नेपाली टेलिश्रृङ्खलाको इतिहासमा एउटा अलग्गै
पहिचान बनाउन सफल भएको छ 'दलन' । जागरण मिडिया सेन्टरको निर्माणमा नवीन
सुब्बाको निर्देशन र आहुतिको लेखन छ- दलनमा । अनुप बराल, शुभबहादुर सुनाम,
श्रवण मुकारुङजस्ता श्रष्टाको सहभागितामा यो पूरा भएको छ । अहिले
बेलायतस्थित 'वन वल्र्ड मिडिया विशेष अवार्ड' को सर्टलिस्टमा परेको छ । यही
टेलिश्रृङ्खलाका निर्माता तथा जागरण मिडिया सेन्टरका उपाध्यक्ष पूर्णसिंह
बराइली केही साताअघि बेलायत आउँदा गरिएको कुराकानीः
दलनकै कारण अवार्डका लागि बेलायतसम्म आइपुग्नुभएको छ, कस्तो अनुभुति भएको छ ?
निश्चय
पनि मलाईमात्र होइन, नेपालकै लागि पनि गौरवको कुरा हो । सयौँ कार्यक्रम र
सङ्घसस्थाबाट छानिएर सर्टलिस्टमा दलन पर्नु हामी सबैको लागि खुशीको कुरा हो
। सर्टलिस्टमा परेका परियोजनाहरुको ठूलो पोष्टर बनाएर प्रदर्शनी पनि
गरिएको थियो । त्यो प्रदर्शनीबाट धेरै मानिसहरुले नेपालमा बनेको
टेलिश्रृङ्खलाको विषयमा जान्ने अवसर पाए । दलन ससेक्स विश्वविद्यालयमा
अध्ययनरत विद्यार्थीहरुसँग माझ पनि प्रदर्शन गरियो । उनीहरुले दलनको
'प्रोडक्सन भ्यालु' को राम्रो प्रसंशा गरे । यसरी नेपालदेखि बेलायतसम्म
आइपुग्दा खुशी र गौरवको अनुभूतिका साथै जिम्मेवारी पनि थपिएजस्तो लागेको छ ।
खास के छ दलनमा ?
हामीले
कुनै त्यस्तो असाधारण काम गरेका छौँ भन्दैनौँ तर समाजका लागि अति नै
आवश्यक र सरकारले करोडौँ खर्च गरेर पनि परविर्तन गर्न नसकेको
कुसंस्कारहरुलाई हटाउन सचेतना दिन यस श्रृङ्खलाबाट सकिन्छ भन्नेमा हामी
विश्वस्त थियौँ । जतिखेर हामी दलनको सुरुवात गर्दै थियौँ, त्यतिखेर एउटा
नेपाली टेलिश्रृङ्खला, जुन दलितसम्बन्धी बनेको थियो, त्यो दर्शकबाट
बहिष्कृत हुनु परेको थियो । यस्तो बहिष्करणबाट कसरी बच्ने र दर्शकको
मनोविज्ञानलाई कसरी सम्बोधन गर्ने भन्ने गहिरो चिन्तन गरेका थियौँ ।
अर्कोतिर नेपालका अधिकांश दर्शकमा कसौटी जिन्दगी की र कुम-कुम जस्ता भारतीय
श्रृङ्खलाको छाप गहिरो थियो । त्यसमा पनि हाम्रो विषय अलि जटिल थियो ।
नेपाली समाजको इतिहास, नेपालका पछाडि पारएिकाहरुको जीवन । यसलाई चलचित्रमा
उतार्दा कति रुचाइन्छ, त्यो ज्यादै चुनौती थियो । फेरि हामीले नाम चलेका
कलाकारहरु पनि राखेका थिएनौँ । त्यसैले सबै कुरा दिमागमा राखेर काम गरेका
थियौँ । हाम्रो काम गराइको तरिकाबाट सफलता पाउनेमा हामी बढी आशावादी थियौँ
नै तर यससँगै दर्शकले दलन आउनासाथ टेलिभिजन बन्द गरिहाल्छन् कि भन्ने डरबाट
पनि मुक्त थिएनौँ ।
तर, यसको सफलताको पछाडि यथार्थताको प्रतिबिम्बन नै मुख्य सफलता हो जस्तो लाग्छ ।
दलनको निर्माणचाहिँ कसरी भयो र दलन बनाउने योजना नै किन आयो ?
हामीले
जागरण मिडिया सेन्टर स्थापना गरेको तीन चार वर्ष हुँदै थियो । मिडियाका
माध्यमबाट उत्पीडित दलित समुदायको आवाज उठाउने काममा सक्रिय थियौँ । त्यसो
हुँदा वृत्तचित्र वा कथानक चलचित्र बनाउने कि भन्ने पनि योजना थियो तर यसले
मात्र दलितहरुको सवालमा न्याय हुन सक्दैन भन्ने लाग्यो र लामै
टेलिश्रृङ्खला निर्माण गरौँ भन्ने निष्कर्ष निकाल्यौँ । बनाउन न त बनाउने
तर कसरी ? प्रश्न जटिल थियो । नेपालका चलचित्र निर्माणमा हामी खासै सहमत
हुन सकेनौँ र लेखक आहुतिलाई लेखाउने निधो भयो । आहुतिको लेखनमा निर्देशन
गर्नसक्ने क्षमता भएको मान्छे चाहियो । नुमाफुङमा नवीन सुब्बाको क्षमता
देखिएको थियो । त्यो भएर हामीले कुरा राख्यौँ- उहाँ पनि राजी हुनुभयो ।
यसरी राम्रो समूह जुट्दै गयो । यसपछि कलाकार छनोटका लागि रञ्गमञ्चमा ख्याती
कमाएका अनुप बराल आउनुभयो र काम अगाडि बढ्यो ।
सुरुमा
मानवशास्त्री, समाजशास्त्री, चलचित्रकर्मी, पत्रकार, साहित्यकार सबैसँग
तीनदिन समूहगत छलफल गर्यौँ । अहिलेसम्म सामाजिक विषयमा बनेका चलचित्रकरुको
विषयगत विश्लेषण पनि गर्यौँ । नेपालका पाँच विकास क्षेत्रमा दर्शकहरुको
धारणा पनि बटुल्यौँ । यी सबैले लेखनमा थप बल पुग्यो । छलफलबाट पनि र हाम्रो
पनि सहमति के आयो भने नाम चलेका कलाकारहरुको ब्राण्ड बनेको हुन्छ ।
त्यसैले हाम्रो कलाकारहरु दलनकै नामबाट चिनिऊन् । यस हिसाबले हामीले अडिसन,
अभिनय कार्यशालाबाट कलाकारहरु छनोट गर्यौँ । काठमाडौँ, पोखरा कुश्मामा
कार्यशाला गरी दलनमा भएका तीनसय कलाकार छनोट गर्यौँ ।
दलनको यात्रा कहाँसम्म पुग्यो र यसको गन्तव्य के हो ?
गतसाल
असार १ गतेबाट दलन नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । यो असारको पहिलो
हप्ता ५२ औँ श्रृङ्खला सकियो । नेपालमा लोडसेडिङले हेर्न पाइएन भन्ने
गुनासो मध्यनजर गर्दै छिटोभन्दा छिटो पुनः प्रसारण गर्दैछौँ । गाउँ-गाउँमा
पनि प्रदर्शन हुन्छ, जहाँ टेलिभिजनको पहुँच छैन । यसपछि अन्तर्राष्ट्रिय
दर्शकहरुको पनि माग छ त्यसैले सब-टाइटल गरेर अन्तर्राष्ट्रिय टिभी
च्यानलबाट प्रसारण गर्ने प्रयास पनि गरिनेछ
। नेपालमा पनि विश्वविद्यालय र फिल्म स्कुलहरुले अध्ययनको माध्यम बनाउन
थालेका छन् । विदेशका पनि सामाजिक तथा सामाजशास्त्रीय र इतिहास अध्ययन गरिने विश्वविद्यालयहरुमा अभियान लगिनेछ । धेरैले डिभिडीको अनुरोध गरेका छन्, यसको पनि तयारी हुँदैछ । दलनले नेपाली समाजमा, विशेषगरी दलितहरुमा कस्तो प्रभाव पार्यो ?
समग्रमा
सात सालदेखि ५२ सालसम्मको नेपाली समाजको दृष्य दस्तावेज हो दलन । यो
दलितहरुको मात्रै होइन, नेपालका अन्य जाति तथा समुदायको पनि आवाज बोकेको
चलचित्र हो । टेलिश्रृङ्खलाले समेटेको अवधिभित्र नेपालको राजनीतिक
विकासक्रमका मुख्य घटना र त्यो राजनीतिक घटनाक्रमले जनजीवनमा आएको
परविर्तनको चित्रण छ । नेपाली ग्रामीण तथा शहरी जीवनका अन्तर्सङ्घर्षका
कथाहरु छन् । मान्छले प्रयोग गर्ने सामग्रीदेखि कपडाको लामो इतिहास यसमा छ ।
सबैका सबै कला, सँस्कृति ढल्कने दृश्यहरु यसमा छन् । हरेक कोणबाट यसमा
अध्ययन गर्ने विषय छन् । त्यसैले हामी भन्छौँ- यो त एउटा विश्वविद्यालय नै
हो ।
यसर्थ नेपालमा पहिलोपल्ट यस्तो काम भएको छ
भन्नलाई हामी सङ्कोच मान्दैनौँ । नेपाली समाजमा यसले ठूलै काम गरेको छ ।
नेपालका मात्र नभएर विदेशमा समेत दर्शकहरुमा नयाँ जागरण पैदा भएको छ ।
दर्शकहरुमा चलचित्र हेर्ने नयाँखालको चेतना जगाइदिएको छ । कला, साहित्यमा
गम्भीर काम हुन सकेको थिएन र यसलाई दलनले थालनी गरेको छ । समाज परविर्तनका
लागि दलनजस्ता टेलिश्रृङ्खलाहरु पनि हुनसक्छन् भन्ने कुरा स्थापित भएको छ ।
जस्तोः नेपालका ५३ वटा जिल्लामा दलन फिल्म क्लबहरु गठन भएका छन् ।
नेपालबाहिर दुबई, भारतको सिक्किम दार्जिलिङ, अमेरिकाजस्ता ठाउँमा क्लबहरु छन् । यी क्लबहरु दलनबाट प्रभावित भएर बनेका हुन् । यिनले स्वतस्फूर्त ढङ्गले सामाजिक कामहरु गररिहेका छन् । त्यसैले
दलनले समाज परपिर्तनका पक्षमा उभिन सिकाएको छ । विभिन्न भङ्गालोहरुमा
विभाजित दलित आन्दोलनलाई एकताका लागि झकझकाएको छ । आफ्नो पहिचानसहित
मुक्तिका लागि सङ्घर्ष गर्न सिकाएको छ । अन्य जातिलाई हामीमात्र मान्छे हौँ
भन्ने सोचमा धक्का दिएको छ । नेपालको चलचित्र निर्माणको क्षेत्रमा पनि
यसले एउटा छुटै पहिचान कायम गरेको छ ।
यो दलन फिल्म क्लवको खास भिजन के छ ?
दलनको
तेस्रो भाग प्रसारण भएपछि गोर्खामा दलन क्लब बनेको पत्र प्राप्त भयो ।
यसलाई हामीले पहिलो क्लबको रुपमा प्रसारण गर्यौँ । यसको पछिल्लो हप्ताबाट
अमेरिकाको
कर्नेल विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले गठन गरेको पत्र प्राप्त
भयो । यसपछि दलन फिल्म क्लबको जनलहर ह्वात्तै बढ्यो । र, अहिले ४०० को
सङ्ख्यामा दलन क्लबहरु छन् । टेलिश्रृङ्खलाहरुको इतिहासमा यो पहिलो हो । हामीलाई
क्लबको पहिलो पत्र आएपछि प्रसारण गर्ने कि नगर्ने भन्ने द्विविधा थियो ।
दर्शक सङ्गठित हुने राम्रो अवसर हुने भएकोले हामीले नमूनाको निम्ति प्रसारण
गर्यौँ । पछि यसले यत्रो सङ्ख्यामा क्लब
जन्मायो । मूलतः यी फ्यान क्लबहरु हुन् तर पनि फिल्म क्लबभन्दा राम्रो हुने
भएर हामीले यसो भनेका हौँ । यो कम्तिमा ७ जना कार्य समिति रहेर गठन हन्छ ।
त्यसभन्दा माथि सदस्यहरु आवश्यकतानुसार हुन्छन् । समग्रमा दलनबाट प्रभावित
भएर बनेका फिल्म समाजहरु हुन् यी ।
यसको उद्देश्य समाज रुपान्तरणमा केही न केही भूमिका खेल्नु
भन्ने हो । यसको सुरुवात थुप्रै क्लहरुले गरेका छन् । पोखराका जनजागरण दलन
फिल्म क्लबले स्थानीय कलाकारहरुको सम्मानका साथै दलनकै च्यारेटी शोबाट १
लाख रुपैयाँ उठाएको छ । यो कोषबाट काम अगाडि बढ्दैछ । यसरी कोष उठ्नुभन्दा
पनि मान्छेहरु सङ्गठित हुनु महत्वपूर्ण कुरा हो । त्यस्तै सचेतना दलन फिल्म
क्लबले मानवअधिकार चलचित्र प्रदर्शनका साथै पीडितहरुका लागि कानुनी सहायता
प्रदान गर्दै आएको छ । यस्ता थुपै्र उदाहरणहरु छन् । केही समयमा हामी दलन
फिल्म क्लबहरुका क्षेत्रीय भेला पनि गर्दैछौँ । यसबाट क्लबहरुले के गर्ने
भन्ने स्पष्ट मार्गचित्र तयार हुनेछ र क्लबहरु समाजमा अगाडि बढ्नेछन् ।
प्रवासी नेपालीमाझ प्रदर्शनको कस्तो योजना छ ?
बेलायत
बसाइका क्रममा निकै राम्रो प्रतिक्रिया मिलेको छ । अरु देशमा पनि दलन
हेर्न पाउनुपर्यो भन्ने माग छ । त्यसैले दशैँदेखि दलनको युरोप यात्रा
थालनी गर्ने योजना बनेको छ । युरोपका केही देशका साथै अमेरिका र जापानका नेपालीहरुका लागि पनि दलन यात्रा अगाडि जानेछ । दलन निर्माणका क्रममा अविष्मरणीय क्षणहरु केही छन् ?
पाँच
वर्षदेखि निर्माणको थालनी भएको थियो । यो क्रममा हामीले थुप्रै राजनीतिक
घटना देखेका र भोगेका छौँ । अत्यन्त कठोर सङ्कटकालका बीचमा छायाँकन गरियाे ।
कुनै पनि बेला माओवादी र सेनाबीच पर्न सकिने भल्खाडोहरु पार गर्यौँ ।
पर्वतको खौला दुर्लुङजस्ता बिजुली नभएका स्थान र सुटिङमा खाने सामग्री पनि
चार पाँच घण्टाको कच्चीबाटोबाट ल्याउनुपथ्र्यो । दुईदिन लगाएर घान्द्रुकबाट
घोडा ल्याइएको थियो । सङ्कटकालदेखि सङ्घीय गणतन्त्र नेपालसम्मका दिनहरुमा
दलन निर्माण सकिएको थियो । त्यसकारण प्रत्येक क्षणहरु सम्झनलायक छन् । एउटा
अविष्मरणीय क्षण छ, जुन प्रसार भएपछिको हो । अफगानिस्तानमा तीन जना नेपाली
सेकुरिटी गार्डमा काम गर्दा
रहेछन् । उनीहरु दलनबाट साह्रै प्रभावित भएका रहेछन् । त्यति टाढाबाट
हाम्रो कार्यालय काठमाडौँमै आएर चार हजार रुपैयाँ दिए उनीहरुले । पैसाभन्दा
पनि माया बढी दिए । यो नै अविष्मरणीय क्षण थियो । यसरी आएका पैसालाई
हामीले दलन चलचित्र कोष नामाकरण गरेर जम्मा गर्ने गरेका छौँ । यो कोषमा
अहिले धेरै रकम जम्मा भएको छ । यो कोष 'दलन' जस्तै चलचित्र निर्माण र
प्रबर्द्धनमा लगानी गरिनेछ ।
साभार:- नेपालीपत्र
No comments:
Post a Comment