संगीता मगर अबोध र निर्दोष छिन् - ध्रुवसत्य परियार

जीवनलाई सृष्टिकै सुन्दर फूल भनेर अथ्र्याइदिएँ अहिले मैले । खोइ, मैले अथ्र्याएको जीवनभित्र स्वयं आफ्नो जीवन पर्छ कि पर्दैन, कुन्नि थाहा छैन ।’ आफ्नो पुस्तक ‘जीवन काँडा कि फूल’को प्रारम्भमै झमक घिमिरेले लेखेका हरफ हुन् यी, जसले सम्पूर्ण पुस्तकको परिभाषा बोल्छ । हामीले सुन्दर आचरण सम्झेर कैयौँ परम्परा अन्धाधुन्ध पछ्याउँदै आएका छौँ । तर, यसरी सुन्दर सम्झेर पछ्याउँदै आएका कतिपय परम्पराका पत्रपत्र केलाएर हेरेका छैनौं । जसमा जीवनसंगत कुनै सौन्दर्य छैन । जुन सौन्दर्यको सीमानाले समग्र मानवतालाई समेट्दैन । विश्वको जुनसुकै कुनाको जो–कोही मानिस एउटा राष्ट्र र राष्ट्रियताको सीमाभित्र हुन्छ । त्यो सीमाभित्र अनेक मूल्य–मान्यताका अमूर्त घेरा हुन्छन्— वर्गीय, क्षेत्रीय, जातीय, लैंगिक, बौद्धिक धार्मिक, आर्थिक, सांस्कृतिक अनेकादि । यी अनेक घेराभित्र अनेक मानिस हुन्छन् । कुनै एउटा घेराभित्रको मानिस समग्र मानवताको घेराभित्र पर्छ कि पर्दैन ? कुन्नि थाहा छैन । प्रसंग जोड्न खोजेको चर्चित ‘एसिडकाण्ड’ सँग हो । जुन काण्डकी पीडित संगीता मगर अस्पतालमा छिन् र पीडक जीवन विक प्रहरी हिरासतमा । जुन काण्ड राष्ट्रव्यापी मात्रै नभएर एक ढंगले अनलाइन र सामाजिक सञ्जालमार्फत विश्वव्यापी नै भएको छ । झमकले दुई हरफमा पुस्तकको परिभाषा दिएजस्तै एसिडकाण्डको पीडक झिल्कोले एक किसिमले देशको अवस्थालाई पनि झल्काएको छ । 
जीवन र जीवनको परिवारले मिडियामार्फत नै भनिसकेको छ, ‘संगीताको परिवारले आफूहरूलाई जातीय भेदभाव तथा छुवाछुत गर्यो ।’ जीवनको अर्को दाबी पनि छ— संगीतासँग उनको प्रेमसम्बन्ध थियो । तर, आफ्नो जात कामी भएको संगीताले थाहा पाएपछि बिग्रियो । जीवनको बयान छ, ‘संगीता र मेरो परिवार एउटै घरमा भाडामा बस्थ्यो । संगीतालाई मैले ट्युसन पढाउँथे, संगीताकै आमाको आग्रहमा । यही क्रममा हामीबीच प्रेम भयो । मैले आफ्नो जात ढाँटेको थिएँ, सामाजिक प्रतिष्ठाका लागि । एक दिन संगीताले मेरो जात थाहा पाइन् । र, आमालाई सुनाइन् । उनकी आमा जात छोएर झगडा गर्न आइन् । त्यसपछि उनीहरूले जातीय भेदभाव गर्न थाले । झगडा बढ्दै गयो । र, ममा प्रतिशोधको भावना आयो । अनि, मैले अपराध गरेँ ।’ जीवनको एकोहोरो दाबीअनुसार, घटनामा प्रेम सम्बन्धको मुख्य भूमिका छ । तर, संगीताको बयान आउन बाँकी रहेकाले यथार्थ ओझेलमै छ । जीवनको बयानअनुसार, घटनाको पिँधमा जातीय भेदभाव तथा छुवाछुत रहेको एक किसिमले सतहमा आएको छ । यद्यपि, अदालतले यसलाई पुष्टि गर्न बाँकी नै होस् । जेहोस्, घटनालाई नांगो आँखाले नियाल्दा— भर्खरै एसएलसी दिँदै गरेकी संगीताको उमेर कानुनबमोजिम प्रेम सम्बन्ध र विवाहका लागि योग्य नहोला । कानुनबमोजिम परिपक्व उमेर नपुगेकी एउटी किशोरीलाई भावनामा बहकाएर प्रेममा पार्नु पनि अपराध होला । त्यसमाथि अंगभंग गर्ने हेतुले एसिड हान्नु अपराध नभएर के होला ? घटनासँग अन्य कुराको सम्बन्ध र सत्य आफ्नै ठाउँमा होस् । तर, जीवनले एसिड हान्नु अपराध नै हो । उनले आफ्नो अपराधअनुसारको सजाय भोग्नैपर्छ । जीवनको परिवारले नै जीवनलाई कारबाहीसँगै आफूहरूमाथि भएको जातीय विभेदबारे पनि छानबिनको माग गरेको छ । जुन जायज छ । तर, यसले समाजमा विद्यमान जातीय भेदभाव तथा छुवाछुतरूपी अजिंगरको टाउकोमा कुनै चोट पुर्याउँदैन । यसले त अजिंगरमाथि हिँड्ने कमिलालाई मात्रै छुने हो । अर्कोतिर जीवनलाई सजाय दिँदैमा सबै ठीक हुन्छ भन्ने पनि होइन । किनभने, समाजमा जातीय भेदभाव तथा छुवाछुत विद्यमान छ । र, जातीय विभेदको पीडा भोग्ने थुप्रै जीवन छन् यहाँ । त्यसकारण, यसपछि पनि समाजमा कुनै न कुनै रूपमा छुवाछुतका घटना र कुनै न कुनै प्रकृतिका प्रतिशोधका घटना नदोहोरिएलान् भन्न सकिँदैन । संगीताको परिवारले जातीय विभेद गरेको कुरा जो छ, त्यो कानुनी रुपमा अमानवीय, दण्डनीय र जघन्य अपराध नै हो । जसलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कानुनले सम्बोधन गरिसकेको छ । संगीताको परिवार दोषी प्रमाणित भए कारबाहीको भागिदार हुनैपर्छ । मानौँ, संगीताको परिवारले जातीय विभेद गरेको पनि अदालतले प्रमाणित गर्यो । कानुनबमोजिम कारबाही पनि भयो रे । के यहाँ जातीय विभेद गर्ने संगीताको परिवार एक्लो हो ? जब कि देशैभरि कुनै न कुनै रूपमा जातीय विभेद विद्यमान छ । त्यसैले संगीताको एउटा परिवारलाई दोषी बनाएर सारा समाज र राज्य पानीमाथिको ओभानो बन्न सक्दैन । हाम्रो समाजको संरचना यस्तो छ, यहाँ तहगत जातीय विभेद छ । सबैभन्दा उच्च मानिएको र सबैभन्दा तल्लो भनिएको दुवै जाति वा समुदायमा जातीय विभेद छ । माथि जैसी र उपाध्यायको नाममा भान्सा र चेली चल्दैन । र, तल दलित समुदायभित्र पनि सानो–ठूलोको विभेद छ । यसो हुनुमा कुनै जाति वा समुदायको दोष होइन, समाजको मूल्य–मान्यता र परम्पराको दोष हो । राज्यको चेतनाको दोष हो । कुनै एक घरको झगडा पनि समाज र राज्यसँग अछुतो रहन सक्दैन । त्यसको पिँधमा समाज र राज्यको चरित्र उत्रिएकै हुन्छ । यतिसम्म कि, मानिस पागल हुन पनि समाज र राज्य कहीँ न कतै जिम्मेवार हुन्छ नै । संगीताको परिवारलाई जातीय विभेद सिकाउने यही समाज हो । अझ संगीताको परिवार त नेपाली समाजको यस्तो बिचरा समुदायको परिवार हो, जसको यो समाजमा पानी त चल्छ । तर, निर्णय गर्ने ठाउँमा राजनीति चल्दैन । पाँचवटा सरकारी कार्यालयमा पुगेर खोज्दा उसको थेप्चो नाक, गोला र साना आँखा देखिँदैन वा कमै देखिन्छ । राज्यको सेवा–सुविधा तथा स्रोत–साधनमा जनजाति समुदायको पहुँच दलित समुदायकै जस्तो न्यून छ । त्यसमाथि समाजमा जनजाति समुदायका मानिसलाई माथिल्ला जातिले यस्ता सोझा र झट्ट कुरो नबुझ्ने जातिका रूपमा लिन्छन्— जो पढ्न–लेख्न, नेतृत्व गर्न नभएर केवल लाहुरे हुनका लागि जन्मेका हुन् । जात व्यवस्थाका सम्बन्धमा जनजाति समुदाय यसकारण पनि बिचरा छ, कथित सबैभन्दा माथिल्ला र सबैभन्दा तल्ला जातिबीचको जातीय विभेद र जातीय विभेदविरुद्धको आवाजमा यो समुदाय पिल्सिन मात्रै पुगेको छ । समाजमा अभिजात भनिएकाले यो समुदायलाई जातीय छुवाछुत गर्दैन । उसलाई छुवाछुतको हदसम्मको जातीय उत्पीडन थाह छैन । त्यसैले यो समुदाय दलितकै हाराहारीमा पर्दैन । राज्यका सेवा–सुविधा र स्रोत–साधनमा अभिजातकै हालिमुहाली छ । त्यसकारण, अभिजातसँग कुम मिलाउन हैसियत पुग्दैन । त्यसैले अधिकारका आन्दोलनमा पनि आदिवासी जनजाति बीचमा छ, अभिजात र दलितहरूको । वास्तवमा अधिकारका आन्दोलनमा आदिवासी जनजातिले दलितलाई समेटेर लानुपर्ने थियो । किनभने, यो समुदायको जनसंख्या पनि ठूलो छ । उता, समाजमा जनजाति समुदायलाई यस्तो बाध्यता पनि छ— तल्ला जातिलाई जातीय विभेद नगर्ने हो भने, अभिजातहरूले आफूहरूलाई पानी चलाउँदैनन् । यसकारण पनि हाम्रो समाजमा कहीँकतै अभिजातले भन्दा कडा रूपमा जातीय विभेद बीचका जातिले गर्ने गरेको पाइन्छ । यसमा यो पंक्तिकार पनि भुक्तभोगी छ । यसकारण, संगीताको परिवार जातीय छुवाछुत गर्ने एक्लो परिवार होइन । अख्तियारले भ्रष्टाचारमा संलग्न साना माछालाई मात्रै पक्रेको जुन चर्चा छ, यहाँ संगीताको परिवार साना माछाको पनि आहारा हो । यसको अर्थ, देशैभरि जातीय विभेद छ भनेर कुनै एक परिवारलाई छुट दिने भन्ने होइन । यसको अर्थ हो— मानिसबीच विभेद गर्ने जुन जात व्यवस्था छ, त्यसलाई जरैदेखि उखेलेर फाल्न राज्यले कडा कदम चाल्नुपर्छ । तर्क गर्ने आधार थुप्रै छन् । सानो उमेरकी किशोरीसँग प्रेमसम्बन्ध गर्ने जीवन पनि एक्ला होइनन् । किटेर भन्न सकिन्छ, अहिले यो आलेख लेखिरहँदा वा पढिरहँदा पनि यो देशमा बालविवाह भइरहेका छन् । अन्ततः तर्क राज्यकै चेतनामा गएर ठोक्किन्छ । राज्यले जनतालाई बालअधिकार र बालविवाहबारे बुझाएको हुन्थ्यो । बालबालिकाको आधारभूत अधिकार गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा पूरा गरेको हुन्थ्यो भने, कुरा बैग्लै हुन्थ्यो । जातीय विभेदको कुरा पनि यस्तै हो । राज्यले जनतालाई जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो भनेर बुझाएको हुन्थ्यो, राज्य स्वयंले जातीय, क्षेत्रीय, लैंगिक विभेद गर्दैनथ्यो भने, कुरा अर्कै हुन्थ्यो । मानौँ, राज्य बलियो छ । चेतनशील छ । फेरि पनि समाजमा अपराधका घटना घट्न सक्छन् । घटनाहरू घट्छन् । तर, घटनाको कारण खोजिनुपर्छ र घटनाको जिम्मेवार पक्ष हुनैपर्छ । आज राति पृथ्वीमा कुनै तारा ठोकिँदै छ भने, त्यो तारा हामीले मान्ने समयअनुसार सयौँ वर्षदेखि पृथ्वीतर्फ बढिरहेको हुन्छ । सामाजिक वा मानवीय घटना त आकाशबाट बर्सिने होइनन्, यही समाजबाट उत्पन्न हुने हुन् । जसमध्ये कतिपयलाई व्यक्ति, समाज र राज्यले विवेक पुर्यायो भने रोक्न पनि सकिन्छ । एसिडकाण्ड इतिहासको बिरामी मुखमा लागेको यस्तो कठोर, तीतो र घिनलाग्दो औषधि हो, जसलाई बैलेमा पखालियो भने देशकै मुहार ताजा र सुन्दर हुनेछ । पखालिएन भने, यसले अझै सयौँ वर्षसम्म देशलाई घिनलाग्दो प्रतिशोधको नंग्राले बेलाबेला नगिजोल्ला भन्न सकिँदैन । केहीअघि एक प्रंसगमा संक्रमणकालमा अपराधलगायत घटना घट्छन् भनेर गृहमन्त्री वामदेव गौतम अभिव्यक्ति दिए । जसको सर्वत्र विरोध भयो । संक्रमणकालमा एक आममनोविज्ञान हुन्छ नै । त्यस मनोविज्ञानले अपराधलगायत घटना घटाउलान् । तर, राज्यको खास निकायको जिम्मेवार व्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएर पन्छिन खोज्नुले यो प्रस्ट्याउँछ— स्वयं राज्य नै चेतनाहीन छ । हो, आज देश संक्रमणकालमा छ । देश राजतन्त्रबाट गणतन्त्रमा गइसकेको छ । अढाइ सय वर्षको एकात्मक हिन्दू राजतन्त्रीय व्यवस्था त भत्किएको छ । तर, नयाँ व्यवस्थाको जग भने राम्रोसँग बनिसकेको छैन । एक ढंगले अढाइ सय वर्षदेखि घुमिरहेको पंखालाई स्विचअफ त गरिएको छ । तर, पंखा घुम्न छाडेको छैन । र, बाहिरी हावाले पनि यो अझै धेरै समय नघुम्ला भन्न सकिन्न । यो अढाइ सय वर्षको बीचमा नेपाली समाज जसरी विकसित भयो, त्यसले नेपाली जनतालाई विभाजित गरेकै हो । यो देशको एकीकरण पहाडबाट भयो, मधेस पाखा पर्यो । यो देशको शासनमा अभिजातले नेतृत्व गर्यो, दलित, जनजाति पछाडि परे । जब नेपाली नागरिकले नागरिकता र लालपुर्जा लिन थाले, सत्ताको चरित्र उत्रियो । हिजो मुखिया–जिम्मावालको तोक–आदेशमा नागरिकता र लालपुर्जा लिने गरिन्थ्यो । तिनै मुखिया–जिम्मावाल हुन्थे, जो सामन्त वा जमिन्दार हुन्थे । अर्थात्, थुप्रो जमिन ओगटेका हुन्थे । उनीहरूले आफू र आफ्ना भाइभारदारलाई नै उर्वर जग्गा पार्थे । यस्तोमा अपवादका रूपमा कतिपय तल्ला जाति पनि सामन्त र जमिन्दार बन्न पुगे होलान् । तर, समग्रमा राज्यमा हुनेखाने र प्रभावशालीकै हालिमुहाली हुन्थ्यो । जसले अभिजातकै निमुखालाई पनि गरिब र सर्वहारा बनाउन भूमिका खेल्थ्यो ।
मुखिया–जिम्मावालले नागरिकता दिँदा पनि दलित समुदायका मानिसको जातै लेख्थे । आफूहरुले भने थर लेख्थे । तँ जगल्टे कामी होइनस्, ल तेरो नागरिकताको नाम यही भयो । तँ घोसे दमाई होइनस्, ल तेरो नाम यही भयो । यसरी अभिजात वर्गले नागरिकता दिँदा पनि आफूहरुलाई थर र तल्ला जातिलाई जातै लेख्नुपर्ने बनायो । आज आएर मात्रै दलित समुदायका मानिसलाई थर लेख्न पनि छुट दिइएको छ । कतिपय दलितका थर पनि बाहुन–क्षेत्रीसँग मिल्दाजुल्दा छन् । यसका धेरै तर्क गर्न आवश्यक छैन । पहिले मान्छेको उत्पत्ति भएको हो, जातको होइन । यहाँ अचम्म छ, एउटा कामीले आफ्नो थर घिमिरे लेख्दा जात ढाँटेको हुन्छ । तर, बाहुनले लेख्दा हुँदैन । देशका जनताले हिन्दू धर्म मान्दै आए । हिन्दूधर्मलाई संसारकै प्राचीन धर्मको रूपमा लिइन्छ । यसको उत्पत्ति मानिसको गहिरो चिन्तन–मननबाट भएको हो । हिन्दूधर्मको आफ्नै गरिमा र गहिराइ छ । तर, यसको गरिमालाई गिराउन कुनै कालखण्डमा बिचौलिया व्याख्याता आए । वेदलगायत जीवन र जगतको बोध गराउने शास्त्रलाई सीमित जाति वा वंशको अंशजस्तै बनाए । हिन्दूधर्ममा जात व्यवस्थालाई प्रश्रय दिए । समाजमा एउटा मानिस सदियौँदेखि कुनै आस्था र विश्वासमा बाँच्छ भने, उसलाई त्यही सही हुन्छ । एउटा बच्चालाई पंखा घुमेको मात्रै देखाइयो । पंखाको वास्तविकताबारे बताइएन भने, उसले पंखालाई एउटा गोलो पातोको रूपमा मात्रै चिन्छ । जब उसलाई पंखा रोकेर देखाइन्छ । अनि, मात्र उसले पंखामा तीन पाता भएकोमा विश्वास गर्छ । त्यसकारण, राज्यले शिक्षा, जनचेतना र कानुनमार्फत जनताका अन्धविश्वास हटाउन पहल गर्नैपर्छ ।

जी किरिलेन्को र एल कोर्सुनोवाको पुस्तक ‘दर्शन के हो ?’ मा कुनै जाति विशेषको एक लोकोक्ति उल्लेख छ, ‘जब मैले राजाको कुकुरलाई देख्छु, सबैभन्दा पहिले सलाम ठोक्छु ।’ यो उक्ति सामाजिक व्यवस्था र मानसिकताले मानिसलाई कुन हदसम्मको क्रियाकलाप गर्न उक्साउ“छ भन्ने वास्तविकताको जोडदार उदाहरण पनि हो । एउटा व्यक्तिको मानसिकता सामाजिक व्यवस्थाको धेरथोर प्रतिविम्ब हो नै । खासगरी कुनै विचार वा व्यवहारस“ग अभ्यस्त हु“दै गएपछि मानिसमा एक प्रकारको मानसिकता निर्माण हुन्छ । जसले व्यक्ति र समाजकै जीवनमा विशेष प्रभाव पार्दछ । कतिपय अवस्थामा हामीले कतिपय अन्धविश्वासलाई राजाको कुकुरलाई जस्तै सलाम ठोक्दै पनि आएका हुन सक्छौँ । यसमा हामीले विवेकशील भएर सोच्नैपर्ने हुन्छ । आज नेपाली समाज यस्तो संक्रमणकालमा छ— सन्तान अमेरिका, कुनै विकसित मुलुक वा स्वदेशमै बसेर फेसबुक चलाउँछ, नामको अगाडि नेपाली लेख्छ र सबै नेपालीबराबर भन्ने हल्ला पिट्छ । यता, गाउँघरमा उसका बाआमा तथा हजुरबा–हजुरआमाले नामको पछाडि नेपाली लेख्नेहरूलाई जातीय विभेद गरिरहेका हुन्छन् । त्यसैले नयाँ पुस्ता समाजमा विद्यमान विसंगति हटाउन अरु बढी गम्भीर र जिम्मेवार भएर लाग्नुपर्ने बेला आएको छ । यो एसिडकाण्डमा वास्तवमै एउटी अबोध किशोरी सिकार भएकी छिन् । यस अर्थमा अबोध कि सामाजिक व्यवस्था र मूल्य–मान्यताको गहिराइबारे उनलाई कमै जानकारी छ । जीवनको परिवारले जुन जातीय विभेदको उत्पीडन भोग्यो, त्यो यो पंक्तिकारको पनि पीडा हो । तर, समग्र एसिडकाण्डमा जसरी यी दुई बिचरा परिवार चपेटामा परे, यो देशकै पीडा हो । यसकाण्डलाई लिएर अनेक समाचार र विचार आइरहेका छन् । अहिले निश्चय नै संगीतालाई तनाव भएको छ । संगीता हाम्री चेली हुन् । घटनामा उनी प्रत्यक्ष पीडित हुन् । त्यसैले उनी थप तनावको सिकार हुनुहुँदैन । राज्यले संगीताप्रति स्नेह राखेर यस घटनामा फराकिलो न्याय खोज्न आवश्यक छ । - साभार # रातोपाटि

No comments:

Post a Comment