Thursday, April 30, 2015

अन्तरजातीय विवाहपछि दलित घरमा सामूहिक आक्रमण

टेकेन्द्र बस्याल ,१७ बैशाख, २०७२
विभेद बिरुद्ध अभियान 
कोहलपुर–सुनारको छोराले खड्का थरकी केटी भगाएको भन्दै केटीपक्षका आफन्तले कोहलपुर–२ स्थित सुनार घरमा सामुहिक आक्रमण गरेका छन्। अन्तरजातीय विवाह गरेकै निहुँमा केटी पक्षका आफन्तले घरेलु हतियारले आक्रमण गर्दा दर्जनौ व्यक्ति घाइते भएका छन्।कोहलपुर–२ विकासनगरका १८ वर्षीय जनक सुनारले स्थानीय ललिता खड्कासंग वैशाख १३ गते भागेर अन्तरजातीय विवाह गरेका थिए। सुनारले खड्काकी छोरी भगाएको भन्दै बुधबार राति नौ बजे केटी पक्षका आफन्तले सामुहिक आक्रमण गरेका थिए। आक्रमणबाट केटा पक्षका ३५ जना घाइते भएका छन्। घाइते मध्ये खगिसरासुनार गम्भीर घाइते भएकी छिन्। घाइते सुनारको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैइरहेको छ। उनकोे टाउँकोमा गम्भीर चोट लागेको छ।

त्यसबोहक घाँटी र छातीमा समेत चोट रहेको छ। आक्रमणबाट केटाका आमा दुर्गा सुनार, आफन्त हिमा सुनार र निर्मला सुनारलाई चोट लागेको छ। कामीको छोरीले खड्काकी छोरी भगाएको भन्दै राति घरमै पसेर घरेलु हतियारले आक्रमण गरेको केटाकी आमा दुर्गाले बताइन्।

दुई सयको संख्यामा आएका केटीका आफन्तले घरमा खोजी खोजी आक्रमण गरेको उनले भनिन्। केटा पक्षका विरेन्द्र शाह, सिङे शाही,टेकबहादुर शाही,जयराम छत्याल खगेन्द्र बाहुन, कपिन्द्र ठकुरी लगायतले आफूमाथि कुटपिट गरेको भन्दै पीडित परिवारले बिहिबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका छन्।

उनीहरुले ज्यानमुद्दा र जातीय विभेद अनुसार कारवाही गर्न माग गरेका छन्। ईलाका प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले पीडित पक्षबाट अन्तरजातीय विवाहकै कारण आक्रमण भएको भन्दै उजुरी सहित कारवाहीको माग गरिएको र आक्रमणमा संग्लनलाई पक्राउ गरिने बताए। पक्राउपछि घटनाको वास्तविकता अनुसन्धान हुने उनले भने। कुटपिटमा संग्लन एकजनालाई पक्राउ गरिएको उनले बताए। आँफूहरुमाथि सामूहिक आक्रमणपछि गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै पीडित परिवार प्रहरी चौकीमा न्यायको माग सहित जम्मा भएका छन्।

-साभार:- नागरिक 

Wednesday, April 29, 2015

धरहराबाट खसेका कृष्ण रम्तेल कसरी बाँचे ?

काठमाडौं, वैशाख १६ – सधैजसो  जस्तै वैशाख १२ गते पनि बिहानै उठेँ । हातमुख धुने, चिया पकाउने र कोठा सफा गर्ने काम सकेपछि मन्दिर जाने योजना थियो हाम्रो । दुई दिन अघि वैशाख १० गते माईतबाट आमा आउनुभएको  थियो । आमासँगै बहिनी प्रमिला पनि आएकी थिइन ।
आफूलाई जन्म दिने आमा र सँगै हुर्केकी बहिनी साथमा भएकाले मन फुरुङ्ग थियो । ज्वाँइ मलेसियामा भएकाले बहिनी ज्वाइसँग फोनमा कुरा  गर्न थालिन । म चिया पकाउन थाले ।  आमालाई चिया दिएँ । श्रीमानलाई पनि उठाएर चिया दिएँ । अघिल्लो दिन नै आमाले पनौतिको धनेश्वर मन्दिर दर्शन गर्ने इच्छा राख्नुभएको थियो ।
त्यसैले १२ गते विहान आमालाई मन्दिर लैजानु थियो ।  त्यसैले छिटो छिटो गरी आमासँगै म मेरा श्रीमान कृष्ण रम्तेल र बहिनी प्रमिला पनौतिको धनेश्वर मन्दिर गयौं । आमासँगै हामीले पनि भगवानले हामी सबैको कल्याण गरुन भनेर आशिष माग्यौं । आमालाई माला र घर लैजान कोशेली किन्यौं । 
हाम्रो घर त काठमाडौंबाट नजिकै धादिङको साङकोस गाविस (हाल निलकण्ठ नगरपालिका) मा छ । घर टाढा नभए पनि आमा त्यति धेरैपटक काठमाडौं आउनुभएको थिएन । त्यसैले आमालाई जतिसक्यो धेरै ठाउँ घुमाउने मेरो इच्छा थियो । तर आफू ८ महिनाकी गर्भवती भएकाले धेरै हिडडुल गर्न सजिलो भने थिएन । पनौतिमा मन्दिरमा पूजा गरेर घुमघाम गरेपछि हामी सिधै काठमाडौंको जाने बस चढ्यौं र शहिदगेटमा ओर्लियौं । शहीदगेटमा उत्रेपछि आमाले धरहरा चढ्ने रहर गर्नुभो । आमाले रहर गरेपछि मेरा पति र वहिनीले पनि आमासँगै धरहरा चढ्ने रहर देखाए । रहर त मलाई पनि थियो, तर ८ महिनाको गह्रौं जीउसित के सकिएकला जस्तो लाग्यो ।  
उहाँ (कृष्ण रम्तेल) सित ६ वर्षअघि मेरो विहे भएको हो । हामी दुबै काठमाडौंमा पढ्थ्यौ । जात नमिले पनि एक अर्कालाई मन पराएपछि  हामी विवाह बन्धनमा  बाँधिएका थियौं । म नेवारकी छोरी । उहाँ चाहिँ हाम्रो समाजले तल्लो दर्जा दिएको कथित दलितको छोरा हुनुहुन्थ्यो ।
तर हाम्रो विबाहमा घरपरिवार कसैले औंँलो ठड्याएन । त्यसैले पनि हामी खुशी थियौं । एक अर्कालाई हामी निकै माया गर्थ्यौ । मलाई घरमा छाडेर उहाँ काम गर्न जानुहुन्थ्यो । मलाई पढाउनु, काठमाडौंको मँहगीमा काठमाडौंमा बस्नु र बेला बेलामा घर परिवारमा सहयोग गर्नु श्रीमानको लागि त्यति सजिलो छैन । तर उहाँले यो सबै गरिरहनु भएको छ । उहाँको आँट र दुखलाई म जहिल्यै सलाम गर्छु । 
शनिबार पनौतिबाट शहिदगेटमा झरेपछि धरहरा चढ्ने कुरा भयो, हामी धरहरातिर लाग्यौं । बिहानैदेखी चिया मात्र खाएका थियौं । भोकाएकाले धरहराको फेँदमा केही फलफुल किन्यौ र चाउमिन खायौं । एकछिन रेष्टुरेन्टमा बिताएपछि धरहरा चढ्न टिकट लिने कुरा भयो । श्रीमानलेसँगै धरहरा चढौ भन्नु भयो । मेरो पेटमा ८ महिनाको बच्चा हुर्कदै थियो ।
त्यसैले म त्यो ९ तलाको धरहरा चढ्न सक्दिन भनेँ । श्रीमानले एकछिन त चढ्नै पर्छ भनेर कर गर्नुभो । तर मैले नमानेपछि उहाँले जम्मा ३ वटा टिकट किन्नुभो । मनले परिवारसँग धरहरा चढ्न जा भनिरहेको थियो । तर ज्यानले साथ दिएको थिएन, धरहरा चढ्न नपाउँदा मन कटक्क भैरहेको थियो ।  
मेरी आमा, बहिनी प्रमिला र श्रीमान धरहरा चढ्न मुलढोकातिर लाग्नुभयो । म भने टिकटघर अगाडि सर्वसाधारण बस्न बनाइएका बेञ्चा बसेँ । साथमा धनेश्वर दर्शन गरेर ल्याइएक प्रसाद पनि थिए । आमा, दिदी र श्रीमान कतिखेर धरहराको टुुप्पोमा पुग्नुहुन्छ भनेर बेञ्चबाट हेरिरहेकी थिएँ ।  उहाँहरु उक्लेको ५ मिनेट भयो तर देखिन । सोचेँ आमा बुढि भएकाले सिँढी चढ्न सक्नु भएन होला । मनमा अनेक कुरा खेलाउँदै म धरहरा मुन्तिरको बेञ्चमा बसिरहेँ । एक्कासी जमिन जोड जोडले हल्लिन थाल्यो । मैले भुँइचालो आएको अनुमान गरिहाले । जब पुरै पृथ्वी हल्लियो मेरो पुरै मन मेरा धरहरा चढेका आफन्तमा पुग्यो । पुरै पृथ्वी अध्यारो जस्तै भएको थियो । 
बेञ्चमा बस्दा बस्दै आफूलाई चक्कर लागेर ढलौला जस्तो भएको थियो, एक्कासी मेरो आँखा अगाडिको धरहरा ढल्यो । म अर्धपागल जस्तै भएँ । मेरो श्रीमान, आमा र बहिनी धरहरासँगै ढलेका थिए । हेर्दा हेर्दै धरहरा इट्टाको थुप्रोमा परिणत भयो । धुलोले पुरै सुन्धारा ढाक्यो । मेरा आफन्त धरहरामा हराए । एकैछिनमा केही सर्वसाधारणले धरहराको भग्नाबशेषबाट लासहरु निकाल्न थाले । लास हेर्छु मेरा आफन्त पनि परे कि भनेर ।
लासमा मेरा आफन्तका अनुहार देख्दिन । लास नदेखेपछि म उनीहरुको खोजीमा ढलेको धरहरा वरिपरी घुमिरहेँ । घुम्दैगर्दा फेरी ठुलो भूकम्प आयो भनेर सबैजना दौडधुप गर्न लागे । तर मलाई भने मेरा आफन्तको पिरले नाथे भूकम्प केही जस्तो पनि लागेन । मेरी आमा, जीवनसाथी र बहिनीको खोजीमा धरहराको वरिपरि घुमिरहे । धरहरा चढेका आफन्तको न लास भेटिन्छ, न कसैले केही भन्छन् । मन थामिसक्नु भएन । 
करीब १२ बजेतिर भुइचालो गएको थियो । मेरा आफन्त धरहराको भग्नावशेषमा खोज्दा खोज्दै दिउसोको ३ बजिसकेको थियो । ८ महिनाकी गर्भवती म निकै थाकेकी थिएँ । निकै अत्तालिएर रुदै रुदै धरहरा वरिपरि घुम्दै थिएँ । २ जना नचिनेका बहिनीले नजिकै आएर के भएर यसरी आत्तिएर रोएकी भनेर सोधे । मैले उनीहरुलाई मेरो सबै कहानी बताएँ । उनीहरुले धरहराबाट खसेका केही घाइतेलाई वीर अस्पताल पुर्‍याएको जानकारी दिए । अनि उनीहरुले आफूसँगै मलाई पनि डोर्‍याउँदै वीर अस्पताल लगे । अस्पतालमा लहरै राखिएका घाइते हेर्दा आमा, बहिनी र श्रीमान कसैलाई पनि देखिन ।
घाईतेको लाममा आफन्त नदेखेपछि मेरो मन काम्यो । त्यसपछि मेरो भएको होस पनि हराउन थाल्यो । धरहरा चढेका आफन्तलाई मैले धरहराको भग्नावशेषमा पनि देखिन र घाइतेको लाममा अस्पतालमा पनि देखिन । तर अस्पतालका केही कर्मचारीले केही घाइते पल्लो कोठामा पनि छन् भनेपछि उतै लागेँ । पल्लो कोठामा भएका घाइतेमध्ये पहिलो लाइनमा मैले मेरा श्रीमानलाई देखेँ ।
उहाँ केही बोल्दै गरेको जस्तो लाग्यो, तर के हो भनेर सुन्न सकिन । उहाँलाई ज्युँदो देख्दा मैले छुट्टै संसार पाएजस्तो लाग्यो । मैले गर्लम्मै अँगाले मारे । अनि रुन थाले । एकछिन पछि डाक्टर आएर हामिलाई छुट्याए र उपचारको लागि कोठामा लगे । श्रीमानलाई ज्युँदो देख्दा मेरो मन केही खुसी भएको थियो । तर आमा र बहिनीको हालत के छ अझै थाहा छैन । निकै छटपटाइरहेँ ।
मेरो भाइ पनि काठमाडौंमा बस्छ । उसले काम गर्ने क्षेत्र पनि सुन्धारा नै हो ।  त्यो दिन पनि भाइ सुन्धारामै रहेछ । हामी धरहरा चढ्दैछौं भन्ने कुरा उसलाई पनि थाहा थियो । हामी धरहरामा छौं भन्ने कुरा उसलाई पनि थाहा थियो । धरहरा हेर्न आएको भाइले आमाको लास देखेछ । उ रुदै कराउदैँ उस्ले आमाको मृत्यु भएको बतायो । म पुरै पागल भएँ । श्रीमान हलचल गर्न नसक्ने, आमाको मृत्यु, बहिनी बेपत्ता । यी सबै कुराले मलाई पागल बनाए । 
आमाको लास पनि वीर अस्पतालमा ल्याएछन् । भाइ रुँदै मलाई भेट्न आयो । उसले भन्यो आमाको लास पनि यही ल्याएका छन् । बिहानभरि म आमाको काखमा थिएँ, भर्खरै आमाको लास हेर्नुपर्ने । हे दैव, यो के भाको ! आमालाई गुमाए पनि आमाको मुख हेर्न आत्तुर थिएँ । लास राखेको स्थानमा गएर  आमासँग धित मारुञ्जेल रुन मन लाग्यो । तर अस्पतालका कर्मचारीले जान दिएनन् । निकै रोइकराई गर्दा पनि उनीहरुले मलाई मेरी आमाको मुख अन्तिमपल्ट हेर्न दिएनन् । 
श्रीमानको उपचार भैरहेको थियो । आमाको लास अस्पतालमा थियो । बहिनीको खबर थाहा थिएन । वीर अस्पतालमा सूचना आयो धरहराका केही घाइतेलाई शिक्षण अस्पताल महाराजञ्ज पनि लगिएको छ । आफन्तलाई बुझ्न भने । एकछिनमै फोन आयो, बहिनी प्रमिलाको लास शिक्षण अस्पतालमा छ । गएको असारमा मात्र विहे गरेकी बहिनीका श्रीमान मलेसियामा छन् । मैले ती मायालु ज्वाँइलाई सम्झिएँ ।
आमा र बहिनीलाई गमाएँ श्रीमानको हालत निकै खराब छ । त्यै बेलुकी श्रीमानलाई ट्रमा सेन्टर सारियो । गाउँबाट जेठाजु आउनुभयो । मलाई सम्झाइ बुझाइ गर्नुभयो । तर मन बुझाउने ठाउँ नै थिएन । अर्को दिन आमाको लास धादिङ लगियो, बहिनीको भने पशुपतिमै अन्त्यष्टी गरियो । आमाको मृत शरीर त अस्पतालमा झुलुक्क हेर्न पाएँ । तर बहिनीको त मुहार हेर्न नपाइ उसको शरीर जल्यो । 
त्यो दिनदेखि आज पर्यन्त ट्रमा सेन्टरमा छु । श्रीमानको दायाँ खुट्टा पुरै थिचिएको छ । अप्रेसनको लागि अझै ३/४ दिन लाग्छ रे । माइतीमा भाई आमाको किरिया बसेको छ । श्रीमानलाई छाडेर जान सक्ने अवस्था छैन । घरको आर्थिक अवस्था पनि नाजुक छ ।
कमाइ खान दिने श्रीमान अस्पतालमा लड्नुभएको छ । मेरो बच्चा जन्मने दिन आउँदैछ । त्यो बेलासम्म पनि श्रीमान निको नभए के गर्ने हो पत्तो छैन । आज म ट्रमा सेन्टरको पाँचौ तलामा भाग्य सराप्दै बसेकी छु । आँखै अगाडि आमा र बहिनी गुमाउँदा म आफै गुमे जस्तो लागिरहेछ । बाँच्न मन त छैन तर के गर्नु  बाँच्न बाध्य छु । 

source:-प्रस्तुतिः अर्जुन पोख्रेल //उज्यालो

Tuesday, April 28, 2015

शक्तिशाली भुकम्प, अपिल र जानकारी

२०७२ साल बैशाख १२ गते शनिवार मध्यान्ह गोर्खा , लम्जुंग , काठमाडौँ र सिन्धुपाल्चोक आसपासको क्षेत्रमा ७.९ रेक्टर स्केलको शक्तिशाली भुकम्प ‍गएको थियो । झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले धक्काले राजधानी सहित देशभर ठूलो जनधनको क्षति भएको छ  भने नेपाल अधिराज्यभर हजारौं हजारले ज्यान गुमाउनु परेको छ । राजधानीको जनजीवन अझै पनि त्रस्त देखिएको छ । सयुक्त राष्ट्रसंघले शनिबार आएको महाभूकम्पमा परेर १४ लाख नेपाली खाद्य अभावमा रहेको र एक करोडभन्दा बढी नेपाली प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको बताएको छ ।राष्ट्रसंघले नेपालको वर्तमान प्राथमिकता भनेको उनीहरुलाई उद्धार गर्नु र घाइतको उपचार गर्नु र  घर विहिन भएकाहरुलाई तत्काल राहात नै पछिल्लो प्राथमिकता रहेको बताएको छ  । यसमा पनि खास गरि पानी, बस्ने स्थानको ब्यवस्था, सुरक्षा र खानामा बढिजोड दिनुपर्नेमा जानकारी दिएको छ  । 
प्रहरी प्रधान कार्यालयले मंगलबार बिहान गराएको अपडेट अनुसार ४,६८० जनाको निधन भइसकेको छ भने ९०४३  जना घाइते छन् । उद्धार तथा खोजी कार्य जारी नै रहेकाले मर्नेहरुको संख्या थपिन सक्ने जनाइएको छ ।  सबैभन्दा बढी क्षति काठमाडौं उपत्यका र सिन्धुपाल्चोकमा भएको छ । यस दुखद घडिमा मृतकहरु प्रति विभेद बिरुद्ध अभियान बलग हार्दिक श्रदान्जली अर्पण गर्दछ, उहाहरुका शोक-सन्तब्द आफन्तजनहरु प्रति हार्दिक समबेदना व्यक्त गर्दछ र चोट पटकबाट प्रभावित अस्वस्थ नेपालीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । बिभिन्न संघ सस्था मार्फत सकेको सहयोग गर्ने प्रतिबध्ता जनाउदै  नेपालमा भुकम्पले पुर्याएको क्षति प्रति सहयोग गर्नु हुने सवै मा आभारी व्यक्त  गर्दछ ।यो बिपतको घडीमा सहानुभुति र सदभाब साथ सहयोगको लागि देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछ ।
त्यस्तै गरि केहि थप जानकारी यहाहरुलाई 
१) राहत सामग्री चाहिए वा कुनै जानकारी चाहिएमा
सरकारले भूकम्पबाट प्रभावितहरुका लागि हटलाइन नम्बर उपलब्ध गराएको छ। हटलाइन १२३४ मा कुनै समस्यामा परेमा, राहत सामग्री चाहिए वा कुनै जानकारी चाहिएमा फोन गर्न सरकारले आग्रह गरेको छ। यो नम्बरमा फोन गर्दा पैसा नलाग्ने पनि सरकारले बताएको छ ।.
२)चोरी र कालोबजारी रोक्न 
नेपाल प्रहरीले मंगलबार एक विज्ञप्ती जारी गरी दैनिक उपभोग्य बस्तुमो मूल्य बृद्धि गर्ने, जनमानसमा भ्रम सृजना गर्ने, तथा सवारी साधनको भाडा बढी लिने काम नगर्न अनुरोध गरेको छ ।सरकारले व्यवसायीलाई इमानदारितापूर्वक आफ्नो दायित्व निभाउन झक्झकाएको छ भने अर्कातिर सुरक्षाको लागी सेनाले गस्ती गरिरहेको छ ।वितको अवस्थामा गैर कानूकी काम गर्ने तथा चोरी डकैत ीगर्ने काम गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।यसबीच विभिन्न जिल्लामा बढी भाडा लिने सवारी साधनबाट भाडा फिर्ता गराएको प्रहरीले जनाएको छ । त्यस्तै बढी भाडा लिने,चोरी र कालोबजारी नियन्त्रण गर्न नेपाल प्रहरीले १०० मा कल गर्न अनुरोध गरेको छ 
३) सहयोग रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरौं
पटक–पटक आएको भूकम्पबाट पीडित र प्रभावितको उद्धार, उपचार, राहत, पुनःस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र पुनःनिर्माणका लागि सहयोग गर्न चाहने सबैलाई सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ । प्रधानमन्त्री कार्यालयले जनाएअनुसार सहयोगी स्वदेशी तथा विदेशी दाताहरुले तपशिल खातामा रकम जम्मा गर्न सकिने छ । 
नेपाल बैंक लिमिटेड, काठमाडौँको ००२–११–०५३३१३, 
स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको ०१–०१३२४३८–०१,
 नेपाल बङ्गलादेश बैंक लिमिटेडको ०३५१४१ सी, 
एभरेष्ट बैंक लिमिटेडको ००१०११०२२०००१२ र ००१००१०५२००२७० 
ग्लोबल बैंक लिमिटेडको ०४११०१००००००५ 
४) इन्टरनेट नहुँदा समेत निशुल्क कलको सुविधा
नेपालमा महा-भूकम्प को बिपतमा इन्टरनेट नहुँदा समेत आफन्तहरु संग सहज सम्पर्क होस् भन्ने उद्देश्यले चर्चित कलिङ र शेयरिङ साइट भाइबर र स्काइपले नेपालीहरुलाइ भाइवर/स्काइप आउटमा समेत निःशुल्क कलको सुविधा दिएको छ । नेपालका भूकम्प प्रभावितहरु वा विदेशमा बसेका नेपालीहरुले भाइबर इन्टरनेट सुविधा नहुँदा समेत भाइबर आउटबाट निशुल्क कल गर्न सक्ने भाइवर/स्काइप ले जनाएको छ ।भाइबर/स्काइप का अनुशार नेपालमा आएको भूकम्पको प्रतिक्रियास्वरुप हामीले भाइबर/स्काइप आउट विलिङ सिष्टम स्वीच अफ गरि नेपालीहरुले जहाँ सुकैबाट निशुल्क कल गर्न सकुन् भनेको छ ।भने सामाजिक संजाल फेशबुक र गुगलले समेत आफ्ना साथीहरु खोजि गर्न आआफ्नै एप्स जारि गरेका छन् ।
५ )निःशुल्क बससेवा
काठमाण्डु छाडेर आफ्नो गृह जिल्ला जान चाहनेका लागि नीजि शैक्षिक संस्था प्याव्सन, एन पयाव्सन र हिसानले दुई सय ५० गाडि निशुल्क बससेवाको  पठाउने निर्णय गरेको छ ।मंगलबार बसेको संयुक्त बैठकले बुधबार बिहान नयाँ वानेश्वरको संविधानसभा हलबाट चितवन सम्मको लागि सो गाडि पठाउने निर्णय गरेको हो ।चितवनसम्म काठमाण्डुबाट गाडि पठाउने र त्यहाँबाट अन्यस्थानका लागि व्यवस्गा गरिने बताइएको छ । साथै बैठकपछि दिइएको जानकारीमा भोली बिहान ७ बजे जान चाहने इच्छुकलाई नयाँ वानेश्वरको संविधानसभा हल आउन आग्रह गरिएको छ ।

६ ) पहिचान नभएका शव शिक्षण अस्पतालमा लिन आउँन अपिल
विनाशकारी भूकम्पमा परी निधन भई विभिन्न अस्पतालमा पहिचान हुन नसकी एकत्रित गरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।पहिचान नभएका शव शिक्षण अस्पतालमा राखिएको जनाउँदै नेपाल प्रहरीले कसैको नातेदार तथा छिमेकी हराएको भए अस्पतालमा आउन आग्रह गरेको छ।नेपाल प्रहरीले शिक्षण अस्पतालमा शव जम्मा हुने क्रम बढेकाले ज्यान गुमाएका आफन्तको पहिचान गरी शव बुझ्न आग्रह गरेको छ । 



८  )भूकम्पको नाम ‘गोरखा भूकम्प’ 
सामान्यतया ठूला विनासकारी भूकम्पलाई सम्बन्धित भूकम्प केन्द्रबिन्दुस्थलको नामबाट चिनिने अन्तर्राष्ट्रिय अभ्यास छ । त्यहि भएर शनिबार गएको भूकम्पको नाम ‘गोरखा भूकम्प’ नामले चिन्नुपर्ने राष्ट्रिय भूकम्प मापन केन्द्रका अधिकारीहरुको सुझाव छ ।
९  )आजबाट तीन दिनसम्म राष्ट्रिय शोक
प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैं सीमित स्रोत साधनका कारण भूकम्प पीडितको उद्धारप्रक्रियामा सरकारबाट कम्जोरी भएको स्वीकार्दै यो विपत्तिसँग जुध्न राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गर्नु भएको छ ।भूकम्पबाट घाइते भएकाहरुको सरकारले निशुल्क उपचारको व्यवस्था गरेको बताउँदै प्रम कोइरालाले ‘दलहरुबाट सहयोगको आशा गरे र पुनःस्थापना र पुननिर्माणमा सघाउन नेपालीलाई आह्वान गर्दै उद्धारमा मन बचन र कर्मले लाग्न समेत आग्रंह गर्नु भएको छ  ।सम्बोधनका क्रममा उनले आजबाट तीन दिनसम्म शोक मनाउने बताए । शोक मनाउने क्रममा देशका सबै सरकारी कार्यालय र विदेशस्थित अन्तर्राष्ट्रिय कुटनीतिक निकायमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
धन्यवाद 
-गोपाल सिवा 
विभेद बिरुद्ध अभियान 




अभागीले मात्रै छोराछोरीको मलामी जानुपर्छ भन्थे - विक दम्पती

अमेरिका जान हिंडेको छोरोको मृत्युले दुखी विक दम्पती । तस्वीर: गोपाल गडतौला
गोपाल गडतौला, झापा दमक– १० को एक सुकुम्मबासी परिवारले देखेका सपना र सुखका सम्भावना भीमसेन स्तम्भसँगै ढलेका छन् । घिल्लो सोमबार हसिँलो अनुहार लगाँउदै घरबाट हिँडेको कान्छो छोरो रमेश सम्झिँदै आमा हिरादेवी विक (५२) बारम्बार भक्कानिन्छिन् । घरबाट काठमाडौं लाग्नुअघि छोरोले उनलाई हातमा फुलको थुँगा थमाँउदै भनेको थियो,“आमा अब हाम्रा दुखका दिन सकिए, तपाइँले मजदुरी गर्नु पर्दैन ।” निरक्षर हिरादेवीलाई छोरोले बेलडाँगी शिबिरकी भुटानी शरणार्थी युवतीसँग कागजी विवाह गरी अमेरिका उड्न लागेको पत्तै थिएन् । बाबु वीरबहादुर (५९) लाई भने रमेशले केही साताअघि बिहेबारे बताउँदै आफू अमेरिका जाने संकेत दिइसकेका रहेछन् । “हाम्रो सुकुम्बासीको छाप्रेबास सकिन्छ भन्थ्यो” वीरबहादुरले बलिन्द्र आँसुधारा चुहाँउदै भने, “बिचरा दुखको भारी बोकाएर गयो ।” शनिबार मध्यान्ह हुन केही मिनट बाँकी हुँदा भूकम्पले राजधानीलगायतका स्थानमा विध्वंस मच्चाएको खबर सञ्चार माध्यमले फुक्न थाले । भोलिपल्ट बिहानै हिरादेवी र वीरबहादुरले उनीहरुलाई सुखका सपना देखाउने कान्छो छोरो धरहरामै पुरिएको खबर सुन्नु पर्‍यो ।
रमेश जसको धरहरामा पुरिएर मृत्यु भयो ।
“हामी साह्रै अभागी रहेछौं” रुँदै विक दम्पतीले भने, “अभागीले मात्रै छोराछोरीको मलामी जानुपर्छ भन्थे ।”
वीरबहादुर दमक ११को एउटा सुन पसलमा गहनाबनाउने कलिगढको काम र श्रीमती हिरादेवी डकर्मी काम गर्छन ।
करिब एकसाता काठमाडांै बसेका रमेशले शनिबार बिहान अन्तिमपटक घरमा फोन गरी आफू सोमबार अमेरिका उड्दैछु भनेकाथिए ।दाँयाहातमा मायाँ लेखिएको ट्याटु बनाएका रमेश पाँच वर्ष अघिदेखि पुनर्वास भएर बिभिन्न मुलुक पुगेका भुटानी शरणार्थीले मगाएका सामान दमकबाट कुरियर गरी पठाँउथे । १२ कक्षा पढेका रमेशको कमाई राम्रै थियो ।
गाँउको २७ वर्षे तन्नेरी बितेको खबरले दमक १०को सुकुम्बासी बस्तीमा शोक छाएको छ ।भत्किएकोे धरहराबाट भिकिएको रमेशको शव धरान ल्याई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
रोजगारीको लागि साउदी अरब गएका रमेशका दाजु तेजबहादुर फर्किएपछि उनको बुधबार अन्त्येष्टी गरिने परिबारले बताएको छ ।
साभार : हिमाल खबर 

Monday, April 27, 2015

जातीय विभेदको पक्षमा गैर दलित बोलौं - डा. सम्बृद्धि पोखरेल

राजधानीमा घर नहुने धेरै दलित जातीय विभेदका सिकार भएका छन् र उनीहरूलाई आफ्नो पहिचान प्रस्ट पार्दा घर भाडामा पाउन अत्यन्तै मुस्किल पर्छ । राजनीतिक वर्ग र त्यसले उनीहरूलाई प्रदान गरेको नागरिक समाजको स्थानका आधारमा सचेत हुँदाहुँदै पनि उनीहरू भेदभावको अनुभव गर्छन्, अन्तरविरोध र निजी तथा सार्वजनिक जीवनबीच विच्छेदको अनुभूति गर्दै बाँच्छन् । सार्वजनिक रूपले हेर्दा उनीहरू आफ्नो संगठनात्मक परिवेशमा राजनीतिक कर्ता हुन् तर संगठित सामाजिक आन्दोलनमा सहभागी भई समान अधिकारका निम्ति आफ्ना मागलाई वैधता दिन र कानुनी परिवर्तन ल्याउन असफल भएका छन् ।
अध्ययनले दलितले भोगेका अनेक तहका प्रतिच्छेदनीयता र विषम रूप पनि देखाउँछ । विधिगत दृष्टिकोणले यो अध्ययन एक कोटिभित्रको अनेक जटिलताको नमुना पनि हो ।विगत पौने शताब्दीदेखि नेपाली समाजमा विद्यमान जातीय भेदभाव र वहिष्करणविरुद्ध दलितहरूको प्रतिरोध चलिरहेको छ । यस प्रक्रियाभित्र एकातिर दलितहरू आफ्नो परम्परागत पहिचानको पुनव्र्याख्या गर्न चाहन्छन् भने अर्कातिर प्रभावकारी ढंगले त्यसको उपयोग गर्न चाहन्छन् । यस लेखमा काठमाडौंमा बस्ने दलितहरूको परिचयको जटिल एवं परिवर्तनशील 'डाइनामिक्स' अध्ययन गर्ने जमर्को गरिएको छ । यस क्रममा गरिएको अध्ययनले के देखाएको छ भने जातीय अवस्था विविध प्रकृतिको र जटिल छ । यसका अनेक प्रशाखा छन् । शैक्षिक एवं व्यावहारिक दुवै रूपले दलितहरू स्वयं नै साना जातीय समूह हुन् तर त्यसभित्र पनि उनीहरूकै अनेक जाति र उपजाति छन् ।
एक प्रकारले दलितहरूबीचको अन्तरजातीय श्रेणीगत प्रणाली नेपालमा संस्थागत भएको ठूलो जाति प्रथाको ससानो स्वरूपको पुनरुत्पादन हो । यसले दलित र गैरदलितबीच अनि दलितहरू आफंैभित्रको जातीय भेदभावलाई झन् बढाइदिएको छ । जबसम्म तल्लो जाति र पूर्वअछुतहरूले आफैंभित्रको जातीय श्रेणीको सिद्धान्त र अभ्यासलाई समर्थन गरिरहन्छन्, तबसम्म उनीहरूले सामाजिक श्रेणीमा आफ्नो निम्न तहलाई स्वीकार गरिरहन्छन् । दलितभित्रैको श्रेणीगत भेदभावलाई वास्तवमा आम दलित समुदायको एउटा समस्याका रूपमा स्विकारिन्छ, तर यो आरोपलाई प्रायः दलितहरू खण्डन गर्छन् । उनीहरूको प्रतितर्क छ, श्रेणी भन्ने कुरा कानुन निर्माता र शासकले 'फुटाऊ र शासन गर' भन्ने उक्तिका रूपमा प्रयोग गरेका हुन्, जसले गर्दा माथिल्ला जातले आफ्नो शक्ति थामिराख्न सकून् अनि दलितहरूको स्थान सधैंभरि गौण रहिरहोस् । आजसम्म पनि दलितहरूले यसैको परिणाम बेहोर्नु परिरहेको छ ।
काठमाडौंका कुचीकार, धातुकर्मी/विश्वकर्मा र संगीतकार आफ्नो दलित पहिचान प्रकट गर्नुपर्दा असजिलो मान्ने पनि अध्ययनले देखाएको छ । उनीहरू आफूलाई दलित भन्न पनि हिच्किचाउँछन् किनभने ऐतिहासिक रूपले अस्पृश्य/अछुत ठानिएकाहरूसँग कलंक जोडिएको मानिन्छ । उनीहरू आफ्नो जातीय पहिचानलाई संदिग्ध ठान्छन् र अरूबाट राम्रो व्यवहारको आसमा नयाँ थरहरू लिन्छन्/बताउँछन् । त्यस अतिरिक्त सहरी अवस्थितिको रणनीतिक अर्थ पनि हुन्छ: सहरमा बस्दा बेनामी रहन पनि सम्भव हुन्छ । सहरमा दलितहरू आफ्नो पहिचान लुकाएरै घुमफिर गर्न, काम गर्न र स्वतन्त्र भएर बस्न सक्छन् ।
कतिपय परिस्थितिमा दलितहरू आफैं पीडित र पीडक दुवै बन्छन् । तल्लो जात/वर्गका विश्वकर्मा र देउलाले धेरै नै बाधा/अवरोधको सामना गर्नुपरेको देखिन्छ । संरचनात्मक दृष्टिले हेर्दा उनीहरू साँच्चै पीडित छन् । माथिल्लो जातको भेदभाव, गरिबी, शिक्षाको अभाव, बेरोजगारी र सामाजिक तथा राजनीतिक हस्तक्षेपकारी कार्यक्रमको अभावले निम्न आर्थिक स्थिति पैदा हुँदा उनीहरूको जातीय स्थिति झनै कमजोर बन्न पुगेको छ ।
मध्यमवर्गीय परियार समुदायले सामाजिक गतिशीलता र जातिको गत्यात्मक प्रतिच्छेदनीयताको अनौठो उदाहरण प्रस्तुत गर्छ । मध्यमवर्गीय स्थितिले उनीहरूको निम्न जातीय पहिचानलाई झन्डै अर्थहीन बनाउँदै एउटा 'जनजातीय' गुणमा परिणत गराएको छ । उनीहरू आफ्नो सांस्कृतिक पहिचानमा गौरव गर्ने र त्यसैबाट आफूलाई लाभान्वित गर्न सम्भव भएका छन्- म्युजिसियन, आर्टिस्ट र 'पर्फर्मर' का रूपमा । संगीत रचना/प्रस्तुति एउटा जनजातीय कला पनि हो, जो व्यावहारिक रूपले सफल उद्योगमा परिणत भएको छ । उनीहरू संगीत तथा मनोरञ्जन उद्योगमा राम्रो र सुरक्षित स्थान बनाउन र त्यसैको सहायताले उच्च स्थान पाउनसमेत सफल भएका छन् । यसर्थ उनीहरू आफ्नो निम्न जातीय 'टेलर' को पहिचानलाई अस्वीकार गर्न चाहन्छन् ।
राजधानीमा घर नहुने धेरै दलित जातीय विभेदका सिकार भएका छन् र उनीहरूलाई आफ्नो पहिचान प्रस्ट पार्दा घर भाडामा पाउन अत्यन्तै मुस्किल पर्छ । राजनीतिक वर्ग र त्यसले उनीहरूलाई प्रदान गरेको नागरिक समाजको स्थानका आधारमा सचेत हुँदाहुँदै पनि उनीहरू भेदभावको अनुभव गर्छन्, अन्तरविरोध र निजी तथा सार्वजनिक जीवनबीच विच्छेदको अनुभूति गर्दै बाँच्छन् । सार्वजनिक रूपले हेर्दा उनीहरू आफ्नो संगठनात्मक परिवेशमा राजनीतिक कर्ता हुन् तर संगठित सामाजिक आन्दोलनमा सहभागी भई समान अधिकारका निम्ति आफ्ना मागलाई वैधता दिन र कानुनी परिवर्तन ल्याउन असफल भएका छन् ।
अध्ययनले दलितले भोगेका अनेक तहका प्रतिच्छेदनीयता र विषम रूप पनि देखाउँछ । विधिगत दृष्टिकोणले यो अध्ययन एक कोटिभित्रको अनेक जटिलताको नमुना पनि हो । यसको निचोडले दलितका जीवन्त अनुभूतिको जटिलतालाई प्रकट गर्छ । ती अनुभूति जाति, वर्ग, लिंग, क्षेत्र र परिवेश भेट हुने प्रतिच्छेदन बिन्दुमा अनुभव गरिन्छ । परियार, विश्वकर्मा र देउला- तीन समुदायभित्र वर्गीय भेदहरू प्रस्ट छन् । उत्तरदाताहरूले अथ्र्याएको र तिनका पहिचानसित सम्बद्ध भेदहरू ती सबै समूहभित्र, अन्तरसामूहिक तह र सामुदायिक उत्तरदाताहरूका बीचमा छन् । यसबाहेक समाज-स्थानिक अन्तरलाई नागरिक समाजको परिवेश र दलितहरूको दैनिक जीवनको परिवेशबीचको दूरीले प्रस्ट्याउँछ । अमिल्दो भूगोललाई काठमाडौंभित्रै प्रयोग गर्न सकिन्छ, जहाँ दलित संगठनका केन्द्रीय कार्यालय स्थापित छन् तथापि त्यहींभित्रै अव्यवस्थित दलित समुदायसम्म पुग्न ती असमर्थ छन् ।
लैंगिक दृष्टिकोणले महिलाको अवस्था र विविध पेसागत समुदाय
(कुचीकार, धातुकर्मी, टेलर/म्युजिसियन तथा जनजातीय नेवार तथा अन्य) का बीचमा सम्पत्ति र भेदबारे पनि अध्ययन गर्ने प्रयास गरिएको छ । धातुकर्मी र टेलर/म्युजिसियन समुदायमा स्वामित्व र पेसा पनि पुरुषद्वारा वंशीकृत छन्, नारीहरू बढी नै पराश्रयी छन्, उनीहरू कम स्वाधीनता भोग्छन्, बढी नै असमानता खप्छन् ।
देउला (कुचीकार) महिलाको विषयले भने अनौठो अवस्था देखाउँछ । उनीहरूको जातीय पेसा लैंगिकता-निरपेक्ष भएकाले महिलाहरू घरव्यवहार चलाउनमा ठूलो योगदान गर्छन् । उनीहरू महत्त्वपूर्ण निर्णयमा पनि सहभागी हुन्छन् र धेरै स्वतन्त्रता उपभोग गर्छन् । धेरैले त घरको मूली भएर पनि काम गर्छन् । लैंगिक सिद्धान्त अन्य दुई दलित समुदायको तुलनामा बढी उदार देखिन्छ । तथापि समग्रमा हेर्दा तीनवटै समुदायका महिला असमानुपातिक रूपले पुनःवृत्यात्मक श्रममा लागेका पाइन्छन् । घरधन्दा र नानीहरूको हेरचाह उनीहरूकै कर्मभित्र पर्छ । संगठनात्मक क्षेत्रमा दलित नारीवादीले पुरुष नियन्त्रण/प्रभुत्वबारे कुरा गरे र महिला नेता भए पनि तिनीहरू आफ्नो घरपरिवारबाट निस्केर बाहिर घुमफिरको कुरामा सीमित गरिएका/अधीनस्थ नै छन् ।
सारांशमा यो अध्ययनले के देखाएको छ भने दलितका लागि अझै पनि जातीय परिचय एउटा महत्त्वपूर्ण सामाजिक चिनारी बनेर रहेको छ । जातलाई तटस्थीकरण गर्ने शक्तिहरू हुँदाहुँदै पनि यस अध्ययनमा समेटिएका काठमाडौंका दलितको सामाजिक एवं आर्थिक जीवनमा खासै सुधार आएको छैन । उनीहरू अझै पनि पूर्ण रूपले विद्यमान जातमा आधारित भेदभावको पीडाबोध रहेका छन् । प्रवेश निषेध, सेवा निषेध, साझा साधनस्रोतमा सहभागिता निषेध, नातागोता अथवा सामाजिक सम्बन्धको अस्वीकार, अन्तरजातीय विवाहको सामाजिक बहिस्कार, प्रवृत्तिगत छुवाछुत आदि विकार बाँकी छन् । फेरि आधुनिकीकरणले पनि दलितहरूलाई राम्रो प्रकारको रोजगारीको अवसर प्रदान गरेन, त्यसकारण उनीहरूका परम्परागत पेसाले चुनौती झेल्नुपरेको छ किनभने दलितले मात्र गर्ने गरेका पेसामा अरू सबै जातले प्रतिस्पर्धा गर्दै छन् । गरिब समुदायका दलितहरू खुला श्रमबजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् । कारण- उनीहरूसित शिक्षा र शिल्प छैन, जुन कुराको खोजी यस्तो बजारले गर्छ । काठमाडौंमा अझै पनि जातजातिका आधारमा संकीर्णता कायमै छ । अधिकांश दलित समुदायका लागि दमन र असमानताका आधुनिक स्वरूपहरूले जीवन झन् कष्टकर बनाएको छ । तसर्थ राज्यले काठमाडौं उपत्यकाका दलित समुदायको हितका लागि केही हस्तक्षेपकारी कार्य अगाडि बढाउनु जरुरी छ ।
दलित आन्दोलनले कानुन संशोधनको भेदभावविरुद्ध अभियान, सेमिनार, कार्यशाला, संवाद, बजेट बाँडफाँड, राजनीतिक दलका लागि मत संकलन र अन्तर्राष्ट्रियकरणका दिशामा थुप्रै कार्य गरिसकेको छ । तथापि अझै पनि यो आन्दोलन दलित संगठन र राजनीतिक दलहरूभित्रै सीमित छ । संकुचित दायराबाट बाहिर निस्केर सहरका गरिब दलित समुदायलाई समेट्न सकेको छैन । दलित संगठनहरूको उपस्थिति र हस्तक्षेप आवश्यक छ तथापि त्यो मात्र परिवर्तन ल्याउन पर्याप्त छैन । दलित आन्दोलनमा गैरदलितले पनि स्वःस्फुर्त भूमिका खेल्नुपर्छ । परिवर्तन सबै जनताको मूल्य र व्यवहारमा आउनुपर्छ । जातिपाती भेदभावविरुद्धका कार्यक्रमलाई गैरदलिततिर पनि लक्षित गर्न जरुरी छ । आफ्ना वरिपरिका अन्य समुदायतिर ध्यान नदिई दलितलाई मात्र सशक्तीकृत गरेर यो समस्याको समाधान हुँदैन । समावेशी प्रजातान्त्रिक प्रक्रिया र संरचनाका हिमायतीहरूले दलित र महिलाको पहँुचमा सुधार ल्याउनेतर्फ सोच्नुपर्छ । थिचिएका समूहबीचको भेद अन्त्य गर्न र शक्ति संरचनाद्वारा साधनस्रोतको पहुँचमा सक्षम बनाउन अहं भूमिका निर्वाह गर्नुपर्छ ।


(अमेरिकाको पिटसवर्ग विश्विद्यालयबाट 'दलित, पहिचान र प्रतिरोध' विषयमा विद्यावारिधी गरेकी पोखरेलको केहि बर्ष अघि कान्तिपुरमा प्रकाशित यो लेख  सान्दर्भिक भएको हुनाले राखिएको  )

Saturday, April 25, 2015

जनयुद्ध मुख्यतः वर्गीय विभेदका कारण भएको थियो - वर्षमान पुन

बैसाख १२ , विभेद बिरुद्ध अभियान 
हाम्रो देश भर्खरै द्वन्द्वबाट बाहिर आएको छ । यसलाई ‘पोष्ट–कन्फ्लिक्ट’को चरण भन्ने गरिएको छ । द्वन्द्वका कारण दुनियाँमा फरकफरक छन् । कहीँ धार्मिक, कहीँ जातीय वा साम्प्रदायिक कारणले द्वन्द्व भएका छन् । मुख्यतः वर्गीय अर्थात् आर्थिक विभेदका कारण हुने द्वन्द्व विश्वमा धेरै छन् । कति ठाउँमा भने छिमेकी मुलुकको स्वार्थको उक्साहटमा विभिन्न समूह परेपछि द्वन्द्व हुने गरेको छ । हाम्रो देशमा एकीकृत नेकपा माओवादीले गरेको जनयुद्धका कारण सृजित द्वन्द्वको अवस्था बहुआयामिक द्वन्द्व हो । यसलाई अन्तरिम संविधान र बृहत् शान्ति सम्झौतामा स्वीकारिएको छ । 

जनयुद्ध मुख्यतः वर्गीय विभेदका कारण भएको थियो । आमजनता गरीबी, बेरोजगारी र आर्थिक विपन्नताको शिकार भएका थिए । दोस्रो, क्षेत्रीय, जातीय र राष्ट्रिय कारण, जसले राज्यको मूल प्रवाहमा खासखास क्षेत्र र समुदायका मानिसले छुट्न पुगेको अनुभूति गरे । तेस्रो, सामन्ती एकात्मक राज्य व्यवस्थाको शोषणबाट खास लिङ्ग, जाति वा समुदायका मानिस शोषित थिए । नेपाली महिलामाथि सांस्कृतिक, आर्थिक र सामाजिक रूपमा विभेद हुँदै आएको थियो । दलितका नाममा हामीभित्रकै नागरिक अछुतका रूपमा सांस्कृतिक भेदभावको शिकार हुनु परेको थियो । यसरी विविध कारणले विभेदको शिकार हुनु परेका जनताले आफ्नो पहिचान, अस्तित्व र अधिकार प्राप्तिका लागि जनयुद्ध भएको थियो । यी चार कारणलाई फरकफरक ढङ्गले नै सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि संविधानसभामार्फत संविधान निर्माण हुँदै यी सबै मुद्दाको न्यायोचित व्यवस्थापन हुन्छ भन्ने राष्ट्रिय निष्कर्ष हो । 

संसारमा हामीकहाँ जस्तो वा यहाँभन्दा पनि लामो अवधिदेखि द्वन्द्वरत मुलुक धेरै छन् । श्रीलङ्का करीब ३ दशक गृहयुद्धमा गयो । तर, उनीहरूको अर्थतन्त्र दक्षिण एशियामै उन्नत भइरह्यो । त्यहाँको आर्थिक वृद्धिदर ६ देखि ८ प्रतिशतको हाराहारी रह्यो । अर्थमन्त्री मैले त्यहाँका समकक्षीसँग द्वन्द्वरत हुँदाहुँदै पनि आर्थिक वृद्धिदर सकारात्मक रहनुका कारण सोधेको थिएँ । उनका अनुसार द्वन्द्वकै अवस्थामा पनि त्यहाँ बन्ने सबै सरकारले मुख्य रूपमा आर्थिक विकासलाई प्राथमिकतामा राखे । गृहयुद्धको नाममा मुलुकलाई आर्थिक मन्दीमा धकेल्नु हुँदैन भन्नेमा राजनीतिक दलहरूबीच सहमति बन्यो । गृहयुद्ध हुँदा पनि निश्चित क्षेत्रमा त्यसको प्रभाव रह्यो । सामुद्रिक बन्दरगाह, व्यापारिक तथा औद्योगिक केन्द्रहरू मूलरूपमा प्रभावित भएनन् । त्यसर्थ त्यहाँ आर्थिक विकास उकालो गतिमै रह्यो । द्वन्द्व हुँदाहुँदै पनि आर्थिक विकास निरन्तर भइरहेका अन्य देश पनि छन् । त्यति हुँदाहुँदै पनि सामान्यतया, देशमा  द्वन्द्व भएपछि पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणका क्षेत्रमा हुने लगानी द्वन्द्वमा खर्च हुन्छ । स्वाभाविक रूपले द्वन्द्वरत तथा द्वन्द्वपश्चात्का देशहरूमा केही समय आर्थिक सुस्तता आउँछ नै । यो विश्वको अनुभवले देखाएको छ । हामीकहाँ पनि १० वर्षको जनयुद्धका क्रममा राज्यको साधनस्रोत द्वन्द्व व्यवस्थापनमै लगायो भने विद्रोहीले त झनै स्वाभाविक रूपमा सबै साधनस्रोत खर्चियो । त्यसर्थ राष्ट्रिय अर्थतन्त्र अहिलेसम्म पनि प्रभावित भएकै छ । 

विश्वको इतिहास हेर्दा कुनै पनि ठूला देश कुनै न कुनै कालखण्डमा द्वन्द्वबाट गुज्रेकै देखिन्छ । विज्ञान, प्रविधि, अनुसन्धान द्वन्द्वको बीचबाटै विकास भएको छ । द्वन्द्वले मानिसको चौतर्फी सम्भावनाको ढोका खोलिदिने पनि यसका अभ्यासहरूले देखाएका छन् । सामाजिक, राजनीतिक तथा सैन्य विज्ञानको अध्ययनले यही पुष्टि गरेको छ । द्वन्द्वको क्रममा नेतृत्व त्यसमा केन्द्रित हुन्छ कि हुँदैन, जे कारणले द्वन्द्व भएको हो, त्यसको मूल कारणलाई सम्बोधन गर्न तयार हुन्छ कि हुँदैन, त्यो तहको इच्छाशक्ति हुन्छ कि हुँदैन भन्ने मुख्य कुराले विकास हुन्छ कि हुँदैन भन्ने कुरा निर्धारण गर्छन् । 

२०६२÷०६३ मा द्वन्द्व  सकियो र शान्तिप्रक्रिया शुरू भयो । त्यसपछिको समयखण्डमा मुलुकमा १० हजार किलोमिटरभन्दा बढी ग्रामीण सडक बन्यो । एक÷दुई जिल्लालाई नमूना छनोट गरेर हेर्ने हो भने पहिले १० गाविसमा सडक पुगेको थियो भने अहिले ५० ओटामा पुगिसकेको छ । त्यसअघिका धेरै दशकमा हुन नसकेको विकास कार्य आधा दशकमै कसरी सम्पन्न भयो ? भन्ने प्रश्न आउँछ । त्यसको एउटै कारण के हो भने द्वन्द्वकै कारण हामी र हाम्रो मुलुक धेरै पछि परियो भन्ने भावनाले तीव्र विकासका लागि उत्प्रेरित ग¥यो । विकासक्रम सामान्य गतिमा अघि बढ्नु र द्वन्द्व व्यवस्थापनपछि राष्ट्रको पूरै शक्ति आर्थिक विकासमा लगाउनुमा धेरै फरक हुन्छ । एक ठाउँमा ‘आइसब्रेक’ गरेर अघि बढेपछि त्यसले निरन्तरता पाउँछ । 

हामीकहाँ शान्ति प्रक्रियापछि विकासले गति लिइसकेको थियो । तर, अहिले संविधान बन्ने प्रक्रियाले टुङ्गो नपाइसकेको हुँदा विकासमा राज्यको ध्यान विकासमा केन्द्रित हुन सकेको छैन । तर, सरकार, राजनीतिक पार्टी तथा समग्र समाजले आर्थिक विकासमै ध्यान केन्द्रित हुनु जरुरी छ । त्यसो भयो भने द्वन्द्वका कारणहरूको सम्बोधन हुन्छन् । देशले पनि प्रगति गर्छ, जनतामा मुलुकप्रति आशा जाग्छ, द्वन्द्वको दीर्घकालीन समाधान गर्दै आर्थिक विकासतर्फ नागरिक तथा मुलुकलाई अघि बढाउँछ । तर, द्वन्द्वपछिका अवसरलाई सदुपयोग गर्न नसक्दा पुनः झन् ठूलो द्वन्द्वमा मुलुक फसेका उदाहरण अफगानिस्तान, अफ्रिकन देशहरूलाई हेरे पुग्छ । त्यसकारण हाम्रा लागि अबको ठूलो चुनौती भनेको आर्थिक व्यवस्थापन तथा विकास हो । त्यसमा पूरा केन्द्रित हुन नसके यसभन्दा ठूलो सामाजिक द्वन्द्वमा देश फस्ने खतरा हुन्छ । त्यसका लागि राज्यले दीर्घकालीन नीति तय गरेर काम गर्नुपर्छ । सँगसँगै सिङ्गो देशलाई नै आर्थिक समृद्धिमा लगाउने ‘भीष्म प्रतिज्ञा’को सङ्कल्प राजनीतिक नेतृत्वले गर्नु अहिलेको आवश्यकता हो ।

दलित समुदायका पक्षमा दुर्गा दर्जीको लेखकीय यात्रा - राजेन्द्र पहाडी


बैसाख १२ , विभेद बिरुद्ध अभियान 
दुर्गा बहादुर दर्जी (४४) परिपक्व, जुझारु र लगनशील अधिकारकर्मी तथा साहित्यिक व्यक्तित्व हुन् । यिनले आफ्नो जीवनको धेरैजसो समय दलित, युवा, बालबालिका, महिला, पछाडि पारिएका तथा सिमान्तकृत वर्गको पक्षमा वकालत, बहश–पैरवी, लेखन तथा नेतृत्व गर्नमा खर्चिएका छन् । आवाज विहीनहरुलाई बाणी भर्ने काममा यिनको लगाव साच्चिकै उदाहरणीय देखिन्छ । संगठन, चेतना र सशक्तीकरणको माध्यमबाट आवाज, अधिकार र छनोटको विषयलाई मूल मुद्दा बनाउन यिनी र यिनी सम्बद्ध संस्थाले अनवरत काम गरिरहेको देखिन्छ धवलागिरी क्षेत्रभित्र । 
मानवअधिकारको सार्वभौम पक्षलाई सुरक्षित नगर्दासम्म सबै वर्ग, जातजाति, धर्म, संस्कृति, सम्प्रदाय र क्षेत्र विशेषको समुचित विकास तथा उन्नयन हुन नसक्ने कुरालाई आत्मसाथ गरेर अधिकार प्राप्तिको लडाईँमा अग्रिम मोर्चामा जुट्न आतुर दर्जीले आफ्ना विचार, दृष्टिकोण, सोच र भावनाहरुलाई लेखनको माध्यमबाट पनि अघि सार्दै आएका छन् । दलित सुमदायको सम्मान, परिचय र प्रतिष्ठालाई स्थापित गर्न दर्जीले गरेको लगानीको एउटा उपयोगी प्राप्ती हो प्रस्तुत पुस्तक ।
‘दलित अधिकार र विकास’ शीर्षकको निबन्धात्मक पुस्तकाकार कृति यिनको पछिल्लो पुस्तक हो । यस अघि यिनले ‘खुल्न लागेका आँखा’ नामक पुस्तक प्रकाशन गरिसकेका थिए । पुस्तक लेखनका माध्यमबाट दलित वर्गको अधिकारका पक्षमा वकालत गर्ने यिनको पहल स्तुत्य देखिन्छ । यस पुस्तकमा दलित समुदायका समस्या, भुक्तमान, दलितमाथि गरिएका विभेदका श्रृङ्खलाहरु तथा अपेक्षित परिणामका पक्षमा प्रसस्त कुराहरु उठान गरिएका छन् । वर्तमान कानुनी व्यवस्था, अभ्यास एवम् कमीकमजोरीलाई केलाउँदै समाधानका उपाय निरुपण गर्ने ध्येयमा यिनले आफ्नो लेखनीलाई सोझ्याएका छन् । दलितलाई ‘दलित’ बनाउन विगतमा के के गरियो भन्ने ऐतिहासिक छिन्द्रान्बेषण गर्ने लेखकको प्रयत्न सार्थक देखिन्छ ।
विगतको असजिलो परिस्थितिलाई विश्लेषण गर्दै वर्तमानको अन्तरकुन्तर केलाउन दुर्गाजीले गरेको प्रयास रोचक, घोचक र समय–सान्दर्भिक छ । राज्य–सरकार, यसका संयन्त्रहरु, हाम्रो परम्परागत धारणा र ‘घोचो सधैँ होचोको मुखमा’ नै सोझिने नियतीलाई के कसरी सच्याउन सकिन्छ भन्ने अपेक्षा यिनका सबैजसो लेखनीमा यत्रतत्र देखिन्छन् । समतामूलक, सम्पन्न, सभ्य, समृद्ध र सकारात्मक शक्ति सम्बन्धले ओतप्रोत भएको राजनैतिक प्रणालीले मात्र सदियौंदेखि हेपिएका, थिचिएका, मिचिएका र पछाडि पारिएकाहरुको समग्र मुक्ती सम्भव हुन्छ भन्ने मान्यतामा लेखक अविचलित निष्ठावान छन् । साँचो लोकतान्त्रिक कानुनी शासन व्यवस्थाबाट मात्र सबै वर्ग, लिङ्ग, धर्म–संस्कृति, सम्प्रदाय, जातजाति र क्षेत्रका नागरिकको हित संरक्षण हुन सक्ने भएकाले सुशासनयुक्त र लोककल्याणकारी सरकारको आवश्यकता देखेका छन् लेखक दर्जीले । 
पुस्तक खासमा विविध विषयमा आधारित छ । यसले सारभूत रुपमा ‘जसको सवाल–उसैको आवाज र उसैको नेतृत्व’ को मर्मलाई आत्मसाथ गर्न खोजेको देखिन्छ । दलित वर्गले भोग्नुपरेको विभेद, असमानता, अन्याय, शोषण, जातीय छुवाछुत र हेलाहोचोको अवस्थाबाट उन्मुक्ति पाउनका लागि त्यही वर्ग जागरुक हुँदै अघि बढ्नुपर्ने सत्यतालाई कुनै न कुनै कोणबाट पक्षपोषण गरिएको छ पुस्तकभित्र । यस पुस्तकमा पाठकले जनजागरण, जनसंगठन तथा जनसचेतीकरणका विभिन्न विधि, प्रक्रिया र तरिकाहरुका बारेमा पनि जानकारी राख्ने अवसर पाउँछ । ग्रामीण समुदायमा काम गर्ने सामाजिक कार्यकर्ता, समुदाय परिचालक तथा अन्य इच्छुकहरुका लागि यो पुस्तकले सहजीकरण सीपका बारेमा पनि थुप्रै कुराहरु पस्कन खोजेको छ । यस अर्थमा समाज परिचालनको क्षेत्रमा क्रियाशील जो सुकैलाई पनि यो पुस्तकले स्रोत सामग्रीका रुपमा पथप्रदर्शन गर्न सक्ने विश्वास लिन सकिन्छ । 
पछिल्लो समयमा नेपालले अबलम्वन गरेको शासनपद्दति, धर्म निरपेक्षताका अन्तरवस्तु, आत्मनिर्णयको अधिकार, धर्मका आडमा दलित समुदायमाथि भएको ज्यादती, विभेद र असमानताका अन्तरकुन्तर केलाउनेदेखि संघीयताका विविध पाटापक्षहरुका बारेमा आफ्ना अभिमतहरु राख्ने कुरामा लेखक दर्जी सचेततापूर्वक अघि बढेका छन् । नयाँ नेपाली राज्यले अवलम्बन गर्ने कस्तो खालको संघीय संरचनाले दलित जातिको समग्र मुक्तिका लागि मार्ग प्रशस्त गर्न सक्छ भन्ने बारेमा लेखकले आफ्ना तथ्य तथा तर्कहरु प्रस्तुत गरेका छन् । यस सङ्ग्रहको अध्ययनबाट पाठकले संघीयताको बहशमा आफूलाई कुन स्थानमा उभ्याउने भनी निर्णय लिन पनि सहयोग पुगेको अनुभूत गर्न सक्छ । 
लेखक दर्जीले पुस्तकमा दलित वर्गको सर्वाङ्गिण उन्नती प्रगतिका लागि राज्यले सामाजिक, साँस्कृतिक, राजनैतिक, प्रशासनिक, धार्मिक तथा आर्थिक क्षेत्रमा चाल्नुपर्ने कदम तथा गर्नुपर्ने बैधानिक व्यवस्थाका बारेमा आफ्ना अवधारणाहरु प्रस्तुत गरेका छन् । राज्य जिम्मेवार हुँदा मात्र तृणमूल तहमा नागरिकहरुको आवाजले उद्घाटित हुन पाउने उनको तर्क छ । यतिमात्र नभई उनले आजको समयमा राज्य व्यवस्था, राजनैतिक दलहरु र अन्य सरोकारवालाहरुले सम्पादन गर्नुपर्ने तत्कालीन कार्यभारका बारेमा पनि सविस्तार चर्चा परिचर्चा गरेका छन् । यसका साथै लेखकले दलित सवाललाई आमसञ्चार माध्यमले के कसरी हेर्नु जरुरी छ भन्ने बारेमा पनि आफ्ना बुझाई र दृष्टिकोणहरु राखेको देखिन्छ । उनको विचारमा आमसञ्चारको क्षेत्रमा दलित समुदायकै प्रत्यक्ष संलग्नता हुन सक्ने हो भने यो वर्गको सवाललाई यथोचित ढंगले उठान गर्न सहयोग पुग्ने अवस्था बन्न सक्छ । 
दलित समुदायकै तर्फबाट आमसञ्चारका क्षेत्रमा प्रभावकारी उपस्थिति र हस्तक्षेप हुन सकेमा त्यसले मुक्तीको आन्दोलनमा न्याय गर्न सक्ने उनको ठहरलाई अन्यथा मान्न सकिँदैन । मूलतः दलित–दलित भित्रको एकता, समवेत आवाज र गन्तव्यको प्रष्टता भएमा मात्र राज्य संरचनालाई सामाजिक न्यायलाई मूर्तीकरण गर्न दबाब पुग्ने लेखकको निश्कर्ष मननीय छ । लेखकले दबिएको अनुभूत गर्ने वर्ग नै नतातेसम्म ‘अरुले गरिदेला र पाउँला’ भन्ने सोच घाती हुन सक्नेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । 
दर्जीले आफ्नो पुस्तकमा दलित समुदायका युवाहरुले चाल्नुपर्ने कदम तथा अपनाउनुपर्ने होशियारीका बारेमा पनि सुविचारित ढंगले प्रस्तावना अघि सारेको देखिन्छ । देशमा उपलब्ध प्राकृतिक श्रोत र साधनको समुचित वितरण, उपभोग तथा सम्बद्र्धनका क्षेत्रमा दलित समुदायले राख्नुपर्ने चनाखो दृष्टिका बारेमा पनि लेखकले गम्भीरतापूर्वक विचारहरु राखेका छन् । आफू दलित अधिकारकर्मी हुनुका नाताले दुर्गा बहादुर दर्जीले आफ्नो पुस्तकमा दलित समुदायको मुक्तिका सबै उपायहरुलाई सविस्तार उठान गरेका छन् भन्दा अतिशयोक्ति नहोला । यस पुस्तकमा उनले दलित आन्दोलनको विगत र वर्तमानको फेहरिस्त प्रस्तुत गर्दै आगतको सभ्य, सुन्दर, शान्त, समृद्ध र समतामूलक नेपाली समाज व्यवस्थाको परिकल्पना गरेका छन् । 
वास्तवमा लेखक दर्जीले दलिल गरेजस्तै सबैखालको अतिवादी सोचबाट मुक्त भएर सामाजिक न्यायलाई सुनिश्चित गर्ने दिशाबाट सोच्ने हो भने कथित सिमान्तीकरण, विभेद र असमानताको जाँतोबाट कोही कसैले पिल्सिएको अनुभव गर्नु पर्ने थिएन । हाल मौजुदा कानुनी प्रावधान, मुलुकी ऐन, अन्तरिम संविधान र यसको भावनालाई आत्मसाथ गरेर अघि बढ्ने हो भने पनि नेपाली समाजमा विद्यमान अन्याय, असमानता, विभेद, जातीय छुवाछुत र तमाम खाले उत्पीडनबाट थिचिएको वर्गलाई माथि उठाउन कुनै कठिनाई हुने देखिँदैन । तर सदियौंदेखि जरो गाडेर बसेको मूल्य मान्यता, उच्च जातीय अहम्, पुरानै सोच, मति र काम गर्ने परम्परागत गतिलाई नसच्याएसम्म हामीले अपेक्षा गरेको सभ्य र भव्य नेपाल निर्माण गर्न उत्तिकै चुनौतिपूर्ण पनि छ । 
यि र यस्ता यावत विषयवस्तुलाई लेखक दर्जीले आफ्नो पुस्तकभित्र अटाएका छन् । सरसर्ती दृष्टिगोचर गर्दा पुस्तक पठनीय र सङ्ग्रणीय छ । अब बन्ने नयाँ संविधानमा दलित, उपेक्षित, उत्पीडित र सिमान्त वर्गका अधिकारलाई के कसरी सम्बोधन गर्न सकिएला भन्ने सन्दर्भमा दृष्टिकोण बनाउनलाई पनि यो पुस्तकको अध्ययनले सघाउन सक्ने विश्वास गर्न सकिन्छ । जिल्लाभित्र रहेर लेखन क्षेत्रमा लाग्ने स्रष्टाहरुले लेखेका पुस्तकमध्ये दलित समुदायका विषयमा तयार गरिएको यो एउटा उत्कृष्ठ पुस्तक बन्न पुगेको छ । पुस्तकले दलित र दलित वर्ग सम्बद्ध विभिन्न विषयका बारेमा जानकारी दिने जमर्को गरेको छ । यस अर्थमा पुस्तकका पाठकले यसबाट लाभान्वित हुने प्रयाप्त अवसर पाउने नै छन् । 
पर्वत जिल्लाको पुस्तक लेखन तथा प्रकाशन अभियानलाई निरन्तरता दिने क्रममा यो पुस्तकले नयाँ आयाम अघि सारेको तथ्य निश्चित छ । अन्त्यमा, पुस्तकका सर्जक मित्र दुर्गा बहादुर दर्जीजीको लेखकीय यात्रा थप निखारिँदै अघि बढिरहोस् भन्ने हार्दिक सुभेच्छा प्रकट गर्दछु । 

चट्याङ लागेर ताप्लेजुङमा एकको मृत्यु, एक घाईते

वैसाख १२ , विभेद बिरुद्ध अभियान ।
हिजो दिउसो परेको चट्याङका कारण ताप्लेजुङको डुम्रिसेमा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएकी छन । दिउसो करिव साढे तिन वजे तिर चट्याङले लागेर डुम्रिसे १ का प्रतिमान विकका ३३ वर्षीय छोरा बम वहादुर विकको मृत्यु भएको हो । यस्तै प्रतिमानकी नातिनी करीव १८ वर्षिय रिता विक घाईते भएकी छन् । 
घाईते विकको अहिले पाचथर अस्पतालमा उपचार भईरहेको स्थानिय राम कंलिवाले जानकारी दिनुभयो । दिउसो डोको बुनेर घर भित्र पस्दै गरेका विकलाई चट्याङले लाग्दा घटना स्थलमै ज्यान गएको कंलिवाको भनाई छ । कोठामा बसिरहेकी रितालाई समेत चट्याङले लागेर वेहोस भएकी थिईन । घाईते विकलाई राती करिव ११ वजे उपचारका लागि पाचथर लगिएको र अहिले अवस्था सामान्य रहेको वताइएको छ । 

लक्ष्मी चमारको २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने लिखित प्रतिबद्धता

१२ वर्षमै विवाह छिनिएकी बाँकेकी लक्ष्मी चमार आमाबुबाका साथमा । तस्बिरः कान्तिपुर
बाँके,वैशाख ७,विभेद बिरुद्ध अभियान । - १२ वर्षकै उमेरमा विवाह छिनिएकी होलिया ९ कन्हैपुरवाकी लक्ष्मी चमारका बाबुआमाले छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । उमेर नपुग्दै किशोरीको बिहे छिनिएको घटनाबारे समाचार प्रकाशित भएपछि आइतबार घरैमा आइपुगेका सरकारी अधिकारीसमक्ष लक्ष्मीका बाबुआमाले २० वर्ष उमेर पुगेपछि मात्र बिहे गरिदिने प्रतिबद्धता जनाएका थिए ।
आइतबार राजनीतिक दलका स्थानीय नेता, गाविस सचिव, प्रहरी चौकी प्रमुख, सरकारी अधिकारी र स्थानीयबीच बालविवाहबारे छलफल भएको थियो । सरकारी अधिकारीहरूले सानै उमेरमा विवाह गर्न कानुनले रोक लगाएको बारे स्थानीयलाई जानकारी गराएपछि उमेर पुगेपछि मात्रै विवाह गर्ने सहमति भएको हो । लक्ष्मीको बिहे स्थानीय सुरेन्द्र चमारसँग गराइदिने गरी शुक्रबार छिनिएको थियो ।
कान्तिपुरमा समाचार प्रकाशित भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले त्यसबारे तत्काल बुझेर जवाफ पठाउन बाँके जिल्ला विकास समितिलाई निर्देशन दिएका थिए । त्यसलगत्तै सरकारी टोली होलिया पुगेका हुन् ।
'विवाह छिनिसकेकै किशोरसँग २० वर्ष पुगेपछि लक्ष्मीको विवाह गर्ने सहमति अभिभावकले गरेका छन् । त्यसका लागि प्रहरी, नागरिक वडा मञ्च र गाविसको रोहवरमा लिखित कागज गरेका छन्,' बालविवाहको अवस्थाबारे बुझ्न गएका जिविसका स्थानीय शासनविज्ञ मीनबहादुर मल्लले भने । उनले कानुनले बिहेवारी गर्ने उमेर तोकेको जानकारी गराएपछि केटा र केटी पक्षका आमाबुबाले उमेर पुगेपछिमात्रै विवाह गर्ने कागज गर्नुपरेको र यसबाट समुदायमा सकारात्मक सन्देश पनि गएको उनले बताए ।
सरकारी अधिकारीसँगको छलफल हेर्न आसपासका स्थानीय पनि जम्मा भएका थिए । कम उमेरमा विवाह गर्ने आमाबुबा र जन्ती जानेलाई कारबाही हुने जानकारी सरकारी टोलीले दिएपछि स्थानीयहरू डराएका थिए ।
'हाम्रो समुदायमा सानैमा विवाह गर्ने चलन छ । कानुनमा के छ, जानकारी थिएन,' लक्ष्मीका बुबा रमेश चमारले भने, 'हामीबाट गल्ती भएको रहेछ । अब २० वर्ष पुगेपछि मात्रै छोरीको बिहे गर्छौं ।' नागरिक वडा मञ्चका अध्यक्ष बट्टे तेली, गाविस सचिव बलदेव तिवारीले उमेर पुगेर विवाह नगर्न स्थानीयलाई सुझाव दिए ।
source:-  कान्तिपुर

जहाँ सहजै स्विकारिन्छ दलितसँगको विवाह

बाँकेको कोहलपुर ११ मा बसोबास गर्ने गन्धर्व र मगर समुदायका महिला र बालबालिका । तस्बिरः ठाकुरसिंह/कान्तिपुर
कोहलपुर (बाँके), वैशाख ११,विभेद बिरुद्ध अभियान । - कोहलपुर ११ मा गन्धर्व र मगर समुदायको २१ परिवार बस्छन्। डुडवा खोलाको बाढीले घर बगाएपछि उनीहरू नगरपालिकाको खाली जग्गामा अस्थायी रूपमा बसेका छन्। उठबस र खानपिन सँगै चल्छ, बस्तीमा छुवाछूत छैन। आर्थिक अवस्था निकै कमजोर भए पनि मनका भने धनी छन्। दुवै समुदायबीच दुःख, सुख सटासाट मात्र होइन, बिहेबारी पनि चल्न थालेको छ। त्यसका पछिल्ला उदाहरण हुन्, सुरेश गन्धर्व र दीपा आले मगर।
गत चैत २१ मा विवाह बन्धनमा बाँधिए, दीपाका परिवारले कुनै विरोध गरेनन्। दुवैका आमाबाबुले आशीर्वाद दिए। 'हामीले एकअर्कालाई मन पराएर बिहे गरेका हौं। त्यसमा दुवै परिवारबाट विरोध भएन,' सुरेशले भने, 'प्रेम बसेपछि जातभातले रोक्ने कुरै भएन।' बिहेअघि पनि दुवै घरमा आउजाउ थियो, त्यसयता समेत निरन्तर छ।
उक्त बस्तीका दुवै समुदायको आर्थिक अवस्था एकनासको छ, फुसको छाप्रोका घर पनि उस्तैउस्तै। भूमिहीन रहेकाले घर बनाउने जग्गा हुने कुरै भएन। बसिरहेको स्थानबाट समेत हट्न कोहलपुर नागरपालिकाले उर्दी जारी गर्दै आएको छ। गन्धर्वहरू सारंगी रेटेर माग्न छाडेर मजदुरी गर्छन्। मगर समुदायका किशोरकिशोरी पनि कोहलपुरमै मजदुरी गर्छन्। केही युवा भारत पलायन भएका छन्। एकअर्काका घरमा सबै आउजाउ र उठबस गर्छन्।
स्थानीय दिलबहादुुर गन्धर्वले पनि छिमेकी कमला थापा मगरसँग बिहे गरेका छन्। 'हामी सँगसँगै बसाइँ सरेर कोहलपुर आएका हौं। सँगै बसेपछि एकअर्काको दुःख, सुखमा साथ दिंदै आएका छौं। यसले दुवै समुदायको सम्बन्ध बलियो बनाएको छ,' दिलबहादुर भन्छन्। उनको भनाइमा धेरै वर्ष एकै ठाउँमा बसेपछि जातभात हराइसकेको छ।
मगर समुदायका युवाले पनि गन्धर्व महिलासँग बिहे गरेका छन्। तीमध्येका हुन्, भीमबहादुर थापा मगर। उनले स्थानीय मनिषा गन्धर्वलाई जीवनसाथी बनाएका छन्। उनीहरूका २ सन्तान छन्। 'यहाँ बसेका सबैको अवस्था मिल्छ। दुःखमा साथ दिनेहरू नै नजिकका हुन्छन्,' भीमबहादुर भन्छन्।
स्थानीय चन्द्रबहादुर गन्धर्वले लक्ष्मी चन्द ठकुरी र रूपसिंह गायनले पार्वती बुढा छेत्रीसँग प्रेम विवाह गरेका छन्। अन्तरजातीय विवाह सामान्य बनिसकेको गाउँका अगुवा लालबहादुर बैगर बताउँछन्। 'हाम्रो गाउँमा विभेद छैन,' उनी भन्छन्, 'अन्तरजातीय विवाहले फरक समुदायबीच सम्बन्ध पनि कसिलो बनाउँदो रहेछ।'
source:- कान्तिपुर

A Dalit woman was beaten to death at Jagatpur

Lahan/Apr 24,(विभेद बिरुद्ध अभियान)
 A Dalit woman was beaten to death at Jagatpur, Majhaura VDC-3 in Siraha district on Thursday. Ritadevi Ram (23) was found hanging in her home on Thursday evening following a domestic violence against her. Ritadevi was thrashed by her brother-in-law Bhoril Ram on Thursday noon over a domestic dispute. 
Hours after, she was found hanging. According to Uma Prasad Chaturvedi, Deputy Superintendent of Police at the Area Police Office, Lahan, the body has been brought to a local hospital for the postmortem. All family members of Bhoril Ram have been absconding after the incident. Investigation into the case is underway, added Chaturvedi. The deceased's husband is in Qatar for employment. She is survived by two children. The deceased's parental family has filed an FIR with police. Investigation over the incident is underway, police said.

पर्यटकीय घलेगाउँको उत्पीडित समुदायमा होमस्टे कार्यक्रम सञ्चालन हुने

२०७२ वैशाष ११
विभेद बिरुद्ध अभियान
घलेगाउँ (लमजुङ)-सार्क राष्ट्रकै नमूना पर्यटकीय घलेगाउँको उत्पीडित समुदायमा होमस्टे (घरबास) कार्यक्रम सञ्चालन हुने भएको छ। सामाजिक सद्भाव कायम गर्दै जातीय अन्तर्घुलन र दलित समुदायको आम्दानी बढाउने उद्देश्यले घरबास सञ्चालन गर्न लागिएको हो। बिहीबार घलेगाउँमा भएको सरोकारवालाको बैठकले दलित समुदायमा घरबास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
जिल्ला विकास समितिको अघिल्लो बैठकले सार्ककै नमूना घलेगाउँ र नेपालकै उत्कृष्ट होमस्टे गाउँ काउलेपानीको दलितबस्तीमा घरबास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा घलेगाउँमा जिविस प्रतिनिधि, पर्यटन व्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधि, पर्यटनकर्मी, दलित तथा गैरदलित समुदायका प्रतिनिधि सहभागी बैठकले निर्णय गरेको हो।
परम्परागत संस्कारको सकरात्मक पक्षको अनुकरण गर्दै घरबास कार्यक्रम अघि बढाउन स्थानीय सहमत भएका छन्। सामाजिकरुपमा विचलन आउन नदिने गरी व्यावसायिक रुपमा पर्यटकीय कार्यक्रम र गतिविधि सञ्चालन गर्ने तयारी भएको जिविसका योजना अधिकृत खिमबहादुर विकले बताए। उनका अनुसार जिविसले यस वर्ष ४ घरमा घरबास सञ्चालन गर्न १ लाख २० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने छ। इच्छुक व्यक्तिले समितिसँग माग गरी आफ्नै लगानीमा पनि सञ्चालन गर्न पनि सक्छन्।
घलेगाउँमा घरबास सञ्चालन गर्न न्यूनतम मापदण्ड अनुरुपको भान्छा, सुत्नेकोठा, शौचालय, स्नानगृह निर्माण र घरआँगनदेखि बाटोघाटोको सरसफाइ गर्नुपर्ने नियम बनाइएको घलेगाउँ पर्यटन व्यववस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताए। ‘समितिको नियममा रहेर होमस्टे चलाउनेलाई हामी सहयोग गर्छौं,’ घले भन्छन्, ‘तर घलेगाउँको अहिलेसम्मको इज्जतमा दाग लाग्ने काम कसैलाई गर्न दिँदैनौं।’ आफ्नो समुदायमा घरबास सञ्चालन गरी पाहुनाको स्वागत र सत्कार गर्न पाउने भएपछि स्थानीय दलित समुदाय पनि निकै उत्साहित भएको घलेगाउँ पर्यटन व्यववस्थापन समितिका सचिव उमल विक बताउँछन्। २०५७ सालदेखि ग्रामीण पर्यटनको अवधारणा अनुरुप घलेगाउँमा पर्यटन तथा घरबास कार्यक्रम सञ्चालन गरिएको थियो। अहिले घलेगाउँका २८ घरमा होमस्टे छन्।

प्रजिअ सहित मन्दिर प्रबेश कार्यक्रममा गैरदलितहरुको प्रतिकार

मुगु,बैशाख १२,विभेद बिरुद्ध अभियान ।– मुगु सदरमुकाम नजिकै रहेको चैन गाउस्थित छायानाथ मन्दिरमा पुजाआजा र प्रबेश गर्न पुगेको प्रजिअ नेतृत्वको दलित तथा स्थानीय राजनीतिक दलसहितको टोलीलाई गैरदलिहरुले प्रतिकार गर्दै प्रवेशमा रोक लगाएका छन् । जिल्लास्थित दलित सामुदायिक बिकास केन्द्रको समन्वय र प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जातिय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रबद्र्धन संयन्त्र मुगुको नेतृत्वमा नवौं लोकतन्त्र दिवसको अबसरमा आयोजना गरिएको कालिका मालिका, तथा छायानाथ मन्दिर प्रबेश कार्यक्रममा गैरदलित हरुको प्रतिकारका कारण भाग दौड समेत मच्चिएको छ । मन्दिर प्रबेश कार्यक्रम बिथोल्ने योजनाका साथ गरीएको प्रतिकारमा पर्दा जिल्लाका प्रमुख राजनितिक दलका प्रतिनिधि, प्रहरी प्रशासन समेत लखेटिएका छन् । सो कार्यक्रममा सहभागि दलित अगुवा प्रहरी प्रशासन र राजनितिक दलका प्रनिधिहरुलाई लखेट्नेहरुको अगुवाई सार्बजनिक पद धारण गरेका सरकारी जागिरे ब्यक्तीहरु लगायत चैनगांउ बासी हरुको सक्रियतामा भएको दलित अगुवा एवम दलित अधिकारकर्मीहरुले बताएका छन् ।

 स्थानीय सार्बजानिक पद धारण गरेका ब्यक्तिहरुको अगुवाईमा भएको सो विथोल्ने कार्यक्रमका कारण सो क्षेत्र दिनभर सदरमुकाम तनाबपुर्ण बनेको थियो । विरोधमा स्थानीय गैरदलितहरुले हिजो बिहान करीब ११ बजे तिर सदरमुकाम गमगढी बजार बन्द गराउने देखि लिएर केड कर्णाली जनजिबिका कार्यक्रमको कार्यलयमा समेत तोडफोड गरेका संस्थाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा छुवाछुत गर्न पाउनै पर्छ भन्ने नाराबाजीका साथ बजार रयालिका साथ घेराउ गरेका गरेका गैर दलितहरुले दलित अधिकारको सवालमा काम गर्ने दलित सामुदायीक विकास केन्द्र र केड कर्णाली जनजीविका कार्यक्रम मुगु लाई जिल्ला बाट खारेज गर्ने माग समेत गरेका छन् । केड कार्यालयमा कार्यरत दलित अधिकार कर्मी लिला टमटा र दुर्गा बि.क. लाई ज्यान मार्ने धम्की समेत दिएको उनीहरुले बताएका छन् । गैर दलितहरुको प्रतिकारका कारण मन्दिर प्रबेश कार्यक्रममा सहभागि दलित अगुवाहरु रंगविर परियार, लिला टमट्टा, दुर्गा वि.क., पर्शुराम नेपाली, दानसिहं परीयार र धिरज नेपाली लगायत अन्य ब्यक्ति एवं स्वतन्त्र रुपमा हिजोदिनभर बजारमा निस्कन नसकेको र उनीहरु अहिलेपनि स्थानीय प्रशासनको सुरक्षामा कार्यालयभित्र नै रहेको बताइएको छ । नेपालको संबिधान २०६३ अन्तरगतको जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय एैन २०६८ अनुसार जाति पातिको आधारमा कहि कतै कसैले कसैलाइ भेदभाव गर्न नपाईने ब्यबस्था छ । 
सार्बजानिक तथा निजि स्थानमा मा कसैले कसैलाई प्रबेशका लागि निषेध गरेमा वा रोक लगाइएमा त्यस्तो ब्यक्ति लाई दोषी ठहराई सजायको समेत भागिदार बनाउने प्राबधान रहेको भएतापनि मुगुमा यस्तो घटना हुन पुगेको हो । यतिमात्रै होइन यस्तो घटना हुँदा पनि प्रशासन तथा अन्य अधीकारकर्मीहरु निरिह बन्न पुगेका हुन् । - साभार- रातोपाटि

Thursday, April 23, 2015

हिन्दु धर्म , दलित र धर्म परिवर्तन - गोपाल सिवा

प्रतिक्रियाको लागि :-gopsiwa@gmail.com
वैशाख १ गते ,विभेद बिरुद्ध अभियान ।
बास्तबिक धरातलमा रहेर कुरा गर्ने हो भने कार्ल मार्क्सले भने झैँ धर्म अफिम हो। न इश्वर कसैले देखेको छ , न देख्ने वाला छ तर यथार्तमा धर्म भनेको , धार्मिक आस्था भनेको मान्छेको रुची हो  । मनबाट गरीने आस्था हो।मानव समाज र व्यक्तिलाई संयमित बनाउने कडी हो धर्म । धर्म र समाज एक-अर्कासँग निरपेक्ष हुने कुरा हो  । त्यशो भए धर्म परिवर्तन व्यक्तिगत वा पारिवारिक राहत भए पनि सम्पूर्ण समुदायको न्याय नहुन सकेको अवस्थामा नेपालका दलितहरु हिन्दु र बौद्ध धर्म छोडेर किन जादैछन , किन  क्रिश्चियन बन्दै छन् ? के धर्म परिवर्तन नै दलित उत्पीडनको निकास हो ?
त्यशो त् धर्म परिर्वतन गरेको सुन्ने वित्तिकै नकरात्मक सोच बनाउनु पनि सान्दर्भिक हुदैन  । किनकी नागरिकको व्यक्तिगत स्वतन्त्रताको कुरा गर्ने हो भने जुन धर्म ठीक लाग्छ उसले त्यो धर्मलाई नै अपनाउँन पाउछ ।  त्यसमा विरोध हुनु ठिक हुदैन किनकी राज्यको कुनै धर्म विशेष हुँदैन, नागरिकको आफ्नो धर्म हुन्छ र सबैको धर्म मान्ने स्वतन्त्रता भए पनि कुनै लोभ प्रलोभन देखाएर धर्म परिवर्तन गर्नु गराउन चै गैर गैरकानुनी मानिन्छ  । नेपालमा पछिलो केहि बर्ष हिन्दु धर्म भित्रको बर्ण ब्यबस्थाबाट सृजित जातीय भेदभाव र छुवाछुत देखाएर उत्पीडनको निकास भन्दै अतिवादी सोचलाई टेवा दिदै धर्म परिवर्तन गराउने काम भै रहेको छ । हालका दिनमा दलित गरिब उत्पीडित  नेपालीहरुको सोझोपन र बिपन्तालाइ बुझेर रोग र भोकसँग खेलेर अशिक्षा र अज्ञानताको फाइदा उठाउँदै लालच देखाएर धर्म परिवर्तन तिब्र रुपमा भैरहेको  देखिएको छ । कानुन अनुसार मुलुकमा  धर्म परिवर्तन गर्नु जघन्य अपराध हो र गराउने जो कोहि लाइ प्रचलित कानुन अनुसार कारवाही होला । तर के दलितहरुको धर्म परिवर्तन लोभ लालच देखेर मात्र भएको हो त ? के हिन्दु धर्मको निर्देशनमा सञ्चालित राज्यको नीतिको भूमिका छैन त ?
संबिधानले समेत  छुवाछुत मुक्त राष्ट्र भन्दै छुवाछुत र जातीय विभेद गैह्रकानूनी हो भनेको छ  ।तर मुलुकमा लोकतन्त्र आउदा सम्म पनि एकै धर्म मान्नेहरुलाई दिनहु पानी, धारा छोइएको निहूमा कुटिनु ,मन्दिर तथा धार्मिक कृयाकलापमा दलितहरुलाई बन्देज लगाईनु , दलित भएकै कारण समाजबाट बहिस्कृत हुनु, अपमानित हुनु ,शिक्षा बाट वन्चित हुनु , चरम गरिबीमा जिवन विताउनु , मरेका सिनो फ्याकन लगाउनु , वोक्सीको आरोप लगाएर दलित महिला तथा वृद्धहरुलाई मलमुत्र ख्वाईनु, गाउ निकाला गरिनु ,  दलितहरु संगको प्रेम तथा विवाह लाई अस्वीकार गर्नु , अन्तरजातीय विवाह गर्ने जोडिलाई शारिरीक र मानसिक यातना दिनु र हत्या सम्म गराइनु दलितका लागि नियति नै बनिसकेको छ ।हाम्रा समाजमा अछुत मानिने जातिहरु अर्थात् कथित दलित, उत्पीडित, शुद्रहरु परम्परा, संस्कार, मर्यादा इत्यादि निर्वाह गर्ने नाममा पिल्सिएका छन्, ज्यानै उत्सर्ग गर्ने हदसम्म पुगेका छन् । जसलाई राज्य बाट नै परम्परा देखि चली आएको चालचलन, सस्कृति र परम्परामा जातीय विभेद र छुवाछुत नभएको देख्दा बर्षाै देखि त्यहि संस्कार, परम्परा, सस्कृति र धर्मको आडमा दमित भएर बसेका लाखौ लाख उत्पीडित  दलित समुदायहरु लाई खिल्ली उडाउने काम गरेको छ ।

मुलुकमा हिन्दु धर्म मान्ने हिन्दुहरुको आकडा अहिले पनि धेरै छ । तर यो आँकडामा उनीहरुको आस्था ले कहिले पनि समानता देखाएन   ।यहि  धर्मको नाममा सिर्जिएका बिकृतीहरुलाई ,धर्म भित्रका असमानता र कुरितीका कुराले हिन्दूधर्म भित्रै सुधार सँशोधन गर्दै त्यही भित्र रहेर बस्ने कि धर्म परिवर्तन गरेर अर्कै नयाँ यूगीन बाटो रोज्ने भन्ने प्रशंन अहिले तेर्साइ दिएको छ । फलस्वरुप दलितहरु कोहि धर्म परिवर्तन गरि रहेका छन् ।हो धर्म परिवर्तन गरेर या कतिपय सांस्कृतिक मान्यतालाई चुनौती दिएर मात्र दलित समस्या हल हुँदैन । वर्ण व्यवस्था अनुसार पुरातन समाजमा प्रथाको रुपमा स्थापित छुवाछुत र जातीय विभेदले हिन्दु धर्मप्रति आस्था राख्ने ति लाखौ दलित, उत्पीडितहरुलाई  आजको आधुनिक समाजमा हजारौ बर्ष अघिको जातीय भेदभाब र छुवाछुत जस्ता परम्परालाई कायम राखेरै एकै आस्था राख्ने हिन्दु समाजको लाखौ नागरिकलाई अछुत शुद्रको खोट लगाउने ब्यबहारिक चलन किन चलिरहेको छ? मानिसलाई उचनिच र छुत तथा अछुत भनी किन छुट्याएको छ ? जातीय तहगत संरचनाको सबैभन्दा तल्लो तह तथा अछुत मानिने जाति हौ भनेर ब्यबहारिक रुपमा किन बुझाएको छ  ? यस्तो असमानता र अन्याय अवस्थाले  गाउँ-ठाउँ समाजमा समेत समतामुलक समाज स्थापित हुन सक्दैन भनेर आफुले  भोग्नु परेको जातीय भेदभाब र छुवाछुत जस्ता बिकृति बिरुद अनेकौ नाम, उपनाममा दलित एक्यबद्ध हुदैछन् , आवाज उठाउदै  छन् भने कोहि कोहि धर्म परिवर्तन समेत गर्दै छन्  ।
भने अर्को तिर जातीय छुवाछुतलाई र भेदभावलाई राज्यले छुवाछुत राष्ट्र भनि सम्बोधन पनि गर्याे भनेर  बसेका गैर उत्पीडित, गैर दलित, जातीय रुपमा अगाडी भएकाहरुले दलितले उठाएको बिषय लाइ  जुँगाको लडाईं बनाउदै छन् । आफुलाई हिन्दू धर्मको पहरेदार सम्झनेहरु  धर्मको पक्षमा कोही संगठनिक रुपमा कोही असंगठनिक रुपमा कुर्लि रहेका छन् । सुद्र हैनौ , दलित हैनौ भनेर हिड्दा  जातीय भेदभाब र छुवाछुत सबबाट चुड्कीको भरमा मुक्ति पाउँछ भनि बुझाई रहेका छन् । हुन् सक्छ अछुत भनिएका समुदाय ले आफुलाई सुद्र र दलितको उपनाम दिदै हिड्नुको कमजोरी आफ्नो ठाउँमा होला । तर  हिन्दु धर्मको बर्णश्रमले सृजित जुन असमानता खडा गरेको छ  हाम्रो समाजको त्यो जिम्मेवार छ।  जातीय छुवाछुत र असमानताको अमानविय घटना दिनहु हुनुले हिन्दु धर्मले आफु संगै राखेको बर्णश्रम संगै राखेको पाखण्ड, विभेद र अन्ध विश्वास ब्यबस्था नै  हो भनेर बुझाएको छ ।  आम नेपाली समाजका कहलिएका टाठा बाठाहरु दलित र सुद्र किन आफैलाई भनेको भन्दै पूर्णत अव्यवहारिक मुद्दामा चर्का बहस गर्नेहरु हिन्दु धर्मले साथै बोकी बसेको बर्णश्रम ब्यबस्था र यसले सृजित जातीय भेदभाब र छुवाछुत जस्ता मुद्दामा चाहिँ चुइँक्क  पनि बोल्दैनन ।
२१ औ स्ताब्धिमा पनि हाम्रो समाजमा  अपेक्षा गरिए विपरित मान्छेले छोएको मान्छेले नखाने, कुनै खास सम्प्रदाय लाइ सामाजिक बहिस्कृत गर्ने, आफ्नै भगवान मानेर आस्था राख्नेले पुज्न नपाउने यी व्यभिचारी मानसिकता को उपज हो ।  दलित समस्या हिन्दु धर्मको उपज भएको र धर्म  निरपेक्ष राज्य भए पनि ब्यबहारमा त्यो राज्यको धर्म रहदै आएकोले हिन्दु धर्मको निर्देशनमा सञ्चालित राज्य र राजनीतिबाट दलित समुदायको मुक्ति सम्भव छैन । 
नेपालको राष्ट्रिय जनगणना, २०६८ ले नेपालका दलितहरुको जनसंख्या १३.२ प्रतिशत रहेको देखाएको छ, आधिकारीक रुपमा नेपाली दलितहरुको जनसंख्या तथ्याङ्क विभागले सार्वजनिक नगरेको भएतापनि दलित वर्गमा सुचिकृत रहेका जातीहरुको जनसंख्यालाई आधार मान्दा दलितहरुको जनसंख्या १३.२ रहेको छ । तर दलित अधिकारकर्मी एवं संघ संस्थाहरुले नेपालमा ६० लाख दलितहरु रहेको र २० प्रतिशत जनसंख्या दलितहरुको रहेको दावी गर्दै आएका छन । नेपालको औसत गरिवी २५ प्रतिशत हुँदा ४२.६३ प्रतिशत पहाडि दलित र ३८.१६ प्रतिशत मधेशी दलितहरु गरिवीको रेखामुनी रहेका छन ।  २५० बर्षको इतिहासमा कहिल्यै पनि यो देशमा दलितबाट राष्ट्रको कार्यकारी प्रमुख बनेको छैनन  । यी तथ्यलाइ बुझेर यो लोकतान्त्रिक व्यवस्थामा समेत बर्षौ देखि पछाडि पारिएको जातिलाई, दलित समुदाय क्षेत्रि–ब्रामण समुदायको स्थारमा नउठाउने हो भने ,  अन्य धर्मलाई हिन्दु धर्मको स्थरमा उठाउने हो भने , दलितलाई मान्छेको स्थरमा नउठाउने हो भने, तत्काल हिन्दु सामन्तवाद बाट शासित सामन्तवादी सरचना अन्तर्गत आर्थिक छेत्रमा दलित जातिको मुक्ति कसरि गर्न सकिन्छ भनेर नसोच्ने हो भने । राजनैतिक प्रशासनिक छेत्रमा दलित हकको स्थापना कसरि गर्न सकिन्छ भनेर नथाल्ने हो भने । सामाजिक सास्कृतिक छेत्रमा दलित जातिको बढी भन्दा बढी अन्तरघुलन कसरि गराउन सकिन्छ भनेर ब्यबहारिक रुपमा  काम नगर्ने हो भने ।राज्यको पुन सरचनामा दलित समश्याको समाधान गर्न रणनैतिक कार्यक्रम र लक्ष्य बिन्दुको किटान सहित कसरि जाने भन्ने कुरा को ब्यबहारिक थालनी नगर्ने हो भने । निश्चित छ असमानताको ठुलो खाडल बन्ने छ ।अत मुलुकमा बर्णश्रम ब्यबस्था बोकेर ६० लाख जनतालाई जातिय विभेद्, शोषण र उत्पिडन लाद्न हिन्दु धर्मले अब नसोचे हुन्छ । समय छँदै हिन्दुले हिन्दु नचिन्ने हो भने र समाजमा ब्याप्त विसंगतिलाई फाल्न सक्ने हिम्मत नगर्ने हो भने हिन्दू धर्म बाट दलितहरु धर्म परिबर्तन गर्न बाध्य हुनेछन ।
बर्षौ देखि पीडाले जेलिएका लाई त् दलित हैनस हिन्दुधर्ममा यो चलन छैन भनेर पन्सिने र हिन्दु धर्ममा त्यस्तो विकृति छैन भन्ने जवाफ आउँन सक्छ तर विकृति हिन्दु धर्ममा होइन हिन्दु संस्कृतिमा छ । शासक बर्गले मनुस्मृतिको आधारमा मुलुकको समाजको बिबिधता लाइ हिन्दु एकल जातीय (खस) सामन्ती सरचना भित्र समाबेश गरि साशन चलाई आएको कारण राज्यको समाबेशी सरचना भित्र दलित उत्पीडित समुदाय र बर्गले विभेदको सिकार हुनु परेको अढाई सय वर्षसम्मको केन्द्रिकृत एकाधिकार अहंकारवादी सामन्तवादको लामो इतिहास छ   । 
त्यहि भएर जातीय भेदभाब  र छुवाछुत संगै बोकेर हिड्नेहरुको मति फिरोस् र जातीय भेदभाब  र छुवाछुत बाट ब्यबहारिक रुपमा प्रताडित भएका आफु संगै आस्था राख्ने लाखौ मानिसहरु आफुले भोगाइ बाट उठाएका मुद्दाहरु एउटा टुङ्गोमा पुर्यारउन यिनको पनि सकारात्मक योगदान रहोस् । बेला अझै घर्किसकेको छैन तर घर्किन बेर पनि लाग्ने छैन। तत्कालिन समयका सासकहरुले स्वार्थबस बनाएका रीति-थीति तथा नियमहरु परिस्थिती सुहाउँदा तथा समय सापेक्ष मानिए पनि अहिलेको परिस्थिती र समयको माग तथा आबश्यकता फरक छ र आजको समय सुहाउँदो बन्न सकेनन् र त्रुटीका रुपमा देखिए । त्यसैअनुसार अव फेरी पनि यसमा थपघट तथा फेरबदल गर्नुपर्ने समय र जिम्मेवारी हाम्रो सामु आएको छ । हिन्दु राष्ट्र वा जाति र हिन्दु सामन्तवाद बाट शासित सामन्तवादी सामाजिक तथा राजनैतिक सरचनाले साशन गरि रहेको बर्गीय समस्या को एउटा गम्भीर रुप र समस्या हो ।
अत वर्ग विभाजित समाजलाई स्थायीत्व प्रदान गर्ने सवालमा अचुक हतियार सावित भएको हिन्दु धर्मको उपज नै वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा भेदभावजस्तो निकृष्ट प्रथा हो भनि बुझ्न ढिलो नगरौ ।  हिन्दु धर्म को शुभ-चिन्तकहरु मिलेर कहाँ ? के ? कसरि ? कमि कमजोरी भो भनेर आत्मा समिक्छा गरेर समय सापेक्छ कमि कमजोरी लाई ब्यबहारिक रुपमा सुधार गर्नु पर्ने बेला भएको छ ।  बर्ण ब्यबस्था र छुवाछुत बाट ब्यबहारिक रुपमा प्रताडित भएका लाखौ मानिसहरुलाई मानिश बनाउन साँच्चै व्यवहारिक प्रतिवद्ध हामी नागरिकहरुले सोच्न जरुरी भैसकेको छ। अहिले मुलुक नयाँ संविधान निर्माणको चरणमा छ, राज्यको पुनःसंरचना गर्ने तरखरमा छ, दीर्घकालीन शान्ति स्थापना गर्ने मोडमा छ । त्यसैले  हिन्दु धर्मको उपज नै वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा भेदभावजस्तो निकृष्ट प्रथा हो । त्यसलाई सही तरिकाले बुझ्ने, धर्मं तथा संस्कृतिमा कति र कसरी थपघट तथा फेरबदल गर्ने हो, यो शिर्षक ब्यापक छलफलको बिषय बन्नु तथा बनाइनु पर्दछ र त्यस्तो गलत संस्कार, संस्कृतिको प्रथाको अन्त्य गर्ने ब्यबहारिक अभियानमा लागेर मात्र धर्म परिवर्तनको समस्याको समाधान हुन सक्दछ ।