Tuesday, August 11, 2020

सुरेश सुनार सबैभन्दा कान्छो प्रमुख जिल्ला अधिकारी (सीडीओ) बने

 

विभेद बिरुद्द अभियान -  जाजरकोट जस्तो दुर्गम भेगमा जन्मिएका एक दलित परिवारका युवा २९ वर्षीय सुरेश सुनार प्रमुख जिल्ला अधिकारी (सिडिओ)बनेका छन् ।

भेरी नगरपालिका ४, सालघारीका सुरेश सुनार सबैभन्दा कान्छो प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेका छन् । विकट भूगोल र पिछडिएको दलित परिवारमा जन्मिएका सुनार २९ वर्षमै सीडीओ बनेका हुन् । जाजरकोटका दलित युवा त्यो पनि कम उमेरमै सीडीओ बनेपछि आफन्तसहित जिल्लावासीमा खुसी छाएको छ । उनी अन्य जाजरकोटी युवाको प्रेरणाको स्रोत बनेका छन् । ७ वर्षअघि निजामती सेवा प्रवेश गरेका सुनारले मालपोत कार्यालय, नगरपालिकालगायत कार्यालयमा प्रमुख भएर सेवा गरिसकेका छन् ।

पाँच वर्षसम्म शाखा अधिकृत भएर सरकारी सेवामा कार्यरत सुनार गत वर्ष लोकसेवा आयोगको खुला परीक्षाबाट उपसचिव बनेका थिए । सुनार नेपालकै सबैभन्दा कान्छा उपसचिव हुन् । त्रिभुवन विश्वविद्यालयबाट मानविकी र व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण सुनारले कानुनमा समेत स्नातक तह पूरा गरेका छन् । उनी जाजरकोटमा एक परिश्रमी, लगनशील तथा अनुशासित युवाका रूपमा परिचित छन् । सुनारले त्रिभुवन आधारभूत विद्यालय रिसाङबाट १ देखि ८ कक्षाको अध्ययन पूरा गरी त्रिभुवन मावि खलंगाबाट ०६० सालमा एसएलसी उत्तीर्ण गरेका थिए ।

आर्थिक अभावमा सुविधा सम्पन्न कलेज भर्ना हुन नपाएपछि उनले जाजरकोटकै भेरी ज्ञानोदय क्याम्पसमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेर नायब सुब्बाबाट सरकारी जागिर छिरेका हुन् । डेढ वर्षे नायब सुब्बा जागिरको सिलसिलामै उनी लोकसेवा आयोग परीक्षा पास गरेर शाखा अधिकृत बने । बाबु केशव सुनार र आमा जयाको कोखबाट जन्मिएका उनको विज्ञान विषय पढेर डाक्टर वा इन्जिनियर बन्ने योजना थियो । तर गरिबीका कारण सफल हुन नसकेको सुनारले बताए । नेपालगन्ज तथा काठमाडौंका कलेजमा विज्ञान पढेर डाक्टररइन्जिनियर बन्ने धोको पूरा नभएपछि निरन्तरको लगनशीलताका कारण प्रमुख जिल्ला अधिकारी बन्न सकेको उनी बताउँछन् । ‘बाआमालाई ऋणको भारी बोकाएर प्राविधिक विषय पढ्नुको औचित्य ठानिनँ,’ उनले भने, ‘बुवाको पनि छोरालाई डाक्टर बनाउँछु भन्ने इच्छा थियो, गरिबीका कारण उहाँ पनि सफल हुनुभएन ।’ गत वर्ष निजामती सेवाको उपसचिव बनेपछि बल्ल बुवाले खुसी साट्नुभएको हो ।

पढाइमा अब्बल

सुरेश सानैदेखि पढाइमा अब्बल थिए । उनका बुवाले एसएलसीसम्म पढेका थिए । जसका कारण सुरेशलाई पढाइमा ठूलो सहयोग मिल्यो । ‘मैले घरायसी समस्याले पढाइ पुरा गर्न पाइन, अब पढेर जागिर खाने सपना तैँले पुरा गर्नुपर्छ’ सुरेशलाई उनका बुवाले सधै यस्तै भन्थे । कक्षा १ देखि ८ सम्म प्रथम भए । उमेर बढ्दै जाँदा घरको आर्थिक अवस्था, बुवाआमाको दुःख र समाजले दलित समुदायप्रति गर्ने व्यवहार उनले राम्रोसँग नियाल्न थाले । ‘समाजको व्यवहार, गरिव हुनुको पीडा र बुवाआमाको दुःखले गर्दा पढेर केही गर्नुपर्छ भन्ने लाग्थ्यो’ सुरेश भन्छन् ।

बुवाले खेत नै बेचिदिए

एसएलसीपछि सुरेशलाई उनका बुवाले इन्जिनियर (ओभरसियर) पढाउने सोच गरेका थिए । इन्जिनियर पढाउनका लागि आर्थिक अवस्थाले भ्याउँन्थेन । तर पनि इन्जिनियर पढाउनकै लागि उनका बुवाले २० मुरी धान फल्ने खेत बेचिसकेका थिए । खेत बेचेको थाहा पाएपछि सुरेशले बुवालाई कति दुःख दिनु भन्ने सोचे । ‘इन्जिनियर पढाउने बुवाको सपना थियो, तर इन्जिनियर पढ्न कि चितवन कि काठमाडौँमा जानु पथ्र्यौ’ उनी भन्छन्, ‘ आम्दानीको स्रोत थिएन, खेत बेचेको पैसाले पढ्न पुग्थेन जसले गर्दा इन्जिनियर पढिन ।’हुन पनि खेत बेचेको ९० हजार रुपैयाँ बाहेक आम्दानीको अन्य स्रोत थिएन । जसले गर्दा छोरालाई इन्जिनियर बढाउने बुवाको सपनालाई सुरेशले त्यागिदिए । बरु बुवाको दुःखलाई साथ दिन गाउँमै उच्च शिक्षा पढ्ने सोच बनाए । खेत बेचेको पैसा इन्टरको पढाइ र लोकसेवा आयोगको तयारीमा खर्चिए ।

अनि लोकसेवाको लत बस्यो

एसएलसीपछि सुरेश दिनभरी फुर्सदमा हुन्थे । क्याम्पसको पढाइ विहान हुन्थ्यो । क्याम्पसबाट फर्कदै गर्दा उनले बाटोमा कर्मचारीहरु अफिस गइरहेको भेट्थे । म पनि यस्तै कर्मचारी हुन पाए हुन्थ्यो, कहिलेकाँही मनमा यस्तै कुरा खेलाउँथे । कर्मचारी हुन के गुर्नपर्छ ? थाहा थिएन । एकदिन अग्रज साथीहरुले भने, ‘सुरेश अब तँ पनि लोकसेवा पढ् ।’ उनी छक्क परे । लोकसेवा पढेर के हुन्छ ? सुरेशले साथीहरुलाई प्रश्न गरे । साथीहरुले कर्मचारी बन्नका लागि लोकसेवा आयोग पास गर्नुपर्ने सुनाए । त्यसका लागि अध्ययन गर्नुपर्ने विषय बस्तुहरु बताए । त्यसपछि सुरुभयो लोकसेवाको बाटो । नेपालको भूगोल, इतिहास र सामान्यज्ञान उनका लागि धेरै अप्ठेरा थिएनन् । तर सामान्य ज्ञान जान्दैमा लोकसेवा पास हुने अवस्था पनि थिएन । समय वित्दै जाँदा सुरेशलाई लोकसेवा बाहेक अनेत्र ध्यान नै गएन । पढाइ छोडेर भए पनि आयोगको तयारीमा जुट्ने निधो गरे । सुरेश साथीसँगै लोकसेवाको तयारी गर्न सुर्खेत आए । ‘जाजरकोटबाट सुर्खेत आएपछि क्याम्पस जान सम्भव भएन’ उनी भन्छन्, ‘समय मिलाएर लोकसेवा र क्याम्पसको तयारी गर्थेँ, दुबैमा सफलता मिल्यो ।’

उमेर कम हुँदा तनाव

आयोगको तयारी गरिरहदा सुरेशलाई उमेर कम भएका कारण तनाव भयो । किनकी आयोगको प्रतिस्पर्धा गर्नका लागि १८ वर्ष पुग्नुपथ्र्यो । तर सुरेश १६ वर्षका मात्र थिए । संयोगबशः त्यही समयमा घरेलु उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले उपसहायक (मुखिया) पदमा अस्थायी कर्मचारी माग्यो । जहाँ उमेर १६ वर्ष र शैक्षिक योग्यता दश कक्षा उत्तीर्ण थियो । सुरेशले यो मौका चुकाउन नहुने निधो गरे । नभन्दै सुरेश सफल भएर रोल्पामा जागिर गर्न पुगे । त्यहाँ पुगेपछि पनि आयोगको तयारी गर्न छोडेनन् । ‘सँगैका साथीहरु भोली लोकसेवा पास गरेर हाकिम होलान्, म अस्थायी जागिरमै भुल्नु हुँदैन भन्ने सोच्थेँ’ सुरेशले सुनाउँछन्, ‘अस्थायी जागिर खाएपछि अझै पढ्ने जाँगर बढ्यो ।’

२०६५ सालमा लोकसेवा आयोगले पहिलो पटक समावेशी व्यवस्था सहितको कर्मचारी माग गर्यो । हुन त नायव सुब्बामा एक जना मात्रै थियो । तर त्यही समावेशी विज्ञापन सुरेशका लागि अर्को ठूलो अवसर बन्यो । लिखित र मौखिक दुबैमा सुरेशले नाम निकाले । अनि नायव सुब्बा नासु बनेर आफ्नै जिल्ला (जाजरकोमा) जिल्ला विकास समितिमा पोष्टिङ भए । त्यसपछि सुरेशको जीवनले नयाँ मोड लियो । जिन्दगीको एउटा अध्याय पुरा गरे जस्तो लाग्यो । जागिर र पढाइलाई सँगसँगै अगाडि बढाए । २०६९ साल अधिकृतमा सफल भए । २०७५ साल असारमा सुरेश उपसचिव भए । जागिरको क्रममा रोल्पा, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, काठमाडौं, कैलालीमा पुगेका उनी हाल डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पुरा गरिरहेका छन् ।

No comments:

Post a Comment