन्छन ।त्यसो त सत्य र इतिहासको आड नपाएपछि विभेद गर्नेहरु संग सानो जात र छुवाछुतको बारेमा अर्थात् उनीहरु बीच जरा गाडेर बसेको भ्रमको बारे व्यक्तिपिच्छे फरक कथा होलान। तर यी सवै मिथ्या हुन् किंनकी मैले राजधानीका धेरै दुध डेरी,फुड प्रोडक्सन र सप्लाईमा नेपाली समाजका कथित दलितहरुले आफ्नै हातले दैनिक उपभोग्य बस्तुहरु दुध ,दहि, घ्यु र बिस्कुटहरु बनाएको देखेको छु ।प्रायः विभेद लाइ सिरोधार्य गरेर हिड्ने मानिसहरू यसरी बनाएको खानाहरु बजारमा पवित्र मानेर दलित समुदायले छुन्छन कि भन्दै तर्की तर्कि किनेर लगेर खाएको सम्म देखेको छु। यी दुवै परिदृश्य देखेर थोत्रो अभिमान, जातको आडम्बर गर्दै  भ्रममा बाचिरहेकाहरु सम्झेर यिनको भ्रमलाई मिथ्या नभने के भने !  

निचोडमा भन्नु पर्दा आफ्नो सामाजिक प्रतिष्ठा फिर्ता लिनकै लागि आफ्नै समाजबाट तिरष्कृत र दलित भएर दलित समुदायले ज्यु ज्यु गर्दै अहिले पनि बस्नु परेको छ।   अहिले सम्म दलित समुदायले नेपाली समाजमा आफुलाई तल्लोजात भनेर भनाइनु परेको छ , चिनाईनु परेको छ,दलित समुदायले आफ्नो अस्तित्वको परिचय नेपाली समाजमा खोजिरहनु परेको छ।के अब पनि दलित समुदायले यसरी थिचाेमिचाेलाई सहेरै माैन बसिरहलान् ?

Wednesday, April 10, 2019

आत्महत्या हैन आत्मनिर्भर बनौं -गोपाल शिवा

 हालै मात्र चितवनको भरतपुर–१८, शशीनगरमा एकैपरिवारका ३ जना आमा माया आले मगर, छोरी विनिता र छोरा विवेकश एउटै कोठामा ३ वटा सलमा झुण्डिएको अवस्थामा मृत भेटिए।  एकैपरिवारका सदस्यहरुले सल्लाह गरेर एकै साथ् एक बारको जीन्दगीलाई कसरी परित्याग गर्न सके होलान ? के होला कारण ?  घटनाको खवर सुने देखि पटक–पटक यो प्रश्नले मेरो मन चिमोटी रहयो, चोथोरी रहयो ।घटनाको सत्य तथ्य के हो त्यो अनुसन्धानको बिषय होला र ढिलै भए पनि सत्य तथ्य वाहिर आउला ।तर जसरि केहि युटुब चयानलमा घटनाका बारेमा फलोअप गर्दै छिमेकीका कुराहरु राखीए, उनका पतिका कुरा राखीए त्यस बाट के कुरा स्पस्ट हुन्छ भने उपेक्षा , हेला  र सामाजिक हिंसाको शिकार बनेकी रहेछिन माया आले मगर। 

छोरा छोरि संगै बसेको बेला गफ गर्न छिमेकी आएको  बेला बाहिर बाट कसैले चुकुल  लगाएर  माया र उनका १२/ १३ बर्षका छोराछोरीलाई रातभरी उनकै घरमा थुनेर मायालाई परपुरुषसँग सल्किएकी भनेर घोषित गर्न खोजेको रहेछ  ।आफु माथि लागेको गम्भीर आरोपको संगै रहेका आफ्ना बच्चाले प्रतिबाद गरे पनि मायाले नियति सम्झेर प्रतिवादमा उदासीन बनेकी रहेछिन  ।  तर बिडम्बना भगवान रामचन्द्रले आफ्नी पत्नीमाथि विश्वास नर्गदा सीताले अग्निपरिक्षा दिनु परेको थियो भने किवदन्ती सुनेका उनका पति र समाजले मायाको स्वास्थ्य परिक्षणको अग्निपरिक्षा गराए छन् । अग्नि, आफन्त र दुनियालाई साक्षी राखेर नयाँ सम्बन्ध स्थापित गरेकी सिताले त्यसपछिका दिन कसरी ऊपेक्षा , हेला  र सामाजिक हिंसाको शिकार बनेकी थिईन त्यसै गरि स्वास्थ्य परिक्षणको अग्निपरिक्षामा समेत सत्यतामा अडिग निक्लेकि मायाले आफु माथिको मिथ्या आरोपलाई सहजीकरण गर्दै  त्यस पछिका दिनहरु भने दुनियाको भिडमा प्रताडित हुदै आफैलाइ  खोजि रहेकि रहेछिन ।  

आफ्नो घरमा आफ्ना सन्तान संगै बसेका बेला गफ गर्न आएका छिमेकीलाइ समेत थुनेर चुकुल लाइ दिएर आफ्नो ईज्जतमा हिलो छ्याप्ने अपराधी छाती फुलाएर आफ्नै अगाडी हिँड्दा , दिनप्रतिदिन आफ्नै  पति पर-परै भै दिदा उपेक्षा , हेला  र सामाजिक हिंसाको एउटा-एउटा ज्वारभाटाले पछिल्ला सात महिना मायाको मस्तिष्कको मुलायम भित्तामा कति-कति लात हानेको रहेछ।यथार्तमै हेलामा पारिएका ब्यक्तिमा स्वीकार्यताको मनोवृत्तिको विकास हुने भएकोले उनीहरूले सत्य, तथ्य र असत्य बीचको भिन्नता छुट्याउन सक्दैनन् । फलस्वरूप अनावश्यक आरोप र  आशङ्काबाट छटपटाएकि  मायाले घटना घटेको सात महिना सम्म आफुलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी रहेछिन ।जीवनभर हीनताबोध लिएर कसरी बस्ने ?  यस्तो सामाजिक बाताबरणमा म र मेरा सन्तान कसरी बाँच्ने? भन्ने अनुत्तरित प्रश्न ले गाजि रहेको मन मस्तिस्कले पति संगै काठमान्डौ आएर बस्ने चाहना प्रकट समेत गरेकी रहेछिन  तर बाँच्ने रहर जे जति थिए ति सवैमा आफन्तको व्यवहार ,उपेक्षा , हेला  र सामाजिक हिंसाको दिनप्रतिदिन बिष घोलिए पछि  बाँच्ने रहरहरुको आफै घाटी निमोठ्न बाध्य भएकी रहेछिन ।

तुलनात्मकरूपमा हाम्रो समाजमा जुन सामाजिक, सांस्कृतिक संरचना र सोच छ, त्यसले समग्रमा दलित समुदाय र महिलाहरु माथि धेरै उपेक्षा र हेला हुनेगरेको छ ।यसमा कुनै गल्ती वा भ्रम छैन, यो यथार्थ हो।  त्यस्ता उपेक्षा र हेलाको शिकार हुने दलित र महिला धेरैजसो गरीब परिवारमा रहेका छन् ।किनकी नेपाली समाजको विषम परिस्थितिलाई बुझेका पढेलेखेकोहरु पनि दासताको संस्कारमा उत्पीडित, गरिव , दलित र महिलालाई अल्झाइराखेमा मात्र आफ्नो साम्राज्य कायम रहिरहने मानसिकता पालेर बसेका छन ।  खास गरि अधिकांश घरमा एकजना लोग्ने मान्छेकै कमाइबाट परिवारका सम्पूर्ण सदस्यको जीवन निर्वाह भइरहेको हुन्छ। त्यस्तो परिस्थितिमा लोग्ने मान्छेहरुमा  म त जातैले ठुलो , म त श्रीमान हु , मैले तोकेका, ठहर्‍याएका जति सबै सत्य भन्ने दम्भ हावी भएको छ  । अर्को तिर नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका छन महिलाले । तर हरेक तह र तप्कामा अझै पनि झण्डै ८० प्रतिशतभन्दा माथि पुरुषकै बाहुल्य रहेको छ ।सामजिक रुपमा सवै खाले विभेद , उपेक्षा र हेला जीवित छ । सयौ मायाहरू प्रताडित भएर बाच्न बाध्य छन ।  यहि किसिमको चरित्र विकास भएकाले नै अहिले सम्म हाम्रो समाजमा परिवर्तन हुन सकेको  छैन । 

अर्को कुरा बैबाहिक जीवन भनेको एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, जीवन जिउने कला पनि सिकाउछ । तर नेपाली समाजका आममहिला अहिले पनि घरको आर्थिक जिम्मेवारी मेरो होइन भन्ने धारणा लिएर बसेका छन। अझ त्यसमाथि शंका गर्ने ,  याताना , विभेद , उपेक्षा र हेला गर्ने पति पर्यो भने  आफु अलि हच्किएको अथवा एकदमै बोझले अत्तालिएको जस्तो अनुभूति गर्छन हाम्रा दिदीबहिनीहरु ।परिवारको स्याहारकर्तामात्र होइनौँ, परिवारको संरक्षक वा पालनकर्ता पनि हुनसक्छौँ भन्ने सोच र आत्मविश्वास नहुदा पतिबाट  अपहेलित हुदा जीवन निर्वाह कसरी गर्ने भन्ने विकल्प नभेटेर वा नखोजेर नै दशकौँदेखि हिंसा खप्न बाध्य मात्र हैन यसरी नै हाम्रा दिदीबहिनीहरु आफ्ना लालाबाला सहित मृत्युवरण समेत गरिरहेका छन्।

आदरणीय दिदीबहिनीहरु, जबसम्म समाजको हर सतहमा आफू आफैँले जिम्मेवारी लिन सक्नु हुन्न , आफ्नो दोष र कमजोरीहरुको आत्मनिरीक्षण गरेर त्यसको उचित निराकरणका पाइला चाल्नु हुन्न , आफ्नो कर्तव्यमा सचेत हुनु हुन्न तब सम्म तपाईहरुको जीवन मात्र होइन नेपाली समाजलाई पनि अधोगति तिर धकेलिरहेको हुन्छ । त्यसैले सामाजिक कुरीतिले बाँधिएका महिला, दलित जति पनि छौ आत्मनिर्भर बनौ ,आफ्नो आर्थिक गतिविधि के कसरी चलाउने भन्ने कुरा आफैमा भर गरौ  । अरुले के भन्लान् भनेर टिकेको नियम तोडौ र आफैँप्रतिको कमजोर विश्वास गर्ने बानी आजै बाट सुधारौ । किनकि परिवर्तको सुरुवात व्यक्तिले आफु बाट गर्नु पर्छ  । 

Tuesday, April 9, 2019

‘हेल्पलेस’ र ‘होपलेस’को अवस्थामा दलित महिला, घर भित्रैदेखि सुरु हुन्छ विभेद-सुनिता न्यौपाने

विभेद बिरुद्द अभियान - चैत्र २५ गते , विभेद बिरुद्द अभियान - चैत्र २५ गते ,नेपाली समाजमा सबैभन्दा बढी वहिष्करण र उत्पीडनमा परेको समुदाय दलित समुदाय भएको बताइन्छ ।  त्यसभित्र पनि महिला अझ बढी उत्पीडनमा छन् । सामाजिक रुपमा मात्रै होइन राजनीतिक रुपमा पनि दलित महिलालाई वहिष्करणमा पारिएको छ । यद्यपि, नेपालको राजनैतिक परिवर्तनका आन्दोलनमा भने दलित महिलाको सहभागिता उल्लेख्य देखिन्छ ।

०४६ को आन्दोलनमा रेखा विश्वकर्मा र पम्फा खड्की सेनाको गोलीबाट मारिएका थिए । 

०५२ सालबाट सुरु भएको माओवादी ‘जनयुद्ध’मा त नेतृत्वदायी भूमिकामै दलित महिलाको सहभागिता थियो । यस्तै ०६२ र ६३ को जनआन्दोलनमा सेतु विक सहिद भइन् । 

दलित महिलाको आन्दोलनमा सहभागिताको मूल्याङ्कन हेर्दा राजनीतिक पार्टीहरुमा उनीहरुको उपस्थिति जबरजस्ती देखिनु पर्ने हो  । तर करिब १३.८ प्रतिशत जनसंख्या रहेको दलित समुदायको राज्यका संयन्त्रमा भने नगन्य उपस्थिति देखिन्छ । 

 राजनैतिक पार्टीहरुमा दलित महिलाको भूमिका त कमजोर छँदै छ त्यसमाथि दलित र महिला भएकै कारणले पार्टीभित्रै उत्पीडन भोग्नु पर्ने समस्या समेत व्याप्त छ ।

चुनावका बेला भोटका लागि दलित महिलाका मुद्दा जोड तोडले उठाइन्छ । तर कार्यान्वयन गर्ने बेला सुने नसुकेको गर्ने पार्टीको पुरानो बानीमा अहिले पनि परिवर्तन देखिएको छैन । 

संविधानको बाध्यात्मक परिस्थितिका कारण केही महिला पार्टी तथा राज्यका निकायमा सहभागी देखिए पनि सशक्त देखिन सकेका छैनन् ।  

पार्टीभित्रै तथा राज्यका संयन्त्रबाट नै दलित महिला भएकै कारण समस्या झेल्नु परेको दलित महिलाहरु बताउँछन् । यतिसम्म कि दलित महिला भएकै कारणले एक जनप्रतिनिधि कलुदेवी विशवकर्माले डेरा पाउन सकिनन् । त्यस्तो अवस्थामा न राज्यले उनलाई कुनै सहयोग गर्यो न सम्बन्धित पार्टीले नै ।

कानुनी रुपमा महिला दलित आदिवासीका लागि अनेक कानुन बनेको छन् तर कार्यन्वयनमा राज्य उदासिन देखिन्छ । ०६२÷६३ को आन्दोलनपछि दलित महिलाको उपस्थिति केही बढेको देखिए पनि उनीहरुले भोग्नु पर्ने पीडा उस्तै छन् । सामाजिक, आर्थिक, साँस्कृतिक विभेदका बाबजुत दलित महिलालाई राजनीतिमा आउनु सजिलो छैन । तर जे जति आउन सफल छन् उनीनीहरुले भोग्नु पर्ने समस्या भने अनेक छन् । 
जङ्गबहादुरले १९१० मा मुलुकी ऐन जारी गरे । उक्त ऐनले जात व्यवस्थालाई लिखित कानूनी मान्यता दियो । एउटै अपराधमा माथिल्लो जातका मानिसलाई कम सजाय र तल्लो जातलाई बढी सजाय दिने व्यवस्था भयो । जङ्गबहादुरले तागाधारी, मसिन्या मतवाली, न मसिन्या मतवाली, छोइछिटो हाल्नुपर्ने र नहाल्नुपर्ने अछुत भनि वर्गाीकरण गरे । 

२०२० सालमा नयाँ मुलुकी ऐन आएपछि जात व्यवस्था अन्त्य भयो । तर व्यवहारमा भने परिवर्तन भएन । अहिले पनि हाम्रो समाज मुलुकी ऐनअनुसार नै चलिरहेको छ । दलितभित्रको पनि दलित महिलालाई जे गरे पनि हुन्छ भन्ने सोचले पनि सामाजिक वहिस्करणमा परेका छन् । 

गैरदलित महिलाहरुमा पछिल्लो समय केही शिक्षा तथा चेतना आउन थालेको भए पनि त्यो दलित समुदायसम्म पुग्नै सकेको छैन । विभेदको स्वरुप पनि प्रष्ट छैन । आफू अन्यायमा परेको छु वा छैन भन्ने चेतनाको विकास पनि नभइसकेको अवस्थामा समानताको लागि दलित समुदायले अझै निकै लामो संघर्ष गर्नुपर्ने देखिन्छ । 

दलित महिलाको अवस्था
नेपालमा १३.८ प्रतिशत जनसङ्ख्या दलितको रहेको  छ  । नेपालमा ५७ प्रतिशतको दरले  बलात्कार घटनामा वृद्धि भइरहेको छ  । त्यसमध्ये पनि दलितमा बलात्कार ७७ प्रतिशतले वृद्धि भइरहेको  छ ।

अनौपचारिक शिक्षा सेवा केन्द्रको रिपोर्टअनुसार यो घटनाले दलितहरु अझै बढी यौनजन्य हिंशा र मारमा परेका छन् भन्ने देखाउँछ । त्यसले गर्दा नेपाली समाजको पुछारमा दलित महिला रहेका छन् । 

राज्यले महिलालाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको छ । दोस्रो दर्जाको नागरिकमा पनि अझै दोस्रो दर्जाको नागरिकमा दलित महिलाहरु परेका छन् । अर्थात तेहोरो पीडामा दलित महिलाहरु रहेका छन् । 

समग्रमा दलित महिलाको विकास भएको छैन भन्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी परियार भन्छिन्, ‘हामीले हकका कुरा गर्छाैँ । समावेशी प्रतिनिधित्वका कुरा गर्छाैँ ।  प्रतिनिधित्वकै कुरा गरेर निर्णयाक तहमा पुग्न धेरै गाह्रो छ ।’

आफूले स्कुल पढ्दाका दिन र अहिले आफ्ना बच्चाहरुले स्कुल पढ्दाको दिनमा धेरै अन्तर रहेको दाबी उनको रहेको छ । उनी भन्छिन्, ‘सामाजिक परिवर्तनको पाइला अगाडि बढ्दै छ तर हामीले जुन रुपमा सोचेका छौँ, त्यो रुपमा परिवर्तन भने भएको छैन ।’

दलित पुरुषको अवस्था राम्रो भए पो दलित महिलाको अवस्था नाजुक रहेको वामपन्थी नेतृ शोभा दुलालको जिकिर छ । 

यस्तै तर्क छ, वैज्ञानिक समाजवाद पार्टी निर्माण अभियानकी अभियान्ता धनकुमारी सुनारको पनि । उनी भन्छिन् ‘दलित महिला सामाजिक, आर्थिक, सांस्कृतिक रुपमै बहिष्करणमा छन् ।’

समान सहभागितामा पनि दलित महिलाको उपस्थिति अत्यन्त न्यून रहेको  छ । ४५ प्रतिशत दलित महिला मात्र साक्षर छन् भने ४८ प्रतिशत भूमिहिन रहेका छन् । 

सुनार थप्छिन्, ‘समग्र रुपमा दलित महिला हिंसामा छन् । सांस्कृतिक रुपमा छुवाछुतमा दलित महिला बढी परेको देखिन्छ । पछिल्लो तथ्यांकअनुसार यौनजन्य हिंसामा ७७ प्रतिशत दलित महिला परेको देखिन्छ । त्यसले गर्दा नेपाली समाजको पुछारमा पिँधमा सीमान्तमा दलित महिला रहेका छन् ।’ 

राजनीतिमा भोग्नुपरेको समस्या
एक दैनिक पत्रिकामा प्रकाशित रिपोर्ट विश्लेषणअनुसार अनुसार २२ प्रतिशत दलित महिला मानसिक हिंसामा रहेका छन् भने बलात्कारपछि हत्या हुनेमा ८० प्रतिशत दलित बालबालिका र महिला छन् ।

अहिले स्थानीय तहमा ६ हजार भन्दा बढी दलित महिलाहरु छन् । उपस्थितिको हिसाबले हेर्दा यो सङ्ख्या राम्रै रहेपनि उनीहरु भित्रको विभेद पिडादायी छ । 

स्थानीय तहमा उनीहरुको उपस्थिति हुँदा हुँदै पनि समान सहभागिता भने उपलब्ध हुन नसकेको गुनासो उनीहरुको छ । कानून पनि पुरुषलाई नै केन्द्रमा राखेर बनाइएको छ । दलित महिलाहरु ‘होपलेस र हेल्पलेस’ को अवस्थामा छन् । निर्मला पन्तको हत्यामा काठमाडौँमा कैयौं दिनसम्म जुलुस र नाराबाजी चल्यो । तर, कैलालीकी माया विकको मृत्यु हुँदा राजधानीका ठूला पत्रिकाले पाँच दिनपछि पनि थाहा नपाउने अवस्था आइलाग्यो । 

लक्ष्मी परियार ०६४ मा पनि सभासद भएकी थिइन् । अहिले उनलाई त्यति गाह्रो भएको छैन । तर ०६४ मा राजनीतिमा जातीय विभेद धेरै अनुभव गरिन् ।  उनीसँगै हिँड्ने माथिल्लो जातको महिलाले उनलाई हेर्ने दृष्टिकोण जे मन लागि हुने गर्दथ्यो ।  

उनी भन्छिन् ‘मानिसको व्यवहार सबै ठाउँमा प्रायः मिल्न जान्छ । कतिले बोलेर विभेद देखाँउछन् । कतिले व्यवहारले देखाउँछन् । कतिले अप्रत्यक्ष रुपमा देखाउँछन् । त्यसैले मैले कति ठाउँमा प्रत्यक्ष रुपमा भोगँे, कति ठाउँमा अप्रत्यक्ष रुपमा भोगेँ ।’ 

नेविसंघको राजनीति गर्दा आफ्नो जात ठाँटेर बस्नुपरेको दुःख उनले अझै बिर्सिएकी छैनन् ।

शोभा दुलालले भने राजनीतिमा प्रत्यक्ष रुपमा जातीय विभेद भोग्नु परेन । तर पितृसत्तात्मक रुपमा विभेद उनले थुप्रै भोगिन् ।

दलितलाई भेदभाव गर्न पाउने कानून अहिले छैन । तर जातीय भेदभावकै कारण फौजदारी कानून नै लाग्ने संविधान नबनेको गुनासो उनको रहेको छ । ‘संविधान कार्यान्वयन गर्ने कुनै निकायमा पनि दलितहरुको पहुँच नभएको कारणले पनि दुःख खेप्नुपरेको छ’ उनी भन्छिन् । 

दलित महिलाका समस्यामा प्रहरीले उजुरी नलिने, अदालतले पनि दलित महिलाको विपक्षमा फैसला गर्ने घटना भइरहेको छ । दलितहरुको पहुँच र प्रशासनिक सहभागिता नभएर कारणले दलित पछाडि परिहेको दाबी उनको छ । 

फोरम नेपालकी नेतृ सुनिता कुमारले जातीय विभेद भन्दा पनि सामाजिक विभेद धेरै भोगिन् । एक्लै हिड्ने र मानिसहरु भेट्न आउने कारण नै उनलाई समाजले बिग्रको बिल्ला लगाइदियो । 

धनकुमारी सुनार भन्छिन्, ‘कम्युनिष्ट पार्टी छुट्टै कतैबाट आएर बनेको पार्टी होइन । हाम्रै सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक हिसाबले यही समाजको उपज हो । समाजभित्रकै उत्पादक भएको हुनाले जातीय, क्षेत्रिय लैङ्गिक हिसाबले जुन खालको हिसां छ, त्यो कम्युनिष्ट पार्टीभित्र पनि उस्तै छ ।’ 

उनी थप्छिन् ‘त्यहाँभित्र पनि जातीय व्यवस्थालाई राम्रोसँग हेर्ने बुझ्ने र त्यही अनुसारको सोलुसन खोज्ने वातावरण अहिले पनि छैन । त्यसकारण कम्युनिष्ट पार्टीभित्रै पनि धार्मिक हिसाबको सोच राख्ने र वर्णअनुसारको मानसिकता  छ, त्यो बोक्ने मानिसको बर्चस्व अहिले पनि छ ।’

समाजबाटै उपेक्षित
लक्ष्मी परियार दलित समुदायको महिलालाई समान अधिकारकाल लागि घरभित्रैबाट पहल जरुरी रहेको बताउँछिन् । उनी भन्छिन्, ‘हामी थुप्रै कुरा सहेर र व्यहोरेर आएका छौँ । हामी दलित समुदायमा छोरी भएर जन्मिन्छौँ, छोरा जन्मे खसी र छोरी जन्मे फर्सी भन्ने चलन रहेको छ ।’ 

उनी थप्छिन्, ‘परिवारभित्र पनि छोरालाई बोर्डिङमा पढाउने चलन रहेको छ । त्यही कारण परिवारबाटै विभेद सिर्जना भएको हुन्छ । अर्काे कुरा एउटा मानिस दलित भएको कारण जन्मिदै अपहेलित भएको हुन्छ ।’

धन कुमारी सुनार भन्छिन् ‘हाम्रो समाजमा जुन सामाजिक, सांस्कृतिक संरचना सोच छ, त्यसले समग्रमा दलित  नै उपेक्षामा छन् ।’  

‘नेपालको संरचनामा तहगत जात व्यवस्था, अछुत भन्ने जुन दृष्टिकोण छ त्यसले दलित महिला पितृसत्ताबाट हुने हिंशा पनि भोग्ने भए र जातीय विभेद पनि भोग्ने भए’, उनको भनाइ छ, ‘त्यसैले म आफू पनि दलित परिवारमै जन्मेको हुनाले सानैबाट विभेद मैले पनि भोगेँ ।’ 

विभेद अन्त्य गर्नका लागि के गर्ने ?
लक्ष्मी परियारको बुझाइमा संविधानमा रहेको व्यवस्थाअनुसार समानुपातिक समावेशिताको धारणालाई अबलम्बन गर्न सकिए जातीय विभेदमा कमी आउन सक्छ । उनी भन्छिन् ‘विभेद अन्त्य गर्नका लागि संविधानले समानुपातिक समावेशिताको कुरा गरेको  छ । त्यो धारणालाई अवलम्बन गर्नुपर्छ ।’

हरेक महिलाले परिवर्तनको लागि राजनीति गर्नुपर्ने सुझाव उनको रहेको छ । राजनीति परिवर्तनको लागि मूल जरा हो भन्दै उनी भन्छिन् ‘हरेक क्षेत्रमा दलित महिलालाई समावेशिताको आधारमा निर्णायक ठाउँमा ल्याउन बनेको कानून पूर्ण रुपमा पालना हुनुपर्छ । त्यसैले कानून कार्यान्वयनका लागि राज्यले तत्परता देखाउनुपर्छ ।’ स्थानीय तहमा ४० प्रतिशत महिला दलित हुनुपर्छ भनिएको छ यो राम्रो सुरुवात भएको उनी बताउँछिन् । 

उनी भन्छिन्, ‘एकजना स्थानीय मन्त्रीले एउटा कार्यक्रममा जातीय विभेदले मात्र विकास रोकिएको होइन भन्नुभयो । उहाँले विस्तारै यो विभेद अन्त्य हुन्छ पनि भन्नुभयो । यो विस्तारै सम्भव छैन किनभने कानून बनिसकेपछि पनि विस्तारै हुन्छ भनेपछि पनि कानून किन बनाउने ?’ 

विभेद अन्त्यका लागि चेतनाले मात्र नपुग्ने तर्क गर्दै शोभा दुलाल भन्छिन्, ‘किनकी परम्परागत रुपमा साना जात र ठूला जात भनेर छुट्याइएको छ । यो विभेदलाई चेतनाले मात्र जित्न सक्दैन ।  बल नै प्रयोग गर्नुपर्छ । 

 उनी अगाडि भन्छिन्, ‘सरकारी निकायबाट नागरिकको हैसियतमा व्यवहार गरिनुपर्छ  । कसैले कानून अनुसार व्यवहार गर्दैन भने त्यसलाई कानूनले छुट दिनु हुँदैन ।’ 

यस्तै सुनिता कुमारी महतोको समाजससँगै संघर्ष गरेर अघि बढ्नुपर्ने तर्क छ । उनी भन्छिन् ‘पहिले समाजले नराम्रो सोच्छन् भनेर मैले संघर्ष नै गर्न छाडिदिएको भए म यहाँसम्म आउन सक्ने थिइनँ । संघर्ष गरेर आफ्नो  अधिकार मैले बुझेँ । त्यसैले प्रत्येक महिला अझ दलित महिलाको त संघर्ष गर्ने बाहेक अरु विकल्प मैले देख्दिनँ ।’ 

धन कुमारी सुनार भने महिला सहभागिता बढाउनुपर्ने कुरामा जोड दिन्छिन् । उनी भन्छिन्, ‘हामीले उठाइरहेको कुरा भनेको राजनीतिक हिसाबले दलित महिलाको मुद्दालाई सम्बोधन नगर्नु हो । आर्थिक रुपमा पिँधमा आउने कुराहरुले थप उनीहरुलाई हिंशामा पारेको छ  ।’

३३ प्रतिशत महिला सहभागिता भने पनि त्यहाँ नेताका श्रीमती बाहेक अरुको पहुँच पनि नहुने दाबी उनको रहेको छ । त्यसकारण राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा हुने सबै खालको विभेद अन्त्य गरिनुपर्ने उनको धारणा छ । रातो पाटि बाट 

Sunday, April 7, 2019

समाजको विभेद तोड्दै राजधानीमा एक जोडीले बाजा बजाएर धुमधामका साथ गरे अन्तरजातीय विवाह

विभेद बिरुद्द अभियान - चैत्र २५ गते , काठमाडौं – आपसमा प्रेम बलियो भएपछि कुनै पनि बाधाले रोक्दैन भन्ने कुरा एक अन्तरजातीय जोडीले प्रमाणित गरेका छन्। विगत चार वर्षदेखि पे्रममा रहेका इटहरीका २७ वर्षे रमेश कार्की र भोजपुरकी २६ वर्षीया मनिता सेन्चुरीको हिन्दु परम्परा अनुसार भएको विवाहले यो प्रमाणित गरेको हो।उनीहरूले एक समारोहबीच नयाँबानेश्वरको एक पार्टी प्यालेसमा हिन्दु परम्पराअन्गर्तत रही विवाह विधि अनुसार विवाह संस्कार पुरा गरे। बेहुलाले आफु बस्दै आएको स्थान काँडाघारीबाट नयाँबानेश्वरसम्म जन्ती लिएर मनितालाई विवाह गरे।

एकापसमा  प्रेम  सम्बन्ध रहेपछि रमेशले आफ्ना अभिभावकलाई सहमतिका लागि प्रस्ताव राखेका थिए। अभिभावकले सहजै स्वीकार्न नसकेपछि उनले आफै औपचारिक विवाहको चाँजोपाँजो मिलाएका थिए। इटहरीदेखि विवाहमा सहभागी हुन आएका बेहुला रमेशका भाइ टीकाबहादुर कार्कीले बिस्तारै बुबाआमा पनि सहमत हुने बताए। उनले आफु दाजुभाउजुको अन्तरजातीय विवाहको खुशीमा सामेल हुन आएको खुलाए।

काठमाडौं काँडाघारीका युवराज कटुवाल पनि विवाह समारोहमा खुशी थिए। प्रहरीका जागिरे युवराज बेहुला रमेशका साथी हुन्। उनी रमेशकै घरमा भाडामा बस्छन्। कटुवालले विवाहले समाजमा व्याप्त जातीय विभेदको विरोध गरेको बताए। ‘आपसमा मन मिलेपछि जातपातको कुरा बाधा गर्नुहुँदैन्। नारी र पुरुषबीचको मन मिलेको विवाहमा खुशी मिल्छ’, उनले भने। कटुवालले तुरुन्तै छोराको खुशीलाई स्वीकार्न नसकेका अभिभावकले केही दिनमा स्वीकार्दै जाने स्थिति रहेको खुलाए।

चार वर्षदेखि कुवेतमा वैदेशिक रोजगारीमा रहेका रमेश कार्की विवाह गर्नकै लागि नेपाल आएका हुन्। छोरीको विवाहको लागि बेहुली मनिताका पिता मनबहादुर सेन्चुरीका परिवार पनि काठमाडौं नै आएका थिए।‘छोरी ज्वाइँ विवाह गर्न चाहेपछि मैले सहयोग गरें’, मनबहादुरले भने। बेहुला र बेहुली दुवै पक्षले परम्परागत विवाहको संंस्कार पुरा गरेका थिए। बेहुला र बेहुली दुबै शिक्षित भएकाले समाजको विभेद तोडेर अघि बढेको विवाह समारोहमा सहभागी भएको कृष्ण सुनारले बताए।

आफ्नो पे्रमलाई साकार पार्न समस्याकै बीचमा विवाह गर्न पुगेको बेहुला रमेशले बताए। ‘समस्या पछि पनि आउनेछन्। डराएर बसेको छैन। म चाहन्छु विवाहपछिका प्रत्येक दिन राम्रा बनुन् ’, कार्कीले भने। नागरिक न्युजमा खबर छ l आफ्नो पे्रमलाई साकार पार्न समस्याकै बीचमा विवाह गर्न पुगेको बेहुला रमेशले बताए। ‘समस्या पछि पनि आउनेछन्। डराएर बसेको छैन। म चाहन्छु विवाहपछिका प्रत्येक दिन राम्रा बनुन् ’, कार्कीले भने। नागरिक न्युजमा खबर छ ।

Saturday, April 6, 2019

‘यो कामीलाई हेडमास्टर बनाएर नमस्ते गर्नुहुँदैन भन्दै जनप्रतिनिधि मेरा विरुद्ध लागे’

विभेद बिरुद्ध अभियान - इलाम, चैत २२- देशबाट छुवाछूत र जातीय विभेद अन्त्य भयो भनिए पनि वास्तवमै त्यो लागू हुन सकेको छैन। अझ लोकतान्त्रिक विधिबाट बनेको स्थानीय तहबाटै यस्तो विभेदपूर्ण व्यवहार हुनुले यो तथ्यलाई पुष्टि गर्छ। पदमा बहाल रहँदारहँदै इलाम नगरपालिकाले साङरुम्बा माविका प्रधानाध्यापक मात्रिकाप्रसाद विश्वकर्मालाई पदबाट हटायो।

यसबाट दुःखी बनेका विश्वकर्मा अदालत गए र फैसला उनकै पक्षमा आयो।इलाम नगरपालिकाको निर्णय आफूलाई मान्य नभएको भन्दै अदालतमा पुगेका विश्वकर्माले हचुवाको भरमा नगर कार्यपालिकामा निर्णय हुने गरेको दाबी गरे।

उनले भने, ‘जनप्रतिनिधि आएपछि खुबै केही होला भन्ने लागेको थियो तर, उनीहरू आग्रह र पूर्वाग्रहमा चल्दा रहेछन्,’ पीडित विश्वकर्माले भने,‘यो कामीलाई हेडमास्टर बनाउनु हुँदैन, यसलाई नमस्ते गर्नु हुँदैन, केही साथीहरूले यसो भन्दै मेरोविरूद्ध राजनीति गर्नुभयो।’

विसं २०७५/११/२७ को निर्णयानुसार भन्दै नगरपालिकाले प्रधानाध्यापक पदबाट विश्वकर्मालाई बर्खास्त गरेर शिक्षक नेत्र तामाङलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएको थियो। बिनाकारण पदबाट मुक्त गरिएपछि उनको चित्त दुख्यो र अदालतको ढोका ढक्ढक्याउन पुगे।

उनको रिटमाथि सुनुवाइ गर्दै चैत १० गते आइतबार उच्च अदालत विराटनगरले विश्वकर्मालाई निमित्त प्रधानाध्यापककै हैसियतमा काम गर्न दिनू भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्‍यो । अदालतको आदेशमा भनिएको छ – ‘इलाम नगरपालिकाको मिति २०७५/११/२७ च नं २५११ को पत्र प्रस्तुत रिट निवेदकको अन्तिम टुंगो नलागेसम्मका लागि कार्यान्वयन नगर्नू, नगराउनू यथास्थितिमा राख्नू र निवेदकलाई निमित्त प्रधानाध्यापकको रूपमा काम गर्न दिनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूको नाममा यो अन्तरिम आदेश जारी गरिदिएको छ।’

अदालतमा निवेदकका तर्फबाट अधिवक्ता विश्वनाथ उपाध्याय र तारानाथ पराजुलीले बहस गरेका थिए भने विपक्षीका तर्फबाट अधिवक्ता सुधिर बोहोराले बहस गरेका थिए।

शिक्षा ऐन २०२८ र शिक्षा नियामवली २०२९ बहाल रहेको र सोही नियामवली २०५९ को नियम ९३ (१२) बमोजिम निवेदक निमित्त प्रधानाध्यापक पदमा नियुक्त भई बहालमा रहेको दलिलसहित इलाम नगरपालिकाको निर्णयलाई अदालतले अमान्य घोषणा गरिदिएको हो।

आफूलाई दुई कारणले नगर कार्यपालिकाले प्रधानाध्यापक पदबाट हटाएको उनी दाबी गर्छन्। पहिलो हो दलित समुदायको हुनु। अर्को, आर्थिक हिसाबकिताब पारदर्शी नभएको आरोप । यही झूटो मुद्दा उठाएर आफूविरूद्ध राजनीति गर्न खोजेको उनी ठान्छन्। पहिलादेखि नै विद्यालय व्यवस्थापन समितिका केही व्यक्तिले आफूलाई दलित भनेर हेला गर्ने गरेको र प्रधानाध्यापक पदमा समेत पुग्न नदिने धम्की दिँदै आएको विश्वकर्मा बताउँछन्।

दलित भएकै कारण आफूमाथि विगतमा विभेद गरिएपछि विद्यालय व्यवस्थापन समितिका केही व्यक्तिविरूद्ध जिल्ला प्रहरी कार्यालय र अदालतमा उजूरी समेत दिएको उनले सुनाए।

अदालतले स्थानीय पुण्यप्रसाद घिमिरे, भवानी घिमिरे, भानुभक्त घिमिरे र भरत घिमिरेलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारिस समेत गरेको थियो। त्यसबखत जातीय विभेद छुवाछूत कसूर अनुसार चारजना स्थानीयवासीमाथि कारबाहीसमेत भएको थियो ।

त्यस्तै, विद्यालय मर्मतका लागि छुट्याइएको एक लाख रुपैयाँ पनि विद्यालयसँग नजीकका केही व्यक्तिले बाँडेर खान खोजेको तर, आफूले नमानेको उनी बताउँछन्।

‘खान पल्किएका साथीहरू हुनुहुँदो रहेछ, मैले खान दिइनँ,’ उनले भने, ‘मर्मतका लागि आएको एक लाख रुपैयाँको खर्चमा २८ हजार थपेर काम गरेको बिलसहित बोकेर उहाँ हिँडिरहनु भएको छ । काम सम्पन्न भएपछि गर्नुपर्ने सम्पूर्ण दायित्व मैले पूरा गरिसकेको छु।’ मर्मतका लागि आएको एक लाख रुपैयाँको खर्च सार्वजनिक सुनुवाइ गरेर बिल भरपाई र लेखापरीक्षणसमेत सम्पन्न भइसकेपछि झूटा मुद्दा लगाएर आफूलाई फसाएको विश्वकर्माको जिकिर छ । नगरपालिकाले उनको आठ महिनाको तलब समेत रोक्का गरिदिएको रहेछ । दसैं, तिहार जस्ता चाडपर्वमा उनले पैसा थाप्न पाएनन्।

गत साउनदेखि माघ महिनासम्मको र दसैंको गरेर आठ महिनादेखि रोकिएको तलब भर्खर मात्र आफूले पाएको उनले बताए। अहिले पनि हाजिरी पुस्तिका लुकाएर दुःख दिने काम भइरहेको उनले बताए।

विद्यालयका अन्य शिक्षकहरूले साधा पुस्तिकामा हाजिरी गर्ने गरेको तर, त्यसमा आफूले हाजिरी नगरेको उनले बताए। गएको सोमबार उनी अदालतको फैसला बोकेर विद्यालय पुगे। उनले प्रधानाध्यापकको कुर्सीमा बसेर आफ्नो कार्य सञ्चालन गरे। उनको दुखेसो छ,‘दलित भएकै कारण कहिलेसम्म यसरी पीडा भोगिरहने?’

कक्षा १२ सम्मै अध्यापन हुने यस विद्यालयमा अहिले झण्डै साढे चार सय विद्यार्थी अध्ययनरत छन्। कक्षा आठसम्म अंग्रेजी माध्यमबाट पढाइ हुने यस विद्यालयमा उनी अंग्रेजी विषयका शिक्षक हुन्।

नगरपालिकाले झण्झट दिँदा पटक/पटक आफ्नै पैसामा अदालत धाउनु परेको र मानसिक पीडा खेप्नुपरेको उनको दुःखेसो छ। विद्यालयमा काम गर्ने वातावरण बनाइदिन सरोकार राख्ने निकायहरूसँग उनले आग्रह गरिरहेका छन्।

विद्यालयको खाता रोक्का भएका कारण विद्यालय चलाउन अहिलेसम्म करिब चार लाख रुपैयाँभन्दा बढी आफ्नै गोजीबाट खर्च भइसकेको बताउँदै उनले भने,‘पछि हेडमास्टरका कारण यस्तो समस्या आएको हो भनेर अभिभावकले भन्नुहुन्छ भनेर गोजीबाटै खर्च गर्ने गरेको छु।’

विद्यालय व्यवस्थापन समितिको असहयोग र नगरपालिकाको एकलौटी निर्णयका कारण आफूलाई अदालत जान बाध्य बनाइँदा विद्यालयको काम समेत प्रभावित हुने गरेको प्रधानाध्यापक विकले बताए।

यो विवादले विद्यार्थीहरूको भविष्य अन्यौलमा पर्नसक्ने चिन्ता अभिभावकको छ।

उनले भने, ‘पछि परीक्षाको समयमा पनि पाठ्यपुस्तक दिन सकिएन भने त्यसको जिम्मा कसले लिने ?’

यस विषयमा इलाम नगरपालिका र विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारीले सोच्नुपर्ने उनको भनाइ छ।

इलाम नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले विद्यालयको हिसाबकिताब पारदर्शी नभएको र भवन निर्माणमा आएको रकम पनि हिनामिना गरेको देखिँदा प्रधानाध्यापक पदबाट हटाइएको प्रतिक्रिया दिए। विद्यालय डुब्ने अवस्था आएपछि नगरपालिकाले यस्तो कदम चालेको उनको भनाइ छ ।(रासस)

दलित समुदायलाई हेप्ने महामारी फैलियो - गोपाल शिवा

विभेद बिरुद्ध अभियान, २४ चैत २०७५, नेपाली समाजमा दिनहु दलित समुदायका नागरिक प्रताडित हुने अमानवीय घटनाक्रमले फड्को मार्ने क्रम रोकिएको छैन । यो देशको राजनीतिक परिवर्तनमा दलित समुदायले ठूलो योगदान दिएको छ । तर एकातिर दलित समुदायलाई राज्यबाट उत्पीडनमा पारिएको छ । अर्को तिर जातीय विभेदलाई एक हिसाबले स्वभाविक रुपमा मानिदै आइएको छ। देशमा संघिय लोकतन्त्र गणतन्त्र आइसकेको छ, तर देशमा गणतन्त्र बहाल छ भन्ने कुरा मान्न कोहि तयार देखिदैन। फलस्वरूप दलित समुदायमाथि हुने गरिने विभेदहरु लोकतन्त्रको विरुद्ध हुदा पनि , मानवअधिकारको विरुद्ध हुदा पनि, समाजमा 'दलित' समुदायका मान्छेलाई पशुको भन्दा तल्लो व्यवहार गरिंदा पनि नेपाली समाजका कथित उच्च जाति भनिनेहरूमा विभेद नगर्ने चेतना अझै पलाएको छैन , यो गलत हो भन्ने हिम्मत अझै आएको छैन ।
बाहुन क्षेत्री र दलित दुबै आर्यन समुदायबाटै आएका भए पनि हिन्दू वर्णाश्रमको जाति प्रथाअनुरुप जातीय र जन्मको आधारले दलित समुदायलाई छुवाछुत गर्ने र हेप्नुलाई एकदम स्वभाविक मान्नेहरुमा केहि बर्ष अघि सम्म आर्यन समुदायकाहरुकै बाहुल्यता थियो । तर अहिले दलित समुदायलाई हेप्ने महामारी यसरी फैलिएको छ कि के आदिवासी, के मधेसी , के अन्य समुदाय , के राजनीतिक दल , के पढेलेखेको बौद्दिक सवैमा सुनियोजीत रुपमा दलित समुदायलाई अपमान गर्ने रोग लागेको छ । दलित समुदायमाथि हुने गरिने विभेद भनेपछि ती सबै बिचारधारा , बादहरु र बौद्दिकताहरु गौण हुँदा रहेछन भन्ने हालै प्युठानको मल्लरानी गाउँपालिका–५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले गरेको विभेदले पुष्टी गरीसकेको छ ।
हाम्रा समाजमा देखिएका सवै खाले विभेद र उत्पीडन अन्त्य गरी समानता, सामाजिक न्याय, समानुपातिक समावेशी सिद्धान्तमा आधारित समतामूलक समाज निर्माण गर्ने आदर्शमा संविधान स्थापित भएको छ ।हामी संविधानले विभेदरहित समाजको परिकल्पना गरेको त्यहि समाजको जग खन्दै छौ। किनकि समाज वनाउने भनेको एउटा प्रक्रिया हो, यो लामो समयसम्म चलिरहन्छ। तर बिडम्बना भोलिका पुस्ता, आउँदो पुस्तालाई कसरी विभेद रहित असल संस्कृति, शिक्षा र व्यवहार सिकाउने भन्ने विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले आफुमा जरो गाडेर बसेको उच्च जातिको मानव समुदायको रुपमा रहेको हेपाहा मानसिकताको संस्कारलाई मर्न नदिन आफु पछिको पुस्ता जो अहिले उनकै स्कुलमा अध्ययनरत छन तिनि मध्ये गैर दलित समुदायका बालमस्तिकलाई विभेद कसरि गर्ने र दलित समुदायकालाई विभेद के हो भनेर व्यवहारिकरुपमा बुझाउदै शिक्षा दिदै आएकी रहेछिन । विद्यालयकी प्रधानाध्यापक जस्तो बौद्दिक नागरिक बाट पाएको यस्तो विभेदकारी ब्यबहारले भोलिका पुस्ताको संस्कार कस्तो होला ? हामी सुन्ने सवैलाई लज्जित मात्र हैन घोतलिन बाध्य पारेको छ ।
त्यस्तै गरि यसै साता नुवाकोट निवासी ९ महिने सुत्केरी कल्पना सुनार माथी गणतन्त्रका नारा धेरै सुनिने राजधानी काठमाडौंको गोलढुङ्गा,सातधारामामा एउटै घर भाडमा बस्ने रिता आले मगर र सन्तोसी आले मगरले दलित समुदायको भनेर गरेको अमानविय ब्यबहार,विभेद तथा हिंसा सहनु परेको तितो सत्य सार्वजनिक भयो । एउटै घर भाडमा बस्ने ले सानो जात कमिनी भनी दिन रात देख्न साथ थुक्ने ,शौचालय एउटै प्रयोग हुदा चप्पल छोइयो भन्ने,दलितले लगाएको चप्पल छि छि भन्ने, गर्ने , कुट्ने जस्ता जातीय विभेद र अपमानका अनेकौँ दुरब्यबहार भोग्नु परेको कल्पना सुनारको भोगाई बाट राजधानी जस्तो ठाउमा दलित समुदाय माथि कति धेरै विभेद हुने रहेछ भन्ने कुरा नजिकैबाट तीतो अनुभव गराएको छ ।यी दुई घटना त दलित समुदाय माथि हुने गरिने विभेदको शैलीको एउटा उदाहरण मात्र हो ।यी र यस्ता सयौ सार्वजनिक नभएका घटनाहरु छन किनकि नेपाली समाजमा दलित समुदायलाई हेप्ने महामारी नै फैलिएको छ ।
बिरालालाई कोठामा थुनेर पिट्न खोजे त्यही बिरालोले घाँटी समातेर मार्न कोसिस गरेका प्रशस्त उदाहरण भेटिन्छन् ।त्यस्तै मान्छे एउटा निर्भिक प्राणी हो, चारैतिरबाट जात धर्म र विभेदकारी ब्यबहार र संस्कारको लौरोले घोचेर ,चेपेर प्रताडित गर्न खोजे तिरस्कार,अपमान, अवहेलना गरे, होच्च्याए र गिल्लाका पात्र बनाएर सडकमा जाने अवस्था आयो भने आफ्नो स्वाभिमान बचाउन उकुसमुकस भएको दलितले पनि बिरालाले झैँ घाँटी समातेर मार्न समेत पछि नपर्न सक्छ ।किनकी विभेदको शिकार आफै बन्ने पछि ढिलो चाडो आफु र आफ्ना ५० लाख जनसंख्या भन्दा बढी जनसंख्या रहेको दलित समुदायप्रति समाजको बांगो भएको दृष्टिलाई सोझो बनाउनु उसको पहिलो कर्तब्य र बाध्यता संगै हुन्छ।त्यस पछि अन्ततोगत्वा नेपाल फेरि द्वन्द्वतिर धकेलिने अवस्था आउन सक्छ । त्यसैले अमानवीय व्यवहार जोकोही बाट जसलाई भए पनि बोलौ र आफू पनि मानव हुने र अरुलाई पनि मानव ठान्ने, मान्ने र त्यही अनुरुप व्यवहार गर्ने प्रवृत्तिको विकास गरौ , जात , धर्म र धन सम्पतिको आडमा पलाएका हेपाहा मानसिकता परिवर्तन गरौ , सचेतनामूलक गतिविधि हामी सवैबाट गरौ अनि मात्र सयौ थरी नेपालीलाई एक ठाउँमा उभ्याउने समतामूलक समाजको ब्यबहारिक धरातल निर्माण हुन्छ ।

Friday, April 5, 2019

अन्तरजातीय जोडीको दुःख : घर स्याङ्जा, विहे गर्न सर्लाही अदालतको शरणमा

विभेद बिरुद्ध अभियान, २३ चैत २०७५, सर्लाही– अन्तरजातीय बिवाह परिवारले नस्वीकारेका कारण पुतलीबजार नगरपालिका–४, स्याङ्गजाका २३ वर्षीय सुशील पोखरेलले केही दिनअघि सर्लाही जिल्ला अदालतबाट ‘कोर्ट म्यारेज’ गरे। स्थानीय २० वर्षीया संगम परियारसँग झण्डै ३ वर्ष लामो प्रेम सम्बन्धलाई उनले अदालतको सहारामा गत फागुन ३० गते औपचारिक लगनगाँठो कसेका हुन्। 

‘घरमा बुबाआमाले कुनैपनि हालतमा नस्वीकारेपछि सर्लाही आएर अदालतको सहारामा उनीसँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे’, छेउमै रहेकी संगमलाई देखाउँदै सुशीलले भने, ‘अहिलेको जमानामा पनि जातभात देखाएर परिवारको अनावश्यक दबाब आउँदा साह्रै समस्यामा परेको छुँ।’

साढे दुई वर्षअघि सुशीलले संगमलाई भगाएका थिए। सुशीलका अनुसार तर उनका बुबा बुद्धिसागर र आमा रितासहित सम्पूर्ण आफन्तले उनीहरुको जोडीलाई छुट्टयाई दियो। लगत्तै परिवारका सबै सदस्यको योजनामा सुशीललाई जबरजस्ती वैदेशिक रोजगारीका लागि दुबई पुठाइयो। दुबईमै छँदा सुशील र संगमबीच पुनः फेसबुकमार्फत भेटघाट भयो र प्रेम सम्बन्ध अझ प्रगाढ बन्यो। 

छुट्टीमा गत फागनु ४ गते नेपाल झरेका सुशीलले सिधै संगमलाई काठमाडौं बोलाए र घुमफिर गरी गत फागुन २८ गते वैवाहिक सम्बन्ध दर्ताका लागि जिल्ला अदालत सर्लाहीको शरणमा पुगे। अदालती विबाहका लागि स्थानीय नगरपालिका कार्यालयको सिफारिस लगायत प्रक्रिया पु¥याउन सुशीलको जोडीलाई हरिवनस्थित एक होटलमा १५ दिन बस्नु प¥यो। प्रक्रिया पुगेका कारण ३० गते अदालतले सुशील र संगमबीचको वैवाहिक सम्बन्ध कायम गरिदियो। 

अदालतबाट वैवाहिक सम्बन्ध कायम भएपनि सुशीलले अहिलेसम्म संगमलाई घर भित्र्याउन सकेका छैनन्। ‘अदालतबाट विवाह त गरियो, तर संगमलाई घर भित्र्याउन सकेको छैन’ शनिबार नागरिकसँग टेलिफोनमा कुरा गर्दै सुशीलले भने, ‘यस्तो बेलामा सबै पक्षबाट सहयोग भए हुन्थ्यो भन्ने आशा पनि जागिरहेको छ।’ मनैदेखि रोजेको पति पाए पनि संगमलाई समेत मनमा भने कौतुहुलताले गाजेको छ। टेलिफोनमा कुरा गर्दै उनले भनिन्, ‘खै घरमा त मरिगए छिर्न नदिने भन्नुभएको छ रे, अब कति दिन यसरी बस्नु पर्ने हो?’ 

जिल्ला अदालत सर्लाहीका स्रेस्तेदार मुकुन्द आचार्यले मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ७७ अनुसार स्याङ्गजाका सुशील र संगमको विवाह दर्ता प्रमाणपत्र दिइएको जानकारी दिए। स्रेस्तेदार आचार्यले स्याङ्गजाको मान्छे सोही जिल्ला अदालतबाट विवाह दर्ता गर्न आग्रह गरे पनि सुशीलले अन्तरकथा बताएपछि कानून अनुार विवाह दर्ता दिएका हुन्। अन्तरजातीय विवाहका कारण अहिले पनि यसरी दुःख कष्ट भोग्ने अवस्था आउनु विडम्बना रहेको स्रेस्तेदार आचार्यले बताए। 

अन्तरजातीय विवाहका कारण दुःख कष्ट भोग्ने सुशील र संगमको जोडी त प्रतिनिधि पात्र मात्र हो। अन्तरजातीय विवाह गरेकै कारण यो जोडीले बाहिर होटलमा बसेर पैसाको खोला बगाउन बाध्य मात्र छैन, मानसिक रुपमा हिंसाबोध समेत गर्नु परिरहेको छ। समाजमा यस्ता दुःख बेदना भोग्ने जोडीहरु अनगिन्ती रहेको राष्ट्रिय दलित आयोगका निवर्तमान सदस्य सचिव सीताराम घले परियार बताउँछन्। ‘नेपालको संविधान, जातिय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ ले जाती, धर्म, संस्कृतिका आधारमा भेदभाव गर्न पाइँदैन भनेको छ’, सुशील र संगमको अदालती विवाहमा सर्लाही आएरै सहयोग समेत गरेका परियारले भने, ‘ऐन कानूनमा भेदभाव हटाइए पनि व्यवहारमा अझै डरलाग्दो अवस्था रहेको छ।’ ऐन अनुसार जातीय आधारमै भेदभाव गरेर छोराको वैवाहिक सम्बन्ध नस्वीकार्ने र घर भित्रै छिर्न नदिनेमाथि कडा कारबाही हुनुपर्ने अधिवक्ता समेत रहेका परियारले माग गरे। 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल जातिय आधारमा कसैले भेदभाव गरे कानून बमोजिम कारबाही हुने बताउँछन्। ‘ऐन कानूनमा जातिय आधारमा कसैलाई भेदभाव गर्न नपाइने व्यवस्था छ’, प्रजिअ पोखरेलले भने, ‘यदि त्यस्तो गरेको फेला परे कानून बमोजिम कडा कारबाही हुन्छ।’

सरकारले केही वर्ष अघि अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप १ लाख रुपैंया दिने व्यवस्था समेत गरेको थियो। तर दलित सम्बद्ध विभिन्न संघ संगठनबाट कडा विरोध भएपछि उक्त व्यवस्था खारेज भइसकेको छ। उक्त व्यवस्था हुँदा ‘नक्कली’ बिवाह गर्दै राज्यको रकम लिने र पछि वैवाहिक सम्बन्ध खारेज गर्ने प्रचलन समेत बढेको थियो।

Thursday, April 4, 2019

भूमिहीन दलितको सपना: ‘आकाशको फल आँखातरी मर’


विभेद बिरुद्ध अभियान- चैत २२    -सरकारले भूमिहीन दलितका लागि एकपटक जमीन उपलब्ध गराउने कानून पारित गरे पनि हालसम्म कार्यान्वयनमा नआएकाले उनीहरुका लागि सो कानून ‘आकाशको फल आँखातरी मर’ जस्तै भएको छ ।

संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयन गर्न ‘भूमिसम्बन्धी (सातौं ) संशोधन) ऐन, २०७५’ मा भूमिहीन दलितलाई एकपटक तोकिएबमोजिम जमीन उपलब्ध गराउने भनिएको छ । सङ्घीय संसदले पहिलो पटक संविधानको धारा ११३ को उपधारा १ बमोजिम सो ऐन पारित गरेको थियो ।
नामसारी र अंशबण्डाबाहेक अरु कसैलाई हक हस्ताणतरण गर्न नपाइने गरी सो ऐन पारित भएको थियो । सो ऐन बनेको तीन वर्षभित्र भूमिहीन दलितलाई जग्गा वितरण गरिसक्नुपर्ने प्रावधान छ ।

राष्ट्रिय दलित नेटवर्क (रादने) को तथ्याङ्कअनुसार मुलुकभर १५ लाख भूमिहीनमध्ये १० लाख दलित छन् । सरकारले सबै प्रकारका सुकुम्वासी समस्या समाधान गर्न हालसम्म १२ सुकुम्वासी समस्या समाधान गर्न एक आयोग गठन गरिसकेको छ ।

रादनेका अध्यक्ष गणेश विश्वकर्माले छिटोभन्दा छिटो वास्तविक भूमिहीन दलित पहिचान गरी जमीन उपलब्ध नगराए आन्दोलनमा उत्रने बताउँछन् ।

“भूमिसम्बन्धी (सातौं ) संशोधन) ऐन, २०७५’ भदौ ३० र ३१ मा संसद्को दुवै सदनले संशोधनसहित पारित गरेको थियो । ऐन पारित भएको छ महीना नाघिसक्दासमेत सरकारले कुनै समिति वा कार्यदल गठन नगर्नाले दलित समुदाय आक्रोशित भएको नेपाली काङ्ग्रेसका नेता मीन विश्वकर्माले बताए ।

नेपालमा कृषि मजदूर, भूमिहीन र सीमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानको हातमा जमीन छैन । छैटौँ कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमीन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । गणनामा ८३ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेकामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेको जनाएको छ । बयालिस ४२ प्रतिशत कृषकले कृषि पेशा अपनाउन नपाएको उल्लेख छ ।

दलित अगुवा मीठाराम विश्वकर्माले सरकारले कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्ने अठोट व्यक्त गरे पनि दलितका लागि जमीन नहुँदा कृषि क्षेत्रमा परनिर्भरता बढेको जानकारी दिए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार हाल ३० लाख ९१ हजार हेक्टर जमीनमा खेती गरिँदै आएको छ । दश लाख ३० हजार हेक्टर जमीन बाँझो छ । राज्यसँग खेती गर्न मिल्ने बगर, पर्ति र सार्वजनिक जमीन सुरक्षित भए पनि भूमिहीन दलितलाई जग्गा वितरण गरिएको छैन । हाल खेती गर्न मिल्ने तर खेती नगरिएको जग्गा दुई लाख ६२ हजार हेक्टर छ ।

विसं २०६८ मा भएको राष्ट्रिय कृषि गणना गणनाले नेपाल खाद्यान्नमा परनिर्भर रहेको जनाएको छ । धान र गहुँमा छ मकैमा १२, कोदोमा १९, जौमा ३५, फापरमा ४०, दलहनमा २१ र तोरीमा १३ प्रतिशतले उत्पादन ह्रास हुँदै गएको तथ्याङ्कमा उल्लेख छ ।

सो गणनाले एक लाख २९ हजार हेक्टर जमीन बाँझो देखाएको छ । प्रत्यक्ष कृषि परिवारको चलनमा रहेको जग्गाको क्षेत्रफल २५ लाख २५ हजार हेक्टर छ । सो अवधिमा नेपालको जनसङ्ख्या वृद्धिदर र युवाजनशक्तिको विदेश पलायनले मुलुकको समग्र कृषिमा दुइ गुणा परनिर्भरता बढेको भनाइ विज्ञको थियो ।

जमीनलाई उपयोगमा ल्याउन नीति निर्माताले नियम र कार्यविधि बनाएका छन् । नियम र कार्यविधि बनाइँदैमा उत्पादन बढ्दो रहेनछ । हाल देशमा फलफूल तरकारी, माछा र मासुबाहेक प्रतिमहीना रु दुई अर्बको खाद्यान्न आयात भएको बताइएको छ ।

भूमिहीन मधेशी दलित रसलाल रामले–सीमित व्यक्तिका हातमा प्रचुर खेतीयोग्य जमीन छ । गाँउबाट मानिस शहर झरेका छन् । गाउँमा खेतीयोग्य जमीन बाँझै छ । शहरका खेतीयोग्य जमीन टुक्राटुक्रा गरी घडेरीका रुपमा बिक्री वितरण भइरहेका छन् । सरकार नीति बनाउँछ तर कार्यान्वयन नगर्ने ती विज्ञले गुनासो थियो ।

आर्थिक वर्ष ०७५/०७६ का लागि सरकारले जारी गरेको आर्थिक सर्वेक्षणले आगामी पाँच वर्षमा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने प्रक्षेपण सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अघि सारिएको छ । सो परियोजनाले पकेट, ब्लक, जोन र सुपरजोनका अवधारणबाट कृषि उत्पादनमा वृद्धि गरी खाद्यान्नमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याए पनि काम गर्ने दलित समुदायसंग जमीन छैन ।

प्रस्तुति: राजाराम कार्की/सुशील दर्नाल/रासस 

अध्यक्षज्यू नेपाल दलित संघले कति वर्षको लागि चुनेको हो तपाइलाई ?- दिनेश विक

विभेद बिरुद्ध अभियान- चैत २२    -नेपाली काँग्रेस पार्टी भ्रातृसंगठनको रुपमा नेपाल दलित संघको स्थापना २०५४ सालमा भएको हो । १३ प्रतिशत दलितको हक,अधिकार र न्यायका निम्ति र बहसको लागि पैरवी गर्न यो संगठनको स्थापना भएको हो । भलै काँग्रेसले बर्तमानमा दलितका मुद्दा घनिभूत रुपमा नउठाए पनि बीपी कोइरालाकै पालामा धनबहादुर परियारलार्इ महामन्त्री बनाएको थियो ।

काँग्रेसमा बीपी लगायतका सुधारबादी नेताले जातभात र छुवाछुतका विषयलाई सामाजिक बहिष्कारको विषय बनाएका थिए । उनका अनुयायीहरु आज जातभात तथा कथित ठूलो र सानो जातका आधारमा देशभर छुवाछुतका घटनामा संलग्न भइरहेका छन् । नेपाली कांग्रेस तत्कालिन समय अर्थात बि पी कोइरालाले नेतृत्व गरेका बेलामा सामाजिक रुपानतरणका मुद्दामा जति प्रगतिशील थियो अहिले अर्थातबर्तमानमा ति मुद्दा प्रति उदासिन बन्दै गईरहेको छ ।

नेपाल दलित संघको संस्थापक मानबहादुर विश्वकर्मा हुन् । यस बीचमा दलसिह कामी तथा खड्ग बस्याल लगायतले दलित संघको नेतृत्व लिए । दलित  संघको चौथो तथा झापा महाधिवेशनले मीन विश्वकर्मालाई ३ बर्षको लागि अध्यक्षमा चुन्यो । २०६९ फागुन १९ देखि २१ सम्म चलेको अधिवेशनमा संस्थापन र संस्थापन इतर समूहको ठूलै रस्साकस्सी चलेको थियो ।

त्यसबेला संस्थापनका तर्फबाट खड्ग बस्याल पनि अध्यक्षका उम्मेदवार थिए भने  संस्थापन इतरबाट मीन विश्वकर्मा । अध्यक्षका प्रत्यासी बन्दै गर्दा मीनले आफूलाई भन्ने गरेका थिए – नेतृत्व पढेलेखेको अरु संगठनसँग बहस गर्ने सक्ने हुनुपर्छ । यही भनेर भोट मागे । त्यसले काम पनि गर्यो ।  उनको भाषणलाई  नेपाल दलित संघका मतदाताले मन पराए । कमजोर प्रत्यासी भनिएका खड्ग बस्याललाई ४९ मतले हराएर मीन विश्वकर्मा ३ वर्षका अध्यक्ष चुनिए ।

 दलित संघको अध्यक्ष चुनिदै गर्दा उनी पार्टीको केन्द्रीय समिति सदस्य पनि थिए । त्यसबीच दलित संघमा केही विवादित मनोनयन पनि भए । तर आज के देखाएको छ भने पढेलेखेको मात्र भएर पनि हुँदो रहेनछ । संगठनको मर्म र भावना अनुसार काम गर्न सक्ने नैतिकता पनि हुनु पर्दो रहेछ ।

केन्द्रीय सदस्य भ्रातृसंगठनको अध्यक्ष बन्न हुने वा नहुने बहस त्यस वेला पनि चलेको थियो तर मीन विश्वकर्माले दलित संघको नेतृत्वमा आउने अरु कोहि योग्य मान्छे नभएका कारणआफु उम्मेद्बार हुनु परेको जिकिर गरिरहे ।

२०६९ फागुनमा अध्यक्षामा चुनिएका तिनै मीनले अहिले सम्म गैरकानुनी रुपमा ७ वर्षसम्म अध्यक्ष हुँ भन्न छाडेका छैनन् । न त नयाँ महाधिवेशन गर्ने नै पक्षमा छन् । दलित संघको विधानत ३ वर्षको कार्यकाल रहेने व्यवस्था छ भने बढीमा ६ महिनामात्र समय थप्न पाइन्छ ।

विधानमा ६ महिना भन्दा बढी समय थप्न पाइन्न तर ७ वर्ष सम्म कसरी यो संगठन चलिरहेकोछ पार्टी र दलित नेता समेत बेखबर छन् । मिति सकिए पनि न नेपाली काँग्रेस पार्टीको केन्द्रीय कमिटिले  दलितसंघको समय थपेको छ न कुनै निर्णय नै गरेको छ । 

गैरकानुनी रुपमा ७ वर्ष अध्यक्ष चलाउन कुन कानुन र विधानले दिन्छ । के मीन विश्वकर्मालाइ नेपाल दलित संघले कति वर्षको लागि वा आजीवन नेपाल दलित संघको अध्यक्ष चुनेको हो ?

तर नेपाल दलित संघको पछिल्लो केन्द्रीय कार्यसमितिले ७ वर्ष पार गरिसक्यो तर अझै महाधिवेशन गराउने पक्षमा मीन देखिदैनन् ।  वकालत पेशा समेत गरेका केही विदेशी संस्थामा परामर्शदाताका रुपमा काम गर्नुका साथै पूर्व बाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका मीन विश्वकर्मा कसरी अध्यक्षको हैसियतमा बसिरहेका छन् आर्श्चयको विषय छ ।

 नेपाल दलित संघका ७७ मध्ये ७४ जिल्लाको अधिवेशन सकिएको छ तर पनि केन्द्रीय महाधिवेशनको मिति तोकिएको छैन ।  २०७५ फागुन ४ गते नेपाल दलित संघको महाधिवेशन गर्ने मिति तोकियो तर यो मितिमा न महाधिवेशन शुरु भयो न नयाँ मिति घोषणा भयो ।

देशभरका नेपाली काँग्रेसमा आवद्व रहेका दलितहरुले अधिवेशन कहिले हुन्छ भनेर प्रश्न गर्दा समेत मीनले उत्तर दिन सकेका छैनन् । आफ्नो पक्षको नेतृत्व खोज्दा खोज्दै वर्षौ जाने त होइन ?

महाधिवेशनले नयाँ नेतृत्व चुन्ने र नयाँ कार्यक्रम निर्धारण गर्छ तर नेपाल दलितसंघमा मीन विश्वकर्माले आफूलाई कतै आजीवन चुनिएको भ्रममा त हुनुहुन्न ?

अर्को महत्वपूर्ण सवाल नेपाल विद्यार्थी संघको झै नेपाल दलित संघ विघटन भएमा यो दलित संघ विघटन मात्र हुने होइन नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री मीन विश्वकर्मा असफल पनि हुने हो भन्ने हेक्का पनि गर्नुस् ।

दलित समुदायको विभिन्न समस्याको बारेमा बोल्नुपर्ने र दलित समुदायका मुद्दालाई सशक्त्त रुपमा उठाउनुपर्ने तिनै दलित प्रतिनिधिले नै मौनता साध्न थाले पछिल्लो समय । अब दलित समुदाय र उनका समस्या उनीहरुको समस्या नरहेर पो हो कि ? दलितको नाममा उहाँहरुले पाउनु पर्ने जित पाइ नै सक्नु भएर हो कि ? उहाँहरु दलित समुदायका लागि तोकिएको आरक्षणको  प्रतिनिधित्व गर्दै मुलधारमा स्थापित हुनु भएको छ , जुन समुदायका लागि आवाज उठाउने र लड्ने भन्दै नेतृत्वमा पुग्नुभएकोहो त्यो समुदायका प्रतिअन्याय गर्न पाईदैन ।

नेपाल दलित संघ निस्क्रिय रहेको यस अबस्थामा महाधिबेशनबाट आउने नयाँ नेतृत्वले केही नयाँ कार्यक्रम तथा तलसम्म संगठन नयाँ संचार र उत्साह थप्ने काम अवश्य गर्ने छ यस अवसरलाई नरोक्नु होस् ।


प्रस्तुति: दिनेश विक, हाम्रा कुरा 

जातीय विभेद र छुवाछूत अन्त्यका लागि महाअभियान

विभेद बिरुद्ध अभियान- चैत २२    -ललितपुर – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गएको दिनमा भएको जातीय विभेद र छुवाछूतको कुरा सम्झेर वर्तमानमा हामी अघि बढ्न नसक्ने बताउनुभएको छ ।

५४ अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवसको सन्दर्भमा मंगलबार ‘जातीय विभेद र छुवाछूत अन्त्यका लागि ६ महिने महाअभियान आत्मसम्मानको खोजी’ कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले सबै जातिलाई समान हकका साथ अघि बढाउन जनता आवास कार्यक्रम गरीब, दलित र पिछडिएका वर्ग सबैका लागि अघि बढाइएको जानकारी दिनुभयो ।

“सबैलाई एकै साथ अघि बढाउन पहाडमा नयाँ परियोजनाको साथै बजेट ल्याउने काम भएको छ”, पण्डितले भन्नुभयो, “विभेद अन्त्यका लागि विभिन्न काम भइसकेका छन्, तर पूर्ण रुपमा अन्त्य हुन केही समय लाग्छ ।” उहाँले नेपालका सबै जातिसरह दलितलाई अघि बढाउन दलितको प्रतिनिधित्वका साथै उनीहरुका लागि बजेट विनियोजन भएको बताउनुभयो ।

सांसद अञ्जना विशङ्खेले निजामती कर्मचारीको विधेयकमा दलितको सङ्ख्या न्यून हुँदै गएकामा दुःख व्यक्त गर्नुभयो । “देशको प्रमुख नेतृत्वमा रहेका व्यक्तिले विभेदका विषयमा सक्रिय रुपमा लागेर थप आवाज उठाउनुपर्छ”, विशङ्खेले भन्नुभयो, “जातीय विभेदविरुद्ध कानून र दण्डको व्यवस्था भए पनि त्यो सशक्त रुपमा कार्यान्वयन भएको देखिँदैन ।”

सांसद लक्ष्मी परियारले आफूले विद्यार्थी जीवनमा अन्य साथीभन्दा छुट्टै मेचमा बसेर अध्ययन गर्नु परेको दुःखेसो व्यक्त गर्नुभयो । “२०५० सालमा तराईका डुम जातिमा होटललगायत चिया पसलमा हुुने विभेद अन्त्य गराएँ”, परियारले भन्नुभयो, “नेपालमा जनजाति प्रतिष्ठान बनाई काम अघि बढाउँदा जातीय विभेद अन्तय हुनेछ ।”

अर्का सांसद विमला विश्वकर्माले आफू २०५६ सालमा कक्षा ८ मा प्रथम हँुदा दलित भएका कारण द्वितीय बनाएको गुनासो गर्नुभयो । “नेपालको संविधानको धारा, २४ र ४० मा दलित हकका कुरा समावेश गरे तापनि हालसम्म पूर्णरुपमा पाउन सकिएको छैन”, विश्वकर्माले भन्नुभयो, “नेपालमा भएको विभेद अन्त्य गर्न दलित अयोग, दलित विकास समिति र वादी विकास बोर्ड गठन गराउन जरुरी छ ।”

राष्ट्रिय मानव अधिकार अयोगका सदस्य नेपाल प्रहरीलाई सात दिनभित्र अजित मिजारको मुद्दा अघि बढाउन निर्देशन गर्नुभयो । “बैतडीमा भएको अन्तर जातीय विवाहको मुद्दा हालसम्म जाहेरी भएको छैन”, आयोगका सदस्य अन्सारीले भन्नुभयो, “प्रहरीमा गएका कयौँ मुद्दा त्यहाँ दर्ता नगरेपछि मानव अधिकार आयोग ल्याउन बाध्य भएको पीडक बताउँछन् ।”

दलित अधिकारकर्मी सरस्वती परियारले बैतडी जिल्लाबाट अन्तरजाति विवाह गरेका जोडीले हालसम्म नागरिकता पाउन नसकेको बताउनुभयो । “दलितको सवालमा सरकार र लक्षित वर्गको दूरी बढ्दै गएको छ”, परियारले भन्नुभयो, “सरकारले बनाएको दलित कानूनलाई व्यावहारिक रुपमा छिट्टै कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।”

प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आर्थिक वर्ष २०७४÷७५ मा नेपालभरबाट १८ र आव २०७५÷७६ मा १४ वटा दलितका मुद्दा परेको बताउनुभयो । “प्रदेश १, २ र ७ मा दलितको मुद्दा बढेको छ”, प्रजापतिले भन्नुभयो, “जातीय विभेद काम नगर्ने प्रहरीलाई हामीले कारवाही गरिरहेका छौँ ।”

समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले कार्यक्रममा उपस्थित सबैलाई ‘म जातीय भेदभाव तथा छुवाछूत अन्त्य विरुद्धको सङ्घर्षमा प्रतिबद्ध छु’ भन्ने शपथ गराउनुभयो । उहाँले दलितले आत्मसम्मान, दाबी र थप शक्तिलाई उजागर गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

दलित छात्रवृत्ति खोज्दै दैलो–दैलो -रमेश विश्वकर्मा

विभेद बिरुद्ध अभियान- चैत २२    -काठमाडौँ — सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दलित अधिकारका क्षेत्रमा काम गर्ने दुई अभियन्ता शिक्षामन्त्रीलाई कुरेर बसेका थिए  । संयोगवश, म पनि त्यही भीडमा थिएँ  । ती अभियन्ताले मलाई सोध्नुभयो, ‘भाइ, मन्त्रीसँग तपाईंको सम्बन्ध कस्तो छ ?’ ‘किन र दाइ ?’

‘दलित विद्यार्थीले पाउने छात्रवृत्ति हरायो । यस सम्बन्धमा मन्त्रीज्यूबाट जानकारी लिनुपर्ने थियो ।’ मैले भनेँ, ‘छात्रवृत्तिको कुरा त मन्त्रालयभन्दा शिक्षा विभाग र आयोगलाई राम्रो थाहा हुनुपर्ने होइन र ?’

त्यहीँ थाहा भयो— राज्यले दलितका लागि छात्रवृत्ति बापत छुट्याएको शैक्षिक सुविधा संघीयतासँगै अन्योलमा परेको रहेछ । सम्बन्धित कामले विभाग गयो, मन्त्रालयलाई देखाउने ! मन्त्रालय गयो, विभागलाई देखाउने ! आयोग गयो, दलित विकास समितिलाई देखाउने ! दलित विकास समिति आफै खारेजीमा परेकाले ती दाइहरू हैरान हुनुभएको रहेछ ।संविधानको धारा ४० (२) मा भनिएको छ— दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ । प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ । व्यवहारमा भने दलितहरू अनेक सरकारी निकायका दैलो चहार्न बाध्य छन् ।

शैक्षिक रूपमा दलित समुदाय सबल नभएको अवस्थामा सबै संवैधानिक अधिकारहरू कमजोर बन्दै जाने सम्भावना रहन्छ । त्यसैले राज्यले दलित समुदायका लागि ‘शिक्षा पहिले’ नीति अवलम्बन गर्न जरुरी छ । शिक्षित र क्षमतावान् दलित समुदायले मात्र राज्यको समानुपातिक समावेशी सिद्धान्तलाई युक्तिसंगत बनाउन सक्छ ।

नेपालमा दलितको जनसंख्या १३.८ प्रतिशत छ । त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभागको ‘पोभर्टी एन्ड एक्सक्लुजन इन नेपाल’ को पछिल्लो अध्ययन अनुसार, २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ । तिनमा दलितको संख्या ४२ प्रतिशत छ ।

केही महिनाअघि सार्वजनिक उच्चस्तरीय शिक्षा आयोगको रिपोर्ट अनुसार, कक्षा १ मा २० दलित विद्यार्थी भर्ना हुन्छन् भने ३ जनाले मात्र कक्षा १० को परीक्षा उत्तीर्ण गर्छन् । यसको अर्थ ८५ प्रतिशत दलित विद्यार्थी माध्यमिक शिक्षा प्राप्त गर्ने क्रममै शैक्षिक बजारबाटै हराउँछन् । ५० प्रतिशत दलित विद्यार्थीले कक्षा ५ पढ्दा–पढ्दै स्कुल छोडिसकेका हुन्छन् । क्याम्पस भर्नाका बेलासम्म यो संख्या करिब १.४ प्रतिशतमा सीमित हुने गरेको छ ।
त्रिविले उच्च शिक्षामा लागू गरेको सेमेस्टर प्रणाली सिमान्तीकृत समुदायका लागि पर्खालसरि भएको छ । त्रिविले केहीअघि व्यवस्थापन संकायमा स्नातकोत्तर पहिलो वर्ष पहिलो सेमेस्टरका लागि लिएको प्रवेश परीक्षामा देशभरिमा १३,६८२ विद्यार्थी उत्तीर्ण भए । त्यो सूचीमा २२५ भन्दा कम अथवा १.६४ प्रतिशत दलित विद्यार्थीहरूको नाम थियो ।

तीमध्ये ६० प्रतिशत दलित विद्यार्थीले प्रतिस्पर्धात्मक अंक प्राप्त गर्न सकेनन् । मेरिट लिस्टकै आधारमा विश्वविद्यालयले भर्ना प्रक्रिया अगाडि बढाउँदा ९९.८१ प्रतिशत दलित विद्यार्थी स्नातकोत्तर अध्ययनबाट वञ्चित हुने भए । उच्च शिक्षामा दलित समुदायको अवस्थालाई यही तथ्यांकले छर्लंग पार्छ ।

त्रिविकै मानविकी तथा समाजशास्त्र संकायका २४ विधामा प्रवेश परीक्षा लिइएकामा ११ विधामा दलित विद्यार्थीको उपस्थिति शून्यप्रायः रह्यो । समाजशास्त्र, मनोविज्ञान, जनसंख्या, राजनीतिशास्त्र, नेपाली, पत्रकारिता, अंग्रेजी, अर्थशास्त्र, मानवशास्त्र जस्ता विषयमा दलित विद्यार्थीको उपस्थिति १.७ प्रतिशतभन्दा कम छ । दलित समुदायले प्राप्त गरेका संवैधानिक अधिकार यस्तो शैक्षिक अवस्थाका कारण गुम्ने खतरा हुन्छ कि हुँदैन ?

अहिले सरकारले दलित विद्यार्थीहरूलाई निःशुल्क उच्च शिक्षा प्रदान गर्ने भने पनि शिक्षाका संरचनाहरू दलितमैत्री बन्न सकेका छैनन् । प्रभावकारी शैक्षिक कानुन नहुँदा यसको असर संविधानप्रदत्त अधिकार प्रत्यायोजनमा देखिएको छ । करिब ७ प्रतिशत संवैधानिक अधिकार पाएको दलित समुदायको राज्यको प्रत्येक संरचनामा सहभागिता १ प्रतिशतभन्दा कम छ ।

सरकारी विश्वविद्यालयमा पनि शिक्षा महँंगिएको छ । पहिले १५–१६ हजार रुपैयाँले स्नातकोत्तरको पढाइ सक्न पाइन्थ्यो । सेमेस्टर प्रणाली लागू भएपछि प्रवेश शुल्कमात्रै १६,५०० रुपैयाँ छ । एकातिर निःशुल्क शिक्षा भन्ने, अर्कातिर बैंक भौचर नभई भर्नासम्म नलिने नीतिले दलित समुदायलाई पेलिरहेको छ । यति ठूलो खर्च गरेर दलित र सीमान्तीकृत समुदायले कसरी उच्च शिक्षा हासिल गर्न सक्छन् ?

सरकारले मातहतका विश्वविद्यालयलाई आवश्यक कानुनी परिपत्र नगरिदिँदा क्याम्पस प्रशासनहरू अमूक संस्थालाई देखाई निःशुल्क शिक्षा प्रदान गर्ने दायित्वबाट पछि हटेको देखिन्छ । उच्च शिक्षामा दलित समुदायको पहुँच कम भएकै कारण राज्यका उच्च तहमा पनि प्रतिनिधित्व न्यून भएको हो ।राज्यको प्रत्येक संरचनामा सम्मानजनक सहभागिताका लागि उच्चशिक्षा फहिलो आधार हो ।

राज्य दलित समुदायको सशक्तीकरणका सवालमा जिम्मेवार हुन जरुरी छ । दलित सशत्तीकरणका क्षेत्रमा आबद्ध सबै पक्षले राज्यलाई आ–आफ्नो ठाउँबाट खबरदारी गर्न जरुरी छ । होइन भने दलित आन्दोलन मागेर खाने बहानाकै रूपमा निरन्तर चलिरहने निश्चित छ ।

प्रस्तुति: रमेश विश्वकर्मा, कान्तिपुर दैनिक

'दलित आन्दोलनलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउनु पर्छ' - आहुती

विभेद बिरुद्ध अभियान- चैत २२    -नेपालमा जात कामको आधारमा भन्ने गरिन्छ । एक हदसम्म ठिकै होला। तर अवसर आएको खण्डमा त्यो मान्यता पालना भएका छन् त? भएको पाइँदैन। एउटा राम्रो उदाहरण छ। कामको आधारमा सार्की जातिले जुत्ता बनाउने काम गर्थे। जहिलेसम्म त्यो कामबाट राम्रो आर्जन भएर तव सम्म त्यो काम विशेष गरी सार्की गर्ने भन्ने थियो। जब त्यो कामबाट राम्रो अमदानी भो त्यसपछि सबै जातकाले व्यवसायीको रुपमा अघि बढाएको पाइन्छ।

जव दलितको अवसरको कुरा आउँछ तव फेरि उनीहरुमाथि दमन गरिन्छ। उदाहरणको लागि अझै पनि समाजमा जुन दलितले चर्पी सोर्न गर्थे। तिनका सन्तानले पनि चर्पी नै सोर्नु पर्छ र जसका पुर्खा मन्त्री भए तिनका सन्तान मन्त्री नै हुनु पर्छ भन्ने सोच कायम छ। अहिलेपनि पूँजीवादका कुरा उठ्छन्। पूँजीवादमा पनि जातको गन्धसहितको व्यवस्था आउँछ कि भन्ने पीर हुन्छ। जात सम्बन्धी समस्या र प्रश्न दलितलाई मात्र होइन हिन्दु समाजलाई नै छ। नेपालमा दलित र महिलाको प्रश्न उस्ताउस्तै छन्, मात्र घनत्वमा फरक छ । दलितको अधिकारको कुरा गर्दा दयाका भावनले सान्त्वना हुने हिसवले हेर्ने गरिन्छ। कुनै संघसंस्थामा दलितलाई राख्नु पर्‍यो भने समावेसीको नाममा सदस्य पद दिइने गरिन्छ। कोटाको नाममा महिलालाई भने कोषाध्यक्ष र अहिले उपाध्यक्षसम्मको पद दिइने गरिन्छ। किन दलितलाई कोषाध्यक्ष या उपाध्यक्षबाट पद दिन सुरु नगरेका होलान? 

अन्य राष्ट्रमा दलित सम्बन्धी सविधानमा सम्बोधन भएको कमै पाइन्छ। हाम्रो सविधानमा सम्वोधन भएको छ खुशी लाग्छ। तर यो सविधानले जस्ताको तस्तै लागू गर्‍यो भने दलितको समस्या हल हुन ५० वर्ष लाग्छ। दलितका समस्या बुझ्न जरुरी छ।  आर्थिक क्षेत्रमा भूमिहिनता, राजनीतिमा र राज्यको नीति नियम बनाउने ठाउँमा सहभागिता नहुनु, सरकारी निकायका उपल्लो पदमा नपुराइनु यस्तो समस्या जहिले सम्म रहन्छ तबसम्म दलित वर्ग अधिकार खोजिरहन्छ। 

इतिहास नै हेर्ने हो भने दलितलाई पहिलेदेखि नै पछाडि पारेको कुरा प्रष्ट छ । यति सम्मकी मुुलुकी ऐन १९१० मा कसको जुटो कसले खाने भनेर सम्म उल्लेख गरिएको पाइन्छ। पहिलेदेखि नै हिन्दु समाजमा यो समस्या छ। दलितमा मात्र होइन उपाध्याय र जैसीमा र अन्यमा यो समस्या छ। नेपालमा हेर्ने हो भने दलित आन्दोलन अन्य सामुहिक आन्दोलन भन्दा पहिला गरेको पाइन्छ। तर यसले आजसम्म निकास पाएको छैन। पहिला दलितभित्र रहेको समस्या अन्त्य गर अनि बल्ला जातीय समस्या हट्छ भनेर कुतर्क गर्नेको जमात यो समाजमा छ। यस्तो सोचले गर्दा पनि दलितले आफ्नो हक अधिकारबाट बञ्चित हुनु परेको छ।

भूमिहिन दलितलाई भूमिको अधिकार दिनु पर्छ, शिक्षामा पनि पूर्ण छात्रवृत्तिको व्यवस्था हुनु पर्छ। यति मात्र होइन राज्यले नियम बनाएर विगतमा दलितलाई बञ्चित गराइएको सबै क्षेत्रमा क्षतिपूर्तिसहित स्थान दिनु पर्छ। तर यसको नाम एसएलसी पास गरेको दलित समुदायकालाई डाक्टरको सटिफिकेट देउ भन्ने होइन  उनीहरुको योग्य र क्षमता अनुसार सबै तहमा सहभागिता गराउनु पर्छ। 

अहिले राज्यले आरक्षणको नाममा दलितलाई दिएको कोटाको प्रतिशत पनि उचित होइन। आरक्षण के-का  लागी? पछि गएर समान सहभागिताको लागि होइन? अनि अहिले राज्यले दिएको त्यो आरक्षणको हिसाव गर्ने हो भने दलितको पनि समान सहभागिता हुन १३ सय बर्ष लाग्छ। अव पनि यो प्रणाली सहि हो भन्न उचित हुन्छ? 

आरक्षण नीति राम्रो होइन। यो भन्दा र सुन्दा राम्रो होला तर यसले दलित वर्गलाई न्याय गरे जस्तो मलाई लाग्दैन।  बरु क्षतिपूर्तिको सिद्धान्त अघि सार्ने हो भने न्याय उचित हुन्छ। अव दलित आन्दोलन एउटा राष्ट्रमा मात्र समित हुन हुँदैन। दलित आन्दोल अन्तर्राष्ट्रिय विषय र मुद्दाको रुपमा अघि बढाउनु पर्छ। 

थरको आधारमा जातजातीको पहिचान हुँदैन। थरको नाममा दलितमाथि दमन भएको पाइन्छ। दमनले वर्ग निर्माण गर्छ। त्यही वर्ग मध्येको एक हो दलित वर्ग र सर्वहारा वर्ग। दलित मुक्तिनै वर्ग मुक्ति हो जस्तो मलाई लाग्छ।
एशियामा करिव २० कारोड दलित छन्। २० करोड दलितको मुक्तिका लागि लड्न जरुरी छ। सबै मिलेर हक अधिकार खोज्नु पर्ने वेला आएको छ। सबैले साझा रुपमा दलितको विषय विचार र मुक्तिको सपना देख्ने हो भने अवश्य अधिकार प्राप्त हुन्छ।

प्रस्तुति: अर्जुन गिरी÷समाधान दैनिक

ताराबारीका बासिन्दा भन्छन् - मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन

विभेद बिरुद्ध अभियान- चैत २२    -ताराबारी गाउँ झापाको मेचीनगर नगरपालिका-१० मा रहेको सामान्य गाउँ हो। विकासको पूर्वाधार पनि नभएको उक्त गाउँमा चेतनाको स्तर भने उच्च रहेको पाइन्छ।

सहरी भेग र अन्य विकसित क्षेत्रमा आज पनि विद्यमान रहेको छुवाछुत प्रथा उक्त गाउँमा छैन। त्यहाँका बासिन्दामा समानताको भावना उच्च छ।

ताराबारी गाउँ २०५४ सालमा बसेको हो। यो गाउँमा ठूला घर छैनन्। केही घर छाप्राजस्ता छन्। केही साना भुइँतले पक्की घर छन्।

तर यो गाउँ सामाजिक चेतनामा अब्बल छ। यो गाउँमा को सानो को ठूलो कुनै भदभाव छैन।

उक्त गाउँकी बासिन्दा कृष्णमाया घतानी र दलित भनिएका समुदायका सदस्यहरूले छुवाछुतको सिकार बन्नु परेको छैन। भेदभाव गर्नु हुँदैन भन्ने चेत सबै स्थानीयवासीमा भएको उनी बताउँछिन्।"हामी बराबरी खाँदैछौँ, हिँड्दैछौं, डुल्दैछौँ। पूजापाठ, बिहे आदिमा हामी सबै एकैठाउँमा छौँ। हामीकहाँ कुनै छुवाछुत छैन। यो साँच्चै चेतना आएको हो।"

सहरमा पनि छुवाछुत प्रथा पूर्ण रुपमा हट्न नसकेको अवस्थामा ताराबारीमा बस्ने ब्राह्मण परिवारका मानिसहरू पनि जसको पनि घरमा गएर खान्छन्।

एक जना स्थानीयवासी विनोद दहालले भने, "म ब्राह्मण परिवारमा जन्मेको मान्छे हुँ। तर म दलित भनिएकाहरूकहाँ गएर खान्छु।"

अन्य स्थानमा जातीय भेदभावका समाचार सञ्चारमाध्यममा पढ्दा ताराबारी गाउँका बासिन्दाको मन पोल्ने गरेको अनुभव उनीहरू सुनाउँछन्।

उनीहरु आफ्नो गाउँ र अन्यत्रको तुलना गर्न थाल्छन्।

सोही गाउँकी बासिन्दा संगीता उराउ भन्छिन्, 'अन्य ठाउँका छुवाछुतका घटना सुन्दा छक्क लाग्छ। हामी त सबैकहाँ जान्छौँ, सबैकहाँ खान्छौँ ।"यो गाउँका बासिन्दाको भनाइमा अब भेदभाव र छुवाछुत गर्ने जमाना छैन।

समाज आधुनिक बन्दै गएका कारण सबै समुदायका मानिस समान हुन् भन्ने धारणा आफूहरूमा पलाएको उनीहरूले बताउने गरेका छन्।

गाउँका युवा भन्छन् जमानाअनुसार चल्नका लागि उनीहरूमा भेदभावको भावना नआएको हो। एकजना युवक डेभिड कडरिया भन्छन्, "हामी सबै दाजुभाइ दिदीबहिनी हौँ। केका लागि छुवाछुत ?"

ताराबारीका गाउँका बासिन्दा भन्छन् छुवाछुतरहित उनीहरूको गाउँ राजनीतिको विकसित रूप भएको ठान्छन्।

उनीहरूका सन्तानलाई पनि यही रूप सिकाउन चाहन्छन्। एकजना युवा अंकित उराउले भने, 'बच्चाहरूले विद्यालयमा पनि पढ्दैछन् छुवाछुत राम्रो होइन भनेर। त्यसैको परिणाम पनि हो।"

उनीहरू भन्छन् - मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।

व्यवहार स्वच्छ भए समानताको भावना आफैँ जागृत हुने र त्यो भावना मनदेखि नै हुनुपर्ने कुरामा ताराबारीवासी दृढ देखिन्छन्।

सोलुखुम्बुको एउटा गाउँ जहाँ जातीय विभेदको ‘नामनिसान छैन’

विभेद बिरुद्ध अभियान- चैत २२    -फाप्लु, सोलुखुम्बुकी उर्मिला श्रेष्ठ गाउँका दलितको घरमा जाने, सँगै बसेर उनीहरूकै घरमा खाना खाने गर्छिन्।

केही वर्ष अघिसम्म दलित र गैरदलित भनी फरक व्यवहार भए पनि पछिल्ला वर्षमा उक्त क्षेत्रमा त्यस्तो जातीय विभेद कत्ति पनि नरहेको उनी बताउँछिन्।फाप्लु र आसपासका क्षेत्रहरू सुर्के, यर्मादिङमा गरी करिब दुई सय घर दलित बस्ती रहेको छ।त्यहा शेर्पा, तामाङ, नेवार लगायत केही बाहुन र क्षेत्रीको पनि बसोबास रहेको छ।

भात/भान्छा चल्छ
"उनीहरू हरेक क्षेत्रमा अब्बल छन्, उनीहरूका घर हाम्राभन्दा बढी सफासुग्घर छन्," श्रेष्ठले भनिन्, "उनीहरूसँग बस्दा र खादा उनीहरू दलित हुन् त्यसैले बस्न हुँदैन भन्ने लाग्दैन। हामीबीच भात/भान्सा सबै चल्छ।"
सोलुखुम्बुको फाप्लुमा बस्दै आएका दलित र गैरदलितबीच देखिएको यो समानता राजधानीकै कतिपय क्षेत्रका लागि पनि नौलो मानिन्छ।

काठमाण्डू वरपरकै कतिपय गाउँमा अझै पनि दलितलाई गैरदलितले घर छिर्न नदिने, उनीहरले छोएको पानी नचलाउने गर्छन्, विवाह त परको कुरा।

"घरमा फलेका तरकारी विक्री गर्न टाढा जान पर्दैन, हाम्रै घरबाट यहाँका गैरदलितले किनेर लैजान्छन्। पितृकार्य, पूजामा गरिने भोजहरूमा उनीहरू नधकाइकन आउँछन्, खान्छन्," सोलु दूधकुण्ड नगरपालिका ४ की लली विश्वकर्मा भन्छिन्, "उनीहरूका लागि भनेर छुट्टै खानेकुरा पकाउने चलन छैन। हामी जे पकाउँछौँ त्यही सँगै बसेर खाने हो।"

घर चलाउने महिलाहरूले नै कुनै विभेद नगरेपछि घरबाहिर काम गर्ने पुरुष वा बालबालिकामा त्यो हुने कुरै भएन।
अचम्म लाग्छ
एक अर्कामा घरमा निर्वाध रुपमा प्रवेश गर्ने अनि मर्दापर्दा वा पूजाआजामा एक अर्कालाई सहयोग गर्ने यहाँका बासिन्दाको चलनले यहाँ आउने अन्य क्षेत्रका मानिसलाई पनि अचम्मित पार्छ।

झापा घर भइ आठ वर्षदेखि सोलुखुम्बुको फाप्लुमा शिक्षण गराउँदै आएका श्रीकृष्ण गौतमले त नेपालका नमुना जिल्लाका रुपमा सोलुखुम्बुलाई लिन्छन्।"नेपालका प्राय सबै जिल्लाहरूमा दलित र गैरदलितबीच विभेद छ। तर यहाँ त एकदमै फरक छ। मलाई शुरू शुरूमा अचम्म लाग्थ्यो।"

एउटै परिवारका रुपमा उनीहरू मिलेर बसेको देख्दा गौतम जस्तै अन्य भेगबाट आएका मानिसहरू आश्चर्य मान्छन्।तर सोलु दूधकुण्ड नगरपालिका-४ दलित बस्तीकी कृष्णकुमारी विश्वकर्मा भन्छिन् "छुवाछूत, सानो जात र ठूलो जात भनि गरिने विभेद र अन्य कुनै किसिमको दुर्व्यवहार हाम्रो समाजमा पाइँदैन।"
उनीहरू आवश्यक पर्दा रकम सरसापटीदेखि लिएर तरकारी र अन्नपात पैंचो चलाउँछन्।
किन फरक गर्नु?
त्यहाँ दलित युवाहरूले गैरदलित समुदायका छोरीचेली विवाह गरेर घरबार बसाएका छन्।जसले गर्दा जातीय रूपमा समेत फरक दृष्टिकोण नभएको उनको ठहर छ।सामाजिक रूपमा एक ढिक्का भएर बस्न थालेपछि कुनै असजिलो पर्दा पनि हारगुहार गर्न सजिलो भएको फाप्लुकै उर्मिला श्रेष्ठ बताउँछिन्।

शिक्षा र चेतनाको विकास भएसँगै विभेद न्यूनीकरण हुँदै गएको फाप्लुकी सुमजोक लामा बताउँछिन्।उनी भन्छिन्, "हाम्रो गाउँमा मान्छेले मान्छेलाई विभेद गर्नु सामाजिक लज्जाको विषय हुन्छ। दलित/गैरदलित हाडछालाले बनेको उस्तै मानिस त हो किन फरक गर्नुपर्‍यो?"सोलुखुम्बुमा प्रायः सबै जातिले सबैको संस्कार र संस्कृतिलाई उतिकै महत्त्व दिने गर्छन्।

हिन्दू धर्मालम्बीहरूले मनाउँदै आएका चाडबाडहरू र बौद्ध धर्मालम्बीहरूले मान्ने चाडहरू प्रायः सबै मिलेर मनाउँछन्।जसको प्रभाव स्वरुप दलित र गैरदलितबीचको एकता सम्भव भएको अधिकारीहरू बताउँछन्।‏साभार :- सुजाता तामाङ-बीबीसी न्यूज नेपाली