ती पुरुषले नाता लगाउँदै फेरि सोधे 'आचार्य त मेरा मावली हुन्, तपाईं कहाँको आचार्य नि ?' अञ्जुलाई जवाफ फर्काउनै कठिन भयो । उनको अनुहार मलिन भयो । आफ्नो थर अरू ब्राह्मण समुदायसँग जोडिएकामा उनी दुःखी थिइन् । यसको पुष्टि गर्न आवश्यक ठानेर उनले भनिन्, 'म दलित समुदायकी आचार्य हुँ ।'
'दलित पनि आचार्य ? यस्तो पनि हुन्छ ?' ती पुरुषलाई अञ्जुको बात पत्याउनै गाह्रो भयो । अन्ततः उनी दलित आचार्य हुनै सक्दैन भन्ने पक्षमा अडान राख्दै गए । अञ्जु अनुत्तरित भइन् । उनको पुस्तादेखि नै आचार्य लेखिँदै आएको छ । तर, उनी ब्राह्मण समुदायकी होइनन् । घटना सामान्य लाग्छ । तर, गम्भीर छ । अञ्जुजस्ता थुप्रै दलित समुदायले थरका नाममा अनावश्यक विवाद र तनाव सहनुपरेको छ ।
राष्ट्रिय दलित आयोगको जातीय अनुसूचीमा 'आचार्य' थर 'विश्वकर्मा' अर्थात कामी समुदायअन्तर्गत पर्छ । समाजमा समानताको बहस जारी रहेका बेला दलित समुदायले स्वेच्छाले थर लेख्न पाउने कि नपाउने ? लेखिए पनि समाजमा थरको बेलीविस्तार लगाउनुपर्ने चुनौती थपिएको छ । परम्परादेखि जरो गाड्दै आएको छुवाछूत प्रथाले बेलाबखत मुन्टो उघार्छ । विभेदरूपी छवि भने समाजमा कुनै न कुनै रूपमा प्रकट भइरहेको हुन्छ ।
आयोगमा विभिन्न २६ जात उल्लेख छन् । राष्ट्रिय दलित आयोगको जातीय अनुसूचीअन्र्तगत पहाडे र मधेसी मूल गरी २६ जात उल्लेख गरिएको छ जसमा विभिन्न थरमध्ये, गैरदलितको थरसँग मिल्ने आचार्य, घिमिरे, गिरी, बाँस्कोटा, निरौला, नेपाल, भट्ट, पोखरेल, कोइराला, बस्याल, हमाल, रिमाल, सिंह, गौतम, सापकोटा, राना, पहाडी, मगर, पौडेललगायत थुप्रै गैरदलितसँग मिल्ने थरहरू पनि उल्लेख छ । दलित आयोगले प्रमाणित गरेको थर हुँदाहुँदै खुलेर आफ्नो परिचय प्रस्ट्याउन नपाउँदा धेरै दलितले अनावश्यक झमेला खेप्नुपरेको छ । थरको समस्याले गर्दा आयोगसमेत आफैं अन्योलमा परको छ ।
दलित कुनै जात होइन, एउटा समुदाय हो । दलितको कुनै छुट्टै थर गोत्र छैन । आयोगले दलित आर्यअन्तर्गत पर्छन् भनेर उल्लेख गरेको छ । परम्परागत पेसाका आधारमा दलित समुदायको थर राखिएको र उनीहरूलाई त्यही व्यवस्थाअनुरूप पछाडि पारिएको मात्र हो । यो यथार्थ हामी सबै शिक्षित व्यक्तित्व र समाजलाई थाहा हुँदाहुँदै पनि मनदेखि स्विकार्न सकिराखेका छैनौँ । गैरदलितसँग दलितका केही नाम मिल्ने हुँदा गैरदलित भएर दलितको प्रमाणपत्र बनाउने र अवसरमा पुग्न चाहनेहरू पनि प्रशस्तै भेटिएकाले दलित थरको विषय चुनौतीपूर्ण रहेको आयोगका सदस्य सचिव भुवन सुनारले बताए । दलितले आफ्नो चाहनाअनुरूप थर लेख्न पाउनुपर्ने व्यक्तिगत स्वतन्त्रता छ । नीति, कानुन र व्यवस्थासँगै समाज परिवर्तनका लागि मानिसको हेर्ने र बुझ्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ ।
समाज परिवर्तनसँगै विभेदका शैली पनि फरकफरक हुँदै आएका छन् । खास गरी नाम र थरको समस्या पछिल्लो समय मुख्य समस्या बन्दै गएको छ । 'परियार', 'विश्वकर्मा' वा फलाना भनी दलित समुदायले परिचय दिएर मात्रै पुग्दैन । आवश्यकताभन्दा बढी केरकार गर्ने र अनावश्यक सान्त्वना दिएर उल्टै कमजोर मानसिकता बनाउने प्रवृत्ति बढ्दो छ । यही अवस्था महिलामा पनि लागू हुन्छ । विभेद विचारमा हुन्छ । महिलाले राम्रै काम गरेर पनि हाम्रो समाजमा महिलाले पनि यस्तो गर्न सक्ने भन्दै विषयलाई ठूलो पार्ने काम गर्छौं । सकारात्मक विचारले नै समाजमा सकारात्मक छाप बस्छ ।
- साभार : - कान्तिपुर
No comments:
Post a Comment